Dec 11, 2008

आठसय जिल्लाको नयाँ नेपाल' को औचित्य के ?

प्रकाश यक्सो लिम्बू
अहिले सरकारको नेतृत्व नेकपा माओवादीले पाएको छ । र, राज्य पुनःसंरचाना मन्त्रालयको जिम्मा पाएकाछन् मन्त्री गोपाल किरातीले । र, हालसालै मात्र मन्त्री किरातीले आठसय जिल्लाको नयाँ नेपाल’ खाका कोरेर देखाएकाछन् । चौंधवटा स्वायत्त राज्य निर्माण हुने भनिएकोमा नेपालको पूर्वोत्तरमा एउटा नयाँ शेर्पा राज्य थपिएको देखियो । जुन बिल्कुलै आधारहीन रहेको छ । त्यो क्षेत्रहरु युगौं युगदेखि लिम्बुवान र खम्बुवान अर्न्तर्गत पर्ने भू-भाग हो । त्यहाँका आदिम भूमिपुत्र जाति भनेको लिम्बू र खम्बूहरु हुन् । शेर्पाहरु होइनन् । किनकि शेर्पाहरु आजभन्दा चारपाँचसय बर्षअघि (सन् १५३०-१८५०) मात्र पूर्वी तिब्बतबाट नेपाल छिरेकाहुन् । सबैभन्दा पहिले उनीहरुको आगमन सोलुमा र बिस्तारै उत्तर खुम्बु क्षेत्रतिर बसोबास हुँदैगएको देखिन्छ । अहिले चाहिँ उनीहरुको बसोवास नेपालको पूर्व पश्चिमसम्म। फैलिएको छ । शेर्पाहरु सोलु र खुम्बुमा आउनु अघि त्यो क्षेत्र खम्बुवानको स्वामित्वमा थियो । त्यसैगरी अर्को एउटा नेपालको पूर्वी तर्राईमा 'कोचिला राज्य' भन्ने नाम राखिएको छ । इतिहासले त्यो क्षेत्रलाई लिम्बुवान-मोरङ अन्तर्गतको भूभाग देखाउँछ । र, त्यहाँको प्राचीन आदिवासी भनेको खाम्बोङबा याक्थुङबाहरु हुन् । कोचिला नामको राज्य न लिम्बुवानमा, न नेपालमा कहिँकतै पनि पाइन्दैन । त्यसकारण कोचहरु (राजबँशी) उत्तरपूर्वी भारतबाट माइग्रेशन भएर नेपालमा पसेका हुन् भनेर त्यसैपनि अनुमान गर्न सकिन्छ । कोच राजा विश्वसिंहले सोह्रौं शताब्दीतिर उत्तर पूर्वी भारतमा 'कुच विहार' अर्थात 'कमता' भन्ने राज्यको स्थापना गरेका थिए । उनीहरुको बँशले त्यहाँ चौबिस पुस्तासम्म राज्य गरेको इतिहास छ । अहिले त्यो 'कुच विहार' राज्य खुम्चिएर पश्चिम बंगाल राज्यको एउटा जिल्लाको रुपमा मात्र सिमित रहेको छ । यस हिसाबले हेर्दा लिम्बुवान राज्यभित्र न शेर्पा राज्य, न कोचिला राज्य बन्ने कुनै ऐतिहासिक आधार देखिन्दैन । त्यसर्थ नेकपा माओवादी अर्थात मन्त्री गोपाल किरातीले प्रस्ताव गरेको आठसय जिल्लाको नयाँ नेपालको खाका बिल्कुल व्यक्तिवादी, अपरिपक्क, निराधार मात्र होइन औचित्यहीन पनि छ ।

No comments: