May 6, 2012

लिम्वुवानवारे वुझ्नै पर्ने कुरा

दिल पालुङवा लिम्वु 
विषय प्रवेश 
वर्तमान घडिमा राज्यपूनसंरचनाको वहस चलिरहेको समयमा लिम्वुवानमा लिम्वुवानवारे व्यापक चर्चा परिचर्चाहरु भैरहेकाछन् । त्यहा साना ठूला आन्दोलनहरु पनि भैरहेका छन् । मागकर्ता सवैले अरुणपूर्व ९ जिल्लाहरु लिम्वुवान भनिरहेका छन् । तर लिम्वुवानवारे केन्द्र तथा ठुला पत्रिकाहरुमा त्यती वहस हुन पाएका छैनन् । लेखनीको सवालमा यसको विषयमा लेख्नेहरु कम भएर हो या पूर्वाग्रह हो त्यो वुझ्न सकिएको छैन । जतिपनि लेखहरुमा लिम्वुवान सम्वन्धी प्रसंगहरु आउछन् अस्पस्ट र पूर्वाग्रहपूर्वक रुपमा आएका पाईन्छन् । ती लेखहरु पढ्दा लिम्वुवान सम्वन्धी अध्ययन नगरेको र केटाकेटीपनको प्रतित हुन्छ । इतिहासकारहरुलाई व्यंग गरेको आभाष पाईन्छ । कुनै पनि लिम्वुवान सम्वन्धी ज्ञाताहरुको कलम पत्रिकामा नचलेको देखिन्छ । त्यसैलाई मध्यनजर गरेर मैले पनि वुझेसम्मको लिम्वुवान सम्वन्धी केही यथार्थ कुराहरु सवैसमक्ष राख्न यो लेख तयार पारेको अवगत गराउन चाहान्छु । सम्वन्धितहरुलाई लिम्वुवान सम्वन्धि पुस्तकहरु पढ्न पनि आग्रह गर्दछु । 

कुन ठाउलाई लिम्वुवान भनिन्छ ? 
नेपालको सुदुर पूर्वको ठाउलाई लिम्वुवान भनिन्छ । अर्थात मेची अञ्चलको ४ जिल्लाहरु ताप्लेजुङ, पानथर, ईलाम, झापा र कोशी अञ्चलको संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङ जिल्लाहरु लिम्वुवान अन्तर्गत पर्दछन् । त्यस्तै सिमानागत रुपमा मेची नदी पश्चिम, संखुवासभाको सिस्वा खोला, संखुवाखोला र अरुण अनी सप्तकोशी पूर्व, तिव्वत दक्षिण र भारत उत्तर पर्दछन् । खोलाले पूर्व पश्चिमको, हिमालले उत्तरको र भारतले दक्षिणको सिमाना स्पस्ट रुपमा छुटयाएको छ । लिम्वुवान जातिय नाम कि क्षेत्रीय ? लिम्वुवान जातिय नाम नभई क्षेत्रीय नाम हो । मेची अञ्चल नदीको नामवाट भएको मेची क्षेत्रको नामझैं लिम्वुवान पनि तत्कालिन लिम्वुवान देशको नाम हो । यो लिम्वुजातिवाट वनाईएको अहिलेको नयां ताजा नाम होईन । तर हाल केहीले लिम्वु जातिको जातीय नाम हो र यो जातिय नाम राख्नु हुदैन भनेको पाईन्छ । यो एउटा क्षेत्रको नामलाई जातिय नाम दिएर भांजो हाल्न मात्र खोजेका हुन् भन्ने प्रतित हुन्छ । 

लिम्वुवान देश कहिले थियो ? 
किरात इतिहासकार ईमानसिं चेम्जोङ लगायत इतिहासकारहरुको अनुसार लिम्वुवान देशको स्थापना छैटौं शताव्दीमा भएको हो । तत्कालिन समयमा उक्त क्षेत्रमा ८ जना लिम्वु राजाहरुले संघीय प्रणाली मुताविक राज्य गर्दथे । समयक्रममा उनीहरुले जनताहरुलाई अन्याय गर्न थाले । तसर्थ जनताहरु आन्दोलित भएर धनुकांड युद्ध लडे । विद्रोहीले सत्ता कव्जा गरे । उनीहरुले ८ क्षेत्रको लिम्वुवानलाई १० क्षेत्रमा विभाजन गरेर राज्य गरे । यो क्षेत्रलाई थुम भनियो । लिम्वु भाषामा धनुकांडलाई “ली” भनिने हुंदा आफुले जितेको भूमिलाई लिम्वुवान र त्यहाको जनतालाई लिम्वु भने । जस्तै पहिला नेपाल भयो । त्यसपछि नेपाली । त्यसैले तत्कालिन याक्थुङवाहरु लिम्वु भनिन थाले । त्यो वेलाको लिम्वुवानको सिमाना माथि उल्लेखित सिमाना सहित हालको नेपाल वाहिरसम्म पर्दथ्यो । त्यही वेलादेखि लिम्वुवान भनिदै आएको हो । त्यो भन्दा अगाडि यो क्षेत्रलाई याक्थुङ लाजे भनिन्थ्यो । त्यसैले यो वुझ्न जरुरी छ कि लिम्वुवान राज्य पूनसंरचनाको लागि मात्र अहिले उठाईएको विषय होईन । यो लिम्वुवानको ऐतिहासिक नामको कारण निरन्तरता खोजिएको हो । 

लिम्वुवान कसरी नेपाल भयो ? 
छैटौं शताव्दीदेखि लिम्वुवान निरन्तर रुपमा लिम्वुवानको नामवाट चिनिदै आयो । १० स्वायत्त राज्यहरुमा १) ताम्वायक(तमरखोला)२)मेवा(मेवाखोला)३)याङवरक(याङरुप) ४)फेदेन(हाल पाचथर) ५)फाकफोक(ईलाम)६)चेनलुङ(चैनपुर संखुवासभा) ७)पोमाजुङ(आठराई)८)फेदाप(तेह्रथुम)९)सुदाप(छथर)१०)चाविसा(चौविस धनकुटा) थिए । फाकफोक(ईलाम)ले वंगलादेशसम्म र चाविसा(चौविस)को सिमाना जलालगढ(भारतको हाल पूर्णिमासम्म) पर्दथ्यो । यद्धपी यो दश थूमीय राज्यहरु पछिल्लो समयमा धेरै उपराज्यहरुमा सञ्चालितहुदै आए । त्यसै क्रममा पन्ध्रौं शताव्दीमा साङलाईङ नामक लिम्वु राजाले हाङफुक्ला(हालको धरानको विजयपुर)मा एउटा राज्य स्थापना गरे । पछि राजा र उनको मन्त्री विचको खटपटको कारण मकवानपुरको सेनहरुलाई मन्त्री समुहले साङलाईङ वंशलाई हटाएर राजा वनाए । तव लिम्वुवानको विजयपुरमा सेन वंशी राजा भए । वंशावली अनुसार लिम्वुहरुले सेनहरुलाईपनि लिम्वुकै वंश मानेको पाईन्छ । पछाडि यो सेनवंशले लिम्वुवानभरी आफ्नो प्रभाव जमायो । साङलाईङको सन्तानहरु हाल लिम्वु सावादेन थरी र तेह्रथुमका फेदापे लिम्वुको रुपमा रहेका छन् । सेन लिम्वुहरु पनि याङरुपका लिम्वुका रुपमा रहेका छन् । यो सेन वंश र उनीहरुको खेवा मन्त्री(वंशानुगत प्रधानमन्त्री) वुद्धिकर्ण विच वैमनष्यता शुरु भयो । खेवा मन्त्रीले सेन राजा कामदत्तको हत्या गरी विजयपुरको राजा वि.सं.१८२८ मा भए भनि ईमानसिं चेम्जोङ भन्नुहुन्छ । खेवाहरु छथरे लिम्वुहरु हुन् । हाल उनीहरु छथरको सुदाप,धनकुटाको हात्तिखर्कमा वसोवास गर्दछन् । यही वंशका हरि खेवा हाल नेपालको अर्थ राज्यमन्त्री भएका छन् । विजयपुरले सवैथुमहरुमा केन्द्रीय सत्ताको रुपमा काम गरेपनि सानातिना धेरै रजौटाहरु लिम्वुवानमा थिए । उनीहरु आफ्नै ढंगले चल्दथे । वि.सं.१८३१ तिर उक्त लिम्वुवान क्षेत्रमा गोर्खाले आक्रमण गरयो । इतिहास अनुसार १७ पटक आक्रमण हुंदा पनि गोर्खाले लिम्वुवानलाई जित्न सकेन । लिम्वुवानको वीर सेनापती कांसोरे लगायत वीर योद्धाहरुले विरतापूर्वक लडेर लिम्वुवानलाई रक्षा गरेका थिए । त्यसैले गोर्खाका राजा पृथ्वी नारायण शाहाले कुटनितिक अपनाई लिम्वुवानलाई सवै अधिकार दिएर स्वायत्त राज्यको रुपमा वसिदिन आग्रह गरयो । पहिला सेनवंशको पालामा पनि वसेकोले गोर्खाको अण्डरमा वि.सं.१८३१ साउन २२ गते स्वायत्त राज्यको रुपमा वस्ने सन्धी गरे । उक्त सन्धी पत्रको लालमोहर अझै पाईन्छ । यही वेलादेखि लिम्वुवान गोर्खाको मातहतमा स्वायत्त राज्यको रुपमा रहयो । यही गोर्खा पछि नेपाल भनिएकोले लिम्वुवान पनि नेपाल भनिन थालियो । 

लिम्वुवान स्वायत्त शासन कहिलेसम्म रहयो? 
वि.सं. १८३१ देखि शुरु भएको स्वायत्त शासन वि.सं.२०२१ मा राजा महेन्द्रको किपट प्रथा उन्मूलनसम्म कानुनी रुपमा रहेको थियो भने व्यवहारिक रुपमा मूख्य गरेर अन्तिम नापी वि.सं.२०४५ सम्म कायम भएको थियो र अन्तिम अवषेश लिम्वुवानको संखुवासभामा मालपोतले कार्य नगरुन्ज्याल वि.सं.२०५२ सम्म रहेको थियो । स्वायत्त अधिकार भूअधिकारको साथै प्रशासनिक अधिकार पनि रहेको थियो । लिम्वु जातिले मात्र लिम्वुवानको भूमि भोग चलन गर्न पाउने चलन थियो । त्यसलाई किपट प्रथा भनिन्थ्यो । हुनत तत्कालिन समयमा लिम्वु जाति मात्र लिम्वुवानमा वसोवास गर्दथे । वोर्डर क्षेत्रमा लिम्वुले लिम्वुनै भनिने अन्य जातिहरुमा याक्खा, आठपहरे, लोहरुङ, मेवाहाङ, याम्फु आदि पनि वस्दथे । त्यस्तै लेप्चा, कोचे मेचे र धिमालहरु पनि वस्दथे । आआफ्नो क्षेत्र ईलकामा सुव्वाको रुपमा शासक हुन्थे । अमाली पनि हुन्थे । यीनै सुव्वाहरुले अन्य जातिहरु लिम्वुवानमा केन्द्रीय राजाको निती अनुसार जनता या रैती वनाएर राखेका थिए । यो प्रथाको सरकारी अनुमोदन वि.सं २०१७ सम्म गरिएको थियो । विसं.१८३१ मा यो प्रथा सिस्वा संखुवाखोला अरुण हुदै सप्तकोशी पूर्वमा कायम थियो भने केन्द्रले तराईलाई आफ्नो मातहतमा राख्दै विसं. २००८ मा त्रिभूवनले माल र लाख कायम गर्दै सिमाना भुढे सिमल हरैचासम्म मात्र राखे । सोही वमोजिम सुव्वाहरुले उक्त ईलाकासम्म आफ्नो स्वायत्त अधिकार उपभोग गरेका थिए । किपट प्रथाको उन्मूलनको शुरुवातमा अर्थात वि.सं. २०२२–२०२५ तिर ठूला ठूला किपट थमौतिका आन्दोलनहरु भए । तर केन्द्रीय पञ्चायती सरकारको धरपकडले आन्दोलन दवाईयो । केन्द्र सरकारले एकतर्फी रुपमा लिम्वुवानमा जग्गा नापी गर्ने कार्य गर्र्दै मालपोत खडा गर्न थाल्यो । सुव्वाहरुले आफै तिरो उठाउने काम मालपोतले गर्न थाल्यो । कानुनी प्रशासनिक कामहरु अलदालत र सिडियो कार्यालयलहरुले गर्न थाल्यो । यो सुव्वा प्रथा विं.सं.२०५२ सम्म रहेको थियो । अर्थात आजभन्दा १५ वर्ष अघिसम्म रहेको थियो । 

लिम्वुवानको, सेन्टीमेन्ट के हो त? 
परापूर्वक कालदेखिनै लिम्वुवानको निरन्तरता हुदै आएकोले लिम्वुहरु आफ्नो भूमि या क्षेत्रको नाम लिम्वुवान भएको चाहान्छन् । लिम्वुवानलाई उनीहरु आफ्नो प्राण जतिकै सम्झन्छन् । तसर्थ लिम्वुवान वेगरको नाम उनीहरुलाई असह्य हुन्छ । आफ्नो संस्कार परम्परा इतिहास आदिको कारण लिम्वुवान स्वायत्तताको कुरा उनीहरुको व्लडमा रहिरहन्छ । तसर्थ लिम्वुवानको आवाज कहिल्यै मेटिदैन । लिम्वुवानमा वसोवास गर्ने अन्य जातिहरु पनि लिम्वुवानप्रति सदासयता प्रकट गर्दछन् । किनकी उनीहरु साह्रै मिलेर वसेका छन् । त्यस्तै लिम्वुवान क्षेत्रको नाम भएकोले पनि लिम्वुवानवाट लिम्वुवानको विरोध नभएको हो । तर दलहरुले जातिय कुराहरुलाई विछट्टै उरालेर लिम्वुवान पनि जातिय नाम हो भनेर अफवाह फैलाई रहेकाछन् । यो एकदम गल्ती गरिरहेका छन् । लिम्वुवानको सेन्टीमेण्ट वुझ्न सकिरहेका छैनन् । 

लिम्वुवानलाई मधेस कोचिला मान्य हुदैन
लिम्वुवानको आफ्नो भूमि भित्रको भाmपा, मोरङ र सुनसरीलाई कतिपय राजनिती पार्टीले मधेस कोचिला भनेका छन् । कसैले पुर्वी थारुवान भनेका छन् । तर लिम्वुवानको इतिहास अनुसार उल्लेखित भूमि लिम्वुवान हो । उहिल्यै लिम्वु राजा कोचुहाङले यी क्षेत्र लगायत हाल भारतमा पर्ने छिमेकी भूभागहरुमा राज्य गरेका थिए । उनको राजधानी क्षेत्रलाई चापा(झापा) भनिन्थ्यो । उनका सन्तान कोचे मेचे भए । कतिपय यीनै कोच घरानाका लिम्वुहरु हाल लिम्वुवानको तेरथुमतिर वसिरहेका छन् । कतिपय मेचे र राजवंशी पनि भए भनिन्छ । त्यसैले हाल पनि यीनीहरुले लिम्वुहरुसंग दाजुभाई भएको कुरा गर्ने गरेको सुन्न पाईन्छ । त्यस्तै तराईका धिमाल र लिम्वुहरु पनि दाजुभाई मानिन्छन् । सातौ शताव्दीमा एकजना प्रख्यात लिम्वु राजा मावरोङहाङले रंगेलीमा राजधानी वनाई मोरङ राज्यको रुपमा राज्य गरेको पनि इतिहास छ । लिम्वुवानको एक राजा पर्वतक(पर्वते) ले चन्द्रगुप्तलाई नन्द राजाको विरुद्धमा लड्न सघाएका थिए । विजय पश्चात पूर्णिमा क्षेत्रको ठुलो क्षेत्र चन्द्रगुप्तले उनलाई राज्यगर्न दिएका थिए । मुन्धुम अनुसार लिम्वुवानको राज्य गंगा नदिसम्म फैलिएको पाईन्छ । मुन्धुमले दक्षिणी सिमाना तेमेन वरक(समुद्रसम्म) भएको उल्लेख गरेकोले श्रीलंकासम्म पनि लिम्वुवानको सम्वन्ध रहेको वुझ्न कठिनाई हुदैन । मुन्धुममा श्रीलंकालई सिंगपलाजे भनिन्छ । वि.सं.१८३०–३१मा लिम्वुवान गोर्खा युद्धमा लिम्वु फौजहरुमात्र लडेका थिए । तराईमा पनि लिम्वुवाहेक अन्य राजा तथा राज्यको अस्तित्व रहेको देखिदैन । वरु सिक्किमले लिम्वुवानलाई सघाएको पाईन्छ । 

लिम्वुवान र नेपालको सम्वन्ध लिम्वुवानको सम्वन्ध 
तत्कालिन नेपाल(हाल काठमाण्डौ)संग परापूर्वककालदेखि रहिआएको छ । लिम्वुवानतिरवाटै लिम्वु राजा यलम्वरहाङले काठमाण्डौमा राज्यस्थापना गरेका हुन् । काठमाण्डौलाई लिम्वुभाषामा नेवाला तेम्वे(समथर स्थान) भनिन्छ । त्यसैले उक्त देशको नाम नेवाला हुदै नेपाल रहन गएको हो भन्ने लिम्वु लोकोक्ती तथा इतिहास पाईन्छ । काठमाण्डौमा थाङकोत, वुङमती, चावेल, पाटन, सुम्लाङ आदि धेरै लिम्वु भाषावाट राखिएका नामहरु अद्यापी छन् । पशुपति उनीहरुकै मन्दिर मान्दछन् । लिम्वुवानसंग नाम मिल्ने पश्चिम नेपालको लिवाङ, तनहुं, सेङजा, सेराथुम, सेगुम्वा आदि धेरै ठाउहरु रहेकाछन् । यी विविध कारण पनि लिम्वुवान काठमाण्डौ वा नेपालसंग कदापी अलग हुन चाहदैन । 

निश्कर्ष 
वर्तमान घडिमा लिम्वुवान भनेको जातिय नाम भएको र लिम्वुजातिले मात्र जातिय नाममा राज्य गर्ने भन्ने जुन लेखहरु छन् । वहसहरु भईरहेका छन । नेताहरुले जातिय लेपन मात्रै लगाएका छन् । अवश्य त्यस्तो नभई यो एउटा क्षेत्रको नाम भन्ने वुझिनु पर्दछ । लिम्वुवान तत्कालिन समयमा लिम्वु जातिमात्र भएको देखिएतापनि हाल आएर धेरै जातिहरु रहेकाछन् । त्यस्तै देश संघीय रुपमा आईरहेकोले यो पूर्वी क्षेत्रको नाम लिम्वुवान हुन सान्दर्भिक देखिन्छ । अरुण सप्तकोशी पूर्वको नेपालको ९ जिल्लाहरु लिम्वुवान भएकोले अहिलेको राज्य पूनसंरचनामा उक्त भूमि टुक्रनु हुदैन । भौगोलिक हिसावले पनि यो क्षेत्र पायक पर्दछ । आदिवासीय अग्राधिकार हुनुपर्दछ । साथै सवै जातिहरुसंग लिम्वुवानले समान अवसरले वढ्ने वातावरण वनाउनसक्ने देखिन्छ । हिमाल, पहाड, तराई भएकोले विकास निर्माण र जातिय सद्भाव कायम रहनेछ । लिम्वु जातिमा उक्त क्षेत्रको परम्परागत रुपमा आगाध र प्रगाढ माया, सम्वन्ध, समरुपी सांस्कृतिक पक्ष भएकोले उनीहरु लिम्वुवान वाहेक नामको चाह राख्न सक्दैनन् । लिम्वुवानमा हिजो अस्तीसम्म शासकीय भोगचलन गरेकोले र अमानवीय ढंगले लिम्वुवानको अधिकार हनन् गरिएको ईगो उनीहरुसंग रहेकोले उनीहरु लिम्वुवानको लागि दिलोज्यान दिने अवस्थामा छन् । त्यसैले उनीहरुको लिम्वुवानको मागलाई राष्ट्रले सम्मान गर्न उत्तम देखिन्छ । अन्यथा चिरस्थाई अशान्तीको भूमरीमा लिम्वुवान जान सक्नेछ । आफ्नो पूर्खाले विरासतको रुपमा छोडेको भूमिलाई उनीहरु अरुलाई सजिलै हस्तान्तरण अवश्य गर्दैनन् । यो सेन्टीमेण्ट नेताहरुले नितान्त वुझ्नुपर्ने देखिन्छ । खाली जातिय नाम, अग्राधिकार भएमा देश टुक्रिन्छ भन्दै लिम्वुवानको सेन्टिमेण्ट राम्ररी नवुझी अण्डरस्टीमेट कदापी गर्नु हुदैन । उनीहरुले कट्टरवादी भएर लिम्वु जातिले मात्र लिम्वुवानको राज्य गनुपर्छ भनिरहेका छैनन् । तर राज्यको वागडोर सञ्चालन गरिरहेका पार्टीहरुले, नेताहरुले लिम्वुवानको सेन्टीमेन्ट विपरित कार्य गरे अवश्य दिर्घकालिन असर पर्नेछ । जुन कुरालाई वुझेर भविष्यमा आईपर्ने जातिय द्वन्द्वहरुलाई दूर गर्नुनै नेताहरुको वुद्धिमत्ता ठहर्नेछ ।सेवारो । हङकङ

No comments: