Dec 18, 2008

लिम्बुवानको नजरमा किराया पनि उस्तै

प्रकाश यक्सो लिम्बू
हिजोआज 'किरात रार्इ यायोक्खा' भन्ने एक जातीय संगठनले लिम्बुवानभित्र पसेर उत्पट्याङ्क मचाउँन खोज्दैछ । उसले लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिलाई कुनै हालतमा नमान्ने तरखरमा रहेका छ । स्पष्ट रुपमा भन्नुपर्दा किरात रार्इ यायोक्खाले बृहत किरात स्वायत्त राष्ट्र-राज्यको आवरण भिरेर खम्बुवानको विस्तार र लिम्बुवानको विनाश गर्न खोज्दैछ । त्यसैले अहिले उसको सम्पूर्ण ताकत लिम्बुवानमा ल्याएर खन्याउँदै पनि छ । हुनसक्छ सायद उसले पनि लिम्बुवानको भर्याङ्ग चडेर उचाई छुन खोजेको होला । तर यस्तो बिना प्रमाण र बिना आधारको षड्यन्त्रको पोकोमात्र बोकेर हिड्दा एक दिन त्यै पोको आफैलाई भार हुन्छ भन्ने कुरालाई उसले नबुझेको हुनसक्छ । अब किरात र्राई यायोक्खाको यस किसिमको क्रियाकलाप लिम्बुवानमा बढ्दै गएमा लिम्बुवानवासी पनि मुखदर्शक भएर बस्ने कुरै भएन । किरात रार्इ यायोक्खाको बृहत किरात स्वायत्त राज्यको प्रस्तावित् खाका हेर्दा उसले मुस्किलले पहाडका जम्मा १४३ गा. बि. स. लाई मात्र लिम्बुवान भन्दोरहेछ । अनि लिम्बुवानको ऐतिहासिक भू-स्तम्भलाई लगभग पुरै भत्काएर जातीय बसोवासको आधारमा जातैपिच्छेको नयाँ नामराज्य निर्माण गरिदिने अर्थात विवाद भएको स्थितिमा जनमतसंग्रह गरेर टुङ्गो लगाइदिने जस्ता अनेकौं भ्रमवाजी षड्यन्त्रहरु लिम्बुवानमा फ्याकिदिने उसको दाउ रहेछ । र्सबप्रतम त, उसलाई लिम्बुवानको ऐतिहासिक आधार स्तम्भ भत्काउने नैतिक आधार दियो नै कस्ले ? दोस्रो, प्राचीन किरात जाति वा यलम्वर हाङ्गको किरात राज्यको ऐतिहासिकतालाई पक्डेर आज बृहत किरात राष्ट्र-राज्यको सपना देख्ने तर किरातकालभन्दा पनि पुरानो र अहिलेसम्म अस्थित्वमा रहेको लिम्बुवान राज्यको ऐतिहासिकतालाई चाहिँ नमान्ने यो कस्तो दैद्य चरित्र उसको - ऐतिहासिकतालाई पनि नमान्ने खाली जनमतसंग्रह मार्फ नयाँ नयाँ जातीय राज्यको निर्माण गर्दै जाने हो भने अब नेपाल देश पनि नभनेर किरात देशको लागि जनमतसंग्रह गराउदा पनि त भयो नि होइन र ? भोलि फेरी जनताले किरात देश पनि होइन बरु मधेस, खस वा अरु कुनै जतिनामको राज्य बनाउँनुपर्छ भन्न चाहे भने त्यो पनि त स्वीकार गर्नु नै पर्यो । कि कसो ? गाँठे ! त्यसो हो भने त अब विकास सिकास शान्ति, प्रगति होइन बरु आ-आफ्नो जाति बृध्दि विकासतिर लाग्ने अनि जनमतसंग्रह गर्दै आफुले भनेजस्तो जातिनाम राज्य निर्माण गर्दै हिड्नुपर्ने पो हो कि क्याहो हँ ! आखिर किरायाले जस्तै ऐतिहासिकतालाई नमान्ने हो भने त जस्ले जे बनाउँदा जे गर्दा पनि त हुँदोरहेछ नि होइन ? तर मेरो विचारमा एउँटा अस्थित्वको स्वायत्त राज्य बन्नका लागि कम्तिमा पनि उसँग कुनै समयमा राज्यशासन गरेको ऐतिहासिक पृष्ट्रभूमि हुनुपर्छ । जस्तो लिम्बुवान, यो वि. सं १८३१ अघि एक स्वतन्त्र राष्ट्र र पछि नेपाल अर्न्तर्गत विशिष्ट स्वायत्त राज्यको रुपमा रहिआएको राज्य हो । यहाँ किरातकालिन यलम्वर हाङको किरात राज्य भनेको मुख्यतः काठमाण्डौं उपत्यका मात्र हो । लिम्बुवान कहिल्यै पनि किरात राज्यमा थिएन । वास्तवमा यो वल्लो, पल्लो र माझ किरात भन्ने शब्दनामहरु विशेष गरेर नेपाल एकिकरण (राजा पृथ्वीनारायण शाह) पछि नै बढि प्रचलनमा आएको हो । किरात शब्दलाई जो जस्ले जसरी अर्थ लगाइदिएको भएतापनि यो खासगरी अरु (हिन्दू खसजाति) ले हाम्रा जातिलाई रिसबश भनिएको शब्द मात्र हो । त्यसैले मेरो एउँटा सुझाव किरात रार्इ यायोक्खालाई, अब यो सब उत्पट्याङ्क कुरामा अल्झिरहनु भन्दापनि बरु बेलैमा सोच्ने कि मेरो मातृभूमि 'खम्बुवान' कहाँ छ भनेर ? पहिले त्यो खोज्ने । अनि त्यसको दिगो रक्षा, विकास शान्तिका लागि अहिलेदेखि नै कम्मर कसेर लाग्दा पो राम्रो हुन्थ्यो कि ! खैर, 'बुझनेलाई श्रीखण्ड नबुझनेलाई खुर्पाको बिड' मात्र ।
अन्त्यमा, अरुण पश्चिम खम्बुवान र अरुण र सप्तकोशीनदी पूर्व लिम्बुवान हो भन्ने सत्यतथ्यलाई बुझेर पनि किरात राई यायोक्खाले लिम्बुवान र खम्बुवानमा पहिले कहिल्यै पनि किरात राष्ट्र-राज्य नभएको अहिले आएर किरात स्वायत्त राज्य बनाउँने भावनामा अरुणरसप्तकाशीनदी पूर्वको वास्तविक लिम्बुवानलाई खुम्च्याएर लिम्बुवानमाथि खम्बुवानको विस्तार गर्न खोजेको प्रस्टै बुझन सकिन्छ । यहाँ अरुण पश्चिम खम्बुवान र अरुण-सप्तकोशीनदी पूर्व लिम्बुवान हो भन्ने सत्यतालाई इतिहासले नै प्रस्ट्याइसकेको अवस्था छ । मुख्यतः लिम्बू र खम्बू दुवैलाई किरात भनिएको कारणले गर्दा यहाँ किरातको पनि प्रसंग आएको हुँनसक्छ । तर, यो 'किरात' शब्द लिम्बुवान र खम्बुवानको साझा जातिनाम मात्र हो । साझा किरात राष्ट्र-राज्य कदापि होइन । त्यसकारण अब चुपचाप लिम्बुवान हलचल गर्न थाल्दैछ । लिम्बुवान प्राप्तिका लागि अहिले लिम्बुवानमा आगो दन्किरहेको अवस्था छ । त्यो घट्ने होइन बड्ने क्रममा छ । दन्किरहेको आगोमा हाम्फाल्नु भनेको निश्चित रुपमा उ पनि खरानी हुनु हो । त्यसर्थ लिम्बुवानको विरुद्घ जो कोही उभिन्छ उ लिम्बुवानको कारवाहीमा पर्नसक्छ । लिम्बुवान आन्दोलनको साङ्केतिक भाषा पनि यही हो ।

No comments: