Dec 8, 2009

प्रस्तावित 'विराट राज्य' अविलम्ब फिर्ता गर

प्रकाश यक्सो (लिम्बू)
प्रमुख राजनैतिक दलहरु (माओवदी, कांग्रेस र एमाले) को प्रस्तावित संघीय राज्यको खाका, तिनको नाम र सीमांकनलाई हेर्दा के लाग्छ भने कतिपय ऐतिहासिक पहिचानमा रहेका राज्यहरु ध्वस्त हुँदैछन् । त्यो खास गरेर प्रमुख राजनैतिक दलहरुमा विद्यमान रहेको विविध शंका र स्वार्थका कारणबस हुँदैछ । उदाहरणको लागि पूर्वी नेपालको लिम्बूवान क्षेत्रलाई लिउँ । त्यहाँ अहिले उनीहरु संघीयताको निहुँमा लिम्बूवानको मुटु नै झकिेर खान खोजिरहेका छन् । त्यो प्राय निश्चित जस्तै भैसकेको पनि छ । लिम्बूवानको मुटु नै मानिएको विजयपुर-मोरङ थुम (झापा, मोरङ र सुनसरी) लाई जसरी भएपनि अलग गर्ने र राज गर्ने भन्ने प्रमुख तीन पार्टीको दाउ रहेकोछ । विशेष गरेर माओवादीले कोचिलाबाट, एमालेले विराटबाट र काँग्रेसले विराट वा त्यस्तै कुनै निहुँबाट त्यहाँ छिर्ने योजना बुन्दैछन् । यी तीन पार्टी जसरी, जुनैबाटो भएर आए पनि त्यो लिम्बूवानको मोरङलाई अलग गर्ने रजाइँ गर्ने भन्ने सामन्ती दाउमा आउनेछन । यसमा माओवादीको कसरत पहिल्यैदेखि नै छँदैछ भने एमाले र कांग्रेसले अब शुरु गर्दैछन् । यसरी लिम्बूवनाको मुटु (विजयपुर-मोरङ) नै झिकिदिएपछि त्यो खोक्रो लिम्बूवानको अस्थित्व रहयो नै के ? यही एउटा गम्भिर चुनौती लिम्बूवानको अगाडि खडा भएको छ जुन् हामी चाँडै देख्दैछौं ।
कोचिला राज्यको औचित्यको बारेमा पछि छुट्टै शिर्षकबाट चर्चा गरौंला । यस लेखमा विशेष गरेर एमालेले प्रस्ताव गरेको विराट राज्यको बारेमा केन्द्रीत रहेर चर्चा गरिने छ । भर्खरै मात्र एमालेले पूर्वी तराइँ (लिम्बूवान-मोरङ) का तीन जिल्लाहरु (झापा, मोरङ र सुनसरी) लाई मिलाएर विराट राज्यको प्रस्ताव ल्याएको छ । उसले त्यसलाई सभ्यताको आधारमा हुने भनेको छ । तर, त्यसको वस्तुगत आधार तथा प्रमाणहरु के के छन ती स्पष्ट रुपमा आएका छैनन् । हामीलाई के लागिरहेको छ भने यो विराट राज्यको प्रस्ताव एमालेले कुन दुनियांबाट उठाएर ल्याएको हो त हँ ! जुन् लिम्बूवानमा मात्र होइन नेपाल भरिनै नभेटिएको पचिान हो यो विराट । एमालेले यसको साँचो इतिहास र पहिचान खोज्नलाई त भारतै जानुपर्छ । नेपालमा होइन । विराट राजा र विराट राज्यको बारेमा जति पनि इतिहास तथा कथाहरु लेखिएकाछन् ती सबै भारतमै लेखिएकाछन् । लिम्बूवानको मोरङमा यसको प्राविधिक रुपमा कुनै अस्थित्व भेटिएको छैन । त्यसकारण एमालेको यो विराट राज्यको प्रस्ताव विल्कुलै निराधार र हावादारी देखिन्छ । खास गरेर एमालेले लिम्बूवानको ऐतिहासिक सिमांकनलाई स्वीकार गर्न नसक्दा कि त अतालिएर कि त हतारिएर यो विराटको प्रस्ताव ल्याएको हुनुसक्छ । खास गरेर लिम्बूवानको अभिन्न भूमि मोरङ थुमलाई लिम्बूवानबाट अलग गराउने एमालेको यो एउटा महाषड्यन्त्र हो । यस्तो ठोस आधार नै नभएको विषयलाई एउटा इज्जतदार पार्टी समात्नु ठीक हुँदैन थियो । तर, एमालेले त्यही गर्यो जुन गर्नु हुँदैनथ्यो ।
महाभारतकालीन पौराणिक कथामा विराट राजाको नाम उल्लेख भएको पाइन्छ । प्राचीन कुरुक्षेत्रको लडाइँमा पाँच पाण्डव दाजुभाईहरु यहीँ विराट राजाकहाँ आई सेल्टर लिएर बसेका थिए अर्थात आफ्नो १२ बर्षो बनवास (गुप्तवास) जीवन त्यही आएर बिताएका थिए भनी महाभारतको कथामा उल्लेख छ । यदि एमालेले पनि यही आधारलाई समातेर विराटको प्रस्ताव ल्याएको हो भने त्यो सरासर भ्रम हुनेछ । किनकि यो चाहे सत्यमा आधारित होस या कथामा यसको सम्पूर्ण रामकहानी भारतीय इतिहासमा र महाभारतको कथामा उल्लेख भएको छ । लिम्बूवानको इतिहासमा त्यो विराटको कहीँ पनि उल्लेख भएको पाइन्दैन । त्यसोहुनाले विराट राजा तथा विराट राज्यको विषयमा र त्यही कुरा महाभारतको पौराणिक कथामा पनि उल्लेख भएको हुँदा त्यस सम्बन्धमा यहाँ थोरै चर्चा गर्न आश्यक देखिन्छ ।
प्राचीन कुरुक्षेत्रदेखि दक्षिण र यमुना नदीको पश्चिम क्षेत्रमा एउटा मत्स्य नामको छुट्टै स्वतन्त्र राज्य थियो । त्यस राज्यको प्राचीन राजा विराट हुन् भनी भारतवर्षको इतिहासमा उल्लेख भएको छ । मत्स्य देशको राजधानी विरानगर थियो र त्यो (विराटनगर) विराट राजाकै नामबाट रहन गएको हो भनी विश्वास पनि गरिएको छ । हाल यो मत्स्य राज्य तथा विराटनगर भारतको राजस्थान प्रान्तको जैपुर जिल्ला अन्तर्गत पर्दछ । प्राचीन मत्स्य राज्य र विराट राजाको बारेमा प्राचीन भारतवर्षो इतिहासमा यसरी उल्लेख गरिएको छ-
Matsya or Machcha (sanskrit for fish) classically called the Mese was the name of a tribe and the state of the vedic civilization of India . It lay to south of the kingdom of Kurus and west of the Yamuna which separated it from the kingdom of panchalas. The capital of Matsya was at Viratnagara (modern Bairat) which is said to have been named after its founder king Virat. The main Matsya under Virata had its capital named Viratnagari which is now known as Bairat in Jaipur district of Rajasthan. भारतबर्षको महाभारतकालीन कुरुक्षेत्रको लडाइँको समयमा पाँच पाण्डव दाजुभाइहरु आफ्नो १२ बर्षे बनवास बस्ने क्रममा विराट राज्यको विराट राजा कहाँ आई त्यहाँ सेल्टर लिएर बसेका थिए भन्ने कुरा पनि महाभारतको कथामै उल्लेख छ, जुन यसप्रकार छ- The ancient name of the town was Viratnagar, and its history goes back to the time of the Mahabharata. Viratnagar was the capital of the ancient India kingdom (Mahajanapada) of Machcha or Matsya. Pandavas selected the Virata kingdom to their abode for one year, to live in anonymity, after the expiry of their twelve-year long forest life, both (12-years of forest life and one year of life in anonymity) being the conditions set up by their enemies viz the Kauravas, to give them back their kingdom (4,1) – (History of the ancient India). यहाँ माथि उल्लेख भएको विषयभन्दा बाहेकका अर्थमा एमालेले विराट भन्न खोजिएको हो भने त्यसको साँचो अधार तथा प्रमाणहरु जनतासामु प्रष्ट आउनुपर्छ । यदि त्यसको आधारप्रमाण पुग्छ र त्यसमा सत्यता छ भने स्वीकार हुन्छ । तर, त्यसको कुनै आधारप्रमाणहरु छैनन् भने त्यो एमालेको हावादारी प्रस्ताव मात्र हुँनेछ । र, त्यो उसले अविलम्ब फिर्ता लिनुको विकल्पै छैन ।
हुनसक्छ, मोरङका बुद्धनगरवासीहरुले अर्थात प्राचीन भारत-मत्स्य देशका विराट राजाका अनुयायीहरुले त्यहाँ आएर केही मन्दीर, मूर्ति, चित्र, कुवा तथा पोखरी आदि बनाएका होलान् । त्यहाँ प्राचीन विराट राजाको राजधानी बुद्धनगर रहेको भन्ने भ्रामक विश्वास पनि हुनसक्छ उनीहरुमा । तर, यस्तो भ्रामक निराधार प्रमाणकै आधारमा एउटा राज्यको परिकल्पना गर्न सकिन्दैन । राज्य भन्ने कुरा त्यसै कराएर, उफ्रेर मात्र पाइन्ने चिज होइन । एउटा राज्य बन्नका लागि उसँग प्रयाप्त ऐतिहासिक आधार, प्रमाणहरु भएको हुनुपर्छ । एउटा लामो ऐतिहासिक कालखण्डसम्म राज्यशासन गरेको ऐतिहासिक पृष्ठभूमि हुनुपर्छ । जस्तो, राज्यको उत्पत्ति, राज्यको किसिम तथा प्रणाली, राज्यको ऐतिहासिक साँध सीमाना, शासकहरुको वंशावली, राज्यसँग सम्बन्धित दस्तावेजहरु आदि विषयहरु स्पष्ट रुपमा खुलेको हुनुपर्छ । त्यसको सम्पूर्ण ऐतिहासिक घट्क्रमहरु नेपालभित्र भएको हुनुपर्छ । तर, के यी सबै विषयहरु विराटसंग छ त - छैन, किनकि यसको उत्पत्तिका सबै ऐतिहासिक घट्नाक्रमहरु भारतमै भएका हुन् । यो प्राचीन भारतको सभ्यता हो, लिम्बूवानको-मोरङ थुमको होइन । एमालेले जुन क्षेत्रलाई हेरेर विराटको प्रस्ताव ल्याइएको छ, त्यो प्राचीन लिम्बूवानको मोरङ थुम अन्तर्गत पर्ने क्षेत्रहरु हुन् । स्मरण रहोस, हाल नेपाल भित्रको अरुण-सप्तकोसी नदी पूर्व, मेची नदी पश्चिम, तिब्बत दक्षिण र भारत-विहार उत्तरका सम्पूर्ण ९ जिल्लाहरु ( झापा,पाँचथर,तेह्रथुम र्इलाम,ताप्लेजुङ,संख्वासभा,धनकुटा,मोरङ र सुनसरी) लिम्बूवान भूमि हो । लिम्बूवानको यो जिउदो ऐतिहासिक पृष्ठभूमिभित्र कुन आधारमा हुने विराट राज्य लिम्बूवानमा -
अहिले संघीयताको खास आधारहरु के के हुन्, के हुनुपर्छ भन्ने विषयमा पार्टी नेता तथा विज्ञहरु नै अलमलिरहेको अवस्था छ । त्यो कसरी भने उनीहरुबाट थरीथरीका प्रस्तावहरु आइरहेकाछन् । एवम्रीतले आउछन्, जान्छन् र फेरी आउछन् । लाग्छ, राजनेताहरु नै जनतासँग संघीताको पौडी सिक्दैछन् । अहिले उनीहरु संघीयताको पहिलो दौड जित्न तछाडमछाड गर्दै संघीयताको होडमा दौडिरहेकाछन् । कोही चाहिँ संघीय मैदानमै ओर्लेर दौड्न सुरु पनि गरिसकेकाछन् । विना प्रतिद्वन्द्वी, आफै एक्लै कुद्ने, हावामा आफै जित्ने । राजनेताहरुको यो पच्चिस थरी कुरा र व्यावहारलाई जनताले कसरी बुझने ? र, तिनीहरुबाट के आसा राख्ने ? संघीयताको गाडी हाक्छु भन्नेहरु मूलबाटो छोडेर भड्खालोको बाटो हिडिरहेकाछन् ।
यसरी कतिपय नेपाली जनताहरु एउटा निश्चित पथ समात्न नसकिरहेको तथा संघीयता के हो ? विराट के हो ? कोचिला के हो ? र, त्यसको ऐतिहासिक उत्पत्ति तथा पहिचान कहाँ थियो ? र, कहिले थियो ? भन्ने विषयमा किञ्चित थाहा नभई अल्मलिरहेको अवस्थामा भारतीय कथित विराट राज्यको प्रस्ताव ल्याएर एमालेले झनैसारो भ्रम सृजना गरिदिएको छ । अब हामीलाई के कुरा बुझन कठिन भएन भने एमालेले पनि मोरङ थुम -राज्य) लाई लिम्बूवानबाट अलग गर्ने षड्यन्त्र गर्दोरहेछ । ऊ लिम्बूवानको ऐतिहासिक अस्थित्वमाथि 'कु' गर्ने सोचमा रहेछ । हुनत यो कार्यमा उ मात्र एक्लो छैन । माथि उल्लेख भएका प्रमुख राजनैतिक दलहरु सबै यस कार्यको सोचमा रहेकाछन् । तर त्यो उनीहरुको शक्तिको क्षणिक हुँकार सिबाय अरु केही होइन । यो कथित विराट, कोचिलाको प्रस्ताव लिम्बूवानभित्र किञ्चित स्वीकार हुनेछैन । किनकि यसले लिम्बूवानको ऐतिहासिक अस्थित्वलाई नामेट गरिदिएको छ । अझै पनि लिम्बूवान-मोरङ थुमभित्र ती बिना आधारका कथित विराट तथा कोचिला जस्ता राज्यहरुलाई जबरजस्त लाद्न खोजेमा परिणाम अवश्य अप्रिय हुनसक्छ । त्यो हाम्रो रहरले नभइ बाध्यता हुनेछ । त्यसकारण माओवादी र एमालेले उनीहरुको कथित कोचिला र विराटको प्रस्तावलाई अविलम्ब फिर्ता लिनुपर्छ । यसमा उनीहरुले जति विलम्ब गर्नेछन्, उप्रान्त उनीहरु लिम्बूवानबाट बडारिनेछन् । तर त्यो कार्य सचेत लिम्बूवानवादीहरुको ससक्त क्रान्तिले मात्र गर्न सक्छ । अहिलेका यी छायांका सन्तसाधु मोर्चाहरुको झनिो आन्दोलनले सग्लो लिम्बूवान पाप्त हुन सक्दैन । र, त्यो रुकुम, रोल्पा, सप्तरी र काठमाण्डौमा जन्मेको शक्तिको पुच्छर लागेर पनि त्यो सम्भव छैन । त्यो त्यतिखेर मात्र सम्भव हुन्छ जतिखेर त्यो स्वशक्तिमान लिम्बूवानमा जन्मेको हुन्छ । उ कुनै शक्तिकेन्द्रको छायाको मोर्चा मात्र हुने पनि होइन । हो, त्यस्तै खाल्को एउटा ससक्त मोर्चाको लिम्बुवानलाई आवश्क छ । त्यो अविलम्ब जन्मिनुपर्छ । अब हामी हाम्रो लिम्बूवानको अस्थित्वलाई बन्धक बनाएर कुनै पार्टी,जाति, व्यक्ति र वर्ग स्वार्थमा मात्र कुदन सक्दैनौं । सग्लो लिम्बूवान प्राप्ति नभएसम्म हाम्रो संघर्ष अविराम जारी रहनेछ । काङसोरेका सन्तती हौं पिठ्युँ देखाउन जान्दैनौं, बरु लड्न हामी तयार छौं अस्तित्व बेच्न जान्दैनौं ।

2 comments:

मौन आगोका रापहरू said...

एमालेले अन्य पार्टी र खासगरी एनेकपा माओवादीभन्दा छुट्टै प्रकारको संघीय राज्यसम्बन्धी खाका प्रस्ताव गने होडबाजी गरेको स्पष्ट बुझिन्छ । यो पार्टीसँग विगतमा संघीय सम्बन्धी कुनै कार्यक्रम वा योजनै थिएन । जे होस्‍, समयक्रममा ढिलै भएपनि बुद्धि पलाएकोमा राम्रै मान्नु पर्छ । तर, यसले विराट राज्य भनी पेश गरेको प्रस्ताव निश्चित रुपमा षडयन्त्रपूर्ण र भविष्यन्तर दीर्घकालसम्म किचलो हुनेगरी ल्याएको बुझ्‍न कठीन छैन । एमाले जहिल्यै पनि धूर्त र मध्यमार्गी राजनीतिको खेलाडी रहँदैआएको सर्वविदितै छ । यसमा पनि त्यही उसको जन्मजात चमेरे चरित्र रहेको बुझिन्छ । विराट राज्यका कारण एकातिर हिन्दूहरु र मधेशी समुदायलाइ समेत समेट्‍दै उसको राजनीतिक गडफादर वा बोस दिल्ली(भारत)लाइ रिझाउने वा खुशी तुल्याउने कुटिल नियत रहेको बुझिन्छ । नत्र अर्थ न बर्थको विराट राज्य भनेर गनुको के अर्थ ? स्पष्ट रुपमा बलियो एतिहासिक आधारहरु रहेको लिम्बुवानको वास्तविकतालाइ अपनाउन किन नसकेको ?

lilimhang said...

Dear Prakash Yaksho
I viewed your article and want to appreciate that. Certainly the Birat pradesh is fraud proposal. I mean cpn uml is bamboozling to limbuwan people. This party is not articulating the aspirations of limbuwan peoples. The means of morang made by famous limbu king Mabarohang who is dynasty of sakwaden limbu. His generations established bijayapur kingdom later. Now Tumbahangphe Bangsawali claimed those dynasty who are still living morang as a koch they are limbus. There are Two different kind of Rajbansi in tarai, one is the morange rajbansi they are origin of morang but those who live in jhapa they were integrated from Bangal India. Only the cadres of maoist party based on jhapa district they seeking koch pradesh. The moranges are not accepting this proposal. Because they are origin of morang land. The prior name of jhapa, morang and sunsari is morang limbuwan. So it should not be divide at all. Congratulation for your article.

Thank you.
Faithfully yours
Chhabi Sangbangphe, Lilimhang
Kathmandu, Nepal. Jai Limbuwan.