Aug 20, 2008

'आदिवासी' उपन्यास र 'भयवाद' दर्शन धरानको घोषणा

देश सुब्बा
"सृष्टा एउटा दैवी चेतनायुक्त व्यक्ति हो, ऊ प्रकृतिको विशिष्ट व्यक्ति हो, ऊ आफूलाई लागेको बोलेर जान्छ । लेख्दा ऊ अक्षरलाई हेर्छ, छुन्छ, ती चलेको अनुभव गर्दछ, तिनीहरूले उत्पन्न गरेको गतिले तरङ्गति हुन्छ, वासनाले लट्टीन्छ, त्यहाँ उसले जीवन देख्दछ र ऊ लेख्दै जान्छ, तर लेखिसकेपछि कसले यो कृति पढ्छ, ती पढेर के भन्छ भन्ने कुराको उसले चिन्ता गर्दैन, पीर गर्दैन, भविष्यमा यो सिर्जनाको गति के होला भन्ने विषयमा अनुमान पनि गर्दैन । लेखकले सर्वत्र, जहाँ गएपनि आफ्नै ज्ञान भेट्दछ । तर त्यही ज्ञान वा सूचना सन्देश वा आनन्द, आक्रोश वा विरक्ति अथवा आफ्नै इच्छा, आफ्नै पहँचभन्दा टाढा पुग्दछ । वास्तवमा उसले त्यो सृजना आफ्नै लागि गरेको पनि होइन, अरूलाई गरिदिएको हुन्छ । हरेक सृजना अरूकै निम्ति हुन्छ । यो कुनै बोटको पुष्प हो, अथवा कुनै वृक्षको फल । बोटको पुष्प अरूकै निम्ति हुन्छ, वृक्षको फलपनि । " उत्तर आधुनिक विमर्श

'आदिवासी' उपन्यास र 'भयवाद' दर्शन राष्ट्रिय बहस श्रावण १८ गते वा कोलम्बोमा भैरहेको सार्क सम्मेलनको मंगलमय दिन धरानमा भव्यताकासाथ सम्पन्न भएको थियो । नेपालको संकट, अभाव र आन्दोलनको उठिरहेको आगोहरूको बीचमा सम्मेलनको सफलताले सेतु र कोसे ढुङ्गाको पगरी गुजेको छ । राष्ट्रिय बहसलाई प्रसिद्ध बनाउन प्रतिकुल परिस्थितिको विरुद्ध उठेका सहअस्तित्व, जातीय सद्भावका कोमल हातहरू श्रेयकर छन् ।

शिव लिम्बू, अरुण राई, राम कृष्ण वान्तावा, खेरेस देवेन्द्र, वीर कुमार लिम्बू, जीत बहादुर राई हुँदै धरान हङकङ मञ्चका सहयोगी परिवार त्यसमा विशेष गरी प्रदीप थापा मगर, चन्द्र सिँघक लिम्बू (नानी), कृष्ण लिम्बू, सुरेन राई, दीपक लिम्बू, प्रेम राई, जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेमजोङ, नेपाली साहित्य प्रतिष्ठानका वसन्त निरौला, बिमल राई, डि.बी. पालुङ्वा, नेपाल कुश्शा, सृजनशील साहित्य समाजका सचिव नरेश सुनुवारको आर्थिक सहयोग र हङकङका साहित्यकार, पत्रकार, वेव पत्रिकाहरूबाट वैचारिक, नैतिक सहयोगका हातेमालो श्रेयकर छ । अनेसासका महासचिव तथा नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष, कवि टंक सम्बाहाम्फले www.fearism.blogspot.com बनाएर निरन्तर सहयोग गरिरहनु भएको श्रेय छ । कवि हाङयुग अज्ञातले नैतिक र वैचारिक सहयोग दिँदै आउनु भएको श्रेय छ । त्यस्तै धरानबाट विजयपुर मिडिया गु्रप प्रा.लि. परिवार त्यसमा पनि प्रदिप मेन्याङबो, डा. टंक न्यौपाने, इटहरीबाट कवि मनुमञ्जिल, विराटनगरबाट कृष्ण भूषण बल, काठमाण्डौबाट डा. गोविन्द भट्टराईको हातेमालो गुण छ । प्रदिप मेन्याङ्बोले चारैतिरको नेटवर्किङ, मनुमञ्जिलले इटहरी, कृष्ण भूषणबलले विराटनगर, राम आङदेम्बेले झापा र डा. गोविन्दराज भट्टराईले कालिङपोङ, दार्जिलिङ, सिक्किम पाँचथर, इलाम र पत्रकारहरूसितको नेट वर्किङ गर्नु भएको श्रेय छ । उहाँको सहयोगी रंगवादी कवि धर्मेन्द्रविक्रम नेम्बाङको श्रेय छ । सद्भाव, प्रेम, र्समर्थन र सहयोग हुँदाहुँदै कतिपय व्यक्ति, संस्थालाई यस वैभवशाली पर्वमा सहभागी गर्न नसकिएको बोध छ । विभिन्न कुँइनाटा काट्दै कार्यक्रम भव्य रूपमा सफल भएकोमा सबैलाई यसको श्रेय छ । हङकङको मान्छेको जंगलमा साहित्यकार दीप निरीह प्रकृतिमा भयवाद वा आविष्कार भय सोचिरहेको पल श्रेयकर छ । गोर्खाल्याण्ड आन्दोलनले गर्दा दार्जिलिङ्ग, सिक्किमका अतिथि ल्याउन नसकिएको एउटा तृष्ण जीवितै छ ।

कार्यक्रमको रूप दिनदिनै फैलिरहेको समाचार आइरहँदा व्यक्तिगत र संस्थागत रूपमा सहयोगीहरू आर्थिक संकलन गरिरहेका थिए । सबैमा स्वतःस्फूर्त उत्साह थियो, सहयोग थियो, यसको एउटै कारण नयाँ नेपालको निर्माणमा सबैले खेल्नु पर्ने सहअस्तित्व, जातीय सद्भाव र अन्तरसाँस्कृतिक सम्बन्धका सान्दर्भिक हातहरू नै थिए । यो एउटा धरान, नेपाल, हङकङको बाटो भएर डायास्पोरा जोड्ने अन्तरसाँस्कृतिको नहल्लिने फलामे पुल थियो । त्यसैले डा. टंक न्यौपाने अतिथिहरूलाई स्वागत गर्न इटहरीसम्म पुग्नु भयो र धरानको भानुचौकमा टाँगिएको 'आदिवासी' उपन्यास र 'भयवाद' दर्शन राष्ट्रिय बहसको ब्यानर देखाउन भ्याउनु भयो । 'आदिवासी' उपन्यास र 'भयवाद' दर्शन राष्ट्रिय बहसमा उत्तर आधुनिक परिसम्वादका व्याख्याता मानिएका डा. गोविन्दराज भट्टर्राईले नाङ्लोको वीचमा तीन पाने रक्सीले भरिएको कठुवालाई लिम्बु मुन्धुमी परम्परा अनुसार गोलाकार भएर च्याब्रुङ बजाउदै घुमेर सुरु भएको केन्द्र भञ्जक वहसमा डा. टंक न्यौपाने, डा. खेम दाहाल, डा. गोविन्दराज भट्टर्राई, अरुण बराल, ज्योति जंगल, मनु मञ्जिल, अर्जुनबाबु माबोहाङ, मुनाराज शेर्मा, शिवप्रणत जम्मा दश जना समालोचक, चिन्तकहरूले दरिलो कार्यपत्र प्रस्तुत गरेर

"प्रज्ञाप्रतिष्ठान र पाठयक्रममा आदिवासी जनजाति साहित्यको प्रवेश,
जातीय सद्भाव
भयवाद दर्शन विश्वलाई उपहार
साहित्यिक कार्यक्रम एउटा उत्सव
काठमाण्डौँ केन्द्रको घमण्ड तोडिएको"

को नयाँ घोषणा मात्र गरेनन्, कठुवाको वरिपरि नाचिरहेका च्याबु्रङ्गे टोलीसँग कदम मिलाउँदै नाचे । उत्सव गरे । गुन्यु चोली, श्रीबन्दी, ढुङग्री, बुलाकी, आदिम आभूषणमा सजिएकी आदिवासी बालाहरूले घरमा आउनु भएका अतिथिहरूलाई हृदय खोलेर स्वागत गरेका थिए । यस कार्यक्रमले धरान, नेपाल र डायास्पोरालाई पर्व दिलायो । यस साहित्यिक पर्वलाई स्थानीय एफ.एम. एबिसी न्युज, नेपाल टेलिभिजन, गोरखा पत्र, नेपाल समाचार पत्र, कान्तिपुर दैनिक, हिमाल पाक्षिक, हङकडका वेव पत्रिका, विश्वका वेव पत्रिका र पेपर पत्रिकाले आफ्नै पर्व मानेर प्रचारप्रसार गरे । कतिपय राष्ट्रिय पत्रिका, स्थानीय पत्रिकाले अझै पनि प्रचारप्रसार गरिरहेका छन् । यसबाट धेरै मान्यताहरू बन्यो, नेपाल समाचार पत्रको सौगतमा त डा. गोविन्द राज भट्टराईले काठमाण्डौंले घमण्ड नगरे हुन्छ, काठमाण्डौँले नसुनेको गम्भीर आवाज, लेखन त मोफसल र डायास्पोराले गर्न थालिसकेको, धरानमा भएको यो आदिवासी, भयवाद दर्शनको जस्तो राम्रो कार्यक्रम नेपालमा नभएको दाबी गर्नु भयो । डा. टंक न्यौपानेले कार्यपत्रमा "भयवाद नेपालीहरूको तर्फाट विश्वलाई उपहार" भन्नुभयो । त्यसैले त्यहाँ धेरै मान्यताहरू बने ।
सानो प्रयासबाट ठूल्ठूला कार्यक्रम सम्पन्न गर्न सकिन्छ ।
नेपाली डायास्पोराबाट राम्रा विचार, साहित्य भैरहेको छ ।
डायास्पोराबाट पनि नेपालमा बलिरहेको आगोमा पानी छ्याप्न सकिन्छ ।
संसारको कुनै भागबाट पनि सद्भाव, सहअस्तित्वको प्रयास गर्न सकिन्छ ।
घाँसी बन्नलाई भानुभक्त नभएपनि हुँदोरहेछ ।

आफूभित्र एउटा नाक रातो भएको मान्छेको हत्या गरेपछि अहंकारी मान्छे म्युट हुँदोरहेछ र सद्भावका हातहरू लहराउँदा रहेछन् । त्यसैको उपहार स्वरूप व्यक्तिहरूले स्वतःस्फूर्त रूपमा सहयोगमा भाग लिएका थिए ।

उत्तर आधुनिक विमर्शमा भनिएझैँ लेखकको विचार, साहित्य लेखकबाट समाज र देशको बन्दोरहेछ । त्यसैले त्यस विचारमा लेखकको विचार, व्यक्ति हुँदै राष्ट्र सहभागी बन्यो । यसले घुमेर नेपाली एकताको सन्देश संप्रेसन गर्न सक्यो । कसैले यस सम्मेलनलाई भयवादी जीवन दर्शन माने, कसैले यसलाई आदिवासी/नेपाली साहित्य माने । धेरैजसोले यसलाई भयवादमा बसेर आदिवासी उपन्यासमा वणिर्त नेपाल, हङकङ, डायास्पोराको साझा फूलबारी माने,
" म गाउँ पुग्दा पुरै गाउँ उल्लासमय भैरहेको थियो । मान्छेहरू प्रफुल्ल थिए । त्यहाँका जात, जातिहरू फूलबारीका फूलहरू जस्तै मिलेर फुलेका थिए । उनीहरूलाई थाहा थियो, जति नै सुन्दर फूल फुलेपनि एकै जात र रंगको फूलले फूलबारी सुहाउँदैन । सबै जात र रंगको फूलले मात्र फूलबारी सुहाउँछ । "
आदिवासी उपन्यास

'आदिवासी' उपन्यास र 'भयवाद' दर्शनलाई सहयोग गर्न ब्यूँझिएका सबै आत्माहरूलाई म समुन्द्रको माथिबाट प्रेमपूर्वक धन्यवाद गर्न चाहान्छु ।

No comments: