Nov 24, 2007

डायास्पोराको जङ्गलमा देश खोजिरहेका विश्वासदीपप्रति


डा. गोविन्दराज भट्टराइ
चार वर्ष पहिले गृहयुद्धका पीडा लिएर आएका विश्वासदीप तिगेला यसपालि अर्को कृति देश बोक्नुको पीडा लिएर आएका छन् । दुवै कृति नियात्रा निबन्ध हुन् । अघिल्लो कृतिबारे मैले उत्तरआधुनिक ऐना (२०६२) मा समीक्षा चर्चा प्रस्तुत गरेको छु भने यस रचनामा म देश बोक्नुको पीडाको परिचय गर्न चाहन्छु । र्सवप्रथम त विश्वासदीपको लेखकीय चेतना र साधना अनि शक्तिको नेपाली साहित्यले प्रशंसा गर्दछ । विदेशमा सैन्य सेवामा रहेका व्यक्ति तिगेलाले आफैं सुन्दर सिर्जना गर्ने र अरुलाई पनि प्रेरित गर्ने काम गरिरहेका छन् । नेपाली साहित्यको समृद्धिमा यिनले योगदान पुर्‍याइरहेका छन् । आज आएर नेपाली साहित्यको स्वरूप र दिशा परिवर्तित हुँदैछ । अवको समय बिस्तृत, व्यापक र ग्लोबल भएकाले हाम्रा साहित्यकार अथवा पाठकले एउटा सीमित क्षेत्रको, देश भित्रको मात्र सिर्जना पढेर पुग्दैन । देश बाहिर के लेखिँदैछ, कोको सिर्जनामा लागेका छन्, कसरी ती अघि बढिरहेका छन् भन्ने कुराको पनि जानकारी राख्नु पर्दछ । देशबाहिर बसेर लेखिएका रचनामा केकस्तो विशेषता पाइन्छ त्यो पनि थाहा पाउनु पर्दछ । विश्वग्रामीकरणले सीमित पारेको जगतमा के कस्ता भूगोल र संस्कृति छन्, कस्ता इतिहास र साहित्य छन्, ती बुझनु आवश्यक छ । त्यहाँ नेपाली कसरी बसेका छन्, तिनीहरूको मानसिकता के कस्तो छ, सो कुरा बुझनु आवश्यक छ । त्योभन्दा पनि महत्वपूण्ा कुरा के छ भने अन्य भूगोल, संस्कृति, भाषा र सभ्यताका मानिसका बारेमा ज्ञान हुनु अत्यावश्यक छ । नत्र हाम्रो ज्ञानको सीमा साँघुरिने छ । विश्वासदीपले यस्तो ग्लोबल ज्ञानलाई विस्तार गर्ने काम गरेका छन् । अहिले बाहिरी मुलुकतिर पसेकाहरूले आफ्नो देशबाट टाढा भएको र नौला परिवेश भोग्नु परेको परिस्थिति लेखिरहेका छन् । बाहिरी परिस्थितिको बसाइलाई डायास्पोरा भनिन्छ । अब नेपाली साहित्यभित्र पनि डायास्पोरिक लिटरेचरले स्थान पाउन थालेको छ । गतवर्षेखि गरिमाले एउटा स्तम्भ नै मासिकरूपमा डायास्पोरालाई छुट्याएको छ । उता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले यो वर्षेखि डायास्पोरा पुरस्कार प्रदान गर्न थालेको छ । डायास्पारिक चित्र र चरित्र बोकेका कृतिहरू आउन थालेका छन् । होमनाथ सुवेदीको उपन्यास यमपुरीको महल (२०६४) एक उदाहरण हो । हङ्कङ्बाट, बेलायतबाट, अमेरिकाबाट प्रकाशित अनेक कृति पूर्वी युरोप, पश्चिमी एसिया, अप्रिmका अनेक भूभागबारे अनेक कृति प्रकाशित भइरहेका छन् । तीमध्ये एउटा हो विश्वासदीपको प्रस्तुत कृति । यो भिन्न डायास्पोराको चित्र हो । देश बोक्नुको पीडामा नौवटा निबन्ध सङ्कलित छन् । तीमध्ये पहिलो छ सधैँ मन घोच्ने केही गुनासाहरू । यो रचना नेपालकै परिवेशको छ- अन्तर्राष्ट्रिय एअरपोर्टको । त्यहाँ भएका पुराना कर्मचारी, तिनको पुरानो मानसिकता, तिनीहरूको आलश्य र अकर्मण्यता अत्यन्तै दुःख लाग्दा छन् । तिनीहरूको आलश्य र जुम्स्याईं, त्यहाँको अव्यवस्था, ढिलासुस्ती र सुविधाको अभाव देख्ता र भोग्दा लेखकलाई दुःख र पीर लाग्छ । दिग्दारी र चिन्ताले छोप्छ । हवाइअड्डा भनेको सम्पूर्ण विदेशीले सम्वन्धित देशकोबारेमा पहिलोपल्ट अनुभव गर्ने स्थान हो, प्रवेशद्वार । त्यहाँबाटै त्यस्तो अनुभव लिनु पर्दा विदेशमा हाम्रो कस्तो सन्देश पुग्ला भनी लेखक चिन्तित छन् । यो स्वाभाविक चिन्ताको अनि लज्जाको विषय हो । दोस्रो निवन्ध छ कोसोभो यात्रा जिउँदी आमाको चिहान तयारी । यो एउटा उत्कृष्ट रचना हो मर्मश्पर्शी पनि । यसमा १९९० पश्चात युगोस्लाभिया टुक्रिएपछिका विभिन्न देशले भोगेको स्थितिको संकेत छ । प्रस्तुत रचना कोसोभोमा केन्द्रित छ त्यहाँको जातीय, भाषिक र धार्मिक विखण्डनका स्थितिहरूको भयावह चित्र प्रस्तुत भएको छ । जीवनको मूल्य समाप्त छ, मानवीय संवेदना समाप्त छ; भय, त्रास, असुरक्षा र मृत्युले ढाकेको छ । यसको एउटा उदाहरण जिउँदै आमाको चिहान खनेर एउटा छोरो उनको मृत्युको प्रतीक्षा गर्दछ । तेस्रो रचनामा निबन्धकार कोसोभोबाट केन्यातिर लाग्दछन्- केन्या यात्रा एउटा सुन्दर क्षणको अन्त्यमा । अप्रिmकाको केन्या भूमी सुक्खाले ग्रस्त छ । जनता गरिबीले आहत छन् । हरेक अवस्थामा लेखक अरुको परिस्थितिसँग आफ्नो तुलना गर्दछन् । त्यहाँका गोठालाहरु देख्ता आफ्नै बाल्यकालमा गोठालो गएको, दुखी छाप्रामा पढेको वा बसेको सम्झना हुन्छ । धेरै चरित्रमा केन्या पनि नेपाल झैँ देखिन्छ । बिजुलीका खम्बा छन्, तार चुँडिएका । एड्सले प्रत्येक छमध्ये एक व्यक्ति ग्रस्त छ । कृषि र पशुप्रणाली उस्तै, पछौटेपन उस्तै । तिगेलाको निरीक्षण शक्ति अति सूक्ष्म र तीब्र छ । उनको तात्कालीनता प्रशंसनीय छ- यो घटनाको उनले जहाजमै लेखे । चौथो निबन्ध छ गरीब देशको नागरिक हुनुमा बढी मानवता । उनी वेलायतको गाँउगाउँमा पुग्छन् । त्यहाँका खेतीपातिमा डुबेका कृषक देख्ता आफ्नै बाल्यकालको सम्झना गर्छन । दुखी समाजमा हुर्केका उनी बाल्यकालको अभाव र कष्ट सम्भिnन्छन्- पढ्ने इच्छा थियो, टुकी बाल्ने मट्टीतेल फारो गर्नु पथ्र्यो । आज उनले तिनै कुरा लेख्तैछन् । अतीत र वर्तमान मिसाएर एउटा फ्युजन तर लेख्नु सजिलो छैन । लेख्तालेख्तै सिर्जनामा लागेकैले आज उनीहरुको पल्टनमा पनि एउटा माहोल बनेको अनुमान गर्न सकिन्छ । लेखनकै क्षेत्रमा विभिन्न गोष्ठीमा भाग लिने अवसरसमेत उनले पाएका छन् । दुखबाट उठेका जीवनमा धेरै उपलब्धी छन् । यो सम्झेर उनलाई ढुक्क पनि लाग्छ । पाँचौ निबन्ध छ मलेसिया यात्राको- गुफाको राजधानी मुलु यात्रा । त्यहाँ पुग्दा आफ्नो गाउँको थामडाँडा पुगेझैँ हुन्छ । त्यहाँको अवस्था देख्दा पनि आफ्नै देशको गतिको सम्झना हुन्छ- अझ दुगतिको । हत्या हिँसाले देश समाप्त छ । मनमा देश विकासको तरङ्ग उठाउँदै सारवाक क्षेत्रमा जान्छन्, त्यहाँ विश्वप्रसिद्ध गुफाको अवलोकन गर्छन्, स्थानीय बासिन्दाको जीवन शैली टिपेर फर्किन्छन् । छैठौँ निबन्ध देश बोक्नुको पीडा । यो शिर्षकबाटै पुस्तकको नाम रहेको छ । यस निबन्धले पनि अन्तर्राष्ट्रिय जगतमा नेपाली जातिको छबि धमिलो हुँदै गएको, नेपालीले हिनत्व भोग्नु परेको कुरा प्रकट गरेका छन् । त्यसै गरी सातौँ निबन्ध राम्रो सपना देखेको रातमा पनि लेखक केन्यामा छन् । अतीत स्मरणले उनलाई झस्काउँछ; उनी भावुक बन्छन् । त्यहाँको जीवन निम्न गर्तमा डुबेर एड्सले निलेको, गरीबी र अन्धकारले खाएको देख्तछन् । यो मानव सभ्यताकै लज्जास्पद पराजय लाग्दछ । यो पीडादायी चित्र उनी अँध्यारामा बसेर र्टचको सहायताले लेख्छन् । कति गाह्रो छ सिर्जना गर्नु ! एउटा सपना देख्छन् त्यो आफ्नै देशको उन्नतिको हुन्छ । यसरी सपना बिपना सबै देशकै उन्नतिको सम्झनामा समर्पित तिगेला यसकै चिन्ता र पीर बोकेर हिँड्छन्, लेख्छन् । त्यही हो उनको देश बोक्नुको पीडा । आठौँ निबन्ध छ बेलायतमा खुसीको सपिङ । यसमा बेलायतको बजार, त्यहाँका नेपाली र त्यहाँका बसाइको विशेषता उतार्छन् भने अन्तिम निबन्ध छ अफरिकाका साम्बुरु जातिको परिचय । नेपाली साहित्यका केन्द्रहरु परिवर्तित हुँदैछन् । नयाँ केन्द्र बन्दैछन् । ती अनेक डायस्पोरा हुन् । विश्वासदीपले एउटा विशेष खण्डको, अरु नेपालीले नलेखेका भूभागको, त्यहाँका बासिन्दाका जीवन र तिनका संस्कृतिको चित्र प्रस्तुत गरेका छन् । यो डायस्पोरिक चित्र हो, नवीन जो अति महत्वपूर्ण छ । नेपाली यात्रा-संस्मरण साहित्यमा तिगेलाले आफ्नो स्थान सुरक्षित राखेका छन् । उनी भित्र एउटा स्थिर लेखक उदाइसकेको छ । उनमा परिस्कार छ, नवीनता छ र फेरेसनेस । हरेक ठाउँमा उनी इमान्दार छन् र हरेक पल देशको उन्नतिको चिन्तामा छन् । यस्ता तिगेलाको देश बोक्नुको पीडा अत्यन्तै नौलो र पठनीय यात्रा निबन्धसङ्ग्रहको नेपाली वाङ्मयमा स्वागत गर्दछु ।
साहित्य डटकमबाट साभार

1 comment:

mundhum said...

Murkha sajjan please do not say Limbu script to Kirat script.