Nov 13, 2009

फड्को आदिवासी फिल्मको

फूलमान वल
तीन वर्षअघि आदिवासी चलचित्र आर्काइभले काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव गर्न लाग्दा धेरैले भनेका थिए, 'फिल्मले के पाउँछ ?' आयोजकमध्येका मगरभाषी सिनेकर्मी संजोग लाफालाई त एक हितैषीले प्याच्चै भने, 'बेकारको नौटंकी किन गरिरहनुपर्‍यो ?'जब महोत्सव सकियो, परिणाम अब्बल देखापर्‍यो । महोत्सव समापनको चटारो भइरहेकै बेला धरान र बुटवलबाट एकैपटक 'मोफसल संस्करण' को माग भयो । काठमाडौंको महोत्सवमा देखाइएका उत्कृष्ट आदिवासी चलचित्रहरूले मोफसलको दर्शकको पनि उत्तिकै मन जित्यो । त्यसयताका दुई वर्ष काठमाडौंमा दुइटै अन्तर्राष्ट्रिय स्तरका आदिवासी चलचित्र महोत्सव भए । कुनै बेलाका 'नौटंकी पात्र' संजोग लाफाको व्यस्तता अब नपत्याउँदो गरी बढ्न थाल्यो । दोस्रो महोत्सवलगत्तै मोफसलका थप दुई ठाउँबाट 'एक्स्टेन्सन शो' माग भयो, यसपटक विभिन्न ६ स्थानमा त्यस्तो शो हुँदैछन्, जसको संयोजन गरिरहेका छन् तिनै लाफा । 'बितेका तीन वर्षमा आदिवासी चलचित्रले निकै ठूलो छलाङ मारेको छ,' बुधबार अनामनगरस्थित आदिवासी चलचित्र आर्काइभमा भेटिएका संजोगले भने, 'विषयवस्तु छनोट, निर्माणदेखि क्वालिटी उत्पादन-सम्म ।' महोत्सवले आदिवासी चलचित्रप्रतिको चेतना र मोहमात्र नभई बजार प्रवर्द्धनमा समेत सघाएको उनले बताए । संजोग आफंै उदाहरण हुन् । आठ वर्षअघि पहिलोपटक मगर फिल्म 'लिसरा' बनाउँदा उनी घाटामा गए । डिजिटल प्रविधिको फिल्ममा लगानी परेको थियो सात लाख रुपैयाँ । जब दोस्रो फिल्म 'आसे' ले पहिलो अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा स्थान पायो, गाउँगाउँबाट चलचित्रको माग हुन थाल्यो । लाफा काँधमा प्रोजेक्टर र झोलामा ल्यापटप बोकेर गुल्मी, स्याङ्जा र पाल्पातिरका मगर गाउँ पसे । 'लगानी उठाएर पनि मस्तै कमाइ दियो नि' संजोगले दोस्रो फिल्मको अनुभव सुनाए, 'अहिले पनि प्रदर्शनको माग भइरहेको छ ।' पछिल्ला दिनमा आदिवासी चलचित्रले सामाजिक, सांस्कृतिक सौन्दर्यलाई सार्वजनिकमात्र गरेको छैन, चलचित्रकर्मी स्वयंलाई पनि बदलेको छ । 'नेपालीले हिन्दी फिल्मको नक्कल र आदिवासीले नेपाली मसला फिल्मको नक्कल गर्ने अवस्था थियो,' संजोगले भने, 'अब आदिवासी चलचित्रको आफ्नै पहिचान र धार बनिसकेको छ ।' जस्तो कि नेवारी चलचित्रकर्मी आरएम नकर्मी । एक दर्जन नेवारी फिल्म बनाइसक्दा पनि नकर्मी 'गुमनाम' जस्तै थिए । जब आर्काइभले काठमाडौंमा आयोजना गरेको सातदिने फिल्म कार्याशालामा उनी सामेल भए, त्यसपछि उनले बनाएको 'भिन्तुना' ले दोस्रो आदिवासी चलचित्र महोत्सवमा अवार्ड चुम्यो, उनी वाहवाही र चर्चाका पात्र भए । नकर्मीको उदाहरणसँगै संजोगको अनुहार चम्कियो । गत जेठमा काठमाडौंमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवको 'एक्स्टेन्सन शो' लाई शुक्रबारदेखि नारायणगढबाट सुरु गर्न लागिरहेका उनले गुल्मीका जीवन राना, अर्घाखाँचीका टोपलाल मगर, पाल्पाका हरि सारू, नवलपरासीका रुद्र गुरुङ र कपिलवस्तुका तुलसी चौधरी सम्झे, जसले आदिवासी चलचित्रलाई आआफ्ना जिल्लाका गाउँस्तरमै ल्याइपुर्‍याउन संजोगलाई घचघच्याइरहेका छन् । केही समयअघि आर्काइभका अध्यक्ष नवीन सुब्बा र संजोगलाई ती साथीले बुटवलमा धर्ना नै दिएछन्, गाउँसम्म महोत्सव फैलाउन । 'सबै थलोमा महोत्सव गर्न खर्च र व्यवस्थापनको समस्या छ,' एक्स्टेन्सन शोका संयोजक संजोगले भने, 'नारायणगढपछि धरान, बिर्तामोड, पोखरा, बुटवल र दाङ पुग्छौं ।' धरान र बुटवलमा स्थानीय आयोजकले खर्च बेहोरेका छन्, बाँकीको आर्काइभले । यी त भए महोत्सवका कुरा । आर्काइभले यसबाहेक देशैभर 'सिनर्जी नेटवर्क' बनाएर आदिवासी चलचित्रलाई गाउँगाउँ पुर्‍याइरहेको छ । तामाङ, मगर, लिम्बू र थारू समुदाय सम्बद्ध चलचित्रकर्मीका संघमार्फत डेढ सय वटा नेटवर्क बनाइसकेको संजोगले बताए । 'देश/विदेशका आदिवासी चलचित्र देखाउँछौं र समान विषयवस्तुबारे अन्तरक्रिया गर्छौं,' उनले भने, 'अनि आर्काइभ बनाउँछौं ।' कुराकानी भइरहँदा संजोगलाई बुटवलका तिनै साथीहरूले फोन गरे, जसले गाउँसम्म चलचित्र फैलाउन आग्रह गरेका थिए । 'खुसीको कुरा त के भने,' फोन गफ टुंगिएपछि संजोग फेरि बोले, 'बुटवलमा शंकर गाहा लगायतका टोलीले आदिवासी चलचित्रमात्रै प्रदर्शन हुने हल नै निर्माण थालिसकेका छन् ।'

No comments:

Post a Comment