Jul 2, 2011

जनजाति पत्रकार संघ गठनको सूचना

सूचना सूचना सूचना सूचना सूचना सूचना सूचना सूचना

हंगकंगमा पहिलो पटक नेपाली आदिवासी जनजाति पत्रकार संघ गठन सम्बन्धि छलफल गर्न गै रहेकोले हंगकंगमा रहनु भएका सम्पूर्ण आदिवासी जनजाति पत्रकार,लेखक तथा साहित्यकार,आदिवासी जनजाति हकहितको लागि सचेत सम्पूर्ण महानु भाबहरुलाई तलको मिति, समय र स्थानमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ ।

२४ जुलाई २०११
दिउसोको १२.१५ बजे
पहिलाको ओर्कर युनियनको कार्यलय, ५६६ क्यान्टोन रोड,जोर्डन हंगकंग
सम्पर्क नं – ९७७३०२६४,९४७७८४८२,९७०६१९२५

Jun 26, 2011

ईश्वरको अनुभूति सामुदायीक कार्यक्रम

सूचना - - - - - - - - - - - सूचना - - - - - - - -  - सूचना

श्री सत्य सार्इबाबा सेवा संगठन चुनवानद्वारा आयोजना हुन गैरहेको "ईश्वरको अनुभूति सामुदायीक कार्यक्रम" मा सम्पूर्ण मानुभावहरु सहभागी भैदिन हुन हार्दिक अनुरोध गर्दछौ ।


सदा सार्इ सेवामा


अध्यक्ष
कान्ता र्साईराम - ९६५१७४५४


स्थान - याउ मा ताई कम्युनिटी हल
मिति - २०११ /०७ /२४ आइतबार
समय - ०५ः४५ देखि ०८ः५० बजे सम्म
प्रवेश निशुल्क हुनेछ ।

Jun 16, 2011

गीतकार कृष्णकला वनेम,गीत र हङकङ

टंक सम्वाहाम्फे
फेसबुकको सञ्जालले आज बिश्वभर नै तहल्का मच्चाई रहेको छ । साहित्य,संगीत,फिल्म,भिडियोआदि,मात्र नभएर ब्यापार,ब्यावसाय,राजनिति,नाता,मायाँप्रेम,सेवा,सामाजिक कार्य,समाचार,तस्विर,महत्वपूर्ण दस्तावेज,विज्ञापन,सूचना,कम्प्युर गेम,आआफ्नै स्तर, समूह,रुची अनुसारको, समूह,लिङग अनुसारको समूह आदिइत्यादि यो फेसबुकले यस्ता अनेकौ कुराहरु ,विषयबस्तुहरु बोकेर आईदिएको छ । त्यसो त फेसबुकको नकारात्मक पक्षहरु पनि छन् अनेकौ विकृतिहरु भित्राएको । जुनसुकै कुरा आउँदा जहिले पनि सकरात्मक र नकरात्मक दुवै पक्ष आए कै हुन्छ । ती सवै कुरा छुट्याएर आफुले फाईदा लिने कुरा आफ्नो हातमा,विचारमा,सोचमा भर पर्दछ । बरु विकृतिलाई कसरी घटाउँन सकिन्छ त्यतातिर लाग्नुनै उचित ठहरीन्छ । अहिले आएर फेसबुकमा नेपाली साहित्यले पनि निक्कै ब्यापक रुपले आफ्नो स्थान बनाएको तपाई हामीले महसुस अथवा अनुभव गर्दैछौ । कतिपय साहित्यकारहरुले दिनहुँ त कतिले १,२ दिनको फरक हुँदै हप्ता महिना सम्ममा आफ्नो नामको फेसबुक चलाए कै हुन्छौ । जहाँबाट आफ्नो सिर्जना सम्प्रेषण गर्ने र अरुको सिर्जना हेर्न सकिन्छ । त्यो फाईदा हामी सिर्जना गर्न रुचाउँने,पढ्न रुचाउँनेले गरीरहेका छौ । नेपाली साहित्यले साइवर सञ्जालमा यसरी फड्को मार्नु भनेको नेपाली भाषा साहित्यको बडोत्तरी हो । यहि फेसबुक चलाउँने क्रममा विगत छ महिना अघि देखि गीतकार कृष्णकला वनेम साहित्यिक मित्रताको रुपमा आईन । उनका अनेकौ गीतहरु पढ्दै आएको छु र मैले जान्दो आफ्ना प्रतिक्रिया दिँदै आएको छु । खास गरेर विगत ३ वर्ष देखि इजरायल भूमिलाई प्रयोग गरेर आफ्ना गीतहरु फेसबुक मार्फत सम्प्रेषण गर्दै आउनु भएको छ । धेरथोर मेरो सम्पर्कमा आएपछि सल्लाह सुझाव पनि साइवरबाट नै दिईरहेको छु । इजरायल भूमिलाई प्रयोग गरेर साहित्यलाई सशक्त रुपले अगाडी बढाउँने नारी स्रष्टाहरुमा दीप्स शाह,मनु लोहरुङ राई आदिको नाम सुनेको छु र पढेको पनि छु अन्य पनि धेरै हुनु हुन्छ होला । तर म अहिले गीतकार कृष्णकला वनेमको गीतको बारेमा केहि चर्चा गर्न खोजि रहेको छु । चर्चा यसकारण गर्न खोजिरहेको छु कि वहाँ इजरायल बसेर हङकङलाई केन्द्रविन्दु बनाएर गीत लेख्नु हुन्छ । हङकङको नेपाली जनजीवनको गीत प्रस्तुत गर्नु हुन्छ । जो कि म केहि बर्षदेखि निरन्तर हङकङलाई कर्मभूमिको रुपमा सम्झेर बसेको छु तर पनि हङकङको नेपाली जनजीवनको गीत लेख्न सकेको छुइन । त्यसैले पनि उनको बारेमा लेख्न उत्साहित भएको छु । खास गरेर म उनको गीतकारीता बाहेक अन्य लेखनको बारेमा म अनभिज्ञ छु । गीत उनको भिन्नै विषयबस्तुभएको निरन्तर अध्यायन गर्दै आएको छु । र उनको गीतको प्रस्तुति,कला,भाव सघन रुपले पाईएको छ । गीत कै प्रतिक्रियाहरु पल्टाएर हेर्दा पनि थाहा हुन्छ । साथै हरेक नयाँ गीतमा नौलो ढङगको गीत पस्किनुमा उनको क्षमता प्रदर्शीत भएको पाईन्छ । पराईभूमिमा बसेर समयलाई चिन्न सक्नु,पक्रनु सक्नु ज्यादै सह्रनिय कार्य हो । यसले के पनि जनाउँदछ भने अव इजरायल भूमि पनि नेपाली साहित्यको लागि एक नयाँ केन्द्र साथै उर्वरभूमिको रुपमा लिन सकिन्छ । र त्यहाँ बसोवास गर्नु हुने स्रष्टाहरुले आफ्नो कृतिहरु धमाधम प्रकाशनमा ल्याउँनु भएको कुरा हामीले निरन्तर पत्रपत्रिकामा जानकारी पनि पाई नै रहेकाछौ । हङकङ अथवा त्यहाँ वसोवास गर्ने नेपालीसंग जोडिएका गीतलाई म यहाँ प्रस्तुत गर्न चाहन्छु ।
हङकङमा छौ नी कान्छा म त गाउँघरैमा
नविर्स है कान्छा मलाई भूलि रमझमैमा

भेट भयो पहिलो चोटी राजारानी गाउमा,
बाधी दियौ बैना तिमीले पटुकीको छेउमा,,
मोती जस्तो दन्तै राम्रो मोहनी आखैमा ,
मुटु छुने गीत गायौ हाक्पारे भाकैमा ,,

पाती राख्यौ देवीथानमा जादा हलीमेला,
चीनो दियौ पछ्यौरीमा छुट्टीने त्यो बेला,,
लज्जालु छ मुहार तिम्रो कोठी गालैमा ,
लैजाउ सङ्गै मलाई पनि आउने सालैमा,,

यहाँ प्रेमीकाले गाउँबाट आफ्नो प्रेमीलाई मायाँमा दिएको सन्देश भेटिन्छ । नेपालमा संगसंगै बस्दाबस्दै बाध्यतावस् प्रेमी हङकङ पुगेको हुनाले उनी प्रतिको मायाँप्रेम जीबित पार्न त्यहाँको रमझममा भुलिएर प्रेमीकालाई नभुल्न आग्रह गरेको देखिन्छ । यहाँ वास्तविकता पनि ठ्याक्कै त्यस्तै त्यस्तै नै छ । कतिपयले वाचा वन्धन गरेर आफ्नो प्रेमीले प्रेमीकालाई र प्रेमीकाले प्रेमीलाई भुली दिएको उदाहरण हङकङमा प्रसस्तै छ जस्तो मलाई लाग्छ । एक त यो गीतले प्रेमी प्रेमीकालाई अन्तर शन्देस पनि दिएकोछ । त्यसपछि गीतमा धेरै प्रसंग नेपालको ल्याईएको छ । किनभने प्रेमी र प्रेमीका नेपालकै भएको हुनाले मायाँ प्रीति,गाउँ ठाउँहरु साथै देवीथानमा पाती समेत चढाएको कुरालाई गीतमा ल्याउँनु नेपालीपनले भरीपूर्ण भएको पाईन्छ । अन्त्यमा विदेशबाट धन कमाएर आएपछि संगै वस्ने इच्छा प्रकट गरीएको छ । त्यो वास्तवमा जुनसकै प्रेमी र प्रेमीका बिच प्रस्ताव हुने कुराहरु हुन् । मनसाय ब्याक्त गरीने कुराहरु हुन ।
हङकङकै प्रसंगले बाधिएको दोस्रो गीतलाई हेरौं ।
आए म त गाउँघर छाडी हङकङ शहरैमा
धन कमाई हाँसी खुशी जीउँने रहरैमा

हजारौमा एक्लै भए स्टारफेरी घुम्दा,
बाधीरैछु रहरहरु बैश आई चुम्दा,,
सबै जान्छन दिल जोड्न मङ्कीहिलैमा,
राखीरैछु माया तिमीलाई भित्री दिलैमा,,

सुनको बाला किनीरैछु सेन्ट्रलफेरी जादा,
सिन्दुरपोते लगाई दिन्छु एस्पाली म आउदा,,
फर्की आउदा ल्याउनेछु तिमीलाई साथैमा,
हात समाई घुमौला ओसन पार्कैमा,,

यो गीतले ज्यादै वास्तविक विषयबस्तु बोकेको छ । खास गरेर हङकङमा शहरबाट भन्दा पनि बढी गाउँघरबाटै आएका छन् नेपालीहरु । यहाँ आउँनुको उदेश्य प्रथम त धनसम्पती कमाउँनु नै हो । अन्य हिसावले आउँने भनेको कमै मात्र पाईन्छ । यसलाई हङकङ भन्दा टाढा बसेर यहाँको वास्तविकतामा लेख्न सक्नु त्यो ठाउँ र त्यहाँ बसेका नेपालीहरु प्रति सहानुभूति जाग्नु हो । र हङकङे नेपालीहरुको विषयमा बढी मोह जाग्नु पनि हो । साथै हङकङका मुख्यस्थलहरुको जानकारी हुनु पनि हो । नत्र भने ती हङकङका मुख्यस्थलहरुलाई गीतमा समावेश गर्न सकिन्न । नेपालीहरुले धेरै भन्दा धेरै कार्यक्रम गर्ने स्थल मङकी हिल, ताईमोशान आएको छ । स्टार फेरी,सेन्ट्रल फेरी र ओसन पार्क अर्को घुम्ने फिर्ने रमणिय ठाउँहरु हुन् । यसरी कलात्मक ढङगले यहाँको विषयबस्तु ल्याउँनु पक्कै पनि चानचुने कुरा होइन । यो ठाउँमा कति लेखक,साहित्यकारहरु रहदै आउँनु भए पनि यस्ता खाले गीतहरु कमै मात्र लेखिएको छ । सायद गीतकार बुद्धबीर लामा हङकङ डुल्न आउँनु भएकोवेला लेख्नु भएको गीत तिमीलाई हङकङ पुर्यायो आईडी कार्डैले,कन्दरा वेण्डले गाएको हङकङ पोखरा, गीतकार रमेश पौडेलले लेख्नु भएको स्टारफेरीमा भन्ने गीतहरुले धेरै चर्चा पाईसकेका छन् । त्यसरी नै राम्रो संगीत र स्वर पायो भने कृष्णकला वनेमको गीतले पनि चर्चाको शिखर निश्चय नै चुम्नेछ । उनले हङकङको विषयमा मात्रै नभएर साउदी अरबको विषयमा पनि गीत प्रस्तुत गरी सक्नु भएको छ । हङकङमा नेपालीहरुको बसोबासलाई लक्ष्य गरीएर लेखिएको गीत निक्कै मर्मस्पर्शी खालको छ । यी गीतहरु बाहेक अन्य गीतहरु अझ परीस्कारका साथ नेपाली लेखक,पाठक,समालोचकहरुको सामु ल्याउनु नै हुनेछ भन्ने कुरामा म विश्वस्त छु । गीत लेखन अन्य विधा भन्दा गहन विधा हो किनकी यो स्वराङकन भएर सोझै श्रोता तथा दर्शकहरुको माझ पुग्दछ । आजलाई मैले यिनै दुइ गीतहरुमा आफ्नो छोटो विचार प्रस्तुत गरेको छु । यहाँ बसोवास गर्ने साहित्यकारहरुले बिर्सीएको बिषयबस्तु प्रस्तुत गर्नु भएकोले पनि मैले चर्चा गर्न योग्य ठानेको छु । र मैले चर्चा नगरे पनि कुनै न कुनै दिन चर्चा भएरै छाड्थ्यो । अन्य गीतहरुको बारेमा पछि चर्चा गर्नेछु आजलाई म यहि रोकिन्छु । धन्यवाद ।
गीतकार कृष्णकला वनेम

Jun 12, 2011

राजु आङदेम्वे,(राज कुमार)

जन्म - २०३४ फाल्गुन
जन्म स्थान - आङसराङ - ७ पान्थर लिम्बुवान
वाल्यावस्था - मावली गाउँ रानी गाउँ - ६ पान्थर
आमा - स्व.इन्द्र कुमारी आङदेम्वे,सम्वाहाङफे
बाबा - फौद सिंआङदेम्वे
पेशा - गायन
प्रारम्भ - संगीत यात्रा २०५० सालबाट
गायन विधा - लिम्बु भाषा,लोक आधुनिक
रुची - समाज सेवा
शिक्षा - स्नातक

लिम्बुभाषाबाट प्रकाशित गीति संग्रहहरु
१.सिमेरिङ - २०५४
२.लाङयोक - २०५६
३.मना - २०६२
४.साक्मा - २०६४
५.सिलामसाक्मा - २०६६

नेपाली भाषाबाट प्रकाशित गीति संग्रहहरु
१.रानीगाउँ - २०५७
२.हाक्पारे पालाम गाउँदै - २०६५
३.कथा जीन्दगीको - २०६७

सांगीतिक यात्राहरु विशेष भाषीक गीतहरु
१.लिम्बु विद्यार्थी मञ्च केन्द्रिय समिति सांस्कृतिक साँझ,काठमाडौ
२.१४ राष्ट्र आदिवासी गीत कम्पिटिसन कोरीया - दोस्रो
३.फक्ताङलुङ सयङ (सेक्फूङ) छनौट कार्यक्रम,धरान
४.चासोक तङनाम सांस्कृतिक कार्यक्रम धरान (कियाचु,सुनसरी)
५.मेन्छ्यायेम एफ.एम. बार्षीक उत्सव सांस्कृतिक कार्यक्रम ,तेह्रथुम २०६६
६.गजुरमुखी महोत्सव इलाम
७.ताप्लेजुङ आइडल छनौट, ताप्लेजुङ २०६६
८.त्रिसाली मेला साँस्कृतिक कार्यक्रम २०६७ पान्थर यासोक
९.गुरु मन कुमार सम्वाहाम्फे शुभ जन्मोत्सव इभाङ साँस्कृतिक कार्यक्रम (र्इलाम)
१०.विशेष यासेली सहयोग साँझ २०६६
११.पूर्वाञ्चल साँगीतिक यात्रा (र्इलाम)
१२.आदिवासी साँस्कृतिक साँझ काठमाडौ

संघसंस्थाहरुमा आवद्ध
हाल - फक्ताङलुङ साँस्कृतिक मञ्च केन्द्रिय समिति - उपाध्यक्ष
१.फक्ताङलुङ साँस्कृतिक मञ्च केन्द्रिय समिति - सचिव - २०६४
२.लिम्बु विद्यार्थी मञ्च केन्द्रिय समिति साँस्कृतिक विभाग प्रमुख २०५७ - ५९
३.किरात याक्थुङ चुम्लु ङ साँस्कृतिक संयोजक समिति २०५८ सहसचिव
४.याक्थुङ कलाकार संघ केन्द्रिय सदस्य २०५८
५.नेपाल कोरीया साँस्कृतिक मञ्च संस्थापक सचिव २०६१
६.नेपाल कोरीया साँस्कृतिक मञ्च संस्थापक महासचिव २०६३
७.आदिवासी विद्यार्थीइकाई समिति आर.आर.क्याम्पस काठमाडौ सह-संयोजक २०५८

मेन्छ्यायाम एफ.एम.संग राजु आङदेम्वेको वार्ता नेपाली भाषामा

मेन्छ्यायाम एफ.एम.संग राजु आङदेम्वेको वार्ता लिम्बु भाषामा


Jun 8, 2011

लिम्वुवानको लागि सवै लिम्वुवानवादीहरु एक हुन आवश्यक

दिल पालुङवा लिम्वु

पृष्ठभूमि
लिम्वुवानवारे नयां पुस्तालाई विगतभन्दा केही वढी मात्र ज्ञान भएको महशुस भैरहेको अवस्थामा अझै अधिकांश युवाहरु लिम्वुवानको इतिहासवारे,अवस्थावारे अनविज्ञनै रहेका छन् । लिम्वुवान के हो,कति हो र किन खोजिरहेका छन्-उनीहरु भन्ने गर्दछन् । कोही त विरोध पनि गर्दछन् । वरु अन्य जातिहरुले समर्थन गर्दछन् । यसको मूख्य कारण भनेको के हो भने लिम्वुवान वारे राम्रो जानकारी सम्वन्धितहरुलाई नपुग्नु हौ । लिम्वुवान विगतमा पनि थियो, विचमा समाप्त पारीयो र अहिले पून हुनुपर्दछ भनिएको वारे वुझ्न नितान्त आवश्यक छ ।
नेपाल राष्ट्रको उत्पत्ति भएको पृथ्वीनारायणको एकिकरण अभियान वि.सं१८३१ देखि मात्र हो । त्यो भन्दा हजारौं वर्षअघिदेखि लिम्वुवानको अस्तित्व थियो । गोर्खाले युद्धमा नजितेको कारण लिम्वुवानलाई स्वायत्त अधिकार दिएर नेपालको स्वशासित क्षेत्र वनाएको थियो । लिम्वुहरुलाई स्वशासन सुम्पिएको थियो । सोही मुताविक लिम्वुवान सञ्चालित थियो । तर वि.सं२०२१ सालमा भूमिसुधारको नाम लिएर राजा महेन्द्रले लिम्वुवानको भूमि अधिकार किपट प्रणाली र स्वशाशनको अधिकार समाप्त पारे । त्यो भन्दा पहिलेदेखि पनि लिम्वुवानको अधिकारहरु कटौतीको क्रममा पारिएको थियो ।
लिम्वुवानको अधिकार कटौती गर्न शुरुभएदेखिनै लिम्वुहरुले नेपाल सरकारमा आफ्नो अधिकार कटौती नगर्न आग्रह गरेका थिए । तर सरकारवाट सुनुवाई पटक्कै भएन । यद्धपी यो माग गर्ने क्रम जारीनै रहयो । यस क्रममा धेरै लिम्वुहरुले शाहदात प्राप्त गरे । यही क्रमको निरन्तरता अहिलेसम्म भैरहेको छ । पहिले पञ्चायत कालमा भूमिगत भएर काम गरिन्थ्यो । अहिले खुला रुपमा लिम्वुवानको वारेमा आवाज उठाउन पाईएको छ । यो हाम्रै पूर्खाहरकौ लिम्वुवान प्रतिको वलिदान तथा लगावकै कारण हो । तर पहिले लिम्वुहरु एकै ठाउमा रहेर काम गर्थे । अहिले विभिन्न समुहमा आवद्ध छन् । त्यस्तै पहिले देश राजाले चलाउथे । अहिले पार्टीहरुले चलाउछन । यद्धपी विभाजित सानो समुह भएर काम गर्नु अवश्य पनि कमजौर हुनु हो । यसर्थ सवैजना गोलवन्द हुन नितान्त आवश्यकता छ । एकतामानै वल हुनेछ ।

गोलवन्दको तरिका
विगत वर्षहरुमा पञ्चायत कालदेखिनै लिम्वुवानको लागि आवाज उठाउने पार्टी भनेको लिम्वुवान मूक्ति मोर्चा(वीर नेम्वाङ) थियो । त्यसपछि माओवादी पार्टी भातृसंगठनकोरुपमा लिम्वुवान राष्ट्रिय मूक्ति मोर्चा, त्यसपछि लिम्वुवान राष्ट्रिय मोर्चा(हङकङमा स्थापित),त्यसपछि संघीय लिम्वुवान राज्य परिषद-केही समयपछि फुटेर यही नामको दुइवटा,सञ्जुहाङ र कुमार),त्यस्तै अन्य केही पार्टीहरु छन् । त्यसपछि एमाले, कांग्रेस, जनमुक्ति आदि पार्टीहरुकौ भातृसंगठनहरु प्नि स्थापना भएका छन् ।
स्थापनकालदेखि सञ्जुहाङको नेतृत्वमा रहेको संघीय लिम्वुवान राज्य परिषदले व्यापक लिम्वुवानी समर्थन जुटाउन सफल भएको थियो । सडक आन्दोलन पनि उत्कर्षा पुगेको थियो । यस आन्दोलनलाई हङकङमा स्थापित लिम्वुवान राष्ट्रिय मोर्चालै पनि भरमग्दुर सहयोग गरेको थियो । स्थिती थाम्नै नसक्ने भएर अन्तरिम सरकार वार्ता गर्न वस्न वाध्य भएको थियौ । वार्तापछि आन्दोलनको स्थगन र लिम्वुवान स्वायत्त राज्यको स्थापनाको सुनिश्चितताको सम्झौता भएको थियो । समझौतामा सरकारको तर्फबाट तत्कालिन शान्ति मन्त्री रामचन्द्र पौडेल र संघीय लिम्वुवान राज्य परिषदको तर्फबाट अध्यक्ष सञ्जुहाङ पालुङवाले हस्ताक्षर गरेका थिए । त्यसपछि यो पार्टीमा वाहिरी र भित्री शत्तिहरु लागेर फुटाईकन छाडे । लिम्वुवानवादीहरुको मन खिन्न भएर गयो । अन्तरपार्टी कलह निम्त्याएर सञ्जुहाङ र कुमार दुवैको पार्टी पून फुटेर वसेका छन् । यद्धपी यी दुइ पार्टीहरु नै अहिलेको निर्णायक खेलाडि हुने देखिन्छ । तसर्थ लिम्वुवानको खातिर यी पार्टीहरु पहिला जुट्नु आवश्यक देखिन्छ । त्यस्तै क्रमश सवै लिम्वुवानवादी पार्टी एकजुट भएर अघि वढ्नु पर्दछ । त्यस्तै अन्य पार्टीमा आवद्ध लिम्वुवाननवादीहरुलाई पनि मोर्चामा आवद्ध गराउदै लैजानु पर्दछ । अन्य पार्टीकाले समर्थन गर्नेछन् । विरोध गर्दैनन किनकी उनीहरु आफ्ना पार्टी छोड्न चाहदैनन । तर लिम्वुवान भारी मात्रामा चाहान्छन् ।
यहा विचारणीय कुरा के छ भने लिम्वुहरु ९९ प्रतिशत लिम्वुवान चाहान्छन् । त्यस्तै अन्य लिम्वुवानवासीहरु प्नि लिम्वुवान चाहन्छन् । यो कुरा वुझेर कार्य गर्नुपर्ने हुन्छ । किनकी लिम्वुवानले छुट्टै स्वतन्त्र लिम्वुवान चाहेका होईनन् । उनीहरुले संघीय नेपालको स्वायत्त लिम्वुवान राज्य मात्र चाहेका हुन् । जुन कुरा अन्तरिम संविधानमा संघीय नेपाल हुने भनेर उल्लेख भैसकेको छ । उही मोडलमा मात्र फरक हो ।

निस्कर्ष
लिम्वुवानको लागि सम्पूर्ण लिम्वुहरु सहमत छन् । लिम्वुहरु देशविदेश जहाँ वसेपनि लिम्वुवानप्रति चिन्तित छन् । लिम्वुवानको लागि भावानात्मकरुपमा संगठित छन् । लिम्वुवानलाई विविध सहयोग पुर्याई रहेका छन् । यो कुरा सम्वन्धित सवैले वुझ्नुपर्ने हुन्छ । तर विडम्वना हामीमा पनि संकूचित घेराहरु रहेका छन् । हुनत यो कुरा नचाहदा नचाहदै गर्नु परेको छ । त्यो के भने हङकङमा स्थापित लिम्वुवान राष्ट्रिय मोर्चा नेपालमा सञ्चालित संयुक्त आन्दोलनमा सहभागि भएर अघि वढ्न चाहने कुरा स्वयं अध्यक्ष नेपाल गएर प्रस्ताव राख्दा स्वीकार्य भएन । कसरी हुन्छ हामी लिम्वुवानी आन्दोलनलाई आवशयक सहयोग गर्न सकिने वताउदा पनि हुन सकेन । तर आर्थिक सहयोग चाही माग्ने गर्दछन् । वास्तवमा यस्तो तरिका सकारात्मक होईन । त्यसलाई मिलाएर समायोजन गरेर लैजानुपर्दछ । त्यस्तै यु.के लाई पनि भनियो । तर अवको वाटो भनेको के हुनुपर्दछ भने र्सवप्रथम लिम्वुवानको लागि मात्र खोलिएका पार्टी एकिकरण गर्दै जाने र अन्य पार्टी भातृसंगठनहरुलाई पनि आवद्ध गर्दै लैजाने । विदेशमा स्थापित लिम्वुवानी संगठनहरुलाई पनि एकिकरण गर्ने तथा त्यस्तो हुन नमिल्नेलाई समन्वय गरेर अघि वढेर जाने । लिम्वुवानमा स्थापित र र्सवमान्य नेताको अभाव भएकोले गर्दा कसैको नेतृत्व स्वीकार्य मानिएको छैन । तर यो परिपाटीलाई ध्यान दिदै वर्तमान घडिको लागि कसैको पनि नेतृत्वलाई स्वकिार्ने । जुन मतदानको आधारमा वहुमतको आधारमा चयन होस । हुनत हो, सुवास नेम्वाङको नेतृत्व लिम्वुवानले चाहन्छन् । तर त्यो परिपूर्ति हुदैन । कोही चाहन्छन् पद्मसुन्दर लावती लगायत वरिष्ठ राजनितीकर्मी तथा वैरागी काईला, वालकृष्ण मावोहाङ, चैतन्य मेन्याङवोहरु आदिजस्ता वुद्धिजिवीहरुले नेतृत्व गरुन । तर यो पनि भैरहेको छैन र तल्लो स्तरवाट उठिरहेका नयां नेताहरुले लिम्वुवान हांकिरहेका छन् । अव हाकिने पनि स्थिती हुदैछ । तर माथि उल्लेखित व्यक्तिहरु नेतृत्वमा नआएतापनि उहाहरुको समर्थन आफ्नो ठाउमा रहेको कुरालाई विर्सन हुदैन ।
लिम्वुवानवादी एकठाउमा आएपछि लिम्वुवानका अन्य आदिवासीहरु जस्तै लोहरुङ, अठप्रे, याख्खा, मेवाहाङ आदिसंग छलफल चलाउदै ऐतिहासिक लिम्वुवानको आधार तथा दाजुभाईको रुपमा भातृत्व कायम गर्दै अघि वढ्ने तथा अन्य जातिहरुको सवालमा पनि लिम्वुवानको ऐतिहासिक पाटोलाई उजागर गर्दै लिम्वुवानको खातिर अघि वढ्ने । यसो भएमा लिम्वुवानले जनर्समर्थन प्राप्त गर्न सक्छ र शान्तिपूर्ण तवरवाट आफुले सोचेको सम्झेको लिम्वुवान प्राप्त हुनेछ ।र वर्तमान समय भनेको सवैको विचार तथा अस्तित्वलाई कदर गर्दै अघि वढ्ने समय भएकोले लिम्वुवानवादीहरुले अरुको अवस्था र स्थितीलाई पनि मध्यनजर गरेर अघि वढ्नुपर्ने हुन्छ । इतिहासमा लिम्वुवानमा लिम्वुजातिको मात्र वसोवास थियो । तर अहिले लिम्वुवानमा विविध जाति वसोवास गर्दछन् । करिव १०३ जाति, ६२ भाषीहरु र ८ विभिन्न धर्मावलम्वीहरु रहेका छन् । तत्कालिन समयमा दश राज्यहरु थिए त्यस्तै परिपर्तित हुदै सत्र थुमहरु भएका थिए । अर्थात संघीय अवधारणामा लिम्वुवान सञ्चालित थियो । तर अहिले ९ जिल्लाहरुमा विभक्त छन् । वि.सं. २०५८ को जनगणनानुसार लिम्वु ३५९३५३, रार्इ ३०४३७४, वाहुन ४३५६७६, क्षेत्री ४०१६२०, थारु १५४७८१, नेवार १०२१७३, मुस्लिम ११९२२३, यादव १२२५११, तामाङ ११२०११ हरु १ लाख माथिका छन भने अन्य १ लाख मुनिका छन । त्यस्तै ४०८ गाविस, नगरपालिकामा लिम्वु १२१ मा रार्इ ५९, वाहुन ५६, क्षेत्री ५३, थारु ३४ मुस्लिम १९, राजवंशी १७, गनगार्इ ८, मगर ६, तामाङ ५, यादव ५, शेर्पा ४, गुरुङ ३ मा प्रथम संख्यामा रहेका छन् । यर्सथ लिमवुवानमा लिम्वुको स्थान अगाडि रहेपनि अन्य जातिहरुको उपस्थिती पनि उल्लेख्य रहेकोले सवैको अस्तित्वलाई स्वीकार गरेर अघिवढ्नु पर्दछ । सवैलाई समान व्यवहार गर्नु पर्दछ ।
अन्त्यमा लिम्वुवान प्राप्तिको लागि विभिन्न पार्टी विभक्तहरु सवै गोलवन्द भएर लागौं । टुटफुटको राजनिती नगरौं । पद लोलुपता नगरौं । लिम्वुवान पूनस्थापनाको समयसम्म वाहिरी र भित्री शत्रु शक्तिको वहकाईमा नलागि अघि वढौं । अवश्य हाम्रो लिम्वुवान पूनप्राप्ति हुनेछ । यसमा लिम्वुवानको सिमाक्षेत्र र अग्राधिकारलाई सदा ख्याल गरौं । सिमाक्षेत्र भन्नाले नेपालमा अवस्थित लिम्वुवान भूभाग हो । यो पूर्वमा मेची नदी, पश्चिममा (सिस्वा,संखुवा खोला,अरुण तथा सप्तकोशी),उत्तरमा हिमालय या तिव्वत र दक्षिणमा जोगवनी या भारत पर्दछ । यद्धपी लिम्वुवानको सिमाना पूर्वमा टिस्टा नदी हुदै वंगलादेश सिमाना र दक्षिणमा जलालगढ भारतभित्र पर्दछ । अव अग्राधिकार भन्नाले जल, जंगल, जमिन हुदै भाषा, लिपी, धर्म संसकार संस्कृती तथा जातिय पहिचानका कुराहरु पर्दछन् ।लिम्वुवान एकतानै लिम्वुवानको पूनस्थापना हो । यो नारालाई आत्मासाथ गरेर अघिवढौं । यसैले नै दिन्छ लिम्वुवानलाई शत्ति । यही शक्तिले नै लिम्वुवान स्थापना हुनेछ । सेवारो ।
लिम्वुवानी एकता-जिन्दावाद ।
लिम्वुवानी राष्ट्रवाद- जिन्दावाद ।
जय लिम्वुवान ।

लेखक लिम्वुवान राष्ट्रिय मोर्चाका अध्यक्ष हुनुहुन्छ ।

May 15, 2011

लिम्बुवान राजनीतिका वर्तमान परिदृष्यहरु

छविसुब्बा सङबाङफे लिलिमहाङ
१. थालनी :
सामन्ती निरंकुश राजतन्त्रात्मक उत्पीडनको लामो अन्तरालपछि नेपालमा लोकतन्त्र स्थापना भएको कुरा त सर्वविदितै छ । अहिले नेपालका विभिन्न जाति वर्ग र समुदायहरुले आ-आपुनो पहिचान र इतिहासको आधारमा राजनैतिक आर्थिक धार्मिक लैंगिक तथा भाषिक-साँस्कृतिक अधिकार खोजिरहेका छन् । राजतन्त्रको विरुद्धमा ओईरिएको जनलहर थेग्न नसकेपछि अन्ततः सत्ताधारी दलहरुले बि।स। २०६५ जेठ १५ गते नेपाललाई गणतन्त्रात्मक राज्य त घोषणा गरे तर मुलुकमा विद्यमान समस्याहरुको जड के हो भन्ने सन्दर्भमा पहिचान गर्न उनीहरु अल्मलिरहेको वर्तमान अवस्थाले धेरै राजनीतिक अन्यौलताहरु पैदा गरेको छ । बि।स। २०४७ को संविधान खारेज गर्न र जनआन्दोलनका उपलब्धीहरु तत्काल संस्थागत गर्नका लागि नै नेपालको अन्तरिम संविधान-२०६३ जारी भएको हो । तर त्यो संविधानले जनताले आन्दोलनमार्फत मुखरीत गरेको संघीयता र गणतन्त्र आत्मसात् नगर्दा सत्ताधारी दलहरुप्रति शंका र अविश्वास सँगसँगै पैदा भएर गयो । लक्ष्मण अर्याल संयोजकत्वको अन्तरिम संविधान मस्यौदा समितिले तयार गरेको संविधानमा उल्लेख भएको संघीयता र गणतन्त्रलाई तीनदलका शीर्षस्थ नेताहरु गिरीजाप्रसाद कोईराला माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले वालुवाटारको प्रधानमन्त्री निवासमा बसेर खारेज गरीदिए । खाली राखिएको राष्ट्रिय जनावरको महलमा ूगाईू राखेर अन्तरिम संविधान घोषणा गरे । उनीहरुले सोचेका थिए राजाबाट दलहरुलाई सत्ता हस्तान्तरण भएपछि राज्य संचालनको सम्पूर्ण प्राधिकार आफुमा निहीत भएको छ र अन्य शक्तिहरुले यो मुलुकमा आन्दोलन गर्ने कुनै हैसियत राख्दैनन् । हुनत नेपालमा आफुलाई उत्पीडित जाति वर्ग र समुदाय सम्झनेहरुको राजनीतिक संस्था नभएकै हो त्यसबेला । आपुनो भाषालिपि र सँस्कृति संरक्षण र बिकासका लागि आदिवासी जनजातिहरुले सामाजिक संस्था दर्तागरी संचालन गरेका थिए तर तिनीहरु राजनीतिकरुपले आन्दोलनमुखी थिएनन् । आदिवासी जनजाति आन्दोलनका केही अग्रज नेताहरुले जारी अन्तरिम संविधान जलाउने निर्णय गरे जसअनुरुप काठमाडौंको माइतीघर मण्डलामा संविधान जल्यो । त्यसको अगुवाई आदिवासी जनजाति गैरसरकारी संस्था महासंघले गरेको थियो । आदिवासीहरुले अन्तरिम संविधान जलाउदा त्यो घट्ना सामान्य जस्तो लागेको थियो सत्ताधारीहरुलाई तर अर्कोपल्ट मधेसी जनअधिकार फोरमले पनि त्यही स्थानमा संविधान जलाएपछि सरकारी दमनको सिलसिला सुरुभयो । मधेसी नेताहरु पक्राउ परे जसको कारणले मधेसमा वलिदानी आन्दोलनको विजारोपण भयो ।
मधेस राजनीतिक र जातीय पहिचानको रुपमा स्थापित नभएता पनि त्यो एउटा लामो उत्पीडनको जरा भएर रहेको थियो । हरेक राजनीतिक पुनर्गठन प्रकि्रयाबाट मधेसी समाज वहिष्करणमा पर्दैआउनुको साथै सामाजिक विभेदको चरम शिकार हुँदैआएको थियो । बहुदलीय व्यवस्थाको अभ्यास भएयता भारतीय शक्तिको नजिक रहने केही सभ्रान्त मधेसी समुदाय बाहेक अन्य समुदाय र वर्गहरु राजनीतिक मुलधारमा सहभागी हुन नसक्नुका साथै उनीहरुमा शोषण दमन अन्याय अत्याचारको चरमोत्कर्ष थियो । यिनै कारणले मधेसी आन्दोलनमा प्रशस्त मलजल पायो र सत्ताधारीहरुलाई नयाँ संकटमा फसाई दियो ।
२. लिम्बुवानको मर्म :
लिम्बुवान आन्दोलनको प्रकृति र इतिहास फरक छ । लिम्बू जातिहरुमा वर्गीय र सामाजिक उत्पीडन भन्दा पनि राजनीतिक आर्थिक ऐतिहासिक र भाषिक-साँस्कृतिक उत्पीडनले स्थान ओगटेको छ । आपुनो ऐतिहासिक पहिचान भएको भूमिमा स्थिररुपले निरन्तर बसोबास गर्ने जातिहरुमध्ये लिम्बूहरु अग्रस्थानमा आउछन् । यसको कारण लिम्बूहरुले नेपालको निर्माणपश्चात पनि लामो समयसम्म स्थानीय जातीय सत्ता उपभोग गरेका थिए जसलाई पछिल्लो कालमा ूकिपटू भनिन्थ्यो । तालुकदारी मुखियाली र जिमिदारी प्रथा अन्तर्गत अन्य आदिवासी समुदायमा स्थानीय सत्ता अभ्यास गर्ने प्रचलन भएता पनि लिम्बूहरुले उपभोग गरेजस्तो स्वायत्तताको पूर्णअधिकार अन्य जातिमा थिएन । लिम्बूहरुलाई एकैचोटी राजनीतिक हस्तक्षेपबाट विचलित बनाउने प्रकि्रया भन्दा पनि आर्थिक धार्मिक सामाजिक र भाषिक-साँस्कृतिक आक्रमणबाट निष्तेज बनाउदै लगियो । जसका उदाहरणहरु दशैं मान्न बाध्य गराउने जनै भिराउने आपुनो भाषालिपि पढ्नलेख्न प्रतिवन्ध लगाउने आदि । राज्यले समय र परिस्थिति अनुसार निर्वाहमुखी आर्थिक कार्यक्रम लागू नगरेको हुनाले जीविकोपार्जनका लागि धेरै लिम्बूहरु विदेशमा रोजगारी गर्नपुगे । यो जरजर फेहरिस्त आजसम्म पनि ज्यूँकात्युँ छ । हामी खोजिरहेका छौं यो समस्याको जड के हो र यसको अन्त्य कसरी हुनसक्दछ कतिलाई लाग्नसक्छ यी सबै आर्थिक विपन्नताको कारणले उब्जेका समस्याहरु हुन् । त्यसो भएकोले आर्थिक रुपमा सक्षम र सवल भईयो भने स्वतःस्पुूर्त राजनीतिक अधिकारमाथि पहुँच पुग्न सक्दछ । यो कदापी होईन । यदि त्यसो भए त सबैभन्दा औसत आय भएका नेपालीमा थकाली पर्दछन त्यसपछि नेवार र शेर्पा जाति पनि हुन् । ती जातिहरु नेपालको आदिवासी जनजातिमा सूचिकृत छन् । हाम्रो सवाल अधिकारको हो र अधिकार निसृत हुने थलो राज्यसत्ता हो । नेपालको राज्यसत्तालाई हिन्दुअतिवादी सोच र चिन्तन बोकेका समुदायहरुले आजसम्म एकलौटीरुपमा कब्जा गरेका छन् । राज्यसत्ता कब्जा गरेपछि त्यसलाई संचालन गर्ने सबै प्रशासनिक तथा न्यायिक संयन्त्रहरुमा आपुनो समुदायका मानिसहरु मात्र राखेका छन् जसको कारणले सत्ताको पहुँच बाहिर रहेका जाति र समुदायहरुले राज्यको श्रोत साधनदेखि विमुख हुनुपरेको छ । राजनैतिक निर्णय गर्ने तहमा आपुनो पहुँच नभएपछि राज्यबाट गरिने आर्थिक वितरण प्रणालीबाट स्वतःस्पुूर्त वहिष्करणमा पर्न पुगिन्छ । त्यसो भएपछि आपुनो देश भनेर के गर्ने जीविकोपार्जन हुँदैन त्यसको साटो जीवन निर्वाहको विकल्प रोजगारीको लागि विदेश पलायन नै मानिस रोज्न पुग्दछ । त्यसैले नेपालको मुख्य समस्या राजनीति हो । किनभने विभिन्न घट्नाक्रमहरुबाट पुनःगठन भएका राजनीतिक सत्तामा आदिवासीहरु कहिल्यै समावेस भएका छैनन् । बि।स। १९०३ मा जङ्गबहादुर राणाले कोतपर्वबाट स्थापना गरेको राणा शासन २००७ सालमा स्थापना भएको प्रजातन्त्र २०१७ सालको पंचायती व्यवस्था २०४६ सालमा पुनःस्थापना भएको प्रजातन्त्र र २०६२÷६३ सालको लोकतान्त्रिक गणतन्त्र यी सबै राजनीतिक पुनःगठन प्रकि्रयाहरुमा नेपालका आदिवासी जनजाति मधेसी मुस्लिम महिला लगायतका जाति र वर्गहरु लगातार पाखा पारीएका घट्नाहरु ताजै छन् । यी प्रकि्रयाहरुबाट समेटीएका जातहरु शाह राणा ठकुरी बाहुन र क्षेत्री मात्र हुन । तसर्थ पूर्णलोकतान्त्रिक अभ्यासको वहाली गर्नका लागि राजनीतिक मुलधारदेखि बाहिर रहेका समुदाय र वर्गहरुलाई समावेस गर्ने प्रकि्रयाको थालनी नभएसम्म मुलुक समस्या र द्वन्द्वको घेराबाट उम्कन सक्दैन र तबसम्म दिगोशान्ति र स्थायित्व कायम हुँदैन ।
ऐतिहासिक विरासत र पहिचानको आधारमा अधिकार सिर्जनाको मुद्दा नै लिम्बुवान आन्दोलनको प्रस्थानविन्दु हो । यूगौंदेखि कायम रहेको हिन्दुअतिवादी एकल साँस्कृतिक विचारमा आधारीत राजनैतिक सत्ताले लादेका अन्याय अत्याचार र शोषण दमन अन्त्य गर्दै ऐतिहासिक पृष्ठभूमिको आधारमा स्वायत्तता कायम गरिएमा मात्र उत्पीडित जनताले मुक्ति पाउन सक्दछन भन्ने मुल्यमान्यतामा लिम्बुवान आन्दोलन केन्द्रित रहेको छ । अधिकारमुखी आन्दोलन यो अवस्थामा आईपुग्नु शान्ति व्यवस्थापनको एउटा सकारात्मक पूर्वाधार बन्नु हो । तर सत्ताधारीहरुको परम्परागत सोच र शैलीहरुमा परिवर्तन र जनआकांक्षा बमोजिम रुपान्तरण हुन नसकीरहेको परिस्थितिले द्वन्द्वका नयाँ मुद्दाहरु जन्माउन सक्ने सम्भावना बढ्दै गएको छ भने अर्कोतिर लिम्बुवानका राजनीतिक पार्टी/संगठनहरुको विभाजन र आपुङ्गीपनाले उब्जाएको मनोविज्ञानले लिम्बुवान चाहने जनताहरु अन्योलग्रस्त बनिराखेका छन् । लिम्बुवानजन्य पार्टी र संगठनको नेतृत्व गर्ने कुनै पनि नेताले लिम्बुवान सुनिश्चितताको स्पष्ट मार्गचित्र दिनुको सट्टा एकले अर्कोलाई गालीगलौज गर्ने पार्टी फुट्नुको दोष अर्कालाई लगाएर आफु चोखिने अर्को समुह अयोग्य आफुमात्र योग्य ठान्ने सहयोग दाताहरुलाई आपुनो पकड र कब्जामा पार्नका लागि नानाभाँतीका नाटकहरु गर्ने राजनीतिक सैद्धान्तिक वैचारिक दार्शनिक दृष्टिकोण र मार्गदर्शनको अभ्यास कहिल्यै नगर्ने र खाली फोस्रा भावनाको खेती गरेर यूवा र जनतालाई कपोकल्पित सपना देखाउने आदि कार्यमा व्यस्त रहेको देखिन्छ । के यस्तो प्रवृत्तिले पार्टी संगठन चलाउनेहरुले लिम्बुवान मुक्ति र जनताको भाग्यरेखा कोर्न सक्लान राजनीतिक मुक्तिको यात्रा त्यति सजिलो छ आज यिनै प्रश्नहरुले जवाफ खोजीरहेका छन् ।
३. के हो राजनीतिक मुक्ति ?
सबै मान्छेहरु राजनीतिक अभ्यासमा सहभागि हुँदैनन् । समाजका कमै मान्छेहरुमात्र राजनीतिमा लागेर शक्तिको अभ्यास गर्ने गर्दछन् । वास्तवमा राजनीति पनि वंशानुगत व्यवसायिक निरन्तरता जस्तो भएको छ । त्यसैले मान्छेले सुरुमा आपुनो शासककोरुपमा राजतन्त्र छनौट गरेका हुनसक्छन् किनभने समाजको नायके छान्न झन्झटिलो नहोस । आजको २१औं शताब्दीमा मानव समाज आईपुगेपछि आपुनो लागि आफैं शासक बन्ने ईच्छा मानिसमा जाग्नथाल्यो र त्यसैको राजनीतिक अभिव्यक्ति हो प्रजातन्त्र वा लोकतन्त्र । जसमा स्थायी शासक हुँदैन र राजनीतिमा भागलिने व्यक्तिले आपुनो गुण र कौशलताको आधारमा लोकपि्रयता हासिल गर्छ र उसलाई निश्चित समयावधिका लागि जनताले शासकको रुपमा छनौट गर्दछन् । आजका विश्वका मानिसहरुले यस्तो खालको शासकीय व्यवस्था र प्रणालीप्रति रुचि राख्न थालेपछि नयाँ परिवर्तनको लहर देखा परेको हो । शक्ति अभ्यासको खेलबाट गुज्रँदै आएको जुनसुकै राजनीतिक व्यवस्थाका शासकहरु जनताले चाहदैमा स्वईच्छाले सत्ता हस्तान्तरण गर्दैनन् । उनीहरुलाई सत्ता हस्तान्तरण गराउने माध्यम भनेको नै क्रान्ति हो । क्रान्तिको शाब्दिक अर्थ परिवर्तन हो र त्यो परिवर्तन सरल हुँदैन जटील र जोखिम हुन्छ । त्यो परिवर्तन चाहने मानिसहरुले वलिदानसम्म गर्नुपर्दछ । मानिसका चाहना र ईच्छाहरुलाई समेट्दै त्यसअनुसार मार्गनिर्देश गर्ने चीन्तनको गाथा बिकास भएर आएको छ त्यसलाई नै राजनैतिक वैचारिक सैद्धान्तिक र दार्शनिक मार्गदर्शन भन्ने गरिन्छ । अहिले आएर सत्ताको अभ्यास गर्छु भन्ने गुट वा दलले ती कुराहरुको राजनीतिक साहित्य बनाएर आपुनो पार्टी दस्तावेज बनाउदछन् जसमा आपुनो पार्टीले गर्ने शासनको स्वरुप र चरित्र उल्लेख भएको हुन्छ त्यसअनुसार जनताले रुचाएमा आफुलाई शासक बनाउन प्रस्ताव गर्ने दल वा व्यक्तिलाई मतदिएर निश्चित अवधिका लागि छनौट गर्दछन । यसरी निर्वाचित भएका शासक प्रशासकहरुले जनताको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक ,लैंगिक, भाषिक तथा साँस्कृतिक उन्नति बिकास र समृद्धिका लागि नीति कार्यक्रम र योजना बनाएर कार्यान्वयन गर्नुपर्दछ । यी कार्यका लागि नै राजनीतिक दल वा राजनीतिज्ञहरुलाई जनताले निर्वाचनमार्फत कार्यादेश दिने गर्दछन् । यस्तो व्यवस्था वा प्रकि्रयालाई प्रजातन्त्र वा लोकतन्त्र Democracy भन्ने गरिन्छ । आज हामी यही लोकतान्कि व्यवस्थामा अधिकार खोजिरहेका छौं र हाम्रो अधिकारको राजनीतिक सम्बोधन पहिचान सहितको अधिकार सृजना हो भनिरहेका छौं । यसबेला सत्ताधारीहरु हाम्रो मर्म भावना र मागप्रति चासो र सरोकार दिईरहेका छैनन् किनभने उनीहरुको सरोकार आफु र आपुनो दलकेन्द्रित स्वार्थ प्रमुख एजेण्डा बनेकोछ । एकात्मक शासनप्रणालीको लामो अभ्यासबाट गुज्रँदै आएका नेपालका वर्तमान शासकहरु उत्पीडित जाति र वर्गहरु राजनीतिकरुपले सशक्त भएमा सत्ताअभ्यासको प्रकि्रयाबाट आफु कमजोर वा वहिष्कृत भईएलाकी भन्ने मनोविज्ञानले ग्रस्त भईरहेका देखिन्छन् । संघीय गणतन्त्रात्मक लोकतान्त्रिक सत्ताअभ्यासमा एकल समुदाय वा वर्गीय आधारमा सीमित रहेको राजनैतिक शक्तिलाई वाँडफाड वा निक्षेपीकरण गरी अन्य वर्ग वा समुदायहरुलाई पनि साझेदारी गरिन्छ र यसरी नै उनीहरुमा शासकीय नेतृत्वमाथि पहुँच स्थापना हुनसक्दछ । यो प्रकि्रयाले सत्ताअभ्यासमा सकि्रय रहेको कुनै जात वर्ग वा समुदायलाई राजनीतिको कुनै पनि अवसरबाट निषेध गर्ने होईन । तर आफुले एकलरुपमा सत्ताको नेतृत्व उपभोग गरिरहेका जात र वर्गहरु उत्पीडित जाति वर्ग र समुदायहरुलाई अधिकार सम्पन्न बनाउदा आफु कमजोर वा बुद्धिजीविहरु पार्टीमा आएमा आफु नेतृत्वबाट विस्थापित भईन्छकी भन्ने भय र त्रासले सन्त्रास भएका मानिसहरु लिम्बुवानजन्य पार्टी संगठनमा नेतृत्व गरिरहेका छन् । तपाई कल्पना गर्नोस बुद्धिजीवि नभएको राजनीतिक पार्टी र संगठन कस्तो हुन्छ होला ? राजनीतिक पार्टी आफैंमा अघोषित सत्ता हो र कुनै पनि बेला यसले सत्ता संचालनको अविभारा बहन गर्नुपर्दछ । त्यसबेला नीति कार्यक्रम र योजना बनाउने विज्ञहरु नभएको खण्डमा त्यस्तो पार्टीले जनतालाई के राहत दिनसक्छ तसर्थ असल शासनका लागि संचालन गरिने राजनीतिक पार्टीमा विभिन्न विधाका दक्ष जनशक्ति सरीक हुन अति आवश्यक छ । तर अहिले हामी देखिरहेका छौं लिम्बुवान सत्ता संचालनको उत्कट चाहना राख्ने साथीहरुको पार्टी र संगठनमा मारमुङ्ग्रे जमातमात्र छन् । त्यस्तो पार्टी वा संगठनलाई लोकतन्त्रमा कुनचािहं मुर्खले सत्ता संचालकको अविभारा देला ? यी सवालहरुमा हेक्का राखेर पार्टी शुद्धिकरण र सुदृढीकरण नगरेसम्म लिम्बुवान मुक्ति र यसका लागि आफुलाई क्रान्तिकारी भनाउने संगठनहरुको भविष्य अन्धकार छ ।
४.निष्कर्ष र अन्त्य :
सपना र यथार्थताको धरातल धेरै फरक पर्दछ । राजनीतिमा सपना देखाउने खेल धेरै पहिलाबाट चलिआएको हो । धेरै पार्टीहरुले जनतालाई सपना बाँडेरै राजनीति गरिल्याएको हाम्रो जीवनले भोग्दै आएकाछौं । साम्यवाद र समाजवादको सपना बाँडेर राजनीति गर्ने पार्टीहरु नै आजको दुनियामा धेरै देशको राजनीतिक सत्तामा हावि भैराखेका छन् । नेपालको हावापानी र माटो सुहाउदो भनेर लादिएको पाचायती व्यवस्थाले लगभग तीसवर्ष नेपाली जनताहरुलाई सपना बाँडेर शासन चलाएको थियो । पाचायती व्यवस्थाको अन्त्य पश्चात उदाएको संवैधानिक राजतन्त्र सहितको वहुदलीय व्यवस्थाले डेढदशकसम्म समाजवादको सपना बाँडेर नेपाली जनतालाई अल्मल्याएको तीतोसत्य हाम्रो सामु छर्लङ्ग छ । मुलुकमा भएका राजनीतिक उतारचढावपूर्ण परिवर्तनहरुले वल्ल हामीलाई अधिकार सृजनाका लागि आपुनो इतिहास र पहिचान खुल्नु पर्दोरहेछ भन्ने सम्मको चेतनावोध भएकोछ । यो अवस्थामा राजनीतिक सत्ताको नेतृत्वमा पहुँच पुर् याउनका लागि उत्पीडित जाति र वर्गहरुले क्रान्तिकारी छलाङ्ग मार्न बाँकी नै छ । यसको लागि अपनाउनु पर्ने राजनीतिक चरित्र, शैली, कार्यपद्धती र रणनीतिक योजनाहरु सैद्धान्तिक र वैचारिकरुपले खारिएको हुनुपर्दछ । तर लिम्बुवान स्वायत्तताको मुद्दा उठाएर राजनीतिक गतिविधि गरिरहेका केही संगठन र त्यसका नेताहरु अनाहकका फोस्रा आश्वासन र काल्पनिक सपना बाँडेर लिम्बुवानवासी जनतालाई दिग्दार गरिरहेका छन् । अर्कोतिर घना जनसंख्या भएको प्रस्तावित लिम्बुवानमा गैरलिम्बूहरुको वहुसंख्यक बसोबास छ र उनीहरु लिम्बुवान राज्य स्थापना भएपश्चात आपुनो राजनैतिक सहअस्तित्व र हैसियत कुनरुपमा व्यवस्थापन हुन्छ भन्ने चिन्ताले ग्रस्त भइराखेको देखिन्छ । त्यसमध्ये पनि अहिलेसम्म सत्ता संचालनको सबै संयन्त्रमा पहुँच राख्दै आएका बाहुनहरु भोली हुने लिम्बुवानको राजनीतिक पुनःगठन प्रकि्रयाबाट बाहिर परिने होकी भन्ने मनोविज्ञानले सताईरहेको देखिन्छ । यी सबै दृष्यहरुहरुलाई संश्लेषण गरेर संयोजन गर्नसक्ने राजनीतिक मार्गदर्शनको खाँचो खट्किएको छ अहिले । जातीय र साँस्कृतिक विविधता नै नेपालको विशेषता रहेको कुरालाई कुनै काल्पनिक तर्कले पुष्टि गरिरहनु पर्दैन । नेपालमा रहेको सबै विविधता समाप्त गरी एकल धर्म सँस्कृति र जातीय राज्य बनाउन लामो अभ्यास गर्दैआएका हिन्दुअतिवादीहरु जनताको आन्दोलनबाट परास्त भैसकेको यो अवस्थामा अब जातीय, धार्मिक, लैंगिक तथा भाषिक-साँस्कृतिक विविधतालाई सम्बोधन नगरी जान सकिने परिस्थिति छैन । त्यसैले नयाँ सोच नयाँ विचार र नयाँ राजनीतिक कार्यदीशा अख्तियार गर्नु जरुरी छ । २१औं शताब्दीको लोकतन्त्रलाई सँस्थागत गर्नका लागि जाति वर्ग र राष्ट्र मुक्तिको क्रान्तिलाई नयाँ र वैज्ञानिक ढङ्गले संश्लेषण गर्नुपर्दछ । एकलजातीय राष्ट्रवादको नारा र कार्यक्रमबाट थोपरिएको वहुलराष्ट्रिय उत्पीडन अन्त्य गर्नका लागि अब समाजवादको नयाँ रुपान्तरण वहुलराष्ट्रिय लोकतान्त्रिक संघीय समाजवाद हो । यो मार्गदर्शनको वैज्ञानिक उपयोगबाट लिम्बुवान लगायत नेपालका सबै राष्ट्र राज्यहरुको मुक्ति सम्भव छ ।
(लेखकः संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका प्रवक्त हुन्)

