Feb 20, 2009

मातृभाषाको पढाइः कछुवाको हिँडाइ

कृष्णराज सर्वहारी
ज्ञानको साहित्य मान्छेले कुनै पनि भाषामा लेख्नसक्छ, जुन उसले राम्ररी सिकेको छ तर रसको साहित्य मातृभाषामा मात्रै लेख्नसक्छ ।
- भारतीय राष्ट्र कवि दिनकर
सन् १९९९ मा सम्पन्न युनेस्कोको ३० औँ अधिवेशनदेखि प्रत्येक वर्षको २१ फरबरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय महासन्धि जातिहत्या अपराधको रोकथाम र दण्डको धारा २ मा बालबालिकालाई आफ्ना मातृभाषामा पढ्न पाउने अधिकारबाट वञ्चित गराउनु भनेको जातिहत्या नै हो भनिएको छ ।
विगतको नेपाल अधिराज्यको संविधान २०४७ ले नेपाललाई बहुजातीय, बहुभाषिक अधिराज्यका रूपमा स्वीकार गरी नेपालका विभिन्न भागमा मातृभाषाका रूपमा बोलिने सबै भाषाहरू नेपालका राष्ट्रिय भाषा हुन् भनी व्यवस्था गरेको थियो । त्यसैगरी अन्तरिम संविधान २०६३ ले त नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्र भाषा भनेको छ । नेपालको विद्यालय शिक्षा पद्धतिको मूल दस्तावेज मानिएको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३ माघ २५ गतेबाट प्रारम्भ भयो । यस दस्तावेजले दुई वर्षभित्र मातृभाषासम्बन्धी नीतिगत व्यवस्था गरी तदअनुरूप शिक्षक तयार गरेर मातृभाषामा शिक्षा लागू गर्ने प्रबिद्धता जाहेर गरेको छ । सोही अनुरूप प्रत्येक समुदायले बालबालिकालाई प्राथमिक तहसम्म आˆनो मातृभाषामा शिक्षा दिने गरी विद्यालय सञ्चालन गर्न पाउने व्यवस्था तथा आˆनो भाषा नीति र संस्कृति संरक्षक सम्बर्द्धन गर्ने अधिकार व्यवस्था गर्‍यो ।
यसै क्रममा पाठ्यक्रम विकास केन्द्रले मैथिली, भोजपुरी, थारु, अवधि, नेवारी, लिम्बु, तामाङ, गुरुङ, मगर, बान्तवा राई, चाम्लिङ राई, सेर्पा, सुनुवार, राजवंशी आदि गरी १७ भाषामा प्राथमिक तहको ऐच्छिक विषयको पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी लागू गरिएको भनेको छ । त्यसैगरी मैथिली, भोजपुरी, अवधि र नेवारीमा माध्यमिक तहको पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी पठनपाठन सुरु गरेको छ । तर यी सबै कार्यक्रम सरकारको प्राथमिकतामा नपरेर देखाउने दाँतका रूपमा सीमित बनेको छ ।
यसै परिप्रेक्ष्यमा मातृभाषामा शिक्षा दिने कार्यक्रम अन्तर्गत नेपालमा बहुभाषिक शैक्षिक कार्यक्रम -एमएलई ) सुरु भएको छ । कुनै विद्यालयको कक्षामा मातृभाषामा पढाउँदा सो कक्षामा अन्य भाषी एक जना मात्रै विद्यार्थी भएमा उसको भाषामा पनि शिक्षण सिकाइ गराउनु नै बहुभाषा शिक्षण हो । यो कार्यक्रम फिनल्याण्ड सरकारको सहयोगमा मातृभाषामा पाठ्यसामाग्री प्रकाशन गर्ने र शिक्षकको व्यवस्थाका साथै तालिम दिने परियोजनामा आधारित छ । दुई वर्ष पहिले सुरु भएको यो परियोजना १५ जुलाई २००९ मा सकिँदैछ । यस परियोजना अन्तर्गत ६ जिल्लाका सात विद्यालयमा आठवटा मातृभाषामा पठनपाठन भइरहेको छ । जसअनुसार धनकुटाको आठपहरिया, झापाको सन्थाली र राजवंशी, सुनसरीको उराँव र थारु, रसुवाको तामाङ, पाल्पाको मगर र कन्चनपुरको राना थारु भाषा छानिएको छ । बहुभाषा विद्यालय छनोट तथा शिक्षणमा 'बटम अप' अर्थात् तलदेखि माथिको सिद्धान्त अँगालिएको
छ । जसअनुसार विद्यालयको भाषिक समुदाय र शिक्षकले मातृभाषा शिक्षणमा चाहिने आवश्यक शैक्षिक सामग्री स्थानीय भाषामा तयार गर्ने, स्थानीय रैथाने परम्परागत शिक्षण प्रणालीकै आधारमा शिक्षकहरूलाई तालिम दिने र मातृभाषामा शिक्षणकै लागि सघाउने आदि छन् । जसबाट आदिबासीहरूको मौलिक ज्ञान, संस्कृति परम्पराको संरक्षण हुने, नयाँ पुस्तामा आˆनो भाषा संस्कृतिप्रति चासो बढ्ने, मातृभाषी विद्यार्थीको भर्ना दरमा वृद्धि हुने, विद्यालय छोड्ने दर घट्ने विश्वास गरिएको छ । रसुवाको सरस्वती प्रावि धुन्चेमा गत वर्षदेखि मातृभाषा तामाङमा पढाउन थालिएपछि विद्यार्थीहरू स्कुल छोड्ने क्रम निकै घटेको जानकारी प्रधानाध्यापक लाक्पा तामाङले दिए । उनले भने नेपाली भाषामा मात्र पढाउँदा ४० प्रतिशत विद्यार्थी ड्रप आउट हुने गरेकोमा हाल त्यो प्रतिशत न्यून छ भन्दा हुन्छ ।
पाइलट प्रोजेक्टको रूपमा बहुभाषा शिक्षण सुरु गरिएका सात विद्यालयबाट प्राप्त हुने अनुभवको आधारमा नमुना तयार गरी सन् २०१५ सम्म नेपालका सबै २८ हजार प्राथमिक विद्यालयमा क्यास केडिङ गरिने सोच तयार गरिएको छ । नेपालमा राष्ट्रिय भाषा नीति वा राष्ट्रिय मातृभाषा शिक्षा नीति नबनिसकेको अवस्थामा बहुभाषा भाषा शिक्षण पद्धतिले पनि सहजै गति लिनसक्छ भन्ने अवस्था छैन । सरकारले प्राथमिक तहका लागि मातृभाषामा पाठ्यपुस्तक छापे पनि त्यो सहज हुनसकेको छैन । मैथिली भाषामा पाठ्यपुस्तक लेखनमा संलग्न प्राज्ञ धीरेन्द्र प्रेमषिर्का अनुसार मैथिलीमा एक लाख पुस्तकको माग भएकोमा एक हजार भन्दा माथि उक्लिन सकेको छैन । यस वर्ष सरकारले निजी क्षेत्रका पे्रसलाई ५० हजार धरौटी राखी मातृभाषामा पुस्तक छापी बिक्री वितरण गर्ने टेन्डर आहृवान गरेकोमा त्यो सूचनाले सार्थकता नै पाएन । यसरी सरकारले मातृभाषाको पढाइलाई गम्भीरता पूर्वक लिएको देखिँदैन । बहुभाषा शिक्षण पद्धति अन्तर्गत कन्चनुपरको राष्ट्रिय प्रावि देखतभुलीमा राना थारु भाषामा पढाइ भइरहेको छ । उक्त विद्यालयका शिक्षक राजेश राना थारु भन्छन् कक्षामा अन्य भाषी नभएकाले बहुभाषा शिक्षण प्रयोग नगरी मातृ भाषा राना थारुमै पढाइरहेका छौँ । तर पाठ्यपुस्तक लगायत शैक्षिक सन्दर्भ सामग्री नभएकाले पढाउन गाह्रो भइरहेको छ । पहिलेदेखिको बानीले होला, विद्यार्थीलाई मातृभाषामा जाँचमा सोधिए पनि नेपालीमै उत्तर दिएका पाइएको छ ।'
छिमेकी मुलुक भारतको उडिसा राज्य, भियतनाम, दक्षिण अपिmका जस्ता राष्ट्रले बहुभाषिक शिक्षण प्रद्धति अँगालिएका छन् । बहुभाषा शिक्षणको विशेषज्ञ क्यानाडाकी शेली टेलरकाअनुसार कक्षा ८ सम्म मातृभाषामा पढाइँदा विद्यालय छोड्ने मातृभाषीहरूको संख्या न्यून हुने विभिन्न विश्लेषणले देखाएको छ । नेपालमा बहुभाषा शिक्षण पद्धतिमा अन्तर्गत हाल पाइलट प्रोजेक्टको रूपमा कक्षा १ देखि ३ सम्म लागू गरिएको छ । फिल्डमा कक्षा निरीक्षण गरेर आएका सुपरभाइजरी बोर्डका सदस्य बिक्रममणि त्रिपाठी भन्छन् बहुभाषा शिक्षण शिशु कक्षाबाट सुरु हुनपर्नेमा एकैपल्ट कक्षा एकदेखि सुरु गरिएकाले प्रभावकारी लागेन । यसले विद्यालय छाड्ने क्रम घटाउँदैन ।' नेपाल सङ्घीयतामा गइसकेकोमा प्रत्येक प्रदेशमा जातीय जनसंख्याअनुसार मातृभाषाको पढाइले उचित स्थान पाउनुपर्ने देखिन्छ । यसको लागि अहिलेदेखि नै व्यापक तयारी हुनुपर्ने देखिन्छ । तर मातृभाषामा पढाइ कछुवाको हिँडाइको गतिमा छ ।
गोरखापत्रबाट

No comments:

Post a Comment