Feb 6, 2008

भाषिक चेतना

रविन गिरी
यदि कसैले विचार पुर्‍याएर हेरेको भए धरान नगरपालिकाको मूल भवन माथि खस भाषाका अतिरिक्त अर्को भाषामा समेत धरान नगरपालिका लेखेको पढन पाईन्छ । त्यो सिरिजंगा लिपीअंकित बोर्डलाई त्यहाँ झुण्डाउन एकसाता अघिसम्म सम्पूर्ण लिम्बूजाति आन्दोलनरत थिए भन्ने बुझ्नु झनै आवश्यक देखिन्छ । माओवादीको भातृ संगठन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले लिम्बुवान प्राप्तिकै एक भागका रुपमा सम्पूर्ण सरकारी कार्यालयहरुमा सिरिजंगा लिपीमा बोर्ड राख्ने कार्यक्रम थालेपछि तीन साताअघि प्रशासनले बन्देज लगाएको थियो । गृह मन्त्रालयको आदेश भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी र अधिकारीको निर्देशन भन्दै धरान नगरपालिकाका कार्यकारी अधिकृतसमेतले टागिएको बोर्डलाई जर्बजस्ती निकालिदिएका थिए । आफ्नो भाषाको बोर्डलाई प्रशासनले मान्यता नदिएकोमा आक्रोशित लिम्बू समुदायका सचेत संस्थाहरु एकबद्ध भए र त्यसका विरुद्ध संयुक्त आन्दोलन चर्काए । आन्दोलनकै उपलब्धि भन्नुपर्छ, बोर्ड निकालिएको १२ दिनपछि पुनःपुरानै स्थानमा बोर्ड प्रतिस्थापन गरियो । त्यो दिन लिम्बूहरुले एक प्रकारको मनोवैज्ञानिक जीतको अनुभूति गरेको हुनुपर्छ । लोकतान्त्रिक गणतन्त्रको अभ्याससँगै जातीय, भाषिक, सांस्कृतिक अधिकारका कुरा प्रमुख मुद्दाका रुपमा उठिरहेको आजको समयमा सरकार र सत्ता पुरानै मानसिकताबाट गुज्रिररहेको छ भनेर बुझ्न सिरिजंगा लिपीको बोर्ड टाङ्न गरिएको संघर्षबाट प्रष्ट हुन्छ । यसले थप यस्ता अधिकार प्राप्तिका लागि अझ लामो यात्रा र संघर्ष आवश्यक छ भन्ने समेत देखाएको छ । अबको बाटो अझ कठिन छ भन्ने कुरा केन्द्रिय राज्यसत्ताबाट पिरोलिएका सबैले ख्याल गर्नुपर्ने हुन्छ । त्यसो त सरकारी कार्यालयमा बोर्ड झुण्डाउने यो आन्दोलन जनजातिका लागि भाषिक आन्दोलनको एउटा रुप बन्नुपर्ने हो, जसको छनक त पाईएको छ तर स्वरुप देख्न सकिएको छैन । फगत राजनीतिका लागि यो मुद्दा उठाउदा जनजातिको ऐतिहासिकतासुग गासिएको यो विषय गौण बन्नपुग्छ,यसतर्फ पनि आन्दोलनरत पक्षहरुले विचार पुर्‍याउनुपर्ने हुन्छ । यो आन्दोलनलाई भाषिक आन्दोलनकै रुपमा लिएर जाने हो भने ढिलो भईसकेको कुरा भनेको सिरिजंगा लिपीमा स्वयं त्यो समुदायकै कम चासो र चिन्ता हो । लिम्बुवानको आन्दोलनमा निश्चित रुपमा आफ्नो भाषाको आन्दोलनपनि प्रमुख हुन आउछ । धरान नगरपालिकामा सिरिजंगा लिपीमा बोर्ड टाङ्दा स्वयं धरानमा चाहि कति लिम्बूले यो भाषा बोल्छन, बुझ्छन र लेख्न सक्छन भनी चिन्ता गर्नुपर्ने देखिन्छ । छोरानातिका पुस्तामा किन आफ्नो भाषाप्रतिको मोह कम हुदैछ,के उनीहरुलाई आफ्नो लिपी नसिकाउदा भविष्य कस्तो होला यसतर्फ ध्यानजानुपर्ने हुन्छ । भाषा सम्पति हो, आदिवासी हुनुको मूल प्रमाण हो र भन्नैपर्दा संस्कृतिकै हाराहारीमा महत्व दर्शाउने भाषा भनेको जीउँदो जातिको ज्यान हो । नगरपालिकामा बोर्ड टाङनुलाई टाङने समुदाय मध्येका कतिपयले कुन रुपमा बुझेका छन त्यो छलफलकै क्रममा बुझ्ने कुरा हो तर कतिपयले यसलाई भावनात्मक जीतको हिसाबमा मात्र लिएका पनि छन, जुन केहि केहि हदसम्म वास्तविकता पनि हो । नगरपालिकामा एउटा बोर्ड झुण्डाएर सन्तोष सास फेर्नुका पछाडि थुप्रै मनोवैज्ञानिक कारणसमेत जोडिएका छन्, जसलाई नजरअन्दाज गर्न सकिदैन । लिम्बुवान प्राप्तिको आन्दोलनमा लागेका जातीय संस्थाहरुले नगरपालिकामा बोर्ड राखिसकेपछि आफ्ना लिम्बू समुदायमा कतिले त्यसको महत्व बुझे, कति युवा पुस्ताले त्यसको अर्थ बुझे र त्यो लिपी बुझ्न सके त्यसको विश्लेषण गर्नुपर्ने देखिन्छ । अझ् त्यतिमात्र होईन, धरानमा बसोबास गर्ने अन्य जातीले सिरिजंगा लिपीको बोर्डमाथि कति चासो दिए त्यो समेत विचार गर्नुपर्ने हुन्छ किनभने एकजाति र एक समुदायको मात्रै अधिकार र विकासको कुरा गर्दा समग्र मुलुकविकसित हुन सक्तैन । एउटै जाति, एउटै विचार र एउटै संस्कारले मानवजाति विकास हुन सक्तैन, विकासको सही अर्थ त विभिन्न जाति जनजाति, फरक विचार र भावनाको सम्मिलनबाटै हुन्छ । माओवादीकै एक जातीय संगठनले यसभन्दा पहिले किराती बाहेक अन्यका शालिक तोडफोड गर्ने नीति नै अघि सार्दा त्यो आलोचनाको विषय बनेको थियो । आफ्नो अधिकारका कुरा गर्दा अरुको राय सुन्ने, बुझ्ने र सम्मान गर्ने कोसिस समेत गर्नुपर्दछ , तर यस्तो सोंच एकातिर मात्र भएर हुदैन ।

No comments:

Post a Comment