Dec 13, 2008

चासोक कसरी मनाउने ?

दिल पालुङवा लिम्वु
लिम्वुहरुको महान चाड चासोक तङनाम व्यापक रुपमा मनाउन थालिएको पनि १२-१५ वर्ष भैसकेको छ । तर यो चाडको गरिमा त्यति वढेको पाईदैन । लिम्वुवानमा दशैको वहिस्कार संगै यो चाड प्रतिस्थापन गरिएको थियो । तर अहिलेसम्म जति व्यापकता भैसक्नुपर्ने हो भएको छैन । तसर्थ यसवारे केही वहसको आवश्यकता देखि यो लेख तयार पारिएको प्रसंग यहा उल्लेख गरिन्छ । वास्तवमा दशै लिम्वुहरुको शुद्ध चाड थिएन । तर यसमा केही मिसमासचाही अवश्य थियो । जस्तो आफन्तजनसंग भेटघाट, अन्न पाकेको खुखीयालमिा टिका आदि । तर हिन्दूकृत वढी भएको र सरकारद्वारा दवाव स्वरुप मान्नु पर्ने वाध्यताको कारण दशैप्रति वितृष्णा भएको हो । अव जे होस लिम्वुहरुले दशै मनाउन छोडे । यसलाई मनाउनु पर्छ भन्ने छैन । त्यसको लागि लिम्वुहरुको मौलिक चाड चासोकलाई विस्तृत रुपमा मनउन पर्ने हुन्छ । अव कसरी मनाउने चासोक तङनाम ? प्रश्न उठ्छ । यसको लागि दशैंमा मनाईने लिम्वु मौलिकताका कुराहरु क्रमश प्रतिस्थापनगर्दै लैजानु पर्दछ । जस्तै आफन्तजनसंग भेटघाट गर्ने काम, मावल माईति जाने काम, टिका लगाउने काम, नया लुगा लगाउने काम गरिनु पर्दछ । त्यस्तै खानाको लागि खाईने विविध परिकारहरु वनाईनु पर्दछ । यो क्रम भयो भने समाजमा अर्कै किसिमको प्रभाव पर्दछ । नया लुगा लगाउने, विविध खान पाउने, खेल्न पाउने कार्यले केटाकेटीमा पनि चाडको गहिरो छाप पर्दछ । त्यसैले चासोकको गरिमा वढाउने हो भने हामीले यो काम गर्नै पर्दछ । यसको लागि व्यक्तिगतभन्दा संस्थागत पहल प्रभावकारी हुन्छ । पहिले संस्थागत कार्य गर्नुपर्दछ । त्यसपछि यो क्रमश व्यक्तिगत तथा पारिवारिकतामा आउनेछ । तसर्थ चुम्लुङ लगायत अन्य लिम्वुजन्य तथा धार्मिकजन्य संस्थाहरुको ध्यान यतापटि्ट जान अति जरुरी छ । सेवारो ।

No comments: