Sep 19, 2009

जातीय विभेदको अन्त्य कसरी ?

चन्द्रकान्त आचार्य
१६ जुलाई २००९ मा बोस्टनको केम्बि्रज क्षेत्रमा घर हुने एकजना अश्वेत व्यक्ति चीन भ्रमणबाट फर्केर आफ्नो घरमा आउँदा ट्याक्सीमा आएका रहेछन् । उनको घरको मूलढोका जाम भएर खुल्न नसक्दा ट्याक्सी ड्राइभरको सहयोगले पछाडिको ढोका फोरी उनी घरभित्र पस्छन् । त्यसरी ढोका फोरिने क्रममा कतैबाट प्रहरीकहाँ खबर पुग्दछ र त्यहाँ प्रहरी आइपुग्छन् । आफ्नै घरमा पनि त्यसरी ढोका फोर्न नपाइने नियम, कानुनको कुरा गर्दा भनाभन भएछ र प्रोफेसरलाई गिरफ्तार गरिएछ । 'यस्तो कार्य श्वेत नागरिकबाट गरिएको भए गिरफ्तार गरिँदैनथ्यो' भन्ने ती प्रोफेसरको अभिव्यक्ति र 'त्यो केम्बि्रज प्रहरीको मूर्खतापूर्ण कार्य हो' भन्ने राष्ट्रपति बाराक ओबामाको अभिव्यक्तिले अमेरिकाभरि सनसनी फैलायो र दुई महिनाको समय व्यतीत हुँदा पनि त्यसको चर्चा सेलाएको छैन । राष्ट्रपतिले आफ्नो भनाइ सच्याउने प्रक्रियामा दुवैजना अर्थात् अश्वेत प्रोफेसर र श्वेत प्रहरी अधिकृतसँग बसेर बियर पिउनेछु भनेर समस्यालाई स्नेहपूर्ण वातावरणमा समाधान गर्ने कुरा गरेपछि त्यो कुरा केही मत्थर भएको हो र पछि ह्वाइटहाउसमा राष्ट्रपति, उपराष्ट्रपति, अश्वेत प्रोफेसर र प्रहरी बियर खाएको दृश्यले समाधानको बाटो खोलिदिएजस्तो लाग्छ ।
अमेरिकामा रंगभेद अर्थात् काला र गोराबीच असमानता सत्तरीको दसकसम्म अत्यन्त बढी थियो । सन् १९६१ तिर राष्ट्रपति जोन एफ केनेडीले दक्षिणका स्टेटहरूमा कालाहरूलाई मताधिकार दिने आदि समानताका लागि धेरै काम गर्दा मारिनुपरेको हो र त्यसै समयमा जन्मेका हालका राष्ट्रपति बाराक ओबामा गोरी आमाबाट जन्मेका भए पनि पिता अपिmकाको केन्याका हुँदा उनी आफूलाई अश्वेत पङ्क्तिमा नै राख्दथे र बाल्यकादेखि नै अश्वेतहरूप्रति गरिने भेदभावबाट आफू पनि पीडित सम्झन्थे । 'डि्रम्स पmम माई फादर' भन्ने उनको पुस्तकमा यस भेदभावले बाल्यकालदेखि उनको मनमा ठूलो छाप पारेको कुरा स्पष्ट देखिन्छ र उनी राजनीतिमा आउँदै राष्ट्रपतिसम्म हुनुमा उनको असमानतालाई कसरी हटाउने भन्ने चिन्तनले धेरै काम गरेको छ ।
हार्वर्ड युनिभर्सिटीको कानुन स्कुलबाट स्नातक हुँदा बाराक ओबामा पहिलो भएका थिए र त्यस्तो हार्वार्डको कानुनको पहिलो व्यक्तिलाई लाखौं डलर प्रतिमहिना पारिश्रमिक दिएर आ-आफ्नो संस्थामा नियुक्त गर्ने प्रलोभन विभिन्न ठाउँबाट आए पनि कुनै अश्वेत व्यक्ति कानुनमा पहिलो भएर करोडौं डलर कमाएर सुविधाभोगी हुँदैमा असमानता हट्दैन भन्ने भावनाले प्रेरित हुँदै कालाहरूकै समुदायमा बसेर तलैदेखि समस्याको अध्ययन गर्दै समाधानको बाटो खोज्न उनी पहिलेदेखि आफूले काम गरेको सिकागोको कालाहरूको बस्तीमा बसेका हुन् र त्यही आधारबाट उनी सिनेटर भएका हुन् । त्यसरी काला गोराबीचको भेदभावले पीडित र त्यसै समस्यालाई समाधान गर्ने उद्देश्यले उनले 'गोरा र काला मिलेर यो देश बनाउने हो' भन्दै सबैसँग गला मिलाए र 'अमेरिका गोरा र काला सबै नागरिकको हो' भन्ने नारा लिएर अघि बढ्दा सबभन्दा कम उमेरमा राष्ट्रपति बन्नपुगे ।
सन् २००९ को गर्मीयाममा यो पङ्क्तिकार संयुक्त राज्य अमेरिकामा थियो र एकातिर राष्ट्रपतिको त्यो पुस्तक पढिरहेको थियो जसमा उनी बाल्यकालदेखि नै काला जातिप्रति चिन्तित रहेर तिनीहरूलाई कसरी उकास्ने भन्ने भावनाले पिरोलिने गरेको कुरा छ भने सोही समयमा उनी यहाँका राष्ट्रपति बने । वासिङ्टन डीसीको सेरोफेरो भर्जिनिया, मेरिल्यान्ड र पेन्सिल्भेनिया मात्र होइन, न्युयोर्क र बोस्टनमा तथा सिकागोको सेरोफेरो इलिनोई, मिसिगन, इन्डियाना र विसकन्सन राज्यहरूमा काला र गोराहरूबीच हाल कस्तो सम्बन्ध छ भन्ने कुरामा चासो हुनु स्वाभाविक हो । साधारणतया काला र गोरा अत्यन्तै स्नेहपूर्ण वातावरणमा मिलेर बसेका देखिन्छन् । ठूलासाना कुरामा श्वेतहरूले जसरी हामीलाई मद्दत गरेर अमेरिकीहरूप्रति राम्रो भावना मनमा सँगाल्नुपर्ने गराएका छन् त्यस्ता मद्दत अश्वेत नागरिकहरूबाट पनि भएकै छन् तर सर्वसाधारणहरू अझै पनि अश्वेतहरूका बस्तीहरूमा जान डराउने कुरा सुन्दा उनीहरूमा हीनतावोधले जन्माएका केही उद्दण्डपूर्ण भावना बाँकी छन् कि जस्तो लाग्छ । बाटामा हिँड्दाहिँड्दै पनि कतै अश्वेत नराम्ररी रिसाउने, झगडा गर्ने गरेको देखिँदा तिनीहरूमा अझै त्यो भावना बाँकी रहेको र त्यसैको एउटा उदाहरण हार्वर्डका ती अश्वेत प्रोफेसरको अभिव्यक्तिमा पनि झल्किएजस्तो लाग्छ ।
बोस्टनमा नेपाली मित्र डा.शिव गौतमलाई भेटेर हार्वर्ड युनिभर्सिटीमा जानकारी लिन खोज्दा 'हार्वर्डका प्रोफेसरहरू हाम्रा ऋषिमुनिजस्ता छन्' भनेर मित्रले भनेको कुरा सम्झँदै 'त्यस्ता ऋषिमुनि' बाट काला र गोराको कुरा किन उठाइयो होला र त्यति ठूला श्रद्धेय व्यक्तिलाई केही समय भए पनि किन गिरफ्तार गरियो होला भन्ने भावनाले मेरो पनि मन पिरोल्लिएको छ र उक्त पुस्तकमा देखिएका त्यस बालक बाराकभित्रका काला जातिप्रति गरिने भेदभावका नमिठा गन्धहरूले अझै राष्ट्रपतिलाई पिरोल्नछाडेका छैनन् कि भन्ने लागेर झन् नमिठो अनुभव हुन्छ । तर काला र गोरा मिलेर यो देश बनाउने प्रतिज्ञा गर्दै त्यति ठूलो ठाउँमा पुगेका व्यक्तिबाट ती अश्वेत प्रोफेसर र श्वेत प्रहरी अधिकृतसँगै बसेर बियर पिउने कार्य गरिएकाले उनको दूरदृष्टि र महानतालाई मान्नुपर्नेभएको छ ।
अश्वेत चालक, ट्राफिक प्रहरी आदिमा मात्र काम गर्नेगरेका दृश्य देखिँदा र हाम्रा साथी पनि अश्वेत बस्तीतिर जान डराउनेगरेका कुरा सुन्दा किन यस्तो भएको ? जिज्ञासा हुनु स्वाभाविक हो । पढाइमा रुचि नलिने र सुविधा लिन र रमाइलो गर्न बढी मन पराउने बानी नहटेकाले आपराधिक क्रियाकलाप र उद्दण्डतामा गोराहरूभन्दा कालाहरू अगाडि रहेको सुनियो तर यसो भन्दैमा अश्वेतहरू माथि नपुगेका, चलाख नभएका, गोराहरूसँग नमिल्ने भन्ने होइन । ठाउँठाउँमा उनीहरू गोराहरूसँग असाध्य मिलेर बसेका देखिन्छन् । राष्ट्रपति ओबामादेखि उल्लिखित हार्वर्डका प्रोफेसर काला जातिका अहिलेका माथि पुगेका व्यक्ति प्रत्यक्ष प्रमाणका रूपमा छन् भने जोन एफ केनेडीको समयमा डा.मार्टिन लुथर किङ्ग र अब्राहम लिङ्कनको समयमा दास प्रथाको फलामे साङ्लो चिर्दै माथि उठेका महान् अश्वेत व्यक्ति डुग्लसको पालादेखि नै गोराहरूमा जस्तै कालाहरूमा पनि प्रतिभा प्रस्फुरण भएको देखिन्छ तर पुरानो असमानता एकैपटक समाप्त हुने रहेनछ र जातीय भेदभावको तुस मेटिन समय लाग्नेरहेछ भन्ने कुरा माथिका उदाहरणले देखाएका छन् । यस मामिलाका अति सिपालु सर्जन ओबामाको हातमा अहिले अमेरिकाको विकास गर्ने साँचो रहेकाले उनले रंगभेदको बाँकी रहेको त्यसै तुसलाई सजिलै चिरफार गरेर श्वेत र अश्वेत मिलाई देशमा अझ विकास गर्ने आफ्नो नारा सफल बनाउनेछन् भन्नेमा आम अमेरिकी ढुक्क छन् ।
रंगभेद र जातीयताका यति कुरा उठाइसकेपछि हाम्रो देशमा अहिले उठेका जातीयतासम्बन्धी समस्या पनि स्नेहपूर्ण वातावरण सिर्जना गरेर मात्र समाधान गर्नसकिन्छ भन्ने मूलमन्त्र दोहोर्‍याउन आवश्यक लागेको छ । ओबामाको पुस्तक पढ्दा त्यसरी काला जातिको पक्षमा सोचिरहने व्यक्ति कुनै दिन काला गोरा सबैको मत पाएर राष्ट्रपति बन्नसक्लान् भनेर कल्पना पनि गर्न सकिँदैन । तर गोरा र काला मिलेर देश बनाउनुपर्ने विचार तिनै बाल्यकालदेखिका चिन्तनले ल्याएको कुरा स्पष्ट भएको छ । त्यसैले हाम्रो देशका विभिन्न जातीयताका पक्षधर चिन्तकहरूले पनि आफूले चिन्तन गरिरहेका जातिको उत्थान अरु जातिसँगै मिलेर देशको आर्थिक विकास गर्नसके मात्र हुन्छ, फुटेर एक्लै उन्नति गर्नसकिँदैन भन्ने कुरा बुझ्नुपर्छ जस्तो लागेको छ । यसरी काला गोराको बीच भेदभाव अझै अमेरिकामा विद्यमान छ भने हाम्रा जातीय मुद्दा पनि तुरुन्तै पूर्णरूपले समाधान हुनसक्दैनन् तर फुटेर होइन, जुटेर आर्थिक प्रगति गर्दै जाँदा समस्या समाधान हुँदै जानेछन् भन्ने एउटा शुभसङ्केत मात्र हो ।
गोरखापत्रबाट

No comments:

Post a Comment