Aug 20, 2008

संयुक्त लिम्बुवान मोर्चा, नेपाल - सहमति-पत्र

२०६५ साउन ११ गते
ललितपुर चुम्लुङ हिम, ललितपुर

पृष्ठभूमि
वर्तमान नेपालको पूर्वी भू-भागमा आदिमकालदेखि खाम्बोङ्सा आदिवासीहरु बसोबास गर्दथे । इसाको छैटौं शताब्दीमा यहि खाम्बोङ्बाहरुले ठूलो जनक्रान्ति गरेर पूर्वमा टीष्टा नदी, पश्चिममा दूधकोशी नदी, उत्तरमा तिब्बत र दक्षिणमा जलालगढ सिमाना रहेको लिम्बुवान राज्य स्थापना गरे । वि.सं. १६४१ देखि वि.सं. १८३० सम्म लिम्बुवानको राजधानी वर्तमान सुनसरी जिल्लाको विजयपुरमा थियो
। कथित नेपाल एकिकरणको क्रममा गोर्खाली सेना र काङ्सोरेको नेतृत्वमा रहेको लिम्बुवान सेनाबीच अरुण नदी र सभा नदीको दोभानमा वि.सं. १८३१ बैशाख २५ गते भिषण युद्ध भयो । दुवै पक्षबीच हारजीत नभएपछि लिम्बुवान अर्ध स्वतन्त्र राज्य रहने र्सतमा लिम्बुवान र गोर्खालीबीच वि.सं. १८३१ साउन २२ गते सन्धि भयो । अर्ध स्वतन्त्र रहको लिम्बवानको अधिकारलाई हस्तक्षेप गर्दै वि.सं १८३८ मा किपट नामको स्वायत्ततामा सिमित गरियो । इ.सं. १८१५ डिसेम्बर २ तारिखमा ब्रिटिस इण्डीया र नेपालबीच भएको सुगौली सन्धिले लिम्बुवानको सिमाना पूर्वमा मेची नदी, पश्चिममा अरुण/मकालु/सप्तकोशी नदी, उत्तरमा तिब्बत, दक्षिणमा जोगवनी/गलगलीयामा सिमित भयो । वि.सं. २०२१ मा कथित भूमिसुधार कार्यक्रमको नाममा लिम्बुवान स्वायत्तताको अधिकार हरण गरियो । लिम्बुवानसँग गरेको सन्धी सम्झौताहरुलाई राज्यपक्षले षड्यन्त्रमूलक ढंगले उल्लंघन गर्दै लगेपछि आफ्नो हकअधिकार सुरक्षित गर्नको लागि विभिन्न कालखण्डमा लिम्बुवानमा व्रि्रोहहरू, आन्दोलनहरू र पटकपटक प्रतिनिधिमण्डलहरूबाट पहल भएका थिए । जसलाई सम्बोधन गर्नको सट्टा निर्ममतापूर्वक दमन हुदा कयौ लिम्बूहरूले बलिदानी दिएका थिए । उनीहरूको बलिदान र विशिष्ट योगदानलाई उच्च कदर गर्दै इतिहासको त्यही पृष्ठभूमिबाट बढेको राजनीतिक, सामाजिक र साँस्कृतिक आन्दोलनहरूले अन्ततः मुलुकमा विभिन्न ऐतिहासिक जनयुद्ध र राष्ट्रिय जनआन्दोलनहरु निम्त्यायो । त्यसपछि सम्पूर्ण नेपाली जनताहरु एकात्मक र केन्द्रीकृत राज्यसत्ता समाप्तिको लागि जुटे । यसै क्रममा लिम्बुवान स्वायत्तता स्थापनार्थ लिम्बुवान सम्वद्ध राजनीतिक, सामाजिक संगठनहरुको साझा सञ्जाल लिम्बुवान संघर्ष समन्वय समिति’ निर्माण गरी आन्दोलित भए । परिणामतः मुलुकमा ऐतिहासिक संविधान सभा सम्पन्न भई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको यथार्थलाई आत्मसात गरेर लिम्बुवान स्वायत्त राज्य निर्माणको लागि हामी जुटिरहेकाछौ ।औचित्य संविधान सभाको पहिलो बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भइसकेको र एकात्मक तथा केन्द्रीकृत संरचनाद्वारा सृजित जातीय, वर्गीय, भाषिक, लैङगिक, साँस्कृतिक,धार्मिक, क्षेत्रीय लगायतका भेदभावहरुको अन्त्यको निम्ति राज्यको अग्रगामी पुन संरचना गर्ने प्रतिबद्धता जनाइएता पनि लिम्बुवानवासी जनताहरुले चाहना गरेको लिम्बुवान स्वायत्त राज्य स्थापनाको सुनिश्चितता भइनसकेको अवस्थालार्इ मध्यनजर गर्दै संविधान सभामार्फत नयाँ संविधान लेख्ने क्रममा देशको राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई अक्षुण राख्दै जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहित लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितता गराउने मूल उद्देश्य प्राप्तिको लागि मोर्चा गठनको औचित्य पुष्टि भएकोले धरान घोषणा-पत्र २०६४ मार्फत निर्मित साझा संजाललाई विशिष्टिकृत गर्दै राजनीतिक दल, संगठन र व्यक्तिहरुबीच एकताको आवश्यकतालाई महशुस गरी सबैखाले चुनौतिहरूलाई सामना गर्दै शान्तिपूर्ण आन्दोलनको माध्यमबाट मोर्चाबन्दी गरी अघि बढ्ने घोषणा गर्दछौ ।

सहकार्यको आधारः
१. जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्य प्राप्ति साझा लक्ष्य भएको ।
२. राष्ट्रिय अखण्डताप्रति प्रतिबद्ध रहने ।
३. शान्तिपूर्ण दवावमूलक आन्दोलनहरु गर्ने ।
४. सहमतिको आधारमा निर्णय गर्ने ।
५. मोर्चामा आवद्ध संगठनहरुले आन्दोलनको कार्यक्रमहरु गर्दा मोर्चालाई
जानकारी गराईनु पर्ने र त्यस्तो कार्यक्रमले मोर्चाको कार्यक्रमहरुलाई
असर पार्नु नहुने ।
६. सहकार्यलाई प्रतिकूल प्रभाव पार्ने कार्यक्रमहरु गर्न नपाइने ।
कार्यक्रम

क. प्रचारात्मकः
१. मोर्चाको घोषणा र जानकारी गर्ने ।
२. सरकार र राजनीतिक दलहरुलाई स्मरण/ज्ञापन पत्र बुझाउने ।
३. अन्तरक्रिया, विचार गोष्ठी, भेटघाट तथा वार्ताहरु आयोजना गरी
सहमति जुटाउने ।
क. राजनीतिक दल, नेता, सभासद, विद्वानहरू
ख. आदिवासी जनजाति संघसंस्थाहरु (राजनीतिक सम्बद्ध)
ग. अन्य जातजातिहरूको संघसंस्थाहरू तथा तिनका अगुवाहरू
४. लिम्बुवानका आदिवासीहरूको विशेषाधिकार/अग्राधिकार सुनिश्चित गराउँदै आन्दोलनमा समेटने ।
५. लिम्बुवानका सम्पूर्ण जातजातिहरूको अधिकार बोध गराउँदै आन्दोलन प्रति सकारात्मक गराउने ।
६. सूचना संयन्त्रसंग प्रभावकारी समन्वय गर्दै व्यापक सूचना सम्पे्रषण गर्ने ।
ख. विचार निर्माणः
१. लिम्बुवानको खाका -सिमाङ्कन, विशेषाधिकार/अग्राधिकार लगायत)लाई साझा रुप दिने ।
२. राजनीतिक परिस्थितिको विश्लेषण गर्दै कार्यक्रमहरु विशिष्टिकृत गर्ने ।
३. लिम्बुवानको पक्षमा आन्दोलनरत संघसंगठन र दलहरुसंग संवाद गर्दै आन्दोलनमा समेट्ने ।
४. जातीय स्वायत्तताको पक्षमा आन्दोलनरत संघसंगठन र दलहरुसँग संवाद र सहकार्य गर्ने ।
-
ग. दवावमुलकः
१. नेपाल सरकारसँग लिम्बुवान सम्बन्धी भएका हालैका सम्झौताहरु कार्यान्वयन गराउने ।
२. सरकार र राजनीतिक दलहरुमा दवाव दिन जाने ।
३. लिम्बुवानको प्राप्तिको आन्दोलनमा नकारात्मक असर पार्ने क्रियाकलापहरु निरुत्साहित गर्ने ।
४. आइएलओ अभिसन्धी १६९ को कार्यान्वयन गर्न दवाव दिने ।
५. आदिवासी जनजातिहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा पत्र कार्यान्वयन गर्न दवाव दिने ।
६. लिम्बुवान क्षेत्रभित्रका प्राकृतिक श्रोतसाधनहरुको उपयोग बारेमा विशेष सरोकार राख्ने ।
७. सडकदेखि सदनसम्म आन्दोलन गर्ने ।
क. लिम्बुवानका जिल्लाहरुमा प्रदर्शन र सभाहरु आयोजना गर्ने ।
ख. केन्द्रमा प्रदर्शन र सभा आयोजना गर्ने ।
ग. संविधानसभा भवन परिसरमा प्रदर्शन र कोणसभा गर्ने ।
घ. सांकेतिक विरोध कार्यक्रमहरु गर्ने ।
ङ. सांकेतिक विरोध कार्यक्रमहरुको सुनुवाई नभएमा क्रमशः थप सशक्त कार्यक्रमहरु अघि बढाउने ।
८. राज्यको पुनः संरचना आयोग लगायत अन्य आयोगहरुमा मोर्चाको प्रतिनिधित्व गराउने ।
घ. आगामी कार्यक्रमहरुको बारेमेमा छलफल गरी अघि बढ्ने ।
-
संचालन विधिः
१. सामुहिक नेतृत्वको आधारमा मोर्चा संचालन हुने ।
२. बैठक तथा कार्यक्रमहरुको अध्यक्षता चक्रप्रणालीमा हुने ।
३. महत्वपूर्ण निर्णयको लागि शीर्षस्थ नेतृत्वहरुको बैठक बस्ने ।
४. मोर्चाको निर्णय कार्यान्वयन र मोर्चा संचालनको लागि स्थायी कार्यदल बनाउने ।
५. मोर्चाको सहयोगी/समन्वयकारी भूमिका किरात याक्थुङ चम्लुङले गर्ने ।
६. आवश्यकता अनुसार कार्यदलले अन्य उपसमितिहरु निर्माण गरी कार्यलाई व्यवस्थित गर्ने ।
७. जिल्ला, नगर र गाउँ स्तरमा स्थानीय समितिहरुबाट मोर्चा निर्माण गर्ने ।
-
मोर्चाको नामाकरण
संयुक्त लिम्बुवान मोर्चा, नेपाल (United Limbuwan Front,Nepal)

मोर्चामा सम्बद्ध राजनीतिक दल र संगठनहरु
वीर नेम्वाङ्ग
केन्द्रिय अध्यक्ष
लिम्वुवान मुक्ति मोर्चा
-
मा. ध्रुव आङ्गदेम्वे
केन्द्रिय उपाध्यक्ष संविधानसभा सदस्य
लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चा (नेकपा माओवादी )
कुमार लिङदेन ' मिराक '
-
केन्द्रिय अध्यक्ष
संघीय लिम्वुवान राज्य परिषद
(संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ) -

मा.डम्वरसिं सम्वाहाङफे
महासचिव / संविधानसभा सदस्य
नेपाल लोकतान्त्रिक किरात लिम्वु संघ
नेकपा एमाले
-
के.वी.फुदुङ
केन्द्रिय अध्यक्ष
नेपाल लिम्वुवान स्वशासित संघ (एकिकृत)
(नेकपा एकिकृत) -

के.पी.पालुङवा लिम्वु
इन्चार्ज
लिम्वुवान प्रान्तिय परिषद
(राष्ट्रिय जनमुक्ति पार्टी )
-
मा.पूर्ण कुमार शेर्मा लिम्वु
केन्द्रिय सदस्य / संविधानसभा सदस्य
( नेपाली कांग्रेस ) -

सहयोगी / समन्वयकर्ता
उत्तमसिं थाङदेन
केन्द्रिय उपाध्यक्ष
किरात याक्थुङ चुम्लङ

No comments: