Sep 27, 2009

धर्मनिरपेक्ष राज्य र दसैँ

राजन मुकारुङ
'किराँत राज्यका अहिन्दु रैयत/रैतीहरूलाई पनि यो श्रीदुगापूजासहितको दसैँचाड मनाउन लगाउन उनीहरूबाटै दसैँया दस्तुर असुल गरी दान पाउने अधिकारयुक्त लालमोहर (१८२० इ. स.) त्यहाँका पुख्र्यौली सामन्त अमाली, राई/सुब्बा पगरीका नाममा राजा राजेन्द्रले जारी गरिदिएका थिए । तर 'हामी हिन्दुको दसैँचाड मनाउँदैनौँ' भनी विरोध जनाउने किराँतीहरू पनि थिए र यस समूहका किरातीनेताद्वय रामलिहाङ र रिदामालाई प्रधानमन्त्री श्री ३ जंगबहादुरले मार्न लगाएका थिए ।' -दुर्गाहाङ याक्खाराई, 'किराँत हिजो र आज, पृ. १२२ ।')हिन्दुहरूको दसैँचाड गैरहिन्दुहरूमा कति निर्मम ढंगले लादियो भन्ने त इतिहासको यही तथ्यले पनि स्पष्ट गर्छ । इतिहासको यही कडीबाट अब दसैँको बारे नयाँ बहस पनि थालिनु पर्दछ । अथवा, 'नयाँ नेपाल' भनिने गरिएको सन्दर्भमा एक जाति र धर्मको मात्र सांस्कृतिक हस्तक्षेप वा अतिक्रमण कति निन्दनीय र दुःखपूर्ण छ भन्नेमा पनि बाक्लो विमर्श गर्नैपर्ने हुन्छ । अब नेपाली समाजको विविधतासँगै नयाँ सांस्कृतिक परिभाषा गरिनु पर्छ र यसका लागि यही आधारस्तम्भबाट सुरु गरिनु पर्छ ।दसैँ कसको त -नेपाली जनताको महान् दसवर्ष जनयुद्ध र १९ दिने जनआन्दोलनको आधारमा निर्मित 'नेपालको अन्तरिम संविधान- २०६३' ले नेपाललाई र्'धर्मनिरपेक्ष राज्य' स्वीकार गरे पनि राज्यले चाहिँ गैरहिन्दुहरूमा पनि जबरजस्त लादिएको हिन्दुहरूको दसैँचाडलाई भने अनावश्यक लामो बिदा र पेस्की-तलबको सुविधासहित पुरानै नियतका साथ निरन्तरता दिनु साँच्चिकै खेदजनक छ । वास्तवमा पृथिवीनारायण शाहले 'कथित नेपाल एकीकरण'को नाममा नेपालका अहिन्दु, आदिवासी-जनजातिहरूको राष्ट्रिय (जातीय) स्वायत्त राज्यहरूको साँध-सिमानामाथि मात्र हस्तक्षेप गरेनन्, उनीहरूको भाषा, लिपि, इतिहासका साथै मौलिक संस्कृतिहरू पनि नामेट गर्दै लगे । यतिमात्र नभएर उनीहरूमाथि जबरजस्त ढंगले उनका इष्टदेवी दुर्गा, भवानीको पूजा गर्नुपर्ने दसैँलाई विस्तारित गर्ने अभियानका साथ खस-ब्राम्हण जातिको सामन्तवादी हिन्दु-संस्कृति लाद्दै जनजातीय भाषा, लिपि, इतिहास र संस्कृतिहरू पनि निर्ममतापूर्वक निमिट्यान्न पार्दै लगे । त्यसपछि उनका उत्तराधिकारीहरूले त झनै क्रूरतापूर्वक निरन्तरता दिए । त्यसैको उदाहरण हो, आज पनि दसैँलाई यथावत् ढंगले व्याख्या र विश्लेषण गरिनु ।दसैँको ऐतिहासिक सुरुवातको बारेमा लिच्छविकालसम्म मात्र पुग्नसक्ने आधार छ । यद्यपि, हिन्दु धर्मशास्त्रीय कथा, उपकथा जोडेर अझ अगाडिसम्म लैजाने प्रयत्न पनि नगरिने होइन । जनसंख्याकै हिसाबले पनि अरबौंको संख्यामा हिन्दुहरू रहेको छिमेकी मुलुक भारतमा भने न दसैँलाई उस्तोगरी मनाइन्छ, न त यसको लागि उपल्लो काल्पनिकताको पौराणिक कथा नै हालिन्छ । यसले के बुझिन्छ भने दसैँ नेपालका कथित उच्च खस-ब्राम्हण सामन्त शासकहरू र सीमित हुनेखाने वर्गको मात्र हो भने तिनै शासकहरूले आफूलाई दैवीशक्तिको देखाई शासन हडपिरहने महत्त्वाकांक्षाले मात्र धर्मसँग जोडेर अँगालेको चाड हो । अर्थात् यो सम्पूर्ण हिन्दुहरूको होइन, सामन्त हिन्दुहरूको मात्र चाड हो ।प्रभाव कि जबरजस्ती -दसैँबाट मात्र होइन, हिन्दु धर्मबाटै प्रभावित हुने आदिवासी जनजातिहरूमा बौद्धधर्मावलम्बी मगर, गुरुङ र तामाङहरू उपल्लो कोटीमा पर्छन् । यो उनीहरूको दोष नभएर नियति हो । पृथ्वीनारायणले गोर्खा राज्यको अभियानमा तिनै मगर-गुरुङहरूलाई प्रयोग गरेर उनीहरूको इमानदारीको लागि राज्यको केही सुविधा पनि दिएका थिए । यता, तामाङहरू त काठमाडौं राज्यबाट सीधै प्रताडित हुने भइहाले । तर रोल्पा, रुकुम, बागलुङ, लमजुङजस्ता क्षेत्रहरू, विशेष गरेर शासकहरूको सम्बन्धमा नपरेका क्षेत्रका मगरहरूमा भने दसैँको प्रभाव किञ्चित् परेको देखिँदैन । तर, अझै पनि गोर्खा दरबारबाट ल्याइने दसैँको फूलपाती बौद्धधर्मावलम्बी आदिवासी मगरहरूलाई नै बोकाई पहिले हनुमानढोका र त्यसपछि नारायणहिटी दरबार भित्र्याइने गरिन्छ । यो जातीय र धार्मिक जबरजस्ती वा हस्तक्षेपकै कहालीलाग्दो उदाहरण हो ।राजा महेन्द्रकै पालासम्म पनि दसैँया दस्तुर उठाई ठाँटबाठका साथ मार काट्नेहरूचाहिँ समाजमा प्रतिष्ठित र इज्जतदार कहलिने मनोविज्ञानले गैरहिन्दु, विशेष गरेर आदिवासी जनजातिहरूमा पनि राम्ररी घर गरेको थियो । शासकहरूले धाप मारेर वा स्यावासी दिएर राई, सुब्बा, आगे सुब्बा, जिमी, मुखिया, थरीजस्ता अनेकौं सामन्त पगरी गुथेका, पाएका हुन् अथवा शासकहरूसित थोरै सम्बन्ध बढाउन पाएका हुनेखाने टाठाबाठाहरू नै किन नहुन् - उनीहरूले शासकहरूलाई रिझाउन र आफूलाई वैभवशाली देखाउन पनि आफ्नो औकातभन्दा पनि माथि उठेर राँगा, सुँगुर, भेडा, च्यांग्रा आदिको बलि दिई तामझामका साथ दसैँ मान्ने गरेका दृष्टान्तहरू प्रशस्तै पाइन्छन् । यो उनीहरूको लागि बाध्यात्मक पनि थियो । यस्तो बाध्यात्मक कि यदि दसैँमा बलि दिएको प्रमाणस्वरूप नयाँ कमेरोले पोतिएको घरको भित्तामा हत्केला र पैतालाको छाप नलगाए उनीहरू मात्र होइन, जोसुकै पनि कठोर सजायमा पर्थे । तर्सथ यो जबरजस्ती नै थियो ।
दसैँ बहिष्कारको अभियान :छिटफुट विरोधहरूका बाबजुद पनि गैरहिन्दुलगायत समाजका उत्पीडितहरूमा पञ्चायतकालसम्म दसैँको रौनक राम्रै रह्यो । तर, इतिहासलाई नै हेर्दा पनि दसैँ बहिष्कार गर्नेको नियति कस्तो हुन्थ्यो भन्ने त अनुमानै गर्दा पनि सह्य हुँदैन । लिच्छविहरूले शासन हत्याएदेखि नै उनीहरूबाट बच्नका लागि पनि उनीहरूको सिको गर्ने परम्परा बस्यो र दसैँ त्यही समयदेखि मानिदै आयो । पृथ्वीनारायण शाहले यसलाई अरू निर्ममताका साथ अघि बढाए भने उनका छोरानाति हुँदै राणाशासकहरूमा आइपुग्दा त यसले सीमा नै नाघ्यो । रामलिहाङ र रिदामा किराँतीहरूले दसैँको विरोध गर्दा प्राप्त गरेको सहादत नै दसैँ बहिष्कारको मूल जग भए पनि दसैँ बहिष्कार गर्दा राणाहरूद्वारा र्सवस्वहरणमा परेकाहरूको इतिहास कम दुःखद छैन । चालीसको दशकदेखि दसैँलाई सांस्कृतिकरूपमा बहिष्कार गर्ने अभियान सुरु भयो भने यस समयमा पत्रकार घल राईको 'कोङ्पी' पत्रिकाले भाषिक अभियानको भूमिका निर्वाह गर्‍यो । यसै सेरोफेरोमा गोपाल छाङ्छाको 'छहरा साप्ताहिक'ले जातीय राजनीतिक विचारधाराकै रूपमा सशक्त आवाज उठायो ।