Feb 4, 2008

श्रद्धाञ्जली छ शहिद राजकुमार आङदेम्बेलाई


टंक सम्वाहाम्फे

सम्बोधन छ लिम्बुवानको
सलाम छ लिम्बुवानको
श्रद्धाञ्जली छ लिम्बुवानको,
शहिद राजकुमार आङदेम्बेलाई,
जस्ले लिम्बुवान स्वायत्त राज्य
स्थापनाको लागि
बली चढाइदिए आफैलाई
र तमाम लिम्बुहरुको साहस बढाई दिए ।
छातीमा गोली थापेर
मातृभूमि लिम्बूवानको,
असल योद्धा बनिदिए,
शहीद राजकुमार आङदेम्बे,
तर माथि सत्ताको बागडोर समातेर
तल आम जनताको माग र पिरमार्का बिर्सने
सत्ताको दासहरुलाई
को किन र कस्को लागि
शहीद बन्यो भन्ने कुरा
थाहा हुदैन उनिहरुलाई
चासो हदैन उनिहरुलाई
किनभने अझै पनि पुरातन मानसिकता बोकेर
सत्ताको साझेदार पार्टी, नेताहरु
नयाँ नेपालको हवाला दिदै
एकात्मक शासनको
बिंडो थाम्न खोजिरहेछन ।
तर अब हरेक जातिहरु
स्वायत्त राज्य चाहन्छन्
राज्यको हरेक तह र ताप्कामा
आफ्नो समावेशी पहुँच चाहन्छन्
तानासाही बन्न खोज्ने ए नेताहरु हो
कान खोलेर सुन
ए सत्ताका साझेदारहरु हो
लिम्बुवान चाहन्छौँ हामी लिम्बुहरु ।
किनकी लिम्बुवानमा लिम्बुहरुको अस्तित्व
मौलाएको चाहन्छौँ
अब यौटा राजकुमार आङदेम्बे मात्र होईन
अरु धेरै राजकुमार आङदेम्बेहरु
छातीमा गोली थापेर
शहिद बन्न तयार छन लिम्बुवानको खातिर
यौटा लिम्बु योद्धा ढल्दैमा
सारा लिम्बूहरु ढल्दैनन
सारा लिम्बूहरु गल्दैनन,
सारा लिम्बूहरु तर्संदैनन,
बरु झनझन आगोको भुंग्रो
बन्दै जानेछन लिम्बूहरु
बुझ्नुभो सरकार प्रमुख
बुझ्नुभो मन्त्री ज्युहरु
लिम्बुहरु किन जुर्मुराएर उठेका छन ?
लिम्बुवानको लागि
बुझ नपचाउनोस महाशय
इतिहाँस बोलिरहेछ,
कि लिम्बुहरु दवाईएका छन भनेर
कि लिम्बुवान हडपिएको छ भनेर
त्यसैले अव हामी लिम्बुहरु
दासताबाट मुक्ति चाहन्छौँ
र लिम्बुवान स्वायत्त राज्यको
स्थापना गर्न चाहन्छौँ,
थाहा हुनुपर्छ सरकारलाई
लिम्बुवान स्वायत्त राज्य थियो
त्यो बेलामा पनि
तसर्थ हामी त्यहि राज्यको
स्थापना चाहन्छौँ
मालीक हुन चाहान्छौ
शहिद आङदेम्बेको
सपना साकार गर्न चाहन्छौँ हामी
किनकी त्यो सपना
हरेक लिम्बूहरुको काँधमा
जिम्मेवारी बनेर तेर्सिएको छ
त्यसैले
सम्बोधन छ लिम्बुवानको
सलाम छ लिम्बुवानको
श्रद्धाञ्जली छ लिम्बुवानको
शहिद राजकुममार आङदेम्बेलाई ।

No comments: