Feb 13, 2008

दिल पालुङवा

तस्विरहरु हेर्न यहा क्लिक गर्नुहोस् ।
वि.सं.२०२८ फागुन ५,ताप्लजुड.,फुङलिङ . सिम्ले जन्म दिल पालुङवा उर्फ नेपाल कुश्शा अंग्रेजी साहित्य र अर्थशास्त्रमा,म.व. क्याम्पस,धरानबाट स्नातक पुरा गरेका हुन् । हाल सम्म उनका यथार्थका चोइटाहरु - २०६१-कथासंग्रह संयुक्त,त्यान्द्रा,छाटोफ्रक - उपन्यास,किरात लाजे लिम्बुवान सामान्यज्ञान २०५९ आदि पुस्तकहरु प्रकाशित भैसकेकाछन् । वहा नेपाली साहित्य प्रतिष्ठान,हंगकंग - सदस्य विद्यार्थी राजनीतिमा विभिन्न स्थानमा सदस्य,संयोजक तथा संस्थापक ,गोर्खाज फोरम काउलन क्षेत्रिय कमिटी -सचिव,हाल सदस्य,कि.या.चु.हंगकंग केन्द्रिय कमिटी - भू.पू.सचिव,हंगकंग कन्स्ट्रक्सन वर्कर पुनियनमा समेत संलग्न हुनुहुन्छ ।वहा कि.या.चु.हंगकंगबाट प्रकाशित सेक्मुरीको सम्पादन समेत गरीसक्नु भएको छ ।
वहाका थुप्रै कथा,कविता,वैचारिक लेख विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । साथै वहा मगर संघ हंगकंग र किरात याक्थुड. चुम्लुड. हंगकंगव्दारा सन् २००३मा सम्मानित भैसक्नु भएकोछ ।वहा लिम्वूवान राष्ट्रिय मोर्चा हंगकंगका अध्यक्ष समेत हुनुहुन्छ ।उनै प्रतिभाशाली नेता तथा लेखकसंग लिम्वूवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानी पाठकहरुको लागि प्रस्तुत गरीएकोछ ।
१. तपाई हङकङमा खोलिएको लिम्वूवान पार्टीको अध्यक्ष हुनुहुन्छ भन्ने कुरा सुनियो उक्त पार्टीको नाम के हो ? कहिले स्थापना भएको हो र लिम्वूवानको लागि के के काम गर्दछ ?
तपाईले सुन्नुभएको कुरा सही हो म हङकङवाट स्थापना गरिएको लिम्वुवान पार्टीको अध्यक्ष हुं र यस पार्टीको नाम लिम्वुवान राष्ट्रिय मोर्चा हो । यसको स्थापना सन् २००३ अक्टोवर १ तारिखको दिन भएको हो । तर त्यो वेला यसलाई मञ्चको रुपमा अगाडि वर्ढाईएको थियो । सन् २००७ मे २० तारिखमा एक वृहत कार्यक्रमको आयोजना गरि घोषणा पत्र तयार पारी तथा घोषणा गरि लिम्वुवान राष्ट्रिय मोर्चामा परिणत गरिएको हो । यसले के के काम गर्दछ भन्ने सम्वन्धमा यस मोर्चाको मूख्य कार्य भनेको वि.सं. १८३१ देखि गोर्खामा सह-राज्य अर्थात स्वायत्त राज्यको रुपमा सामेल भएको लिम्वुवान वि.सं.२०२१ सालदेखि नेपाल केन्द्रीय सरकारले एकतर्फी ढंगले स्वायत्त राज्यको अधिकार समाप्त पारिएकोले उक्त लिम्वुवानको स्वायत्त अधिकारलाई पूनस्थापित गर्न हो । साथै आधुनिक हिसावमा "प्रजातान्त्रिक प्रगतिशील समाजवाद र राष्ट्रियता"को सिद्धान्त लिई "आसवस"-आत्मानिर्णय, समावेसी, वहुददलीय व्यवस्था र सङघीयवाद)को मूल तत्व अपनाई स्वायत्त शासन सञ्चालन तथा लिम्वुवानको चौतर्फी उन्नति गर्न र देशको राष्ट्रियता प्रवल वनाउन हो ।

