May 17, 2009

समावेशी शिक्षा आजको आवश्यकता

रामकिसुन उराँव
हाम्रो देशमा सदियौँदेखि चल्दै आएको एकतन्त्रीय शासन प्रशासनका बखत बनेको शिक्षानीति हालसम्म चलिरहेको हुँदा यसले एक्काइसौँ शताब्दीको आधुनिक शिक्षानीतिलाई प्रतिनिधित्व गर्न सकिरहेको छैन । शासक वर्गको मात्र गुण गाइने शिक्षा भएकोले यसले नेपाली जनताको व्यावहारिक, सांस्कृतिक पक्ष र सीपमूलक कार्यदक्षता प्रदान गर्ने खालको छैन । त्यसैले यस एकपक्षीय शिक्षानीतिलाई समावेशी, सीपमूलक र आधुनिक बनाइनु आजको जल्दोबल्दो आवश्यकता हो ।
एकपक्षीय शिक्षानीतिका कारण हाल हजारौँ युवा विभिन्न शैक्षिक तहका प्रमाणपत्रहरू हातमा राखेर रोजगारीको खोजीमा भौतारिरहेका छन् । व्यावहारिक शिक्षा प्रणाली नभएकै कारण आज ती युवा शैक्षिक बेरोजगारका मारमा पिल्सिएका छन् । यसरी शैक्षिक बेरोजगार भएको देखेर गाउँघरमा अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई पढ्न विद्यालय पठाउनु भन्दा पनि काम गर्न अर्काको घरदैलोमा पठाउँछन् । पढेर के हुन्छ ? पढेर जागिर पाइँदैन । जागिर नपाएपछि पढेको के काम ? ज्याला मजदुरी गरेरै खानुपर्छ भने किन पढ्ने ? नपढी दैनिक मजदुरी गरेर खानु नै बेस हुन्छ भन्ने अवधारणाबाट ग्रसित देखिन्छन् प्रायः ग्रामीण भेकका जनसमुदाय ।
यस किसिमको कुण्ठित मानसिकताबाट उकास्न शिक्षानीतिलाई समावेशी, सीपमूलक र आधुनिक बनाइनु अपरिहार्य देखिन्छ । हाम्रो देश बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक मुलुक भएकोले ती विविध संस्कृति, धर्म, भाषा जस्ता महत्वपूर्ण अवयवहरूलाई नयाँ शिक्षानीतिमा समावेश गरिनुपर्दछ । बहुभाषिक शिक्षानीति ल्याइयो भने दुर्गम तथा गाउँघरका बालबालिका जो नेपाली भाषा जान्दैनन् तिनीहरू आफ्नै मातृभाषा वा स्थानीय भाषामा शिक्षा हासिल गर्न पाउँछन् भने उनीहरूमा विद्यालय छोड्नु वा छोडाउनुपर्ने बाध्यता रहँदैन । एकलभाषा शिक्षणबाट सिकाइ र बुझाइमा तालमेल नमिली अप्ठ्यारो पारी नेपालीइतर भाषिक समुदायका बालबालिका विद्यालय छोड्न बाध्य हुन्छन् ।
शिक्षाको माध्यम बहुभाषिक मात्र भएर पुग्दैन । शैक्षिक सामग्रीहरूमा पनि फेरबदल गरिनुपर्दछ । शिक्षाका हरेक तहमा आदिवासी जनजातिलगायत विभिन्न जातजातिका पुख्र्यौली पेसा, संस्कृति, सीप र आदिवासी ज्ञानलाई संरक्षण, संवर्द्धन र विकास गर्नका लागि समावेश गरिनुपर्दछ । जसले गर्दा सबै समुदायका बालबालिका लाभान्वित भएर शिक्षा हासिल गरिसकेपछि पनि सरकारी जागिरको मुख ताक्नुपर्ने अवस्थाबाट मुक्त भई आफ्नै पुख्र्यौली पेसा र संस्कृतिलाई जोगाउन सक्छन् । केही आदिवासी जनजातिका भाषा, संस्कृति र धर्मलाई शिक्षाको मूलधारमा ल्याइएका छन् । तर त्यति मात्रले पूर्ण समानुपातिक समावेशी हुन नसक्ने हुनाले नेपालका सबै भाषा र भाषिकाहरूलाई शिक्षामा समाहित गरिनुपर्छ । मातृभाषा शिक्षाको माध्यमबाट हरेक समुदायका बालबालिकालाई शैक्षिक, बौद्धिक र चेतना अभिवृद्धि गराउन ठूलो सहयोग पुर्‍याउँछ । साथै तिनीहरूले आफ्नो भाषा सिक्न पाउनुका साथै संस्कृति, धर्म र सिङ्गो राष्ट्रकै सँस्कृति आफ्नै भाषाको माध्यमबाट सजिलै सिक्न सक्छन् र उच्च शिक्षाका लागि सक्षम हुन्छन् ।
तराईका भित्री गाउँका केही समुदायहरू मुसहर -सदा, ऋषिदेव), चमार -राम), डोम -मरीक), तत्मा
-खत्वे), दुसाद, बाँतर, आदि हरेक दृष्टिकोणबाट पछाडि परेका वा पारिएका छन् । ती समुदायका मानिसहरूलाई शिक्षा के हो ? शिक्षा किन चाहिन्छ ? केही मतलब छैन । दैनिक अर्काको घरमा काम गरेर बिहान-बेलुकाको जोहो गर्न तल्लीन हुन्छन् । उनीहरूले चाहेर पनि आफ्ना छोराछोरीहरूलाई विद्यालय पठाउनसकेका छैनन् । कोही अभिभावकले बालबालिकालाई विद्यालय पठाइहाल्यो भने पनि ती केटाकेटीहरू भाषा नजानेकोले शिक्षकले पढाएको कुरा नबुझ्ने र घरमा पनि कसैले सिकाइदिने व्यवस्था नहुँदा विद्यालय छाड्न बाध्य छन् ।
यस्ता उत्पीडित वर्गलाई यस समस्याबाट मुक्ति दिलाउन तिनीहरूका लागि शिक्षामा क्रान्तिकारी परिर्वतन ल्याउनु अति आवश्यक छ । बालबालिकालाई मातृभाषा शिक्षाको माध्यमबाट मूलधारमा ल्याउन सकिन्छ भने तिनीहरूका अभिभावकहरूलाई साक्षर बनाउन स्थानीय भाषाको माध्यमबाट स्वरोजगार बनाउने किसिमको अनौपचारिक शिक्षानीति ल्याइनुपर्दछ ।
यस्तै तराई मूलका आदिवासी जनजातिहरू जस्तै उराँव, मुण्डा, खडिया, किसान, थारु, राजवंशी, धिमाल, मेचे, सन्थाल आदिका मौलिक संस्कृति छन् । पौराणिक कलाकृतिहरू हालसम्म विद्यमान छन् । उपयुक्त शिक्षानीति अभावका कारण ती मौलिक संस्कृति, कला, सीपहरू पुस्तान्तरण हुन सकिरहेको छैन । यसो हुँदा आउँदा केही वर्षमै ती मौलिकपन लोप हुने खतरामा छ भने अर्कोतिर मौलिक पेसाको महत्व एवं उत्पादित हस्त कलाकृति पनि उचित बजार व्यवस्थापन नहुँदा लोप हुने अवस्थामा पुगेको छ । तसर्थ यस्तो अवस्थाबाट बचाउन र मौलिक विविधतालाई संरक्षण, संवर्द्धन र विकास गर्न स्थानीय समुदायलाई तिनीहरूकै भाषाको माध्यमबाट तिनीहरूका मौलिक सीप, कला, संस्कृति जस्ता कुरालाई औपचारिक तथा अनौपचारिक शिक्षाको रूपमा पठनपाठन गराई उत्पादित हस्तकला, कृतिको उचित बजार व्यवस्थापन गराइनुपर्दछ ।
हिमाली, पहाडी आदिवासी जनजातिलगायत केही अन्य समुदाय जङ्गली जडीबुटी सम्बन्धमा निकै जानकारी राख्छन् । जङ्गली जडीबुटी कहाँ र कसरी चिन्ने ? केका लागि कति र कसरी प्रयोग गर्ने ? भन्ने पोख्त ज्ञान हुन्छ उनीहरूमा । यस्ता ज्ञानवर्द्धक कुराहरूलाई शिक्षाका दायरामा ल्याइनुपर्छ । जडीबुटीकै व्यापार गरेर जीविकोपार्जन गर्ने कैयौँ परिवार छन् । यस्ता जडीबुटीजन्य पदार्थ पहिचान गर्ने ज्ञान र त्यसका संवर्द्धन र व्यवस्थापन गर्न उचित पहलको आवश्यकता देखिन्छ । त्यस्ता जडीबुटी जन्य पदार्थको परम्परागत प्रयोग विधि र आयुर्वेदिक ज्ञानलाई शिक्षाको दायरामा ल्याई पठनपाठन गराइयो भने घरेलु स्वास्थ्य उपचारमा जनचेतना अभिवृद्धि भई आम नेपालीले स्वस्थ जीवनयापन गर्न पाउनुका साथै उपचारको नाममा हुने फजुल खर्च रोक्न सकिन्छ ।
गोरखापत्रबाट

No comments: