विश्वासदीप तिगेला
जुन देशका नागरिकहरु कानुनको नजरमा, अधिकार उपभोगको आधारमा समान रहेको महशुस गर्दछन् उनीहरु कानुनी र ब्यवहारिक रुपबाट देश साझा भएको अनुभूति गर्दछन् । जब नागरिकहरुले आफ्नो राष्ट्र सन्तुलित र मजबुत भएको महशुस गर्दछन् तब जनता र सिङ्गो देश निरन्तर उन्नतितर्फ लम्किएका शास्वत उदाहरणहरु छन् । सन्तुलित राष्ट्र र समृद्धिले गर्दा आधुनिक विकास र प्रविधि संगै देशदेशको सिमाना तोडिएर विश्व एकै गाँउ बनिसकेको अघोषित अवस्था छ तर बिडम्बना हाम्रो देशमा देश कसरी बनाऔं भन्ने चिन्ता होइन देश बनाऔं भन्ने व्यक्ति वा समूहको चाहिँ कसरी खुट्टा तान्ने भन्ने विमर्श हुनेगर्दछ । यो निश्चय नै शुभ सङ्केत होइन । हिजोआज भूत राजतन्त्र र अत्यन्तै नीच सोचले एकल धार्मिक अतिवाद सल्बलाउने दुस्साहस गरेको देखिन्छ । यो सबैको लागि खेदजनक र लज्जाजनक अवस्था हो । त्यसैले हुनुपर्छ इतिहासका ती विखण्डनकारी विभेदकारी राजाहरुको कुरा गर्न सचेतवर्गलाई इच्छा नलागेको ।नेपालको सन्दर्भमा अब मै खाउ, मै लाऊँ, मै गरुँ मोजमस्तिु भन्दै आफ्नै मात्र हालीमुहाली चाहने एकात्मक सोच बोक्ने, कुनै पनि व्यक्ति, धार्मिक मोर्चा, राजनीतिक पार्टी, समूह सुरक्षित छैनन र हिजो जस्तो कसैलाई दमन गर्नसक्ने अवस्था पनि छैन । हामी सबै समान हुनुपर्छ भन्ने सोचनै सबैको कल्याणको सही बाटो हो । सबैको भलो चिताएर अगाडि बढ्न सकियो भने स-साना अविश्वास असन्तोष र आक्रोशका कुराहरु पनि स्वतः गौण बनेर जानॆछन् । स्वतः हिङ्सापूर्ण आन्दोलनमा कमी आउँनेछ, बन्द हुनेछन् । यदि आफ्नो र आफ्नो समुदायको लागि मात्र सोच्यौ भने देशलाई अगाडि जान त दिदैनौ नै आखिर आफै पनि अगाडि बढ्न सक्दैनौं । अनि कसलाई फाइदा होला ? संसारमा देश सम्पन्न हुनुजस्तो ठूलो अरु केही नहुदो रहेछ । गरिब देशको अर्बौपतिलाई भन्दा सम्पन्न देशको गरिब व्यक्तिलाई देशविदेशमा सम्मान गरेको हामीले देख्यौं । त्यसैलॆ देश विकास हुनको लागि अरुको नजरमा देशको अवस्था विश्वासयोग्य हुनुपर्दो रहेछ । देशमा स्वतन्त्रता, मानव अधिकार, धर्मनिरपेक्षता र संघीयता भएको खण्डमा सबैलाई बराबर अधिकार र सम्मान पुग्नेरहेछ । त्यसबेला कसले पुनः विरोध, अवरोध र आन्दोलन गर्ने तब हाम्रो व्यापार, व्यवसाय फस्टाउने मात्र होइन देश र देशको अवस्थाप्रति विश्वास गरेर विदेशी लगानीहरु स्वतः आउनेछन् l अन्तर्राष्ट्रले विश्वास गर्नेछन् । कमजोर भएको बेला आफ्नै छाँयादेखि तर्सिने अवस्था आउने छैन । संघीयता भनेको निश्चित क्षेत्र, इलाकाको विकास र हेरचारको लागि कामको जिम्मेवारी लिनुरहेछ । त्यसोभए सबैले आ-आफ्नो क्षेत्रको जिम्मा लिएर अहिलेको गाँठो खोले हुन्न ? दशवर्षे जनयुद्धको कारण र संचारको दु्रतत्तर विकासले प्रत्येक नेपाली अहिले सचेत र राजनीतिक रुपबाट दीक्षित छन् । शिक्षाको र अनुभवको कारणले अब कसैले अगाडि आएर केही बोल्दैमा पत्याउने अवस्था छैन । बरु बोल्ने आफैलाई जनताले नीच वा उच्च विचारका के हुन् भनेर मूल्याङ्कन गर्दछन् । अवस्था पूरै बदलिएको छ ।हिजोका तत्कालीन राजाले आफूलाई सित्तैमा पटकपटक मन्त्री बनाइदिए वापत नुनको सोझो गर्न, गुण तिर्न कमल थापाहरु राजाको कुरा गरी टोपलेका छन् । तर थापाहरु पनि राम्रा व्यक्तिहरु नै हुन् । उनीहरु यही देशको भलो चाहन्छन् र भित्रि मनबाट राजा चाहने कदापी होइनन् । किनकि यो शताब्दीमा पनि राजाको कुरा गर्नु मानव सभ्यताको कुरा गर्दै ओढारमा बास बस्नु जानु हो । अहिले एकाध व्यक्तिहरु हिन्दू राजतन्त्रको वकालत गर्ने हिम्मत गरिरहेका छन् र तिनीहरु आफैलाई भित्रि मनबाट असजिलो महशुस हुँदै आएको छ । आफ्नो विचार राख्न पाउने स्वतन्त्रता जो कसैलाई छ । यो माटो, यो धर्ति र यो आकाश सबैको हो । यहाँ सज्जन हुने र बहुलाउन पाउने अधिकार पनि जो कसैलाई छ । साथै विरोध र समर्थन गर्न पाउने अधिकार पनि जो कसैलाई छ । तर रमाइलो पक्ष के छ भने नेपालका अधिकांश नेताहरु साधारण नागरिक जतिपनि राजनीतिक रुपबाट दीक्षित छैनन् । उनीहरु विरोध मात्र गर्छन् स्थायी समाधान के हो सोच्दैनन् ।अहिले देखिएको नेपालको समस्या बोल्दा र भन्दा जनसेना, संघीयता, सरकारको नेतृत्व कसले गर्ने आदि भनिए पनि यसको चुरो कुरा भारतीय हिन्दूवादीहरुले नेपाल माथि खेल्न खोज्नु हो । अर्को कुरा सबैलाई जानकारी भएको के पनि हो भने अस्वस्थ र असन्तुलित जातीयताको राजनीतिले मुलुकमा कलह निम्त्याउँन सक्छ । त्यसैले कलहको डरले आँखा चिम्लनु भन्दा स्वस्थ बहस, ब्यापक छलफल र सहमतिले सधैँको लागि स्थायी निष्कर्ष निकाल्नु बुद्धिमता ठहर्छ । हामी सबैको कोसिस यही हुनुपर्दछ । यदि नेपालमा धेरै धर्म, संस्कार, संस्कृति बोकेका जातिहरु नभएका भए वा उनीहरु आजसम्म शोषित नहुँदो हो र नेपालको स्थायी सरकार र राजनीतिक सरकारमा एकछत्र एकजातिको हालीमुहाली नभएको भए, केन्द्रीकृत शासनको शोषण नभएको भए र क्षेत्रहरुलाई उपेक्षा नगरिएको भए सम्भवत संघीयताको विषय गौण बन्न सक्दथ्यो तर त्यो भएन । त्यसैले अहिलेको प्रमुख आवश्यकता एकात्मकबादी जंजीर तोड्नु हो । यो एकात्मकवादी जंजीरलाई तोड्न र विकास विकेन्द्रिकृत गर्नको लागि संघीयता मात्र एउटा अचुक र सबैलाई सम्मान हुने उपाय हो । सिकाउने र सिक्नेमा सधै सिकाउने, देखाउने अग्रस्थानमा प्रायः रहेको हुन्छ । नेपालका शासक वर्ग स्वयंमलाई समृद्ध नेपाल बनाउने ईच्छा नहुने कुरै भएन र उनीहरुलाई राम्ररी थाह छ कि – देश धर्मनिरपेक्ष, संघीय नभई त्यो सम्भव छैन । त्यसैले पनि यी दुई विषयमा आम सहमति जुटेको हो । अहिले संघीयताको विरोध गर्नु भनेको आफ्नो वा पार्टीको छुट्टै पहिचानको लागि मात्र गरेको बेमौसमी खेती मात्र हो ।संघीयताको विरोधीहरु समृद्ध नेपाल र ठूलो पार्टीको चाहना राख्ने नभई सानो र आफ्नै स्वार्थको लागि काम गर्दै गरेको अवस्था हो । मिडियामा आफ्नो नाम ल्याउन अमेरिकामा एकव्यक्ति बस्त्रविहीन भई नाङ्गै शहर घुमेजस्तै अहिले संघीयता विरोधी चित्रबहादुर के.सी. र उनका आसेपासेहरु नाङ्गै घुमिरहेका हुन् । चित्रबहादुरहरुलाई के थाहा हुनुपर्छ भने एकात्मक शासनमा चित्रबहादुरको भाइभतिजा मात्र देशका महत्वपूर्ण ठाँउहरुमा रहँदा भन्दा समृद्ध नेपालमा केही चित्रबहादुरका भाइभतिजा र केही अन्यहरुको भाइभतिजा मिलेर महत्वपूर्ण ठाउँमा काम गर्दा धेरैगुणा असल र सफल हुनेछ भन्ने जानकारी हुनुपर्दछ ।कुनै निमुखा व्यक्तिलाई बिना कसुर बेस्सरी पिट्यो त्यसपछि झगडा गर्नुहुँदैन भनेर त्यही पिट्ने व्यक्तिले पिटाई खानेलाई सम्झाएको अवस्था छ । यस्तो स्थितिमा पिट्नेलाई कार्वाही गर्दै पिटाई खानेलाई क्षतिपूर्ति दिलाएर झगडा गर्नु हुँदैन भन्नुपर्नेमा पहिला पिट्यो त्यसपछि एकतर्फि पिट्नेले नै निमुखालाई झगडा गर्नु हुदैन तँ बदमास हो भन्नु कति सान्दर्भिक हो ? अझ पिटाई खानेले बद्ला होइन जे भयो भइहाल्यो अब मिलेर बराबर अगाडि जाउ भनेको अवस्था जस्तै हो अहिलेको नेपालका आदिवासी जनजातिहरुको सशक्त आवाज र दवाब । त्यस्तै भत्किएकको मोटर बाटो मर्मत नै नगरी त्यही बाटोमा गाडी गुडाऔं भन्ने चित्रबहादुरहरुको आग्रह हो । उनीहरुलाई थाहा हुनुपर्छ, भत्किएको बाटोमा प्रथमतः गाडी गुड्नै सक्दैन र गुडिहाले पनि एकदिन अवश्य दुर्घट्ना हुन्छ भन्ने । त्यसैले अहिलेको आवश्यकता भनेको भत्किएको बाटो बलियो बनाऔं र कहिल्यै दुर्घट्ना नहोस् भन्ने हो । केही जनजाति उल्लुहरु अज्ञानताको कारणले वा स्वार्थको लागि क्षतिपूर्तिको त के कुरा बेस्सरी पिटिएका कुरा समेत बिर्सिएका छन् जसलाई चित्रबहादुरहरुले हतियार बनाई प्रयोग गर्न शुरुगरेका छन् । फगत स्वार्थका लागि ती हतियार बन्नेहरु आफ्नै समाजमा सर्वाधिक बहिष्कृत बन्दै गएका छन् ।चित्रबहादुरहरुलाई अर्को के कुरा पनि जानकारी हुनुपर्दछ भने, कुनै जाति, धर्मले कसैलाई शोषण नगरेको अवस्थामा अर्थात् सबै जाति, धर्म, संस्कार, संस्कृति समान रहेको अवस्थामा जातीयता र धर्मको कुरा गर्नु मुर्खता हुन्छ किनकि त्यसबेला सहिष्णुता र सहअस्तित्वको कुरा हुन्छ । तर नेपालको अवस्था भनेको त्यो छैन l यहाँ त एक जातिले अर्को जातिलाई चरम शोषण गरेको अवस्था छ । एक धर्मले अर्को धर्मलाई शोषण र अपमान गरेको अवस्था छ l सिङ्गो राज्य एक जाति र धर्म विशेषले चलाएको अवस्था छ । यहाँ त चरम शोषित वर्ग र जातिलाई क्षतिपूर्ति दिनुपर्ने अवस्था छ । चित्रबहादुर र उनका समुदायले लौ अब सबैलाई समान हुने सहअस्तित्वको वातावरण बनाऔं । युगौंयुगका लागि सन्तुलित र सहिष्णु समाज निर्माण गरौं भन्नुपर्नेमा उही एकात्मक कुरागर्नु असह्य कुरा हो । चित्रबहादुरको आह्वानले के बुझिन्छ भने यस देशका आदिवासी, जनजाति, खस क्षेत्री, लगायतका जातिहरु सधैँभरि उनैको भरिया हुनुपर्ने । देशको शासन सत्ता सधैँ उसैको मात्र पेवा हुनुपर्ने बुझिन्छ । यो कदापी स्वीकारयोग्य र पाच्य हुन सक्दैन ।चित्रबहादुरहरुलाई स्पष्ट एउटा प्रस्ताव छ – आउँदो ५ वर्ष भित्र नेपाललाई सबैको साझा बनाऔ, कुनै जाति, धर्म, सम्प्रदाय कोही पनि शोषणमा नपरेको अवस्था बनाऔ । राज्यको प्रत्येक तहको सेवा र अवसरमा समान सहभागिता रहेको अवस्था सिर्जना गरौं । हो त्यसबेला त्यो अवस्थामा हामी आदिवासी, जनजातिहरु चित्रबहादुरले भनेको शर्त मान्न तयार छौं । तर यदि होइन र षडयन्त्रपूर्वक यसरी नै अघि बढ्छन् भने चित्रबहादुरहरु रहन्छन्- रहदैनन् थाहा हुन्न । किनकि आत्मस्वभिमान फगत बाँच्नुभन्दा कैयौ गुणा ठूलो कुरा हो । आज किन मान्छेहरु आत्माघाति बनेका छन् l यही हो यसको सही उदाहरण ।यहाँ कसैद्वारा पनि कसैको अधिकार र अवसर खोस्ने कुरा भएको छैन । सिर्फ अधिकार र अवसर प्राप्त नगरेकाले माग गरेका हुन् । अधिकार र अवसर प्राप्त नगरेकाले माग गर्दा यसको सही मूल्याङ्कन गरी समर्थन र समाधानतर्फ लाग्नुपर्नेमा जबरजस्त पेलेर अगाडि बढ्ने दुस्प्रयास हुँदैछ यो सर्वथा गलत बाटो हो । प्रथमतः जबरजस्त अगाडि बढ्ने अवस्था छैन । यदि बढि हालेमा पनि जेनतेन केहीक्षणको लागि मात्र हुनेछ । त्यसपछि दोहोरो क्षतिपूर्ति दिँदा वा पीडित स्वयम्ले लिँदा कस्तो होला अड्काउने र भत्काउने काम हामी जो कसैले पनि गर्न सक्छौ तर अहिलेको अवस्थामा त्यो खेलको आवश्यकता छैन । यस्तो अड्काई र भत्काइले संसारको सामु देश पछाडि पर्नेछ र चित्रबहादुरहरु पनि पछाडि नै रहनेछन् । त्योभन्दा उत्तम कार्य भनेको सबैको सह-अस्तित्वलाई स्वीकार गर्दै संघीयता र धर्मनिरपेक्षताको बाटोमा अघि बढ्नु हो । जब देश समृद्ध र धनी हुन्छ तब देशको पहिचान र अस्तित्व अन्तर्राष्ट्र सम्म पुग्दछ । त्यसैले अहिले समयमै संघीयतालाई आत्मसात गर्नसके त्यसबेला चित्रबहादुर पनि देशको मात्र होइन अन्तर्राष्ट्रको समेत नेता हुनेछन् नत्र चित्रबहादुरहरु देश विकास र प्रगतिको लागि बाधक, ऐजेरु रोग मात्र हुनेछन् ।चित्रबहादुरहरुलाई दोस्रो प्रस्ताव छ – विगतमा प्रशासनिक काममा प्रभावकारिता आओस् भन्ने उद्देश्यले अंचल र विकास क्षेत्रको अवधारणा आएको हो र हामीले देख्यौ त्यसको काम र परिणाम दुबै । अंचल र विकास क्षेत्रको असफलता मात्र होइन, भूमिका नै शून्य रह्यो । त्यसको प्रमुख कारण हो – एउटाको सम्पत्तिमा अर्कै व्यक्तिलाई मालिक बनाएर पठाउनु । अर्काको सम्पत्तिमा मालिक बनेकालाई त्यो सम्पत्ति प्रति के को माया र दायित्वबोध होस् त त्यसैले विभिन्न आधारहरु मध्ये जातीयताको आधारमा संघीयता बनाउने प्रस्ताव आएको हो । कुखुराको बथानलाई कुखुराले नै माया गर्छ चीलले कुखुराको बथानको माया गर्नसक्दैन । त्यसैले तपाइँ चित्रबहादुरहरुले संघीयताको विरोध गरेर जनतालाई भ्रम् सिर्जना गर्नखोज्नु राजनीतिक हिसाब आफ्नो ठाँउमा होला तर भगवानको नजरमा पनि तपाइँहरु गलत हुनुहुन्छ । भन्नुहोस् न देश सबैको साझा हुँदा र समृद्ध हुँदा कसलाई चाहिँ घाटा हुन्छ ? त्यो घाटा छिमेकी भारत र यहीका भ्रष्टचारी वर्गलाई हुन्छ भन्नुहोला तर उनीहरुलाई पनि नेपाल समृद्ध हुँदा फाइदै हुन्छ भने तपाइँ चित्रबहादुरहरुलाई चाहिँ किन यत्रो टाउको दुखाई ?छिमेकी मुलुक भारतमा तमिल जातिको बाहूल्य भूमिलाई तमिलनाडु, नागा जातिको बाहूल्य भूमिलाई नागाल्याण्ड, पंजावीहरुको राज्य पंजाब, बंगलाहरुको बाहूल्य भूमिलाई पश्चिम बंगाल र अर्को छिमेकी मुलुक चिनमा हेनान जातिको बाहूल्य भूमि हेनान राज्य, मंगोलियन जातिको बाहूल्य भूमिलाई इनर मंगोलिया र युनान जातिको बाहूल्य भूमिलाई युनान राज्य लगायत राज्यहरुको नाम रहेका छन् त्यस्तैगरि बेलायतमा स्कटिस जातिको बाहूल्यता रहेको राज्यको नाम स्कटल्याण्ड, आइरिस जातिको बाहूल्य क्षेत्र नोर्दन आयरल्याड रहेको छ । यसरी राज्यहरुको नामाकरण जातिको आधारमा गर्ने चलन विश्वमै अतिलोकप्रिय रहेको छ । केन्याको एउटा सानो जिल्लामा साम्बुरु जातिको बाहूल्यता छ र त्यस जिल्लाको नाम साम्बुरु जिल्ला भनिन्छ । इंगलिस भाषा बोल्नेको बाहूल्य रहेको बेलायतको एउटा इलाकालाई इंगल्याण्ड राज्य नामाकरण गरिएको छ त्यसैले जातिको नामबाट र भाषागत आधारमा राज्यको नाम राख्ने अन्र्तराष्ट्रिय प्रचलन नै हो भने सबै राज्यलाई समान अधिकार हुनेगरि खसान, लिम्बुवान, खम्बुवान, तामाङसालिङ, तमुवान, मगरात, मैथिली र थारुवान आदी प्रस्तावित राज्यको नाममा स्वीकृति जनाउन किन कन्जुसियाई गर्ने । आखिर यावत प्रयास विकास र प्रगतिको लागि नै हुन ।एउटा गजबको संयोग भनौ सन् १७७६ मा अमेरिका सङ्घिय (Federal System) प्रणालीमा गयो र अहिले विश्व कै सर्बशक्तिमान राज्य बनेको छ भने ठिक त्यसै दशक सन् १७६८ मा नेपालका त्यसबेलाका लगभग संङ्घिय मोडलका राज्यहरुलाई खत्तम गरेर एकात्मक राज्य (Unitary System) प्रणालीमा प्रवेश गर्यो र अन्तत अहिले विश्व कै असफल राज्य बनेको छ । त्यसैले अहिले पनि हाम्रोसामु दुईवटा स्पष्ट बाटो छ -पहिलो हो देश समुन्नत बनाउन संघीयता र धर्म निरपेक्षतालाई संस्थागत गर्दै नेपालको विविधतालाई सन्तुलनमा राखेर विना अड्चन विकास र प्रगतिमा जानु । दोस्रो हो- छिमेकी धर्मभिरुहरुको आशीर्वादले एकल हैकमवादलाई निरन्तरता दिनु जसले अझ केहीवर्ष हत्या हिङ्सालाई जारि राख्दै मुट्ठिभरका व्यक्तिलाई हालीमुहाली बहाली राखिदिनु । यो कर्म, देश र जनताको लागि अत्यन्तै घातक छ । अफ्रिकी मुलुक सुडान संघियतामा नजांदा चलेको गृहयुद्धमा लाखौ जनताको ज्यान मात्र गएन त्यहा सम्पन्न हालैको निर्वाचनवाट विभाजित हुने निश्चित भएको छ । त्यसैले देशलाई सन्तुलित, समृद्ध तथा अखण्ड राख्न पनि अव संघियतालाई संस्थागत गर्नु एकमात्र अचुक उपाय हो ।त्यसैले आउँदो एक दशक संघीयतामा गई आ-आफ्नो ठाउँका मुख्य जातिलाई सोही ठाउँको गोठाले बनाई हेरौं । एकात्मक शासन त हामीले झण्डै शताब्दी नै अभ्यास गरेका छौं । त्यसैले अब यो साइतमा संघीयताको अभ्यास गरौं । राजनीतिक पार्टी, जाति, धर्म, सम्प्रदाय भन्दा माथि उठेर समग्र नेपालको विकास र प्रगतिको लागि काम गरौ । यसरी सम्पन्न नेपालको परिकल्पना गर्दै अघि बढौं, एकदिन अवश्य लक्ष्यमा पुगिनेछ ।biswasdip@ymail.com
No comments:
Post a Comment