Dec 19, 2009

लिम्वुहरुको महान चाड चासोक तङनाम हो दशै र तिहार होईन ।

दिल पालुङवा लिम्वु "नेपाल कुश्शा"
वास्तवमा लिम्वुहरुको महान चाड चासोक तङनाम हो । दशैं र तिहार होईन । कसैले अझै पनि दशैलाई भन्दा तिहारचाही लिम्वुहरुको चाड हुने विचार व्यक्त गरेका छन् । तर मेरो अनुसन्धानमा तिहार पनि लिम्वुहरुको चाड नभएको देखिन आएको छ । यी दुवै चाड लिम्वुहरुको होईन भन्ने कुरा निम्न कुराहरुले र्छलङग्याउछ । दशैमा हामी नौरथाको पूजा गर्दैनौं, पितृको श्राद्ध गर्दैनौं । दुर्गादेवीको पुजा गर्दैनौं । यसको पुजा हिन्दूहरुले मात्र गर्दछन् । त्यस्तै तिहारमा कुकुर, गाई, गोरु, कागको पुजा गर्दैनौं । भाई टिका लगाउदैनौं । अहिले हामीले गरेको छिमेकीको देखासिकी मात्र हो । हामी मात्र खेल्छौं देउसी लारिङगेक नाम्लिङगेक । यसमा वलिहाङको प्रसंग आएतापनि वलिहाङ राजाको इतिहास लिम्वुसंग त्यती जोडिएको भेटिदैन । यो कुनै किरातीहरुको पूर्खा हुन् । त्यसैले यी दुवै चाडहरुलाई लिम्वुहरुको मौलिक चाड मानिदैन । सामाजिक सद्भावमा मानिएको चाडमात्र मान्न सकिन्छ । तर चासोक तङनाम लिम्वु मौलिकतामा मानिन्छ । अन्नवाली पाकेको उपलक्ष्यमा यो चाड मनाईन्छ । नयां अन्न पाक्यो । दुख गरेर फलाएको वाली पाक्यो । अव सवैलाई सुख समृद्धी होस भनेर तागेरानिङवाफुमाङलाई पुजा गरिन्छ । त्यस्तै पाकेको अन्न र्सवप्रथम उनै माङलाई चर्ढाईन्छ । त्यस्तै पूर्खाहरुलाई पुकारिन्छ । विषेश सिवेरा याक्थुङमालाई पुजिन्छ । उनी लिम्वुरुको चेली पूर्खा हुन् । यस पुजाको वेला लिम्वुहरुले मान्ने प्रायस सवै देवदेवताहरलाई पुजिन्छ । पुजा पश्चात नयां अन्नको खाना खाईन्छ । सोही अन्नको टिका लगाईन्छ । त्यसैले लिम्वुहरुलाई दशैंको टिकाको महत्व नभएको हो । त्यो लिम्वुहरुको प्रतेक घरमा हुने गर्छ । छरछिमेकमा पनि खुसीयाली वाडिन्छ । नेपालमा राणा काल र पञ्चायत काल दुवैमा सरकारी दवावको कारण चासोक मनाउने सवालमा सिमीत हुनुपरयो । दशैं र तिहार आफ्नै हो भनेर मनाउनु पर्ने वाध्यता भयो । तर वि.सं.२०४६ सालपछि प्रजातन्त्रको कारण केही खुला भएकोले चासोक तङनाम मनाउने क्रममा व्यापकता आउन थालेको छ । विदेशी भूमि हङकङमा पनि चुम्लुङद्वारा विविक्युको आयोजना गरी भव्यताकोसाथ मनाउने चलन चलिआएको छ । यो चासोक तङनाम मनाउने क्रम सन् २००० सालदेखि मनाउन थालिएको हो । त्यो वेला हामी चुम्लुङकार्यसमितीमा थियौं । हामीले चासोक औपचारिकताको रुपमा कार्यसमितीको तर्फबाट काउलुन पार्कमा मन्तव्य प्रदान गर्दै मात्र गरेका थियौ । कार्यसमीतीको पनि पुरा थिएनौं । ८-९ जना थियौं । अर्को साल विविक्यू गरेका थियौं । केलाङ नेपालवाट मगाएर पहिलोपल्ट नाचिएको थियो । धान नाचिएको थियो । चासोक के हो ? वुझाउन गाह्रो भएको थियो । हाम्रो तिहार वलिहाङ तङनाम हो ? भन्ने तर्क वितर्क आएको थियो । यसरी गुज्रिदै एक साल अर्को साल हुदैजादा अहिले ९-१० वर्षो अन्तरालमा आएर चासोकको महत्व धेरै वढेर गएको छ । मङकी हिलमा पनि नअट्ला जस्तैको उपस्थिती हुने गरेकोछ । यसपाली २००९ को चासोक तङनामको उपस्थितीले यही देखाउछ ।
चासोकको व्यापकता कसरी ?
यद्धपी चासोकको व्यापकता लिम्वुरुको मन मनमा घरघरमा भएको छैन । भन्नाको मतलव घरघरमा दशैं र तिहार मनाए जस्तो चासोक मनाउन सकिएको छैन । यसको लागि मेरो अध्ययनमा चुम्लुङको औपचारिकताले मात्र हुदैन । व्यक्ति व्यक्ति पनि सचेत हुनुपरयो । तर व्यक्ति आफै सचेत हुन हङकङ जस्तो विविध धर्म संस्कृति भएको ठाउमा मुस्किल पर्ने रहेछ । वरु सजिलोको लागि मान्छेहरु अन्यको संस्कृति मनाउन पनि पछि नपर्दा रहेछन् । यो मानवीय स्वभावनै मान्नुपर्छ । तर हाम्रो धर्म संस्कृति पालना गर्नको लागि एउटा धार्मिक निकायको जरुरत पर्दछ । तव त्यसको नेतृत्वमा धार्मिक तथा साँस्कृतिक कार्यहरु सम्पन्न हुनेछन् । चुम्लुङले पनि यसमा साथ दिनेछ । हुनत मैले भनेजस्तो कार्यहरु भविष्यमा अवश्य हुनेछन् । किनकी केही समुहहरु चासोकलाई महत्व दिन लागिपरेका छन् । मेरो पनि आफ्नै आन्दोलन रहेको छ । यसमा अन्यथा नलिन सकिन्छ । विगत वर्षरुदेखि चासोकलाई घरमा मनाईरहेको छु । केटाकेटीहरुलाई टिका लगाउदै दक्षिणा दिने काम गर्दैछु । यो हाम्रो लिम्वुहरुको ठूलो चाड हो दशैंतिहार होईन भनेर पाठपढाईरहेको छु । यूमाको कलस फेरीरहेको छु । उनीहरुलाई पुजामा सरिक गराईरहेको छु । हुनत म धार्मिक व्यक्तित्व नभएतापनि आफ्नो अस्तित्वको लागि अरुको भर नपरी धार्मिक साँस्कृतिक कार्य आफुलेनै गर्नुपर्छ भनेर गरिरहेको छु । किनकी यसको प्रेरणाको स्रोत वाहुन कम्युनिस्टलाई जान्छ । किनकी उनीहरु कम्युनिस्टको वारेमा वकालत गर्दै धर्मको विरोध गरेतापनि धर्म संस्कृति हिन्दू मानिरहेको र उनीहरुको संस्कृति गैह्र हिन्दूहहरुलाई पनि मान्न अप्रत्यक्ष रुपमा वाध्यता पार्ने गर्छन् । तर्सथ लिम्वुले पनि मन्दिरमा गएर विवाह गर्छन् । यसरी विवाह गर्नेनै भए आफ्नै संस्कृतिमा गरे भैगोनी । त्यसैले आफ्नो हुदाहुंदै अरुकोमा भर पर्नु हामीले भएन । त्यसैले सवै लिम्वुहरुले आफ्नो धर्म संस्कृति मनाउने काम गरौं भनेर भनिरहेको छु । यदी सहमती भए मुन्धुम धर्मको नाममा लिम्वु संस्कृतिलाई फलाउन फुलाउन लागिपरिरहेको छु । किनकी आफ्नो परिचय भनेको धर्म संस्कृतिलेनै दिने रहेछ । त्यसको लागि यहाहरुलाई केही उदाहरण मात्र प्रस्तुत गरिएको हो । हामीले लिम्वु संस्कार संस्कृतिलाई फलाउनु फुलाउनु पर्दछ । यो प्राचिन धर्म र संस्कृति पनि हो । हुनत प्राचिन कालमा लिम्वुहरु चक्रवर्ती राजाहरु थिए । राजसी हरुले मात्र याकथुङ संस्कार संस्कृति मान्थेछन् । तर यो राजसी संस्कार संकृति राज्यको वा राजाको हरणसंगै याकथुङ जातिमा रहेको हो । तर कतिपय आडम्वरीयुक्त चलन परिमार्जनपनि गनुपर्नेहुन्छ । किनकी अहिले हामीलाई राजसी आर्थिकले पुग्दैन । मितव्ययीतामा जानुपर्नेहुन्छ । चासोकको लागि नेपालमा सरकारी विदा १ दिन मात्र मंसिर पूर्णेमा छ । यसलाई हामी सवै मिलेर दवाव दिई ५-७ दिनसम्म वनाउनुपर्ने हुन्छ । हङकङ, युके आदि स्थानमा पनि १ दिन विदाको प्रवन्ध गराउने कार्य गर्नुपर्ने हुन्छ । तर यसको लागि हामीले चासोकलाई औपचारिकतामा व्यापक मनाउनुपर्ने हुन्छ । चासोक मनाउने सवालमा कसरी मनाउने केही र्सवमान्य सिद्धान्तको पनि जरुरी देखिन्छ । किनकी आजसम्मको हाम्रो चासोक मनाईमा पूर्ण मौलिकता प्रदान गर्न सकिएको छैन । त्यस्तै यो वेला हामीले पाहुना आदान प्रदान, पारिवारिक जमघट, सद्भाव कायम, ठूलालाई आदर सानालाई माया गर्ने परिपाटी अपनाउनुपर्दछ । तव चासोकको गरिमा वढ्दै गएर लिम्वु जाति र चासोक चाडको सम्वन्ध नङ मासुझैं प्रगाढ भएर सदा रहिरहनेछ । सेवारो ।

2 comments:

Unknown said...

chasok ma tika lagaunu ra dakshina dinu chahi tehi dashai kai copy bhayena ra hau lekhak jyu ??

HAWA said...

नेपाल मा सबै कुरा नै ठिमाहा हुन्छ लेखक ज्यु... दुइ सभ्यता बीच को देश हो यो