Nov 24, 2008

मातृभूमिले लखेटेपछि... प्रताप सुब्बा

लक्ष्मण सुवेदी
भुटानमा गीत-संगीत र समाजसेवाका माध्यमबाट नेपालीभाषी भुटानीमाथि राज्यले गर्ने थिचोमिचोविरुद्ध लागेर १९८९ मा भुटान छाडेर हिँड्नुपर्दा गायक/संगीतकार प्रताप सुब्बाका आँखा मात्र रोएनन् मन पनि रोयो । भुटानबाट खेदिएपछि उनी केही वर्ष सिक्किम, दार्जिलिङतिर बरालिए । त्यहीँबाट भुटान सरकारको तानासाहीविरुद्ध आवाज उठाइरहे, तर केही लछारपाटो लागेन । गीत रेकर्ड गराउन काठमाडौं आइरहने गायक/संगीतकार प्रताप सुब्बाले सन् १९८२ मा रेडियो नेपालमा गीत रेकर्ड पनि गरे । नेपाली मूलका प्रताप सुब्बा (चलचित्र निर्देशक) को त्यतिवेला जगजगी थियो । त्यसै समयमा म्युजिक नेपालबाट 'बन्धनको चिनो' एल्बम निकाले यिनले । भुटानमा टोलका युवाहरू मिलेर 'अल्लारे' क्लब गठन गरी गरिब-दुःखीका भत्किएका घर पुनर्निर्माण गर्ने, असहायलाई सहायता गर्दै मान्छेहरूमा आन्तरिक जागरण ल्याउन खोजेको देखेर भुटान सरकारले प्रतापलगायत करिब चालीस युवाको उक्त समाजसेवालाई 'राजनीति' गर्ने पूर्वाधारका रूपमा हेर्न थाल्यो जसले गर्दा 'अल्लारे' क्लबका केटामाथि तानासाही सरकारका कर्के आँखा पर्न थाले । स्वतन्त्र रूपमा हिँड्न, बोल्न, काम गर्न पनि गाह्रो हुन थाल्यो ।
त्यतिवेला हामीलाई सरकारले तिमीहरूको लालपुर्जा पुरानो भयो, ल्याओ नयाँ बनाउनुपर्छ भनेर सजिलैसँग लालपुर्जा खासेर अहिलेसम्म फिर्ता दिएको छैन । 'सरकारले हामीले राजनीति गर्न थाल्यौँ भन्ठान्यो र हामीलाई तनाब दिन थाल्यो । हामी नेपाली भाषीहरूले नेपाली संस्कृतिलाई लिएर कार्यक्रम गर्न थाल्यौँ । हाम्रो सांस्कृतिक कार्यक्रमप्रति डोप्पाहरूले पनि निकै चाख लिन थालेपछि सरकारले हाम्रो क्लबका केटालाई पक्रेर यातना दिन थाल्यो,' प्रताप अघि बढे, 'हामी कुनै राजनीति गर्न चाहने समूहका थिएनौँ । हामी त पिछडिएका जनतामा चेतनाको दियो बाल्ने प्रयासमा थियौँ तर त्यो कुरा सरकारले बुझेन । हामीलाई तनाब दिन थाल्यो । देशमा बस्न नसक्ने भएपछि हामीले भुटान छाडेर हिँड्नुपर्‍यो ।'भुटान छाडेर शरणार्थी बन्न पुगेका प्रतापलाई १९९२ मा झापाको शनिश्चरेस्थित शरणार्थी क्याम्पमा ह्युमन राइटस् अर्गनाइजेसनले क्याम्प व्यवस्थापनमा सचिवको हैसियतले काम गर्न दियो । शरणार्थी क्याम्पमा सचिवको काम गरे पनि आमशरणार्थीलाई संघसंस्थाले तौलेर दिने खाद्यान्न, औषधी उपचारबाहेक वर्षमा एकजोर कपडाभन्दा केही मिल्दैनथ्यो उनलाई । 'सचिव भएकाले परेका समस्या माथिसम्म जाहेर गर्न म नै दौडिनुपर्थ्यो । मध्यरातमा कहिले कोही विष खाएर लडेको त कोही पासो लगाएर मर्न लागेको खबर आउँथ्यो । दौडँदै गएर बचाउनुपथ्र्यो । अनेकका अनेक समस्या हुन्थे । समाधानका लागि म नै अघि बढ्नुपथ्र्यो । साह्रै टेन्सनको काम थियो । कहिले एकैचोटि १२-१५ जना राजदूत आउँथे । मैले नै रिसिभ गर्नुपर्थ्यो । कहिल्यै एक निद्रा आरामसँग सुत्न पाइन्नथ्यो । त्यसकारण पनि तीन वर्षपहिला मैले सचिव छाडेँ । अहिले मात्र शरणार्थी भएर बसेको छु ।'प्रतापको पुर्खा ताप्लेजुङका हुन् । पाँच पुस्ता भयो भुटान पसेको । ३० वर्षको उमेरमा आफ्नो जन्मदेश छाडेर हिँड्नुपरेका पीडा अझै ताजा छन् उनको मनमस्तिष्कमा । 'त्यत्रो सम्पत्ति थियो । उब्जनी हुने बहुत राम्रो जग्गाजमिन थियो । भएर के गर्नू ? त्यतिवेला हामीलाई सरकारले तिमीहरूको लालपुर्जा पुरानो भयो, ल्याओ नयाँ बनाउनुपर्छ भनेर सजिलैसँग लालपुर्जा लगेर अहिलेसम्म फिर्ता दिएको छैन । बहुत पीडा छ,' प्रतापको अनुहार निराश देखियो । 'आगामी डिसेम्बरसम्म शरणार्थी क्याम्पबाट आठ हजार भुटानी शरणार्थी अमेरिका पुगिसक्छन् । तर, मेरो मन भने आफ्नै देश र्फकने छ । एक दिन त भुटानले आफ्ना जनतालाई ससम्मान फिर्ता बोलाउला,' आशचाहिँ मरेको छैन प्रतापको ।भुटानी सरकारका विरुद्धमा नेपालमा झैं जनता सडकमा उर्लिएर आन्दोलन गरी तानासाहीको अन्त्य गर्न असम्भव रहेको तर्क यसरी प्रस्तुत गर्छन् प्रताप, 'दुई वर्षअगाडिको आँकडाअनुसार भुटानको जनसंख्या जम्मा ६ लाख थियो । त्यसमध्ये आधा डोप्पा छन् । आधाजति नेपालीभाषी छन् । राजधानी थिम्पुको जनसंख्या ७९ हजार एक सय पचासी थियो । थिम्पुमा झन्डै २५ प्रतिशत मात्र सरकारका विरुद्धमा छन् । एक लाख सात हजार भुटानी जनता शरणार्थीका रूपमा नेपालमा जीवन बिताइरहेका छन् । त्यसबाहेक भुटानले लखेटेका कयौँ जनता भारतमा निर्वासित छन् । अरू कतिपय अन्यत्र छन् । अब कति जनता सडकमा ओर्लने ? एकजना प्रदर्शनकारीलाई दुईजना पुलिस लगाएर समात्छ । त्यसैले सडकमा उत्रिएर आन्दोलन गरेर तानासाही अन्त्य हुँदैन । समयअनुसार सरकारले आफूलाई रूपान्तर गर्नुपर्छ । जनताको चाहना बुझेर आफूले धपाएका आफ्ना जनतालाई ससम्मान स्वदेश फिर्ता लग्नुपर्छ ।'भुटानी सरकारले आफूलाई मन नपरेको मान्छेलाई सजिलै देशनिकाला गर्न सक्दो रै'छ । त्यही मारमा परेर भुटानी जनता शरणार्थीका रूपमा अर्का देशमा गएर बस्नुपरेको रै'छ । देशमा बस्न नसक्ने परिस्थितिको सृजना गर्ने, देश छाड्न नमान्नेलाई पक्रेर आजन्म कैदी बनाउने गरेको भुटानले आफ्ना जनतालाई पहिला कुटपिट गरी देश छाड्न बाध्य बनाउने अनि पछि बन्दुक तेस्र्याएर हातमा केही पैसा थमाएर हाँस्न लगाउने र त्यो दृश्य भिडियो क्यामेराले खिच्दै अन्तर्राष्ट्रिय रूपमा आफ्नै राजीखुसीले देश छाड्न चाहेको भ्रम पार्ने गरेको खुलासा गर्दै शरणार्थी गायक सुब्बाले आफू पनि त्यही त्रासले रातारात देश छाडेर भाग्नुपरेको तिक्तता पोखे । शरणार्थी जीवनको चपेटाले गर्दा गायक प्रतापले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिन सकेनन् । विगत झन्डै डेढ वर्षदेखि मात्र उनी पुनः संगीतमा लागेका छन् । पहिलोपटक १९७८ मा काठमाडौं आएका गायक सुब्बा त्यतिवेला शरणार्थी थिएनन् । आकाशको स्वतन्त्र पन्छीसमान थिए । मणिकमल क्षेत्रीसँग भ्वाइस टेस्टका लागि काठमाडौं आएका सुब्बालाई त्यतिवेला संगीतकार प्रकाश गुरुङ, गायकहरू दीप श्रेष्ठ, ओमविक्रम बिष्ट, अरुण थापा, दीपक थापा, सुवर्ण लिम्बूलगायतका गायकले राम्रो सहयोग गरेछन् । १९८४ सम्म रेडियो नेपालमा केही गीत रेकर्ड गराएका सुब्बा त्यसपछि भने रेडियो नेपाल पुग्न सकेनछन् । 'आफ्नो देशबाट निस्कनुपरेपछि मैले सांगीतिक क्षेत्रलाई चाहेर पनि निरन्तरता दिन सकिनँ,' पछुतोले भरिएको लवजमा प्रतापले भने, 'सानैदेखि संगीतप्रति रुचि भए तापनि १९७७ मा दार्जिलिङमा भएको संगीत प्रतियोगितमा दोस्रो भएपछि संगीतप्रतिको लगाव निकै बढ्यो । शरणार्थी भएपछि तनाबका कारण बीचमा गाउनै छाड्ने निर्णय गरेँ गाउनै छाडिदिएँ पनि । तर, रियाज गर्न छाडेपछि मेरो टाउको दुख्न थाल्यो । संगीत त नसाजस्तो हुँदो रै'छ । त्यस नसालाई मैले त्याग्न सकिनँ र फेरि गाउन थालेँ ।'आफ्नो देशबाट लखेटिएका प्रतापले झापातिरबाट १९९० मा क्रान्तिकारी अल्बम 'मुक्ति' निकाले । ९७ मा युवा संगठनले क्यासेट निकालौँ भन्यो । प्रतापले 'क्रान्तिको हुरी' निकाले । शरणार्थी क्याम्पमै बसेर २००१ मा किरात भजन-संग्रह 'अमर दीप' निकालेका प्रतापले विमला देवानका शब्दमा 'अधुरो जीवन' मा पनि स्वर-संगीत भरे । उनले गजल पनि थुपै्र गाएका छन् । 'म गीत गाउनु, संगीत भर्नुको अलावा कहिलेकाहीँ शब्द पनि कोर्ने गर्छु । तर, मलाई राम्रा शब्दको खाँचो छ,' प्रतापले भने, 'गाइदिनुपर्‍यो, संगीत गरिदिनुपर्‍यो भनेर थुप्रै शब्दहरू आउँछन मलाई, तर कमैमा मात्र चित्त बुझ्छ ।'शरणार्थी क्याम्पभित्र आफ्नी कान्छी श्रीमती र दुई बच्चाका साथ बस्ने प्रताप दैनिक गर्जा टार्न क्याम्पभित्र एउटा खुद्रा पसल चलाएर बसेका छन् । कालिङ्पोङबाट आइएस्सीसम्मको अध्ययन पूरा गरेका उनले भारतको इलहाबादबाट गायनमा विशारद गरेका छन् । शरणार्थीले बाहिर गएर काम गर्न नपाउने नियम छँदा-छँदै पनि कतिपयले आफ्नो गुजारा टार्न बाध्यताले बाहिर गाउँतिर गएर काम गर्नुपरेको बताउँदै प्रतापले भने, 'पहिला त मैले पनि केही समय बाहिर गएर टिचिङ गरेँ । अहिले भने केही गरेको छैन । विशुद्ध शरणार्थी भएर बसेको छु ।'क्याम्पमा उनको दैनिकी संगीत साधनामै बित्ने गर्छ । कोही-कोही संगीत सिक्न पनि आउने गर्छन् । सधैं अर्काले नापेर दिएको खाना, औषधी अनि लत्ताकपडाले मान्छेको आधारभूत आवश्यकता कहिलेसम्म धानिन्छ ? तर, गर्नु के ? उपाय केही छैन । 'के गर्नु त ? यत्रो वर्ष भइयो । उमेर गइहाल्यो । मेरो एउटै चाहना आफू जन्मिएकै देशमा मर्न पाऊँ भन्ने हो । एक न एक दिन त भुटानले आफ्ना जनतालाई फिर्ता बोलाउला नि ! तर, म भने त्यत्तिकै जानेवाला छैनँ । हाम्रा सर्तहरू भुटान सरकारले मान्नुपर्छ । फिर्ता बोलाएर फेरि पहिलाकै झैं मानव अधिकारविहीन, पिँजडाको चरीझैं खुम्चिएर बाँच्नुपर्छ भने म भुटान र्फकनेवाला छैनँ । मानिसको मौलिक हक अधिकार, सुरक्षाको पूर्ण ग्यारेन्टी गरिनुपर्छ । मान्छेको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार फिर्ता हुनुपर्छ,' आक्रामक रूपमा पोखिएका प्रतापले अगाडि भने, 'पहुँचवालाका लागि त पहिला नै प्रजातन्त्र थियो नि भुटानमा । तर, वास्तविक प्रजातन्त्र भने आएकै छैन ।'भुटानका प्रजातन्त्रवादी नेता टेकनाथ रिजालको सहायक भएर केही वर्ष काम गरेका गायक प्रताप आफूले अरू केही गर्न नसकेपछि गीत-संगीतका माध्यमबाट भए पनि भुटानबाट लखेटिएका जनताका पक्षमा लडिरहने प्रतिबद्धता जाहेर गर्छन् । आफू भुटानी राजतन्त्रका विरुद्धमा नरहेको बताउँदै उनले भने, 'राजाका विरुद्धमा म छैनँ । तर, राजाले आफ्नो देशका जनतालाई ससम्मान पुनस्र्थापना गर्नुपर्छ ।' यिनै शरणार्थी गायक प्रताप सुब्बा हाल काठमाडौंमा छन् । नेपालयको पलेँटी शृंखलाका लागि । आगामी १३ गते शुक्रबार उनले १६ वटा गीत गाउँदै छन् । उनी देशका गीत गाउनेछन्, जमिनको देशभन्दा बढी भावनाको देशका गीत ।
नयाँ पत्रिकाबाट

No comments:

Post a Comment