टंक वनेम
लिम्बू संस्कृतिमा आधारित चलचित्र "नुमाफुङ" (सून्दर फूल) प्रदर्शन भएको करिब नौं बर्ष भइसकेको छ । नुमाफुङले कमाएको लोक प्रियता पत्रपत्रिकामा पढ्न पाइन्थ्यो । तर हेर्ने शुभ साइत भने जुरेको थिएन । सन २००० को नोभेम्वरतिर निर्माण गर्न शुरु गरिएको यो चलचित्रको पहिलो प्रदर्शन हङकङमा २००२ जनवारी ६ मा गरिएको थियो । नुमाफुङ हेर्न इत्छुक दर्शकहरुले डिभिडीको रुपमा खोजे पनि त्यो प्रयास असम्भव नैं रहेको थियो । एक दिन कम्प्यूटरको माउसले नेपालको हाल खवर खोजी रहेको वेला मोवाइलको रिङ बज्यो । लौ तपाईको लागि शुभ समाचार छ । चिनेकै मित्रको आवाज थियो । हङकङबाट एकजना मित्रले नुमाफुङ चलचित्रको कपी गरेर पठाउँनु भएको छ । हेर्न पाउँने रहर त मेटिने भो तर त्यो संम्बन्धित पक्षको स्वीकृति बिना कसरी सम्भव भयो होला ? आश्चर्य प्रकट गर्दै भनें क्वालिटी कस्तो छ नी ? उत्ताबाट जवाफ आयो परफेक्ट । पठार्इ दिने आग्रह गरें । दुर्इ दिन पछि दुइ वटा सिडीमा डवीङकपी आई पुग्यो । मित्रले भन्नु भए झैं डवीङ क्वालिटी परफेक्ट रहेछ । फरक धार र फरक पृष्टभूमीमा निर्माण गरिएको चलचित्र हो नुमा फुङ । स्व.काजीमान कन्दङवाले बि.स २०१७ सालतिर "कारबार कि घरबार" शिर्षक राखेर कथा लेखेका थिए । त्यही कथामा आधारित लिम्बूवानमा लिम्बूहरुले विवाह गर्दा केटी पक्षले सुनौंली रुपौलीको नाममा जिन्सी तथा नगद लिने चलन नैं कथाको मुख्य विषय बनेको छ । तर कथा र चलचित्रले पश्केको शदृश्य झैं सुनौंली रुपौलीले घर खेत बेचेर जारी तिर्दा माइति पक्ष बसैँ गएको भने कथामा लेखिएको छैना । लिम्बूवानमा त्यस्तो हृदयविदारक घटनाको पात्र पात्रा हुने मौका कमै लिम्बू समुदायले भोगेको हुनु पर्छ । चलचित्र हो पटकथा,संम्वाद र अन्य विभिन्न सार्न्दभिक विषय बस्तु जोडेर दर्शकहरुको मन जित्नको लागि चलचित्रको रंगिन दुनियाँमा धेरै रंगहरु भर्नु पर्दो रहेछ । नुमाफुङ चलचित्रमा औल्याउँनु पर्ने नेगेटिभ पक्षहरुमा गिरिहाङले एउटा संम्वादमा भनेका छन् । "हाउ ! डम्बरे जारी तिर्न सक्छस भने लैजा हो तेरो भाउजु पहिला त रसिली कसिली थिई अब त रस पनि सकेछ" भनेर नायिकाको खिल्ली उडाउँने काइदा चेली माइती बसेर चलचित्र हेर्दा अलि असहज महसुस हुन्छ । हुने खानेको एक्लो छोरा भएर मात्तिएका गाउँको गुण्डा गिरिहाङले नुमाफुङ प्रति गरेको रुखो एवं अभद्र ब्याबहार खप्न नसकेर जारी गरेकी नुमाफुङको पछिल्लो जीवनलाई रहस्यको गर्भमा छोडिएको छ । निङवाहाङमाले नायिकाको बहिनी भएर स्वाभाविक र सशक्त रुपमा अभिनय गरेकी छिन् । तर बदमास मोटे भेनालाई (गिरिहाङ) घृणा अभिब्याक्त गर्दा अपनाइएको शैली अर्कै भए राम्रो हुने थियो । लोजिनालाई मन नपर्ने मोटे भेना र उस्को साथीको तिहुनमा थुकेर नकारात्मक संदेश प्रेषित गरिएको छ । नुमाफुङको शबल पक्षहरुमा यो चलचित्र सांस्कृतिक धरातलमा फुलेको सून्दर फूल हो । यो चलचित्रले नेपाल देखि दार्जीलिङ र सिक्किम संम्मका कलाकारहरुलाई समेटेको छ । सुनौंली रुपौली जस्ता चलनहरु सांस्कृतिक रुपमा रहे पनि जिन्सी र नगद लिया दिया गर्नु हुँदैन गर्यो भने नायिकाको बाबुले ब्याहोरेको दुःख भोग्नु पर्छ भन्ने सन्देशलाइृ हाईलाइट गरिएको छ । निर्देशकले लिम्बू संस्कार र परम्परालाई प्राथमिकता दिन चलचित्रको छायांकन कञ्चनजङ्घाको काखलाई रोजेर मिथकमा चराहरु र मानिसहरु बीचको अन्तर संम्बन्धलाई जोडेका छन् । जस्तो जुरेलीको आवाज दम्पतिहरु छुट्टनिे संङकेत,हुँचिलको आवाज दुःश्वप्न आदी । भनौं चलचित्रमा लिम्बू जनजीवनको सूक्ष्म विवरण केलाउँने प्रयास गरिएको छ । उनीहरु बस्ने घर,चुहृो,घरको दलान साथै तान बुन्ने सांस्कृतिलाई पर्दामा उतारेर कथालाई मौलिकतामा ढाल्ने प्रयास भएको छ । चलचित्रमा ८० बर्षी बूढी बज्यै र १२ बर्षी निङवाहाङमाले अभिनय गरेका छन् । बूढी बज्यै नेपाली भाषा बुझछन् तर कम मात्र नेपाली भाषा बोल्छिन् । नातिनीहरु बूढी बज्यैले बोलेको लिम्बू भाषा बुझछन् तर बोल्न जान्दैनन् । एक पुस्ता देखि अर्को पुस्ताको ग्याबमा कस्तो खाल्डो पर्दै जान्छ भन्ने सांस्कृतिक विचलनको खाका स्पष्टसंग कोरिएको छ । नायिका र गिरिहाङको घरमा सुनिने जनवार,पशु पंक्षि र अन्य स्थान विशेषसंग मेल राख्दैन । यो ब्याक ग्राउण्ड साउण्डले आ-आफ्नो स्थान र हैसियतको अन्तर राख्छ । जब नुमाफुङको पहिलो पतिको लास लिएर मलामीहरु डाँडाको उकालो चड्न थाल्छन् क्यामेराको लङ सट मलामीहरुलाई छोड्दै टिल्ट अप हुन्छ आकाशतिर । मान्छेको मृत्यु पछिको यात्रा अनन्ततिर हो भन्ने कुरा बुझाउँन निर्देशकले जीवन र जीवन पछिको अन्तर संम्बन्धलाई जोड्न खोजेका छन् ।नुमाफुङ मुलधार मानिने डाङ्डुङे चलचित्र निर्माण गर्ने शैली भन्दा पृथक छ । पहिलो कुरा यहाँ भित्र सांस्कृतिक पक्षलाई अतितबाट वर्तमानसंम्म ल्याएर जोडिएको छ । चलचित्रमा नदेखाइए पनि सुनौंली रुपौलीले नुमाको बाबुले जुन हविगत भोग्नु पर्यो त्यो भोग्न नपरोस भन्नु नैं वर्तमानसंम्म जोडिनु हो । चलचित्रमा देखिएका कलाकारहरु अस्वाभाविक देखिन्दैनन् । भेष भूषा र त्यहाँको रैथाने जीवन शैलीलाई चलचित्रमा ध्यान पुर्याएर संयोजन गरिएको छ । राँके बजारको फौदारी,रोटेपिङको चर्खामा पालामका मूर्च्छनाहरु एक पछि अर्को साधरण जीवन शैलीमा घट्ने घटनाहरुबाट कथा बुनिन्दै अघि बढ्छ । चलचित्रमा मुख्य नायिका नुमाको तीन पल्ट विवाह हुन्छ । दोश्रो विवाह गर्न नमानेर माइतिघरबाट पहिलो पतिको घरमा भागेर जान्छिन् त्यो पहिलो विद्रोह हो । जारी गरेर तेश्रो पति रोज्छिन त्यो दोश्रो विद्रोह हो । यसबाट दर्शकहरुले बुझने छन् आमा बाबुको स्वाःविचारमा हुने विवाहले नारीको स्वतन्त्रतालाई हनन् गर्दछ । आफ्नो स्वतन्त्रता हनन् गर्ने चलनबाट मुक्त हुनु पर्छ भन्ने अर्को सन्देश हो । चलचित्रको एक दृश्यमा दिदी बहिनी जिस्कन्दा बहिनीले नुमाको फोटोमा जुङ्गा लगाई दिन्छे । चलचित्रको अन्तिम दृश्यमा नुमाले गरेको निर्यणलाई आमा बाबु परिवार र समाजले अस्विकार गरे पनि बहिनीले स्वीकारेको देखाउँन त्यही फोटोलाई पुनः प्रयोग गरेर प्रतिकात्मक रुपमा दिदीको निर्यणलाई बोल्ड र "मास्कुलिन" भएको स्वीकारेको देखाइएको छ । यो चलचित्र निर्माण गर्न पक्कै सजिलो थिएन । पाँचथरको दुर्गम नागी जस्तो गाउँमा कलाकार,प्रविधि र प्राविधिक पक्ष जुटाएर एउटा घटनाको कथा बुन्नु धैर्यता,लगनशिलता र मेहनतको अवश्य खाँचो परेको थियो । जहाँ बिजुली बक्ति बिनाको कच्ची बाटोको सहाराले सिमाना पारिको बलीउड शैली र मुलधारको बाटो नपछ्याई पृथक धारमा उत्रेको अर्थमा पनि नुमाफुङ साँच्चीकै सून्दर फूल भएर सक्कली नेपाली चलचित्रको मालामा उनिन सकेको छ । जहाँ आफ्नै माटोको सुगन्ध छ । सांस्कृति भित्र भएको विकृति विरुद्ध अर्मूत विद्रोह पनि । मुख्यतः नुमाफुङ चलचित्रले निश्चित रुपमा आम समुदायलाई मनोरञ्जन तथा लिम्बू संस्कृतिलाई अन्य जात जातिका वीचमा यथार्थ परक ढङ्गले सन्देश पश्कन सफल भएको छ । खाँटी कुरा मुलधार मानिने चलचित्रका हस्तिहरुले अर्कै धार भनेर फरेपको पोतरोले पोते पनि जीवन्त कथा,गतिशील विम्वको भाषा,गाउँको झर्रो लवज,मौलिक प्रस्तुति र चलचित्र निर्माणको शिल्पले नुमाफुङ एक मौलिक नेपाली चलचित्र बनेको छ । नुमाफुङलाई पारम्पारिक चलचित्र निर्माण गर्ने "प्याटर्न" बाट मुक्त र मौलिक संस्कृतिको धरातललाई आधार मान्दै तयार भएको विशुद्ध नेपाली चलचित्रको ऐतिहासिक उपलब्धि मान्न कर लाग्छ । विशेष गरेर लामो समय देखि नेपाली चलचित्रमा नयाँपन खोजि रहेका दर्शकहरुको तृष्णा मेट्ने प्रयास सफल भएको मान्नु पर्छ । भुमण्डलीकरण र सूचना प्रविधिको विकासले विश्वमा भईरहेको परिवर्तनको नाममा हिन्दी चलचित्रको नक्कल गरि दर्शकहरुलाई ढाट्ने गजवको काइदालाई गतिलो झापड हानेको छ । नुमाफुङ जस्तो पारम्पारिक धारबाट फरक मौलिकता बोकेको चलचित्रको बजार नेपाली दर्शकहरुले खोजी सकेका छन् । यो धार एक दिन मात्रको नभई अब आउँने नेपाली चलचित्रको भविश्यको हो भन्ने सवाल चलचित्र कर्मीहरुको सोंचाईमा पर्दा उठाउँन सघाएको छ । जसरी नुमाले विद्रोहको धारमा पैन चढाएर रिकुटेसंग बाटो लागिन । अन्तमा कथाको विट मार्दा - पाँचथर जोरपाटीको बाला चतुर्दशी मेलामा नुमालाई अन्तिम पटक रिकुटेले भेटेको दृश्य सम्झीदा स्वयम् रिकुटे नैं कहिले काहीँ फिल्मको कथामा हराउँन पुग्छन् शायद । गिरिहाङबाट मेलाको भीडमै अपहेलित भएपछि रोएकी नुमालाई रिकुटेले भगायो भन्ने अनुमान चलचित्रको कथाले स्पष्ट पार्न खोजे पनि के साँच्चै नुमालाई रिकुटेले नैं भगाएकै हो त ? दर्शकहरुको अन्दाज पनि अलमलिन्छ पक्कै । नवीन सुब्बाले निर्देशन गरेको यो चलचित्रमा अनुपमा सुब्बा (नुमा) नायिका,आलोक नेम्बाङ (ओझाहाङ) पहिलो पति,प्रेम सुब्बा (गिरिहाङ) दोश्रो पति,रमेश सिंङघक (रिकुटे) जारी गर्ने केटो,निङवाहाङमा लिम्बू (लोजिना) नायिकाको बहिनी, सि.डी लिम्बू-बाबु,निर्मला देवान रार्इ -आमा,बिमला सुब्बा,रनमान तुम्रोक,जेबि सुब्बा,राज थापा आदी पात्र पात्राहरुले अभिनय गरेका छन् । पार्श्व स्वर पवित्र सुब्बाको रहेको छ । समीरा जैनले सम्पादन गरेको यो चलचित्रमा क्याः-(रि) श्री छबीलाल हाङस्रोङले लगानी गरेका हुन ।
No comments:
Post a Comment