Oct 22, 2010

कविता लेखन र आजीवन प्रतिपक्षमा कवि

विक्रम सुब्बा
१. विभिन्न विषय र विधाहरुका आफ्नै प्राविधिक शब्दावली हुन्छन् । कविता साहित्य, सभ्यताको सबैभन्दा पुरानो विधाहरु मध्ये एक विधा हो । यसका पनि आफ्नै प्राविधिक शब्दावली हुन्छन् । यो छुट्याउँन नसके र कविताका प्राविधिक शब्दहरू छानेर प्रयोग गर्न नसके कविताले “कविता”को स्वाभाव गुमाउँछ ।
२. कवितामा ‘विषयवस्तु’ ढुकढुकीका रुपमा आउँछ । त्यो “विषय”का पनि आफ्नै प्राविधिक शब्दावली हुन्छन् । कविले आफ्नो विषयवस्तु अनुसारका प्राविधिक शब्दावली पनि छानेर प्रयोग गर्नु पर्छ । अर्थात, कविताका ‘प्राविधीक शब्दावली’हरू र ‘विषयवस्तु’का प्राविधिक शब्दावलीहरूको सन्तुलित छनौट र संयोजन गर्न नसके कविताले आनुहार गुमाउँछ ।
३. कविता कुनै ‘शव्द’ वा ‘वाक्य’बाट सुरु हुन्छ र कुनै ‘शव्द’ वा ‘वाक्य’मा पुगेर टुंगिन्छ । अर्थात ‘श्री’ र ‘शुभम्’को एक लम्बाईमा कविले ‘कविता’ रोप्ने, स्याहार्ने, फुलाउँने, फलाउँने, पकाउँने र वाली उठाउँने काम तमाम गर्नु पर्दछ । मतलब, कहाँबाट उठान गर्ने, कुन ठाउँमा कवितालाई उत्सर्गमा पुर्‍याउँने र कहाँ कविताको बैठान गर्ने? यसको तर्कसंगत तर्जुमा कविले गर्नु पर्दछ । सामान्यतया ‘थालनि’, विचको ‘बहाव’ वा भावनागत बाढीझैँ लाग्ने ‘आरोह अवरोह’, कविताले छुन खोजेको ‘उचाई’ र ‘अन्त्य’ अरु कुनै कविले भन्दा भिन्न किसिमले गर्न नसके कविताले छुट्टै शैलीगत पखेटा हाल्दैन । ‘थालनि’, विचको ‘बहाव’, ‘उचाई’ र ‘अन्त्य’हरूको अन्तरसम्बन्धित तादत्म्यता स्थापित गर्न नसके कविताले एउटा बग्दो नदीलेझैँ ‘लयात्मक’ ध्वनीहरूको संगीत उत्पादन गर्न सक्दैन ।
यहाँ, छन्द कविता र गद्य कवितामा के फरक छ भनि हेर्नु पनि जरुरी छ । छन्द कविता लेख्दा छन्दले कति अक्षरी शब्द चाहियो सो माग्छ र कविले अक्षरहरू गन्ति गर्दै राख्दै गरे भइगयो । तर, गद्य कवितामा त्यो सुबिधा कहाँ छ र? हरेक कविले कविताको कुन हरफ कति लामो हुने आफैँले निर्णय गर्नु पर्छ । कविताका हरफको लम्बाईचौडाईमा कति अक्षेरी कुन कुन शब्दाहरूको सृंखला तैयार गर्ने पनि कविले नै सोच्नु पर्दछ । मलाई लाग्छ, यहीँनिर धेरै कविहरु फितलो निर्णयको सिकार भएर हैरान हुन्छन् ।
४. शब्द र वाक्यहरूको हार्मोनाइजेशन कविताको अर्को सांगितीक पक्ष हो । अर्थात, कुन कुन शब्दहरू राख्ने र कुन शब्द अघि र कुन शब्द पछि राखेर वाक्यलाई संगठीत गरे कवितामा तालहरु बज्न थाल्छन् र ‘लय’ र तालले गर्दा कर्ण सुस्वादु हुन सक्दछ? भन्ने बारे पनि कवि पारखी हुनु पर्दछ । नत्र, कविता र निवन्ध उस्तै उस्तै हुन पुग्दछन् । यसमा पारख हासिल गर्न नसके कविता ढुकढुकी बिहिन मुटुको पार्थिव शरिरजस्तो हुन्छ ।
यहाँ, छन्द कविताभन्दा गद्य कविता लेख्नु गाह्रो हुन्छ भन्ने कुरालाई पनि मनन गर्न सकिन्छ । छन्द कविता लेख्दा कुनै एउटा छन्द छानेपछि 'लय' त्यसैले सृजना गरिदिन्छ । कविले अक्षरहरू छन्दले मागे जति गणना गर्दै आपुर्ति गरे भइहाल्छ । तर, गद्य कवितामा त्यो सुख-चैन हुँदैन । हरेक कविले आफ्नै लय सृजना गर्नु पर्दछ । संभवतया यहीँनिर हो धेरै कविहरु फेल हुने पनि ।
५.मिथ’को प्रयोगलाई कवितामा अत्यन्तै शक्तीशाली प्रविधीका रुपमा लिइन्छ । ‘मिथ’ र ‘कविता’ले नै रामायण प्रभावशाली सृजनाका रुपमा रहन सकेकोछ । नत्र तात्कालिन समाजमा अरु पनि ‘मिथ’ थिए होलान् । अर्थात, कवितामा ‘मिथ’को कुसल प्रयोग हुन सके ‘जादु’ चल्छ नत्र ‘कविता’ र ‘मिथ’ दुवै दुर्घटनामा पर्छन् । जस्तो कि प्रविधी (गाडी) चलाउँन नजान्नेले चलाए दुर्घटना भएर ज्यान जान्छ । कवितामा दुर्घटना भए कवि त बाच्दैन नै कविता पनि सखाप हुन्छ र पाठकका समयको निर्ममता पूर्वक दुरुपयोग हुन्छ ।
‘मिथ’ एउटा ‘पोयो’, कविले सम्प्रेषण गर्न खोजेको ‘सन्देश’ अर्को पोयो र कविताको ‘लयपक्ष’ अर्को पोयो भएर बाटिएको ‘तीन’ पोये चुल्ठो जस्तो बुन्न नसके कविता ‘कविता’ बन्दैन । बरू कवितालाई मिथले किचिदिन्छ । र, कुनै लोक कथाको एक सामान्य आख्यानजस्तो हुन पुग्छ ।
६.कविताको लम्बाइ पनि एउटा महत्वपूर्ण कुरा हो । फुटकर कविता कति लामो वा छोटो हुनु पर्छ? भन्ने कुरा विषयबस्तु र शैलीमा भर पर्दछ । स्थुल विषय लिए कविता लामो हुने नै भयो । सानो विषय लिए तिक्खर किसिमले कविता छोटो हुन सक्दछ । यो कविको निर्णय शक्तीमा पनि भर पर्ने विषय हो । कोही स्थुल विषय छान्छन् त कोही सानो तर सुहाउँदिलो विषय समात्छन् र सम्प्रेषण गर्दछन् । समान्यतया फुटकर कविता ५-७ हरफदेखि डेढ पेजभन्दा लामो नहोस् भनि ठान्छु । त्योभन्दा लामो भए त्यसलाई फुटकर नभनेर ‘लामो कविता’ भन्न सकिँदो हो । मेरो विश्वास - एउटा फुटकर कविताले छोटो र सान्दर्भिक विषय लिएर गहिरो र तिक्खर कविता बन्नु पर्दछ । लामोमा भन्दा छोटोमा सम्पूर्ण कुरा अँटाउँन सक्नु पनि कविताको नभइनहुने विशेषता हो ।
७. कविता कहाँ फल्छ त? मेरो विश्वास - कविताको स्रोत जीवन नै हो । अर्थात, कविले भोगेको दु:ख-सुख, माया-मोह, मिलन-विछोड, घृणा-प्रेम, रिस-राग, आलोचना र संश्लेषण, आदि । कविले जीवनका विभिन्न पाटाहरू जिउँनु पर्दछ । कविले घरको काम, अफिस वा कमाउँने ठाउँको काम र समाजका समेत केही जिम्मेवारीहरू लिनु पर्दछ । उसले साथी-भाइसँग हाँसो र ख्याल ठट्ठा देखि लडाइँ-झगडा र फेरि सम्झऔताहरूबाट पनि गुज्रिनु पर्दछ । कहिले मलामी त कहिले जन्ति र कहिले असार पन्ध्र त कहिले पर्यटक, कहिले अनुसन्धाता त कहिले विद्यार्थी भएर अनेक कुरा ग्रहण गर्नु पर्दछ । उसले अनुभवि मानिसका अनुभवहरू (पुस्तक) पढनु वा सुन्नु पर्दछ । उसले नयाँ नयाँ ठाऊँमा घुम्ने र नयाँ नयाँ मानिसहरूसित सम्बाद गर्ने गर्नु पर्दछ । अर्थात आफ्ना प्राविधिक र समाजिक दुवै शीपहरू कविले चलाएर आफ्ना गतिबिधीहरू सञ्चालन गर्नु पर्दछ । यसै सिलसिलामा कविताहरूसँग कविको भेट हुन्छ । कविले ‘कविताहरू’ मध्ये छानेर मनपरेको ‘कविता’लाई अभिलेखिकरण गरेर सबैका खपतका निम्ती राख्ने हो । कतिपय कविहरु कविता खोज्न ‘गोष्ठी’ धाउँछन् । तर कविता त्यहाँ मात्र खोजे अधुरो हुनेछ । नयाँ नयाँ कविता त जीवनकै सुख-दु:खमा फल्ने हो र जीवनकै अनुभवहरूबाट कविता सृजना गर्नु पर्दछ भनि ठान्छु ।
८. अब कुरा प्रतिबद्धताको । जीवनमा जसको पनि थुप्रै कार्यहरु हुन्छन् । ती कामहरूको प्राथमिकता तोक्ने आफैले हो । जस्तै व्यापारीले आम्दामीलाई प्रथम प्राथमिकतामा राख्दो हो । सरकारले आफ्नो कुर्सी बचाउँने कामलाई पहिलो प्रथमिकतामा राख्दो हो । प्राथमिकता अनुसार नै स्रोतको बाँड-फाँड हुने गर्छ । स्रोत भन्नाले समय, चिन्तन, मनन् र आर्थिक स्रोतको लगानी हो । जसले कवितालाई प्राथमिकताको १ नंबरमा राख्छ वा दुइ नंबर वा ३ नंबरमा राख्छ त्यसै अनुसार उसले स्रोत पनि छुट्याउँछ । अर्थात, जसले कविताको लागी सबैभन्दा राम्रो स्वास्थ्यको राम्रो मुडको राम्रो समय लगानी गर्छ भने उसले कवितालाई राम्ररी प्रथमिकतामा राखेको ठहर्छ । यसो गर्दै गए राम्रो कविता पनि जन्मन्छ । तर सबैभन्दा राम्रो समय, उर्जा र मुड अन्तै कतै लगाउँनेले कसरी राम्रो कविता लेख्ला? त्यसैले उसका कविता उसकै प्राथमिकता अनुसार बस्ने नै भए । अर्थात उच्च प्राथमिकतामा राख्नेले राम्रो कविता लेख्ने र मध्य वा निम्न प्राथमिकता दिईएकाले सोहि स्तरको कविताले लेख्ने नै भए । कुरा तीतो होला तर सत्य यही हो ।
९. कतिपय कविले ‘यो मेरो कविता आजै विहान लेखेको…’ भनेर वाचन गरेको पाइन्छ । कविले ‘कविता’लाई धेरैदिन देखि मनमा खेलाएर आज लिपीबद्ध गरेको हो भने पनि आजै कविता लेखेर आजै सुनाउँने हतारो किन? जसरी आफ्नो बच्चाको जन्म हुँदा बा-आमाले रगत, राल, सिँगान, फोहरहरू धोई-पखाली गरेर, केही सुहाउँदिलो वस्त्र ओढाएर मात्र समाजलाई देखाउँछन् त्यसै गरी कवितालाई पनि जन्मिसकेपछि केही ‘धोइपखाली’ गरेर वा (कलाको भाषामा) पलिस गरेर समाजको सामु देखाउँनु राम्रो हुन्छ । लेखिसक्ने बित्तिकै हरेक कविलाई आफ्नो कविता ‘सान्दार’ लाग्छ, बिछट्टै ‘गजबको कविता लेखेँ’ जस्तो लाग्छ । लाग्नु पनि पर्छ । किनभने यही खुशीले त कविता र कविको नाता अमर भएकोछ । तर, यो उमंगको क्षण हो । बच्चा जन्मिने बित्तिकै आमालाई लाग्ने ‘उमंग’को क्षण जस्तो क्षण हो । भर्खर बच्चा जन्मेको बेला आमाले बच्चा मात्र देख्छ । बच्चाको जीउभरिका फोहरहरू देख्दैन । जब उमंगको पहिलो आँधि कम हुँदै आमाको मनस्थिती नर्मल अवस्थामा आउँछ त्यसपछि मात्र उसले बच्चाको जिउको फोहोर देख्न थाल्छ । त्यसैगरी, कविले पनि आफ्नो कविता लेखिसक्ने बित्तिकै त्यहाँ कुराहरू दोहोरिएको, बिम्ब र प्रतीकहरू उचित किसिमले नपरेको, मिथकको प्रयोग अति भएर कविता दुर्घटनामा परेको, शब्द छनौट र वाक्य गठन नमिलेको, आदि केही देख्दैन ।
कवि पनि ‘उमंग’को मनोगत बाढीबाट नर्मल जीवनमा उत्रनु पर्छ । त्यसको लागी केहि समय लाग्छ । जस्तै: एक-डेड दिन वा एक हप्ता वा एक महिना, आदि । यसरी समयको अन्तरालमा नर्मल जीवनको अवस्थामा कवि उत्रेपछि के हुन्छ? कवि अब कवि मात्र होइन, एक पाठक हुन्छ, एक विश्लेषक हुन्छ, कविताको अविभावक हुन्छ । उ अलि पागलपन सवार भएको ‘कवि’ मात्र हुन्न बरु उ वुद्धि विवेक समेत लगाएर सोच्ने हुन्छ । भावनामा बहकिने मात्र नभएर तर्कसंगत कुराहरु समेत गर्ने सान्सारिक हुन्छ । कविताका पाठकहरु ९० प्रतिशत सान्सारिक नै हुन्छन् । त्यसैले कवि जब नर्मल र सान्सारिक अवस्थामा आएपछि कवितालाई ‘सान्सारिक’ मानिसका खपतका निम्ती के ‘बढी’ हुन्छ र के ‘कम’ हुन्छ भनि सोच्न थाल्छ र त्यसै अनुसार कवितामा शब्द, बिम्ब, प्रतिक, मिथक, रुपक, वाक्य, कविताको वहाव र सिलसिला मिलेको नमिलेको हेर्न थाल्छ । नमिलेको ठाउँमा शब्द, बिम्ब, प्रतिक, मिथक, रुपक, वाक्य, कविताको वहाव र सिलसिलाहरू मिलाउँन थाल्छ । यसरी कविता पालिस गर्नु पर्छ र जब नर्मल अवस्थामा पनि कविता राम्रो लाग्छ तब केही मन मिल्ने कवि साथीहरुलाई सुनाएर कवि साथीहरुको थप सुझाव समेतलाई ध्यानमा राखेर फेरि खिप्नु पर्छ । त्यसपछि बल्ल गोष्ठीमा सुनाउँने वा प्रकाशन गर्नको लागि तैयार भएको कविता मान्न सकिन्छ । कतिपय कवि कविता लेखिसकेपछि प्रकाशनको लागि आतुर हुन्छन् । कविले प्रकाशनको निम्ति होइन कि कविता राम्रो बन्यो कि बनेन भनेर चिन्ता गर्नु पर्छ । राम्रो कविता लेख्न सके प्रकाशनको दु:ख हुँदैन ।
साथी: दुनियामा हरेक ‘साथी’ एक शसक्त ‘प्रतिस्पर्धी’ पनि हो । कविका लागी पनि आफ्नै कवि साथी, ‘साथी’ मात्र नभएर कविता लेखनको अखाडामा एक बलियो ‘प्रतिस्पर्धी’ पनि हो । तर दुश्मन होइन । Professional Jealousy दुनियाको जुनसुकै मानिसमा हुन्छ र यो हुनु पनि पर्छ । बजारमा कविता गइसकेपछि जुनसुकैको कविता अन्य कविहरूको कविताहरुसँग प्रतिस्पर्धा गर्न बध्य हुन्छ । दुनियामा बजार यति "क्रुर" हुन्छ कि अरु सबै कविको कवितासँग तपाइँको कवितालाई दाँजेर हेरिदिहाल्छ, मुल्यांकन गरिदिहाल्छ । तपाइँको कवितालाई 'माया गरेर' वा 'विशेष छुट दिएर' उसले हेर्दैन । जुन कविता खरो उत्रन्छ त्यही चल्छ । खरो उत्रिनको लागि आफ्नो कवितालाई राम्ररी पलिस नगरी बजारमा लगे, कमजोर ठहरिन्छ । कमसल माल गनिन्छ । कमसल माल गोदाममा कुहिन्छ । गोदाममा कुहिएको "माल"को के काम?
दुई घटना हेरौँ - (१) अर्नेष्ट हेमिङवेले The Old Man and The Sea लेखे । त्यसलाई पुन: लेखे । कहिले मोटो, कहिले पातलो, कहिले ठिकैको पुस्तक भयो । यसरी उनले पटक पटक पुस्तकलाई लेख्दै जाँदा २०० पल्ट पुन: लेखन् गरेछन् । त्यसपछि बल्ल उनलाई चित्त बुझ्यो र प्रकाशन गरे जुन मानव सभ्यताकै एक साहित्यक उपलब्धी र सम्पदाको रुपमा कालजयी भएर रहेकोछ ।
(२) खलिल गिब्रानले “The Prophet” लेखे । लेखेको कुरा सबैभन्दा पहिले आमालाई पढेर सुनाएछन् । उनको आमाले - 'यो निक्कै राम्रो छ । तर यसलाई अहिले नै प्रकाशित नगर । जीवनका सबै किसिमका पाटाहरू भोग, अनुभव गर र अनुभवको आधारमा फेरि यसलाई पटक पटक सच्याउ वा पलिस गर । चित्त नबुझेका शब्द फाल । सुहाउँदो नयाँ शब्दहरू थप । जब कृती तिम्रो चित्त बुझ्ने किसिमको हुन्छ अनि मात्र यसलाई प्रकाशन गर्नु ।' आमाको सुझावमा १७ वर्ष लगाएर, जीवनका अनुभवहरुको आधारमा गिब्रानले पुन:लेखन गरिरहे, पलिस गरिरहे र चित्त बुझ्दो भएपछि मात्र छापे । अहिले त्यो मानव सभ्यताको साहित्यमा एक Master peace मा गनिन्छ ।
यी दुइ कृतीहरूको अब मुल्य नै छैन । अमुल्य छन् । यसरी आफ्ना कृतीलाई महान धैर्यका साथ निरन्तर सुधारी रहने, निखारी रहने हेमिङवे र गिब्रानको कार्यजस्तो कार्यलाई नै पूर्वीय भाषामा 'कर्म योग' भन्ने गरिन्छ । 'कर्म योग' गरेपछि मात्र महान सृजना वा 'महान कार्य' सम्भव हुन्छ । साहित्य सृजनाको कार्य पनि महान कार्य हो र यसमा पनि 'कर्म योगी' भएर जो लागेको हुन्छ उसैले अमर सृजना समाजलाई दिन सक्छ ।
अर्थात, साहित्य वा कविता लेख्नु भनेको कलासँग खेल्नु हो । ‘कला’ हतारमा उजागर हुने कुरा होइन । हतारमा त केही टिपोटहरु मात्र तैयार होलान् वा टिप्पणी मात्र लेखिएला । ‘टिपोट’ वा ‘टिप्पणी’ कविता होइन, साहित्य होइन, कला होइन त्यो त सिरिफ कच्चा पदार्थ हो, नबिर्सियोस् भनि टिपोट गरेको । कच्चा पदार्थलाई साहित्य वा कविता भनेर प्रस्तुत गर्नु कला नबुझ्नु हो । कविता भनेको खारिएर निकालेर पनि पलिस गरेर आँखै लोभ्याउँने, त्यसैत्यसै मनै जित्ने हीरा-मोती जुहारत हो । ‘कला’को निम्ती काम गर्न समर्पित भएर लागेपछि समय लिएर मिहिन किसिमले 'कर्म योगी' भएर मिहिनेत गर्नेले मात्र जित्छ । जो हल्का फुल्का किसिमले कलामा लागेकोछ र नक्कलझक्कल मात्र गर्छ भने उसको साहित्य वा कविता क्षणिक हुन्छ । कालजयी भएर धेरै दिन टिक्दैन ।
मूर्तिको कुरा , जस्तै: एउटा मूर्तिकारले एउटा रुपरंग विहीन तर मूर्ति बन्न सक्ने संभावना भएको ढुंगालाई खोला किनारबाट उठाएर ल्याउँछ । घन र छिनोले लाखौँ पटक हानेर, ताछेर, खिपेर, घोटेर, सुहाउँदो गरी अलि-अलि रंगाएर, केही गहना र वीणा समेत समाउँन हातम दिएर एउटा ‘सरस्वती’को मूर्ति बनाउँछ । तब गुरुहरूले त्यसलाई ढुंगा होइन ‘सरस्वती’ भनि विद्यार्थीलाई ढोग्न लगाउँछन् । विद्यार्थीहरू भक्तिसाथ त्यो ढुंगाबाट बनेको मूर्तिलाई सरस्वतीका रुपमा पुज्दछन् । काँचो ‘ढुंगा’बाट ‘सरस्वती’ बनाए जस्तै ‘शब्द’ र 'भाव'हरूको कच्चा पदार्थलाई दिमागको मेसिनामा हालेर कलात्मक ‘संयोजन’, वाक्यहरूको सिपयुक्त ‘गठन’ले पकाएर एक विछट्ट नयाँ सृजना गर्दै ‘कविता’ बनाउँने कलाकारिता हो कविता लेख्नु पनि ।
१०. माथि (२।)मा “कविता लेख्दा ‘विषय’लाई कविताको ढुकढुकीका रुपमा कविले लिन्छ” भनेको छु । “विषय”को ‘स्थुल’ र ‘सुक्ष्म’ रुप हुन्छन् । अर्थात मोटामोटी रुपमा कवि आफुले कुन कित्तामा उभिएर लेख्ने? भन्ने कुरा कविको आफ्नो ‘अडान’ वा ‘जीवन दर्शन’सँग सम्बन्धित हुन्छ भने कविले रचना गरेका विभिन्न कृतीहरूमा फरक फरक किसिमले त्यसैको सुक्ष्म रुप पेस हुने गर्छ । जस्तो कि सेक्सपीयरले '…मानिसले भाग्यले गर्दा होइन बरु मानिस आफैले गर्ने गल्तिले गर्दा दु:ख पाउँछ । त्यही भएर साहित्य (नाटक) पनि दु:खान्त हुनु पर्छ । र, यसले दर्शकलाई पनि गहिरो छाप पार्छ…।' भन्ने आफ्नो दृष्टिकोण आफ्ना नाटकहरूमार्फत प्रक्षेपण गरे । यो जुनसुकै साहित्यकारले पनि गरेको छ । चाहे त्यो हलन्त बहिस्कार आन्दोलन गर्ने होस् वा झर्रोवादी होस् वा तेस्रो आयामेली होस् वा राल्फा होस् वा अश्वीकृत जमात होस् वा बुट पालिसवाला होस् वा तरलवादी होस् वा सडक कविता क्रान्ति होस् वा सृजनशील अराजकता वा भयवादी वा रंगवादीले होस् उसले संसारलाई र जीवनलाई हेर्ने वा बुझ्ने एउटा दृष्टिकोण बनाउँछ र त्यसै अनुसार साहित्य वा कविता लेख्छ । घोषित रुपमै मेलै पनि ‘कवि आजीवन प्रतिपक्षमा बस्नु पर्छ‘ भनेकोछु । यो मेरो ‘दृष्टिकोण’को स्थुल रुप वा अडान हो । यही मेरो स्थुल अडानको संरचना (Broader framework) मा बसेर म कविता रचना गर्दछु जुन मेरो विषयका ‘सुक्ष्म’ रुप हुन् । ‘दृष्टिकोण’को ‘सुक्ष्म’ पक्षलाई संप्रेषणीय, सुस्वादु, ग्रहणीय, बनाउँनका निम्ती आवश्यक न्यूनतम तत्वहरूको उचित सम्मिश्रण चाहिन्छ । ती तत्वहरूका बारेमा मैले माथि बुँदागत (१ देखि ९) रुपमा प्रष्ट राखेको छु । यसरी दृष्टिकोणको ‘स्थुल’ घेराभित्र रहेर ‘सुक्ष्म’ किसिमले पेस हुने कविता लेखन कार्य गर्नु पर्दछ भन्ने म ठान्दछु ।
११. 'कविता' र 'समाज परिवर्तन/रुपान्तरण' को सम्बन्ध कस्तो हुन्छ? भन्ने कुरामा पनि कविहरू प्रष्ट हुनु पर्दछ । साथै आफ्नो 'सृजना' कुन किसिमको 'उत्पादन' हो र त्यसका 'उपभोक्ता' को हुन्? यो कुरा कविले ठम्याउँनु पर्छ । सबै कविता सबैको लागी हुँदैनन् । जस्तै: लोक छन्दमा लेखिएको कविता सरल भाषामा गाउँदै सुनाउँने भएकोले आम जनसमुदायमा समेत राम्ररी सम्प्रेशण हुन्छ र त्यसले तिनै स्रोताका हृदयमा छाप छोड्छ । त्यही समुदायमा वौद्धिक वा दार्शनिक गद्य कविता सुनाउँदा चाहेजस्तोगरि संप्रेशित हुँदैन र स्रोताका हृदयमा छाप छोड्न सक्दैन । जबकि त्यही वौद्धिक कविता वुद्धिजिवीहरूमाझ सुनाए राम्रो छाप छोड्छ ।
माथिको आम जनसमुदाय र वौद्धिक स्रोताहरूको कुरालाई आधार मानेर अब 'कविता' र ''समाज परिवर्तन/रुपान्तरण"को अन्तरसम्बन्धलाई हेर्ने हो भने प्रष्ट हुनेछ । मजदुर, किसानहरू वा स्रमजिवी अन्य वर्ग र तप्काका समुदाय आफ्नै जीवनका असंगत प्रणालीहरुका विरुद्ध आफै आन्दोलनमा सामेल हुन तैयार हुन्छन् वा आन्दोलित भइरहेका हुन्छन् । त्यसैले यो वर्गका आन्दोलन वा जीवन परिवर्तनका निम्ती लेखिने कविता समाजमा व्याप्त वेथितीहरूका बारेमा प्रष्ट पार्दै समाज परिवर्तनको उद्देश्य समेत दर्शाएको सरल, सोझै बुझिने कविता रचे र सुनाए त्यसले आन्दोलितहरूलाई थप उर्जा दिन्छ ।
तर, वौद्धिक समुयदायका स्वाभावको कुरा गर्ने हो भने, ऊ समाजका अन्य सबै वर्गको लागि पनि चिन्तित हुन्छ र तिनको जीवनमा परिवर्तन हुनु पर्दछ भनि ठान्दछ । साथै आफ्नै (वौद्धिक) समुदायलाई पनि नराम्रो असर गर्ने वेथितीहरूको परिवर्तनका निम्ती पनि ऊ लेख्छ र बोल्छ । त्यसैले वौद्धिक समुदायको खपतका निम्ती उल्लेखित दुबै पक्षलाई ध्यान दिएर कविता लेखिनु पर्दछ । दुबै किसिमका समुदायमा 'परिवर्तन' जरुरी छ भन्ने धारणा निर्माण गर्न कविताले मद्दत गर्ने हो ।
कवि पनि आन्दोलनहरूमा संगै हिँड्न सक्छ तर आधारभूत रुपमा हेर्ने हो भने कविले जुलुसमा मानिसहरू निस्कनु अघि नै कविता मार्फत उर्जा दिने काम गरिसकेको हुन्छ । र, कवि पनि जुलुमा सामेल हुँदा कविको रुपमा होइन कि एक नागरिकको रुपमा सामेल भएको हुन्छ । एक अध्येताका रुपमा सामेल भएर थप कविताको विषयवस्तु खोजिरहेको हुन्छ । अर्थात १) कविता आफैले परिवर्तन गर्दैन तर परिवर्तनका निम्ती तैयार हुन सम्पूर्ण जनसमुदायलाई मानसिक खुराक प्रदान गर्दछ । २) वौद्धिक वर्गकै निम्ती र वौद्धिक वर्ग मार्फत समाजमा परिवर्तन गराउँनका निम्ति धारणा बनाउँने काममा पनि कविले मद्दत गर्दछ । ३) कविता सृजना गर्ने कवि (सर्जक) एक नागरिकका हैसियतले आफ्नै हकहितका निम्ती आफै पनि संघर्षमा सामेल हुन्छ । ४) कविले जहिले पनि जीवन वा संघर्षमा अनेक डोबहरूमा कविताको खोजी गरिरहेछको हुन्छ ।
अर्थात, इलेक्ट्रोनिक ईन्जिनियरले तैयार गरेको 'स्टेण्ट'लाई लिउँ । इलेक्ट्रोनिक ईन्जिनियरले 'स्टेन्ट' (मुटुको कोरोनरी आर्टरीमा ब्लकेज हुँदा राख्ने सुक्ष्म नली) बनाए । त्यसलाई मुटुको डाक्टरले ब्लकेज खोल्न मुटुको नसामा लगेर राखिदिन्छ । तर फायदा हुन्छ मुटुको रोगीलाई । त्यस्तै कविले कविता लेख्छन् । समाज परिवर्तनका निम्ती काम गर्न लागेका मानिसले कविता पढ्छन् र 'समाज परिवर्तन त गर्नै पर्ने रहेछ' भन्ने कुरा कविताबाट पनि 'अनुमोदित' भएपछि उनीहरू झन लागी पर्छन् । यसरी उनलाई समाज परिवर्तनका निम्ती लाग्ने उर्जा हासिल भएर काम गर्दै गएपछि समाजमा परिवर्तन आउँछ । यसरी हेर्दा कविताले नै परिवर्तन गर्ने होइन । बरू परिवर्तनकामी मानिसलाई परिवर्तन गर्ने कार्यमा अझ लागी रहन उत्प्रेरित गर्ने हो । परन्तुमा समाजका व्याप्त बेथितीहरूमा सुधार आउँछ जसले समाजका सबैलाई फायदा हुन्छ । यसरी कविताले पनि परिवर्तनका निम्ती धारणा निर्माण गर्ने प्रकृयामा नियमित थोर बहुत योगदान गर्दछ । कविले पनि 'म कहाँ योगदान पुर्‍याउँदैछु' भनि प्रष्ट भएर कविता लेखेन भने कुहिरोको काग हुन्छ ।
आजीवन प्रतिपक्ष किन?कवि हुनु भनेको ‘वाल सुलभ आलोचक’ वा 'प्रशंसक' हुनु हो । मन नपरेको कुरालाई निस्पक्ष किसिमले आलोचना गर्ने र मन परेको कुरालाई प्रशंसा गर्ने । जस्तै: सुन्दर फुल देखे कवि फुलको प्रशंसा गर्न थाल्छ । तर फुल नजिकै तैनाथ काँडाको घोच्ने नियतमाथि कवि आलोचना गर्छ । यसो गर्नसके मात्र कविता निश्छल हुन्छ । निश्छलता कविताको अर्को सुन्दर रुप हो । अर्थात कविले जहिले पनि कसैले नदेखेको कुराहरुको सन्धान गर्नु पर्छ र प्राप्त नतिजाहरू उजागर गरेर समाजलाई देखाइदिनु पर्छ । किनभने, कवि एक सुक्ष्म अनुसन्धाता पनि हो जुन अनुसन्धानका नतिजाहरूका आधारमा राम्रा वा नराम्रा के के भइरहेछ भन्ने कुराको निर्क्यौल गर्दछ र नराम्रोप्रति प्रहार गर्दै कवितात्मक रुपमा आलोचना लेख्दछ र आलोच्यलाई सुधार्न पर्ने कुराहरु बारे थाहा दिन्छ ।
समाजमा सबैले राम्रै काम गरिरहेकोछु भनि ठान्छ र आफ्नो कुरा सबैलाई राम्रै लाग्छ पनि । तर अन्जानमा गल्ती, कमी-कमजोरीहरू भइरहेका हुन सक्छन् । त्यो देखाउँने काम इमान्दारीपूर्वक कविले गर्नु पर्दछ । समाजमा योजनाबद्द रुपमा केही अपृय कामहरू भईरहेका हुन सक्छन् । कसैले बदनियतपूर्वक नराम्रो काम गरिरहेका हुन सक्छन् । त्यो कुरा उजागर गरेर पनि कविले कविता लेख्नु पर्छ । यो नै उसको परम कार्य हो । यही अडानका आधारमा मैले महाशक्तीको बदमासीलाई उदाङ्गो पारेर ‘परेवा र चील’ लेखेको छु, दक्षिण अफ्रिकाको अवस्थालाई उजागर गरेर ‘जोवर्गका जेब्राहरु’ लेखेकोछु, सिंगै काठमान्डु आफैमा एक तानाशाह (प्रणाली) भएर बसेको छ भन्ने कुरा प्रष्ट पारेर ‘काठमाण्डु साहाब’ लेखेकोछु । यी केही उदाहरण मात्र हुन् । अर्थात, म जहिले पनि ‘स्थापन’पक्षको विरुद्ध ‘प्रतिपक्ष’मा बस्दै आएकोछु र आजीवन रहनेछु । विगत कोट्याउँने हो भने राजाले थालेका पञ्चायती व्यवस्थाको बेला सो व्यवस्थाको आलोचक भएर ‘सगरमाथा नाङ्गै देखिन्छ’ कविता रचेँ । पशुत्वलाई मनुष्यत्वले जित्ने सन्देश राखेर ‘सुम्निमा पारुहाङ’ (मुन्धुमकाव्य) पनि लेखेँ । राजाको निरंकुसता बढदैजाँदा ‘दरवार भत्किरहेछ’ कविता रचेर सुनाएँ । अझ गणतन्त्र प्राप्तीका निम्ति ‘गनतन्त्रको खेती’ कविता रचेर गणतन्त्र कविता आन्दोलनमार्फत साथीहरुसँग ठाउँठाउँमा कवि सुनाउँदै हिँडेँ । गणतन्त्रलाई सँस्थागत गर्नु पर्छ नत्र मुलुकमा आउँन लागेको गणतन्त्र फेरि गुम्न सक्छ भन्ने आशयले ‘किताब’ कविता लेखेँ । यसरी मैले प्रतिपक्षमा बसेर पनि लेख्दै आएकोछु । यस किसिमको कविताले मात्र घर, समाज र राज्य संचालकहरूलाई, उनले आफैँ नेदेखेका वा जानी जानी गरेका बदमासीका विरुद्ध नाङ्गोझार पार्न सकिन्छ र समाजका निम्ती सभ्य र सुसँस्कृत हुने बाटो प्रसस्त हुन्छ भनि ठान्छु ।
नेपालमा गणतन्त्र सँस्थागत गर्ने संविधान बन्ने प्रकृया चलिरहेकोछ । के त अब? प्रतिपक्षमा बस्ने कविको काम सिद्धियो? होइन, प्रतिपक्षमा बसेको कविको काम सिद्धिँदैन । बरू उसले सुक्ष्म रुपमा सँस्थापन पक्षका हानिकारक पवृत्तिलाई नियाल्नु पर्छ र त्यस्तो प्रवृत्ती विरुद्द कविले कविताको तरवार उठाएर प्रहार गर्नु पर्दछ । मेरा कविताको काम हो घर, कार्यालय, समाज र राज्य संरचनाले दिमागमा भरेर राखेका नकारात्मक अवधारणाका विरुद्ध लड्नु । यति सम्म कि मै भित्रका कतिपय जीवन वा समाज विरोधी प्रवृत्ति विरुद्ध लड्न मलाई नै पनि मद्दत गर्नु पर्छ मेरो कविताले । यो लडाइँ त गणतन्त्र आएपछि मात्र होइन जीवनभर नै लडिरहनु पर्छ मैले । म यही अडानका साथ आजीवन लेखिरहन चाहन्छु । जसका दुइ उद्देश्य छन् । १) सँस्थापन पक्षलाई पृष्ठपोषण, र २) सँस्थापन पक्षको नकारात्मक कार्यबाट प्रभावितहरूको हक स्थापनाको आन्दोलनलाई उर्जा थप्नु ।
कविता कत्ति नै मानिसले पढ्छन् र? तर जतिले पढ्छन् तिनले मेरो कविताबाट निरन्तर सामाजिक रुपान्तरणको गतिशील प्रकृयामा अझ गति थप्ने स्रोत वा उर्जा पाउन सकुन् । मानव सभ्यताको प्रतेक युगमा कविताको यो एक धारको रुपमा रहँदै आएको पनि हो । जसले मानिसलाई दिनदिन अझ सभ्य र सुसँस्कृत बन्न मद्दत गरिरहन्छ । कविता मार्फत आफु पनि समाज परिवर्तनको महान यज्ञमा आफ्ना कविताहरूको चरु समर्पित गर्दै म प्रतिपक्षको सदावहार आन्दोलनमा थुप्रै कविहरूसँग आजीवन सामेल रहनेछु ।
(January 18, 010)

आदिवासी जनजाती महिला अधिकारको सन्दर्भ

इन्दिरा चोङ्बाङ
मानब जातिको यो निरन्तरताको क्रम यसरी अस्तित्वमा रहिरहनका लागि महिलाले नै महत्वपुर्ण भूमिका खेलेको छ । शायद यदि महिला नहुने हो भने यो सृस्‍टिको निरन्तरताको क्रम नै सम्भब छैन यधपी आजको यस स्थितिसम्म आइपुग्नका लागि बिस्वमा नै यिनीहरुले बिभिन्न संघर्स गर्दै आएका छन् । ईतिहासको कालखन्ड देखि नै महिलाहरु प्रजनन अधिकार, घरेलु हिम्सा, समान ज्याला, भोटिङ राइट, लैङिक बिभेद आदिजस्ता सम्स्याहरुका लागि संघर्स गर्दै आएका छन् । समाज र मानब अस्तित्वका लागि महत्वपूर्ण भूमिका निभाए पनि यिनीहरुको भुमिकालाई जहिले पनि गौणरुपमा लीएको छ, त्यसैले महिलाहरु आन्दोलन गर्न वाध्य भएका हुन् । बिस्वमा महिलाहरुले गरेको सङघर्सको चरणलाई तीन चरणमा उल्लेख गर्न सकिन्छ । प्रथम चरणमा १८ देखि २० आौ शताप्दीको अवधीमा महिलाहरुले सामाजिक न्याय र समानताको लागि लडाईं गरेका थिए । दोश्रो चरण सन् १९५० देखि १९८० को अवधीलाई मानिएको छ र यस अवधिमा यिनीहरुले राज्यको कानुनमा भएका लैगिक बिभेदका लागि संघर्स गरेका थिए । अहिलेको समय भनेको तेश्रो चरणको समय हो र यस चरण १९९० देखि अहिलेको समयलाई लीइएको छ । यो समय सम्म आइपुग्दा विश्वमा नै बिभिन्न परिवर्तन आएका छन् र महिला अधिकारको सन्दर्भमा महत्वपुर्ण उप्लप्धीहरु भएका छन् । बिस्वका बिकसित देशहरुमा पनि महिलाहरुले बिभिन्न समयमा बिभिन्न आन्दोलन पस्चात मात्र आफ्नो अधिकार प्राप्त गर्न सफल भएका हुन् । अमेरिका जस्तो शक्तिशाली राष्ट्रमा पनि सन् १९२० अर्थात आजभन्दा ९० बर्ष अघि मात्र संबिधानको १९ आउ सँशोधनबाट यहाँका महिलाहरुले भोटिङ अधिकार पाएका थिए । सो परिणाम निस्कनका लागि कयैन महिलाहरु जेल नेलको बन्दी हुनु परेको थियो । Newzealand बिस्वमै पहिलो देश हो जसले सन् १८९३ मै आफ्ना सम्पुर्ण नागरिकलाई भोटिङ अधिकार प्रदान गरेको थियो तर महिलालाई त्यहाँको ब्यबस्थापिकामा आउन सन् १९३६ सम्म कुनै अधिकार थिएन । महिला अधिकारको सवालमा विश्वमा नै प्रथम राष्ट्र फिनलैन्ड हो जसले सन् १९०६ मै महिला लगायत सम्पुर्ण नागरिकहरुलाई भोटिङ अधिकारका साथै अन्य अधिकारहरु प्रदान गरेको थियो । यी याबत परिणामहरुका लागि महिलाहरुले आन्दोलन गर्नु परेको थियो, बिस्वमा नै महिलाहरु आफ्नो अधिकारको लागि लडेका छन् र यो लड्ने क्रम याबतरुपमा चलिरहेको छ । नेपालको महिला आन्दोलनलाई नियल्दा सन् १९९० अर्थात प्रजातन्त्रको पुनस्थापनादेखी सशक्तरुप्मा अघि बढेको पाईन्छ । महिला सशक्तिकरणका लागि बिभिन्न समयमा बिभिन्न प्रावधानहरुको पनि ब्यवस्था भए । त्यसैको परिणाम अनुसार नै अहिले नेपालको राजनितिक र प्रशासनिक निकायहरुमा महिलाहरुको उपस्थिती फस्टाएको छ । अबको प्रसँग आदिवासी जनजाती महिलाको छ । आदिवासी महिलाहरु पनि बिभिन्न संगठनमा सङगठित भएका छन् । नेपालमा आदिवासी जनजाती महिलाहरुका संस्था धेरै सशक्त भैसकेको छ भने नेपाली आदवासी महिलाहरुको संस्था बिदेसमा पनि फस्टाउन थालेको छ । महिला अधिकारका लागि लड्ने बिभिन्न सँघ संस्था हुदाहुदै किन यिनीहरुलाई बेग्लै संस्था चाहियो, यो भनेको सम्प्रदायिक सोचाइ हो या त फुट ल्याउने कुरो हो भन्ने कतिको भनाइ या सोचाइ रहेको पाईन्छ । बिस्वमा ३७० मिलिओन आदिवासीहरु छन् भने यसको ५० प्रतिशत महिलाहरु रहेको तथ्याँकले देखाउछ । बिस्वमा नै आदिवासीहरु सबैभन्दा उत्पिडित जातिहरु हुन् भने आदिवासी महिलाहरु दोहोरो बिभेदको शिकार भएका छन् । पहिलो महिला भएको हैसियतले त दोश्रो आदिवासी महिला भएको नाताले । विश्व महिला आन्दोलनले महिलाका अधिकारका लागि जतिसुकाइ वकालत गरे पनि यो आन्दोलनले आदिवाशी महिलाहरुको सन्दर्भमा आवाज उठाउन सकेको छैन । आदिवासी जनजाति जनजाती महिलाहरुमा अन्य महिला भन्दा प्रिथक गुणहरु छन् भने यिनीहरुसँग आफ्नै ज्ञान, सिप र कला छन् । यिनीहरुसँग भएको यही परम्परागत ज्ञान र सिपका कारण बिभिन्न किसिमका खानेकुराहरु बनाउन सक्छन् उदाहरणको रुपमा किनीमा, मार्च र यङ्बेनलाई लिन् सकिन्छ । अर्को सिपको रुपमा यिनीहरुले तयार पर्ने राडी, पाखी, कपडालाई लिन सकिन्छ तर अहिले बिस्वब्यापिकरण र उदारीकरणका कारण यी सिप र कलाहरु ओझेलमा परेका छन् । बिदेशबाट आयात गरिएका चिजहरुले यिनीहरुले उत्पादन गर्ने समानहरुलाई पुर्णरुपमा प्रतिस्थापन गरेको छ भने यिनीहरुको ज्ञान र सिप लोप हुने अवस्थामा पुगेको छ । आदिवासी जनजाती महिलाहरुको अर्को पाटो भनेको यिनीहरुको भाषा, सन्स्कार र संस्क्रिती हो, यिनीहरु पछि पर्नाका कारण राज्यले यिनीहरुको पहिचान र अस्तित्वलाईनस्विकार्नु हो र यिनीहरुको ज्ञान सिप र कलालाई सम्रश्य्ण र सम्बर्धन गर्न नसक्नु हो । यी कुराहरु अन्य महिलाका भन्दा प्रिथक कुराहरु हुन त्यसैले महिलामात्र भन्दा आदिवासी महिलाहरुको सम्बोधन हुन सक्दैन । बिस्वमा नै आदिवासीहरुको भाषा लोप हुने क्रम तिब्र बडिरहेको छ त्यसैले यी याबत समस्याहरु यिनीहरुको चुनौतीको बिषय हो । बिस्वमा महिला आधिकारका लागि भएका राजनितिक, आर्थिक र सामाजिक संघर्सहरु महिला आन्दोलनका प्रमुख पाटो हो भने आदिवासी जनजाती महिलाका लागि आफ्नो अस्तित्वको लडाईं अर्को प्रमुख बिषय हो । महिला भन्ने बित्तिकै परिवारमा आमालाई जनाउछ । एउटा परिवारमा आमा जति सिक्ष्यित हुन्छन् सन्तानको सुख र सम्रिदी त्यसैमा निहित हुन्छ । त्यसैले आदिवासी महिलाहरु आफ्नो अधिकार र पहिचानको बारेमा जति सचेत हुन्छन् त्यतिनै आफ्नो सन्तानलाई सचेत बनाउन सक्क्षम हुन्छन् । एउटा परिवारमा जबसम्म आमा सामाजिक रुपमा परिचित हुदैन तब्सम्म छोराछोरीमा त्यो चेतनाको बिकास जटिल हुन्छ । आफ्नो देश भन्दा बाहिर रहेका आदिवासी महिलाका लागि आफ्नो परिवार र नयाँ सन्तानलाई कसरी आफ्नो भाषा र सन्स्कार सिकाएर यसको सम्रछन गर्ने भन्ने सवाल महत्वपुर्ण छ । हेर्दा एकदम सानो लाग्ने यो बिषयमा आज हामी सचेत हुन सकेनाउ भने भोली फेरि एकादेशमा हाम्रो पनि एउटा आफ्नै भाषा थियो अरे सस्कार थियो अरे भन्ने समय आइपुग्न सक्छ । अर्को एउटा बिषय अझाइ जिउदै छ त्यो हो लैङिक बिभेद, हुनत आदिवासी समाजमा महिलाहरु नै ताला चाबिको आधिकारिकको रुपमा लीइन्छ । ईतिहासलाई कोत्याउदा पनि हाम्रो समाजमा मात्रिसतात्मक सामाजिक समरचना रहेको देखिन्छ तर हिन्दू सन्स्कारको प्रभाबमा परेर पुरुशहरु श्रीमतिबाट सधैं सेवा र सत्कारको आशा राख्छन । हामी मानब भनेको एउटै हो महिला र पुरुष रथका दुई पाङ्रा हुन भने हामी दुबैजाना बरबरी हो र जोकोही एकले अर्कोको सम्मान गर्न सक्नु पर्छ । यसको लागि पनि आदिवासी माहिला नै सचेत हुनु पर्ने छ नत्र सस्कार जोसुकाइको भए पनि आफु ठुलो हुन पाउदा मक्ख पर्ने पुरुसहरु पनि हामी सामु छन् । यसरी आफ्नै समाज, परिवार र आफैभित्रको मात्र कुरो गर्दा के आदिवासी महिलाहरु आफ्नै मात्र कुरो गर्ने या त्यहि सन्स्कार र सस्क्रितीको नाममा घर भित्र बाट बाहिर ननिसकने हो भन्ने सवाल पनि आउन सक्छ तर यसको मतलब हामी यही सानो बिषयमा मात्र अल्झिने होईन । हामी आदिवाशी महिलाहरुको मानब अधिकारको बिषय, स्वास्थ्य र शिक्षाको बिषय, सन्जालको बिषय र यिनीहरुले बिस्वमा भोग्दाइ आएको बिषयमा बहस र छल्फल गर्न सक्छौ । महिलाका साझा बिसय बस्तु सबैलाई लागु हुने बिषय हो यसबाट जोकोही अछुतो रहन सक्दैन । यति धेरै कुरो सोच्दा सोच्दै पनि आज पनि बिशेष एउटा सानो सोच र बिचारलाई लियेर ठुलो परिणाम हासिल गर्न सक्छौ । विस्वमा रहेका नेपालका आदिवासी जनजाती महिला बिचमा सन्जालको बिस्तार गर्न सक्छौ । सबैभन्दा हेर्दा सरल देखिने र एक्दमै जटिल बिषय हाम्रो परम्परा र सन्स्कार यो छ र यसलाई हामी जगेना गर्नको लागि हामीलाई सामुहिक कार्यको जरुरी छ । भनाइ नै छ थोपा थोपा मिलेर समुद्र बन्छ त्यसैले हामी सानो सानो काम गरेर भोली ठुलो काम गर्न सक्छौ । जेहोस् अधिकारको लडाईं होस् या त अन्य कामको लागि होस् सामुहिक कार्य आजको अपरिहार्यता हो ।

Oct 18, 2010

जानुका थोप्रा र गणेश तामाङलार्इ हार्दिक वधाई

बि.सं.२०६७ असोज २५ गते हाम्री छोरी जानुका थोप्रा र ज्वाई गणेश तामाङसंग शुभ विवाह सम्पन्न भएकोले दीर्घायुको कामना गर्दै हार्दिक वधाई ज्ञापन गर्दछौ।

प्रार्थी
बुवा - खड्ग बहादुर थोप्रा /आमा - मीम मायाँ वनेम
जेठा दाजु - कृष्ण कुमार थोप्रा
माइला दाजु - भिम कुमार थोप्रा / भाउजु - लिलाकला साँवा
साइला दाजु - मान बहादुर थोप्रा / भाउजु - मामु मादेन
काइला दाजु - इन्द्र कुमार थोप्रा / भाउजु - सावित्रा साँवा
कान्छा भाई- विविन थोप्रा
ठुली दिदी - डिक मायाँ थोप्रा / भेना - पूर्ण चोङवाङ
माइली दिदी - कमला थोप्रा / भेना - टंक सम्वाहाम्फे

Oct 17, 2010

एचके नेपाल हेयर सेलुन हंगकंग

विज्ञापन हेर्नको लागि विज्ञापनमा क्लिक गर्नुहोस् ।

Oct 6, 2010

'डन’ आतंकको चिरफार

वसन्तराज कुँवर
केही दिनअघि नयाँ पत्रिकामा 'डनहरू आत्मसमर्पण गर्दै' शिर्षकको कभर स्टोरी प्रकाशित भएको थियो । छापामा 'डन' सम्बन्धका समाचारहरू विभिन्न प्रकारले प्रकाशित भइरहन्छन् । डनका समाचारले पाठकलाई आकृष्ट पनि गर्न पनि सक्दछन्, तर यस्ता समाचारले 'डन'हरूलाई नियन्त्रण, निरुत्साहित, पुनस्र्थापित वा सुधार गर्न सकारात्मकभन्दा कतै नकारात्मक भूमिका खेल्ने पो हो कि भन्ने चिन्ता छ । मैले प्रहरीसेवामा झन्डै २४ वर्ष काम गरेँ । म खटिएको स्थानमा मैले कहिल्यै 'डन' देखिनँ । साँच्चिकै प्रहरी भएको स्थानमा 'डन' हुनै सक्दैन, यो नै मेरो विश्वास रह्यो । 'डन' अर्थात् गुण्डाहरूको नाइके वा अपराध गर्ने समूहको सरगना प्रहरी भएको स्थानमा कसरी हुन सक्छ ? ऊ बाँच्नै सक्तैन । यदि कतै 'डन' भन्ने पगरीसहित कोही कुनै समाजमा बाँचेका छन् वा तिनले समाजमा कुनै प्रकारको अस्तित्व कायम राख्न सफल भएका छन् भने हामीले बुझिहाल्नुपर्छ कि त्यो समाजमा तिनलाई 'डन' बनाउन प्रत्यक्ष/अप्रत्यक्ष रूपले मद्दत गर्ने कोही स्वार्थी समूह छन् । त्यस्तो समाजमा यदि डनहरूको अस्तित्व समाप्त गर्ने हो भने पहिला ती सहयोगी तत्त्वहरूको अस्तित्व पनि समाप्त गर्न नितान्त जरुरी हुन्छ ।
पक्राउ गरेर वा कोही समय जेल हालेर वा तर्साएर डन समाप्त हुँदैनन् । किनकि 'डन' व्यक्ति नभई एउटा सोचमात्र हो । तर्साएर बियर, रक्सी खाँदै बिल्डर, रेस्टुरेन्टसँग कामै नगरी, मेहनतै नगरी लाखौँ रकम असुल्ने अवसर उसले जसरी पाइरहेको हुन्छ, त्यसले हुन सक्छ ऊ खुसी भइरहेको पनि होला । उसलाई जसरी त्यो सजिलो आपराधिक बाटोबाट पत्रपत्रिकामा हिरोझैँ स्थान मिलेको छ, हुन सक्छ त्यसबाट झन् ऊ त्यो काम गर्न उत्साहित भएको पनि होला । राजनीतिक दलहरूले निहीत स्वार्थका लागि जुन प्रकारले बुथ कब्जा गराउन र विरोधी समूहलाई तर्साएर भगाउन तिनको प्रयोग गरेका छन्, तिनलाई राजनीतिक खोल ओढाएर साथ र संरक्षण दिएका छन्, त्यसले तिनका हौसला अझै बढेको पनि होला । बालुवा व्यापारदेखि रक्तचन्दन, डान्स रेस्टुरेन्ट, अपहरण र हप्ता आदिबाट उठाएको पैसा स्वार्थी, आपराधिक विचारका प्रहरी प्रशासनलाई जसरी बाँड्न डनहरू सफल भएका छन्, र उनीहरूको संरक्षण पाउन सफल भएका छन्, त्यसबाट उनीहरूलाई आफू कानुनभन्दा माथि पुगेको भ्रम पनि होला । तर, यथार्थ यही हो कि डनको चरित्र विकसित, सभ्य र सुरक्षित समाजका लागि सहयोगी तत्त्व होइन । उनीहरूको अस्तित्व जोगिनुमा कहिले प्रहरीको, कहिले प्रशासनको, कहिले न्यायालयको, कहिले राजनीतिक दल र नागरिक समाजको प्रत्यक्ष/अप्रत्यक्ष सहयोग हुने गर्दछ । डनहरूलाई कतिले कमाइगर्ने औजार पनि बनाएका छन् । एउटा साधारण मान्छे प्रहरी प्रशासन र राजनीतिक समूहको मोहरा बन्दाबन्दै डन हुन पनि पुग्दछ र त्यहाँबाट ऊ र्फकनै नसक्ने मोडमा पुगेको पनि हुन सक्दछ ।
मेरो व्यक्तिगत विचारमा कुनै प्रहरीले अभियान चलाएकै भरमा 'डन' समाप्त हुँदैन । डनको समाप्ति विचार, शिक्षा र सोचाइ परिवर्तनबाट मात्र हुन सक्छ । केहीबेर अगाडिका रत्नाकर डाकु नारदको एकै वचनले वाल्मीकि भए । त्यहाँ रत्नाकरलाई नारद मुनिले थुनेका थिएनन् । मलाई लाग्छ, नेपालमा डनहरूलाई समाजले कालो दुनियाँमा धकेल्ने मात्र काम गरेको छ । उनीहरूलाई उज्यालोतिर ल्याउन गर्नुपर्ने काम पनि उत्तिकै जरुरी छ र यो काम भने भएकै छैन । डन आत्माबाट हुन्छन् । शरीरलाई थुनेर वा शरीरलाई पीडा दिएर आत्मा परिवर्तन हुँदैन । तिनलाई हामीले समाजबाहिर नपठाइ भित्र ल्याउनुपर्छ । उनीहरूलाई डनबाट व्यक्ति र समाजलाई पुग्ने क्षति बताइदिनुपर्छ । एउटा पाठ्यक्रम नै बनाएर उनीहरूलाई नैतिक र इमानदार हुन प्रशिक्षण दिनुपर्छ । संसारमै आपराधिक विचारलाई परिवर्तन गर्न सफल एक कार्यक्रम क्रिमिनन् पनि हो । यस्ता तालिममा उनीहरूलाई सहभागी गराउनुपर्दछ । हुनसक्छ भोलि प्रहरी प्रशासनका लागि नेपालमा अपराध रोक्न सबैभन्दा सहयोगी तत्त्व तिनै डनहरू पनि हुन सक्छन् । समाजमा कोही आफैँ 'डन' बन्दैनन्, तिनलाई डन बनाएर स्वार्थसिद्ध गर्ने अरू अप्रत्यक्ष डनहरू पनि हुन्छन् । त्यस्ता व्यक्तिहरू राजनीतिक व्यक्ति पनि हुन सक्छन्, उद्योगपति व्यापारी पनि हुन सक्छन् वा कानुन कार्यान्वयन इकाइका सदस्यहरू पनि हुन सक्छन् । त्यसैले सर्वप्रथम डन सोचलाई नियन्त्रण गर्न पहिला उनीहरूलाई उभिन मद्दत गर्ने खुट्टाहरू काट्न जरुरी हुन्छ ।
मैले प्रहरीमा हुँदा आज डन भनिएका साधारण मान्छेहरूलाई नजिकबाट देखेको छु । कुमार घैँटे मेरो आँखाअगाडि मेरै टोलमा हुर्किएका थिए । तिनको परिवारलाई उनी सानो हुँदा सताइएको थियो । चक्रे मिलनले मेरो टोल सामाखुसीतिरै पारिवारिक सम्बन्ध गाँसेका थिए । तिनलाई एकपटक विक्रम थापाले पक्राउ गरी पुलिस क्लब ल्याउँदा मैले उनलाई सरल व्यक्तिका रूपमा भेटेँ । त्यतिवेला यिनीहरूलाई डन भनिँदैनथ्यो । अन्य डन भनिएकाहरू पनि साधारण मानिसहरू नै हुन् । यत्ति हो कि, उनीहरूमा आक्रमक व्यवहार अलि बढी हुनसक्छ । तिनीहरू आज डन कहलाइनुमा तिनको मात्र भूमिका छैन । उनीहरू आज जुन अवस्थामा छन्, त्यो अवस्थाको सोच रूपान्त्तरण गर्न केवल सजाय जेल, नेल र कारबाहीमात्र पर्याप्त हुन सक्तैन, तिनका जीवनी अध्ययन गर्न पनि जरुरी छ ।
आज नेपालमा देखिएका डन बनाउन विगतका पुलिस र राजनीतिज्ञहरूको प्रशस्त भूमिका छ । आज रमेश खरेल वा विक्रम थापा जस्ताको व्यक्तिगत प्रयासले डनहरू केही दिन लुक्न बाध्य हुनसक्छन्, तर यो नै 'डन' सोचको दीर्घकालीन समाधान होइन । फेरि भोलि अर्को प्रहरीप्रमुख कायर वा डनहरूबाट कमाइ गर्ने सोचको आउन सक्छ । त्यसैले यसको नियन्त्रणमा डन पहिलो पक्ष हो भने कानुन कार्यान्वयन इकाइ र राजनीतिज्ञका साथै नागरिक-समाज दोस्रो र तेस्रो पक्ष हुन् । सबैले डन प्रकृतिलाई छाड्न र निरुत्साहित गर्न सामूहिक प्रयास गर्नुपर्दछ ।
नयाँ पत्रिकालगायतमा नाम आएका गणेश लामा, विष्णु लामा, रोज राणा, तेजेन्द्र गुरुङ, कुमारलगायत सम्पूर्ण डन भनिएका भाइहरूलाई यो भन्न चाहन्छु कि हाम्रो जीवन केही दिनका लागि मात्र हो । यो जीवन राम्रो काममा लगाउ। हाम्रा कारणले कसैले समस्या झेल्नुनपरोस् । मानिसहरू आधारभूत रूपमा राम्रै हुन्छन् । तपाईंहरू पनि राम्रै मान्छे हुनुहुन्छ । केवल तपाईंहरूले गरिरहेका काम गलत भएकाले तपाईंहरूलाई नराम्रो मान्छे ठानिएको हो । जब तपाईंहरू राम्रो काम गर्न थाल्नुहुन्छ, त्यसपछि यिनै मानिसहरूले फेरि तपाईंहरूलाई राम्रो मान्छे भन्नेछन् । आफूलाई नराम्रो मान्छे भनी चिनाउने काम तपाईंहरूले छाड्नुपर्छ । त्यसो गर्न सकिन्छ । त्यो जीवनमा अभाव भए पनि डर, त्रास हुँदैन । त्यो विन्दु नै तपाईंहरूको स्थायी खुसीको बाटो हो । नत्र तपाईंको जीवन डर, त्रास र आत्मरक्षामै बित्नेछ । कुनै पनि मोडमा, कुनै पनि दिन एउटा गोलीले तपाईंहरूको जीवन समाप्त हुनसक्नेछ । र, त्यसले तपाईंको परिवारलाई जीवनभर आँसु दिनेछ ।
म प्रहरी प्रशासनलाई पनि यही अनुरोध गर्दछु कि उनीहरूलाई नियन्त्रण गर्नेमात्र होइन, सुध्रने बाटो पनि देखाइदिनुहोस् । र, त्यो बाटोमा हिँड्न प्रेरित गरी सहयोग गरिदिनुहोस् । राजनीतिज्ञहरूलाई अनुरोध छ कि डनहरूको प्रयोग राजनीतिक स्वार्थका लागि नगर्नुहोस् । नागरिक समाजसँग अनुरोध छ कि डन सोचसँग डराउने काम नगर्नुहोस् । यदि सबैले प्रयास गरेर सुधारको बाटो दिँदा पनि यदि कोही डनप्रविधि त्याग्न तयार छैनन् भने सरकारले तिनलाई सुटिङ अर्डर निकालेर सदाका लागि समाप्त गर्न बिल्कुलै डराउनुहुँदैन । डनहरू कुनै पनि मुलुकका लागि विकास वा सुरक्षाका सहयोगी तत्त्व हुन सक्दैनन् । समाजमा डन हुनुहुँदैन । डन बनाउने भूमिका पनि समाजको हुनुहुँदैन । मेरो २४ वर्षे प्रहरी अनुभवले यही भन्छ, जहाँ सच्चा प्रहरी प्रशासन र राजनीतिज्ञ हुन्छन्, त्यहाँ डन हुनै सक्तैनन् । 'डन' व्यक्ति नभै एक सोचमात्र हो ।

Oct 3, 2010

देहव्यापार-यात्रा पूर्वसोभियत देखि भारतसम्म


दिल्लीको एक कफी हाउस ।
भित्तामा टाँगिएको छ एउटा पेन्टिङ ।
२२ वर्षीया लोला एक तमासले हेरिरहेकी छिन् ।
उनी कला बुझ्दिनन् । त्यसमाथि अमूर्त कला !
उदास छन् उनका आँखा ।
आकर्षक छिन् लोला । गोरी छिन् । अग्ली पनि ।
टिमिक्क गुलाबी सर्ट र खरानी रंगको छोटो स्कर्ट लगाएकी छिन् । चम्किलो र रातो हाइहिलमा छिन् ।
उनका दुवै हातका औँलामा सजिएका छन् रंगीबिरंगी औँठी । नङको पालिसको रंग उडेको छ ।
उज्बेकिस्तानकी नागरिक हुन् लोला । कामको खोजीमा सन् २००९ को नोभेम्बरको मध्यतिर दिल्ली आएकी हुन् । उनको ब्वाइफ्रेन्ड उनलाई भेट्न वेलावेला आइरहन्छन् ।
दुवैलाई थाहा छ- उनीहरू जिन्दगीमा के चाहन्छन् ?
पैसा, पैसा र पैसा !
किनभने, उज्बेकिस्तानको आफ्नो सहर तासकन्दमा उनीहरू एउटा घर किन्न चाहन्छन् । बिहे गर्न चाहन्छन् । सुखपूर्वक गृहस्थी चलाउन चाहन्छन् ।
गरिबीमा हुर्केकी हुन्- लोला । उनीबाहेक अरू चार भाइबहिनी छन् । आमा बितिसकिन् । बाउ छन् । छोराछोरीलाई गालीगलौज गर्नु उनको नित्यकर्म भएको छ ।
लोलाका लागि देहव्यापार आकर्षक रोजगारी हो । उनलाई यसमा कुनै पछुतो छैन ।
ब्वाइफ्रेन्डप्रति आभारी छिन् लोला । 'उसले मेरा लागि कति दौडधुप गर्‍यो ! उसले दिल्ली आउन मलाई आवश्यक पर्ने सबै कागजपत्रको व्यवस्था गरिदियो ।'
लोला एक्ली छैनन् । गोरी वेश्याहरूको फौजको एक हिस्सा हुन् उनी । भारतको राजधानी दिल्लीमा मात्रै उनीजस्ता युवतीको संख्या तीन हजार बढी छ । अरू ठूला सहरमा पनि छन् उनीहरू ।
दुबईमा आर्थिक मन्दीको प्रभाव परेपछि पूर्वसोभियत संघका युवतीहरू देहव्यापारका लागि भारत आउन थाले । आइरहेका छन् । दिन दुईगुणा, रात चौगुणा आर्थिक समृद्धि हासिल गरिरहेको भारतलाई उनीहरूले केन्द्र बनाए । वेश्यावृत्तिका लागि भारत उहिल्यैदेखि उर्वरभूमि हुँदै हो ।
युक्रेन, जर्जिया, कजाकिस्तान, उज्बेकिस्तान, अजरबैजान, चेचेन्या र किर्गिस्तानका महिला देहव्यापारका लागि भारत आउन थालेका छन् ।
भारतीय वेश्याभन्दा उनीहरू ४० प्रतिशत बढी पैसा लिन्छन् ।
किनभने उनीहरू धेरै 'प्रोफेसनल' छन् । र, भारतीय बजारमा प्रचलित देहव्यापारको काइदा र नियममा परिवर्तन ल्याइरहेका छन् ।
भारतीय पुरुष गोरो छाला भनेपछि मरिहत्ते गर्छन् । उन्मुक्त सेक्सको आनन्द लिन लालायित छन् उनीहरू । स्वदेशी वेश्याहरूको परम्परागत सेवाभन्दा यी विदेशी गोरी वेश्याहरूको बिल्कुल भिन्न र नौलो सेवाको स्वाद लिन जति पनि खर्च गर्न तयार हुन्छन् हुनेखाने सहरिया ।
युक्रेन, जर्जिया, कजाकिस्तान, उज्बेकिस्तान, अजरबैजान, चेचेन्या र किर्गिस्तानका महिला देहव्यापारका लागि भारत आउन थालेका छन् । भारतीय वेश्याभन्दा उनीहरू ४० प्रतिशत बढी पैसा लिन्छन् । भारतीय पुरुष गोरो छाला भनेपछि मरिहत्ते गर्छन् । उन्मुक्त सेक्सको आनन्द लिन लालायित छन् उनीहरू । स्वदेशी वेश्याहरूको परम्परागत सेवाभन्दा यी विदेशी गोरी वेश्याहरूको बिल्कुल भिन्न र नौलो सेवाको स्वाद लिन जति पनि खर्च गर्न तयार हुन्छन् हुनेखाने सहरिया भारतीय ।
दिल्लीको एक कफी हाउस ।
भित्तामा टाँगिएको छ एउटा पेन्टिङ ।
२२ वर्षीया लोला एक तमासले हेरिरहेकी छिन् ।
उनी कला बुझ्दिनन् । त्यसमाथि अमूर्त कला !
उदास छन् उनका आँखा ।
आकर्षक छिन् लोला । गोरी छिन् । अग्ली पनि ।
टिमिक्क गुलाबी सर्ट र खरानी रंगको छोटो स्कर्ट लगाएकी छिन् । चम्किलो र रातो हाइहिलमा छिन् ।
उनका दुवै हातका औँलामा सजिएका छन् रंगीबिरंगी औँठी । नङको पालिसको रंग उडेको छ ।
उज्बेकिस्तानकी नागरिक हुन् लोला । कामको खोजीमा सन् २००९ को नोभेम्बरको मध्यतिर दिल्ली आएकी हुन् । उनको ब्वाइफ्रेन्ड उनलाई भेट्न वेलावेला आइरहन्छन् ।
दुवैलाई थाहा छ- उनीहरू जिन्दगीमा के चाहन्छन् ?
पैसा, पैसा र पैसा !
किनभने, उज्बेकिस्तानको आफ्नो सहर तासकन्दमा उनीहरू एउटा घर किन्न चाहन्छन् । बिहे गर्न चाहन्छन् । सुखपूर्वक गृहस्थी चलाउन चाहन्छन् ।
गरिबीमा हुर्केकी हुन्- लोला । उनीबाहेक अरू चार भाइबहिनी छन् । आमा बितिसकिन् । बाउ छन् । छोराछोरीलाई गालीगलौज गर्नु उनको नित्यकर्म भएको छ ।
लोलाका लागि देहव्यापार आकर्षक रोजगारी हो । उनलाई यसमा कुनै पछुतो छैन ।
ब्वाइपmेन्डप्रति आभारी छिन् लोला । 'उसले मेरा लागि कति दौडधुप गर्‍यो ! उसले दिल्ली आउन मलाई आवश्यक पर्ने सबै कागजपत्रको व्यवस्था गरिदियो ।'
लोला एक्ली छैनन् । गोरी वेश्याहरूको फौजको एक हिस्सा हुन् उनी । भारतको राजधानी दिल्लीमा मात्रै उनीजस्ता युवतीको संख्या तीन हजार बढी छ । अरू ठूला सहरमा पनि छन् उनीहरू ।
दुबईमा आर्थिक मन्दीको प्रभाव परेपछि पूर्वसोभियत संघका युवतीहरू देहव्यापारका लागि भारत आउन थाले । आइरहेका छन् । दिन दुईगुणा, रात चौगुणा आर्थिक समृद्धि हासिल गरिरहेको भारतलाई उनीहरूले केन्द्र बनाए । वेश्यावृत्तिका लागि भारत उहिल्यैदेखि उर्वरभूमि हुँदै हो ।
युक्रेन, जर्जिया, कजाकिस्तान, उज्बेकिस्तान, अजरबैजान, चेचेन्या र किर्गिस्तानका महिला देहव्यापारका लागि भारत आउन थालेका छन् ।
भारतीय वेश्याभन्दा उनीहरू ४० प्रतिशत बढी पैसा लिन्छन् ।