०२८ को झापाली व्रि्रोहसँगै दसैँ बहिष्कारको अभियान सशक्तरूपले सुरु भए पनि शासकहरूसँग साँठगाँठ गरेका छोटा सामन्तहरूको कडा प्रतिकारका सामु उनीहरूको जोड चलेन । ०४६ को परिवर्तनपछि भने आदिवासी जनजातिहरूद्वारा संगठित र घनीभूतरूपमा नै दसैँ बहिस्कार गर्ने अभियान चल्यो । ०४७ को संविधानले पनि नेपाललाई हिन्दुराज्यकै रूपमा अंगीकार गरेर दसैँलाई पुरानै परम्परामा निरन्तरता दिने काम गरेकोले सोको असन्तुष्टिस्वरूप यसो भएको थियो । यसबीचमा 'सेतामगुरालि, मंगोल अर्गनाइजेसन, जनमुक्ति पार्टी विभिन्न जातीय संघ-संगठन'हरूको पहल बढ्यो भने जनयुद्धको पेरिफेरीबाट त विभिन्न जनजातीय तथा दलित मुक्ति मोर्चाहरूले समेत महत्त्वपूर्ण भूमिका खेले ।
दसैँ बहिष्कारको अभियानमा जुटेका विद्वान् तथा नेताहरू प्रायः वामपन्थी पृष्ठभूमिबाटै आएका देखिन्छन् । उनीहरूमध्ये पनि सुरेश आले मगर, गोपाल किराँती (तत्काल खम्बू), गोपाल गुरुङ, वीर नेम्बाङ, गोरेबहादुर खपांगी, डा. हर्क गुरुङ, डा. कृष्ण भट्टचन, टंकबहादुर राईहरूको नाम अग्रपंक्तिमा आउँछ । स्मरण रहोस्, सुरेश आले मगर र गोपाल किराँती हाल : नेकपा (माओवादी)का केन्द्रीय सल्लाहकार र केन्द्रीय सदस्य छन् भने गोरेबहादुर खपांगीले चाहिँ ज्ञानेन्द्र शाहीको प्रत्यक्ष शासनकालमा ज्ञानेन्द्रकै निगाहमा मन्त्री भई ज्ञानेन्द्रबाटै दसैँको टीका थापेर आफ्नै विगतको इतिहासलाई धुलो चटाइदिए । यसबाट के बुझन सकिन्छ भने दसैँ बहिष्कारको आन्दोलन जातीय स्वरूपको नभई वर्गीय स्वरूपकै थियो ।तर, अभियान र आन्दोलन गर्दै अघि बढे पनि लामो समयसम्म राज्यबाट सुनुवाइ नहुनु, लामो समयदेखि राज्यको एकोहोरो पारामा अल्झीरहनु, बुर्जुवा संस्कृतिमा प्रत्यक्ष लिन हुनु, वामपन्थीहरूले नै यसको नेतृत्व गर्नु र इतिहासको भरपर्दो तथ्य नपाइनुजस्ता असरहरूले गर्दा यो आन्दोलन आदिवासी जनजातिहरूको मात्र हो कि भन्नेमा अझै पनि भ्रम र अन्योल भने कायमै छ । दसैँको वैकल्पिक चाडको रूपमा आफ्नो जातीय चाडहरूलाई स्थापित गर्न खोज्दाखोज्दै पनि राज्यबाट दसैँमा दिइने लामो र भद्दा बिदा, तलबमा पेस्की सुविधा साथै मिडिया जगतले पनि आफ्नो सम्पूर्ण तागतले भ्याएसम्मको हर्कतमा दसैँलाई प्रचार-प्रसार गरिरहनुले अझ द्विविधाग्रस्त बनाएको छ । दसैँका केही सांस्कृतिक पक्षहरूसित कुनै गुन्जायस रहँदैन । आफूभन्दा अग्रजहरूबाट टीका थाप्नु वा आशीर्वाद लिनु, वर्षदिनमा एकपल्ट आफन्तसँग भेटघाट गर्नुजस्ता संस्कृतिहरू दसैँका निकै सुन्दर पक्षहरू हुन् । तर, कुनै वर्षत्यस्तो पनि होस्, जुन वर्षमहँगी नबढेको र चाड मान्ने नाममा सर्वसाधारणको उठिवासै नभएको पनि होस् । त्यस्तो पाउन कठिन छ । अझ दसैँसँग जोडिने गरिएका भवानी, दुर्गा, राम आदिका कथाहरू त झनै विवादास्पद छन् । एउटी नारी (दुर्गा)ले शुम्भ-निशुम्भजस्ता शक्तिशाली र बलवान पुरुषहरूलाई हाँसीहाँसी युद्धमा पराजित गरेको अति काल्पनिक कथा होस् वा बाँदरहरूको सैनिक सहयोगमा रामले रावणलाई पराजित गरेको मिथ्या कथा नै किन नहोस् - दुवै कथाले हिन्दु आर्यहरूको विजय र खुसियालीमा दसैँ मान्ने गरिएको बताउँछ । यही कथाको मनोविज्ञानको कारण पनि दसैँलाई गैरहिन्दुहरूले बहिष्कार गरेको हो । सरकारीको त कुरै नगरौं, निजी क्षेत्रमै पनि नेपाली मिडियामा आदिवासी जनजातिहरूको पहुँच छैन । अपवादमा भए पनि त्यो संलग्नतासम्मको मात्र हो । निर्णायक तहमा छैन । राज्यसंयन्त्रमा जस्तै यो संयन्त्रमा पनि हिन्दु धर्मावलम्बी खस-ब्राम्हणवादी जातिकै हावी र हस्तक्षेप छ । यसो हुँदा उनीहरूको पहुँच पनि त्यही सेरोफेरोमा मात्र हुने पनि निश्चितै छ । गैरहिन्दुहरूको जातिबोध गराउने चाडपर्व तथा सांस्कृतिक पक्षहरूलाई एकै झलक प्रसारण-प्रकाशन गर्न पनि हिच्किचाउने नेपाली मिडियाले हिन्दुहरूका चाडपर्वहरूलाई भने आवश्यकताभन्दा पनि बढी प्रकाशन-प्रसारण गर्ने गरेका छन् । राईहरूको साकेला, लिम्बूहरूको धाननाच, मगर-गुरुङको रोधिँ र कौडाहरू एक दृश्य क्यामेरा र एक वाक्य समाचारमा पनि पर्न सक्दैनन्, तर साउन महिनामा हरियो चुरा लाएको र तीजको 'बरी लै' गीतले चाहिँ महिनौंमहिनौंसम्म पनि गालिदिन्छ । दसैँको त झनै चर्को र झर्को नै हुन्छ । उसमाथि हिन्दु धर्मशास्त्र, पुराणका कथाहरू बुनेर मानिसलाई दास बनाउने सूत्रसमेत सिकाइन्छ । सहिष्णुता र भाइचारा पटक्कै छैन । राज्यले दसैँलाई नेपालीहरूको चाड बनाउन सकेन । हिन्दुहरूको भनेर एकोहोरो राग अलाप्यो । सामन्तवादका नाइके भएका कारण 'हिन्दुहरूको एकमात्र राजा' भनेर करोडौंको प्रचार-प्रसार गरिँदा नै आम नेपाली जनताले राजतन्त्रको समूल अन्त्यको माग मात्र गरेनन्, अहिले राजतन्त्रले आफ्नो अस्तित्व रक्षाको लागि अन्तिम घिटघिटीको सास नै फेर्नु परिरहेको छ । जनतालाई दास बनाउने संस्कृति र विचार जहिल्यै तिरस्कृत हुन्छ । दास संस्कृति र सामन्तवाद पक्षपोषण गर्नेहरूको पहुँचमा रहेको तथा हिन्दुधर्मसित मात्र सीधा सम्बन्ध राख्ने भएकोले दसैँको पनि त्यही हालत नहोला त भन्नै सकिँदैन । आदिवासी जनजातिहरूसित मात्र होइन, गरिब, उत्पीडित र उपेक्षित वर्गसित पनि दसैँको तडकभडकलाई धान्ने र स्विकार्ने तागत छैन । हिन्दु धर्मावलम्बी नै भए पनि हैसियतहीन खस-ब्राम्हणले दसैँ दशाकै रूपमा मान्दैआएको तितो पनि छँदै छ । धर्म त शासकहरूले आफूलाई टिकाउनका लागि रोजेको अस्त्र मात्रै हो । यो सामन्तहरूको बल र बुतोको मात्र चाड हो । अब यसलाई सहिष्णुताको ढंगले मात्र नयाँ व्याख्या गरिनुपर्ने हुन्छ । अहिलेको लोकतान्त्रिक भनिएको नेपालमा पनि दसैँमा मात्र लामो बिदा दिएर, पेस्की सुविधाको र्‍याल चटाएर अन्य जाति तथा धार्मिक समुदायमाथि राज्यले एकल धार्मिक नीति जसरी लागू गरिरहेको छ, यो विभेद हो, अन्याय हो । यो कदाचित स्वीकार्य हुँदैन, गरिनु हुँदैन ।

No comments:

Post a Comment