Oct 5, 2011

तीज र आदिवासी महिलाहरु

दिल पालुङवा लिम्वु"नेपालकुश्शा"

तीजको परिचय
तीजलाई हरितालिका पनि भनिन्छ । भदौतिर पर्ने यो चाड हिन्दू महिलाहरुको मौलिक चाड हो । यो चाड आदिवासी जनजातिहरुको होईन । यो चाडमा वाहुन क्षेत्री महिलाहरु माईत जाने गर्दछन् । अनि विषेश गरेर रातीको समयमा टन्न हुने गरी खान्छन् । यस वेला विषेश परिकार दर खाईन्छ । भोलिपल्ट केही नखाई वर्त वसिन्छ । त्यसवेला महिलाहरु जम्मा भएर तीज गीत गाउने र नाचगान गर्ने गर्दछन् । वल्लवल्ल असारे कामको चटारो सकिएर थकान पनि मेटन पाएकोमा उनीहरु अति प्रफूल्लित हुन्छन् ।

सामाजिक चालचलन
वाहुन क्षेत्रीको सामाजिक चालचलन पनि अन्य समुदायको भन्दा केही फरक छ । महिलाको स्थान यो समुदायमा अपहेलित पाईन्छ । परिवारमा विभेद हुन्छ । त्यसमा पनि महिलाहरु वढी विभेदमा पर्दछन् । महिलमा पनि वुहारीहरु वढि विभेदमा पर्दछन् । उनिहरु कहिल्यै पनि राम्रो खान पाउदैनन् । स्वतन्त्र काम गर्न पाउदैनन् । मेलावजार जान पाउदैनन् । जुठो पुरो उनीहरुले खानु पर्दछ ।खाना खादा जहिले पनि श्रीमानले श्रीमतीलाई खाएको थालमा सानो भातको डल्ला राखिदिन्छन् । त्यही जुठो थालमा भातखाने गर्दछन् । भात पनि अघाउँजी खान पाउदैनन् । भात पनि मिठो जति ससुरा सासु र छोराहरुले खान्छन् । वुहारीलाई नमिठो दिईन्छ । त्यस्तै राती सुत्ने वेलामा श्रीमानको खुट्टा मालिस गरिदिनु पर्दछ । खुट्टा धोएर पानी खानु पर्दछ । मन खिन्न भएता पनि आफ्नो चलन सम्झेर खुसी नै हुन्छन् । वुहारीको घरमा आंत खोलेर धित मरुञ्जेल वोल्न पाउदैनन् । अझ मेलावजार जाने त कुरै नगरौं । उनीहरु प्रेमविवाह गर्न सक्दैनन् । समाजले मान्दैन । तर आजकल यो वन्धन नव पुस्ताहरुले तोड्दैछन् । यसरी महिलाहरुको स्थिती भयावह छ । तव उनीहरु तीजमा माईत गएर मनाउदा अति खुसी हुन्छन् । वर्षा एक पटक मिठो मसिनो खान पाउछन् । तसर्थ टन्न हुन्छन् । तर यो चाडको पनि मौलिकता हराउदै गएकोमा उनीहरु चिन्तित छन् । अर्कोतिर यसको गीतहरुमा परिवर्तन व्यापक भएको छ । चालचलनमा पनि परिवर्तन हुदैछ ।
उनीहरुको अर्को चलन अनुसार रजस्वला अर्थात मीन्स भएको वेला घर परिवारवाट अलग्गै रहनु पर्दछ । उनीहरुले कसैलाई छुन पनि हुदैन । खानापानी छुन हुदैन । गाईलाई पनि छुन हुदैन । छुंदा अशुद्ध मानिन्छ । त्यसैले यो समयलाई नछुने भएको भन्ने चलन चलेको हो ।

आदिवासी महिलाहरु
वाहुन क्षेत्री महिलाहरुको जस्तो स्थिती आदिवासी जनजाति महिलाहरुमा पाईदैन । उनीहरुलाई कुनै विभेद हुदैन । श्रीमानको खुटटा धोएर पानीखानु पर्दैन । उनीहरु जे गर्न पनि स्वतन्त्र छन् । मेलावजार जहां जानपनि छुट छ । खाने कुरा अर्थात भान्सामा विभेद पाईदैन । मीन्स भएको वेलामा अरुलाई थाहा पनि हुदैन । त्यो वेला सदाझैं समानता नै हुन्छ ।
पहिले आदिवासी जनजातिका महिलाहरु तीजमा सहभागिता जनाउदैनथे । तर अचेल व्यापक मात्रामा सहभागिता जनाउदैछन् । तीजको दर भन्ने उनीहरुलाई थाहा छैन । तर उनीहरु रक्सीको चुस्कीको पार्टी
लिन्छन् । अचम्म हङकङमा पनि जनजाति महिला विषेश गरेर मगर गुरुङहरुले व्यापक तीज मनाए । मन लाग्नेले मनाउन पाउछ तर जनजातिको चाड तीज होईन । यो हिन्दुहरुको हो । वाहुन क्षेत्रीको हो । हामीलाई यस्तै चार्डपर्वहरुले पछि पारेको भन्दछन् । तर तिनै जनजाति अगुवाहरु नै आफ्नो कुरो विर्सेर मनाउदा कति हास्यस्पद देखिन्छ । जनजाति महासंघ पनि उस्तै आफै हिन्दू धर्म संस्कारले गर्दा पछि पारिएको वताउछन् । तर तीज मनाउछन् । त्यस्तैलाई वर्षचेली आदिले पनि सम्मान गरिन्छ । आफ्नो मौलिकता, पहिचान थाहा नहुनेहरुले के हिन्दुवादको विरोध गर्नु । के संस्था चलाई रहनु ।आफ्नो मौलिकतामा रमाउनेहरु माथि किन खेलवाड गर्ने । अर्थात हिन्दुहरु पनि नेपाली नै हुन् । उनीहरुको कारण भन्दा हामी आफ्नै कारणले पछि परेको भनेर स्वीकार्नु पर्यो । नत्र खुरुक्क नैतिकतकाको आधारमा राजिनामा दिएर स्वतन्त्र भएर वस्दा हुन्छ ।

दुइचार कुराहरु
वास्तवमा जनजाति महिलाहरुले कुरा चाही नवुझे कै हुन । त्यसमा पनि गुरुङ र मगर जातिहरु पहिले देखिनै सामान्यत आफ्नो मौलिक चाडमा आँच आएका जातिहरु भएकोले उनीहरु पहिले पनि तीज मनाउथे । यही क्रम जारी हुदा अहिले व्यापकता भएको हो । तर अहिले आफ्नो धर्म संस्कारको पहिचान भईसके पछि त्यतापट्टी लाग्नुपर्ने हो । त्यो चाही हुन सकेको छैन ।
वि.सं.१८३१ तिर पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दू राष्ट्र वनाउछु भनेर अभियान थालेका थिए । त्यसैले आफ्नै धर्म संस्कृति परम्परा हुने आदिवासी जनजातिहरुलाई दशैं मान्न लगाए । दशैं हाम्रो चाड होईन भनेर नमान्ने आठपहरिया र्राई रिदामा र राम्लीहाङ मारिएको थियो । पश्चिममा केही गुरुङ मगरहरुलाई पनि मारियो । वाहुन पण्डित सवै आदिवासीहरुलाई अनिवार्य चलाउन लगाए । सत्यनारायणको पुजा अनिवार्य जस्तो थियो । समय क्रममा यही हिन्दूवादीहरुले आफ्नो भाषामा त के उनीहरु कै खस पर्वते भाषामा पनि पढ्न दिएनन् । तसर्थ आदिवासीहरुको भाषा लोप भएर गयो । लोप हुन नसक्नेको विकास भएन । शिक्षाको ज्योति नपाए पछि मानिस स्वभावैले स्वांठे मुर्ख हुन्छ । आदिवासीहरुलाई पनि असभ्य भने । यसरी यीनीहरुले हेपे, नराम्रो वचनले वोलाए । सहनु पर्यो । यीनीहरु भर्खरै भारततिरवाट मुसलमानको आक्रमण खप्न नसकि नेपाल आएका थिए । विस्तारै षड्यन्त्र गर्दै आफ्नै अन्नदाता त्यहींको रैथाने आदिवासीहरुलाई आफ्नै भूमिमा कैद गर्न सफल भए ।
यसर्थ यस्तो दर्दनाक परिस्थितीवाट गुज्रेर आएको इतिहास भुलेर आज उनै दमनकारी संस्कारलाई मान्नु जनजाति महिलाहरुको तरिका के हो ? स्वतन्त्र हुँदाहुदै दासी वन्न किन चाहेको हो ? वरु आफ्नै संस्कार संस्कृतिमा रमाउन सिक्नु पर्दछ । फलाउनु फुलाउनु पर्छ । उनीहरुको संस्कारलाई सम्मान गर्दै जानु पर्दछ । विडम्वना चाही के भयो भने आफ्नो चाही ध्यान नदिने अरुको मात्रै ध्यान दिएर प्रमोट गर्ने वानी छोड्नु पर्दछ ।
साथै हङकङ सरकारवाट तीजको नाममा वजेट ल्याउने काम संघ संस्थाले गरेर धार्मिक व्देष रोप्नु राम्रो होईन । यसको विरोध भविष्यमा हुनेछ । यदी नेपालीको लागि वजेट ल्याउने हो भने जाति विषेशकोमा नल्याई सामुदाय विषेशमा ल्याउनु पर्दछ । यसकोलागि सम्वन्धित सवैले ध्यान पुर्याउन जरुरी छ । सेवारो ।

Oct 4, 2011

किरात जाति, दशैं चाड र यथार्थता

मन्जुल याक्थुम्बा
कैरात देशले परिचित नेपालमा आर्यहरूको आगमन अगाडि देशभरि नै र किरात प्रदेशभरि चाहिँ (साङ्गापूर्व, मेचीपश्चिम) शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो। भारतबाट प्रबेश गर्दा आफू सँगै भित्र्याइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ पशुपक्षीहरूको बध गरेर अविर, दही, चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म मनाउने गर्छन् भने यस चाडको उत्पत्ति भएको देश भारतमा चाहिँ त्यस्तो रक्तपातपूर्ण कार्य नगरी दुर्गाको मूर्ति बनाई सात्विक पूजा अर्चना गरिन्छ। जुनसुकै विषयमा पनि कुरा प्रष्ट पार्नुपर्दा सप्रमाण उल्लेख गरिदिँदा जनमानसमा भरपर्दो विश्वास हुन्छ। अतः दसैँ भन्ने चाड किरात प्रदेशमा बलात थोपरिएको हो भन्ने कुरा निम्न लिखित ऐतिहासिक एवम् धार्मिक तथ्यले प्रष्ट पारेको छ।
१. ऐतिहासिक तथ्य
क) रणबहादुर शाह र ५२ सुब्बाहरूः
पान्थर क्षेत्र भारत, सिक्किम र तिब्बतको सीमानानजिक परेकाले त्यसताका विदशी सेनाहरूबाट बारम्बार आक्रमण भइरहन्थ्यो। पान्थरका ५२ जना सुब्बाहरू भेला भएर शत्रुहरूको सामना आफैंले गर्नका लागि काठमाडौँ आई राजा रणबहादुर शाहसँग हात हतियार मागे। यङयाङ सुब्बाको नेतृत्वमा आएका ५२ सुब्बाहरूलाई राजा रणबहादुरले पनि ढाल, तरबार, खुँडा, त्रिशूल, नगरा निशान, बन्दुक, कर्नाल, शङ्ख, डमरु, नरसिङ्गा आदिकासाथ दसैँको नवमीमा मौलो थापी बलि पूजा गर्नुपर्ने दसैँया संस्कृति पनि लादी पठाएकाले ती ५२ सुब्बाहरू काठमाडौँबाट फर्केपछि दसैँमा याङरूपको टुँडीखेलमा यङयाङ सुब्बाको मातहतमा ५२ वटा मौलोहरू गाडी सम्पूर्ण हातहतियार र निशान पूजाका साथ नगरा, बाजागाजा बजाएर उत्सव मनाउने चलन बसाए ।
तर, २०२१ सालमा भूमि सुधार लागू भएपछि आफ्नो माटोमाथिको अधिकार एकपक्षीय रूपले हनन् भएको महसुस गरी लिम्बूवान क्षेत्रमा दसैँ मान्नुको औचित्य समाप्त भयो।
ख) रणबहादुर शाहबाट दसैँया कर असुली प्रारम्भः
स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे श्री फागो राय श्री देउ राय के हिङवा खोला सिद्धिपुर वाधा खोला उत्तर तेरा बाजे, जिजुका खायल जमिन खेत प्रजा गाउँ मकुवानी हिन्दूपतिले बक्स्याको रीतिथिति दण्डकण्ड अपुताली चाक चकुई छिनहारी रहता बहता सब अङ्क माफ बक्स्याको रहेछ सो हामी पनि दसैँको भाग सुब्बा पिछे रु ५ साउन्या फागु समेत राज अङ्कबाहेक माफ गरी बक्स्यौँ हाम्रा निमकको सोझो रही आफ्ना थिति जानी भोग्य गर इति सम्बत १९३९ साल माघ वदी ६ रोज शुभम्।
यो लिखतबाट दसैँको भाग सुब्बापिच्छे रु. ५ साउन्या फागु समेत राजअङ्क (राजकीय कर) नयाँ करप्रणाली थपिनुले (किरातहरू) लिम्बूहरू शाहीवंशी राजतन्त्रअगाडि नै दसैँ चाड मान्दैनथे भन्ने कुरा प्रष्टै हुन्छ। दसैँमा सुब्बापिच्छे रु. ५ लगाउनुको तात्पर्य अझ यसरी प्रष्ट हुन्छ, दुर्गाहाङ याक्खाराईको लेखाईबाट गैरहिन्दू प्रदेशका किरात जनसमुदायमा पनि शाही इष्टदेवी दुर्गाको पाठपूजा गराउन नवदुर्गाको महिमा स्तुतियुक्त बडादसैँलाई राष्ट्रव्यापी चाड पर्व तुल्याउने उद्देश्यले यो हिन्दू संस्कृतिलाई राज्यशक्ति लगाएर लादिएको प्रष्ट प्रमाण हुन्छ।
राजा पृथ्वीनारायणका पालादेखि स्थानीय प्रशासनिक एजेन्ट बनाई राखिएका वल्लो र माझ किरातका अमाली, राई, मझया, जिमिदार, तालुकदार, थरी मुखिया आदि र पल्लो किरात प्रदेशका किपटिया लिम्बू सुब्बालाई बडादसैँमा पशुपक्षीको मारहानी दुर्गा पूजा गर्न प्रलोभन सहित वाध्य तुल्याइएका थिए। उनीहरूले दसैँमा आआफ्नो रैतीका घरमा काटिने बोका, खसीका फिलो दसैँ सिसार लिन पाउने र आफूहरूले दुर्गा पूजा गरी दसैँ मानेबापत रैतीबाट जिन्सी वा नगद असुल गरी खान पाउने लालमोहर गरिदिएका थिए। वि. सं. १८७७ सालमा राजा राजेन्द्रले माझ किरातका जिमिदारलाई रैतीहरूबाट बेठी बेगार (रकम वा खेतालाबापत ज्याला नदिई लगाइने काम) सिसार (टाउको वा फिलो) आदि सित्तै खान पाउनेगरी गरिदिएको लालमोहरमा एक ठाउँमा लेखिएको छः गाउँ १ को दसैँया भेडा मार वलकका बोको १ के रूपया १ खाडपूजाको घरही चावल (चामल) माना एकका हिसाबले (अमालीलाई) तिर्नु यस लालमोहरको आधारबाट सामन्ती मनोवृत्तिका राई अमाली र लिम्बूवानका सुब्बाहरूले आआफ्नो सोझा सिधा रैतीहरूबाट यस्ता दसैँया दैदस्तुर जिप्टाएर असुल गरी खाने प्रलोभनमा उनीहरूमाथि दसैँ संस्कार ठगीखाने भाँडोको रूपमा बलपूर्बक लादेर ल्याएको प्रष्ट हुन्छ।
ग) राजेन्द्र विक्रम शाह र दसैँमा
राँगा बोका काट्नै पर्ने टण्टाको अन्त्यः
स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे अरूण पूर्व मेची पश्चिमभर लिम्बुवानका सुब्बा गैह्र जुन ४३ सालदेखि ६१ सालसम्म दसैँमा सुब्बाहरूलाई राँगा काट्नमा ट48टा लागेको थिएन। ६२ सालमा हेमकर्ण थापा सुब्बा भै आउँदा तिमीहरूले राँगा काट्न पर्छ भनी ट48टा लगाउँदा ६२ सालदेखि ट48टा लागिरहेछ अव उप्रान्त हाम्रा सावगाछले राँगा काट्न सक्दैनौँ अघिदेखि चलिआएको हाम्रै थिति चलाइ बक्स्या हामीहरू खुशी छौँ भनी काजी नरसिंह थापामार्फत् हाम्रा हजुरमा जाहेर भयो। तसर्थ अब उप्रान्त अघिदेेखि थुमथुम थिति मोहरबमोजिम लिई दसैँ गरी राँगा काट्नु सुब्बाको घरमा सक हुनेले राँगा बोका काट्नु सक नहुनेले नकाट्नु भनी थिति बाँधी बक्स्यौँ इति सम्बत १८९१ साल मिति बैशाख वदी १४ रोज ४ शुभम्।
वि. सं. १८४३ देखि १८६१ सालसम्म दसैँमा मौलो थापी बोको बलि दिई पूजा गरेमा पनि हुनेमा वि. सं. १८६२ सालमा हेमकर्ण थापा सुब्बा भै लिम्बुवानमा गएपछि दसैँको मौलोमा सुब्बाहरूले राँगा काट्नै पर्ने ट48टा लगाएको कुरा राजेन्द्रविक्रम शाहमा जाहेर हुँदा सक्नेले राँगा बोका काटनु र नसक्नेले नकाटे पनि हुन्छ भनी लिखित प्रमाण पाएपछि मात्र राँगा बोको काट्ने झ48झटबाट सुब्बाहरू मुक्त भए तापनि दसैँया शोषण चाहिँ यथावत नै कायम भयो।
घ) लिम्बूवानमा तिलिङ्गा आतङ्कः
एकधर्म, एक संस्कृति, एक भाषा कायम गर्न तथाकथित एकिकरणको सिलसिलामा किरात प्रदेशमा विभिन्न एजेन्टहरू राई अमाली सुब्बाहरूबाट दसैँ बापत दैदस्तुर सरकारद्वारा असुलियो भनेे ती एजेन्टहरूद्वारा नै रैतीहरूको शोषण गर्ने कार्य पनि निर्वाध रूपमा विकसित हुँदै गयो। यो दसैँया पर्वलाई त्यसताका लिम्बुवानमा तैनाथ गरिएका (खटाइएका) तिलिङ्गाहरूले (सिपाहीहरूले) राई अमाली, सुब्बाहरूको घरको मूलढोकाको दायाँ बायाँ भित्तामा मानिसका हात खुट्टाका रक्तरञ्जित पञ्जा भए नभएको जाँचबुझ गरेर दसैँ माने नमानेको प्रमाणित गर्नु पर्थ्यो। यदि उनीहरूको घरदैलाको दायाँबायाँ भित्तामा मारको छाप लागेको नभेटिएमा त्यस्तो राई अमाली, सुब्बालाई आर्थिकदेखि शारीरिक द48ड लगायत जघन्य अपराध सरह सजाय हुन्थ्यो। अब अमाली सुभाङ्गी प्रथा किरात प्रदेशमा उन्मूलन भैसके तापनि दसैँको बेला आफ्नो घरमा मार काटिएको पशु पंक्षीको रगत हात खुट्टाको पञ्जामा लगाई दैलोको दायाँ बायाँ भित्तामा छाप लगाउने चलन भने यदाकदा अझैं पनि देखिन्छ। त्यसताका ती तिलिङ्गाहरूको आतङ्क सम्झेर लिम्बूवानका बूढापाकाहरू अहिले पनि त्यो त्राशदिपूर्ण कथाको वर्णन गर्छन्।
ङ) दसैँ नमान्दा रिदामा र रामलीहाङ शहीद भएः
किरात प्रदेशमा दसैँया पर्वलाई निरन्तरता दिँदै जाने सिलसिलामा श्री ३ जङ्गबहादुरको शासनकालमा धनकुटाको पालो आयो। त्यसताका छथर थुम धनकुटामा आठपहरिया राईहरूमा नेतृत्व गर्ने रिदामा र रामलीहाङ दुई साहसी पुरुषहरूले दसैँ हाम्रो चाड होइन, हामी दसैँ मान्दैनौँ भनी प्रतिवाद गरे। यो कुरा जङ्गबहादुर राणामा जाहेर भएपछि रिदामा र रामलीहाङको बध गरेर तिनका अनुयायीहरूलाई धनकुटामा रहेका सेनाद्वारा घेराउ गरी राँगा, बोका काटी ठूलो भोज गरी जमरा, टीका लगाइदिई दसैँ मान्न वाध्य गराए। तर त्यस बलजफ्ती कार्यको परिणाम ज्यादै नराम्रो निक्ल्यो। हामी सबैजना बलिदान हुन तयार छौँ तर हाम्रो संस्कार छोडेर बलात लादिएको दसैँ चाड मान्न तयार छैनौँ भनी ठूलो विद्रोह गरेपछि अर्को वर्षदेखि दसैँ चाड मान्न वाध्य गराउन सकिएन। त्यहाँका आठपहरिया किरात राईहरूले आजसम्म पनि दसैँ तिहार मान्दैनन् यिनीहरूका महिलाहरूले आफ्नो पहिरन मेख्ली (म्याक्सी जस्तो) लगाउन अझै पनि छोडेका छैनन्। मङ्सीर पूर्णेदेखि औँसीसम्म ढोल झ्याम्टा वादनका साथ नाचगान र खानपिनमा पाहुनाहरूको आदानप्रदान गरेर धुमधामले १५ दिनसम्म आफ्नो मौलिक राष्ट्रिय चाड मनाउछन्। यही चाड नै हामी समस्त किरातहरूको मौलिक राष्ट्रिय चाड पनि हो। साँच्चै भन्ने हो भने यिनै आठपहरिया किरात राईहरू मात्र किरात प्रदेशमा आफ्नो मौलिक चाडलाई बचाइराख्न सफल भएका छन्। धन्य हुन् यी धनकुटाका खाँटी आठपहरिया किरात राईबन्धुहरू – यिनीहरूको जति प्रशंसा गरे पनि पुग्दैन।
२. धार्मिक तथ्यः
हिन्दूहरूको वेद, बौद्धहरूको धम्मपद, इसाईहरूको बाइबल, इस्लामहरूको कुरान झैं किरातहरूको मूल धर्मग्रन्थ मुन्धुम हो। इसाई धर्ममा उल्लिखित कुरा बौद्ध धर्मावलम्बीले र इस्लाम धर्मका कुरा हिन्दू धर्मावलम्बीहरूले नमान्ने जस्तै ती सबै धर्महरूमा उल्लिखित कुराहरू किरात धर्मावलम्बीहरूले पनि मान्दैनन्। किनभने प्रत्येक धर्मावलम्बीले आआफ्नो धर्मको महान्तामा गर्व गर्छन् र आआफ्नो धर्मग्रन्थले निर्दिष्ट गरेको नियम तथा अनुशासनको पालनगरी जीवन यापन गरेका हुन्छन्। नेपालमा शाहकालभन्दा हजारौँ वर्ष अगाडिदेखि किरात प्रदेशमा दसैँ भन्ने चाड अपरिचित थियो भन्ने कुरा ऐतिहासिक सवुद प्रमाणहरूबाट प्रष्ट भैसकेको छ। अव धार्मिक तथ्यको आधारमा पनि यो चाड किरातहरूको थिएन, होइन भन्ने कुरा यसरी प्रष्ट हुन्छ।
क) मुन्धुममा राम र रावणको कथा छैनः
हिन्दू ग्रन्थ रामायणमा रावणद्वारा सीता हरण भएपछि राम र रावणको युद्धमा रामले रावणलाई बध गरी विजय प्राप्त गरेकोले सो विजयोल्लासको प्रतीक दसैँ चाड हिन्दूहरूले मनाउने गरेको कथा जोडिएको छ। हिन्दूग्रन्थका आर्य पात्रहरूको युद्धकथासँग हामी अनार्य किरातहरूको कुनै सम्बन्ध नभएको र हाम्रो मुन्धुममा कहीं पनि त्यस्तो कुरा उल्लेख नभएकोले यो दसैँ चाड किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ।
ख) मुन्धुममा नव दुर्गा र महिषासुरको कथा छैनः
हिन्दूहरूको देवी भागवत ग्रन्थमा नवदुर्गा र महिषासुरको युद्धमा महिषासुरको बध नवदुर्गाद्वारा गरिएकोले त्यही विजयोल्लासको सम्झना स्वरूप दसैँ चाड मान्न शुरु गरिएको कथा आउँछ। तर त्यस्तो कथा र नवदुर्गा महिषासुर भन्ने शब्द हाम्रो मुन्धुममा उल्लेख नभएकोले यो दसैँ चाड हामी किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ।
ग) (मुन्धुममा) दसैँ शब्दै छैनः
हामी किरातहरूको मौलिक धर्मग्रन्थ मुन्धुममा दसैँ भन्ने शब्द छदै छैन। त्यसकारण यो दसैँ चाड हामी किरातहरूको हुदै होइन भन्ने प्रमाणित हुन्छ। यो दसैँ चाड किरात प्रदेशमा शाहकालमा सरकारले बलात थोपरेको भन्ने कुरामा शङ्कै छैन। यो चाड हाम्रो हुदै हाइन भन्ने ऐतिहासिक एवम् धार्मिक तथ्यका आधारमा प्रष्ट हुँदाहुदै पनि जान्ने बुझ्नेले देखाएको सही बाटोबाट नहिँडी दनदन बलिरहेको विशाल आगोको ज्वालामा पुतली होमिए झैं हाम्रा किरात बन्धुहरू होमिन चाहन्छन् भने भीरबाट लडेको गाईलाई माङ माङ मात्र भन्न सकिन्छ काँध थाप्न सकिन्न। विवशता र वाध्यतावश् बलात भिराइएको दसैँरूपी जुवालाई फ्याँकेर आफ्नो मौलिक अस्तित्वको खोजी नगर्ने किरातलाई कसरी जीउँदो किरात भन्ने? यस प्रसङ्गमा दुर्गाहाङ याखाराई एक ठाउँमा यसरी लेख्नुहुन्छ – यो दसैँया संस्कार मान्नेवित्तिकै किरातहरू हिन्दू वर्ण व्यवस्थाको (वर्ण विभाजन भित्रको) सबैभन्दा हेय र तुच्छ शूद्रवर्णमा स्वतः गणना हुने हुन्छन्। किनकि नेपालको जनजाति, आदिबासी पश्चिमी नेपालका गुरुङ, मगर तथा पूर्वका राई, लिम्बूबाट नेपाली राजाहरूको शुभराज्याभिषेक नामक वैदिक पूजाहरूमा तयार गरिएको शाही अभिलेख अनुसार शूद्रमै गणना गरिएको प्रमाण खडा छ। यसैले अबका जनजाति, आदिवासीले आफ्नो छुट्टै अस्तित्व र आत्मसम्मान खातिर धार्मिक, सांस्कृतिक दासत्व एवम् जातीय हीनताको प्रमाणपत्र स्वरूप दसैँया “विजया टीकालाई” निधार भरी टाँसेर प्रदर्शनी गराउन चाहदैनन् भने त्यो उनीहरूको आस्थाको कुरा हो। उनीहरू दसैँमा टीका नलगाउन स्वतन्त्र छन्। उनीहरूको यस्तो आचरणमा अरूले विरोध र आश्चर्य मान्नु पर्ने उचित देखिँदैन। उनीहरू हिन्दू बनेर “शूद्र वर्गमा” नै रही अझै ब्राम्हणपूजन गरिरहुन् भन्ने स्वघोषित हिन्दू उच्च जातिका मानिसहरूबाट दुराशय राखिनु पनि हुन्न।
आफूलाई मन परेको कुनै पनि धर्म संस्कार ग्रहण गर्ने नैसर्गिक अधिकार र स्वतन्त्रता प्रत्येक ब्यक्तिलाई छ। तर बिवशता र बाध्यतामा पारेर आफ्नो धर्म संस्कार अरूलाई बलात लाद्ने अधिकार कसैलाई छैन। आफ्नो अस्तित्वको खोजी गर्नु प्रत्येक ब्यक्तिलाई अधिकार छ। दसैँलाई बहिस्कार गर्नु हामी कसैलाई भन्दैनौँ तर दसैँ हामीमा बलात् लादिएको हो र यो चाड हाम्रो थिदै थिएन, हुँदै होइन भनी सबुत प्रमाणका साथ ठोकुवा गर्ने अधिकार हामीलाई छ। अतः ऐतिहासिक एवम् धार्मिक तथ्य तथा सबुत प्रमाणका आधारमा दसैँ चाड हामी अनार्य जनजाति, आदिवासी किरातहरूको थिदैथिएन, हुदैहोइन भन्ने कुरा किरात लगायत सम्पूर्ण जनजाति, आदिवासी बन्धुहरूले बुझदिनु पर्‍यो, मनन् गरी दिनु पर्‍यो, प्रत्येक जनजाति, आदिबासीको घरदैलोमा सन्देश पुर्‍याउनु पर्‍यो।
१.माथि उल्लिखित अकाट्य प्रमाणहरूको आधारमा दसैँ चाड हामी किरातहरूको थिदैँथिएन हुँदै होइन भन्ने निष्कर्षमा पुगिएकाले नै हामीमा बलात् लादिएको हिन्दूमात्रको दसैँ चाड मान्न हामीले २०४६ सालदेखि नै छोड्दै आएका हौँ। यो कार्य पूर्वाग्रह, घृणा र द्धेषवश भएको होइन। किनभने यस देशका सम्पूर्ण जात/जाति र धर्मावलम्बीहरूसँग सदभाव कायम गरेर राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान पुर्‍याउने भन्ने चुम्लुङको मूल नीति छ। त्यसैले हामीले दसैँ बहिस्कार पनि भनेका छैनौँ। मान्नु नमान्नु आफ्नो स्वेच्छाको कुरा हो। तर दसैँ चाडचाहिं हाम्रो थिदैँथिएन हुँदैहोइन भनेर ठोकुवाका साथ भनेका छौँ, भन्छौँ पनि।
२.आफ्नो मौलिक चाड हुँदाहुदै हिन्दू मात्रको दसैँचाड किरातहरूले मान्नै पर्छ भन्ने छैन भने हामीले आफ्नो चाडलाई महत्व दिँदा हिन्दूहरू रिसाउनु पर्ने कुरा पनि छैन। नजान्दाको अवस्थामा वालकले फोहोर टिपेर मुखमा हाल्छ तर ऊ जान्ने बु137ने भएपछि फोहोर टिपेर खाँदैन। त्यस्तै कति कुरा हामीले लहै लहैमा अङ्गाल्यौँ भने कति कुरा वलात् पनि ग्रहण गर्नबाध्य भयौँ। अव हामीले कुरा बुझ्यौ । आफ्नो बाटो लाग्यौँ। किरात प्रदेशमा बस्ने कुनै पनि अल्पसङ्ख्यक हिन्दूलाई हामीले हाम्रो किरात चाड मान्नु पर्छ कहिल्यै भनेनौँ र भन्दैनौँ पनि। तर किरातहरूले जानीबुझी दसैँ मान्न छोड्दा यी हिन्दूहरू किन रुष्ट हुन्छन् र नाना भाति प्रसङ्गहरू जोडेर किरातहरूप्रति दुराशय ओकल्छन्? यस कार्यले उनीहरूको असहिष्णुता, अमिलनसारिता र विखण्डनवादी नीति छर्लङ्गिगएन र?
३. परंपरादेखि हामीले मानी आएको मङ्सिर पूर्णिमामा पर्ने लिम्बूहरूको ‘चासोक तङनाम’ राईहरूको ‘साकेला’ याख्खाहरूको ‘चासुवा’ र सुनुवारहरूको ‘फोलष्याँदर’ मौलिक किरात चाड (न्वागीपूजा)लाई किरात चाड मनाउन त्रयोदशी, चतुर्दशी र पूर्णेसम्म ३ तीन दिन किरात चाड घोषणा गरी अधिराज्यव्यापी विदादिने व्यवस्थाको लागि चारै किरात संस्थाहरूको संयुक्त प्रयासमा को सरकार समक्ष माग प्रस्तुत गरिएकोमा मङ्सिर पूर्णेका दिन एक दिन मात्र अधिराज्यका सम्पूर्ण किरात धर्मावलम्बीहरूलाई विदा दिनेगरी को सरकारबाट किरात चाडको घोषणा भएको कुरा २०५८ साल पुस १४ गतेको विभिन्न सञ्चार माध्यम र ख48ड ५१ संख्या ५० नेपाल राजपत्र भाग ४ मिति २०५८/१२/२६ को राजपत्र समेतबाट प्रचारप्रसार भएको कुरा सर्वविदितै छ।
४. विभिन्न जातजाति/जनजाति आदिवासी र उत्पीडित/ दलितहरूको साझा फूलबारी हाम्रो नेपालमा सत्ताधारी हिन्दू धर्मावलम्बीहरूको लागि अनगिन्ती चाडहरूले मान्यता प्राप्त गरिरहेकै छन्। त्यसमा पनि गौरापर्व मनाउन सुदुर पश्चिमेली हिन्दूहरूले थप १ दिन छुट्टै विदा पनि पाएका छन्। प्रजातन्त्रको पुनर्वहाली भए पश्चात तराईबासीहरूले ‘छठपर्व’ इस्लामहरूले ‘इद पर्व’ भोटे, सेर्पा, तामाङ, गुरुङहरूले ‘ल्होसार पर्व’ मनाउन १/१ दिन विदा पाएजस्तै हामी किरात धर्मावलम्बीहरूले पनि किरात चाड छुट्टै विदा पाउँनु पर्छ ।

दसैंको मानवशास्त्र

डम्बर चेम्जोङ
दसैंजस्तो चाडपर्वलाई राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक अनेक कोणहरूबाट हेर्न अथ्र्याउन सकिन्छ । दसैंलाई चाडपर्व मान्नुअघि चाडपर्व भनेको के हो ? यसमा मूलतः के गरिन्छ भन्ने जान्नु उपयुक्त हुन्छ । कुनै नेपाली सामाजिक सांस्कृतिक समूहले दसैं सामाजिक रूपमा मात्र मनाउँछन् कि धार्मिक सांस्कृतिक तहमा समेत मनाउँछन् भनी बुझ्न सकियो भने दसैंको अर्थ सम्पूर्णतामा खोज्न सकिन्छ जस्तो लाग्छ । अझ मानवशास्त्रीहरु त चाडपर्वमा वा समाजहरूमा सम्पन्न गरिने विभिन्न पूजा-आजाहरूको राजनीतिक अर्थ र प्रयोजन हुन्छ भन्दछन् र सोहीअनुरूप अध्ययन गर्दछन् । कस्तो खाले मानवीय सम्बन्धहरूलाई सामाजिक भन्ने ? कस्तो खाले मानवीय क्रियाकलापहरूलाई धार्मिक भन्ने ? अनि कस्तोलाई सांस्कृतिक ? र कस्तोलाई राजनीतिक भन्ने सवाल पनि हामीसँग छँदै छ । अझ भन्ने हो भने नेपाली भाषामा वा समाजमा 'राजनीतिक' शब्दको अर्थ संकुचनले होला 'राजनीतिक दल'हरूको चलखेल र उछलकुदलाई मात्र 'राजनीति' भनी बुझ्ने चलन आम मानिसहरूमा छ । तर शक्ति र सत्तालाई हेर्ने, बुझ्ने, महसुस गर्ने तरिका र तिनका अर्थबोध विभिन्न समाजहरूमा आ-आफ्नो विशिष्टतापूर्ण हुन्छ । उदाहरणतः लिम्बू समाजमा शक्ति र सत्ताको पूजा आराधना व्यक्ति, परिवार, समाज सबै तहमा हिन्दु जातीय चलनभन्दा नितान्त फरक ढंगले हुन्छ । यसरी दसैंको मानवशास्त्र भनेको उल्लेखित पाटाहरूबाट हेर्दा दसैं कस्तो देखिन्छ र दसै मान्ने मनाउने प्रक्रियाले समेत विभिन्न समाजमा कस्तो सामाजिक राजनीतिक सम्बन्ध निर्माण गर्दै लान्छ भनी बुझ्नु हो ।
आफू काम गर्ने थलोमा लामो बिदा पर्नाले घरपरिवार र नातागोता कुटुम्बसँग भेटघाट गरिने पक्ष, आरामले बस्ने, मीठो मसिनो खाने नयाँ र राम्रो लाउने, छरछिमेक घुम्दै भेट्दै सँगै खाने, तास खेल्ने, पीङ बनाउने-खेल्ने, मनोरञ्जन गर्ने, शुभकामना औ आशिर्वाद थाप्ने, विवाहित छोरी चेली कोसेली-पात बोकी माइत आउने वा नयाँ ज्वाइँ ससुराली जाने आदि पक्षहरू चाडपर्वका सन्दर्भमा सम्पन्न हुने सामाजिक पक्ष हुन् तर यसले मात्र चाडपर्वको सारभूत परिभाषा समेट्दैन ।
पूजा-अर्चनाजस्ता कुरा चाडपर्वको धार्मिक सांस्कृतिक महत्त्वपूर्ण पाटो हो । चाडपर्वमा इष्ट द्यौ-द्यौताहरूको पूजा-अर्चना वैयक्तिक, पारिवारिक र सामूहिक एवं समुदायगत तहमा समेत सम्पन्न गरिन्छ । दसैंको पनि धार्मिक र सांस्कृतिक सारभूतता नौ दिनसम्म सम्पन्न गरिने विभिन्न शक्तिदेवीहरूको पूजा अर्चनाले प्रस्ट्याउँछ । धार्मिक सांस्कृतिक हिसाबले 'दसैं हिन्दु मात्रको महान् पर्व' भन्नु ठीक हो । नेपालमा आम आदिवासी जनजाति समाजहरूमा आ-आफ्नो सामूहिक धार्मिक सांस्कृतिक आस्था सम्बद्ध शक्ति देवीदेउताहरूको पूजा-आराधनासहित दसैं मनाउने चलन देखिँदैन ।
माथि नै लेखियो- चाडपर्वमा राजनीतिक सत्ता र शक्तिको पूजा पनि गरिन्छ । नेपालमा दसैंमा देख्न पाइने सत्ता र शक्ति सम्बद्ध पूजा-आजा र मूलतः सत्तासीनहरूले राँगा लगायत पशुको बलि दिने कुरा चाडपर्वको राजनीतिक पक्षको ज्वलन्त उदाहरण हो । दशैंको यो पक्षले भने शासक तथा शासित दुवै वर्गलाई समेट्छ । राजनीतिक रूपमा दसैं भनेको विगतको गोरखाली हिन्दु राजनीतिक सत्ताको औचित्यको पुष्टि, त्यस सम्बद्ध शक्ति देवीदेउताहरूको पूजाअर्चना हो । गोरखाली राजनीतिक सत्ता र शक्ति विस्तार प्रक्रियाको इतिहासलाई दसैंको धार्मिक पूजा-आजा र राँगाको बलि दिने व्यवस्थाले प्रतीकात्मक ढंगले व्यक्त गर्दछ ।
दसैंका लागि गोरखाबाट काठमाडांै फूलपाती भित्र्याउनु, सत्तासीनहरू र अझ सेनाका खास तहको अधिकृतभन्दा माथिकाले अनिवार्य रूपमा राँगाको बलि चढाउनु आदिले गोरखा राज्यको विस्तार र हैकमलाई धार्मिक र सांस्कृतिक रूपमा औचित्य प्रदान गर्ने मात्र होइन कि गोरखाली अधीनस्थता अस्वीकार गर्नेहरूलाई राजनीतिक रूपमा बलि चढाइने प्रतीकात्मक तर पूर्णतः राजनीतिक सन्देश फैलाउँछन्, बलिमा चढाइएका पशहरूले ।
मानवशास्त्री डेभिड होमवर्गले दसैंमा राँगाहरूको बलि दिने कुरा रूप पक्षमा धार्मिक देखिए पनि सारमा सत्ताधारी राज्य पक्षले अधीनस्थ क्षेत्रमा पठाएको राजनीतिक सन्देशको रूपमा अथ्र्याएका छन् । जुनसुकै तहका सत्ताधारीहरूको हातको टीका थाप्नुलाई सांस्कृतिक रूपमा आशिर्वाद लिनुको अर्थमा बुझिए पनि राजनीतिक रूपमा भने अधीनस्थता स्वीकार गर्नु हो, हरेक साल टीका थाप्नु भनेको त्यही अधीनस्थताको नवीकरण गर्नु हो ।
अधीनस्थतालाई नरम शैलीमा अभिभावकत्वको अर्थमा पनि बुझाइने गरिन्थ्यो स्कुले विद्यार्थीलाई विगतमा । स्कुलमा दिनभर घोक्नुपर्ने पाठले भन्थ्यो- 'आमाभन्दा ठूला, बाबाभन्दा ठूला, सबैभन्दा ठूला, राजा नै हुन् ठूला...।' हामी कतिपय यही चिन्तन धरातलमा उभिएका छौं । हिन्दु राजाहरूका अधीनस्थता, अभिभावकत्व मानिरहेको भए र उनीहरूले दसैंमा दिने गरेका आशिर्वाद लागिरहेको भए नेपालमा यो राजनीतिक अवस्था स्थापित हुन सक्थ्यो ? तर आज पनि कति स्कुले पाठ्यपुस्तकमा यस्तै सन्देश छैनन् भन्न सकिन्न ।
मान्छेहरू दसैं मानिरहेका हुन्छन् एकातिर भने अर्कातिर दसैंले पनि मान्छेहरूलाई मनाइरहेको हुन्छ । तात्पर्य, मान्छेहरूले एक वा अर्को रूपमा दसैं मान्ने वा नमानेर 'मान्ने' क्रममा दसैंको प्रभाव विभिन्न समाजहरूमा भिन्नाभिन्नै सांस्कृतिक, राजनीतिक, सामाजिक, धार्मिक हिसाबले पर्दै जान्छ । तसर्थ दसैंले समेत नयाँखाले सामाजिक, सांस्कृतिक, राजनीतिक सम्बन्ध र अभ्यासहरूको पुनउत्पादन गर्दै लान्छ समाजहरूमा । यो कुरा व्यक्तिहरूले समाज निर्माण गर्दछन् साथै समाजले पनि व्यक्ति निर्माण गर्दछ भने जत्तिकै सजिलै बुझिने कुरा हो ।
दसैं मनाउनेहरू मात्र होइन 'दसैं हाम्रो होइन, यो हामीमाथि थोपरिएको हो, हामी यसको बहिष्कार गर्छौं' भनी दसैं नमनाउनेहरूले समेत राजनीतिक अर्थमा दसैं मानेझैं बुझ्न सकिन्छ । उदाहरणतः कुनै माग राखी अनसन बस्नेहरूले समेत राजनीतिक अर्थको पोषण वा खुराक प्राप्त गरिरहेका हुन्छन् । त्यसैले जसरी दसैं मनाएर विशिष्ट तहको विशिष्ट आध्यात्मिक भौतिक अर्थबोध महसुस गरिन्छ , त्यसैगरी बहिष्कार गरेर वा नमनाएर पनि त्यही खाले राजनीतिक मूल्यको महसुस र प्राप्ति हुन्छ । यसर्थ दसैंले सबै नेपालीलाई एकै ढंगले समेट्दैन । कसैले हिन्दुहरू मात्रको महान् चाड भन्छन् त कसैले नेपालीहरूको महान् चाड भन्छन् । यति मात्र होइन आदिवासी जनजातिहरूमा कतै हिन्दु राज्यकालीन राजा तथा राणाहरूका हैकम र हुकुमका कारणले र कतै छिमेकीहरूका सिको गर्नाले समेत दसैं मनाउने परम्पराको थालनी भएको देखिन्छ । उदाहरणतः लिम्बूवानमा स्थानीय तहका सत्ताधारी लिम्बू सुब्बाले बलि चढाएर दसैं मान्नै पर्ने हुकुम राजा रणबहादुर शाहको पालामा भएको थियो ।
दसैंमा बलि दिएको पशुको रगतको पञ्जाछाप घरको भित्तामा हानिराख्नुपर्ने हुकुम थियो लिम्बू सुब्बाहरूलाई । बलि पशुको रगतको पञ्जाछाप भए/नभएको निरीक्षण गर्न गोश्वारा, गौंडा अड्डाबाट डोर खटिएर आउँथे तत्कालीन लिम्बूवानमा । दसैं नमानिएको, पशुबलि नदिइएको भेटिए सजायको भागी हुन्थे लिम्बू सुब्बाहरू । यसरी लिम्बू सुब्बाहरूमा दसैंमा पशुबलि दिने क्रम विगतमा देखिएको हो । लिम्बूहरूको सामूहिक भू-स्वामित्व प्रणालीको व्यवस्थापन र निरन्तरता खातिर किपटिया सुब्बाहरूले हिन्दु राज्यको संयन्त्रको स्थानीय इकाईको रूपमा समेत जिम्मेदारी लिनुपरेको सन्दर्भमा गोरखाली राज्यको अधीनस्थताको प्रतीकात्मक स्विकारोक्ति दसैंमा चढाइने पशुबलिमार्फत् नै भइरहेको बुझिन्छ ।
अझ लिम्बू सुब्बाहरूबाट पनि उनीहरूका किपटअन्तर्गतका घरधुरीहरूले आशिर्वाद र अभिभावकत्व ग्रहण गर्ने र स्थानीय शासकीय अधीनताको नवीकरण गर्ने अवसर दसैं नै थियो । भूमिसुधार ऐनले लिम्बूहरूको किपट भूमि व्यवस्थाको अन्त्य गरेपछि स्थानीय तहमा सत्तासीन लिम्बू सुब्बाहरूको पनि अधिकार समाप्त भयो र लिम्बू सुब्बाहरूले दसैंमा पशुबलि दिने काम बन्द गरे अर्थात् राजनीतिक रूपमा दसैं मान्ने काम एक प्रकारले बन्द गरे । यसरी विगतमा लिम्बूहरूले दसैंमा पशुबलि दिने कुरा सोझो रूपमा नै गोरखा हिन्दु राज्य निर्माण र त्यसको अधीनस्थतासँग सम्बन्धित बुझिन्छ । लिम्बूहरू हिन्दु धर्मावलम्बी होइनन् त्यसैले लिम्बूहरूका निमित्त दसैंले धार्मिक र सांस्कृतिक अर्थ राख्दैन । उनीहरूको मुन्धुम, फेदाङवा/मा, येवा, साम्बा आदिले दसैंको प्रसंग ल्याउँदैनन् । उनीहरूको इष्ट द्यौ-द्यौतको पूजा-अभ्यर्थना गर्ने पनि होइन दसैंमा । त्यसैले अन्य समाजहरू र राज्यको प्रभावका कारण लिम्बूहरूमाझ पनि सामाजिक रूपमा दसैं मान्ने चलन सुरु भएको हुनसक्छ विगतमा । विवाह गरेर गएका छोरीचेली कोसेलीपातको भारी भरियाहरूका साथ दसैंमा नै माइत आउने चलनको सुरु भएको जस्तो लाग्छ ।
लिम्बूको कोसेली भन्नु के छ र ? ढाकरमा फूलहरूले सिंगारिएको सिंगो सुगुर, गाग्रोभरि रक्सी र थरीथरीका मासु र तरकारीका चेप तथा टपरीहरू आमा-बा अथवा मूलघरका लागि । अनि सुंगुरका फिला र करङहरू छुट्टै पेरुंगो/चेपहरूमा च्यापेर र साना-साना मट्याहरूमा समेत रक्सी र फिलिंगे, गुन्द्रुक, सिमी, भटमास आदि अचारका टपरीहरू आपmनो नजीकका नाताहरूका लागि नभई नहुने । नाताभित्रको तह अनुसारको कोसेली भएन भने, सुंगुर गतिलो भएन भने, रक्सीको गुणस्तर राम्रो भएन भने खासखुसे कुरा काट्ने त छँदै छ । युवावयमा मैले देखे भोगेको दसैं लिम्बूवानको मेरो गाउँमा यस्तै थियो । सबै लिम्बूहरूमा होइन तर स्थानीय सत्ता-सुख-भोग गरिरहेका वा मूलतः किपटिया लिम्बूमा सेतो टीका थाप्ने र टीका लगाइमाग्न आउनेलाई पनि सेतै लगाइदिने चलन थियो ।
वास्तवमा हिन्दुहरूले जुठो जातको र अभक्ष मानेको अझ बाहुनले छुनै नहुने पशु संुगुर सिंगारेर, त्यसैलाई सबैभन्दा अभीष्ट भोजन मानेर, उतिबेला हो भने बाहुनले चलाउनै नहुनेे रक्सी चलाएर, हिन्दु जातीय चलनमा अभिभावकको मृत्युको आशौच र अशुद्धिको प्रतीक सेतो रङको टीका थापेर लिम्बूहरूले दसैं मान्नुको ध्वन्यात्मक अर्थ के हुन सक्ला ? लिम्बूले रूप पक्षमा दसैं मानेकै देखाएर यसैको माध्यमबाट सारभूत अर्थमा हिन्दु राज्य र धर्मको विरोध वा खिल्ली उडाएको देखिँदैन र ?
आज दसैंको सन्दर्भलाई लिम्बूहरूले तीन ढंगले लिन्छन् जस्तो लाग्छ- पहिलो दसैं बहिष्कार, दोस्रो बहिष्कार पनि नगर्ने र नमनाउने पनि, तेस्रो दसैं सामाजिक रूपमा मनाउने । यी तीनै पक्ष एक वा अर्को रूपमा दसैं प्रभावित नै हुन् किनभने दसैंको मानवशास्त्रीय अध्ययनले लिम्बूहरू र गोरखा हिन्दु राज्यबीचको राजनैतिक-ऐतिहासिक सम्बन्धको एउटा पक्ष बुझ्न सकिन्छ ।

(मानवशास्त्री चेम्जोङ त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्छन् ।)

Sep 8, 2011

नेपालमा दोस्रो जहानीयां शासन र धिपधिपेपन

दिल पालुङवा लिम्वु "नेपाल कुश्सा"
चरम क्रान्तिकारी पार्टी माओवादीलाई पनि अलमल्याएर थचार्न सफल कांग्रेस र एमाले अहिले एउटै ड्याङमा लामवद्ध लागिरहेका छन् ।उही कोही सप्रेको कोही कम सप्रेको मात्र फरक हो । संविधान निर्माण गर्न जनताहरुले खुसीसाथ पठाएकाहरु अहिले संघीयता, शासनको स्वरुप, निर्वाचन प्रक्रिया आदिमा नराम्ररी अल्झेर वसेका छन् । यसमा ठूलो भूमिका वाहुनवादले खेलेको छ । नेपालमा विभिन्न आदिवासी जनजातिहरु छन् । उनीहरु पृथ्वीनारायण शाहको पालादेखिनै पाखा पारिदै ल्याईएको थियो । यो क्रम अझै जारी छ । राणा कालमा आदिवासी जनजातिहरुलाई पढ्न दिईएन । जंग वहादुर राणाले जहानिया शासनको फाईदा राम्ररी लिए । त्यसैको क्रेडिट स्वरुप अहिलेसम्मै राणाहरु बाँचिरहेकाछन् । वि.स. २००७ साल पछि वि.सं.२०१७ सम्म जननिर्वाचित सरकारले अधिकार पाएतापनि उप्रान्त महेन्द्रको निरंकुश पञ्चायती व्यवस्थाले एउटै भाषा, एउटै भेषको निती ल्याएर आदिवासी जनजातिहरुलाई अंध्यारोमा थुनेर राखे । वि.सं. २००७ सालका प्रजातान्त्रिक आन्दोलनका हस्तीहरु आदिवासी मूलकै थिए । जस्तै जि.वि. याक्थुङवा, वि.वि. चेम्जोङ लगायत धेरै लिम्वुहरु थिए । उनीहरु सवै भारतमा पढेलेखेका शिक्षित थिए । त्यस्तै नारदमुनी थुलुङ, राम प्रसाद र्राई आदिहरु र्राई समुहका थिए । त्यस्तै पश्चिम पट्टीका गुरुङ, मगर, थारु आदि थिए । वि.सं. २००७ को क्रान्ति लिम्वुवानमा व्यापक भएको थियो । तर्सथ कांग्रेसले लिम्वुवानवाट राणाहरुको शासन ध्वस्त पारेर लिम्वुवान प्रान्तिय सरकार गठन गर्न वाध्य भएको थियो । कांग्रेसमा लाग्ने लिम्वुहरु वाहेक कतिपय लिम्वुवानवादीहरु आफ्नै लिम्वुवानवादी संगठन खोलेर लिम्वुवान स्टेटको माग गर्दै लड्नेहरु पनि थिए । त्यसमध्ये उल्लेखनीय रुपमा विजय वहादुर लिम्वुको नाम आउछ । उहाको एक समुह तेरथुम पाचथरको सरकारी प्रहरी पोस्टहरु ध्वस्त वनाउदै इलाम हान्ने क्रममा मंगलवारेभन्ने ठाउमा राणा कांग्रेसको फौजसंग लड्दा एकै ठाउमा १३ जनाजति हताहत भएका थिए । त्यहादेखि लिम्वुवान स्टेटको अभियान क्रमश निस्तेज भयो । यद्धपी लिम्वुवानमा कांग्रेस ल्याउन लिम्वुहरुले ठूलो योगदान गरेका थिए । तर उनीहरुले मान्दै ल्याएका नेता विपीले राज्यरजौटा उन्मूलन ऐन ल्याएर लिम्वुहरुलाई लोप्पा ख्वाए । उनीहरु कांग्रेससंग विमुख भए । अनी महेन्द्रको पालामा महेन्द्रले केही गर्ने आश देखाउदै लिम्वुहरुलाई शाहवंशव्दारा दिएको लालमोहरको निरन्तरता गर्दै वि.सं. २०१७ मा नविकरण गरे । लिम्वु आदिवासीहरु अति खुसी भए । तर वि.सं.२०२१ मा भूमिसुधार भन्दै लिम्वुहरुको किपट उर्डाईदिए । राजनिती रुपमा लिम्वुहरु अति कमजोर वनाईए । यही क्रम अन्य आदिवासी जनजातिहरुमा भयो । यद्धपी फकाउनको लागि महेन्द्रले सानातिना हैसियत रहेको मन्त्री वनाए । तर एक भाषा भेष र धर्मको कारण आदिवासी जनजातिहरु अझ पछि पर्दै गए । किनकी भाषा र धार्मिक समस्याले उनीहरु अगाडि वढ्न सकेनन् ।
इतिहासमा यसरी गुज्रदै आएपछि अहिलेसम्म उही परिपाटी चलिरहेको छ । देश अहिले वाहुन जातिय एकाधिकारमा नराम्ररी फसेको छ । आदिवासी जनजातिहरु पनि आफ्नो हितको लागि संर्घषरत छन् । उनीहरु पनि कहिले समानुपातिक भन्दै कहिले समावेसी भन्दै अहिले आएर संघीय शासनको वकालत गरिरहेका छन् ।
आदिवासी जनजातिहरु अहिलेसम्म सत्तामा नभएकोले माग कर्ताको रुपमा रहेका छन् । सत्तामा वाहुनक्षेत्रीहरु रहेका छन् । तर एउटा यथार्थचाही के रहेको छ भने संघीय राज्यमा अहिलेजस्तो हाली मुहाली उनीहरुले गर्न पाउदैनन् । उनीहरु उच्च पदमा पुगेतापनि संविधान संमत काम गर्नुपर्ने हुंदा वाहुनवादीयता उन्मुख हुदैन । तर्सथ सत्ताको स्वाद चाखेका यी जातिहरु सधैभरी सत्ता आफ्नो मुठ्ठीमा राख्न चाहान्छन् । संघीय शासन व्यवस्थामा आफ्नो जातिय एकाधिकार नहुने हुनाले उनीहरु अहिलेनै धेरै प्रधानमन्त्री हुन चाहिरहेका छन् । पालैपालो प्रधानमन्त्री भएर धेरै वाहुनहरु प्रधानमन्त्री या सत्ता चलाएको इतिहास वनाउन चाहन्छन् । त्यस्तै धेरैजना सरकारी उच्च ओहोदाको कर्मचारी हुन चाहान्छन् । सत्ताको वागडोर, सरकारी ढुकुटीवाट पुस्तौपुस्ता पुग्ने सम्पत्ति आर्जन गर्नु उनीहरुको उद्धेष्य रहेको छ । यसमा उनीहरु केही हदसम्म सफल हुनेछन् तर अती हुन थालेपछि जनताले उनीहरुलाई वढार्नेछन् । तवमात्र खांटी प्रजातन्त्र, समाजवाद नेपालमा आउनेछ । जुन समयले आफै ल्याउनेछ ।
नेपालमा भएको वाहुनवादको जरो दह्रो छ । पहिला यही वाहुनवादले राजतन्त्र टिकाएको थियो । राजतन्त्रलाई यही वाहुनवादलेनै ढाल वनाएका थिए । जनजातिहरुसंग सामिप्य राख्न चाहने राजतन्त्रलाई उनीहरुको एकलो पेवा वनाएर खस भाषा, हिन्दू धर्म संस्कार संस्कृति आदिवासी जनजातिहरुमा लादे । वाहुनवादी राणाहरुको पालामा वाहुनले पढ्न हुने आदिवासी जनजातिहरुले पढ्न नहुने वनाए । पढेमा जिब्रो थुतिदिने हात काटिदिने यीनै हुन् । अन्धकारमा वस्न वाध्य आदिवासी जनजातिहरु थिए । वाहुनवादीहरुलाई स्वर्ण युग थियो । आदिवासीहरुको भाषा, लिपी धर्म संस्कारलाई आर्यघाटमा यीनैले पुरयाए । आफ्नो भाषा वोल्न देओ, आफ्नो कर्म गर्न देओ, आफ्नो धर्म संस्कार मान्न देओ भन्दा कति आदिवासीहरुलाई झुन्डयाएर मारियो, कतिलाई काटेर मारियो । कतिलाई गोली हानेर मारियो । कतिलाई विदेश भाग्न वाध्य वनाईयो ।
वि.सं १८३१/३२ तिर लिम्वुवान र गोर्खाको सहमति सहन नसकेर विद्रोह गर्ने लिम्वुहरुलाई खोजीखोजी यातना दिन तथा मार्न थालिएपछि ३२००० जति लिम्वुहरु लिम्वुवान छोडेर वाह्य मुलुक गएको कुरा लिम्वुवानमा व्यँप्त छ । त्यस्तै विचविचमा लिम्वुहरुको अधिकारको लागि आवाज उठाउनेहरुलाई विभिन्न अमानवीय तवरले यातना दिईएको छ , मारिएको छ । विदेश पलायन हुनु परेको छ । खम्वुवान, तमुवान, मगरात, ताम्वासालिङतिर पनि यो प्रपञ्च भएको थियो ।
यसरी नेपाल एकल वाहुनवादी राज्यशासन व्यवस्थामा हुर्केर आएको दृष्टान्त छ । वाहुन क्षेत्रीहरु सत्ताको वागडोर थाम्ने हुदा आदिवासी जनजातिहरुभन्दा दौडको हिसावमा १०० मीटरमा ९५ मीटर अगाडि छन् । त्यसैले यो दौडमा तत्काल आदिवासी जनजातिहरुले जित्छु भनेर हुदैन । यो दौडलाई संघीय शासन व्यवस्थाले मात्र प्रतिस्पर्धामा ल्याउन सक्छ । यस व्यवस्थामा पनि तुरुन्तै प्रतिस्पर्धा हुन सक्दैन । केही समय लाग्छ । तर यी वाहुनवादीहरु एकात्मकवादी पनि हुन-उनीहरु संघीय प्रणाली चाहदैनन् । आफ्नो खाईपाईलाई आएको कुरा अरुसंग वांड्न चाहदैनन् । समाजवाद,समानतावाद उनीहरुमा छैन । आदिवासी जनजातिहरु मिलेर वांडेर खाऔं भन्दछन् । उनीहरु आफ्नो किन दिन्छन् र ? यो मानवीय स्वभाव पनि हो । तर सदा र्सवदा संगै वसेर अघि वढ्ने हुदा सवैले मिलेर काम गर्नु पर्दछ । यो क्रमको शुरुवात पनि हाम्रो देशमा हुन थालेको छ । जो वाहुन क्षेत्री हाल नयां पुस्ताका छन् । उनीहरु वाहुनवादलाई आत्मासाथ नगरेर समानतावादमा विश्वास राख्ने छन् । वाहुनवादको विरोध गर्दछन् । वाहुनवाद भनेको वाहुन क्षेत्रीलाई जातिविषेमा भनिएको होईन । यो भनेको मै खाऔं, मै लाऔं, मै मात्र मोज गरौं अरुलाई जे सुकै होस भन्ने विचार सिद्धान्तनै वाहुनवाद हो । यस्तो वाहुनवाद हिन्दूवादवाट पथ प्रदर्शित भएको हो । यही वादको कारण माओवादी जस्तो क्रान्तिकारी पार्टी पनि एमाले र कांग्रेसले वोकेको वाहुनवादमा फसिरहेको छ । प्रचण्ड र वावुराममा हल्का वाहुनवाद छ । यो वाहुनवादलाई मलजल पुग्ने हो भने त्यो उनीहरुमा मज्जाले हुर्किहाल्नेछ । अनी वाहुनवादको जोडमा जोड हुनेछ ।
तर आदिवासी जनजातिहरुको चरम जुझारु कार्यको कारण अव वाहुनवादको आयु लामो छैन । त्यसैलाई वुझेर अहिले सवै पार्टी एकापसमा संविधान वनाउन छोडेर धेरै वाहुनहरु पालैपालो प्रधानमन्त्री भैरहेका छन्, हुन खोजिरहेका छन् , वनाउन खोजिरहेका छन् । संविधान वनाउन छोडेर सत्तामा मात्र लिप्त भएका छन् । उनीहरुले जे गरे पनि हुन्छ । किनकी सवै डाडु पन्यू, भण्डार, चावी उनीहरुकै हातमा छ । तर यो नै उनीहरुको अन्तिम स्वर्ण समयको अन्त्य हो । यो तेल सकिएको धिपधिपे वत्तिको संकेत हो । वत्ति मरे पछि नयां तेल हालेर वत्ति वालेझैं अव आदिवासीहरुले वत्ति वाल्नेछन् । यो समाजको क्रमविकास पनि हो । अहिलेको नेपालको समाज सामन्तवादवाट पूंजिवादमा प्रवेश गरिरहेकोले यो संक्रमणकालिन अवस्थावाट चांडै नै आधुनिक समाजमा रुपान्तरण हुनेछ । यसको लागि समयलेनै आफै छिनोफानो गर्नेछ । त्यसवेलाको समाज समाजवादी तथा समानतावादी हुनेछ ।सेवारो ।

Aug 21, 2011

नेपालको लागि राष्ट्रपति शासननै उपयुक्त

दिल पालुङवा लिम्वु "नेपाल कुश्शा"
नेपालमा संसदीय शासन व्यावस्थाको प्रयोग गरिएको पनि धेरै भैसक्यो । तर यो व्यावस्थाले देशलाई अग्रगति दिनको सट्टा अधोगति दिईरहेको छ । यसको मूख्य अवगुण भनेको सत्ताको चलखेल वढी हुनु हो । संसदीय व्यवस्थामा वहुमत प्राप्त पार्टीले सरकार वनाउदछन् । तर्सथ सवैजना वहुमत ल्याउन तम्सिन्छन् । आफ्नै पार्टी पनि संसदीय दलको नेता को हुने भन्ने वारेमा ठूलो चलखेल हुन्छ । एकमना सरकार भएपनि आफ्नै पार्टी भित्रवाट पनि सरकार ढाल्न र परिआएमा पार्टी फुटाउन भरमग्दुर कोशिस गरिन्छ । नेताहरु आफुलाई प्रधानमन्त्री र मन्त्री वनाउन सक्दो कोशिस गर्दछन् । सफल नभए अर्को खेमामा परिवर्तन गरी सत्ताको खेल शुरु गर्दछन् । सत्ता र कुर्सीको लागि मात्र ध्यान जाने हुनाले नेताहरु आफ्नो चुनाव क्षेत्रमा जादैनन् । विकासका कुराहरु सोच्न भ्याउदैनन् । प्रधानमन्त्री तथा मन्त्री भैहालेमा प्रचुर मात्रामा विभिन्न योजना तथा व्यापारी, उद्योगपति ठेकेदार आदिवाट ठूलो परिणाममा कमिशन प्राप्त गर्दछन् । अनी अकुत सम्पत्ति कमाउदछन् । त्यसपछि उनीहरु पैसाले राजनीती गर्न चाहान्छन् । उनीहरुलाई जनताको खांचो उती पर्दैन । कोही राजनीती छोडिदिन्छन् । यर्सथ संसदीय राजनितीमा सत्तापक्षको पार्टीबाट नै सत्ताको चलखेल गर्दछन् भने विपक्षी दलकाहरु अझ यस मामलामा सक्रीय हुन्छन् ।
नेपाल जस्तो छिडिएको मूलुकमा यसले ठूलो असर पार्ने गर्दछ । विकसित मूलुकमा पनि संसदीय व्यवस्थाले समस्या सिर्जीएकै हुन्छ । तर त्यहांका जनताहरु सचेत भएकोले उनीहरुले पार्टी राम्रो पक्षलाई हेरी भोट दिन्छन् । तर नेपालमा भोट पैसाले किनिन्छ । गरीव जनताहरु एक कटौरा रक्सी र एक कप चियामा पनि भोट दिने गर्दछन् । केही रकम प्रदान भएमा दिलोज्यान दिएर लाग्दछन् । हाम्रो देशको नेता पनि उस्तै र जनता पनि उस्तै स्तरवाट गुज्रिरहेका छन् ।
पून एउटा पार्टीले राम्रो कार्यक्रम ल्याएमा अर्को पार्टीले पछाडि पर्ने डरले राम्रो कार्यक्रम जनतासम्म पुरयाउन अगावै सत्ता ढाल्ने षडयन्त्र गर्न थाल्दछन् ।
अहिले वर्तमान संविधानसभामा पनि यही संसदीय परीपाटी भएकोले कहिल्यै स्थिर सरकार हुन सकेको छैन । जनताहरु वाक्क भैसकेका छन् । तर निकास आएको छैन । झलनाथ खनाल एमालेवाट प्रधानमन्त्री भएका हुन । तर उनलाई आफ्नै पार्टीले के.पी. ओलीहरुले सत्ताच्यूत गर्न खोजिरहेका छन् । जवसम्म स्थिर सरकार हुदैन तवसम्म संविधान निर्माण प्रक्रिया अवरुद्ध हुनेछ । यी सवै पार्टीले आफ्नो स्वार्थको लागि स्थिर सरकार गठन गर्न दिईरहेका छैनन् । यीनीहरुनै संसदीय व्यवस्थाका कमजोरीहरु हुन् ।
यस्तो समस्यावाट गुज्रन नदिन अध्यक्षात्मक अर्थात राष्ट्रपतीय शासन व्यवस्थाले काम गर्नेछ । यस्तो व्यवस्थामा राष्ट्पतिको चुनाव पार्टीबाट अनुमोदित गरिन्छ । त्यसपछि जनताहरुको माझमा प्रत्यक्ष निर्वाचनको लागि गईन्छ । प्रत्यक्ष निर्वाचनमा स्पस्ट वहुमत ल्याउनु पर्दछ । त्यो नभएमा दोस्रो पटक चुनाव गरिन्छ । त्यसमा पनि स्पष्ट वहुमत नभएमा संसदले वहुमत प्राप्तलाई राष्ट्रपति घोषित गर्दछ । राष्ट्रपतिले आफ्नै हिसावले मन्त्रीहरु नियुत्त गर्दछन् । विपक्षी पार्टीलाई पनि मन्त्री वनाउन सकिन्छ । सांसदहरुलाई मन्त्री वनाईदैन । यदी वनाईएमा उनीहरुको सांसद खारेज हुनेछ । तर्सथ संसदवाट सरकार ढाल्ने चलखेल हुदैन । ढुक्कले शासन गर्न पाउछन् । मन्त्रीहरु राष्ट्रपतिका सल्लाहकार जस्ता मात्र रहन्छन् । उनीहरुको सल्लाह आवश्यक लागेन भने नलिन पनि सक्छन् । मन्त्री परिषद किचनक्याविनेटको रुपमा हुनेछ ।राष्ट्रपति संसदप्रति उत्तरदायी नभएर जनताप्रति हुन्छन् । संसदको आफ्नै काम कर्तव्य हुनेछ । राष्ट्रपतिले राष्ट्रको लागि अहित हुने कार्य गरे, निरंकुश भए संसदले अविश्वासको प्रस्ताव गर्न सक्छ । संसारको उत्कृष्ट राष्ट्रपति शासन भएको देश अमेरिका हो । अमेरिकामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको शक्ति पृथकीकरणको व्यवस्था छ । तिनै निकाय स्वतन्त्र भएर कार्य गर्न सक्छन् । एकले अर्कोलाई हस्तक्षेप गर्न पाउदैनन् ।यद्धपी एकापसमा नियमले वांधिएकोले मनोमालिन्य हिसावले काम गर्न पाउदैनन् ।
फ्रान्स पनि राष्ट्रपतीय शासन भएको देश हो । राष्ट्रपतिको चुनाव प्रत्यक्ष मतदानवाट हुने गर्दछ । तर प्रधानमन्त्रीको चयन संसदीय स्वरुपमा हुने गर्दछ । तर कार्यपालिकाको अधिकार राष्ट्रपतिलाईनै हुनेछ । त्यसैले फ्रान्सको शासन व्यवस्थालाई मिश्रति शासन व्यवस्था मानिन्छ ।
व्रिटिशमा संसदीय व्यवस्था छ । संसदीय व्यवस्थाको जननीनै व्रिटिश हो । संसदीय व्यवस्थाको कारण व्रिट्रिशमा पनि सत्ता परिवर्तन भैरहन्छन् । व्रिटिशको परिपाटी अनुशरण गर्ने राष्ट्र भारत हो । त्यहा पनि सत्ताको खेल वहुत हुने गर्दछ । भारतवाटको सिको नेपाललेगरेको हो । नेपालको सत्ताको चलखेलवारे हामी सवैलाई राम्रै थाहा भएको हो । तर संघात्मक शासन व्यवस्था भएको अमेरिकामा त्यस्तो भएको पाईदैन । अध्यक्षात्मक अर्थात राष्ट्रपतीय व्यवस्थालेनै अमेरिका संसारको सवैभन्दा शक्तिशाली भएको छ । चीनको पनि राष्ट्रपतीय विषेशता रहेको छ । तर त्यहां पार्टीले हाईकमाण्ड हुन्छ । यद्धपी राष्ट्रपतिलाई विशेषाधिकार प्रदान गरिएकोछ । चीनमा पनि सत्ताको चलखेल हुन पाउदैन
देशको विकास नहुनु स्थिर सरकार नहुनु हो । माथिनै भनियोकि स्थिर सरकारको लागि संसदीय पद्धतीभन्दा राष्ट्रपतीय अर्थात अध्यक्षातमक पद्धतीनै उत्तम हुनेछ ।
यसर्थ नेपाल जस्तो अस्थिर सरकारको रोग लागिरहने देशलाई संसदीय व्यवस्था भन्दा राष्ट्रपतीय शासन व्यवस्थानै उपयुक्त हुनेछ । जुन विविध जातजातिको वसोवास भएको मुलुकमा जो सक्षम व्यक्ति पनि राष्ट्रपति हुन पाउनेछ । यहां जातीय एकाधिकारवाद हावी हुन सक्दैन ।
त्यस्तै नेपालले पनि अहिले संघात्मक शासन व्यवस्थाको प्रयोग गर्न गईरहेको छ । यस सन्दर्भमा अमेरिकाको मोडललाई नेपाली हावापानी सुहाउदोवनाउन सकिन्छ । अमेरिकामा दुइवटा संविधान छ । एउटा सिंगो देशको भने अर्को स्वायत्त राज्यको । नेपालमाझै. अमेरिकामा विविध जातजाति धर्मावलम्वीहरु छन् उनीहरु सवैलाई संविधानले समान अवसर प्रदान गरेको छ । जव जनताहरुलाई समान अवसर प्रदान गरिन्छ । तव उनीहरु सन्तुस्ट रहन्छन् । अनी देशमा शान्ति सुव्यवस्था कायम रहनेछ । सरकार स्थिर रुपमा चलिरहन्छ । विकासका कामहरु निरन्तर वढिरहन्छन् । तर्सथ नेपालको मुहार फेर्नलाई एकपटक अमेरिकाको जस्तो अध्यक्षात्मक शासन व्यवस्थाको प्रयोग गरौं । सेावारो ।

Aug 5, 2011

याक्थुङ(लिम्वु) धर्म संस्कारको अवसानको खतरा र जोगाउनु पर्ने आवश्यकता

दिल पालुङवा लिम्वु
शुरुवात
वर्तमान घडिमा आईपुग्दा याक्थुङ धर्म संस्कारमा ठूलो संकट आईपरेको छ । अव यही रुपमा छोडिदिने हो भने निकट भविष्यमा यसको इतिहास मात्र पढ्न सकिन्छ । त्यो पनि विभिन्न मत सहितको अर्थात वेढंगको इतिहास । थालनी व्यवहार सम्मत उदाहरणवाट गरौं । हङकङमा एक महिनाको अन्तराल अर्थात जुनको महिनामा नेपालका प्राध्यापक तथा कियाचु हङकङका भूपु सल्लाहकार तिलक थाङदेनको मृत्युसंगै अन्य दुइृजना लिम्वुहरुको मृत्यु भयो । मृत्यु हुनु स्वभाविक हो तर त्यसपश्चात गरिने परम्परागत विधी विधान अर्थात संस्कारका कुराहरुमा समस्या आईदियो । फेदाङमा नभएको ठाउमा फेदाङमाको खोजी तिव्र भयो तर कहां पाउने । हुनत यो समस्या पहिलेदेखिनै खट्केको थियो । एकदुइजना भएका फेदाङमाहरु प्नि कामले गर्दा भ्याउदैनन् । फेरी भएकाहरुपनि कर्म गर्न मान्दैनन् । त्यस्तै कोही फेदाङमा क्रिश्चीयन पनि भैसकेका छन् । यसो भएपछि कस्ले कर्म चलाउने । अनि खोजिन्छ तुम्याहाङहरु, त्यो पनि कहां भेटने – तसर्थ फसाद हुन्छ । यसपाली यस्तै समस्या आयो । यद्धपी एकजना फेदाङमालाई थाङदेनकोमा र एकजना तुम्याहाङलाई अर्कोकोमा व्यवस्था भयो वढो दुख कष्टकोसाथ ।
अव प्रशन उठ्यो अव हङकङेली लिम्वुहरु कहिलेसम्म यस्तो समस्याहरुमा परिरहने । कस्ले सोच्ने यसवारे । चुम्लुङले पनि यसवारेमा काम गर्न सक्ने स्थिती छैन । त्यसै कुरामा चिन्तित भएर म स्वयं नेपाल गएको वेला नेपाल चुमलुङको अध्यक्ष अर्जुन नुगो लगायतसंग धार्मिक पक्ष वारे छलफल चलाएको थिए । त्यस्तै लिम्वुवान स्वायत्तकोवारेमा । दुवैकुरामा गर्दै जाऔं मात्र आयो । त्यस्तै आफ्नै गाउ ताप्लेजुङ सिम्ले पुगे । त्यहा पनि फेदाङमाको अभाव देखे । भएका मरे, मर्दैछन् ।नयां निस्कने होईनन् । लिम्वुवानमा त यस्तो विकरालसमस्या छ भने हङकङ लगायत विदेशमा यसको समस्या स्वत हुनेनै परयो । यसै सम्झेर हङकङमा केहीसाथीहरु भूपेन्द्र चेमजोङ, हस्त मास्वा आदि हामी मिलेर एउटा याक्थुङमौलिक धार्मिक संस्थाको थालनी गरिरहेका छौं । हुनत म र भूपेन्द्र लगायतका कति साथीहरु नास्तिक हौं । यद्धपी समस्या आफैमाथि आईपर्दा आफ्नो संस्कार संस्कृतिको लागि केही गर्नुपर्ने रहेछ भन्ने लागेर आई मूर्तरुप दिन लागिएको हो । हाम्रो तदर्थ समितीले यसले गति लिन सकेको छैन । भविष्यमा लेला, आशा गरौं । हामीलाई चिन्ता लागेको छ । हामीजस्ता धेरै दाजुभाई दिदीवहिनहिरुलाई आफ्नोपन हराएर जान लागेकोमा चिन्ता छ । तर यसको समाधान के हो त ? त्यसको जरो पहिल्याउन सकिएको छैन । यो समस्याले गर्दा कतिपयहरु सत्यहाङमा भएका छन् ।त्यसलाई सवैले स्वीकार्न सकेका छैनन् ।किनकी त्यसमा मौलिकता भएको पाईदैन भनिन्छ । यसरी मौलिकता खोज्नेहरुको पनि दिनप्रतिदिन उधोगति जादैछ । कोही सत्यहाङमा पन्थलाई अगाल्नेभए । कोही दुवैलाई त्यागेर क्रिश्चियन भएका छन्, हुदैछन् । यो क्रम वढ्दो छ । यो क्रम विदेशमा वढी छ भने स्वदेशमा पनि भैरहेको छ । यही क्रम वढेर जाने हो भने भविष्यमा याकथुङ धर्म संस्कार संस्कृति लोप भएर जानेछ । यो अकाट्य हो । अनी आफ्नो वारेमा सोच राख्नेहरु चिन्तित नहुने कुरै भएन । अव भएर मात्र हुदैन, लोप हुनवाट जोगाउनुपनि पर्दछ । यसको लागि समाजका सचेत वर्गहरुनै लाग्नुपर्ने हुन्छ ।
अव के गर्ने ?
याक्थुङ धर्म संस्कार संस्कृतिको विचलन पहिले देखि नै भएको पाईन्छ । तर समाजका अगुवाहरुले यसलाई जोगाएरनै ल्याएर आए । जव किपट प्रथा वि.सं. २०२१ सालदेखि हडप गरियो । अनी सुव्वाहरुको प्रशासन समाजमा भएन । त्यो भन्दा अघि लिम्वु राज्य र राजा हुदा राजाहरुले धर्म कर्म थामेर ल्याएका थिए । त्यसपछि सुव्वाहरुले ल्याए । सुव्वा प्रथा हटेपछि लिम्वु समाजमा केन्द्रीय सरकारले ठाउ लियो । केन्द्रीय सरकार हिन्दू धर्मावलम्वी भएकोले सवैलाई हिन्दूधर्म मान्न वाध्य गराईयो । लिम्वुभाषा वोल्नेहरुलाई खस नेपाली भाषा वोल्न वाध्य गराईयो । संस्कार संस्कृतिमा हिन्दूकृत वनाईयो । समाज याक्थुङवाट नचलेर सरकारको प्रतिनिधि तथा पार्टीवाट चलाईयो । तर्सथ याक्थुङ धर्म संस्कृतिमा हिन्दू प्रभाव परेको हो । जव केन्द्रीय सरकारले स्थानीय याक्थुङ समुदायमा शासन गर्न शुरु गरयो । तव देखि गाउका अगुवाहरुपनि केन्द्र सरकारको माताहतमा चल्नुपर्ने भयो । समाज तथा समुदायको कार्य गर्न मिलेन । फेरी जाति केन्द्रित भएमा केन्द्रसरकारले कारवाही गरिहाल्थ्यो । अनी संरक्षण नपाएपछि धराशयी वन्ने कुरा भैहाल्यो । कहिले क्रान्तिकारी, आमुल परिवर्तनकारीहरु भन्दै आएर पनि याक्थुङ धर्म संस्कारलाई तहसनहस वनाईदिएका छन् । याक्थुङ समाज यसरीनै गुज्रिदै आएको छ । समाज पनि हत्याहाङमा(परम्परावादी) र सत्यहाङमा(सुधारवादी) भनेर विभाजित भएको छ । सुधारवादीहरुले हिन्दूवाहुनहरुको जस्तो देखिने कतिपय संस्कारहरु ग्रहण गरेको र यही चाही मौलिक हो भने पछि परम्परावादी र उनीहरु विच पानी वारावारको स्थिती आएर समाजलाई स्पस्ट रुपमा दूइ धारमा वांडेको छ । सत्यहाङमा संगठित भएकोले उनीहरुले धार्मिक सिस्टम वनाएर सोही मुताविक अगाडि वढिरहेका छन् । तर हत्याहाङमाहरु संगठित छैनन् । पुरानै वावुआमाले गरिल्याएको देखासिकीमा काम गर्दैछन् । फेदाङमा पनि हराउदै जानु र त्यसको विकल्प ल्याउन नसक्नु यो पक्षको समस्या भएर आएको छ । यो पक्षहरु परम्परालाई तोड्न चाहदैनन् । उनीहरु क्रमश आफ्नै ढंगले समाज सुधार पनि गरिरहेका छन् । पहिले भन्दा अहिले धेरै समय सापेक्ष सुधारहरु भएका छन् । जस्तै जांडरक्सी खान छोडेका छन् । रितभात पनि खान छोडेका छन् । फजुल खर्चहरु कम गर्दैछन् । यद्धपी यो धारको स्थिती यस्तै परम्परागत रुपमा चल्दै गएमा धराशयीको सम्भावना चाडै आउदैछ । त्यसको लागि निम्न कार्य गरिहाल्नुपर्ने हुन्छ ।
धार्मिक संगठनको स्थापना
माथिल्लो अध्यायहरुमा पनि उल्लेख गरिएको छ कि पहिले राजाहरुले, पछाडि सुव्वाहरुले तथा अगुवाहरुले याक्थुङ धर्म संस्कारको कार्य गर्दथे । तर अहिले समाजमा त्यो खालको स्थिती छैन । जातीय मिश्रणको वसोवास आदिले पनि यस्ता समस्याहरु निम्त्याईरहेको छ । कोही हिन्दू मान्ने वाहुन क्षेत्री वस्दछन् । कोही नेवार वस्दछन्, कोही वुद्धिस्ट वस्दछन् । यस्तो छासमिस वसाईमा आफ्नो धर्म संस्कार गर्न एक्लै समस्या आउदछ । उसको समुदायसंग सम्पर्क गर्न टाढा जानुपर्दछ । यसर्थ समाजमा यस्ता कार्य सञ्चालन गर्ने नहुदा यो धराशयी वन्ने कुरा भैगयो । यस्तै यस्तै समस्याहरुले गर्दा याक्थुङ परम्परावादीहरुले मौलिक धर्म संस्कार संस्कृतिको वचावटको लागि एक धार्मिक संस्था संगठन निर्माण गर्न नितान्त आवश्यकता छ । तव यो संस्थाले धार्मिक कार्यहरु गर्न सकोस । यसले फेदाङमा उतपादन गर्नेछ । त्यो नभएमा विकल्पहरु खोज्नेछ । धार्मिक सामाग्रीहरुको निर्माण तथा प्याटेन्ट र्राईटहरु आफ्नो हातमा राख्न सक्नेछ । समाजको पविर्तनसंगै समय र परिस्थिती अनुसार कार्य गरेर आफ्नो मौलिकता जोगाइरहनेछ ।यस संस्थाले वर्तमान केही समस्याहरुको पनि निदान गर्नेछ । ती समस्याहरुमा धर्मको नाम र संस्कार संस्कृतिमा सुधार पर्दछन् ।
धर्मको नाम
याक्थुङहरुको धर्मको नाम छैन । धर्मको महलमा लेख्नुपर्दा अलमल्ल परिन्छ । के लेख्ने, के नलेख्ने । छोराछोरीले सोच्छन् कोही क्रिश्चियन, कोही मुस्लिम, हामीचाही के हो ? यसको उत्तरमा हाम्रो छुट्टै हो । अं.. यूमा हो, कसैले किरात हो..अ. यस्तै यस्तै भन्यो । कुरो स्पस्ट हुदैन । म स्वयं यो समस्यावाट ग्रसित छु । कतिसमयसम्म छोरालाई आं...उं... गरेर भन्ने - पहिले युमा धर्म भन्ने चलन थियो । कसैले योत नाम होईन देवी मात्र हो भन्दछन् ।त्यसैले अर्जुन थक्लुङहरु याकथङुहरुको धर्मको नाम मुन्धुम हो भन्दछन, अर्जुन मावोहाङ(धरान) र सिक्किमका लिम्वुहरु युमा धर्म भन्दछन् । सत्यहाङमाहरु किरात भन्दछन् । दिल पालुङवाहरु येहाङ धर्म भन्दा उपयुक्त हुने तर्क राख्दछन् । यीनीहरुमा आ आफ्नै तर्क छन् । युमा र इस्टदेवी हुन । परम्परागत रुपमा मान्दै आएको हो । यी सर्वोच्च देवी भएकीले यीनको नाममा राखिएको हो । मुन्धुम भनेको हल्लिएर शक्ति उत्पन्न हुने शाव्दिक अर्थ लाग्दछ । यसको अर्थ सत्य भन्ने पनि लाग्दछ । त्यसैले यो नाम रहनुपर्दछ । किरात भनेको किरात समुदायहरुले मान्ने भएकोले किरात भनिएको हो । येहाङ भनेको याकथुङहरुको आदि पुरुष हुन् । उनले याक्थुङहरुमा सवभन्दा पहिले धर्म,कर्म संस्कार संस्कृतिको कुराहरु सिकाए । देउदेउतालाई पुजा गर्नै तरिका वनाएर समाजमा लागुगरे । हालसम्मको याकथुङ समाज, धर्म कर्म, संस्कार संस्कृति यीनै येहाङका देन हुन् । यसभित्र दर्शनै दर्शनको अथाहा सागर छ । युमा, मुन्धुम, किरातका दर्शनहरु यही येहाङ दर्शन हुन । त्यसैले विश्वमा यस्ता दर्शनदाताहरु वुद्ध, क्रार्इस्ट आदिको नामवाट चलेको धर्मको नामझै येहाङ हुन सक्ने येहाङवादीहरु वताउछन् । यीनै येहाङको दर्शनवाट क्रिश्चियन, वुद्धिष्ट, मुस्लिम, हिन्दूहरु सञ्चालित छन् । येहाङ सृष्टिकालिन भएकोले सवैले उनवाट केही न केही ग्रहण गरेका छन् । यर्सथ लिम्वु धर्मको नामहरुको पनि किटानी मौलिकपाराको हुनुपर्दछ । किरातमा याकथुङ मौलिकपन नभएको तर्क सवैको रहेको छ । मुन्धुम शास्त्रको अर्थमा व्यक्त्याएको पनि पाईन्छ । यी सवै कुराहरुलाई मध्यनजर लगाउनु सान्दर्भिक हुनेछ ।
संस्कार संस्कृतिमा सुधार
याक्थुङ संस्कार संस्कृतिमा केही सुधारको खांचो पर्दछ । कतिपय संस्कार संस्कृतिहरु समयको वहावसंगै पविर्तित हुने गर्दछन् । कतिपयलाई समयानुसार परिमार्जन गर्नुपर्ने हुन्छ । जस्तै रितभातको कुरा अहिलेको घडिमा सान्दर्भिक छैन । तर तत्कालिन लागु गरिएको समयमा समय सापेक्ष थियो । छोरीचेलीलाई दूख दिने ज्वाईंलाई ठेगानमा ल्याउन र छोरीचेलीलाई उक्त रितभातवाट लिईएको सुन तथा रकम छोरीलाई भैपरिआएको परिस्थितीमा दिईन्थ्यो । त्यसले याक्थुङ समाजमा छोरी चेलीलाई दुख दिने क्रम, वहुविवाह गर्ने क्रममा सुधार भएको थियो । तर यसलाई आजकल नलिएर छोरी चेलीलाई सहयोग गर्ने चलन चल्न थालेको छ । त्यस्तै विहा वर्खीमा फजुल खर्च गर्ने चलन छ । वढी पुजापाठ गर्ने चलन छ । जांडसक्सीको वढी प्रयोग छ भने कतिपय राम्रो र शिस्टाचारका कुराहरु प्रचलनवाट हट्दै गएका छन् । घर परिवारमा सिकाईने सस्कार, समाजमा सिकाईने सस्कार, राष्ट र राज्यका लागि सिकाईने सस्कारहरु प्रयोगमा छैनन् । युमाको थान हुनुपर्ने ठाउमा र्साईवावा र जीसस आदिका फोटोहरु छन् । मुन्धुमको ठाउमा संस्कृत, नेपाली भाषा त वाईवल रामायण, गीता, भगवत पुराण छन् । उनीहरुको सम्मान आफ्नो ठाउमा छ । तर आफ्नो आफ्नै मौलिकता हुदाहुदै त्यो पनि संसारकै उत्कृस्ट मुन्धुम हुंदाहुदै पनि हामी अलमल्ल परेर वाटो विराईरहेका छौं । भेषभुषामा, लवाईखवाईमा पनि सुधार गर्नुपर्ने हुन्छ । पुजापाठका सामानहरुपनि सुधारेर निर्माण गर्नुपर्ने हुन्छ । जस्तो शहरवजारको विल्डिङ घरहरुमा वांसको तङवा गाडिदैनन् । त्यस्तै थाल ठटाएर कतिपय कार्यहरु गर्न पनि समस्या भैरहेका छन् । फेदाङमाको उत्पादन, मैखिकलाई लिखितमा ढाल्नु पर्ने मुन्धुमहरु, यी मुन्धुमहरुमा थोरवहुत फरकता पनि पाईन्छ । त्यो पनि मिलाउनुपर्ने देखिन्छ । यस्ता धेरै कुराहरु छन् हामीले गर्नुपर्ने । तसर्थ यो कार्य धार्मिक संगठनले मात्र गर्नसक्नेछ ।
अन्त्यमा
यी माथिका कुराहरुलाई मध्यजर गर्दा याक्थुङ धर्मसंस्कारमा धेरै विचलन आएको छ । यसलाई समयमानै निराकरण गर्नुपर्ने हुन्छ । त्यसको लागि अरु कसैले आएर गर्नेवाला छैन । सवैलाई चिन्ता पनि लागदैन । एक शोक एक भोगका मान्छेहरु पनि समाजमा हुन्छन् । उनीहरु जे परे पर्छ उही र्टछ भन्ने गर्दछन् । त्यसैले यस विषयप्रति चिन्तित, सम्वेदनशिल अस्तितववादीहरुनै लाग्नु पर्ने हुन्छ । यसमा भौतिकवादीहरु पनि कदापी लाग्दैनन् । यसर्थ तत्कालै याक्थुङ धर्म संस्कार संस्कृतिको अस्तित्व वजावटको लागि कार्य गरिहाल्नुपर्ने देखिन्छ । यसको लागि लिम्वुवान लगायत विदेशमा रहने सवै याकथुङ लिम्वुहरु लागि परौं । सेवारो ।

Jul 2, 2011

जनजाति पत्रकार संघ गठनको सूचना

सूचना सूचना सूचना सूचना सूचना सूचना सूचना सूचना

हंगकंगमा पहिलो पटक नेपाली आदिवासी जनजाति पत्रकार संघ गठन सम्बन्धि छलफल गर्न गै रहेकोले हंगकंगमा रहनु भएका सम्पूर्ण आदिवासी जनजाति पत्रकार,लेखक तथा साहित्यकार,आदिवासी जनजाति हकहितको लागि सचेत सम्पूर्ण महानु भाबहरुलाई तलको मिति, समय र स्थानमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ ।

२४ जुलाई २०११
दिउसोको १२.१५ बजे
पहिलाको ओर्कर युनियनको कार्यलय, ५६६ क्यान्टोन रोड,जोर्डन हंगकंग
सम्पर्क नं – ९७७३०२६४,९४७७८४८२,९७०६१९२५