खगेन्द्र माखिम
देशमा अहिले संघीयताको बहस चलिरहेको छ । यसैक्रममा राज्यको पुनर्संरचना कसरी हुने त भन्ने विषयमा अझै गहिराइबाट बहस उठेको छ । संविधान सभाबाट घोषणा हुने नयाँ संविधानमा राज्यको पुनर्संरचनाको स्पष्ट खाका पनि आउने छ । र, अहिलेको मुख्य बहसको विषय जातीय आधारमा प्रस्तावित राज्यहरूको बारेमा केन्द्रीत् हुँदै गइरहेको छ । देश संघीयतामा जाने प्रष्ट भइसकेपछि स्वायत्त राज्यहरूको बहस तीब्ररुपमा उठ्न थाल्यो । अर्कोतिर, राष्ट्रवाद र राष्ट्रिय विखण्डनका कुराहरू पनि त्यतिकै उचाइमा चुलिएर आएका छन् । यस्तो अबस्थामा के साँच्चै नेपाली राष्ट्रियता विखण्डित अबस्थामै पुग्नसक्छ ? वा, राष्ट्रियताले नयाँ परिभाषा खोजेको हो ? यो पाटोबाट बहस हुन जरुरी देखिन्छ । संविधान सभाको निर्वाचनअघि निर्वाचानको प्रक्रिया समानुपातिक आधारमा भएमा यो निर्वाचन प्रक्रियाले राष्ट्र विखण्डन हुन्छ भनेर ठूला दलका नेताहरूले नै बोलेका थिए । राजतन्त्रलाई समाप्त गरी गणतन्त्र घोषणा गरिएमा देश विखण्डन र राष्ट्रियता खतरामा पर्ने कुरा राजावादीहरूले उठाएका थिए । राजा नै राष्ट्रिय एकताको आधार मान्ने र आधार नै नष्ट भएपछि राष्ट्रियता नरहने भन्ने उनीहरूको तर्क रहेको थियो । आदिवासी जनजातिहरूले जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहित स्वायत्त राज्यको माग राखी आन्दोलन गरिरहेको र सो माग पूरा गरिएमा राष्ट्र नै विखण्डन हुने चेतावनी पनि आइरहेको छ । आदिवासी जनजातिलाई उनीहरूको ऐतिहासिक थात् थलोको आधारमा स्वायत्त राज्यहरूको सुनिश्चित गर्दा नेपालको राष्ट्रियता समाप्त हुन्छ त ? यसकारण, नेपालको राष्ट्रियताको बारेमा व्यापक बहस हुनु जरुरी छ ।
राष्ट्रवादको अर्थः
राष्ट्रवादलाई विभिन्न दृष्टिकोणबाट परिभाषित गरिएको छ । शब्दको ब्युत्पतिको दृष्टिले हेर्दा 'राष्ट्र' अंग्रेजी (Nation) पर्यायवाची शब्द हो । नेशन शब्द ल्याटिन भाषाको 'नेशियो'(Natio) शब्दबाट आएको र यसको अर्थ 'जन्म' वा 'जाति' हुन्छ । यसबाट प्रष्ट हुन्छ जन्म तथा जातिको बन्धनबाट बाँधिएको जनसमुदायको साझार् इच्छा नै राष्ट्रवाद हो । हासकोहुको अनुसार 'मातृभूमिलाई केन्द्रीत गरी बनेको भावनात्मक स्थिति नै राष्ट्रवाद हो ।' बर्गेस प्रेडियरका अनुसार 'जाति, समुदाय, भाषा, आदत, प्रथा तथा धर्मको एकताजस्ता तत्वद्वारा राष्ट्र निर्माण हुन्छ ।' यी विद्वानहरूले 'जाति' र 'नश्ल'लाई नै राष्ट्रको मुख्य आधार मानेका छन् ।
नेपाली राष्ट्रियताका आधारः
नेपाली इतिहासको वास्तविकतालाई हेर्दा नेपालको राष्ट्रियता विविध जाति, धर्म, सम्प्रदाय तथा शासनव्यवस्था आदिको पृष्ठभूमिमा आधारित देखिन्छ । त्यसैले, नेपालको राष्ट्रियताको वास्तविक स्थितिलाई बुझ्न यसको ऐतिहासिक पृष्ठभूमि बुझ्नु जरुरी छ । नेपालका आदिवासी जनजातिहरू नेपालको ऐतिहासिक पृष्ठभूमिको प्रत्यक्षदर्शीहरू हुन् । नेपालको वास्तविक इतिहास बुझ्नको लागि नेपालका आदिवासी जनजातिको यथार्थ इतिहासको जरुरत पर्दछ । तर, अर्ढाईसय वर्षघिदेखि लगातार रुपले एकात्मक राज्यसत्ताले उनीहरूको इतिहासलाई समाप्त पार्न तिनीहरूको दस्तावेजहरूलाई जलाइदिएका छन् र कतै बाँकी रहेका ऐतिहासिक प्रमाणहरूलाई पनि नष्ट गरिदिएका छन् । त्यसकारण, अहिले नेपालको यथार्थ इतिहासको अभावमा राष्ट्रियताको पूर्ण ब्याख्या हुनसकेको छैन । र, जबर्जस्त विविधताभित्रको एकता नै नेपालको राष्ट्रियता र राष्ट्रिय पहिचान हो भनी सुघाझैं रटाउने कार्य हुँदैआइरहेको छ । जसको कारण एक जाति, एक भाषा, एक धर्म र एक संस्कृतिको उदय भयो । त्योसँगै राजालाई राष्ट्रियताको केन्द्रबिन्दुमा राख्ने र राष्ट्रिय एकताको आधार मान्ने कार्य भयो । त्यसपछि, शाहबंशीय दासत्वलाई राष्ट्रियताको रुपमा हेर्ने कार्यको थालनी भयो । २०६२/२०६३ को जनआन्दोलपछि राजावादी राष्ट्रियताको अन्त्य भएको छ । र, राष्ट्रिय मुक्ति आन्दोलनका कारण तल्लो तहमा रहेका जनतामा पुनर्जागरण आयो र अहिले नेपालको राष्ट्रियतामा विविधता प्रकट हुन गएको छ । लिम्बुवान, खम्बुवान, तामाङसालीङ, थरुहट, नेवाः मण्डल, मगरात, तमुवान आदिमा जातीय स्वायत्तताको लागि भएको ऐतिहासिक आन्दोलनहरू र केही उपलब्धीहरूपछि अब नेपालमा जातीय राष्ट्रवाद बलियो आधारको रुपमा स्थापित भएको छ । यो आन्दोलनसँगै एक भाषा, एक जाति, एक धर्म र संस्कृतिको राष्ट्रवादको अन्त्यपछि अब बहुसाँस्कृतिक राष्ट्रवादको रुपमा परिणत हुने निश्चित भएको छ । अर्ढाईसय वर्षछिको लिम्बुवानको आन्दोलनले लिएको उचाइका कारण अब बलियो लिम्बुवानी राष्ट्रियताको रुपमा उभिएको छ । त्यस्तै, थरुहटलगायत अन्यमा पनि अब नयाँ पहिचानसहितको राष्ट्रियताको विकास हुँदै आएको छ । जातीय राष्ट्रवादलाई सतहीरुपमा बुझ्नेहरू देशको रक्षाको लागि देशका सिमानाहरूमा सेना तैनाथ राख्छन् र देशका जनतामाथि शोषण र दमन गर्छन् । अनि, राष्ट्रवादको कुरा गर्छन् । तर, साँचो अर्थको राष्ट्रवाद भनेको देशका तमाम जातिहरूलाई सशक्त बनाउनु हो । देशका तमाम जातिहरूको विकास हुनु भनेको सम्पूर्ण जनता बलियो हुनु हो । सम्पूर्ण जनता विकसित हुनु भनेको देश बलियो हुनु हो । देश बलियो हुनु भनेको राष्ट्रियता बलियो हुनु हो । तर, यो देशमा लामो समयसम्म केही जातिको मुट्ठीमा नेपाली राष्ट्रियता कैद रहेको थियो । र, अझै रहिरहेको छ । यसको अन्त्य हुनु जरुरी छ । लिम्बुवानको आन्दोलन कुनै एक जाति विशेषको मात्र आन्दोलन होइन । यो स्वायत्तताको लागि गरिएको विशुद्ध राजनीतिक आन्दोलन हो । यो आन्दोलन जातीय सङ्कीर्णता, जातीय हिङ्सा र जातीय द्वन्द्वमा आधारित नभई राजनीतिक मुद्दा र शैलीमा अगाडि बढिरहेको आन्दोलन भएकोले यसलाई राष्ट्रिय मुक्ति आन्दोलन भनिरहेका छौं । परम्परागत मानसिकताले ग्रस्त भएकाहरू यसप्रकारको आन्दोलनले राष्ट्रियता विखण्डन हुने, साम्प्रदायिक सद्भाव खलल हुने विचार राख्छन् र त्यही भ्रम फैलाइरहेका छन् ।यथार्थमा, राष्ट्रवाद भनेको देशभित्रकै विभिन्न जाति, धर्म, सम्प्रदाय, लिङ्ग, अल्पसङ्ख्क्, उत्पीडित, उपेक्षित सम्प्रदाय, संस्कृति, परम्परा, भाषा आदिबीचमा समन्वय गरी साझा राष्ट्रियताको निर्माण गरी नेपाललाई राष्ट्र बनाउनु नै हो । तर के गर्ने, नेपाल राज्य भएपनि अझैसम्म राष्ट्र बन्न सकेको छैन । राष्ट्र भनेको अझै पनि मुट्ठीभर शासक र सम्भ्रान्तहरूको राष्ट्रको रुपमा रहेको छ । यसलाई समाप्त पार्नु भनेको संघीय ब्यवस्थाअर्न्तर्गत स्वायत्त राज्यहरूको स्थापना गर्नु हो । नेपाली राष्ट्रियताको स्थायित्व र संरक्षण भनेको संघीय ब्यवस्थाभित्रको स्वायत्त राज्यको स्थापनामा भर्रपर्दछ । अहिले नेपाली राष्ट्रियताको खतराको कुरा उठ्छ, विखण्डनको भ्रम फैलाइन्छ । विभिन्न जातिहरूबाट उठेका मुद्दा र सशक्त आन्दोलनकै कारण राष्ट्रियताको विखण्डन र खतराको कुरा उठिरहेको छ । यदि ती मुद्दाहरू सम्बोधन गरिएमा पुरानो राज्य संरचना ध्वस्त हुन्छ । र, करिब करिब नेपाली राष्ट्रियताको आधारको रुपमा रहेको सामन्तवादसमेतको अन्त्य हुनेछ । र, नयाँ राष्ट्रवादले जन्म लिनेछ । नयाँ राष्ट्रवादमा सम्पूर्ण जनताको सामुहिक इच्छा र भावना प्रतिविम्बित हुनेछ । नयाँ राष्ट्रवादको जन्म हुने सम्भावनाकै कारणले नेपालको राष्ट्रियता खण्डित हुने, विभाजित हुने वा राष्ट्रियता सङ्कटमा पर्ने आदि कुराहरू उठिरहेको हुन् । यो सामन्तवादी र यथास्थितिवादी मानसिकताको उपज हो ।
जातीय राष्ट्रवादः
केही वर्षता नेपालमा विभिन्न जाति, क्षेत्र आदिबाट आ-आफ्नै किसिमले आफ्नो पहिचानलाई लिएर आन्दोलन भइरहेको छ । आन्दोलनको मुख्य मुद्दा जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा स्वायत्त राज्य पाउनुपर्ने रहेको छ । यी कुरालाई लिएर नेपाली राष्ट्रवाद खतरामा परेको, विखण्डन हुने आदि कुराहरू उठेका छन् । यस सवाललाई लिएर राष्ट्रियता र जातीय राष्ट्रवादको सम्बन्धमा भ्रमहरू सिर्जना र उत्पन्न गर्ने प्रयास भइरहेको छन् । वास्तवमा, नेपाली राष्ट्रवाद र जातीय राष्ट्रवादमा खासै अन्तर छैन । किनकि, नेपाल भनेकै विविध जातिहरूको मिश्रति थलो हो । उनीहरूको सम्मान र सम्बोधनमा नै नेपालको राष्ट्रियता निर्भर रहेको छ । त्यसकारण, नेपाली राष्ट्रवाद भनेको जाति, जनजातिहरूको पहिचान र राष्ट्रवादको समग्र रुप हो । नेपाली राष्ट्रवादको महत्वपूर्ण अङ्गको रुपमा जातीय राष्ट्रवाद रहेको छ । यसलाई सकारात्मक र ठीक ढङ्गबाट बुझ्ने कोसिस नगर्दा जाति र सम्प्रदायबाट उठेका नारा र आन्दोलनहरूलाई नेपाली राष्ट्रवादको विरुद्धमा रहेको हो कि भन्ने भान हुन्छ । तर, यो वास्तविकता होइन । सबैभन्दा पहिला जे कुराको दिमागमा तस्वीर बन्छ, त्यो नै राष्ट्रियताको पहिचान हो । मानिसको पहिलो राष्ट्रिय भावना भनेको आमासँग जोडिएको हुन्छ । त्यसपछि, परिवार, गाउँ, क्षेत्र, जाति र मुलुकसँग जोडिन्छ । यी कुराहरूलाई अलग रुपमा हेरिनु हुँदैन । यसमा एक-अर्काको सम्बन्ध हुन्छ । जसरी आमाले आफ्नो परिवारलाई संरक्षण र स्याहार सुसार गर्छन् त्यसैगरी राष्ट्रले आफ्नो मुलुकको निवासीहरूलाई संरक्षण दिन्छ र अधिकार प्रदान गर्दछ । राष्ट्रियताको अभावमा मानिस टुहुरो बन्दछ । राष्ट्रविहीन व्यक्तिको संरक्षण हुनसक्दैन । राष्ट्रले नै व्यक्तिलाई संरक्षण दिने भएकोले उसको राष्ट्रसँग प्रत्यक्ष अधिकार र कर्तव्य, संरक्षण्को भाव र आत्मीयताको भावना जोडिएको हुन्छ, यो नै राष्ट्रवाद हो । नेपालभित्र बसेका सबै जाति वा सम्प्रदायको संरक्षक भनेको नेपाल राष्ट्र हो । नेपालभित्रै रहेर विभिन्न जातिले आफ्नो अधिकार, पहिचान वा स्वायत्त राज्य माग्नुलाई अन्यथा मान्नु हुँदैन । नेपालको पूर्वको नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य बनाउनु पर्दछ भनी आन्दोलन चलिरहेको छ । तराइलाई थरुहट त्यस्तै खम्बुवान, तामाङसालीङ, नेवाः मण्डल, तमुवान, मगरात आदिले आफ्नो पहिचान र अधिकार माग गर्नु भनेको समग्र राष्ट्रियतालाई सुदृढ र संगठित बनाउनु हो । यी आन्दोलनहरुले माग गरेको कुरा अलग राष्ट्रियताको खोजी होइन । बरु, यसले करिब अर्ढाईसय वर्षअघिदेखि ओझेलमा राखिएको राष्ट्रियतालाई ब्युँताउने छ र बलियो राष्ट्रियताको प्रारम्भ गर्ने छ । जातीय पहिचान भनेको नै जातीय राष्ट्रवाद हो । र, समग्र जातीय राष्ट्रवाद नै नेपाली राष्ट्रवाद हो । यसबाट स्पष्ट के हुन्छ भने नेपाली राष्ट्रवादको महत्वपूर्ण अङ्ग नै जातीय राष्ट्रवाद रहेछ । यसरी राष्ट्रवादको महत्वपूर्ण अङ्ग जातीय पहिचानको कुरा नै ओझेलमा राखेर गरिएको राष्ट्रवादको ब्याख्या पूर्ण राष्ट्रवाद थिएन । त्यो देखावटी नक्कली राष्ट्रवाद थियो । त्यसकारण, नेपाली राष्ट्रियता र राष्ट्रवादलाई बलियो सशक्त बनाउन जातीय राष्ट्रवाद स्थापित हुन जरुरी छ । जातीय राष्ट्रवादको आन्दोलन नै लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः मण्डल, तमुवान, मगरात आदि आन्दोलनहरू हुन् । यी आन्दोलहरूको सफलतामा नेपाली राष्ट्रवादको भविष्य निर्भर हुनेछ ।
E-mail: khambek9@yahoo.com
E-mail: khambek9@yahoo.com
साभार: याक्थुङ आवाज पत्रिका,
२००९ लिम्बू विद्यार्थी मञ्च, धनकुटा
1 comment:
Dear Makhim
I viewed your article of this site and like it. It is very informative about nation and nationalism. Lacking this kind of aspiration there growing many problems in the country. I appreciate this article. But there is to little description about limbuwan political status. It will be more better if there included more information of previous and latest limbuwan movement. But take it easy article could succeed to define the problems of national contest. I hope you will keep on more more practicess comming days. Thank you.
Chhabi Sangbangphe, Lilimhang
Dharan, Limbuwan-Nepal
Jai Limbuwan.
Post a Comment