May 10, 2011

नेपाली राजनीतिको ऐतिहासिक र मनोवैज्ञानिक पक्षहरु

कुमार लिङ्देन 'मिराःक्'
अहिले हाम्रो देश नेपाल संघीयकरणको प्रक्रियामा छ । लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, तमुवान, मगरात, थारुहट, मैथिल, खसान, स्वायत्त राज्यहरुको कुरा जोडदार गरी उठिरहेको छ । एकात्मकवादीहरुले नेपाललाई राजनीतिक, भाषिक, सामाजिक, साँस्कृतिक, आर्थिक, वातावरणीय आदि हरेक रुपमा ध्वस्त गरेपछि देश समाज नव-निर्माणको चोखो भावनाले यी संघीय राज्यका मागहरु उठिरहेका हुन् । संघीयकरणको कुरा गरिरहँदा विगत २४० वर्षमा नेपालका एकात्मक सत्ताधारीहरुले कसरी देशलाई बर्बाद गरेछन् भनेर समीक्षा गरिनु पनि जरुरी हुन्छ ।
हामी बसिरहेको यस भू-भाग वा भारतीय महाद्वीपको इतिहास पनि बडो रोचक छ । पहिले यस भू-भागको उत्तरी क्षेत्र वा अहिलेको नेपाल, सिक्किम, बर्मा, भूटान, नागाल्याण्ड, मिजोरामदेखि गंगा नदीको फाँटसम्म मङ्गोलियन मूलका आदिवासीहरु बसिरहेका थिए । दक्षिण तमिलनाडुतिर द्रविडमुलका आदिवासीहरु बस्दथे । यी दुबै वर्गका आदिवासीहरुको आफ्नै भाषा संस्कृति जीवनपद्धति र सम्यताहरु थियो । यही क्रम्मा अहिलेको इरान इराक वा भू-मध्यरेखीय क्षेत्रबाट आर्यनहरु यस भारतीय उपमहाद्वीपतिर हुलका हुल आउन थाले । यो धेरै मलिलो र हरियो घाँसे मैदानहरुले भरिएको क्षेत्र थियो । यो क्षेत्रको रमाइलोपन देखेर ती आर्यनहरु लोभिए र यतै बस्ने सोच बनाए । तर यस क्षेत्रमा दुई प्रकारको आदिवासीहरु धेरै पहिलेदेखि नै बसिरहेका थिए । यी दुई प्रकारका आदिवासीहरुलाई ध्वस्त गर्न ती आर्यनहरुले अनेक षडयन्त्रहरु अपनाए । यही सयममा रामायण महाभारत ग्रन्थहरुको रचना भयो । यी दुईवटै ग्रन्थहरुमा आर्यनहरुले यहाँका आदिवासीहरुलाई षडयन्त्रमुलक ढङ्गले परास्त गरेको कथाहरु लेखिएको छ । जस्तो रामायणमा रामले रावणलाई प्रत्यक्ष जित्न नसकेपछि उसकै भाइ विभिषणबाट रावणको मुत्युको केन्द्र थाहा पाएर रावणको हत्या गरेका छन् । नत्र रामजस्तो आदर्श पुरुष युगपुरुष भनिएका व्यक्तिले त्यसरी षडयन्त्रको सहरा लिनु ठीक थियो कि थिएन अब आउने उत्तर उत्तरआधुनिक साहित्यले त्यसको विचार विमर्श गर्नेछ ।
यसरी नै महाभारतको युद्ध पनि षडयन्त्रमुलक छ । महाभारतको युद्धमा किराती राजकुमार एकलव्यले कौरव पक्षमा लड्न जाँदा कृष्णहरु अत्तालिएर उनका गुरुमार्फत् बुढी औंला मागेको घट्ना छ । बुढी औंला नै लगेपछि केले धनुकाँड हान्नु तरपनि एकलव्यले गुरुलाई आफ्नो बुढी औंला काटेर उपहार दिएकै छन् । त्याग र गुरुभक्तिको अनुपम उदाहरण प्रस्तुत गर्ने एकलव्यबारे कहीँकतै कुरासम्म पनि गरिँदैन । शक्तिशाली भनिएका कृष्ण जसलाई देवताको रुपमा पुजिन्छ उनी आफै यति खुल्लम्खुल्ला पाण्डवहरुको पक्षमा लाग्नु ठीक थियो कि थिएन यस बारेमा हुने विचार-विमर्श नै उत्तरआधुनिक साहित्य रहेछ । तर सरसर्ती हेर्दा ती आर्यनहरु र मङ्गोलियन आदिवासीहरुको सीधै भिडन्त भएकोचाहिँ देखिँदैन । आर्यनहरुले पहिले द्रविडहरुलाई खत्तम गर्ने रणनीति लिए । र मङ्गोलियन आदिवासीहरुसँग मित्रता गरेको नाटक गरे । आर्यनहरुले द्रविडहरुलाई सखाप गर्ने र मङ्गोलियन आदिवासीहरुसँग मित्रता गाँस्ने रणनीति लिनुको पछाडि दुईवटा कारणहरु थिए । पहिलो द्रविडहरु विशेषगरेर दक्षिण भारतमा हजारौं वर्ष पहिलेदेखि बसेका थिए । तर उनीहरु फैलिन सकेका थिएनन् वा उनीहरुको व्यापक फोस्र थिएन । तर नेपाल क्षेत्रमा मङ्गोलियन आदिवासीहरुले एसियाभर छरिएका मङ्गोलियनहरुको एक भाग थिए । त्यसैले यी मङ्गोलियनहरुसँग युद्ध लड्दा धेरै लामो र भयङ्कर हुनसक्छ भन्ने सोचले ती आर्यन रणनीतिकारहरुले द्रविडहरुको विरुद्धमा उनीहरुको लडाइँलाई केन्द्रित गरे । सहयोग गर्न गएका एकलव्यहरुलाई पनि फकाई-फुल्याई बुढी औंला मागे र निस्तेज बनाए ।
यसरी आदिवासी द्रविडहरुलाई ध्वस्त गरेर आर्यनहरुले आफ्नो धर्म संस्कृति जातिलाई अघि बढाइरहेका थिए । शुरुमा आर्यनहरु धेरै मजवुत थिए । तर विस्तारै उनीहरुमा जातिभेद वर्णाश्रम जन्मियो र तँ ठूलो तँ सानो भन्ने कुरा ल्याएपछि उनीहरु धेरै कमजोर भइसेका थिए । यही क्रम्मा एघारौं शताब्तीतिर त्यही आर्यका पिता-पुर्खाहरु जो मुस्लिम भइसकेका थिए तिनीहरु भूमध्य क्षेत्रबाट आँधीहुरी आएजस्तै भारतका हिन्दू आर्यनहरुलाई आक्रमण गर्न आए । भारतका हिन्दू आर्यहरु जो द्रविडलाई ध्वस्त गरेर हाँसिरहेका थिए तर जातप्रथाको कारणले गर्दा अति कमजोर थिए । त्यसैले उनीहरुले ती मुस्लिमहरुको आक्रमणलाई सामना गर्न सकेनन् । हिन्दूहरुको भागाभाग भयो । मुस्लिमहरुले सत्ता कब्जा गरे । दिल्ली कब्जा गरे । धेरै हिन्दूहरु मुस्लिम भए । भनिन्छ- पाकिस्तानका राष्ट्रपिता भनिने जिन्नाको तीन पुस्ताअघिका बाजे हिन्दू थिए ।
यसरी मुस्लिमहरुको आक्रमणमा परेर आफ्नो भाषा धर्म जोगाउन धेरै हिन्दूहरु भागेर नेपाल आए । नेपालका मङ्गोलियन आदिवासीहरु र भारतका हिन्दूहरुको सम्बन्ध त्यसबेला राम्रै भएकोले उनीहरुको नेपाल आगमन सहजै ठानियो । किनकि एउटा नजिकको साथी अभर परेको बेला उसलाई स्थान दिनु मानवताको कुरा नै हो । तर आफूलाई शरण दिने मित्र सुतिरहेको बेला उसको मुटु छेड्ने गरी भाला रोप्नु न्यायसङ्गत धर्म सङ्गत र मानवतासङ्गत छ कि छैन थियो कि थिएन हुनेछ कि हुने छैन यो नै नेपाली समाजको अन्तरद्वन्द्वको केन्द्रीय विषयवस्तु हो ।
यसरी मुस्लिमहरुको आक्रमण्मा परी आफ्नो राज्य गुमाएर नेपाल आएका हिन्दूहरुको दिमागमा "आफ्नो राज्य" गुमेको झझल्को घुमिरहेको थिएछ । त्यहीबेला द्रविडलाई लखेट्ने हिन्दू हिन्दूलाई लखेट्ने मुस्लिमहरुलाई पनि आफ्नो कब्जामा पार्दै बेलायतबाट कि्रश्चियन अङ्ग्रेजहरु भारतमा आएर शासन गर्न थाले । सङ्क्षेपमा भन्ने हो भने हामी बसिरहेको भू-भाग वा छिमेकी राष्ट्रको इतिहास धेरैपल्ट धार्मिक वा सभ्यताहरुको द्वन्द्व भएको छ । एकले अर्कोलाई सिध्याउने अनि त्यसलाई फेरि अर्कोले सिध्याउने घट्नाहरु भएका छन् । यो द्वन्द्वले अनेकौं छाल र तरङ्गहरु छोडिराखेको छ । तिनै छाल र तरङ्गहरु हुन् आजको यस क्षेत्रको राजनीतिक उथलपुथलहरु ।
पृथ्वीनारायण शाहको दिमागमा त्यही एघारौं शताब्दीको झझल्को घुमिरहेको थिएछ । त्यसैले उनले तमुवान, मगरात, नेवाः, तामाङसालीङ, खम्बुवान र लिम्बुवानमा क्रूर र खुनी सैनिक हमला गरे । कथित् एकीकरण गरिसकेपछि उनले आफ्नो दिव्योपदेशमा भनेका छन्- "म नेपाललाई असली हिन्दुस्थान बनाउँछु ।" उनको यो भनाइमा एघारौं शताब्दीमा मुस्लिमहरुको आक्रमणमा परी आफ्नो राज्यहरु गुमाएको पीडा झल्किन्छ । उनका ती पीडाहरु ठीकै होला आफ्नो ठाउँमा तर हिन्दुस्तान गुमाउने भारतमा अनि फेरि असली हिन्दुस्तान खोज्ने नेपालमा ! त्यो पनि आफूलाई शरण दिने मित्रहरुको छात्तीमा भाला रोपेर ! हो यहीनेर नेपालको इतिहासले गलत बाटो लियो । पृथ्वीनारायण शाहले "नेपाललाई असली हिन्दुस्तान बनाउँछु" भनेकै दिनदेखि नेपाली राज्य राजनीति गलत र ओरालो बाटोतिर हिँड्न शुरु गर् यो । "अलसी हिन्दुस्तान" बनाउने ठाउँ नेपाल हो कि भारत हो ? यो नै यक्ष प्रश्न हो । के लण्डनलाई लिम्बुवान बनाउँछु भनेर उप्रुनु न्यायसङ्गत होला कदापि हुँदैन । हो त्यस्तै थियो नेपाललाई हिन्दुस्तान बनाउने कथित् कल्पना ।
तर दुर्भाग्य ! पृथ्वीनारायण शाहको त्यही "नेपाललाई असली हिन्दुस्तान बनाउँछु" भन्ने गलत मिशनकोपछि पछि २४० वर्षसम्म यो देश हिँडिरह्यो र अझै पनि हिँडाउँने दुस्प्रयास भइरहेको छ । २४० वर्षको मिशन नै गलत थियो । त्यसैले कवि भूपि शेरचनले बारम्बार आफ्नो कविताहरुमा यो आक्रोश पोखेका छन्- "गलत छ मेरो देशको इतिहास", "यो हल्लैहल्लाको देश हो" र "यहाँ घुम्ने मेचमाथि अन्धो मान्छे बसेको छ ।" आधुनिक नेपालको जग नै गलत छ र त्यो गलत जगमा बनेका सबै तत्वहरु गलत छन् । यसको जगकै पुनः संरचना गरौं । यसको जग एकात्मक छ । त्यसलाई संघीय जग वा संरचनामा लैजाऊँ भनेर चिच्याउने कवि भूपि शेरचनहरुको आवाजलाई यहाँ सधैँ धूमिल पारियो र लक्ष्मीप्रसाद देवकोटाहरुको माया-प्रेमको कथाहरुको नै यहाँ बोलवाला बनाइयो ।
पृथ्वीनारायण शाहको गलत मिशनमाथि उभिएको अहिलेको मिडिया। अदालत प्रहरी-सेनाको संरचना राजनीति सबै गलत छन् र यी सबै संरचनाहले अन्ततः नेपाल र नेपालीहरुलाई खाडलमा पुर् याउनेबाहेक केही गर्दैनन् । त्यसैले अब नेपाल राज्य संघीय ढाचामा जानुपर्छ भनेर आवाजहरु घन्किएको हो । एघारौं शदाब्दीमा मुस्लिमहरुको आक्रमणमा परी हिन्दू आर्यनहरु नेपाल छिर्नेक्रम् गलत थियो भनेर हामीले कहिले भनेका थिएनौं र भन्ने छैनौं । त्यो इतिहासको कालखण्ड थियो उथलपुथलको एउटा क्षण थियो र त्यसलाई विकासक्रमको एउटा चरण मान्नुपर्दछ । तर पृथ्वीनारायण शाहहरुले नेपालको अस्तित्व नै हराउने गरी असली हिन्दुस्तान बनाउँछु भन्दै कुर्लनु र त्यही ढाचामा यहाँको अदालत सेना-प्रहरी कर्मचारीहरुलाई अघि बढाउनु गलत थियो भनेर हामी सबै नेपालीले खुल्लम खुल्ला भन्न सक्नुपर्दछ ।
यसरी शरण दिनेहरुको छात्तिमा तिखो भाला रोपिरहँदा पनि नेपालमा कुनै बुद्धिजिबीहरु बोल्दैनन् । अनि हामीलाई चिच्याउन मन लाग्छ- "एउटा समुदायमाथि भएको जघन्य अपराध र अन्यायलाई पनि देख्न र त्यस बारेमा बोल्न नसक्ने ए कथित् बौद्धिकहरु हो फ्याँक्नुस् तपाइँहरुको एम्फिल पीएडीका सर्टिफिकेट र कलमहरु ।" हाम्रा यी आक्रोशहरु सम्झौताविहीन छैनन् हामी एउटा सम्झौतामा बस्न र बाँच्न चाहन्छौं । हामीले बुझैका छौं- नेपाल सबै नेपालीहरुको हो । तर यहाँको मुलवासीहरुको छात्तिमा भाला रोप्ने काम बन्द गरियोस् । नेपालको इतिहासको सम्मान गर्दै एउटा राजनीतिक सम्झौता वा संघीय संरचना निर्माण गरौं र त्यहाँ सबै मिलेर बसौं ।
नेपाली राजनीतिमा उदेक लाग्दो अर्को पाटो पनि छ । ल पृथ्वीनारायण शाह र उसपछिका राणाहरु त सामन्तवादी जातिवादी र यहाँका आदिवासीहरुको विरोधी भए नै । तर नेपाली कांग्रेस जसको स्थापना २००४ सालमा भयो कांग्रेसले भारतबाट धेरै सिकेको छ । यसका नेता वीपी कोइरालालाई उनीहरु महामानव भन्छन् । आधुनिक भारतको मुख्य संवैधानिक तत्वहरु चारवटा छन्- संघीयता गणतन्त्र लोकतन्त्र र धर्मनिरपेक्षता । हामीलाई प्रश्न गर्न मन लाग्छ- भारतमै जम्नेका हुर्केका पढेका राजनीति सिकेका तिनै महामानव वीपीले भारतले अङ्गीकार गरेको संघीयतालाई नेपाली राजनीतिमा किन प्रवेश गराउन सकेनन् भारतभन्दा बढी विविध इतिहास भएको मुलुक हो- नेपाल । त्यसरी नै सन् १९१७ मा लेनिनले रुसमा कम्युनिष्ट सत्ता स्थापना गर्दा १४ वटा स्वतन्त्र राज्यहरुको संघ निर्माण गरी सोभियतहरुको युनियन बनाएका थिए । तर २००६ सालमा स्थापना भएका नेपालका कम्युनिष्टहरुले किन कहिले संघीयताको सवाललाई नेपालमा प्रवेश गराएनन् त अनि हामीलाई लाग्छ- यिनीहरु जुनसुकै मखुण्डो लगाएर पनि पृथ्वीनाराय शाहले स्थापना गरेको र महेन्द्रले अझ कडाइका साथ लागू गरेको यहाँको आदिवासीहरुको वंश विनाश गर्ने अभियानमा यी सबैजना सहमत छन् । त्यसैले यी सबै सबैप्रति आक्रोशको लहरहरु मनभित्र उर्लिन्छन् । पछिल्लो पल्टको माओवादी आन्दोलनमा आदिवासी र उत्पीडित जातिका हजारौं युवाहरुले वलिदान दिए तर उसको सहमतिसहित आएको अन्तरिम् संविधानमा "संघीय" भन्ने शब्द थिएन । "संघीय" शब्द स्थापित गर्न लिम्बुवान र मधेश आन्दोलनलको क्रममा धेरैले वलिदान दिनुपर् यो । अनि हामीलाई लाग्छ- "आखिर हाम्रो कुरा त कसैले नउठाउने रहेछ । त्यसोभए उनीहरुसँग टाँसिएर किन बस्ने बरु स्वतन्त्र रुपमा आफ्नो मुद्दाहरुलाई उठाएर घघि बढ्ने । तर कसैको आशीर्वादमा नबस्ने नबाँच्ने ।"
यो देश गलत बाटोतिर हिँडिरहेको छ र यसलाई सही बाटोमा ल्याउनु पर्छ भन्ने लाग्छ भने हामी सरोकारवालाहरु वा पृथ्वीनारायण शाहको कथित् एकात्मक राज्य बनिनुभन्दा पहिले विभिन्न राज्यहरुमा बसिरहेका जनताका पुस्ताहरु राजनीतिक रुपमा सङ्गठित हुनुपर्छ र अघि बढ्नुपर्छ । कसैको निर्देशनमा खोलिएका जातीय सामाजिक संस्थाहरुले हामीलाई अलमलाउने छ । कुनै "सुपरम्यान" आउला र उसले हामीलाई मुक्ति देला भनेर भ्रमित सपनामा बाँच्नु हुँदैन । यहाँ कोही सुपरम्यान आउनेवाला छैन । कुनै विद्वान आउनेवाला छैन । हामीले देखेका र आसा गरेका सबै मान्छे हाम्रो विरुद्धमा छन् र पृथ्वीनारायण शाहको मिशनलाई निरन्तरता दिने ठाउँमा छन् । विद्वान र कलम चलाउन जान्ने भनिएकाहरु सबैभन्दा डरलाग्दो गरी हाम्रो विरुद्धमा सलबलाइरहेका छन् । यस्तो बेलामा कुनै "सुपरम्यान"को प्रतीक्षामा समय खेर फाल्ने होइन । बरु सबैजनाले आफैलाई सुपरम्यान सम्झेर सङ्गठित बनी अघि बढ्नुपर्दछ ।
लिम्बुवान आन्दोलन उठ्नुको पछाडि यही दृढ मनोविज्ञानले काम गरिरहेको छ । हामीले थाहा पायौं जसलाई हामीले विश्वास गरिरहेका छौं उसले एउटा तरबार गोप्य रुपमा लुकाएर बोकिरहेको छ कुनै एकान्त ठाउँमा उसले हामीहरुको हत्या गर्नेछ र हामीले आत्महत्या गरेको झूटा मुद्दा अघि बढाउनेछ । हामीले यति गुरुमन्त्र थाहा पाइसकेपछि ती एकात्मकवादीहरुसँग सबैखाले दिमागी नाताहरु तोड्नै पर्छ । वास्तवमा हामी असक्षम होइनौं । हामी सक्षम छौं । तर यति हो हामीले विगतमा आँट गरेनौं । अब आँट गर्नुपर्छ । सानो ठूलो जस्तो होस् हाम्रै विचार हाम्रै नेतृत्वले चल्ने राजनीतिक पार्टीहरु जन्माउनु पर्छ । "रोम एकदिनमा बनेन" भन्ने प्रसिद्ध वाक्यलाई सम्झौं । हो हाम्रो राजनीतिक पार्टीहरु एकै दिनमा सक्षम नहोलान् । हाम्रो सपनाहरु एकैदिनमा पूरा नहोलान् । तर निरन्तर प्रयास गरियो भने एकदिन न एकदिन हाम्रा सपनाहरु अवश्य पूरा हुनेछन् । आफ्नो खुट्टामा उभिने आफ्नो लागि आफ्नै दिमागले सोच्ने मनोविज्ञानका साथ अघि बढौं । अवश्य पनि संघीयवादीहरुकै जित हुनेछ ।
E-mail: kumarlingden@gmail.com
मूल स्रोतः संघीय मासिक वर्ष १, अङ्क ६/७, पूर्णाङ्क ७ पुस-माघ २०६७