किनभने उनीहरू धेरै 'प्रोफेसनल' छन् । र, भारतीय बजारमा प्रचलित देहव्यापारको काइदा र नियममा परिवर्तन ल्याइरहेका छन् ।
भारतीय पुरुष गोरो छाला भनेपछि मरिहत्ते गर्छन् । उन्मुक्त सेक्सको आनन्द लिन लालायित छन् उनीहरू । स्वदेशी वेश्याहरूको परम्परागत सेवाभन्दा यी विदेशी गोरी वेश्याहरूको बिल्कुल भिन्न र नौलो सेवाको स्वाद लिन जति पनि खर्च गर्न तयार हुन्छन् हुनेखाने सहरिया ।
०००
सोभियत संघको विघटनपछि उज्बेकिस्तान, जर्जिया, कजाकिस्तान, अजरबैजान, किर्गिस्तानलगायत देशका महिला देहव्यापारका लागि दुबई जान थाले । यो क्रम बेस्कन बढ्यो र दुबई वेश्यावृत्तिको अड्डा बन्यो । तर, सन् २००७ मा दुबईमा कमनवेल्थ देशका २ सय ४० वेश्या पक्राउ परेपछि वेश्यावृत्तिको अड्डामा भुइँचालो गयो । अझ, २००९ मेमा २ हजार ७ सय बढी वेश्यालाई दुबई पुलिसले समातेपछि त्यहाँको वेश्यावृत्तिको संसारमा प्रलय नै आयो । यसलगत्तै, यौन पर्यटकका तीर्थस्थलजस्तो थाइल्यान्डले २ सय २८ उज्बेक वेश्यालाई उनीहरूको देश फिर्ता पठाइदिएपछि पूर्वसोभियत संघका वेश्याहरू रोजीरोटीका लागि नयाँ गन्तव्य खोज्न बाध्य भए । र, उनीहरूले दक्षिण दिशातिरको यात्रा सुरु गरे । अर्थात्, उनीहरू आए भारत । आर्थिक मन्दीले यसक्रमलाई अरू तीव्र बनायो ।
दुबई पुलिसको हातबाट उम्किन सफल भइन्- उज्बेकिस्तानकी नगिना । तर, उनका केही सहेली भने उम्किन सकेनन् । उनीहरू जेलमा छन् अहिले । नगिना भने दिल्ली आइपुगेकी छिन् ।
'हामीहरूका लागि दुबई बस्नलायक ठाउँ रहेन अब,' नगिना भन्छिन् ।
उनी ग्राहक खोज्न बारमा जान रुचाउँदिनन् । उनी प्रस्ट छिन्, 'यो इस्लामविरोधी काम हो ।'
अनि वेश्यावृत्ति नि ?
'पुरुषलाई हाम्रो सेवा आवश्यक छ, र हामी उनीहरूलाई सेवा प्रदान गर्छां,' नगिनाको जवाफ छ ।
अर्की गोरी वेश्या रोमा पनि उज्बेकिस्तानकै हुन् । हिंस्रक स्वभावका बाबुबाट आजित भएर उनले घर छाडेकी थिइन् । र, वेश्या बनिन् । पछि, उनी दुबई पुगिन् ।
रोमा यस धन्दामा लागेको आठ वर्ष भइसकेको छ । एकप्रकारले उनी उस्ताद बनिसकिन् । देहव्यापारको सम्पूर्ण व्याकरण उनलाई कण्ठस्थ छ । भारतमा उनको यो तेस्रोपटकको बसाइ हो ।
दिल्लीको एक सानदार फ्ल्याटमा बस्छिन् उनी । सेक्रेटरी पनि राखेकी छिन् उनले ।
'सबभन्दा राम्रो काम गर्ने मात्रै यस धन्दामा टिक्न सक्छन्,' उनको अनुभव बोल्छ, 'हामी बाहिरबाट आएका वेश्यालाई राम्रो सेवा दिनुपर्ने दबाब रहन्छ । मलाई अंग्रेजी बोल्न आउँछ । म खुसी छु, जीवनप्रति कुनै गुनासो छैन ।'
'रात्रि पुतली'को विशेषण पाएका लोला, नगिना र रोमाजस्ता युवतीका लागि दुबई गरिखाने भाँडो नरहेपछि उनीहरू भारत आएका छन् । प्रत्येक दिन उनीहरू दर्जनौँ अखबारमा वर्गीकृत विज्ञापन दिइरहेका हुन्छन् । यी विज्ञापनमा मोबाइल नम्बर दिइएका हुन्छन् । यिनमा देहव्यापारको अत्यन्त चलाखीसाथ संकेत गरिएको हुन्छ । जस्तो, 'शरीर मालिसको पूर्ण सन्तुष्टि ।'
पूर्वसोभियत संघका यी गोरी देहव्यापारीहरूलाई भारतका प्रमुख सहर दिल्ली, हैदरावाद, इन्दौर, अहमदावाद, राजकोट जहीँतहीँ देख्न सकिन्छ । पाँचतारे होटेलमा, कुलीन वर्गका क्लब या फार्म हाउसमा ।
उनीहरू तीनदेखि ६ महिनाको पर्यटक भिसामा भारत आउँछन् र 'आन्टी'हरूसँग बस्छन् ।
आन्टी अर्थात् पूर्वसोभियत संघका उमेर ढल्केका महिला । आन्टीहरू वर्षौसम्म गैरकानुनी रूपमा भारत बसिरहेका हुन्छन् । र, उता र यताका दलाल बीचमा बसेर मध्यस्थकर्ताको काम गरिरहेका हुन्छन् । यस धन्दामा उनीहरूको खास भूमिका हुन्छ । मोटो शरीर भएका, हरबखत चुरोटको धुवाँ उडाइरहने यी आन्टीका भिसा एजेन्ट र पुलिससँग राम्रो सम्बन्ध हुन्छ । गोरी वेश्याका विघ्नहर्ता हुन्छन् उनीहरू । आन्टीहरूले वेश्याहरूबाट राम्रो आम्दानी गर्छन् ।
भारतीय दलाल यी गोरी विदेशी वेश्याहरूलाई दैनिक पारिश्रमिक दिएर राख्छन् । सुन्दर र चलाख वेश्याले दिनको १५ हजार भारुसम्म कमाउन सक्छन् । केही वेश्याले आफ्नो आम्दानीलाई मुनाफादायी कारोबारमा लगानीसमेत गर्ने गर्छन् । छालाका वस्तु निर्यात यस्तै एउटा कारोबार हो ।
०००
विज्ञापनमा दिइएको फोन नम्बरमा फोन गरियो भने उताबाट पुरुष आवाज (दलाल)ले फोन उठाउँछ । उसले ग्राहकलाई विश्वस्त तुल्याउँछ, 'उसले (गोरी वेश्याले) तपाईंका हरेक चाहना पूरा गरिदिनेछ ।'
उसले 'प्रशिक्षित सेवा' भन्यो भने त्यसको मतलब हुन्छ- ग्राहकले आफ्ना सारा फ्यान्टासीको आनन्द पाउनेछ । केही दलाल त 'विश्वस्तरीय सेवा'को आश्वासनसमेत दिन्छन् ।
अनि, केही दलाल ग्राहकसँग गजलकारको शैलीमा बोलिरहेका हुन्छन्, 'हाम्रो मस्त मालिसको भर्‍याङ चढेर स्वर्ग पुग्नुहोस्, जहाँ शरीर र आत्मा चरम सुख प्राप्त गरेर एक हुन्छन् ।'
हिजो जसलाई दलाल भनिन्थ्यो, आज उसलाई एजेन्ट भनिन्छ । एकजना एजेन्टसँग ६ जनाजति गोरी वेश्या हुन्छन् । एजेन्ट ग्राहकसँग भेट्न चाहँदैन । सबै कुरा फोनबाट तय गरिन्छ, वेश्याको मूल्य, ग्राहकले पाउने सेवाका विवरण आदि ।
अधिकांश वेश्याका हातमा पैसा पर्दैनन् । दैनिक गुजारा चलाउने पैसाबाहेक । उनीहरू एक अनौपचारिक अनुबन्धका अधिनमा रहेर काम गर्छन् । जसअनुसार, उनीहरूले कमाएको रकम सीधै उनीहरूको देशमा, उनीहरूको परिवारमा पुग्ने गर्छ । र, यसरी आफू र आफ्ना परिवारका दुःख निवारण गर्न गर्छन् उनीहरू ।