Aug 12, 2010

राजनीतिमा चम्केका कलाकार

राजनीतिमा प्रवेश गर्ने मनोरञ्जन जगत्का ठूला नामको सूची लामो छ । विश्वभरि नै चर्चित अभिनेता र गायकले आफ्नो प्रसिद्धि र लोकप्रियतालाई राजनीतिमा लगानी गर्ने गरेका छन् । कलाकारबाट नेतामा परिवर्तन भएका उनीहरूमध्ये कोही जमेका छन्, कोही जमेका छैनन् । कुनै वेला राजनीतिले मनोरञ्जन जगत्का मानिसलाई सदुपयोग गरेको छ भने कुनै वेला मनोरञ्जन जगत्का मानिसले राजनीतिलाई सदुपयोग गरेका छन् ।
हालसालै हाइटीका लोकप्रिय गायक वाइक्लिफ जाँले राष्ट्रपति चुनाव लड्ने घोषणा गरेका छन् । यी हिप-हप स्टार राष्ट्रपतिका प्रवल दाबेदार मानिएका छन् । निर्वाचित भए भने वाइक्लिफ विश्वको प्रथम हिप-हप राष्ट्रपति हुनेछन् ।
राजनीतिमा प्रवेश गरेर सफलता पाउने कलाकारमा फिल्म कलाकार धेरै छन् । राजनीतिमा सबभन्दा सफल भएको मनोरञ्जन जगत्को मानिस हो- अमेरिकाका पूर्वराष्ट्रपति रोनाल्ड रेगन । उनी हलिउडमा खासै जम्न सकेनन् । उनले अभिनय गरेका फिल्म त्यति चलेनन् । सानो पर्दामा पनि उनको सिक्का चलेन ।
सन् ४०को दशकमा स्क्रिन एक्टर्स गिल्ड नामको संस्थाको अध्यक्ष भएपछि उनले राजनीतिमा पाइला हाले । अमेरिकी कलाकारको यस शक्तिशाली संस्थामार्फत उनले आफ्नो राजनीतिक हैसियत बलियो पारे । कतिसम्म बलियो भने गिल्डको अध्यक्ष भएको दुई वर्षपछि नै उनी क्यालिफोर्निया राज्यको गभर्नर बन्न सफल भए । त्यसपछि सन् १९८०मा राष्ट्रपति निर्वाचित भएर उनी महाशक्ति अमेरिकाको सर्वोच्च पदमा पुगे ।
राजनीति गर्न चाहने कलाकारका लागि अमेरिका एकदम उर्वर भूमि सावित भएको छ । यहाँ प्रसिद्धि राजनीतिक समर्थनमा परिवर्तित हुँदै गइरहेको छ ।
अर्का अभिनेता आर्नोल्ड स्वार्जनेगर पनि राजनीतिमा चम्किएका छन् । अस्टि्रयामा जन्मेका आर्नोल्ड शारीरिक सुगठनमा विश्वच्याम्पियन भएपछि अमेरिका आएका थिए, अभिनयमा आफ्नो भविष्य खोज्न । र, हलिउडले पनि यी विशालकाय अभिनेतालाई राम्रै स्वागत गर्‍यो । मनोरञ्जन जगत्मा हासिल गरेको उपलब्धिलाई उनले राजनीतिमा लगाए । र, क्यालिफोर्निया राज्यको गभर्नर निर्वाचित भए । रोनाल्ड रेगनले हासिल गरेको राजनीतिक उचाइ उनका लागि पनि सम्भव हुने छाँटकाँट देखिँदै छ ।
काउव्याउ फिल्मका प्रसिद्ध अभिनेता र ओस्कार विजेता क्लिन्ट इस्टउडको कथा भने अलि बेग्लै छ । उनी कार्मेल सहरका मेयर थिए । फिल्मी क्यारियर चम्केपछि उनले राजनीतिबाट सन्न्यास लिएका थिए ।
ब्रिटेनमा भने कलाकारलाई राजनीतिमा स्थापित हुन अमेरिकामा जति सजिलो छैन । अभिनेत्री ग्लेन्डा ज्याक्सनलाई छाडिदिने हो भने ब्रिटेनमा कलाकारहरू राजनीतिमा त्यति जम्न सकेका छैनन् । फिल्मी जीवनमा दुईवटा ओस्कार प्राप्त गरेपछि उनले ग्लामरको दुनियाँबाट बिदा लिएकी थिइन् र राजनीतिमा प्रवेश गरेकी थिइन् । सन् १९९२मा उनी लेबर पार्टीको सांसद निर्वाचित भएकी थिइन् । टोनी ब्लेयरको सरकारमा उनी मन्त्री भएकी थिइन् । तर, यस वर्षको चुनावमा उनले राजनीतिक जीवनका लागि संघर्ष गर्नुपरेको थियो । केवल ४२ मतले उनले उत्तरी लन्डनको आफ्नो सिट जोगाउन सफल भएकी थिइन् ।
ब्रिटेनको लोकपि्रय टिबी धाराबाहिक इस्ट एन्डर्सका अभिनेता माइकल क्यासम्यान पनि सन् १९९९मा लेबर पार्टीबाट युरोपेली संसद्को सदस्य बनेका थिए । उनी अहिले पनि त्यही पदमा कायम छन् ।
उता, गि्रसकी प्रसिद्ध गायिका नाना मुस्कुरी पनि पाँच वर्षसम्म युरोपेली संसद्को सदस्य थिइन् । त्यसपछि भने उनी राजनीतिबाट बाहिरिएकी थिइन् ।
सन् ६० को दशककी प्रसिद्ध एक गि्रक अभिनेत्री थिइन्- मेलिना मर्कुरी । अन ए सन्डे नामक फिल्मबाट उनी ओस्कार मनोनयनमा परेकी थिइन् । मेलिना राजनीतिमा सबभन्दा सफल गि्रक कलाकार हुन् । सन् १९८१मा उनी संस्कृतिमन्त्री भएकी थिइन् ।
फिलिपिन्सका पूर्वराष्ट्रपति जोसेफ एस्ट्राडाले अभिनयमा तीन दशकभन्दा लामो अवधि बिताएका थिए । एरप नामले लोकप्रिय एस्ट्राडा सन् १९९८मा राष्ट्रपति बनेका थिए । तर, उनको लोकपि्रयता चाँडै सेलाएको थियो । सन् २००१मा उनले गद्दी छाड्नुपरेको थियो । उनीविरुद्ध राष्ट्रिय सम्पत्ति हिनामिना गरेको अभियोग लागेको थियो । तर, उनी आजीवन काराबासबाट भने बचेका थिए । सम्भवतः भारत कलाकारलाई राजनीतिमा सबभन्दा बढी स्वागत गर्ने राष्ट्र हो । यहाँका हरेक पार्टी चुनावमा कलाकारलाई टिकट दिन तम्तयार भएर बसेका हुन्छन् ।
विख्यात अभिनेता अमिताभ बच्चन सन् १९८४मा कांग्रेस आईबाट सांसद निर्वाचित भएका थिए । तर, छिट्टै नै उनले 'राजनीतिको संसार धमिलो भएको' घोषणा गरे र अभिनयमै फर्किए । अचेल राजनीतिबाट 'सुरक्षित' दूरीमा रहन्छन् । बरु, उनी श्रीमती तथा प्रसिद्ध अभिनेत्री जया बच्चन राजनीतिमा छिन् । राजनीतिमा राम्रो हैसियत बनाएका अरू भारतीय कलाकार हुन्- शत्रुघन सिन्हा, गोविन्दा, जय प्रदा आदि ।

No comments: