Feb 5, 2008

टंक वनेम

मैवाखोला चाम्लोक ढुङ्गेसाघु ८ ताप्लेजुङ्गमा जन्मनु भएका टंक वनेम हाल वेलायतमा रिटायर्ड लाहुरे जिवन लेखन यात्रासंगै व्यतित गरीरहनु भएको छ । मूलत कथा,कविता,संस्मरण,इतिहास र समसामयिक लेखहरु पाठकहरुको सामु पस्कने गर्नु हुन्छ । एक बर्ष अगाडी एक्कै पटक दुइ कवितासंग्रह साघुरी र बुढा सुब्बा नेपालीमा र पेन्जिरी पेन् - मिक् - भूल गर्ने जोडी आखा लिम्वूभाषामा प्रकाशित गरेर एक्कासी चर्चाको शिखरमा पुग्नु भएको छ । इतिहास र किरात याक्थुङ मुन्धुम सम्वन्धि खोज अनुसन्धान एवं अन्वेषण लेखहरु विभिन्न पत्रपत्रिकामा थुप्रै प्रकाशित भैसकेका छन् । किरात याक्थुङ चुम्लुङका संरक्षक सदस्य साथै मिकमु - ला लाजे इङघङ - किरात याक्थुङ चुम्लुङ यू.के.मुखपत्रका प्रधान सम्पादक समेत हुनुहुन्छ । वहाले वेलायति सैनिक जिवनमा झण्डै दुइ दर्जन जति देशहरुको भ्रमण पनि गर्नु भएको छ । खासगरी कवितामा आफ्नो वलियो अभिव्यक्ति दिन खप्पिस उनै प्रभावशाली व्यक्तिसंग लिम्वूवान डट व्लगस्पोट डटकमका व्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरीएको छ ।

१. परदेशमा रिटायर्ड जीवन कसरी विताई रहनु भएको छ ? व्यवहारीक जीवन संग लेखन कार्यलाई कसरी तालमेल मिलाउनु हुन्छ ?
प्रदेश, त्यो पनि रिटायर्ड जीवन चुनौतीपूर्ण नैं छ । भाषा,सांस्कृति,रितिरिवाज र दैनिक जीवन शैली नैं फरक भएको हुनाले प्रदेशमा गुड्ने जीवनको रथलाई सांसारिक रीतनुसार नैं गुर्डाई रहेको छु । ब्याबहारीक जीवन र लेखन कार्यको तालमेलको कुरा छ । इमान्दारी साथ भन्नु पर्दा मेरा सिर्जनाहरु फुर्सत पाएर घर बसेको बेला जन्मिएका होइनान् । काम या कतै यात्रामा सिर्जनाको प्लेट र्फम तयार गर्छु । त्यही रचना गर्भ हुर्काउदै बढाउदै जाँदा कविता,कथा वा सन्दर्भिक लेख बन्छन् ।

२ हालसालै नेपालमा सात दलको दुइ तिहाई मतद्वारा नेपाललाई संघीय गणतन्त्र नेपालको रुपमा घोषणा गरे तर कार्यन्वयन भने संविधानसभाको चुनावको पहिलो वैठकले पारीत गर्ने भनिएको छ । यसलाई तपाईले कसरी अवलोकन गरीरहनु भएको छ ?
सातदलको दुइ तिहाइ मतद्धारा नेपाललाई संघिय गणतन्त्र नेपालको रुपमा घोषणा त गरे । सातदलले घोषणा गरे अनुसार कुनै पनि कामहरु बिश्वास लाग्दो र ब्याबहारिक रुपमा लागु भएको छैना । अब यही आधारमा भन्ने हो भने चैत्र २८ मा चुनाव सम्पन्न गरि संबिधानसभाको पहिलो बैठकले संघिय गण तन्त्र पारीत गर्छ भन्ने कुरामा विश्वासनीय छैना । नेपालमा राजा बचाएर राख्नु र नराख्नुमा बिदेशी शक्तिहरुलाई नाफा या नोक्सानको आधारमा राजनिति हुँदैछ । सातदलले चाहेमा संबिधानसभाको निर्बाचन अघि नै घोषणा मात्र होइन पारीत नैं गर्न सक्थ्यो । अब त्यो थाँती रहेको काम रात पलाए पछि अग्राख पलाए जस्तै भएको छ । भन्नुको अर्थ चैत्र २८ अघि नै राजनैतिक मोड अन्त कतै मोडिन सक्दैन भन्ने कुरामा विश्वास गर्न सकिन्न ।

३ हाल लिम्वूवान स्वायत राज्य पुन स्थापनाको माग चर्को रुपमा उठेको कुरालाई तपाई सहि ठहर्याउनु हुन्छ ? नेपाल संघीय गणतन्त्र घोषणा भईसकेको हुनाले उक्त मागलाई सम्वोधन गर्ला जस्तो लाग्छ ?
लिम्बूवानमा स्वायत राज्य पुनः स्थापनाको माग उठ्नु जायज छैन कसरी भन्ने ? बि.स १८३१ बाट बि.स २०६३ संम्म शाह बंशको एकछत्र राज्य चल्यो । त्यती लामो समयमा दरबारीया दलाल,चाटुकार,भजन मण्डलीहरुले आफ्नो दुनो मात्र सोझयाएनन् । राजनैतिक,आर्थीक हरेक क्षेत्रमा केन्दि्रय सरकारको बलले गरेको षोशण र पक्षपातपूर्ण ब्याबहार बिरुद्धमा स्वायत राज्यको सवाल जायज छ । कुरो नेपालमा संघिय गणतन्त्र घोषणा भइ सकेर पनि त्यसको बिरुद्धमा आन्दोलन हुनु भनेको सातदल प्रति बिश्वास नहुनु हो । वर्तमान राजनिति तरल छ । तरल पर्दाथ चुहुने र जत्ता कुलो खनिन्छ उत्तै बग्ने भएको हुनाले यथास्थितिबादीहरुले टाउको उठाए भने संघिय गणतन्त्रको नारा पिडित जनजाति र स्वायत राज्य चाहनेहरुको लागि बिगतका इतिहास जस्तै हुने छ । उक्त मागलाई संम्बोधन गर्छ गदैन भन्ने सवाल छ त्यो आकाश जस्तै छ । सातदलले आकाश दिने घोषणा त गरे तर लिम्बूवानका जनताहरु भनिरहेका छन् । आकाश दिन्छौ भने हामी लिम्बू र लिम्बूवानलाई जून घाम र तारा सहितको आकाश देउ ।

४ जातिय स्वायत राज्यहरु मध्ये ऐतिहासिक आधार प्रमाण साथै भाषा संस्कृति आदिले लिम्वूवान प्रवल दावेदारको रुपमा हुँदाहुदै पनि नेपाल सरकार भने स्वायत राज्य दिने पक्षमा देखिन्न त्यसैले लिम्वूवान स्वायत राज्य पुन प्राप्तिको लागि अव लिम्वूहरुले तपाईको विचारमा कस्तो निती अवलम्वन गर्नु पर्छ होला जस्तो लाग्छ ?
जातीय स्वायत राज्य हुनु पर्छ भन्ने अग्रपक्तिमा लिम्बूवानको नाम हुनु गौरवको कुरा हो । जहाँ संम्म जातीय स्वायत राज्य हुनको लागि कुनै मापदण्डहरु तयार भएका छैनान् । यदि लिम्बूवानमा ति कुराहरु मागियो भने पनि तयार छ । सृष्टि देखि वर्तमान मानव सभ्यता संम्म फलाक्ने श्रृति परम्पराको काब्य मुन्धुम् छ । आफ्नै भौगोलीक सीमा,लिम्बूवानमा लिम्बू जातिहरुको बहुल्य जनसंख्या,भाषा,लिपी,धर्म रितिथिति,संस्कृति,साहित्य,आख्यान,लोक कथा र जन्म देखि मृत्यु संस्कार सम्मका रीतहरु आफ्नै भाषा र मान्यता अनुसार हुनु लिम्बूवान स्वायत राज्य संञ्चालन गर्नको लागि तयार छ । अब यस्तो हुँदा हुँदै आत्म नियर्ण सहितको स्वायत राज्य दिन नमान्नु भनेको सर्बसत्ताबादीहरुको रजाई हो । मागेर अधिकार नपाइने भए पछि ति सर्बसत्तावादीहरुको हातबाट आफ्नो अधिकार खोस्नको लागि मानसिक र भौतिक रुपले तयार हुनु पर्छ ।

५ लिम्वूवान सीमा विबादका कुराहरु पनि उठि राखेका छन् कतिपय लिम्वूवान पार्टीहरुले पुरानै सीमा अनुरुप नै लिम्वूवान हुनुपर्छ भन्ने कुरा पनि गरी रहेकाछन् अव यो विबादको निराकरणको लागि तपाईको विचारमा कसो गरे राम्रो होला जस्तो लाग्छ ?
पुनः संरचनाको सवाल उठिरहेको बेला लिम्बूवान सीमा विवाद उठाएर धमीलो पानीमा माछा मार्नेहरुले यो सीमा विवाद उठाएका हुन । सीमा विवाद उठाएर हक दाबी गर्दैमा पाइने पनि होइन । हक दाबी गर्नको लागी स्यामोहर,ताम्रपत्र, लालमोहर,इस्तिहार,कश्यरुक्का,सनद सवाल,जातजातिहरुको बसोबास साथै ऐतिहासिक दस्तावेजको आधारमा कुनै पनि राज्य वा सीमाको हक दाबी गर्नु पर्ने हुन्छ । लिम्बूवानको सीमा विभिन्नकालमा फैलिने र खुम्चिने गरेको थियो । दश लिम्बू सरदारहरुको बिद्रोह पछि बनेको लिम्बूवानको नक्सामा पश्चिममा दुधकोशी,पूर्बमा टिष्टा, उत्तरमा भोट साथै दक्षिणमा मिथिला संम्म देखिन्छ तर पश्चिम दुधकोशी र मिथिला क्षेत्रको भूभाग कुन सरदारको अधिकार भित्र थियो स्पष्ट छैना । सातौं शताब्दीका राजा मोराहाङले दुधकोशी र मेचीबीचको भूभागमा लिम्बूवान राज्य स्थापित गरेका थिए । सन १३६४ मा लिम्बू राजा साङलाइङको पालामा लिम्बूवानको सीमाना पूर्बमा टिष्टा,पश्चिममा अरुण,उत्तरमा तिब्बत, र दक्षिणमा जलालगढ कायम भएको थियो । सन् १७७४ मा पनि उक्त सीमाना कायम रहेको देखिन्छ । १८ औ सताब्दीमा लिम्बूवानको सीमाना पूर्बमा टिष्टा,पश्चिममा अरुण,उत्तरमा तिब्बत र दक्षिणमा जलालगढ रहेको थियो । सन् १८१६ को सुगौली संन्धिपछि लिम्बूवानको सिमाना उत्तरमा भोट, दक्षिणमा जोगवनी, पूर्वमा मेची र पश्चिममा अरुण नदी कायम भएको थियो । राजा श्रीजंगाहाङकालीन लिम्बूवानको नक्सामा दक्षिण पूर्निया, चौदण्डी सहित पश्चिम दुधकोशी,उत्तरमा तिब्बत र पूर्बमा टिष्टा नदी संम्म देखिन्छ । तर बाजाहाङका छोरा बिद्याचन्द्र राय -पानोहाङ) को पालामा भने पश्चिममा अरण कोशी,दक्षिण पूर्निया,उत्तर तिब्बत र पूर्बमा टिष्टा संम्म देखिन्छ । तर ति ऐतिहासिक नक्साहरुकै आधारमा विवाद चर्काउनु समय विपरित बोल्नु हो । बि.स १८३१ यता लेखिएका देखिएका दस्तावेजको आधारमा अरुण पूर्ब,मेची पश्चिम उत्तर तिब्बत र दक्षिण हाल नेपालको सीमा संम्मको क्षेत्रलाई लिम्बूवान कायम गर्दा अघेल्याई हुँदैन । इलाम चारखोला -फाकफोक) बाहेक पल्लोकिरात दशलिम्बूवान सत्रथुमको सिमाना अध्यन गर्दा संखुवाउत्तर बारे लिम्बूवान पार्टीहरु र चुम्लुङ्को धारणा स्पष्ट हुनु पर्ने देखिन्छ।

६ लिम्वूवान स्वायत राज्य प्राप्तिको लागि लिम्वूवान पार्टीहरु एक दर्जन भन्दा वढी अहिले लिम्वूवानमा सक्रिय देखिन्छन् एउटै उदेश्यको लागि यति धेरै पार्टीहरु जन्मनुलाई सकारात्मक ठहर्याउनु हुन्छ ? हङकङमा समेत लिम्वूवान पार्टी खुलेको छ के विदेशमा खुलेको पार्टीले नेपालको लागि काम गर्न सक्छ होला जस्तो लाग्छ ?
लिम्बूवान स्वायत राज्य प्राप्तिको लागि लिम्बूवान पार्टीहरु सक्रिय हुनु नराम्रो होइन । तर एउटै उदेश्यको लागि विभिन्न मत मतान्तर सिर्जना गरि ब्याक्तिवादी हिसाबले एउटा पार्टीबाट फुटेर अर्को पार्टी खोल्नु पक्कै पनि राम्रो होइन । लिलिमसोहाङ र खामसोसोहाङ पूर्रखाहरुको मत फरक हुँदा यति पछाडी धकेलिन पुग्यौं । यस्ता धेरै उदाहरण छन् । फुटेर उदेश्यको शिखर होचिन्दैन बरु झन अग्लिन्छ भने धेरै पार्टीहरु खोलिनु राम्रो होइन । देश बिदेशमा पार्टी खोलीनु पर्छ । तर सम्पूर्ण लिम्बूवानको सवालमा सहयोग पुर्‍याउने हिसाबले कुनै पनि देश -बिदेश) मा एउटा छाता सङ्गठन मात्र खोलिनु पर्छ । जस्ले साझा लिम्बूवानको सवालमा सहयोग पुर्‍याउन सकोस ।

७ केहि समय अगाडी विदेश वसेर पनि दुइवटा कृति नेपाली भाषामा र लिम्वूभाषामा प्रकाशन गराउनु भयो एकै समयमा दुइवटा कृति र दुइ भाषामा प्रकाशन गर्नु कसरी सम्भव भयो होला ?
बिदेशमा बसेर साहित्य सिर्जना गर्ने काम नोस्टाल्जिक फोबिया मात्र नभएर म किन लाहुरे हुनु पर्‍यो - भन्ने सवालमा पुगेर टुङ्गीन्छ/टुङ्गीनु पर्छ । उडिया भाषामा कविता लेख्ने प्रख्यात र प्रसिद्ध विद्धान डा.सीमाकान्त महापात्रले भनेका छन् । सपना देख्ने मान्छेले मातृभाषामा नैं सपना देख्छ । लिम्बूवान ब्लोगस्पोट डटकममा किन देवनगरी लिपीमा र नेपाली खस भाषामा एउटा मान्छे हुनुको अधिकार मागी रहेछु - यिनै सवालहरुले अभिप्रेरित गरे पछि नेपाली भाषामा कविता लेख्ने मान्छेले आफ्नो मातृ भाषा -लिम्बू भाषा) मा पनि कविता संङग्रह निकाल्ने आँट गरेको हु । विमोचनमा धेरै महानुभावहरुले प्रश्न गरेका थिए । के यो नेपाली कविता संङग्रहको अनुवाद हो - मेरो उत्तर थियो यो "पेन्जिरी पेन्मिक्हा-" -भूल गर्ने जोडी आखाँ) म लिम्बू हुनुको पहिचान हो । अनुवाद होइन, यो भूल गर्ने जोडी आखाँ भित्र म जन्मेको थातथलो लिम्बूवान प्रतिको अशिम माया पोखिएको छ ।
यो उत्तर सुनेर एकजना बुद्धिजीवीले भनेका थिए । अहा ! गल्ती गरिएछ । हिजो मेरो साथीहरुलाई भनेको थिएँ हेर ! लाहुरमा बस्ने लाहुरे भाइले बङगाली लिपी र भाषामा पनि कविता लेख्दा रहेछन् । दुइ कविता सङग्रहको विमोचनमा नेपाली भाषाको कविता सङग्रह वारे केहि बोली दिन उक्त दुइ पुस्तक बिमोचन हुन अघि उहाँ कहाँ पुर्‍याईएको थियो अब अनुमान लाउनु होला । लिम्बूवानमा जन्मेका ति गैर बुद्धिजीवी जस्तोलाई त लिम्बूहरुको लिपी भाषा लिपी र साहित्य हुन्छ भन्ने कुरा थाहा हुँदैन भने अरु र्सबसाधरण मान्छेहरुलाई नेपालको बस्तु स्थिति कस्तो छ अनुमान लाउन गाहृो हुदैन । त्यही नाजुक अवस्थाको लिम्बू साहित्यलाई एक कदम अघि बढाउन दुइ भाषाको कृतिहरु एकै पल्ट विमोचन गरेको हुँ । स्वदेश न बिदेश इच्छा भए उपाय हुन्छ ।

८.लिम्वूवान स्वायत राज्य पुन प्राप्ति हुन्छ भन्ने कुरामा कतिको आशावादी हुनुहुन्छ ? यदि लिम्वूवान शान्तिपूर्णरुपले प्राप्ति भएन भने विकल्पमा के गर्नु पर्ला जस्तो लाग्छ ?
लिम्बूवान स्वायत राज्य पुनः प्राप्ति हुन्छ भन्ने कुरामा म आशावादी मात्र होइन मानसिक र भौतिकरुपले पनि तयार हुनु पर्छ भन्ने कुरामा सहमत छु । म जस्ता लिम्बूहरुले बिदेशी बन्दुक बोकेको शदियौं भई सकेको छ । दुइ दुइ वटा विश्व युद्ध पनि लडेका छन् तर आफ्नो लागि युद्ध लड्न भने बाँकी नै भएकोले अब म जस्ता लाहुरेहरुले लिम्बूवान प्राप्तिको लागि लड्ने बेला आएको छ ।

९ साहित्यमा तपाई कसैको प्रेरणाले लाग्नु भएको हो कि ? साहित्य लेख्दा कस्तो अनुभूति गर्नु हुन्छ ? साहित्य लेख्नु तपाईको उदेश्य के हो ? नयाँ कृति ल्याउने तरखरमा हुनुहुन्छ कि ?
साहित्यमा लाग्ने मेरो प्रेणा शैशवकाल नैं हो । वारिपारी खोलाहरु बगेको देख्दा र अब्याक्त बेदनामा सालघारी सुसाउदा एक तमासले मन बहकिन्थ्यो । लिम्बूवानको हाट बजार,मेलापात, भेडा बाख्रा चराउन जाँदा पिपिरी पात बजाउदै खुब पालाम गाइन्थ्यो । अलि ठूलो भए पछि धान नाचिन्थ्यो । सोल्टेनीहरुसंग प्रेम पत्र लेखा लेख गरिन्थ्यो । साथी भाई मिलेर प्रेम लहरी,आनन्द लहरी र मुना मदन पनि पढिन्थ्यो । वाल्यकालमा सुन्ने दन्त्यकथाहरुले पनि त्यतै तिर डोर्‍यायो । उपन्यास पढ्ने लत्तबाट मुक्त हुन त झनै गाहृो भएको थियो । पल्टन लागे पछि पल्टनमा पाएका दुःख सुःखले साहित्यमा लाग्ने बल मिल्यो ।
मन भित्र गुम्सिएका अन्तर्नादहरु साहित्य मार्फ पाठक सामु राख्न पाउदा आनन्दको अनुभूति हुन्छ । साहित्य लेखनको उदेश्य शायद अमूर्त बिद्रोह हो । स्रष्टाहरुको त्यो अब्स्ट्रयाक चित्र जस्तो उदेश्य हुन्छ पनि हुँदैन पनि । मैले लेख्ने साहित्यले अन्याय बिरुद्ध चेतनाको बिरुवा उमारोस । नयाँ कृति ल्याउने तरखर हुँदैछ केहि समय पर्खनै पर्छ ।

१० लिम्वूवान स्वायतताको सुनिश्चितता अन्तरीम सम्विधानमा उल्लेख नभए लिम्वूवान र लिम्वूवान पार्टीहरुले सम्विधानसभाको चुनावमा भाग नलिने घोषणा गरी सकेको छन् । साथै नेकपा माओवादी पार्टीले मात्रै लिम्वूवानको विषयलाई अघि सारेको भनेर लिम्वूवान पार्टीहरु र लिम्वूहरुले भनेका छन् किन अन्य पार्टीहरुले तपाईको विचारमा लिम्वूवानको विषयलाई अघि नसारेका होलान ? चुनावमा भाग नलिदा कस्तो असर पर्न सक्छ ?
लिम्बूवान स्वायताको सुनिश्चितता अन्तरीम संबिधानमा उल्लेख नभए संबिधानसभाको चुनावमा भाग नलिने घोषणा गरि सकेका छन् । तर लिम्बूवानका कुन कुन लिम्बूवान पार्टीहरुले गरेका हुन । संबिधानसभा एउटा ढोका हो । ढोका नैं बन्द भए पछि घर भित्र भएको बाकसबाट अधिकारको पत्रमा लेप्चे लाउन सकिन्दैन । यथास्थितिवादीहरुले लिम्बूवानको सवालमा एकै शब्द खर्च गरेका छैनान् । यथास्थितिवादीहरु को को हुन पाठकहरुलाई थाहा भएकै हो । माओबादीले पनि लिम्बूवानलाई कहिले किराँत प्रदेशमा गाभ्छ कहिले कोचिला प्रदेश छुट्याएर कवाफमा हडिड मिसाउछ । यि सबै राजनैतिक दाउपेजका खेल हुन । यस्तो अवस्थामा सम्पूर्ण लिम्बूवानका पार्टीहरु साथै लिम्बूवानका जनताहरुले नियर्ण गर्ने बेला भएको छ । आफ्नो भाग्यको निर्माण आफैले नगरे भविश्य संम्म दुःखले पछ्याई रहने छ ।
अर्को कुरा हुन सक्छ भने ति तत्वहरुले नेपाललाई यस्तै अवस्थामा गुजारी राख्ने मनस्थिति बनाएका छन् । रगत पानी भन्दा बाक्लो हुन्छ । त्यसमा विशेष गरेर दुइ बिदेशी शक्तिहरु प्नि लागि परेका छन् । चिल्लेकनाबाद -कोइरालोवाद) र नेबोकेम्बाहरुले दिएको यो असुभ सङ्केत हो ।

११ लिम्वूवानमा कोचिला प्रदेश कसरी शुत्रपात भयो जव कि लिम्वूवानको इतिहासमा कहि कतै भेटिन्न । साथै खम्वूवानले पनि लिम्वूवानको केहि भूभागहरु खम्वूवान भएको दावी गरीरहेका छन् यसवारे तपाईको मत के छ ?
लिम्बूवानमा कोचिला प्रदेशको अस्तित्व थियो भन्ने कुरा इतिहासमा उल्लेख नहुँदा नहुँदै कोचिला प्रदेशको भाग छुट्र्‍याइएको छ । यो माओबादीको प्रस्तावित रोडम्याप हो । माओबादी जस्तो क्रान्तिकारी पार्टीले इतिहास,दस्तावेज र ऐतिहासिक सीमा जस्ता मान्यता बिपरित प्रदेश छुट्याउदैमा त्यही कुरा भविश्यमा लागु हुन्छ भन्ने छैना । जुरोपानी खजुरगाछी र कोरावारी तिन गाबिसमा कुच बिहार राज्य अर्न्तगत थियो भन्ने आधारमा कोचिला प्रदेशको दाबी गरिएको हो । तर पानोहाङले लोहाङ सेनको सहायता लिइ कोच राजालाइ राज्यच्यूत गरे पछि उनीहरुको राज्य समाप्त भएको थियो । फेरि इतिहासकारहरुको इतिहास अनुसार बिजयनारायण राय कोचे जाति नै भए पनि साक्वादेन थरका लिम्बू भएको उल्लेख छ । पुङलाइङ सातरेनुहाङ तुम्बाहाङफे बंशावलीमा उल्लेख भएबाट उनीहरु लिम्बू जातिमा रुपान्तर भइसकेका छन् ।
सन १९५१ मा राजा त्रिभुवनले लिम्बूहरुलाई दिएको लालमोहरमा भने लिम्बूवानको सीमाना खुम्चयाइएको छ । चारकोशे जंगलबीच आधार बनाई फारः लाइन निमार्ण गरी साँध लगाइएको थियो । त्यसमा लाख र माल बनाइएको साइनबोर्ड समेत राखेका थिए । उत्तरतिर लाख कायम गरि किपट प्रथा र दक्षिणतर्फ माल कायम गरि जमिन्दारी प्रथा लागु गरे । खम्बूवानसंगको सीमा विवाद उठाउनुको कुनै तुक छैना बार बार लाल मोहर,सनद सवाल र ऐतिहासिक सीमा रेखा कोरिन्दै आएको छ ।

१२ अन्तमा संसार भर छरीएर रहनु भएका लिम्वूहरु र लिम्वूवानवासी लिम्वूहरुलाई लिम्वूवान व्लगस्पोट डटकम मार्फ केहि शन्देस दिन चाहानु हुन्छ कि ?
लिम्बूवान ब्लोगस्पोट डटकमबाट संसारमा बस्नु भएका सम्पूर्ण लिम्बूहरु प्रति के शन्देश पुर्‍याउन चाहान्छु भने हाम्रो इमान्दारि र मौनतालाई अरु कसैले फाइदा लिइ रहेका छन् । इश्वरले हामीलाई कुनै न कुनै बिषयमा बरदान दिएको हुन्छ । त्यसैको सदुपयोग गरेर हाम्रो अज्ञाताको दियोमा चेतनाको दियो बालौं । त्यो दियो बालेनौं भने अरु धेरै हेपाइ खाँदै बाँच्नु पर्ने छ । हाम्रो उदेश्य एउटै हो त्यो उदेश्य प्राप्तिको यात्रामा संगसंगै जाउँ । परम्परागत अधिनायकबादी साङ्लोबाट मुक्त हुनै पर्छ । सेवारो ।
tankawanem@yahoo.co.uk

No comments:

Post a Comment