कुमार लिङ्देन 'मिराःक्'
अहिले हाम्रो देश नेपाल संघीयकरणको प्रक्रियामा छ । लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, तमुवान, मगरात, थारुहट, मैथिल, खसान, स्वायत्त राज्यहरुको कुरा जोडदार गरी उठिरहेको छ । एकात्मकवादीहरुले नेपाललाई राजनीतिक, भाषिक, सामाजिक, साँस्कृतिक, आर्थिक, वातावरणीय आदि हरेक रुपमा ध्वस्त गरेपछि देश समाज नव-निर्माणको चोखो भावनाले यी संघीय राज्यका मागहरु उठिरहेका हुन् । संघीयकरणको कुरा गरिरहँदा विगत २४० वर्षमा नेपालका एकात्मक सत्ताधारीहरुले कसरी देशलाई बर्बाद गरेछन् भनेर समीक्षा गरिनु पनि जरुरी हुन्छ ।
हामी बसिरहेको यस भू-भाग वा भारतीय महाद्वीपको इतिहास पनि बडो रोचक छ । पहिले यस भू-भागको उत्तरी क्षेत्र वा अहिलेको नेपाल, सिक्किम, बर्मा, भूटान, नागाल्याण्ड, मिजोरामदेखि गंगा नदीको फाँटसम्म मङ्गोलियन मूलका आदिवासीहरु बसिरहेका थिए । दक्षिण तमिलनाडुतिर द्रविडमुलका आदिवासीहरु बस्दथे । यी दुबै वर्गका आदिवासीहरुको आफ्नै भाषा संस्कृति जीवनपद्धति र सम्यताहरु थियो । यही क्रम्मा अहिलेको इरान इराक वा भू-मध्यरेखीय क्षेत्रबाट आर्यनहरु यस भारतीय उपमहाद्वीपतिर हुलका हुल आउन थाले । यो धेरै मलिलो र हरियो घाँसे मैदानहरुले भरिएको क्षेत्र थियो । यो क्षेत्रको रमाइलोपन देखेर ती आर्यनहरु लोभिए र यतै बस्ने सोच बनाए । तर यस क्षेत्रमा दुई प्रकारको आदिवासीहरु धेरै पहिलेदेखि नै बसिरहेका थिए । यी दुई प्रकारका आदिवासीहरुलाई ध्वस्त गर्न ती आर्यनहरुले अनेक षडयन्त्रहरु अपनाए । यही सयममा रामायण महाभारत ग्रन्थहरुको रचना भयो । यी दुईवटै ग्रन्थहरुमा आर्यनहरुले यहाँका आदिवासीहरुलाई षडयन्त्रमुलक ढङ्गले परास्त गरेको कथाहरु लेखिएको छ । जस्तो रामायणमा रामले रावणलाई प्रत्यक्ष जित्न नसकेपछि उसकै भाइ विभिषणबाट रावणको मुत्युको केन्द्र थाहा पाएर रावणको हत्या गरेका छन् । नत्र रामजस्तो आदर्श पुरुष युगपुरुष भनिएका व्यक्तिले त्यसरी षडयन्त्रको सहरा लिनु ठीक थियो कि थिएन अब आउने उत्तर उत्तरआधुनिक साहित्यले त्यसको विचार विमर्श गर्नेछ ।
यसरी नै महाभारतको युद्ध पनि षडयन्त्रमुलक छ । महाभारतको युद्धमा किराती राजकुमार एकलव्यले कौरव पक्षमा लड्न जाँदा कृष्णहरु अत्तालिएर उनका गुरुमार्फत् बुढी औंला मागेको घट्ना छ । बुढी औंला नै लगेपछि केले धनुकाँड हान्नु तरपनि एकलव्यले गुरुलाई आफ्नो बुढी औंला काटेर उपहार दिएकै छन् । त्याग र गुरुभक्तिको अनुपम उदाहरण प्रस्तुत गर्ने एकलव्यबारे कहीँकतै कुरासम्म पनि गरिँदैन । शक्तिशाली भनिएका कृष्ण जसलाई देवताको रुपमा पुजिन्छ उनी आफै यति खुल्लम्खुल्ला पाण्डवहरुको पक्षमा लाग्नु ठीक थियो कि थिएन यस बारेमा हुने विचार-विमर्श नै उत्तरआधुनिक साहित्य रहेछ । तर सरसर्ती हेर्दा ती आर्यनहरु र मङ्गोलियन आदिवासीहरुको सीधै भिडन्त भएकोचाहिँ देखिँदैन । आर्यनहरुले पहिले द्रविडहरुलाई खत्तम गर्ने रणनीति लिए । र मङ्गोलियन आदिवासीहरुसँग मित्रता गरेको नाटक गरे । आर्यनहरुले द्रविडहरुलाई सखाप गर्ने र मङ्गोलियन आदिवासीहरुसँग मित्रता गाँस्ने रणनीति लिनुको पछाडि दुईवटा कारणहरु थिए । पहिलो द्रविडहरु विशेषगरेर दक्षिण भारतमा हजारौं वर्ष पहिलेदेखि बसेका थिए । तर उनीहरु फैलिन सकेका थिएनन् वा उनीहरुको व्यापक फोस्र थिएन । तर नेपाल क्षेत्रमा मङ्गोलियन आदिवासीहरुले एसियाभर छरिएका मङ्गोलियनहरुको एक भाग थिए । त्यसैले यी मङ्गोलियनहरुसँग युद्ध लड्दा धेरै लामो र भयङ्कर हुनसक्छ भन्ने सोचले ती आर्यन रणनीतिकारहरुले द्रविडहरुको विरुद्धमा उनीहरुको लडाइँलाई केन्द्रित गरे । सहयोग गर्न गएका एकलव्यहरुलाई पनि फकाई-फुल्याई बुढी औंला मागे र निस्तेज बनाए ।
यसरी आदिवासी द्रविडहरुलाई ध्वस्त गरेर आर्यनहरुले आफ्नो धर्म संस्कृति जातिलाई अघि बढाइरहेका थिए । शुरुमा आर्यनहरु धेरै मजवुत थिए । तर विस्तारै उनीहरुमा जातिभेद वर्णाश्रम जन्मियो र तँ ठूलो तँ सानो भन्ने कुरा ल्याएपछि उनीहरु धेरै कमजोर भइसेका थिए । यही क्रम्मा एघारौं शताब्तीतिर त्यही आर्यका पिता-पुर्खाहरु जो मुस्लिम भइसकेका थिए तिनीहरु भूमध्य क्षेत्रबाट आँधीहुरी आएजस्तै भारतका हिन्दू आर्यनहरुलाई आक्रमण गर्न आए । भारतका हिन्दू आर्यहरु जो द्रविडलाई ध्वस्त गरेर हाँसिरहेका थिए तर जातप्रथाको कारणले गर्दा अति कमजोर थिए । त्यसैले उनीहरुले ती मुस्लिमहरुको आक्रमणलाई सामना गर्न सकेनन् । हिन्दूहरुको भागाभाग भयो । मुस्लिमहरुले सत्ता कब्जा गरे । दिल्ली कब्जा गरे । धेरै हिन्दूहरु मुस्लिम भए । भनिन्छ- पाकिस्तानका राष्ट्रपिता भनिने जिन्नाको तीन पुस्ताअघिका बाजे हिन्दू थिए ।
यसरी मुस्लिमहरुको आक्रमणमा परेर आफ्नो भाषा धर्म जोगाउन धेरै हिन्दूहरु भागेर नेपाल आए । नेपालका मङ्गोलियन आदिवासीहरु र भारतका हिन्दूहरुको सम्बन्ध त्यसबेला राम्रै भएकोले उनीहरुको नेपाल आगमन सहजै ठानियो । किनकि एउटा नजिकको साथी अभर परेको बेला उसलाई स्थान दिनु मानवताको कुरा नै हो । तर आफूलाई शरण दिने मित्र सुतिरहेको बेला उसको मुटु छेड्ने गरी भाला रोप्नु न्यायसङ्गत धर्म सङ्गत र मानवतासङ्गत छ कि छैन थियो कि थिएन हुनेछ कि हुने छैन यो नै नेपाली समाजको अन्तरद्वन्द्वको केन्द्रीय विषयवस्तु हो ।
यसरी मुस्लिमहरुको आक्रमण्मा परी आफ्नो राज्य गुमाएर नेपाल आएका हिन्दूहरुको दिमागमा "आफ्नो राज्य" गुमेको झझल्को घुमिरहेको थिएछ । त्यहीबेला द्रविडलाई लखेट्ने हिन्दू हिन्दूलाई लखेट्ने मुस्लिमहरुलाई पनि आफ्नो कब्जामा पार्दै बेलायतबाट कि्रश्चियन अङ्ग्रेजहरु भारतमा आएर शासन गर्न थाले । सङ्क्षेपमा भन्ने हो भने हामी बसिरहेको भू-भाग वा छिमेकी राष्ट्रको इतिहास धेरैपल्ट धार्मिक वा सभ्यताहरुको द्वन्द्व भएको छ । एकले अर्कोलाई सिध्याउने अनि त्यसलाई फेरि अर्कोले सिध्याउने घट्नाहरु भएका छन् । यो द्वन्द्वले अनेकौं छाल र तरङ्गहरु छोडिराखेको छ । तिनै छाल र तरङ्गहरु हुन् आजको यस क्षेत्रको राजनीतिक उथलपुथलहरु ।
पृथ्वीनारायण शाहको दिमागमा त्यही एघारौं शताब्दीको झझल्को घुमिरहेको थिएछ । त्यसैले उनले तमुवान, मगरात, नेवाः, तामाङसालीङ, खम्बुवान र लिम्बुवानमा क्रूर र खुनी सैनिक हमला गरे । कथित् एकीकरण गरिसकेपछि उनले आफ्नो दिव्योपदेशमा भनेका छन्- "म नेपाललाई असली हिन्दुस्थान बनाउँछु ।" उनको यो भनाइमा एघारौं शताब्दीमा मुस्लिमहरुको आक्रमणमा परी आफ्नो राज्यहरु गुमाएको पीडा झल्किन्छ । उनका ती पीडाहरु ठीकै होला आफ्नो ठाउँमा तर हिन्दुस्तान गुमाउने भारतमा अनि फेरि असली हिन्दुस्तान खोज्ने नेपालमा ! त्यो पनि आफूलाई शरण दिने मित्रहरुको छात्तीमा भाला रोपेर ! हो यहीनेर नेपालको इतिहासले गलत बाटो लियो । पृथ्वीनारायण शाहले "नेपाललाई असली हिन्दुस्तान बनाउँछु" भनेकै दिनदेखि नेपाली राज्य राजनीति गलत र ओरालो बाटोतिर हिँड्न शुरु गर् यो । "अलसी हिन्दुस्तान" बनाउने ठाउँ नेपाल हो कि भारत हो ? यो नै यक्ष प्रश्न हो । के लण्डनलाई लिम्बुवान बनाउँछु भनेर उप्रुनु न्यायसङ्गत होला कदापि हुँदैन । हो त्यस्तै थियो नेपाललाई हिन्दुस्तान बनाउने कथित् कल्पना ।
तर दुर्भाग्य ! पृथ्वीनारायण शाहको त्यही "नेपाललाई असली हिन्दुस्तान बनाउँछु" भन्ने गलत मिशनकोपछि पछि २४० वर्षसम्म यो देश हिँडिरह्यो र अझै पनि हिँडाउँने दुस्प्रयास भइरहेको छ । २४० वर्षको मिशन नै गलत थियो । त्यसैले कवि भूपि शेरचनले बारम्बार आफ्नो कविताहरुमा यो आक्रोश पोखेका छन्- "गलत छ मेरो देशको इतिहास", "यो हल्लैहल्लाको देश हो" र "यहाँ घुम्ने मेचमाथि अन्धो मान्छे बसेको छ ।" आधुनिक नेपालको जग नै गलत छ र त्यो गलत जगमा बनेका सबै तत्वहरु गलत छन् । यसको जगकै पुनः संरचना गरौं । यसको जग एकात्मक छ । त्यसलाई संघीय जग वा संरचनामा लैजाऊँ भनेर चिच्याउने कवि भूपि शेरचनहरुको आवाजलाई यहाँ सधैँ धूमिल पारियो र लक्ष्मीप्रसाद देवकोटाहरुको माया-प्रेमको कथाहरुको नै यहाँ बोलवाला बनाइयो ।
पृथ्वीनारायण शाहको गलत मिशनमाथि उभिएको अहिलेको मिडिया। अदालत प्रहरी-सेनाको संरचना राजनीति सबै गलत छन् र यी सबै संरचनाहले अन्ततः नेपाल र नेपालीहरुलाई खाडलमा पुर् याउनेबाहेक केही गर्दैनन् । त्यसैले अब नेपाल राज्य संघीय ढाचामा जानुपर्छ भनेर आवाजहरु घन्किएको हो । एघारौं शदाब्दीमा मुस्लिमहरुको आक्रमणमा परी हिन्दू आर्यनहरु नेपाल छिर्नेक्रम् गलत थियो भनेर हामीले कहिले भनेका थिएनौं र भन्ने छैनौं । त्यो इतिहासको कालखण्ड थियो उथलपुथलको एउटा क्षण थियो र त्यसलाई विकासक्रमको एउटा चरण मान्नुपर्दछ । तर पृथ्वीनारायण शाहहरुले नेपालको अस्तित्व नै हराउने गरी असली हिन्दुस्तान बनाउँछु भन्दै कुर्लनु र त्यही ढाचामा यहाँको अदालत सेना-प्रहरी कर्मचारीहरुलाई अघि बढाउनु गलत थियो भनेर हामी सबै नेपालीले खुल्लम खुल्ला भन्न सक्नुपर्दछ ।
यसरी शरण दिनेहरुको छात्तिमा तिखो भाला रोपिरहँदा पनि नेपालमा कुनै बुद्धिजिबीहरु बोल्दैनन् । अनि हामीलाई चिच्याउन मन लाग्छ- "एउटा समुदायमाथि भएको जघन्य अपराध र अन्यायलाई पनि देख्न र त्यस बारेमा बोल्न नसक्ने ए कथित् बौद्धिकहरु हो फ्याँक्नुस् तपाइँहरुको एम्फिल पीएडीका सर्टिफिकेट र कलमहरु ।" हाम्रा यी आक्रोशहरु सम्झौताविहीन छैनन् हामी एउटा सम्झौतामा बस्न र बाँच्न चाहन्छौं । हामीले बुझैका छौं- नेपाल सबै नेपालीहरुको हो । तर यहाँको मुलवासीहरुको छात्तिमा भाला रोप्ने काम बन्द गरियोस् । नेपालको इतिहासको सम्मान गर्दै एउटा राजनीतिक सम्झौता वा संघीय संरचना निर्माण गरौं र त्यहाँ सबै मिलेर बसौं ।
नेपाली राजनीतिमा उदेक लाग्दो अर्को पाटो पनि छ । ल पृथ्वीनारायण शाह र उसपछिका राणाहरु त सामन्तवादी जातिवादी र यहाँका आदिवासीहरुको विरोधी भए नै । तर नेपाली कांग्रेस जसको स्थापना २००४ सालमा भयो कांग्रेसले भारतबाट धेरै सिकेको छ । यसका नेता वीपी कोइरालालाई उनीहरु महामानव भन्छन् । आधुनिक भारतको मुख्य संवैधानिक तत्वहरु चारवटा छन्- संघीयता गणतन्त्र लोकतन्त्र र धर्मनिरपेक्षता । हामीलाई प्रश्न गर्न मन लाग्छ- भारतमै जम्नेका हुर्केका पढेका राजनीति सिकेका तिनै महामानव वीपीले भारतले अङ्गीकार गरेको संघीयतालाई नेपाली राजनीतिमा किन प्रवेश गराउन सकेनन् भारतभन्दा बढी विविध इतिहास भएको मुलुक हो- नेपाल । त्यसरी नै सन् १९१७ मा लेनिनले रुसमा कम्युनिष्ट सत्ता स्थापना गर्दा १४ वटा स्वतन्त्र राज्यहरुको संघ निर्माण गरी सोभियतहरुको युनियन बनाएका थिए । तर २००६ सालमा स्थापना भएका नेपालका कम्युनिष्टहरुले किन कहिले संघीयताको सवाललाई नेपालमा प्रवेश गराएनन् त अनि हामीलाई लाग्छ- यिनीहरु जुनसुकै मखुण्डो लगाएर पनि पृथ्वीनाराय शाहले स्थापना गरेको र महेन्द्रले अझ कडाइका साथ लागू गरेको यहाँको आदिवासीहरुको वंश विनाश गर्ने अभियानमा यी सबैजना सहमत छन् । त्यसैले यी सबै सबैप्रति आक्रोशको लहरहरु मनभित्र उर्लिन्छन् । पछिल्लो पल्टको माओवादी आन्दोलनमा आदिवासी र उत्पीडित जातिका हजारौं युवाहरुले वलिदान दिए तर उसको सहमतिसहित आएको अन्तरिम् संविधानमा "संघीय" भन्ने शब्द थिएन । "संघीय" शब्द स्थापित गर्न लिम्बुवान र मधेश आन्दोलनलको क्रममा धेरैले वलिदान दिनुपर् यो । अनि हामीलाई लाग्छ- "आखिर हाम्रो कुरा त कसैले नउठाउने रहेछ । त्यसोभए उनीहरुसँग टाँसिएर किन बस्ने बरु स्वतन्त्र रुपमा आफ्नो मुद्दाहरुलाई उठाएर घघि बढ्ने । तर कसैको आशीर्वादमा नबस्ने नबाँच्ने ।"
यो देश गलत बाटोतिर हिँडिरहेको छ र यसलाई सही बाटोमा ल्याउनु पर्छ भन्ने लाग्छ भने हामी सरोकारवालाहरु वा पृथ्वीनारायण शाहको कथित् एकात्मक राज्य बनिनुभन्दा पहिले विभिन्न राज्यहरुमा बसिरहेका जनताका पुस्ताहरु राजनीतिक रुपमा सङ्गठित हुनुपर्छ र अघि बढ्नुपर्छ । कसैको निर्देशनमा खोलिएका जातीय सामाजिक संस्थाहरुले हामीलाई अलमलाउने छ । कुनै "सुपरम्यान" आउला र उसले हामीलाई मुक्ति देला भनेर भ्रमित सपनामा बाँच्नु हुँदैन । यहाँ कोही सुपरम्यान आउनेवाला छैन । कुनै विद्वान आउनेवाला छैन । हामीले देखेका र आसा गरेका सबै मान्छे हाम्रो विरुद्धमा छन् र पृथ्वीनारायण शाहको मिशनलाई निरन्तरता दिने ठाउँमा छन् । विद्वान र कलम चलाउन जान्ने भनिएकाहरु सबैभन्दा डरलाग्दो गरी हाम्रो विरुद्धमा सलबलाइरहेका छन् । यस्तो बेलामा कुनै "सुपरम्यान"को प्रतीक्षामा समय खेर फाल्ने होइन । बरु सबैजनाले आफैलाई सुपरम्यान सम्झेर सङ्गठित बनी अघि बढ्नुपर्दछ ।
लिम्बुवान आन्दोलन उठ्नुको पछाडि यही दृढ मनोविज्ञानले काम गरिरहेको छ । हामीले थाहा पायौं जसलाई हामीले विश्वास गरिरहेका छौं उसले एउटा तरबार गोप्य रुपमा लुकाएर बोकिरहेको छ कुनै एकान्त ठाउँमा उसले हामीहरुको हत्या गर्नेछ र हामीले आत्महत्या गरेको झूटा मुद्दा अघि बढाउनेछ । हामीले यति गुरुमन्त्र थाहा पाइसकेपछि ती एकात्मकवादीहरुसँग सबैखाले दिमागी नाताहरु तोड्नै पर्छ । वास्तवमा हामी असक्षम होइनौं । हामी सक्षम छौं । तर यति हो हामीले विगतमा आँट गरेनौं । अब आँट गर्नुपर्छ । सानो ठूलो जस्तो होस् हाम्रै विचार हाम्रै नेतृत्वले चल्ने राजनीतिक पार्टीहरु जन्माउनु पर्छ । "रोम एकदिनमा बनेन" भन्ने प्रसिद्ध वाक्यलाई सम्झौं । हो हाम्रो राजनीतिक पार्टीहरु एकै दिनमा सक्षम नहोलान् । हाम्रो सपनाहरु एकैदिनमा पूरा नहोलान् । तर निरन्तर प्रयास गरियो भने एकदिन न एकदिन हाम्रा सपनाहरु अवश्य पूरा हुनेछन् । आफ्नो खुट्टामा उभिने आफ्नो लागि आफ्नै दिमागले सोच्ने मनोविज्ञानका साथ अघि बढौं । अवश्य पनि संघीयवादीहरुकै जित हुनेछ ।
E-mail: kumarlingden@gmail.com
मूल स्रोतः संघीय मासिक वर्ष १, अङ्क ६/७, पूर्णाङ्क ७ पुस-माघ २०६७
No comments:
Post a Comment