Sep 29, 2010

लेखक बन्न चाहनेलाई 'टिप्स'

खगेन्द्र संग्रौला
१. गजल नलेख्नू । किनभने गिनी पिगको विविधतारहित बगालको अरुचिकर सम्झना गराउने प्रायः सबै उस्तै र सधैँ उस्तै गजलहरूको भारमुनि पाठक निसासिएको छ । भो काजी, अबलाई पुग्यो । तथापि, गजलमा मात्र अस्तित्वको घिडघिडो र अमरत्वको फिलुंगो देखे जम्मा एउटा गजल लेख्नू । आजीवन स्वर हल्लाउन र हाटहुटे थपडीको स्वागत पाउन एउटै गजल मनग्गे हुन्छ । दसमध्ये नौवटा गजल पहिलो गजलजस्तै हुनु भनेको आपनो र आपना पाठक-श्रोताको एकबारको जुनिका ससाना नौ किस्ता आयु खाइदिनु हो । गजलको नाउँमा यो आयुभक्षण कुनै काव्यात्मक पुण्यकर्म होइन ।
२. साहित्यका फित्तावाल अमिनहरूका एकांगी र हठाग्रही फैसलाबाट आतंकित नहुनू । यी फित्तावाल अमिनहरूलाई चल्तीको भाषामा सौन्दर्यविद् वा साहित्य-समीक्षक भनिन्छ । यी ज्ञानीहरू लेखक र उसको कृतिको क्षेत्रफल नाप्न हातहातमा शास्त्रका फित्ता बोकेर हिँड्छन् । यी स्रेस्ता खडा गर्छन् । र, अब्बल, दोयम, सीम र चाहार भनी लेखक र तिनका कृतिको कोटिको किटानी गर्छन् । दुरुह जार्गनहरूको जालो बुन्दै यी आफूले मात्र बुझ्ने वा आफैँले पनि नबुझ्ने गाँठा परेको भाषा लेख्छन् । यी जानिफकारहरू जग्गा नाप्ने अमिनले झैँ लेखक र कृतिको अस्तित्वका चारकिल्ला नाप्छन् । र, यहाँदेखि त्यहाँसम्म पूर्वआधुनिक, त्यहाँदेखि त्यहाँसम्म आधुनिक र त्यहाँदेखि ऊ त्यहाँसम्म उत्तरआधुनिक भनेर रेखाङ्कन र सीमाङ्कन गर्छन् । र, यो क्रान्तिकारी, त्यो परको संशोधनवादी, त्यो उताको भ्रष्टीकरणवादी आदिआदि भनेर कर्मकाण्डी पुरेतले झैँ लेखक र उसको कृतिको न्वारन गर्छन् । यिनको मापन, सीमांकन र न्वारनमा लेखक र उसका कृतिका सबै बहुकालिक, बहुआयामिक र जटिल पक्ष तथा चिन्तन र सिर्जनाका सूक्ष्म आरोह-अवरोह समेटिँदैनन् । तसर्थ, यी शास्त्रीय अमिनहरूका कुरा पत्याउनुअघि बाह्र पटक विचार गर्नू । समाजबोध र कलाचेतप्रति सतत् अन्वेषणशील र सजग रहनू, र उत्तम कुरा, यी अमिनहरूका फैसला एक कानले सुनेर अर्को कानले उडाइदिनू । नत्र क्लिस्ट जार्गनहरूको चाङमुनि पुरेर लेखकलाई यिनले कुहिराको काग बनाउँछन् । प्रा.डा.को चोरऔँलो समातेर टुकुटुकु हिँड्न मन गर्ने लेखक साधनाको यात्रामा कतै पुग्दैन । साहित्यको वास्तविक न्यायाधीश प्रा.डा. होइनन्, पाठक हुन् । पाठकका आँखाको भाखाको सदैव ख्याल गरौँ, प्रा.डा.हरूबाट साहित्यलाई जोगाऔँ ।
३. गोष्ठीहरूमा अति ग्रहणशील प्रा.डा.हरू एउटै सनाईमा कविताको मूल्य-निरूपण गरी फटाफट मन्तब्य जारी गर्छन् । साँच्चिको कविता भनेको वतृत्वकलाको स्थुल वक्तब्यजस्तो तत्क्षण मूल्य-निरूपण गर्न सकिने चिज होइन । यसका अर्थका अनेक पत्र, आयाम र कोणहरू हुन सक्छन् । तसर्थ कविगोष्ठीहरूमा प्रा.डा.हरूका छिपछिपे र भुइँफुट्टा मन्तब्यहरू नसुन्नू, भ्रमित भइन्छ ।
४. कृतिमा भूमिका नलेखाउनू । भूमिका भनेको आपनो सिर्जनशील सामथ्र्यप्रति आफैँमा विश्वास नहुँदा टेकेर उभिन अरूबाट याचना गरिने बैसाखी हो । सारै गारो परे एउटासम्म भूमिकारूपी बैसाखी टेक्नू । कृतिमा तीन-चारवटा भूमिका टाँस्नु भनेको लेखकले उभिन तीन-चारवटा बैसाखी टेक्नु हो । दीनदुःखी लेखकको बडो हास्यास्पद दसा हो यो ।
५. शासक वा रोलवाला शासकका 'बाहुली'बाट कृतिको विमोचन कदापि नगराउनू । तिनका 'बाहुली'बाट विमोचन गराउनुको अर्थ तिनका सन्दिग्ध छविको छायामा आपनो आत्महीन अनुहार देखाउन रहर गर्नु हो । यो लेखकको चाकरीमुखी, पराश्रयी र आत्मसमर्पणकारी प्रवृत्तिको द्योतक हो । गद्दीवाल शासक वा रोलवाला शासकका चरणमा साहित्यको स्वतन्त्रता र स्वायत्ततालाई घुँडा टेकाइँदा लेखकीय विवेक र अभिव्यक्ति स्वतन्त्रताको हत्या हुन्छ । अनि, लेखकसँग लेख्नलाई के बाँकी रहन्छ ? सत्ताको अनालोचनात्मक निकटता र शासकप्रतिको नजानिँदो भक्तिले लेखकलाई चालै नपाई तिनको भजनमार्गी भाट बनाउँछ । एकबारको जुनिमा भाट लेखक बन्नु पनि के बन्नु ?
६. बेस्ट सेलर भनिने पुस्तक गुणवत्तामा बेस्ट नै हुन्छ भनी आँखा चिम्लेर नपत्याउनू । प्रायः यस्ता बेस्ट सेलरमा अतिरञ्जित विज्ञापन र व्यापारिक स्वार्थको मायावी लेप लगाइएका हुन्छन् । पाठकका हातमा पुग्ने माध्यम भए चित्ताकर्षक आवरण र सुन्दर मुद्रण भएको साहित्यको राम्रो पुस्तक धेरथोर अवश्यै बिक्छ । तर, केवल बिक्रीको सङ्ख्या पुस्तकको श्रेष्ठताको नापो होइन । अचेल प्रतिस्पर्धाको बजारमा आफ्नो मालमा आफ्नै हातले अब्बल दर्जाको छाप ठोक्ने अभिप्रायले मेरो यति र उति बिक्यो भनी कतिपय प्रकाशकले ढाँट्न थालेको छनक पाइन्छ । यस्ता ढाँटहरूको भ्रान्तिकारी छलबाट नबहकिनू ।
७. पुरस्कारको लालसाले लेखक बन्न नखोज्नू । लेखक भएर पुरस्कृत हुनु नराम्रो होइन । तर, कसैको कृपाबाट पुरस्कृत भएर लेखक भएको अभिनय गर्नु खतरनाक कुरा हो । कतैबाट कसैको पुरस्कार आइलाग्दा पुरस्कृत गर्न खोजिएको केलाई हो भनी सोच्नू । पुरस्कृत गर्न खोजिएको पुस्तकको गुणवत्तालाई हो कि जीहजुरीलाई हो ? पुस्तकमाथि सवार गराइएको अतिरञ्जित विज्ञापनबाजीलाई हो कि कुल, वंश, लिंग वा अन्य कुनै नाता वा स्वार्थलाई हो ? पुरस्कृत भएरमात्र अब्बल लेखक भइँदैन । लेखक भएर भइन्छ ।
८. गनगन गर्न र रुन लेखक नबन्नू । मैले भाषा र साहित्यको उत्पात सेवा गरेँ, तर मजस्तो राष्ट्रको अनमोल मणिको उचित कदर भएन भनी गनगन गर्ने र रुनेहरूको यहाँ केही कमी छैन । कसैलाई पनि समाज वा राष्ट्रले भाषा-साहित्यको सेवावापत पछि मेवा टक्रयाउँला भनेर भर्ती गरेको हुँदैन । लेखक बन्नु स्वेच्छिक कर्म हो । व्यक्तिको नितान्त निजी रुचि र रोजाइको कुरा हो यो । गनगन र रोदनको बासी पथको पथिक हुनुभन्दा त बरु लेखक नहुनु नै बेस ।

Sep 25, 2010

लिम्बु जातिका नायक र क्रान्तिकारी कवि डबल सुब्बा

नरेन्द्रराज प्रसाई
खड्गबहादुर नेम्वाङ पल्लोकिरातको लिम्बुवानमा प्रसिद्ध थिए । उनी १९९० सालमा इलाम अमिनीमा बिचारी भए । उनी बारुद, बन्दुक र पिस्तोलका सोखिन थिए । साथै उनी सिकार खेल्नमा पनि पारङ्गत थिए । उनी प्रथम र द्वितीय विश्वयुद्धबाट फर्केका पूर्वसैनिकसँग बन्दुक किन्थे । यिनले तिनै हातहतियारहरू राणाशाही विरुद्ध लड्ने क्रान्तिकारी मुक्तिसेनालाई दिएर सहयोग गरे । क्रान्ति सम्पन्न भएपछि २००८ सालमा गृहमन्त्री बीपी कोइराला इलाम भ्रमण गएका थिए । त्यसै बखत कोइरालाले यिनलाई धन्यवादको पत्रसहित यिनका बन्दुकहरू फिर्ता गराइदिएका थिए । त्यसै साल क्रान्तिमा सहयोग गरेवापत यिनले इलाम अमिनीको सुब्बाको पदमा नियुक्ति पाए । किपटिया लालमोहरिया सुब्बा अमिनीको पनि सुब्बा भएपछि यिनलाई डबल सुब्बा भन्न थालियो । अनि यही सम्बोधनले यिनी प्रख्यात भए । त्यस बेलाको अमिनीको सुब्बापद पछि जिल्ला न्यायाधीशमा रुपान्तर भयो ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने अभियानमा पल्लोकिरात लिम्बुवानलाई पनि विशाल नेपालभित्र समाहित गरे । तर त्यसो गर्दा लिम्बुहरूलाई तिनको जिमिभूमिमा तिनकै स्वामीत्व रहने गरी आफ्नो कुलभाइ ठानी पृथ्वीनारायण शाहले “त्यो मुलुक सम्हार गरी जिमीभूमि रहिन्जेल तिम्रा शाखासन्तानतक भोग्य गर” भनी धर्मपत्रको तसल्लीको मोहरस्वरुप ताम्रपत्र गरिदिए । अनि लालमोहर अनुसार लिम्बुको जातिगत स्वामीत्व हुने जग्गालाई किपट भन्न थालियो । किपट जग्गामा राज्यको स्वामीत्व हुँदैनथ्यो । किपटप्रथाका कारणले नै पूर्वाञ्चलमा लिम्बुजातिको वस्ती पनि स्थिर हुन सकेको थियो ।
पृथ्वीनारायण शाहका उत्तराधिकारीहरूबाट पनि लिम्बुको भूमिमाथिको स्वामित्व र अधिकार लालमोहरमार्फ कायम राखिदिने परम्परा बस्यो । जिमिभूमिमाथि स्वामित्व रहेका लिम्बु जातिको यो भूस्वामित्वसहितको जातीय अधिकारबाट किपट प्रणाली सुरु भयो । जसअर्न्तर्गत स्थानीय प्रशासनिक र न्यायीक अधिकारसहितको सुब्बाङ्गी प्रथा प्रारम्भ भयो । प्रशासनिक र न्यायिक अधिकारसहितको सुब्बाङ्गी प्रथामा अमाल गर्ने अधिकार सुब्बालाई वंशानुगत रूपमा प्राप्त हुँदै गयो ।
शाहवंशीय राजाहरूका लालमोहरबाट लिम्बुका जेठो सन्तान क्रमशः सुब्बा पदबाट सुशोभित हुन थाले । त्यसपछि अरुहरुले पनि लिम्बुहरुलाई सुब्बा भन्न थाले । लिम्बुजातिको नेम्वाङ कुलमा जन्मेका खड्गबहादुरका पुर्खा पनि जातिगत रूपमा सुब्बा भनिए । तर खड्गबहादुर नेम्वाङ भने अमाली र जिम्मावाल सुब्बासमेत भएका थिए ।
डबल सुब्बा लिम्बुजातिको जागरणका हर्कुलस थिए । उनी काम गरेर थाक्तैन थिए । उनको पहिलो काम नै लिम्बु जातिलाई उद्बोधन गर्ने हुन्थ्यो । सातसाल अगाडि सेतामगुराली (सेर्पा, तामाङ, मगर, गुरुङ, राई र लिम्बु) हरू शिक्षाको किरणबाट धेरै टाढा थिए । उनी लिम्बुजातिलाई कुरितीबाट मुक्त गर्न शिक्षा दिनु पर्छ भन्ने मान्यतामा लागे । त्यसैले आफ्नै गाउँमा २००६ सालमा प्राइमरी स्कूल स्थापित गर्न उनी सफल भए । उनैले आफ्ना बुबाआमाको नाउँ जोडेर ‘मनरत्न मिडिल स्कुल’ चलाए । त्यस स्कुलको स्थापना भएपछि त्यहाँ सेतामगुरालीले पनि क्षत्रीबाहुनहरूसँगसँगै पढ्न थाले । सो स्कुल पछि उच्चमाध्यमिक विद्यालयमा रुपान्तरित भयो ।
राणाशाहीका बेलामा किपट भूमिबाट लिम्बुहरुलाई पाखा लगाउने चालबाजी क्रमशः सुरु भयो ।अनि लिम्बुहरूले पनि अफ्नो परम्परागत अधिकारका लागि संघर्ष गरे । २००७ सालको जनक्रान्तिमा लिम्बुहरूको सहभागिता बढी हुनुमा यो नै एउटा मुख्य कारण पनि थियो ।
क्रान्तिताका पूर्वाञ्चल क्षेत्रमा जनमुक्ति सेनाको कुल संख्यामध्ये झन्डै आधाजति लिम्बु थिए।क्रान्तिपछि अवसरवादीका भड्काउमा परेर केही सोझासाझा लिम्बुहरूबाट साम्प्रदायिक दङ्गा भड्किसकेको थियो।भड्काउमा परेका जनमुक्तिसेना र साधारण जनताबिच रक्तपातपूर्ण घटना घट्न नदिन क्रान्तिका अगुवाहरूले डबल सुब्बालाई अघि सारे । आफ्ना दाजुभाइ, कुलकुटुम्ब र गन्यमान्य लिम्बुहरूको सहयोगबाट उनले शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेले। फलस्वरूप राजा त्रिभुवनको लालमोहरबाट किपटप्रथा यथावत कायम राख्ने घोषणा भयो ।
डबल सुब्बा शान्ति र सृजनाका साँघु थिए । उनी राम्रा कवि पनि थिए । उनले २०१२ सालमा मुनामदनको भाकामा लिम्बुभाषामा “किरात मिकहन साम्लो’ नामक खण्डकाव्य लेखे । लिम्बुभाषाको काव्यसाहित्यमा यो नै पहिलो आधुनिक काव्य मानियो । त्यतिमात्र होइन लिम्बु जागरणमा समर्पित स्रष्टाहरुका लागि डबल सुब्बा भीम थिए । त्यस मामलामा उनी बाधाको पहरा फोर्न पनि पोख्त थिए । उनी सामाजिक जागरणमा त्यतिकै क्रियाशील थिए । त्यसैले उनले लिम्बु चेलीउपर भएको कुरितिजन्य प्रथा उन्मुलन हेतु लिम्बुभाषामा कविता लेखे-
चेलीलाई बेच्नु ढोगौली पैसा धेरधेर थापेर
तीन वर्षम्म टीकामा ल्याउ नछोडी भनेर
ऋणदान बोक्नु घरबारी बेच्नु जुवाईं पठाई
छोरी र चेली बेचेर खानु घरबास उठाई
हे बन्धु भन कसरी पुग्ला त्यसपछि खानलाई
घरबार उडे सकिन्न साँच्चै ऋणसम्म तिर्नुलाई ।
अनुवाद (बैरागी काइँला :२०३९)
डबल सुब्बाले लिम्बु संस्कृति र साहित्यलाई प्रकाश पार्ने हेतु झनै जाँगर चलाए । लिम्बुलगायत अन्य जातजातिबिच शिक्षाको प्रचार, कुरितीको उन्मूलन र सामाजिक चेतनाको उज्यालोमा जान उनैले बत्ती बालिदिए ।
डबल सुब्बा शिक्षा प्रचारमा दत्तचित्त भएर नै लागे । उनले आफ्नै गाउँ सारताप, पाँचथरमा खुलेको पाठशाला र इलाम तथा झापाका स्कूल भवन र पुस्तकालय भवन निर्माण गरिदिए । बाँचुन्जेल उनले समाजसेवामा आफूलाई समाहित गरिरहे । खास गरेर लिम्बु समुदायको मानसिक, शारीरिक, बौद्धिक, सामाजिक, राजनैतिक र सांस्कृतिक जागरणका लागि यिनले योगदान दिइरहे ।
लिम्बुहरूलाई अन्याय पर्‍यो भने डबल सुब्बा आफ्नै छाती तेर्साएर अघि र्सर्थे । यस मामलामा हारे पनि यी चुप लागेर बस्तैन थिए । २०१७ सालमा राजा महेन्द्रको शाही कदमपछि लिम्बुको हकअधिकार र किपटप्रथा कटौती हुन थाल्यो । तर डबल सुब्बा एकनासले सत्ताको विरोधमा नै लागिरहे । २०२१ सालमा भूमिसुधारले लिम्बुहरूको सुब्बाको पद र किपट प्रथाको अन्त्य नै गरिदियो । त्यसपछि पनि लिम्बुहरूलाई अरुहरुद्वारा सुब्बा शब्दले सम्बोधन गरिने चलनचल्ती भने छुटेन । कतिपय लिम्बुले आफूलाई निरन्तर सुब्बा लेख्तै रहे ।
डबल सुब्बाको जन्म १९७१ साल फागुन २९ गते पाँचथरको पौवा गाउँमा भएको थियो । मनप्रसाद नेम्वाङ र उनकी चौथो नम्बरकी भनौ कान्छी पत्नी रत्नकुमारी फागूका यिनी साहिंला छोरा थिए ।
डबल सुब्बाले घरैमा कखरा पढे । उनी सानैदेखि लडाकु तर मिलनसार स्वभावका पनि थिए । उनी अत्याचार, अन्यायका घोर विरोधी थिए । साथै ज्ञानगुनका कुरामा पनि उनी अगाडि नै पर्थे ।
डबल सुब्बा रसिक पनि थिए । उनी नाचगान र लोकबाजा राम्ररी बजाउन सक्थे । उनी चार्डपर्वमा च्याब्रुङ र मुर्चुङ्गा बजाउँदै नाच्ने गर्थे । धान नाच्न जाँदा उनी कसै न कसैलाई मोहित पारी छाड्थे । यही रीतमा यिनले धेरै नारीसँग प्रिति पनि गाँसे । यिनले छ जनासँग विहे गरे । यिनका छओटी श्रीमतीबाट आठजना छोरा र छजना छोरी जन्मे । उनले आफ्ना छोराछोरीको भविष्यका लागि तन, मन र धन दिए । यसैक्रममा उनले सर्वप्रथम आफ्ना छोराहरुको शिक्षामा पनि जोड दिए । उनका छोराहरु पनि हुने विरुवाका चिल्लोपातका रूपमा निस्के । उनका छोराहरू भूविक्रम नेम्बाङ नेपाली काङ्ग्रेसका नेता भए र तिलविक्रम नेम्बाङ अर्थात् बैरागी काइँला नेपाली भाषासाहित्यका एउटा महारथी भए । तिनै महारथी नै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति पनि भए ।
डबल सुब्बाको २०३८ साल भदौ २ गते झापाको खुदुनाबारीमा स्वर्गारोहण भयो । त्यस दिन समाजसेवाको एउटा पाटोमा ओझेल परेको थियो भने लिम्बु जातिको आकाशमा बादल लागेको थियो ।

अध्यात्मवादमाथि हकिन्सको प्रहार

प्रस्तुति : शशि पौडेल
सैद्धान्तिक भौतिक विज्ञानका विश्वप्रसिद्ध वैज्ञानिक स्टिफान हकिङ्स फेरि एकपटक निवृत्त भएको एक वर्षमै विवादमा मुछिएका छन् । प्रसिद्ध सिद्धान्तकार हकिङ्सका यसअघिका पुस्तकले पुँजीवादीलाई मात्र विचार दिएन कि माक्र्सवादी दार्शनिकलाई र माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादी विचारधारालाई पनि मलजल दियो । हुन त स्टिफानले चाहेर माक्र्सवादलाई मलजल दिलाएका होइनन् । किनकि उनी विशुद्ध पुजीवादी वर्गका हुनेखाने वैज्ञानिक हुन् । आजभन्दा झन्डै सात दशकअघि बेलायतको अक्सफोर्डमा जन्मेका स्टिफान हकिङ्सको पहिलो भौतिक सिद्धान्त 'एम थेउरी' ले दशकौँदेखि बहसमा ल्याएको हो । उनले आफ्नो सिद्धान्तलाई प्रमाणित गराउन जर्मनका अर्का भौतिक विज्ञानका प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइनस्टाइनको सिद्धान्तलाई पनि अघि सारे । अहिले आएर उनी वैज्ञानिकहरूबीचको बहसमा मात्र छैनन् कि उनलाई अहिले आध्यत्मवादीले विशेष प्रहार गरेका छन् । स्टिफान हकिङ्सको दुई साताअघि एउटा नयाँ पुस्तक प्रकाशन भएलगत्तै निकै चर्चामा आयो । उनको पुस्तक 'द ग्रयान्ड डिजाइन' ले 'ब्रह्माण्डको उत्पत्ति भगवान्ले गरेको होइन, यो त रासायनिक तत्त्वको रियाक्सनबाट भएको हो र जसरी आयो त्यसरी नै कालान्तरमा नष्ट हुनेछ' भन्ने तथ्य प्रकाशमा ल्याएको थियो । सो पुस्तक प्रकाशन भएपछि संसारभरिका चर्चका पादरी र आफूलाई भगवान्का प्रतिनिधि ठान्ने पप र पण्डितले आफूमाथि बज्र प्रहार भएको महसुस गरेका छन् । यद्यपि, स्टिफन हकिङ्सले यसै प्रकारको पुस्तक यसअघि लेखिसकेका थिए । सो पुस्तक विश्वका ५० भन्दा बढी भाषामा अनुवाद भइसकेको छ र विश्वभर करोडभन्दा बढी बिकिसकेको छ । जुन पुस्तकको नाम हो- 'ए बि्रफ हिस्टोरी अफ टाइम ।' जब यो पुस्तक १९८८ मा प्रकाशित भयो, त्यतिवेला पनि यसबारे प्रश्न उठेको हो । प्रश्न सहज थिएन । विश्व ब्रह्माण्डबारे के थाहा छ ? यो प्रश्न उठेको २२ वर्षपछि स्वयं डा. हकिङ्सले यसको उत्तर दिएका छन् र उनको प्रश्न र उनकै उत्तरले विश्वमा धर्मलाई आफ्नो गरिखाने भाँडो बनाउनेहरूलाई चोटिलो प्रहार गरेको छ । कार्ल माक्र्स र फेडरिक एंगेल्सले डेढ शताब्दीअघि द्वन्द्वात्मक भौतिकवादी दर्शन प्रतिपादन गर्दा पनि गिर्जाघरका मालिकले कार्ल माक्र्सलाई अधर्मी, पापिस्ट बोक्सो भनी आरोप लगाए र उनलाई एक दार्शनिकका रूपमा नहेरी साहित्यकार र अर्थशास्त्री बनाउने प्रयास गरे । तर, समयको अन्तरालसँग माक्र्स र एंगेल्सबाट प्रतिपादित द्वन्द्वात्मक भौतिकवादी दर्शन विश्वका ठूलो जनसमुदायको जीवन दर्शनका रूपमा परिणत हुन पुग्यो । स्टिफन हकिङ्सले डेढ शताब्दीपछि त्यही कुरा अर्को गरी घुमाएर भन्न खोजेका छन्, जुन कुरा कार्ल माक्र्स र एंगेल्सले भनेका थिए । फरक के मात्र हो भने हकिङ्सले दुई जोड दुई चार हुन्छ भन्ने ढंगले आफूलाई द ग्रयान्ड डिजाइनमा प्रस्तुत गर्न सफल भएका छन् । माक्र्स र एंगेल्सको पालामा टेक्नोलोजी र इन्फास्ट्रक्चरको यति ठूलो विकास नभइसकेकाले कहिलेकाहीँ दार्शनिक परम्परा कायम राख्दै दुई जोड दुई पाँच पनि हुन सक्छ भन्नुपर्ने अवस्था थियो । विश्वमा अहिले भएको सञ्चारसाधन र टेक्नोलोजीको द्रुत विकासले कुनै पनि कुराको समर्थन जनाउन वा विरोध जनाउन सहज भएको छ । डा. हकिङ्सलाई उनको पुस्तक र यसभित्र खाँदिएको विषयवस्तुको छाला काढ्न कसैले उनलाई घरमा निम्त्याउने छैन । तर, कार्ल माक्र्सलाई भने पुजीवादीहरूले उठिबास नै लगाएका हुन् । उनी पाँच-पाँचपटकसम्म आफ्नो मातृभूमिबाट खेदिए र कहिले फ्रान्स त कहिले बेलायत लुकेर बस्नुपर्‍यो । लुकेर बस्ने क्रममा उनलाई डर, त्रास देखाएर नसकिने भएपछि बौद्धिक तरिकाबाट उनीमाथि प्रहार हुन थाल्यो । यसको ज्वलन्त उदाहरण कार्ल माक्र्सकै एउटा लेखमा उनले उल्लेख गरेका छन् कि जब उनी १८७०-७२ ताका बेलायतमा मजदुरहरूको संगठन बनाउने प्रक्रियामा थिए, त्यतिवेला एकजना बेलायती पुजीवादी राजनीतिज्ञ जोन स्टुवार्ट मिलले कार्ल माक्र्सलाई एक साँझ खाना खाने निम्तो दिए । सो निम्तो कार्ल माक्र्सलाई माया गरेर वा उनलाई सम्मान गरेर दिइएको नभएर उनको विचारमा परिवर्तन ल्याउन सकिन्छ कि भन्ने उद्धेश्यले गरिएको थियो । कार्ल माक्र्स पनि कमजोर र कम चलाख थिएनन् । उनले आफ्नी छोरीलाई समेत लिएर गए । जोन स्टुवार्ड मिल पुजीवादी उदारवादी राजनीतिज्ञ थिए र उनी १८६० को दशकको अन्त्यतिर बेलायती संसद् सदस्य पनि थिए । त्यतिवेला मिललाई बेलायतको थिंक ट्यांग भनिन्थ्यो । कार्ल माक्र्सले आफ्नो एउटा पुस्तकमा यसबारे टिप्पणी गरेका छन्, 'जब म उनको घरभित्र प्रवेश गरेँ, त्यहाँको वातावरण देखेरै मलाई खुसी लागेन । त्यो वैभव र ढाँचा मेरा लागि देखावटी थियो,' माक्र्स अगाडि लेख्छन्, 'मैले कमसेकम एकजना अध्ययनशील राजनीतिज्ञसँग भेट हुने भयो भनेर सोचेको थिएँ, तर यथार्थ अर्को भयो । मैले मेरो विचार दृढताका साथ राख्न चुकिनँ । मैले उनलाई पेरिस कम्युनबारे पनि बताएँ । उनकी छोरीले बरु मेरो कुरा ध्यान दिएर सुनिन् ।'अहिलेको स्टिफान हकिङ्सको अवस्था फरक छ, उनी पुँजीवादी खेमाभित्रका वैज्ञानिक हुन् । उनको यो पुस्तकले धर्म र देवताको समर्थन गर्दैन, तर वर्गविश्लेषण र वर्गसंघर्ष एंव वर्गस्वार्थको कुरा पनि गर्दैन । त्यसैले यतिखेरको स्टिफन हकिङ्सको चर्चहरूसँगको लडाइँ वर्गस्वार्थको लडाइँ हुने छैन । बरु धर्मका पण्डितहरूले सो पुस्तक किनेर पढेर थपक्क एउटा कुनामा थन्क्याउनेछन् । यद्यपि, डा. हकिङ्सले प्रस्ट भाषामा वैज्ञानिक प्रमाणसहित धर्म र देवताका विरुद्ध चोटिलो प्रहार गरेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीको राजनैतिक मार्गदर्शन

छविसुब्बा सङबाङफे
वर्तमान नेपालको राजनीतिक परिवर्तनले विभिन्न राजनीतिक पार्टीहरुले आत्मसात् गर्दै आएका राजनैतिक मार्गदर्शन र सिद्धान्तहरुलाई चुनौति दिएको छ । पूँजीवादको परिमार्जित तथा विकसीतरुप प्रजातान्त्रिक समाजवाद अंगालेर कि्रयाशील भैराखेको नेपाली कांग्रेसले नेपालको जातीय धार्मिक भाषिक साँस्कृतिक तथा लिङ्गीय विविधता र विभेद सहिरुपमा पहिचान गर्न नसकेको हुनाले ती सावलहरुबाट उठेका द्वन्द्व र समस्याहरुको समाधान गर्ने रणनीतिक योजना र कार्यक्रम निर्माण गर्न असफल भएको छ । विगतका शासकहरुले अख्तियार गर्दै आएका प्रयोगवादी नीति र कार्यक्रम कांग्रेसले पनि त्यसैलाई निरन्तरता दिएको हुनाले नेपाली जनताद्वारा अपेक्षा गरिएबमोजिम कुनै परिवर्तन देखिएन । राज्यको श्रोत साधन र शक्तिलाई सामन्ति सँस्कार र चरित्र बोकेका शासकहरुले आफुमा सिमित राख्ने र तीनिहरुप्रति नै जवाफदेही र उत्तरदायी बनेर नोकरशाही तन्त्र (Burocracy)परिचालित भैदिनाले नेपाली जनताहरु सार्वभौम अधिकारबाट विाचत हुन पुगेका हुन । साम्यवादको नयाँ नारा उठाएर उदाएका कम्यूनिष्ट पार्टीहरु सत्ता भोगको चरणमा पुगेपछि उनीहरुमा विकास भएको निम्नपूँजीवादी चिन्तन अन्ततः सामन्ति सँस्कार र चरित्रमै रुपान्तरित भयो । सर्वहारा वर्गको राजनीतिक सत्ता स्थापना गर्ने मार्गदर्शन वैयक्तिक महत्वकांक्षा र अस्वस्थ प्रतिस्पर्धाबाट शक्ति हासिल गर्ने औजारको रुपमा प्रयोग गरियो । दुईदशक यताबाट अभ्यासमा आएका यी प्रयोगवादी राजनीतिक मार्गदर्शन र सिद्धान्तहरुले नेपाली समाजको संरचना र विविधता पहिचान गर्न सकेनन् जसको कारण जातीय, धार्मिक, भाषिक तथा साँस्कृतिक विभेदहरु चरमरुपमा बढ्दै गयो । अर्कोतिर पृथ्वीनारायण शाहद्वारा नेपाल एकीकरणको दौरान गरिएको छुट्टै राजनीतिक अस्तित्वमा रहेका विभिन्न राज्यहरुमाथिको वर्वर सैन्य हस्तक्षेपले तहस नहस बन्न पुगेका जाति, भाषि, धार्मिक र साँस्कृतिक समुदायहरु नेपाल राज्य निर्माणपश्चात उनीहरुको जातीय धार्मिक भाषिक तथा साँस्कृतिक लगायतका पहिचान र अस्तित्व नामेट पार्नेगरि लिईएको राज्यको नीति र कार्यक्रमको कारण नेपाली जनताले उत्पीडन भोग्नु परेको हो ।
यी सबै समस्याहरुको जड भनेको हिन्दुअतिवादमा आधारित केन्द्रीकृत सामन्ति राज्य व्यवस्था नै हो । यसको अन्त्य त्यसबेला मात्र सम्भव छ जतिबेला नेपालमा जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा नेपालको पुनःसंरचना भई संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन्छ । नेपालका सत्ताधारी दलहरु नेपाली जनताको आकांक्षा र चाहना बमोजिम राज्य पुनःसंरचना र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ईच्छुक देखिदैनन् । नेपालका आदिवासी, जनजाति, महिला, मधेसी, मुस्लिम, दलित, पिछडावर्ग लगायतका जनतालाई राजनीतिक मुलधारमा ल्याई राज्यसत्ताको साझेदारी गराएर राष्ट्रिय तथा स्थानीय स्तरका श्रोत र साधन संचालन परिचालनमा निर्णायक बनाउने राजनीतिक नीति तथा कार्यक्रम तर्जुमा गर्न वर्तमान मुलधारका राजनीतिक दलहरु अनुदार देखिन्छन् । यसको कारण विगत लामो समयदेखि सत्ताभोग गर्दै आएका वर्ग र जातिहरु नै अहिलेसम्म शासनसत्तामा हावी छन् र सत्ता साझेदारीबाट आफ्नो पहुँच घट्ने मनोविज्ञानले ग्रस्त छन् । लोकतन्त्रको उपभोग सबै जातजाति, लिङ्ग, वर्ग, तह र तप्काका जनताले समानरुपमा गर्न पाउनु पर्छ भन्ने मुल्य मान्यता र सिद्धान्त आत्मसात् नगरिएको कारणबाट मुलुक झनझन जर्जर बन्ने अवस्थामा पुगेको छ । यी समस्या समाधानको पाटो भनेको जातीय, धार्मिक, लिङ्गीय, वर्गिय भाषिक साँस्कृतिक लगायतका विविधताको पहिचानगरि सम्वोधन गरिनु पर्दछ ।
नेपालको भू-राजनीतिक संरचना विविध जाति, धर्मि, भाषि तथा सँस्कृति लगायतको समायोजनबाट भएको हुनाले तीनिहरुको अस्तित्व र पहिचान कायम राख्दै राजनैतिक, सामाजिक, आर्थिक तथा नैसर्गिक अधिकार सृजना गर्न ऐतिहासिक पृष्ठभूमि र तथ्यको आधारमा राज्यको पुनःसंरचना गर्नबाहेक अर्को सन्दर्भहरु न्यायिक हुन सक्दैनन् । तसर्थ नेपालको ऐतिहासिक पृष्ठभूमि र सामाजिक संरचना तथा सन्तुलनको आधारमा राज्य पुनःसंरचनागरि मुलुकको शान्ति स्थिरता र जनताको अमनचयन कायम गर्न उपयुक्त राजनैतिक मार्गदर्शन वहुराष्ट्र संघीय समाजवाद मात्र कामयावि हुनसक्छ ।
वहुराष्ट्र संघीय समाजवाद नेपालको विविधता र वस्तुगत धरातल अध्ययनगरि संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले विभिन्न वहस र छलफलद्वारा निर्माण गरेको राजनैतिक मार्गदर्शन हो । नेपालको जातीय ऐतिहासिक पृष्ठभूमि र वर्तमान सामाजिक संरचना र सन्तुलनको आधारमा लिम्बुवान, खम्बुवान, तामाङसालिङ, मिथिला, थरुहट, नेवामण्डल, मगरात, तमुवान र खसान समेत नौवटा स्वायत्त राज्य तथा प्रदेशहरुको संरचना प्रस्ताव यो पार्टीले गरेको छ । यी प्रस्तावित राष्ट्र-राज्यहरुको संरचनालाई संस्थागत नगरिएसम्म नेपालमा जातीय धार्मिक भाषिक तथा साँस्कृतिक उत्पीडन अन्त्य हुन सक्दैन र त्यसको कारणबाट मुलुकले वारम्वार द्वन्द्वको पीडा खेपिरहनु पर्ने अवस्था कायमै रहन्छ । केहि व्यक्ति र पार्टीहरु राष्ट्र शब्दलाई बेग्लै मुलुक भनेर गलत अर्थ लगाई विखण्डनको संज्ञा दिईराखेको पनि भेटिन्छ । तर नेपालको राजनीतिक ईतिहासले ओझलमा पारी यूगौंसम्म अन्याय खप्न वाध्यबनाईएका समुदायहरुको आत्मसम्मान, गौरव र स्वाभिमानलाई प्रतिविम्वित गर्ने शब्द राष्ट्र (जाति) वाहेक अर्को छैन । यसलाई संस्थागतरुपमा सम्वोधन गरेर मात्र यी जातिहरुको उत्पीडन सामुलरुपमा अन्त्य हुनसक्छ भन्ने संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीको ठहर हो । यसका साथै नेपालमा भएका सबै उत्पीडनहरुको अन्त्य र नयाँ उत्पीडन रोक लगाउने प्रभावकारी कार्यक्रम यो मार्गदर्शन बाहेक अर्को विकल्प छैन ।

Sep 22, 2010

शब्दभोजमा रुमल्लिएको राजनीति

डा. टीकाराम पोखरेल
विचार पढ्दा, सुन्दा र भाषणको शैली हेर्दा यस्तो लाग्छ- यो देशमा भएका यावत् समस्या आजको आजै समाधान हुन्छन् ।सबैले आ-आफ्नो डम्फू बजाउनु स्वाभाविक हो । तर, आफूले बजाएको डम्फू नै सबैभन्दा राम्रो छ र सबैले राम्रो भनिदिनु पर्दछ, त्यो भन्न नसक्ने सबै प्रतिगामी हुन्, आफूचाहिँ अग्रगामी भन्ने रोग अहिले नेपाली राजनीतिको विशेषता बनेको छ । हरेक पार्टी, पार्टीका नेता र राजनीतिक विश्लेषकहरू सबै आ-आफ्नै कामगराइ, भूमिका र तर्क ठीक भएको अरूको चाहिँ सबै बेकामे भएको तर्क गर्ने गर्दछन् । टेलिभिजनका स्त्रिन, रेडियोका तरंग र पत्रपत्रिकाका पानाहरूमा जताततै पार्टीका विचार, नेताका बोली र राजनीतिक विश्लेषकका विचारहरू बग्रेल्ती छरिएका देखिन्छन् । विचार पढ्दा, सुन्दा र भाषणको शैली हेर्दा यस्तो लाग्छ- यो देशमा भएका यावत् समस्या आजको आजै समाधान हुन्छन् ।
तर, व्यावहारिक पक्ष हेर्दाचाहिँ बोलाइ र गराइमा आकाश-जमिनको फरक छ । देश कामचलाउ प्रधानमन्त्रीको भरमा चलेको छ । ६०१ जनाको जम्बो संसद्ले समेत ३/३ महिनासम्म देशको प्रधानमन्त्री चुन्न सकेको छैन । प्रधानमन्त्रीको चुनावका लागि जम्बोसभामा ६०१ जना पटकपटक जम्मा हुने क्रम जारी छ । पूर्वनिर्धारित खटनपटनअनुसार केही सभासद् चर्का शब्द ओकल्छन्, विवेकलाई बन्धक राखेर भाषण गर्छन् । बाँकीले अरूका शब्द सुन्छन् । अनि, अन्त्यमा प्रधानमन्त्रीको चुनाव हुन्छ, हात लाग्योचाहिँ शून्य । उपलब्धिचाहिँ शब्दभोजमात्र हुन्छ ।
देशको राजनीतिक निकासका लागि बैठक बसेको भन्दै विभिन्न दलका नेताहरू सहमतिको नाममा भोज खान्छन् । भोजपछि टेलिभिजनका स्त्रिmनहरूमा दिल खोलेर हाँसेका देखिन्छन्, रमाएका देखिन्छन् । हाँसो र मनोरञ्जन हेर्दा सहमति भै नै सकेको भान हुन्छ, तर निकास पख्र्यो, हात लाग्योचाहिँ फेरि शून्य हुन्छ । त्यसो भए नेताहरूबीचको भेटवार्ताको उपलब्धि के भयो त ? भनेर मनन गर्‍यो भने भेटवार्तामा संलग्न नेताहरूको डिनरभोज हुन्छ र जनताका लागिचाहिँ मात्र उही शब्दभोज । जनतालाई सुशासनको सहभोज खुवाउनुको सट्टा आफैँ सहमतिभोज खाइरहने अनि देशलाई चाहिँ सधैँ अनिर्णयको बन्दी बनाइरहने हो भने अब जनताले नेताको शब्दजालबाट भ्रम मुक्त हुनै पर्ने हुन्छ ।
यतिवेला राजनीतिक दलका केही नेताहरूको शब्दजालमा नेपाली राजनीति दिशाहीन बनेको छ । नेताले पयाँकेका शब्दजालहरू यस्ता छन्, ती शब्दजाल सुन्दा देश तुरुन्तै रामराज्यमा परिणत भै नै सक्यो जस्तो लाग्छ । एउटा पार्टीको कुरा सुन्दा उही ठीक र अर्को पार्टीको कुरा सुन्दा त्यही ठीक जस्तो लाग्छ । ऊ हेर्दा उही ठीक र अर्को हेर्दा अर्कै ठीक लाग्ने तर देशको समस्याले चाहिँ कहिल्यै निकास नपाएको देख्दा आमजनताको दिमाग रिंगिएको छ ।
देशले नयाँ प्रधानमन्त्री चुन्ने निर्वाचनमा प्रधानमन्त्री चुन्न नसकेर आठआठ पटकको चुनावले विश्वरेकर्ड कायम गर्दै छ । नढाँटी भन्दा आमजनतालाई को व्यक्ति प्रधानमन्त्री बन्छ ? भन्ने कुरासँग कुनै सरोकार छैन । जनतालाई मात्र राजनीतिक स्थिरता, शान्ति र सुशासनसँग सरोकार छ । तर, राजनीतिक स्थिरता कायम गर्ने, शान्तिलाई तार्किक निष्कर्षमा पुर्‍याउने र सुशासन कायम गर्ने कुरामा यतिवेलाका कुनै पनि राजनीतिक शक्तिको ध्यान गएको छैन । आफू पाँचतारे होटलका डिनरभोज खाने र जनतालाई चाहिँ शब्दभोजमा नै छक्याउने दौडधूप राजनीतिक दल र नेताहरूबीच चलिरहेको छ ।
जनता भनेका राज्यको सबैभन्दा ठूलो शक्ति हुन् । यस्तो शक्तिलाई शब्दभोज बर्साएर केही वर्ष, केही दिन र केही छिन्लाई त ढाँट्न सकिएला, तर त्यो दीर्घकालीन हुन सक्तैन । किनभने शब्दभोज सुन्दा मीठो भए पनि त्यसले जनताको पेट भरिँदैन, विचारमा परिवर्तन पनि आउँदैन । शब्दजालले त्यो जाल बिछ्याउने नेतालाई क्षणिक आत्मसन्तुष्टि प्राप्त होला, तर देशले केही उपलब्धि हासिल गर्दैन, हानी मात्र पुर्‍याउँछ ।
यतिवेला दलका कतिपय नेताहरू अराजनीतिक भाषा बोलिरहेका छन् । एउटा दलले अर्का दलको र एउटा नेताले अर्को नेताको मानमर्दन गरिरहेका छन् । एउटाको अमृतवाणी अर्काको लागि विषवाणी पनि हुन सक्तछ भन्ने कुरामा नेताहरूको पटक्कै ध्यान गएको छैन । सहमतिको भोज गर्ने नाममा जनतालाई झुक्याउन अनेकन् शब्दजाल बिछ्याइरहेका छन् । यस्तो व्यवहारबाट सबै राजनीतिक दलले आफूलाई सुधार गरेनन् भने जनताको सुशासनको सहभोज खाने आशा निराशामा परिणत हुनेछ ।
आजको एक्काइसौँ शताब्दीमा सबै ठाउँमा सेन्सरको जमाना छ । नेताहरूले जथाभावी बोल्नु र जनतासँग सधैँ झूटको खेती गरिरहनु सुखद् पटक्कै होइन । त्यसैले अब नेताले बोल्ने भाषा र शब्दमा पनि अब सेन्सर लगाउनुपर्ने भइसकेको छ ।
tikaram.pokharel@gmail.com

Sep 18, 2010

एमालेद्वारा उम्मेदवारी फिर्ता लिन कांग्रेससँग आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा (एमाले) संसदीय दलको बैठकले एनेकपा (माओवादी) र एमालेबीच शुक्रबार भएको तीनबुँदे सहमतिको स्वागत गर्दै नेपाली काँग्रेसलाई पनि प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।पार्टी संसदीय दलका नेता झलनाथ खनालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय सहमतिको वातावरण निर्माण गरी शान्ति प्रक्रिया र संविधान निर्माणलाई अघि बढाउन सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।बैठकमा प्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्र सङ्घीय राजनीतिक मिसन (अनमिन) र शान्ति प्रक्रियासम्बन्धी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भएको चारबुँदे सहमतिका बारेका जानकारी गराउनुभएको एमाले सभासद् राधा ज्ञवालीले बताउनुभयो ।यसैगरी संविधानसभाअन्तर्गतका सात विषयगत समितिमा दलहरूबीच देखिएका मतभिन्नताका विषयमा प्रतिवेदन अध्ययन समितिका संयोजक अग्नि खरेलले जानकारी गराएपछि ती मतभिन्नताहरूलाई यथासक्य छिटो टुङ्ग्याई संवैधानिक समितिमा पठाउन बैठकले जोड दिएको छ ।

कङ्ग्रेसको १२ औँ महाधिवेशनमा ३६१ जनाले मनोनयन दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २- नेपाली कङ्ग्रेसको १२ औँ महाधिवेशनमा विभिन्न पदका लागि ३ सय ६१ जनाले मनोनयन दर्ता गराएका छन्। महाधिवेशन निर्वाचन समितिका सदस्य केशव रिजालका अनुसार बिहान ८ देखि १२ बजेसम्मका लागि निर्धारण गरिएको उम्मेदवारी मनोनयन अवधिभरमा सभापतिका लागि तीन, महामन्त्रीका लागि तीन र कोषाध्यक्षका लागि दुई जनासहित सो सङ्ख्यामा मनोनयन दर्ता भएको हो।
सभापतिका लागि पहिलो नम्बरमा पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा, दोस्रोमा नेता भीमबहादुर तामाङ र तेस्रोमा कार्यवाहक सभापति सुशील कोइरालाले उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ। त्यसैगरी महामन्त्रीका लागि पहिलो नम्बरमा नरहरि आचार्य, दोस्रोमा विमलेन्द्र निधि र तेस्रोमा प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका थिए भने कोषाध्यक्षका लागि पहिलोमा चित्रलेखा यादव र दोस्रोमा पद्मनारायण चौधरीले मनोनयन दर्ता गराए। पार्टी विधानअनुसार खुल्लातर्फको २५ जना केन्द्रीय सदस्यका लागि ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीका उपसभापति रामचन्द्र पौडेल र गोपालमान श्रेष्ठ, महामन्त्री कुलबहादुर गुरुङ, सहमहामन्त्री अर्जुननरसिंह केसी तथा खुमबहादुर खड्का, डा रामशरण महत, चक्र बाँस्तोला र सुजाता कोइरालालगायतका प्रभावशाली नेताहरूले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएको रिजालले बताए। निर्वाचन आयोगले उम्मेदवारहरूको पहिलो नामावली आजै २ बजे प्रकाशित गर्नेछ भने उम्मेदवारीमाथिको दाबी विरोधको समय दिउँसो ३ बजेसम्मलाई तोकेको छ। दाबी विरोधपछि आयोगले आजै बेलुकी ५ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने कार्यक्रम छ।यसपटक हरेक निर्वाचन क्षेत्रबाट दुई महिलासहित जनजाति, मधेसी, मुस्लिम गरी समावेशी सहभागिताका आधारमा मुलुकभरका २४० निर्वाचन क्षेत्रबाट दुई हजार ८८० र भ्रातृ एवम् शुभेच्छुक संस्था तथा विदेशस्थित जनसम्पर्क समितिबाट गरी कुल तीन हजार ८८ महाधिवेशन प्रतिनिधिले भाग लिएका छन्। महाधिवेशनले ८५ सदस्यीय नयाँ कार्यसमितिका लागि सभापति, महामन्त्री र एक कोषाध्यक्ष तथा ६१ सदस्य गरी ६४ पदाधिकारीको निर्वाचन हुने भएको छ।

उपराष्ट्रपति झाका स्वकीय सचिव राजेश पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१ असोज : प्रहरीले राज्यविरुद्धको अपराध गरेको आरोपमा प्रहरीले मधेसवाणी साप्ताहिकका प्रकाशक एवं सम्पादक राजेश अहिराज झालाई पक्राउ गरेको छ । तराईमा भूमिगत सशस्त्र संघर्षरत संगठनमा आबद्ध भएको आरोपमा उनलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर हनुमानढोकाका अनुसार मधेसवाणी साप्तहिकमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका लागि नौ पदमा सैन्य भर्नासम्बन्धी विज्ञापन शुक्रबार प्रकाशित गरेको आरोपमा झालाई पक्राउ गरिएको हो ।
'राजन मुक्तिको नामबाट प्रकाशित सैन्य भर्नासम्बन्धी विज्ञापन मुलुकको राष्ट्रिय सार्वभौमसत्ता, एकता र अखण्डता एवं वर्तमान संक्रमणकालीन परिस्थितिमा शान्तिप्रक्रियासमेतका लागि प्रतिकूल हुन सक्ने' भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिइएको परिसरले जनाएको छ । शुक्रबार प्रकाशित मधेसवाणीमा मोर्चाले विभिन्न पदमा १६ एक सय ४५ जनाका लागि सैन्य भर्ना आह्वान गरेको विज्ञापन प्रकाशित गरिएको थियो ।
पक्राउ परेका राजेशमाथि राज्यद्रोहको अभियोगमा मुद्दा चलाइने महानगरिय परिसर काठमाडौंका एसपी रमेश खरेलले बताए । प्रहरीले हनुमानस्थान मन्दिरनजिक रहेको सो साप्ताहिकको कार्यालयमा छापा मारेर कम्प्युटर सिपिओ चारथान, ल्यापटप एकथान, पेनड्राइभ एक थान बरामद गरेको छ । रौतहट संग्रामपुर-४ स्थायी घर भएका राजेश उपराष्ट्रपति झाका स्वकीय सचिवालय सम्बद्ध हुन् । तर, उपराष्ट्रपतिका स्वकीय सचिव बताउने कृष्ण झाले आफू मात्र स्वकीय सचिव रहेको दाबी गरेका छन् । उनले भने, 'म मात्र हो, स्वकीय सचिव ।'

बिजुक्छेद्वारा राष्ट्रपति शासन लगाउनुपर्नेमा जोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुटवल, असोज २- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले मुलुकलाई राजनीतिक गतिरोधबाट छिटो निकास दिनका लागि राष्ट्रपति शासन नै आवश्यक भएको बताएका छन्।
मुलुकमा जटिल आर्थिक विशृङ्खलता निम्तिने बेलामा पनि राष्ट्रपति शासन लागू नगर्दा मुलुक पछाडि पर्ने उनले टिप्पणी गरे। मुलुकमा आर्थिक समस्या झन् जटिल बन्दै गएको जिकिर गर्दै उनले भने- बजेट पनि समयमा ल्याउन नसक्नुमा निकासको बाटो अवलम्बन गर्न नसक्नु मुख्य कमजोरी हो।'पार्टीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निकासको अर्को बाटो नयाँ चुनाव पनि हुन सक्ने बताए। राष्ट्रपति र सभामुखलाई अधिकारबिहीन बनाउँदाको परिणाम मुलुकले अहिले व्यहोरिरहेको विचार उनको थियो।सरकार गठनमा देखिएको समस्या समाधानका लागि राष्ट्रपतिले ठूलो दललाई सरकार गठन गर्न आह्वान गर्न सक्नेसम्मको अधिकार नहुँदा र पटक–पटकको प्रधानमन्त्रीय निर्वाचनका बारेमा सभामुखलाई विकल्प खोज्ने अधिकार नहुँदा समस्या निम्तिएको उनले बताए।

प्रेमिका सेक्सी, पत्नी सुन्दर

सुन्दर अनुहार र उपयुक्त फिगरमा पुरुषहरू भुतुक्क हुन्छन् । तर प्रेमिका र पत्नी छान्ने सन्दर्भमा पुरुषको रुचि बेग्लाबेग्लै हुन्छ । 'इभोल्युसन एन्ड ह्युमन बिहेभियर' जर्नलमा छापिएको प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले के भनेका छन् भने पुरुष कुनै युवतीसँग डेटिङ गर्दा उसको अनुहारको सुन्दरता नभई शरीरको बनावटलाई महत्त्व दिन्छन् । उनहिरू पर्फेक्ट फिगर भएका केटीसँग डेटिङ गर्न रुचाउँछन् । तर जब कुरा बिहेको हुन्छ, पुरुषको रुचि बदलिन्छ । उनीहरू सुन्दर अनुहार भएका युवतीसँग बिहे गर्न रुचाउँछन् । बिहे गर्न भने पुरुषहरू युवतीको फिगरलाई बढी महत्त्व दिँदैनन् । अनुसन्धानकर्ताहरूका अनुसार यौन सन्दर्भका लागि मात्रै हो भने पुरुषहरूका लागि ३६, २४ र ३६ इन्च फिगरवाला शरीरले धेरै महत्त्व राख्छ । घर बसाउने मामिलामा भने यस्तो फिगरको कुरो बिर्सन्छन् । अनुसन्धाताहरू के भन्छन् भने सुन्दर अनुहार भएका युवतीसँग बिहे गर्नाले पुरुषको प्रजनन क्षमतामा वृध्दि हुन्छ । यसले स्वस्थ परिवारको विकास हुन्छ र सम्बन्ध बलियो हुन्छ ।
यौनले बढ्छ एकाग्रता
नियमित स्वस्थ सेक्सका अनेक लाभ हुन्छन् । यसले तनावमा कमी आउनुको साथै शरीर स्वस्थ रहन्छ, रोग प्रतिरोधक क्षमतामा असर पर्छ । नियमित र आनन्ददायक यौनसम्बन्धले मस्तिष्कसमेत विकसित हुने नयाँ अनुसन्धानले सावित गरेको छ । यसले मस्तिष्कमा नयाँ कोष बन्छन् र व्यक्ति विशेषको एकाग्रतामा वृध्दि हुन्छ ।
लाइभ साइन्सको समाचारअनुसार पिस्टन विश्वविद्यालयका वैज्ञानिकहरूले यो विषयमा एउटा अनुसन्धान गरे । उक्त अनुसन्धानको मुख्य विषय 'के आनन्ददायक क्षणले हाम्रो मस्तिष्कमा सकारात्मक असर पुर्‍याउन सक्छ ?' भन्ने थियो ।
यसका लागि वैज्ञानिकहरूले केही मुसामा प्रयोग गरे । उनीहरूले भाले मुसाका दुई समूह बनाए । एउटा समूहको भाले मुसाका लागि उनीहरूले प्रतिदन यौनका लागि तयार पोथी मुसा उपलब्ध गराए । अर्को समूहका मुसाका लागि यो मौका हरेक दुई सातामा एकपटक दिइयो । यसरी एक समूहको मुसालाई प्रतिदिन यौनको आनन्द उठाउने मौका पाए भने अर्को समूहको मुसाले यो मौका पाएन ।
यसपछि वैज्ञानिकहरूले दुवै समूहका मुसाका शरीरमा ग्लुकोकोरिकोइडस्को मात्रा परीक्षण गरे । ग्लुकोकोरिकोइडस्मा तनाव उत्पन्न गर्ने हार्मोन हुन्छ । दुवै समूहका मुसामा यसको मात्रा पाइए पनि पहिलो समूहका मुसामा भने यसको मात्रा कम देखियो । अर्कोतर्फ नियमित रूपमा यौनको आनन्द उठाइरहेको मुसाको मस्तिष्कको कोष बढी विकसित भए र उनीहरूको बीच सम्पर्क सूत्र पनि बढी विकसित भए । यी मुसाहरू अन्य मुसाको दाँजोमा कम बेचैनी अनुभव गरे, उनीहरूको मस्तिष्क बढी क्षमतावान् देखियो ।
यसको परीक्षणका लागि वैज्ञानिहरूले खानाको खोजीका लागि दुवै मुसाले गर्ने व्यवहारलाई नियाले । वैज्ञानिकहरूले नियमित यौनको आनन्द उठाइराख्ने मुसाले जटिलभन्दा जटिल परिस्थितिमा समेत खानाको खोजी गरेको पाए जब कि अन्य मुसाले भने यसो गर्न सकेनन् । यो अनुसन्धानले नियमित यौनबाट मुसाको व्यवहार र मस्तिष्कमा सकारात्मक असर पार्छ भन्ने तथ्य हात पार्‍यो ।वैज्ञानिकहरूका अनुसार बायोलोजिकल रूपमा मानवको शरीरमा समेत यस प्रकारको परिवर्तन हुने गर्छ ।

Sep 17, 2010

मित्रताबीचमा आउछ प्रेम

एक अध्ययनका अनुसार जब तपाईको कसैसँग प्रेम हुन्छ तब तपाईले आफ्ना कम्तीमा दुई जना मित्र गुमाउनुहुन्छ। हामी सबैलाई थाहा छ कि जब कसैसँग प्रेम हुन्छ त हामीसँग अन्यका लागि निकै कम समय बच्ने गर्दछ। तर अब यो कुरालाई बैज्ञानिकहरुले पनि प्रमाणित गरिदिएका छन् ।अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले मानिससँग उनीहरुको निकटका मित्र र प्रेमपछिको करिबी मित्रको संख्यामा आएको परिवर्तनको विषयमा प्रश्न सोधेका थिए ।यस क्रममा शोधकर्ताहरुले प्रेमी या प्रेमिका पाएपछि पाँच जना निकटका मित्रको संख्या घटेर तीनमा झरेको पाएका थिए । अक्सफोर्ड विश्वविद्यालयका विकासवादी मानव विज्ञानका प्राध्यापक रांविन डुनबर यसको विश्लेषण गर्दै भन्छन्-उनीहरु जो कसैसँग प्रेम गर्दछन्, उनीहरुको औषत पाँच निकटका मित्र हुन्छन्, प्रेमसम्बन्धमा फसेपछि उनीहरुका चार मित्र मात्र रहन्छन् ।उनी भन्छन् – तपाईको जीवनले जुन नयाँ व्यक्ति पाएको छ, तपाई उसका बारेमै बढी सोच्नु हुन्छ, यसको अर्थ यो भयो कि तपाईले दुई जना मित्र गुमाउनुभयो । यो अध्ययन अस्टममा आयोजित बेलायती विज्ञान महोत्सवमा प्रस्तुत गरिएको थियो । यो शोध अध्ययनलाई प्रकाशनका लागि पठाइएको छ।प्राध्यापक डुनबरको समूहले सामाजिक नेटवर्कको अध्ययनसमेत गरेको थियो । र, कसरी हामी त्यसको आकार र संरचनाको प्रबन्ध गर्दछौ भन्ने कुरा हेरेको थियो।उनले पहिलै यो कुरा भनिसकेका थिए कि कुनै व्यक्तिको डेढ सयसम्म मित्र हुन सक्दछ। सामाजिक नेटवर्किङ्ग वेभसाइट फेसबुकको उदाहरण दिदै उनले भने-त्यहाँ हरेक व्यक्तिको १२० देखि १३० सम्म मित्र छन् । मित्रहरुकोयो संख्यालाई चार वा ६ स-साना समूहमा विभाजित गर्न सकिन्छ। यी यस्ता व्यक्ति हुन्छन् जुसलाई हामी सातामा एक पटक अवश्य देख्छौ र संकटको समयमा हामी उनीहरुकोमा जान्छौ । यसको अघिल्लो घेरामा ती व्यक्ति आउछन् जसलाई हामी महिनामा एक पटक देख्छौ अर्थात सहानुभूति समूह ।अध्ययनमा १८ वर्षभन्दा माथि उमेरका ५४० व्यक्तिसँग प्रश्न उत्तर गरिएको थियो । उनीहरुसँग उनीहरुको सम्बन्धमा रोमान्टिक नाता सुरु भएपछि पर्ने दबावका बारेमा सोधिएको थियो ।