राजेश राई
खोकु छिन्ताङ्ग दुख्यो की अरुण सुसाउँदा
मन सबको रुन्छकी दुख बिसाउँदा ।
गणेश र्इजमले लेखेको यो गीत सुन्न साथ सहिद हाङखिमा राईको छोरा झलकमान राईको भक्कानो फुटेर आउँछ । यो गीत सुन्न साथ पञ्चायती शासकहरुले आफ्नो आमालाई बर्बर जङ्गली तरिकाले चरम यातना दिएर हत्या गरेको सम्झना हुन्छ उनलाई । झलकमानलाई जस्तै छिन्ताङ्गका सबै जनताहरुले यो गीत सुन्नसाथ त्यो काल दिन बि.स २०३६ साल कार्तिक २६ गते देखी २९ गतेसम्म भएको हत्याकाण्डको सम्झना गर्न गर्दछ । त्यो कालो दिन २०३६ साल कार्तिक २६, २७, २८ र २९ गते जुन दिन तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको ठाडो निर्देशनमा तत्कालिन कोशी अञ्चलाधीश शत्रुघनप्रसाद सिन्हा, पूर्वाञ्चलको डि.आइ.जी. डी. वी. लामा, विग्रेडियर जनरल कुवेरशमशेर राणा, कोशी अञ्चलका एस.पी. रामबहादुर श्रेष्ठ र कोशी अञ्चलका केही प्रमुख जिल्ला अधिकारीहरु सहितको भेलाद्धारा छिन्ताङ्ग हत्याकाण्डको धरानको फुस्रेस्थित सैनिक ब्यारेकमा योजना बनाएर १५ जना छिन्ताङ्गे जनताहरुको हत्या गरेका थिए ।
छिन्ताङ्गका गोपाल आन्नद राई, बलबहादुर खत्री, धनबीर खत्री, गम्भीरमान दर्जी, टंक बहादुर बिश्वकर्मा ,लाखमान साधु राई, केशरमान राई, हाखिमा राई, पुत्रमान राई, चन्द्र बहादुर दमाई, । गंगाबहादुर र्राईले सहादत प्राप्त गरेका थिए । त्यसैगरी आखीसल्ला गाउँ बिकास समितिका गणेश बहादुर विश्वकर्मा, र झगेन्द्र राईले सहादत प्राप्त गरेका थिए । अधिकांशलाई प्रहरीले चरम शारिरिक यातना दिएपछि गोली हानी हत्या गरेका थिए । त्यही कालो दिनको सम्झना गरेर सहिदहरु प्रति श्रद्धान्जली चढाउने समय भएको छ यो बर्ष।
फेरी यो बर्ष पनि यो गीत छिन्ताङ्गमा बज्न थालेको छ र फेरी एकपल्ट छिन्ताङ्गे जनताहरुले आफ्नो पूर्खाहरुको बलिदानीको सम्झना गरेर उनीहरुप्रति प्रति श्रद्धान्जली चढाउने बेला भएको छ । यो सगँसगै छिन्ताङ्गका भोकाएका पेटहरुले अघाएका नेताहरुको मिठा राम्रा तर कहिल्यै पुरा नहुने आश्वासन र भाषण सुन्ने बेला भएको छ । हरेक बर्ष सहिद सप्ताहको बेला राजनैतिक दल बिषेश गरेर हालका सत्ताधारी कम्युनिष्ट पार्टी माओवादी र एमाललेका गतिला नाम चलेका नेताहरुले छिन्ताङ्गमै गएर आश्वासन बाड्ने गरेको छ र यो बर्षपनि त्यसैको निरन्तरता हुनेवाला छ ।
म हरेक बर्ष सञ्चारकर्मीको नाताले सहिद सप्ताहको समयमा छिन्ताङ्ग पुग्ने गरेको छु । हरेक बर्ष एमाले र माओवादीले छिन्ताङ्गमा रहेको सहिद पार्कमा कार्यक्रम गरेर ठुला ठुला भाषण गरेर सहिद परिवारलाई आश्वासन बाड्ने गरेको छ । केही बर्षअघिबाट त सहिद सप्ताहको समयमा त्यहाँ माओवादी र एमालेको ठुलो जुहारी नै चल्छ । दुबै दलले छिन्ताङ्गक र सहिद परिवारको लागि आकाशको तारा नै झारी दिने कुरा गर्छन् । तर जब छिन्ताङ्गमा त्यो बाचाँ गरेर उकालो लाग्छन् । धनकुटाको हिले आई नपुग्दै सब कुरा भुलीसकेको हुन्छन् । सहिदको नाममा बनेको सहिद पार्क र सहिद दिवशको दिन दलहरुले सम्मानको नाममा सस्ता नामधारी प्रमाणपत्र बाहेक सहिद परिवारले केही पाउन सकेको छैन । दलका नेताहरुले त्यो कुरा फेरी अर्को बर्षो सहिद सप्ताहमा छिन्ताङ्ग पुगेर मात्र सम्झन्छन् । सधै यही कथा दोहोरीरहेको छ । बिडम्बना भन्नु पर्छ २०३६ साल ताका ज्यान भन्दा प्रजातन्त्र प्यारो मानेर प्रजातन्त्रको लागि ज्यानको बाजी हालेर लड्ने छिन्ताङ्ग दलहरुलाई कहिल्यै प्यारो लागेन । प्रजातन्त्र आएको साढे दुइ दशक पार गरीसक्दा पनि गास, बास र कपासको समस्याबाट मुत्ती पाउन सकेको छैन छिन्ताङ्गले । यस क्षेत्रका जनताहरुलाई कुनै पनि दलले ठोस सहयोग भने गर्न सकेको छैन । दुइ ठुला कम्युनिष्ट पार्टी सरकारमा गएपनि पूर्वको कम्युनिष्टहरुको रातो बस्ती भनेर चिनिने छिन्ताङ्गका जनताहरुले कुनै सहयोग पाएका छैनन र सहिदहरुको सम्मान पनि हुनसकेको छैन । प्रजातन्त्र प्रप्ती पछि धनकुटाबाट नेकपा एमाललेका नेताहरुले मन्त्री देखी लिएर सभासद्, सभापति, लगायतका बिभिन्न क्षेत्रमा र तहमा नेतृत्व गर्न पाए पनि यस क्षेत्र र सहिद परिवारको कसैलाई प्रतिनिधित्व गराएन । राजनैतिक रुपमा नेतृत्व गर्न सक्षम भएपनि प्रतिनिधित्व नगराएको छिन्ताङ्गे जनताहरुको गुनासो छ । एमाले त भुल्यो भुल्यो तर माओवादीले पनि भुलेकोमा यस क्षेत्रका जनताहरु झनै दःखी भएका छन् । छिन्ताङ्ग हत्याकाण्डको सहिद परिवारकै माओवादी नेता डिल्लीराम राईलाई माओवादीले सबिधानसभाको निर्वाचनमा समानुपातिको सुचीमा रहेको र सहिद परिवारबाट उनलाई पठाएर छोड्ने प्रचार गरेर यस क्षेत्रका जनताहरुको भोट त ताने तर उनलाई समानुपातिकबाट प्रतिनिधित्व गराइएन । बिभिन्न समयमा धनकुटा इन्चार्ज साथै युद्धका समयमा बिभिन्न मोर्चाको सम्हालेका अगुवा नेता राईलाई समानुपातिकबाट प्रतिनिधित्व नगराउँदा यहाँका जनताहरुको दलहरुप्रति बतृष्णा बडेको छ भने उनीहरुको आस्था ढलेको छ ।
२०३६ साल देखी छिन्ताङ्ग निरन्तर दुखीरहेको छ । घाउँमा मलम लगाउनको सट्टा दलहरु घाउँ बल्झाउने तिर लागेको छ । जसको बलिदानबाट दलहरु आज यहाँसम्म आईपुगेको छ दलहरुले उनीहरुलाई भुल्नु हुदैन । मणि थापाले लेखेको गीत
खोकु छिन्ताङ्ग अझै पनि दुखीरहेछ
त्यसैको निरन्तरमा युद्ध जारी छ ।
हिजो आज बज्न छोडेको छ छिन्ताङ्गमा । किनभने माओवादी यो बेला युद्धमा होईना सरकारमा छ । युद्धभरी दुख्ने खोकु छिन्ताङ्ग सरकारमा बस्दा माओवादीलाई दुखेको छ की छैन कुन्नी ?
No comments:
Post a Comment