२. हालसालै नेपालमा चलिरहेको लिम्वूवान स्वायत राज्य पुनस्थापनाको आन्दोलनमा यो मोर्चा पनि समाहित भएको छ ? छ भने कसरी विदेशवाट उक्त आन्दोलनमा समाहित भयो होला ?
स्थापनकालिन समयदेखिनै आन्दोलनमा लागिरहेको यो मोर्चाले अहिलेको लिम्वूवान स्वायत राज्य पुनस्थापनाको आन्दोलनमा समाहित नहुने कुरै हुदैन । समाहित भईनै रहेको छ । विषेश गरेर मोर्चाको नेपाल तथा लिम्वुवानमा स्थापित संगठनहरुवाट कार्यहरु भईरहेका छन् । यहा“वाट आर्थिक सहयोग, वैचारिक सहयोग तथा नितीगत सहयोगहरु वारम्वार भईनै रहेका छन् । संघीय लिम्वुवान राज्य परिषदसंग कतिपय सवालहरुमा मिलेर कार्यहरु भईनैरहेका छन् । त्यस्तै लिम्वुवान सञ्जाल मार्फत पनि कार्यहरु भईनैरहेका छन् ।

३. तपाई पार्टीको नेता भएकाले पक्कै पनि थाहा होला लिम्वूवान स्वायत राज्य प्राप्ति गर्ने आधार र प्रमाणहरु के के हुन् ?
लिम्वुवानको स्वायत्त राज्य प्राप्त गर्ने धेरै आधारहरु छन् । पहिलो तथा मूख्य कुरा के हो भने लिम्वुवान तत्कालिन गोर्खा अर्थात नेपालले जितेर लिएको भुमि होईन । आजको नेपाल हुनु अगाडि यो एक स्वतन्त्र राज्य थियो । तर गोर्खा राज्य विस्तारको क्रममा लिम्वुवानमा आईपुगेको थियो । त्यसवेला लिम्वुवान र गोर्खा विचमा घमासान युद्ध भएको थियो । उल्लेख्य रुपमा १७ पटक युद्ध भएको र प्रतेक पटक लिम्वुवानले नराम्ररी गोर्खालाई जितेको इतिहासमा उल्लेख छ । त्यसैले गोर्खाले लिम्वुवानलाई सत्रजित पनि भन्ने गर्दछन् । तर जतिपटक हारेपनि गोर्खाले लिम्वुवानलाई आफ्नो समर्थनमा ल्याउने प्रयास गर्यो । सो वमोजिम उसले वि.सं. १८३१ को लालमोहर सन्धी गर्न पुग्यो । यसलाई वि.सं. १८३१ को तसल्ली लालमोहर भनिन्छ । उक्त लालमोहर सम्झौता अनुसार लिम्वुवान तत्कालिन गोर्खाको सह-राज्यमा रहने र लिम्वुवानको शासन तथा उक्त क्षेत्रको भूमिको अधिकार लिम्वुहरुको साखा सन्तान रहुन्जेल भोगचलन गर्न पाउने सम्झौता भएको थियो । सो सम्झौतालाई स्वीकार गरेर लिम्वुवानले गोर्खाको केन्द्रीय सरकारलाई समर्थन गरेको थियो । यो क्रम केही तलमाथि हुदै वि.सं. २०२१ मा आएर महेन्द्र राजाले आफ्नो पूर्खाको कसम तोड्दै कथित भूमिसुधार लागु गरेर लिम्वुवानको भूमि सम्वन्धी अधिकार समाप्त भएको नाटक गरे । लिम्वुवानले त्यसको र्समर्थन गर्ने कुरै भएन । यसरी समर्थन नगर्दा हाम्रा पूर्खाहरुलाई दुख दिने काम भयो । जेल नेल र हत्या गर्ने कार्य भयो । अर्थात सैनिक लगाएर हाम्रो लिम्वुवानको आवाजलाई कुल्चिने कार्य भयो । त्यसरी एकतर्फी ढंगले नेपालको तर्फवाट लिम्वुवानको अधिकार कटौती गरियो । हाम्रो लिम्वुवान राज्यलाई हडप्ने कार्य भयो । यसर्थ हाम्रो लडाइ अहिले मात्र होईन । पहिलेदेखिनै भएको हो । यही लर्डाईको क्रममा आजसम्म आईपुगिएको छ । यसरी लिम्वुवानको अधिकार एकतर्फाट उल्लङघन गरेर कदापी हुदैन । यदि हुन्छ भने लिम्वुवान पनि स्वतन्त्र हुने आधारहरु हुनेछन् । तर स्वतन्त्र लिम्वुवान हाम्रो अभिष्ट होईन । नेपाल भित्र एक स्वायत्त राज्यमा रहने हो । तर संधै नेपाल केन्द्रीय सरकारको लिम्वुवान विरोधी भावना भईरहे लिम्वुवान स्वतन्त्र नरहन भने सक्दैन ।

४. विदेशमा खोलिएको पार्टीले नेपालमा मान्यता पाउछ होला ?यदि मान्यता पाउनुका आधारहरु के के हुन ?
विदेशमा खोलिएको पार्टीले नेपालमा मान्यता पाउछ होला भन्ने जुन प्रश्न छ-यसमा के भन्न सकिन्छ भने पार्टी जहा“ अनुकुल हुन्छ त्यहा“ खोल्न सकिन्छ । हामीलाई हङकङ अनुकुल भयो यहा“ पार्टी खोलियो । यहीवाट संगठन विस्तार गरियो अर्थात भैपनिरहेको छ । शुरुवात जहा“भएपनि कार्यक्षेत्र नेपाल लिम्वुवान हो । लिम्वुवानमा हाम्रो संगठनहरु भैरहेका छन् । तसर्थ मान्यता पाउने नपाउने कुराहरु नहुने कुरै छैन । अर्को विदेशमा वसेर यस्तो कार्यहरु सम्भव होला भन्ने भनाईहरु पनि नभएका होईनन् । तर संसारमा प्रमाणित भएकै कुरा हो वीन लादेनले कहा“वाट अमेरिकालाई तहल्का मच्चायो । गान्धी पनि विदेशमै थिए । नेपालकै माओवादीहरु पनि नेपाल वाहिरै थिए । एमाले काग्रेसका नेताहरु पनि नेपाल वाहिरै थिए । त्यसैले यो सम्भव नहुने कुरै हुदैन । जुन कार्यक्रमले निर्दिष्ट गर्ने कुराहरु हुन् ।

५. तपाई एउटा लेखक स्रष्टा कसरी पार्टीको नेता हुन अभिप्रेरीत हुनु भयो ? राजनितीमा लाग्दा साहित्य लेखनलाई प्रभाव पार्दैन ?
पार्टीको नेता हुनु मेरो वाध्यता हो । वाध्यता कसरी भयो भने म एउटा लिम्वु अर्थात लिम्वुवानको छोरा हुं । मैले मेरो आमाको पिडालाई सहन सकिन । भनाईको मतलव लिम्वुवानलाई जवर्जस्ती नेपालमा गाभ्ने कार्य जुन नेपाल सरकारले गर्यो । यो काम सहि थिएन । त्यसरी नेपालमा जवर्जस्ती लादेपछि लिम्वुवानको दुर्दशा शुरु भयो । म स्वयंले पनि प्रत्यक्ष रुपमा भोग्नु पर्यो । हामी अहिले पनि एक उपनिवेशको मान्छे जस्तो जिवन विताउन वाध्य भएका छौं । हाम्रो अस्तित्व समाप्त पारियो । हामीलाई यती गरिवी पनि पारियोकि नेपालको सवैभन्दा गरिवीको रेखाभन्दा वढी भैयो । हिजोको आदिवासी भूमिपुत्र तथा राजसी ठा“टमा वसेकोहरु थोरै समयमा अरुको कारणवाट मगन्तेको रुपमा पारिनुलाई कसले राम्रो भन्छ । त्यस्तै लिम्वुवानलाई माया गर्नुपर्छ, वचाइ राख्नुपर्छ र नेपलवाट पनि यस्तो कार्य गरिनु हुन्न भन्ने हाम्रा पूर्खाहरुलाई अमानवीय तरिकाले झुण्डयाएर, गोली हानेर, कुटेर मार्ने कार्य भयो । नेपाली वोल्न नजान्ने हाम्रा पूर्खाहरुलाई जवर्जस्ती नेपाली वोल्न लगाईयो । वोल्न नजान्दा दमन गरियो जेलनेल लगियो । डेड सयलाई तेर सय भनियो-पारियो । अनी लिम्वुहरुको राम्रो तथा धेरै धेरै जग्गा जमिन जालसांजी गरेर खोसियो । यसको विरोध गर्दा मारियो । लिम्वु भाषा लिपीको कार्य गर्नेलाई पनि सताउनसम्म सताईयो । मुन्धुम वा पूजाआजा लुकी लुकी राती गर्नु पर्ने वाध्यता वनाईयो । यस्ता दमनकारी कार्यहरुको लेखाजोखा गरेर साध्य छैन । समग्रमा हेर्दा लिम्वुहरुले नारकीय जीवन विताउनु पर्यो । यी यावत कारणहरुले गर्दा मैले लिम्वुवानको मुक्तिको वाटो खोजेको हो । मानवीय उन्मुक्तिको वाटो रोजेको हो । जुन वाटो प्रजातान्त्रिक प्रगतिशिल समाजवादी र राष्ट्रियताले ओतप्रोत हुनेछ । यसले साहित्य लेखनलाई अवश्य प्रभाव नपारेको भने होईन । धेरै प्रभाव पारेको छ । मैले जति पनि लेख्ने जमर्को गरेको थिए र छु त्यो गर्न सकेको छुइन । तर यसलाई के विचार गरेको छु भने अवश्य भविष्यमा समय मिल्छ होला त्यो वेला पुरा गर्नेछु ।

६. लिम्वूवान पार्टीहरु र लिम्वूवानवासी लिम्वूहरु लिम्वूवान स्वायत राज्य पुन प्राप्तिको लागि आन्दोलनमा उत्रि सकेकाछन् तर सरकारले त्यसको पूर्ण वेवस्ता गरी रहेछ यस्तो परिस्थितीमा हामी लिम्वूहरुले लिम्वूवान स्वायत राज्य पुन प्राप्ति हुन्छ भन्ने कुरामा कसरी विश्वस्त हुने होला ?
लिम्वुवानको आन्दोलनलाई सरकारले पूर्ण व्यवस्था गरेको भन्न मिल्दैन । उसले लिम्वुवान आन्दोलनलाई सकारात्मक सोचेरनै वार्ताको टेवलमा वोलाएको हो । यद्यपी लिम्वुवानले आन्दोलनको ज्वारभाटाचाहीं ल्याउनुपर्छ । लिम्वुवान स्वायत्त राज्य पूनप्राप्ति हुने कुरामा शंका छैन । किनकी लिम्वुवानले नितीगत विषयहरुलाई उठान गरेर आन्दोलन गरेको छ । त्यस्तै स्वायत्तको आन्दोलन गरेको छ-स्वतन्त्रताको होईन । तर स्वतन्त्रताको आन्दोलन भयो भने पनि सफल नहुने कुरा भने आउदैन । किनकी यो प्रमाणित भएको कुरा हो कुनै कुराको थालनी भएपछि त्यसको अन्त्य अवश्य हुन्छ ।

७. विदेशमा लिम्वूवान पार्टी खोलेर पछि लिम्वूवान स्वायत राज्य प्राप्ति भए पछि सत्ताको साझेदार मात्र हुन खोज्नु भएको त होइन ? किनकी आन्दोलनमा नारा जुलुस लाउन उपस्थित हुनु पर्नेमा तपाई पार्टीको मुख्य नेता नै हङकङमा हुनुहुन्छ कसरी लिम्वूवानवासी लिम्वूहरुको मन जित्न सक्नु हुन्छ ?
पहिलो कुरा हामीले लिम्वुवानको पार्टी हङकङमा खोलेका हौं । जुन हामी हङकङ वसोवासको कारणले हो । यो पार्टी हामीले यो स्वायत्त आन्दोलन भन्दा धेरै अगाडिनै खोलेका हौं । हाम्रो उद्धेश्य अहिलेनै आन्दोलनमा गईहाल्ने थिएन । त्यसको लागि राम्ररी गृहकार्य गर्ने सोच थियो । साथै धेरै क्यार्डसहरु वनाउने र सम्पूर्ण लिम्वुवान लिम्वुवानवादीमय वनाउने थियो । तर के भईदियो भने नेपालमा लोकतन्त्रको आन्दोलनले गर्दा हाम्रो उद्धेश्यलाई माथ गर्दै स्वायत्तको कुराहरु अरुहरुद्वरा उठाउन थालियो । त्यसैले गर्दा हामी भन्दा अन्य संगठनहरु अघि देखिएका हुन सक्छन् । तर त्यहा हाम्रो समुहहरु अर्थात कार्यकर्ताहरु नभएको होईनन् । हाम्रो कार्यकर्ताहरु पनि अन्य संगठनहरुसंग मिलेर आन्दोलन गरिरहेका छन् । लिम्वुवान सञ्जालमा रहेर कार्यहरु भईरहेको छ । हामी पोलिसी मेकिङ गरिदिन्छौ । हाम्रो लिम्वुवान अर्थात नेपालमा रहने नेताहरुले त्यसको कार्यन्वयन गर्दछन् । जुन हाम्रो घोषणा पत्रले पनि कार्य गरिरहेको छ । त्यसैले हाम्रो उद्धेश्य भनेको सत्ताको साझेदारी होईन । प्रमुख कुराचाही लिम्वुवान स्वायत्त हो । हामी अहिले यहा हङकङमा छौं । समयसापेक्ष भएपछि हामी लिम्वुवान फर्कनेछौं । हाम्रो ध्येय भनेको सधैभरी हङकङ रहने पनि होईन । तर हामी जहा“ छौं त्यहावाट पनि काम गरौं अनि समय मिलाएर आफ्नो मातृभूमि जाऔं भन्ने हो । साथै लिम्वुवानलाई पनि हङकङ जस्तो वनाउने हो ।

८. यदि लिम्वूवान स्वायत्त राज्य शान्तिपूर्ण ढङ्गले प्राप्ति भएन भने अन्य विकल्पहरु लिम्वूवान स्वायत राज्यको लागि कसरी खोज्न सकिन्छ ?
यदि लिम्वूवान स्वायत राज्य शान्तिपूर्ण ढङ्गले प्राप्ति भएन भने विकल्पको रुपमा समय सापेक्ष हामी शसक्त क्रान्तीको माध्यम अपनाउनेछौं । हामी युद्ध गरेर भएपनि लिम्वुवान आमालाई मुक्त गर्न चाहान्छौं । हाम्रो पहिलो कुरा भनेको नेपालको स्वायत्त राज्यमा रहने हो । जुन हाम्रो पूर्खाले वि.सं. १८३१ मा सर्त गरेका थिए । यो सोही मुताविक हुनेछ । यदि यो हाम्रो कुरालाई केन्द्रीय सरकार या कसैले लत्याउछ भने हामीलाई स्वायत्त लिम्वुवान होईन । स्वतन्त्र लिम्वुवान चाहिनेछ । तर्सथ स्वतन्त्र लिम्वुवानको लागि हामीले कस्तो कस्तो रणनितीहरु अपनाउनुपर्ने हुन्छ-त्यो अपनाएर छाड्नेछौं ।



९. तपाई एउटा लेखक पनि राजनैतिक नेता पनि त्यसैले कुन कर्ममा वढी आनन्द अनुभूति गर्नु हुन्छ र किन ?
मलाई लेखनमा वढी आनन्द अनुभूति हुन्छ । किनकी राजनिती स्वतन्त्र तथा स्वच्छन्द हुदैन । यो कुनै न कुनै माध्यमवाट वांधिएको हुन्छ । तर लेखनको कुरा स्वच्छन्द र स्वतन्त्रताको कुरा हो । यहा“ आफुलाई जस्तो मन लाग्यो त्यो लेख्न पाईयो । जस्तो अभिव्यक्ति दिन चाह्यो त्यो दिन सकियो । तर राजनितीमा त्यस्तो पटक्कै हुदैन सवै कुरा पार्टीको निर्णयमा चल्नु पर्छ । कहिलेकाही वाटो फरक फरक तथा अप्ठयारो पनि समाउनु पर्ने हुन्छ । जुन मानव समुदायको लागि असरदार नहुन भने सक्दैन । आफ्नो जीवन पनि अप्रत्यक्ष रुपमा वांधिएर रहन पुग्छ । यद्दपी केही समयलाई वाध्यता भएकोले लिम्वुवानको आन्दोलनमा लागेको हुं राजनितीसंगै साहित्यलाई पनि निरन्तरता दिदै । राजनितीको रिटायर्ड अवस्थामा पून लेखनलाई सुचारु राख्ने सोच राखिएको छ ।

१०. उपन्यास लेखनमा त्यान्द्रो देखि छोटो फ्रकसम्म आइपुग्दा लेखन कार्यलाई अगाडि वढाउनु पर्छ जस्तो लागेन ? कुनै नया कृति प्रकाशन गर्ने तरखरमा हुनुहुन्छ कि ?
लेखनलाई अगाडि वढाउनु पर्छ भनेर नलागेको होईन-लागिरहेको छ । पहिलो कुरा मेरो वढी समय दैनिक पेशागत कार्यमा जानेछ । त्यसपछि लिम्वुवानको राजनितीमा । अनी अन्य आवद्ध संस्थागत सामाजिक कार्यहरुमा जान्छ । केही समय परिवारलाई । कहिले तत्काल लेखिहाल्नु पर्ने लेखहरुमा । कहिलेका“ही विभिन्न संस्थाहरुवाट आएको अनुरोधमा विभिन्न स्मारिका तथा पत्रकारिता आदिमा पनि समय जादैछ । अनी त्यसमा पनि वचेको थोरै समयमा कुनैन कुनै साहित्यको विषयमा थोरै लेखिरहेको छु - त्यस्तै लिम्वु तथा लिम्वुवानको इतिहासको विषयमा । यसरी गुज्रदा गुज्रदै एउटा सानो आकारको लिम्वुवानको संक्षिप्त इतिहास र पूनस्थापना पुस्तक प्रकाशनको क्रममा छ । जसले लिम्वुवानको आन्दोलन तथा वहसलाई सहजीकरण गर्नमा मद्दत पुग्ने सम्झेको छु । त्यस्तै विदेशमा वस्ने क्रममा विदेशी महिलाहरुसंग प्रेम प्रसंग चली अवैध जन्मेका सन्तान अर्थात छोरी मान्छेको आफ्नो वावुको खोजिमा भौतारिएको जीवन कहानीमा आधारित एउटा उपन्यासको पाण्डुलिपी तयारी भएको छ । निकट दिनमानै प्रकाशन गर्ने सोचाईमा छु ।

११. लिम्वूवान व्लगस्पोट डटकम मार्फत लिम्वूवानवासीहरु र संसारभर छरीएर रहेका पाठक तथा शुभचिन्तकहरुलाई केहि सन्देश दिन चाहानु हुन्छ कि ?
लिम्वूवान व्लगस्पोट डटकम मार्फत लिम्वूवानवासीहरु र संसारभर छरीएर रहेका पाठक तथा शुभचिन्तकहरुलाई म के भन्न चाहान्छु भने अहिले हामी सवै लिम्वुवान स्वायत्तको आन्दोलनमा लागौं । सवै मिलेर लिम्वुवान स्वायत्तको आन्दोलनमा लाग्यौं भने अवश्य हामीले चाहेको लिम्वुवान प्राप्त हुनेछ । यसको लागि म विषेश गरेर नेपालको विभिन्न पार्टीहरुमा अर्थात कांग्रेस, एमाले, माओवादी, राप्रपा, जनमुक्ति लगायत सम्पूर्ण पार्टीहरुमा आवद्ध लिम्वुवानवासीहरुलाई आफ्नो पार्टीगत स्वार्थभन्दा माथि उठी लिम्वुवान स्वायत्त आन्दोलनमा एक भएर लागौं भन्न चाहान्छु । जुन स्वायत्त राज्य मेची पश्चिम, सिस्वा संखुवा अरुण हुदै सप्तकोशी पूर्व, हिमालय दक्षिण र जोगवनी अर्थात नेपालको ऐजन सिमाना उत्तर अर्थात यस भित्र पर्ने ताप्लेजुङ, पानथर, इलाम, झापा, संखुवासभा, तेरथुम, धनकुटा, सुनसरी र मोरङ गरि नेपालको ९ जिल्लाहरु पर्नेछन् । यसभित्र कुनै कोचिला राज्यको प्रसंग आउदैन । कुनै किरात राज्यको कुरा आउदैन । हुन्छ त केवल ऐतिहासिक आधारको लिम्वुवान राज्य । त्यसैले हाम्रो यो भूमिलाई कसैले पनि टुक्रा टुक्रा पार्ने कार्य नगरौं । विषेश गरेर माओवादी लिम्वुवानी मित्रहरुले ५ वटा पहाडि जिल्लाहरुलाई मात्र लिम्वुवान स्वायत्त राज्य भित्र राख्न खोजेको पाईन्छ । यो महागल्तीलाई तुरुन्त सच्याएर सम्पूर्ण माथि उल्लेखित ९ जिल्लाहरुलाई लिम्वुवान स्वायत्त राज्यको रुपमा लिएर लागौं ।
त्यस्तै स्वायत्त आन्दोलनको दौरानमा कसैले पनि वाटो विराउन नपुगौ । साथै लिम्वुवान स्वायत्तवादीहरुवाट पनि सुवास घिसिङको जस्तो कसैले कार्य नगरौं । गैह्र लिम्वुहरुको कतिपय लिम्वुवान आन्दोलनको जांतोमा परिन्छ कि भन्ने सोचहरु पनि पाईयो । यसमा डराउने कार्य नगरौं । किनकी लिम्वुवान सम्पूर्ण लिम्वुवानवासीहरुको हो । यो कुरालाई मनन गरौं । वरु लिम्वुवान स्वायत्त आन्दोलनमा साथमा साथ दिऔं । कसैको गल्ती कार्यको कारण स्वतन्त्र लिम्वुवानको लागि शसस्त्र युद्धको सामना गर्न वाध्यता नआओस् । त्यसैले सवैले सोचेर वुझेर कार्य गरौं । यो हाम्रो घरको समस्या सम्झौं र घर परिवारवाट मिलाउने कार्यमा लागौं । त्यस्तै फुटेर होईन जुटेर कार्य गरौं । यदि हामीले जुटेर कार्य गरेमा संसारको कुनै पनि अजेय शक्तिले परास्त गर्ने छैन । यो सवैले वुझौं । सेवारो ।

No comments: