सूर्य माखिम
फाइनल खेलखेल्न सेमि-फाइनल चरणका सबै खेल जित्नुपर्दछ । कहिलेकाहीँ बाई पाएर आक्कल झुक्कल क्वाटर फाइनल पुग्नु अर्कै कुरा हो । तर मौकाकै भरमा फाइनल पुग्न सकिँदैन फाइनल खेल्न सम्बन्धित् खेलको दक्षता चाहिन्छ । सबै खेलको निश्चित तोकिएको नियम हुन्छ त्यही नियमभित्र अनुशासित खेल खेल्नुपर्दछ । तर, राजनीतिमा यस्तो खेल हुन्छ जहाँ कुनै निर्धारितत नियम र मापदण्ड हुँदैन । बरु, राजनीतिक खेल जसले नयाँनयाँ नियम र अनुशासनको जन्म गरिदिन्छ । आजसम्मको राजनीतिक विश्व इतिहासलार्इ एक वाक्याङ्शमा संष्लेषण गर्ने हो भने राजनीतिमा जित्न जे पनि गरिन्छ ।
राजनीतिलाई खेल नै मान्ने हो भने नेपालको राजनीतिक मैदानमा फाइनल खेल कोकोबीच हुँदैछ र फाइन खेलसम्म पुग्नलाई के कस्तो राजनीतिक लिग चरणका खेलहरू भइरहेकाछन् बारे यो लेख केन्द्रित् हुनेछ ।
नेपाली सबैलाई के थाहा छ भने नेपाल एक बहुलवादी (बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक) मुलुक हो । तर, तत्कालीन गोरखा राज्यको विस्तारपछि नेपाललाई एकलवादी एकात्मक केन्द्रीकृत बनाइयो । त्यहीबाट राज्य र सकारबाटै सबैखाले विभेदको प्रारम्भ भयो । जुन शासकीय स्वरुप जसले संविधानतः नेपाल केवल एक जाति, भाषिक, धार्मिक र साँस्कृतिक विशेषता भएको देश भनेर संवैधानिक सुनिश्चिततामात्र गरेन अन्य जाति, भाषिक, धार्मिक र साँस्कृतिक पहिचानलाई उन्मूलन नै गर्ने कठोर नीति अख्तियार गर्यो । राज्यद्वारा भएको जातीय सफाया रणनीतिका बाबजुत पनि यहाँ विविध जातीय पहिचानहरू बच्न सफल भए । उन्मूलन गर्दागर्दै बचेका पहिचानहरूका मुक्तिको लडाइँ हो- जातीय मुक्ति आन्दोलन । यर्सथ, जातीय मुक्ति आन्दोलन साम्प्रदायिक आन्दोलन नभएर एकात्मक राज्यसत्ताले अख्तियार गर्दै आएको एक जाति, भाषिक, धार्मिक र साँस्कृतिक अर्थात् बाहुनवादी साम्प्रदायिक शासनसत्ता विरुद्ध समानता र मुक्तिको आन्दोलन हो । यहाँ स्मरणीय कुरा के हो भने वहुलवादी देशमा एकलवादी शासनसत्ता र सरकार तत्कालीन शासकहरूले अज्ञानताबस गरेको नभएर वहुलवादी समाजलाई मेटाएर जबर्जस्त एकलवादी समाज निर्माण गर्ने कुत्सित् षडयन्त्र थियो । एकलवादी समाज निर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा 'हिमवत् खण्डमा असिल् हिन्दुस्ताना बनाउन' भन्ने वाक्याङ्शले स्पष्ट पार्दछ ।
नेपालको प्राचीन इतिहासदेखि आजको मितिसम्म आइपुग्दा किरातकाल १९०३ वर्ष लिच्छिवीकाल १२८० वर्ष मल्लकाल ५६९ वर्षर शाहकाल २६५ वर्षसमापनपछि पाँचौपटक पुनर्संरचनाको दोबाटोको यात्रा तय गरिरहेको छ । अबको नेपाल वर्तमान सङ्क्रमणकालीन दोबाटोबाट सिद्धान्ततः कुन (संघीयवाद वा एकात्मकवादमा) बाटोमा जाने भन्ने प्रश्न नै वर्तमान नेपालको फाइनल राजनीतिक खेल हो । यस फाइनल खेलका लागि अहिले नेपालमा भीषण लिग चरणको राजनीतिक खेल चलिरहेको छ । एकात्मकवादी र संघीयवादीका तर्फाट कोको फाइनलमा पुग्छन् भन्ने हेर्न अबको नेपालको राजनीतिलाई केही समय पर्खेर हेर्नुपर्ने हुन्छ । तर, सिद्धान्ततः एकात्मकवादीका विरुद्ध संघीयवादीबीचको राजनीतिक लडाइँ नै नेपाली राजनीतिक खेलको फाइनल भीडन्त हुनेछ । वर्तमान नेपालको राजनीतिक खेल मैदानमा थुप्रै एकात्मकवादी राजनीतिक क्लबहरू (एमाले, काँग्रेस, राप्रपा, माओवादी, जनमोर्चा आदि) छन् भने संघीयवादी राजनीतिक क्लबहरू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल आदिवासी जनजाति महासंघ, बृहत आदिवासी जनजाति मोर्चा, सयुक्त आदिवासी जनजाति मोर्चा, आदिवासी जनजाति दलित गणतान्त्रिक राष्ट्रिय मोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाः पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी आदि छन् । यी एकात्मकवादी र संघीयवादी राजनीतिक क्लवहरूबीच छानिएर फाइनल राजनीतिक खेल कुनै एक सङ्गठनको नेतृत्वमा भीडन्त हुनेछ । तर, राजनीति खेल अन्य खेलको जस्तो कुनै तोकिएको निश्चित नियम नभएकोले दुबैपक्ष संघीयवादी र एकात्मकवादी क्लवहरू मोर्चाबन्दी गरेर पनि फाइनल खेल खेल्नसक्छन् । यो खेलमा एकात्मकवादीहरूको सार अभिष्ट एकलवादको निरन्तरतमा नवबाहुनवादी सिद्धान्तमा समाज व्यवस्थापन हो भने संघीयवादीहरूको सार अभिष्ट एकलवादको विघटन गर्दै वहुलवादमा रुपान्तरण र समतामुलक समाजको निर्माण हो ।
तर वर्तमान नेपालको राजनीति थाहा नहुने मान्छेले क्रिकेट खेल हेरेझैँ नबुझिने र नजानिने रफ्तारमा अघि बढिरहेको छ । राजनीतिक बलिङ र व्याटिङको टेष्ट म्याच चलिरहेको छ । राजनीतिक टेष्टम्याच निक्कै लम्बिएको छ तथापि विकेट, रनआउट र क्याचआउट चलिरहेको छ । भर्खरै तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्व टिमको क्लव -राजसंस्था) खेलमैदानबाट बाहिरिएको छ । उनी राजतन्त्र क्लवका क्याप्टेन थिए भने एकलवादी खेमाका एक महत्वपूर्ण सदस्य पनि । यस अर्थमा नेपालको राजनीतिक खेलको दिग्वीजयको प्रारम्भ संघीयवादीहरूको पक्षमा सैद्धान्तिक रुपमामात्र नभएर व्यवाहारिक रपमा पनि हुन गएको छ । नेपालको राजनीतिलाई किन नजान्नेलाई क्रिकेट खेलजस्तै भनिएको हो भने नेपालको राजनीतिक खेल मैदानमा देखिएका खेलाडीहरू रुप र सार दुबै अर्थमा को संघीयवादी र को एकात्मकवादी छुट्याउन सजिलो छैन । सबै एकात्मकवादीहरू संघीयवादी बनेका छन् । जसको मूलकारण संघीयताको वकालती गरेजस्तो गर्दै संघीयताको विरुद्धको संविधान बनाउनु रहेको छ । संघीयवादी राजनीतिक खेलाडीहरूले मूलरुपमा बुझ्नु पर्ने सार कुरा यत्ति हो । निर्णय
मुखमा रामराम बगलीमा छुरा । यो हिन्दू वर्णाश्रम र बाहुनवादी मनोविज्ञानमा आधारित र्सवाधिक प्रयोग भइरहेको उखान हो । बाहुनवादी मनोविज्ञानका दुई पाटा हुन्छन्- बाहिरी र भित्री । बाहिरी पाटो सारै सुन्दर भावार्थको हुन्छ रामराम जस्तै तर त्योसँगै बगलीमा छुरा अनिवार्य हुन्छ । यो उखानको प्रसङ्ग के हो भने यतिबेला नेपालमा सबै संघीयवादीजस्ता देखिएका छन् तर को संघीयताको बहानावाजीमा संघीयता विरुद्धमा षड्यन्त्रमुलक हिङ्सा मच्चाएर संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई निकाल्न नसकिने खाडलमा हाल्न चाहिरहेका छन् - यो बुझ्न निक्कै कठिन छ । तथापि, बुझ्न अनिवार्य पनि छ । कुन राजनीतिक शक्तिहरू एकलवादमा विश्वास राख्ने एकात्मकवादी हुन् र तिनीहरूबीच रुपमा कसरी फरक छन् र सारमा एउटै हुन् भन्नेबारे अर्को अङ्कमा चर्चा गरिनेछ । यहाँ संघीयवादी राजनीतिक क्लवहरू को को हुन र तीनिहरूवीच कस्तो आन्तरिक अर्न्तर्द्वन्द्वमा फसेका छन् कसरी राजनीतिक खेल खेलिरहेका छन् बारे सङ्क्षिप्त चर्चा हुनेछ ।
मुलतः संघीयवादी पक्षधरका आन्दोलनको सङ्घर्षको कार्यदिशालाई हेर्दा दुईबाटो देखिएका छन्- शान्तिपूर्ण र सशस्त्र । सशस्त्र बाटोबाट विश्वास राख्नेहरू सही या गलत के छन् इतिहासले समीक्षा गर्नेछ । यर्सअर्थमा यस लेखमा सशस्त्र संघीयवादी आन्दोलनको पक्षलाई उल्लेख नगरेर संघीयताको पक्षमा शान्तिपूर्ण सङघर्षरत् सङ्गठनहरूको बारेमा केन्द्रित् रहनेछ ।
सबै संघीयवादी सङ्गठनहरू एकात्मकवादीहरूको विरुद्ध वारपारको पार्टी खेल एक्लै खेल्न सक्छ वा मिलेर मात्र खेल्न सक्छन् - यो र्सवाधिक चासोको विषय हो । यी चासोका प्रश्नसँगै सबै संघीयवादी सङ्गठनका बारेमा सङ्क्षिप्त समालोचना गरिन्छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संलोराम), यो नेपालको एउटैमात्र संघीय संरचनासहितको संघीयवादी पार्टी हो । यो सङ्गठनमा प्रस्तावित राज्यहरूमा स्वायत्त राजनीतिक अधिकारसहितको लिम्बुवान, खम्बुवान, तामाङसालीङलगायतका स्वायत्त राज्य परिषदहरू बनाएर क्षेत्रीय आनदोलन गरिरहेकोछ भने ती सबै राज्य परिषदहरूको समानुपातिक प्रतिनिधित्वको आधारमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बनाएर देशव्यापी आन्दोलन पनि गरिरहेको छ । केन्द्रीकृत एकात्मक राज्यसत्तालाई ध्वस्त पार्न संघीय संरचनासहितको क्षेत्रीय सङ्र्घष्ामार्फ् क्षेत्रीय राजनीतिक कब्जा र सिंहदरवारलाई पार्टी धक्का दिन र केन्द्रीय राज्यसत्ता कब्जा गर्न संघीयवादीहरूको मञ्च पनि आवश्यक रहेकोले संलोरामको भूमिका र प्रभाव राम्रै देखिएको छ । साथै, यस सङ्गठनमा जातीय मुक्तिका लागि प्रारम्भबाटै लाग्ने ठूलो जमात पनि छ । तथापि, जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मानिर्णयको अधिकारसहितको स्वायत्त राज्यहरूको व्यवस्था संविधानमा लेखाउन सक्ने शक्ति मञ्च एक्लैसँग छैन । यसका लागि सबै संघीयवादीहरूलाई क्षेत्रीय र केन्द्रीय रुपमा पनि आवश्कताअनुसार रणनीतिक मोर्चाबन्दीहरूको निर्माण गर्दै अघि बढ्न सक्नुपर्दछ । संविधानसभामा संघीयवादी उदीयमान दलहरूमध्ये मञ्च नै सबैभन्दा बढी जनमत पाएको दल भएको नाताले पनि पार्टी आन्दोलनका लागि संघीयवादी मोर्चाको प्रस्तावक बन्ने राजनीतिक हैसियत राख्दछ । तर, नेतृत्वको खुबी र्रर् इच्छाशक्ति कति रहने यो हेर्न बाँकी नै छ ।
नेपाल आदिवासी जनजाति महासंघ (महासंघ), यो सङ्गठन सिद्धान्ततः नेपालका सबै आदिवासी जनजातिहरूको साझा सामाजिक सङ्गठन हो । महासंघमार्फ् सामाजिक जागरणका काम निरन्तर र आङ्शिक रुपमा राजनीतिक सवालहरूमा पनि काम गर्दै आइरहेको छ । देशभित्र र बाहिर महासंघ नै आदिवासीहरूको आधिकारिक संस्था हो भन्ने बुझाइ पनि छ । महासंघ सामाजिक संस्था भएकोले यो आदिवासीहरूको राजनीतिक संस्था हुन सकिरहेको छैन र सक्दैन पनि । महासंघमार्फ् आदिवासी जनजातिहरूलाई भोट बैङ्कको रुपमा खास गरेर एमाले, काँग्रेस र माओवादीले प्रयोग गर्दै आइरहेका छन् । त्यसमा पनि महासंघलाई आफ्नो पार्टीको स्वार्थमा प्रयोग गर्न एमाले सफल देखिन्छ । एमालेले महासंघका निवर्तमान अध्यक्ष पासाङ शेर्पा सभासद बनाए भने वर्तमान अध्यक्ष राजकुमार लेखी एमालेकै विसुद्ध मानिस हुन् । महासंघ अहिले पनि आन्दोलनमा छ तर यो आन्दोलन आदिवासी जनजातिका लागि १० प्रतिशत र बाँकी एमालेका लागि हो भनेर बुझ्न दिमाग खर्चनु पर्ने छैन । महासंघ सामाजिक चरित्रबाट राजनीतिक चरित्रमा रुपान्तरण हुने र कुनै पनि दलविशेषको प्रभावबाट मुक्त हुने हो भने अझै पनि उसको नेतृत्वमा सकारात्मक संघीयवादी आन्दोलन हुन सक्दछ । संविधानसभा निर्वाचनपूर्व महासंघकै तत्कालीन प्रमुख सल्लाहकार डा. कृण्णबहादुर भट्टचनले महासंघलाई डिस्पोजेबल पार्टी बनाएर संविधानसभामा भाग लिऊँभन्दा चर्को आलोचना खेप्नुपरेको थियो । महासंघ राजनीतिक चरित्रमा पूर्ण रुपान्तरण हुन नसक्ने भएपछि कुनै विश्वसनीय संघीयवादी राजनीतिक दल पहिचान गरेर राजनीतिक आन्दोलनमा सहयोगी बन्न नै उत्तम कार्यदिशा हुनेछ । तर, यसो गर्न महासंघ तयार छैन ।
बृहत आदिवासी जनजाति मोर्चा, नेपाल -बृहत् मोर्चा) यो सङ्गठन नेपालको संघीयवादी आन्दोलनमा देखिएका सामाजिक, जातीय र राजनीति समूहहरूको मोर्चा हो । यो मोर्चा (साङ्गठनिक र व्यक्तिगत) राजनीतिक खेलाडीहरूको स्वार्थ र सचेतनावीच जन्मेको हो । यो मोर्चा निर्माणको प्रारम्भमा यसलाई सामुहिक नेतृत्वको आधारमा सञ्चालन गर्ने भनिएता पनि यो मोर्चालाई राजनीतिक बजारमा डा. कृण्ण भट्टचनको मोर्चा भनेर चिनिन्छ । यो मोर्चा बन्नु अगाडि नै संयुक्त आदिवासी जनजाति मोर्चा पनि बनिसको थियो । नेपालमा जातीय मुक्ति आन्दोलनलाई वैचारिक रुपमा वकालत गर्दै आएका केही समूह छन् जो विशुद्ध राजनीतिमा आउन सक्दैनन् तर राजनीतिक फेम लिन इच्छुक पनि छन् । यो मोर्चामा यस्ता चरित्र देखिँदै गएपछि राजनीतिक सङ्गठनहरू निष्क्रिय हुँदै गए भने डलर पनि कमाउँदै राजनीति पनि गर्दै भन्ने मनोविज्ञान भएका समूह विस्तारै यस मोर्चामा आकषिर्त छन् । यो मोर्चालाई पूरै राजनीतिक चरित्रबाट सबै संघीयवादी राजनीतिक र सामाजिक सङ्गठनहरूलाई समेट्न नसकेपछि संघीयवादीहरूबीचकै आलोचनामा अल्भिmन पुगेको छ । यो मोर्चा न त एक्लै योभन्दा अगाडि बढ्नसक्ने अवस्थामा छ न त छुटेकाहरूलाई समेटेर जान नै सक्ने अवस्थामा छ । यसकारण, यो मोर्चाले संघीयवादीहरूको पार्टी आन्दोलनका लागि सबै विकल्पहरूको ढोका खोलेर खुल्ला बहसमा जान जरुरी छ ।
संयुक्त आदिवासी जनजाति मोर्चा -संयुक्त मोर्चा), यस मोर्चालाई परशुराम तामाङले नेतृत्व गरेको लगायत केही संघीयवादीहरूको मोर्चा हो । यसको सम्पूर्ण योजनाकार परशुराम तामाङ नै हुन् । मोर्चामार्फ् राजनीतिक घेरा बढाउन खोजिए पनि मुलतः तामाङसालीङ केन्द्रित् राजनीतिक मनोविज्ञान भएकाहरू यहाँ समेटिएका छन् । मोर्चाका अध्यक्ष तामाङ जसले खास गरेर आदिवासी जानजातिका मुद्दाहरूलाई सामाजिक आन्दोलनका रुपमा अन्तर्राष्ट्रिय फोरमहरूमा लामो समय सकारात्मक वकालती गर्दै आए । लामो समय सामाजिक आन्दोलनमा रहेर राजनीतिमा आउँदा स्थापित भइसकेका राजनीति र राजनीतिज्ञहरूसँग भएको व्यक्तित्व टकरावका कारण छुट्टै सङ्गठन निर्माण गरिएको भन्न सकिन्छ । किनभने यस मोर्चाका अध्यक्ष परशुराम तामाङसँग ताम्सालिङ नेपाल राष्ट्रिय दल छ । यो दलसँग सिद्धाततः मेल खाने अन्य दलहरू योभन्दा अगाडिनै बनिकसकेका छन् । त्यसमा सहभागी हुनुभन्दा छुट्टै दल निर्माण गर्नुले यसैलाई सङ्केत गर्दछ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी -संलोराप), यो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बाहिरिएर गएका समुह र अन्य फरक फरक पेशाबाट आएका मानिसहरूको राजनीतिक सङ्गठन हो । यो सङ्गठन निर्माणताका निक्कै उत्साहित रुपमा अघि बढिरहेको थियो । जनमानसमा यो समूहले सकारात्मक राजनीतिक निरन्तरता दिनसक्ला भन्ने अनुमान थियो । तर, फड्को मार्नेक्रममा राजनीतिक सन्तुलन ब्रि्रने गरी यस सङ्गठन चिप्लिएको छ । यस सङ्गठनका नेतृत्व लक्षमण थारु आन्तरिक निलम्बनपछि अर्कै सङ्गठनको नामबाट भूमिगत भएका छन् । यो सङ्गठनले संघीयवादी आन्दोलनमा भूमिका वा योगदान खोज्ने हो भने कि त पुरानै घर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा फर्केर काम गनर्ुंपर्छ कि त यस सङ्गठनमा आबद्ध चिन्तनशील दोस्रो युवा पुस्ताको नेतृत्वमा सारेर दीर्धकालीन योजनाबाट अघि बढ्नुपर्दछ । तथापि, यो बाटोबाट अहिलेको हुनुपर्ने संघीयवादीहरूको पार्टी आन्दोलनमा खासै योगदान हुन सक्दैन ।
आदिवासी जनजाति दलित गणतान्त्रिक मोर्चा -गणतान्त्रिक मोर्चा), यो मधेस मुक्ति आन्दोलन र आदिवासी मुक्ति आन्दोलनको मुलधारबाट हटेका र हटाइएका समूहहरूको सङ्गठन हो । यो सङ्गठनको लक्ष्य, उद्देश्य के हो भन्नेमा जनमानसमात्र होइन नेतृत्व आफै पनि दोधारमा छन् । संघीयवादी राजनीतिक शक्तिहरूसँग चोइटिएका कारण राज्यसत्ता भन्दापनि संघीयवादी शक्तिहरूसंगै उनीहरूको बढी द्वन्द्वात्मक सम्बन्ध रहेको छ । तथापि, यस मोर्चालाई पनि मूलधार बन्ने संघीयवादी आन्दोलनमा समेट्न सकियो भने राम्रै हुनेछ ।
राष्ट्रिय जनमुक्ति पार्टी, यो जातीय मुक्ति आन्दोलनलाई राजनीतिक रुपमा सङ्गठित गर्नै सबैभन्दा पुरानो सङ्गठन पनि हो । यस सङ्गठनका नेतृत्वहरूले नेपालको राजनीतिक गतिशीलतालाई बुझेको भए अहिलेको नेपालको राजनीतिमा महत्वपूर्ण स्थानमा हुने थियो । तर, शाही कदमको पहिलो शृङ्खलामा गोरबहादुरको महिला मन्त्री र शाही शासनकै हस्तक्षेपकारी माघ १९ मा एमएस थापाको र्समर्थनले यो दल जातीय मुक्ति कित्ताको होइन भन्ने जनमानसमा पर्नु अस्वभाविक थिएन । समय बितेपछि यो दल गणतन्त्रको लाइनमा त आयो तर जातीय मुक्ति आन्दोलनको नेतृत्वदायी मूल साख गुमाइसकेको छ । यो सङ्गठनले संघीयवादीहरूको पार्टी आन्दोलनलाई मूल नेतृत्व गर्ने साख त गुमाइसकेको भए पनि साहायक भूमिकामा बस्दा राम्रै हुनेछ ।
नेपाः राष्ट्रि पार्टी, यो संविधानसभासँगै जन्मेको संघीयवादी क्षेत्रीय दल हो । खास गरेर नेवाः क्षेत्रमा लामो समयदेखि राजधानी केन्द्रित एकात्मकवादी सङ्गठनहरूको कठोर उत्पीडनको बीचबाट जन्मिएको दल भएकोले संघीयताको पक्षमा यस सङ्गठनको सकरात्मक भूमिका रहनेछ । तर, यो दल संघीय क्षेत्रीकृत दलमात्र भएकोले उसँग क्षेत्रीय आन्दोलनका लागि जति सहज हुन्छ देशव्यापी हुने संघीयवादी आन्दोलनमान मिलाउन निक्कै मेहनत गर्नुपर्नेछ ।
यसप्रकार सबै संघीयवादी राजनीतिक सङ्गठनहरूको सङ्क्षिप्त समालोचनापछि किन विश्वमै आदिवासीहरू उत्पीडनको शिकार बनेका हुन् भनेर सोेच्न सान्दर्भिक हुनेछ । किनभने आदिवासीहरूमा केही त्यस्ता कमजोरीहरू छन् जसले पूरै उत्पीडनको डरलाग्दो खाडलमा हालिरहेको छ । माथि उल्लेखित नेपालका संघीयवादी सङ्गठनहरूको गतिविधिलाई नजिकदेखि हर्ेदा उनीहरूको प्रधान अन्तरविरोधक शक्ति एकात्मकवादीहरू हुन् भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि आपसमौ द्वन्द्वरत् छन् ।
सयौं वर्षछि देश संघीयतामा जाने कि एकात्मकताकै निरन्तरतामा रहने भन्ने मूल प्रश्नमा उभिएको छ । यो बेला सिद्धान्ततः संघीयवादी शक्तिहरू एकात्मकवादीहरूको विरुद्ध एक भएर लड्नु पर्नेमा स-साना फरक सङ्गठन र आन्दोलनमा छन् । जसले साररुपमा एकात्मकवादीहरूलाई नै बल पुगिरहेको छ । यस अवस्थामा यी संघीयवादी दलहरूको दुईटा विकल्प छन् पहिलो सबै संघीयवादी दलहरूबीच स्थायी मोर्चावन्दी गरी एकात्मकवादीहरू विरुद्ध पार्टी सङ्घर्षमा जानु र दोस्रो उल्लेखित सङ्गठनहरूमध्ये कुनै एक सङ्गठनले संघीयवादी सङ्गठनहरूबीचमै सकारात्मक विश्वास जित्दै एकात्मकवादी शक्तिहरूसँग पार्टी सङ्घर्षमा जानु रहेका छन् ।
संघीयवादी राजनीतिक सङ्गठनहरू एकठाउँमा उभिन नसक्नुमा सङ्गठनभन्दा पनि यो वा त्यो बहानामा मूल नेतृत्वहरूको सुपर इगोले नै बढी काम गरिरहेको छ । जानेर वा नजानेर बन्ने इगोहरू बढ्दै जाँदा पूरै मुक्तिका आन्दोलनहरू छरपष्ट भएका छन् । जति नै स-साना सङ्गठनमा विभाजित भएपनि आफै नै आन्दोलनको मुलधार हांै भन्ने भ्रमबाट जबसम्म नेतृत्वहरू माथि उठ्न सक्दैनन् तबसम्म आन्दोलन र सङ्गठन एकीकृत हुनसक्दैन । एकताविना गरिने कथित् मुलधारको सङ्घर्षले एकात्मकवादीहरूलाई भन्दा पनि कही न कहीँ संघीयवादीहरूलाइ नै नोक्सानी गरिरहेको छ । किनभने, संघीयवादीहरूबीचबाट मुलधार बन्नलाई अर्को संघीयवादी दल वा सङ्गठनलाई होच्याउनुपर्ने हृन्छ । यसले स्वतः द्वन्द्व निम्त्याउँछ र अहिलेसम्म संघीयवादीहरूको अर्न्तर्द्वन्द्व पनि त्यही नै हो ।
एकात्मकवादीहरू विरुद्ध संघीयवादीहरू एक भएर पार्टी सङ्घर्ष गर्नु सबैभन्दा बुद्धिमानी र दूरगामी दुबै हुनेछ । संघीयवादी राजनीतिक दलहरूको अहिलेम्मको चरित्रलाई हेर्दा एक नै भइहाल्ने स्थिति निक्कै न्युन छ । जसको प्रमुख कारण उल्लेखित सङ्गनका नेतृत्वहरूको व्यक्तित्व टकराव नै हो भन्न गलत हुनेछैन । तथापि, एक नहुने र सबै सङ्गठनहरू मिलेर एकीकृत सङ्घर्ष पनि नगर्ने हो भने माथि उल्लेखित कुनै एक संघीयावादी दलले तल उल्लेखित प्रश्नहरूको उत्तर दिएर अघि बढ्न सक्नुपर्दछ । यी प्रश्नहरूको राजनीतिक र व्यवाहारिक समाधान दिन सक्यो भने त्यही दल नै एकात्मकावादी दलसँग पार्टी राजनीतिक फाइनल खेलाडी बन्नेछ । त्यतिमात्र नभएर त्यही नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकल्पको राजनीतिक शक्ति पनि बन्ने छ ।
१. संघीयवादी राजनीतिक बृत्तमा यो सङ्गठन नै मूलधार हो भन्ने ठोस योजना कार्यक्रम र त्यस अनुसारको नेतृत्व दिन सक्नुपर्दछ । जुन नेतृत्वलाई अन्य संघीयवादी सङ्गठनहरूले स्वीकार गराउन सक्नुपर्दछ । र, बाँकीले सङ्गठनले स्वीकार्ने वातावरणको निर्माण गर्नसक्नुपर्दछ ।
२. तीन ठूला दल एमाले, कांग्रेस र माओवादी जातीय संघीयताको विरुद्धमा आन्तरिक सहमति गरेर अघि बढिरहेको अवस्थामा जातीय संघीयता गणतन्त्र र धर्मनिरपेक्षता रक्षाका लागि बस्तुगत ठोस योजनासहित संघीयवादी शक्तिहरूलाई एक ठाँउमा ल्याउन सक्ने बस्तुगत योजनासहितको रणनीतिक, कार्यनीति, कार्यदिशा र कार्यक्रम बनाउन र कार्यान्वयन गर्न सक्नुपर्दछ ।
३. आन्तररिक सङ्गठनको विस्तार सशक्त रुपमा अघि बढाउनु सक्नुपर्दछ ताकि जसले माओवादी काँग्रेस र एमालेसँग सबैखाले राजनीतिक प्रतिस्पर्धा गर्न सकोस र अन्य संघीयवादी सङ्गठनहरू त्यही सङ्गठनमा समेटिन विश्वस्त वा बाध्यात्मक स्थिथि बन्न सकोस ।
४. जनमानसबाट निरन्तर रुपमा उठ्दै आएको एकताको अनुत्ततरित प्रश्नको एकता अभियान मार्फ् सकारात्मक उत्तर दिँदै साङ्गठनिक जन जवाफदेहिता दिनसक्नुपर्दछ । मुल लक्ष प्राप्तिका लागि तत्कालीन प्राविधिक कुराहरूमा सङ्गठन वा त्यसका मुल नेतृत्वहरू अधिकतम लचकता देखाउन सक्नुपर्दछ ।
५. आन्तरिक र वाहिय शक्ति केन्द्रहरूसंग राजनीतिक सम्बन्ध स्थापित गर्दै जातीय संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका लागि सकारात्मक र्समर्थन जुटाउन सक्नर्ुपर्दछ ।
६. खास गरेर नेतृत्व पंक्तिमा देखिएको व्यक्तित्व टकरावलाई विश्वसनीय सामुहिक नृत्वमा रुपान्तरण र व्यवस्थापन गर्न सक्नुपर्दछ । साथै, नेतृत्वका साहयकहरूमा भएका आफूकेन्द्रित राजनीतिक चरित्र, नेतृत्वलाई आफ्नो स्वार्थका लागि गलत सल्लाह वा रिपोटिङ गर्ने खराव चरित्रबाट बाहिर आउनु सक्नुपर्दछ ।
अन्त्यमा, उल्लेखित ती तयारीहरूले पार्टी एकात्मक विरुद्धको संघीयवादी आन्दोलनका लागि तीन अनिवार्य पूर्वाधारहरूको वातावरण तयार गर्नेछ । पहिलो, एकता वा संघीयवादीहरूवीच हुने स्थायी मोर्चाबन्दीले निरन्तर रुपमा रहँदै आएको एकताको अनुत्तरित प्रश्नको उत्तरमात्र दिने छैन विजयको उत्साह र विश्वासकासाथ जनता आन्दोलित हुने वातावरण निर्माण हुनेछ । दोस्रो, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका लागि बुद्धिजिबी, नगरिक समाज, आमसञ्चारकर्मी र मानवअधिकारकर्मी लगायतहरूले नबुझेर वा बुझपचाएर बिरोध गरिरहेका छन् त्यसलाई न्युनीकरण गर्न जरुरी छ । यो अभ्यासले त्यसले ती पक्षलाई आन्दोलित नै गर्न नसके पनि विरोधी गतिविधिलाई न्यूनीकरण गर्नेछ । तेस्रो, पार्टी आन्दोलनका लागि वर्तमान विश्वग्राम अर्न्तर्सम्बन्धबाट स्थापित दुईपक्षबीचको सहयोग वा र्समर्थनलाई कुटनीतिक रुपमा स्थापित गर्न सकिनेछ । सिद्धान्ततः जातीय संघीयतामा थुपै्र प्रश्नहरू रहेकाले मुक्तिका ती मुद्दाहरूमा देशभित्र र अन्तर्राष्ट्रिय समर्थन जुटाउन जरुरी छ । यी तीन आधारभुरुत र अनिवार्य पक्षहरूलाई मिलाउन सके एकात्मकवाद विरुद्ध संघीयवादी सङ्घर्षको विजय अवश्यम्भावी छ ।
Email: makhims@gmail.com
तस्वीरः एक आदिवासी व्यासी सौका महिला आफ्नो साँस्कृतिक नृत्यमा
मूल स्रोतः संघीय मासिक वर्ष६/७, पूर्णाङ्क ७, पुस-माघ २०६७
No comments:
Post a Comment