टंक सम्वाहाम्फे
फेसबुकको सञ्जालले आज बिश्वभर नै तहल्का मच्चाई रहेको छ । साहित्य,संगीत,फिल्म,भिडियोआदि,मात्र नभएर ब्यापार,ब्यावसाय,राजनिति,नाता,मायाँप्रेम,सेवा,सामाजिक कार्य,समाचार,तस्विर,महत्वपूर्ण दस्तावेज,विज्ञापन,सूचना,कम्प्युर गेम,आआफ्नै स्तर, समूह,रुची अनुसारको, समूह,लिङग अनुसारको समूह आदिइत्यादि यो फेसबुकले यस्ता अनेकौ कुराहरु ,विषयबस्तुहरु बोकेर आईदिएको छ । त्यसो त फेसबुकको नकारात्मक पक्षहरु पनि छन् अनेकौ विकृतिहरु भित्राएको । जुनसुकै कुरा आउँदा जहिले पनि सकरात्मक र नकरात्मक दुवै पक्ष आए कै हुन्छ । ती सवै कुरा छुट्याएर आफुले फाईदा लिने कुरा आफ्नो हातमा,विचारमा,सोचमा भर पर्दछ । बरु विकृतिलाई कसरी घटाउँन सकिन्छ त्यतातिर लाग्नुनै उचित ठहरीन्छ । अहिले आएर फेसबुकमा नेपाली साहित्यले पनि निक्कै ब्यापक रुपले आफ्नो स्थान बनाएको तपाई हामीले महसुस अथवा अनुभव गर्दैछौ । कतिपय साहित्यकारहरुले दिनहुँ त कतिले १,२ दिनको फरक हुँदै हप्ता महिना सम्ममा आफ्नो नामको फेसबुक चलाए कै हुन्छौ । जहाँबाट आफ्नो सिर्जना सम्प्रेषण गर्ने र अरुको सिर्जना हेर्न सकिन्छ । त्यो फाईदा हामी सिर्जना गर्न रुचाउँने,पढ्न रुचाउँनेले गरीरहेका छौ । नेपाली साहित्यले साइवर सञ्जालमा यसरी फड्को मार्नु भनेको नेपाली भाषा साहित्यको बडोत्तरी हो । यहि फेसबुक चलाउँने क्रममा विगत छ महिना अघि देखि गीतकार कृष्णकला वनेम साहित्यिक मित्रताको रुपमा आईन । उनका अनेकौ गीतहरु पढ्दै आएको छु र मैले जान्दो आफ्ना प्रतिक्रिया दिँदै आएको छु । खास गरेर विगत ३ वर्ष देखि इजरायल भूमिलाई प्रयोग गरेर आफ्ना गीतहरु फेसबुक मार्फत सम्प्रेषण गर्दै आउनु भएको छ । धेरथोर मेरो सम्पर्कमा आएपछि सल्लाह सुझाव पनि साइवरबाट नै दिईरहेको छु । इजरायल भूमिलाई प्रयोग गरेर साहित्यलाई सशक्त रुपले अगाडी बढाउँने नारी स्रष्टाहरुमा दीप्स शाह,मनु लोहरुङ राई आदिको नाम सुनेको छु र पढेको पनि छु अन्य पनि धेरै हुनु हुन्छ होला । तर म अहिले गीतकार कृष्णकला वनेमको गीतको बारेमा केहि चर्चा गर्न खोजि रहेको छु । चर्चा यसकारण गर्न खोजिरहेको छु कि वहाँ इजरायल बसेर हङकङलाई केन्द्रविन्दु बनाएर गीत लेख्नु हुन्छ । हङकङको नेपाली जनजीवनको गीत प्रस्तुत गर्नु हुन्छ । जो कि म केहि बर्षदेखि निरन्तर हङकङलाई कर्मभूमिको रुपमा सम्झेर बसेको छु तर पनि हङकङको नेपाली जनजीवनको गीत लेख्न सकेको छुइन । त्यसैले पनि उनको बारेमा लेख्न उत्साहित भएको छु । खास गरेर म उनको गीतकारीता बाहेक अन्य लेखनको बारेमा म अनभिज्ञ छु । गीत उनको भिन्नै विषयबस्तुभएको निरन्तर अध्यायन गर्दै आएको छु । र उनको गीतको प्रस्तुति,कला,भाव सघन रुपले पाईएको छ । गीत कै प्रतिक्रियाहरु पल्टाएर हेर्दा पनि थाहा हुन्छ । साथै हरेक नयाँ गीतमा नौलो ढङगको गीत पस्किनुमा उनको क्षमता प्रदर्शीत भएको पाईन्छ । पराईभूमिमा बसेर समयलाई चिन्न सक्नु,पक्रनु सक्नु ज्यादै सह्रनिय कार्य हो । यसले के पनि जनाउँदछ भने अव इजरायल भूमि पनि नेपाली साहित्यको लागि एक नयाँ केन्द्र साथै उर्वरभूमिको रुपमा लिन सकिन्छ । र त्यहाँ बसोवास गर्नु हुने स्रष्टाहरुले आफ्नो कृतिहरु धमाधम प्रकाशनमा ल्याउँनु भएको कुरा हामीले निरन्तर पत्रपत्रिकामा जानकारी पनि पाई नै रहेकाछौ । हङकङ अथवा त्यहाँ वसोवास गर्ने नेपालीसंग जोडिएका गीतलाई म यहाँ प्रस्तुत गर्न चाहन्छु ।
हङकङमा छौ नी कान्छा म त गाउँघरैमा
नविर्स है कान्छा मलाई भूलि रमझमैमा
भेट भयो पहिलो चोटी राजारानी गाउमा,
बाधी दियौ बैना तिमीले पटुकीको छेउमा,,
मोती जस्तो दन्तै राम्रो मोहनी आखैमा ,
मुटु छुने गीत गायौ हाक्पारे भाकैमा ,,
पाती राख्यौ देवीथानमा जादा हलीमेला,
चीनो दियौ पछ्यौरीमा छुट्टीने त्यो बेला,,
लज्जालु छ मुहार तिम्रो कोठी गालैमा ,
लैजाउ सङ्गै मलाई पनि आउने सालैमा,,
यहाँ प्रेमीकाले गाउँबाट आफ्नो प्रेमीलाई मायाँमा दिएको सन्देश भेटिन्छ । नेपालमा संगसंगै बस्दाबस्दै बाध्यतावस् प्रेमी हङकङ पुगेको हुनाले उनी प्रतिको मायाँप्रेम जीबित पार्न त्यहाँको रमझममा भुलिएर प्रेमीकालाई नभुल्न आग्रह गरेको देखिन्छ । यहाँ वास्तविकता पनि ठ्याक्कै त्यस्तै त्यस्तै नै छ । कतिपयले वाचा वन्धन गरेर आफ्नो प्रेमीले प्रेमीकालाई र प्रेमीकाले प्रेमीलाई भुली दिएको उदाहरण हङकङमा प्रसस्तै छ जस्तो मलाई लाग्छ । एक त यो गीतले प्रेमी प्रेमीकालाई अन्तर शन्देस पनि दिएकोछ । त्यसपछि गीतमा धेरै प्रसंग नेपालको ल्याईएको छ । किनभने प्रेमी र प्रेमीका नेपालकै भएको हुनाले मायाँ प्रीति,गाउँ ठाउँहरु साथै देवीथानमा पाती समेत चढाएको कुरालाई गीतमा ल्याउँनु नेपालीपनले भरीपूर्ण भएको पाईन्छ । अन्त्यमा विदेशबाट धन कमाएर आएपछि संगै वस्ने इच्छा प्रकट गरीएको छ । त्यो वास्तवमा जुनसकै प्रेमी र प्रेमीका बिच प्रस्ताव हुने कुराहरु हुन् । मनसाय ब्याक्त गरीने कुराहरु हुन ।
हङकङकै प्रसंगले बाधिएको दोस्रो गीतलाई हेरौं ।
आए म त गाउँघर छाडी हङकङ शहरैमा
धन कमाई हाँसी खुशी जीउँने रहरैमा
हजारौमा एक्लै भए स्टारफेरी घुम्दा,
बाधीरैछु रहरहरु बैश आई चुम्दा,,
सबै जान्छन दिल जोड्न मङ्कीहिलैमा,
राखीरैछु माया तिमीलाई भित्री दिलैमा,,
सुनको बाला किनीरैछु सेन्ट्रलफेरी जादा,
सिन्दुरपोते लगाई दिन्छु एस्पाली म आउदा,,
फर्की आउदा ल्याउनेछु तिमीलाई साथैमा,
हात समाई घुमौला ओसन पार्कैमा,,
यो गीतले ज्यादै वास्तविक विषयबस्तु बोकेको छ । खास गरेर हङकङमा शहरबाट भन्दा पनि बढी गाउँघरबाटै आएका छन् नेपालीहरु । यहाँ आउँनुको उदेश्य प्रथम त धनसम्पती कमाउँनु नै हो । अन्य हिसावले आउँने भनेको कमै मात्र पाईन्छ । यसलाई हङकङ भन्दा टाढा बसेर यहाँको वास्तविकतामा लेख्न सक्नु त्यो ठाउँ र त्यहाँ बसेका नेपालीहरु प्रति सहानुभूति जाग्नु हो । र हङकङे नेपालीहरुको विषयमा बढी मोह जाग्नु पनि हो । साथै हङकङका मुख्यस्थलहरुको जानकारी हुनु पनि हो । नत्र भने ती हङकङका मुख्यस्थलहरुलाई गीतमा समावेश गर्न सकिन्न । नेपालीहरुले धेरै भन्दा धेरै कार्यक्रम गर्ने स्थल मङकी हिल, ताईमोशान आएको छ । स्टार फेरी,सेन्ट्रल फेरी र ओसन पार्क अर्को घुम्ने फिर्ने रमणिय ठाउँहरु हुन् । यसरी कलात्मक ढङगले यहाँको विषयबस्तु ल्याउँनु पक्कै पनि चानचुने कुरा होइन । यो ठाउँमा कति लेखक,साहित्यकारहरु रहदै आउँनु भए पनि यस्ता खाले गीतहरु कमै मात्र लेखिएको छ । सायद गीतकार बुद्धबीर लामा हङकङ डुल्न आउँनु भएकोवेला लेख्नु भएको गीत तिमीलाई हङकङ पुर्यायो आईडी कार्डैले,कन्दरा वेण्डले गाएको हङकङ पोखरा, गीतकार रमेश पौडेलले लेख्नु भएको स्टारफेरीमा भन्ने गीतहरुले धेरै चर्चा पाईसकेका छन् । त्यसरी नै राम्रो संगीत र स्वर पायो भने कृष्णकला वनेमको गीतले पनि चर्चाको शिखर निश्चय नै चुम्नेछ । उनले हङकङको विषयमा मात्रै नभएर साउदी अरबको विषयमा पनि गीत प्रस्तुत गरी सक्नु भएको छ । हङकङमा नेपालीहरुको बसोबासलाई लक्ष्य गरीएर लेखिएको गीत निक्कै मर्मस्पर्शी खालको छ । यी गीतहरु बाहेक अन्य गीतहरु अझ परीस्कारका साथ नेपाली लेखक,पाठक,समालोचकहरुको सामु ल्याउनु नै हुनेछ भन्ने कुरामा म विश्वस्त छु । गीत लेखन अन्य विधा भन्दा गहन विधा हो किनकी यो स्वराङकन भएर सोझै श्रोता तथा दर्शकहरुको माझ पुग्दछ । आजलाई मैले यिनै दुइ गीतहरुमा आफ्नो छोटो विचार प्रस्तुत गरेको छु । यहाँ बसोवास गर्ने साहित्यकारहरुले बिर्सीएको बिषयबस्तु प्रस्तुत गर्नु भएकोले पनि मैले चर्चा गर्न योग्य ठानेको छु । र मैले चर्चा नगरे पनि कुनै न कुनै दिन चर्चा भएरै छाड्थ्यो । अन्य गीतहरुको बारेमा पछि चर्चा गर्नेछु आजलाई म यहि रोकिन्छु । धन्यवाद ।
गीतकार कृष्णकला वनेम
No comments:
Post a Comment