Mar 30, 2008

मुजिक्नालाई चिठ्ठि


प्रदीप कन्दङवा (लिम्बू), हङकङ

ओ--- मुजिक्ना
तिमी जतिसुकै माङगेना राख
जति सुकै छुरी उम्रेको भाले भाक
तिमी जतिसुकै पन्च्यौली पुजा गर
जति सुकै छिप्पेको जाँड फेदाङमालाई ख्वाउ
र खाउ आफु जतिसुकै भालेको रातो सिउर
र पेउ आफु जतिसुकै राँगाको तातो रगत
ओ मेरी प्यारी मुजिक्ना
यति बुझ
तिम्रो सिर कदापी उठ्दैन
तिम्रो सातो फर्केर कहिले आउँदैन
यदि तिमिले बुझेनौभने
राज कुमार आङदेङवेको वलिदान
यदि तिमिले सम्झेनौभने
काङसोरेको विरगाथा
ओ--- मुजिक्ना
तिमी जतिसुकै शिरबन्दि सिउर
जतिसुकै शिरफुल ओढ
जतिसुकै फक्ताङलुङ चढ
र भन, म याक्थुङहाङमा हुँ भनेर
तर यति बुझ
तिम्रो कहिले हुँदैन तिम्रो माटो
तिम्रो कहिले हुँदैन तिम्रो बाटो
तिम्रो कहिले हुँदैन तिम्रो घर
यदि तिमिले बिर्सियौभने
फाल्गुनन्दले देखाएको बाटो
ओ मुजिक्ना
मेरो भुँईसोरी सेवारो तिमिलाई
मेरो लुङमेन्दिङ बिन्तिरो तिमिलाई
नुनपानिको सन्धि फेरी नगर्नु है
बुझ्नु है
उनीहरुको सुकिलो कुरा
सम्झिनु है उहिले उहिलेको धोका
गोर्खा राजाले थापेको सन्धिको एम्बुस
बुझ्नु है
उनिहरुको फुटाउ र शासन गर भन्ने निती
सम्झाउनु है लिङदेन र पालुङवा तेङवेहरुलाई
मिल्नु भन्नु
कुम्भु कुन्सा नबाझ्नु भन्नु
ओ लुङजिरि लुङबो:ङ्बा मुजिक्ना
तिमी जतिसुकै च्याब्रुङ बजाउ
तिमी जतिसुकै पालाम गाउ
तिमी जतिसुकै ख्याली भन
तिमि जतिसुकै हाक्पारे गुन्गुनाउ
तर बुझ
तिम्रो धान नाच्ने आँगन तिम्रो हुँदैन
तिम्रो फिलिङ्गेबारी तिम्रो हुँदैन
यतिसम्म पनि हुनसक्छ
तिम्रो आत्मा स्वयममा तिम्रो हुँदैन
यदि तिमिले स्रिजङगाहाङलाई चिनेनौ भने
यदि तिमीले लेप्मुहाङको उपदेश बिर्सियौ भने
ओ मेरि प्रिय मुजिक्ना
तिमी जतिसुकै भाक नाहेम्मा भाले
तिमी जतिसुकै थाप बारिमा लिसो पासो
तिमि जतिसुकै खिप घुङरिङमा तिम्रो सपना
तिमी जतिसुकै ठोक घरको सुरमा चार किल्ला
तर सम्झ
तिमी सुरक्षीत कहिले हुन सक्दैनौ
तिमि निर्भय कहिले हुना सक्दैनौ
यदि तिमीले खोजेनौभने ईमानसिङ चेम्जोङको सपना
यदि तिमिले बुझेनौभने येहाङ ब्यवस्था
ओ मुजिक्ना
होशियार हुनु है
माङहिमको दैलो राम्रो थुन्नु है
के थाहा
मायावि कृष्णहरु छिर्न सक्छन्
मुखबाट मान्छे जन्माउने ब्रहमाजिहरु पस्न सक्छन्
विष्णुजिहरु भेष बदलेर आउन सक्छन
चिन्नु है, विष्णुजीहरुलाई
उनीहरु अर्काकको स्वास्नी पनि पो भन्दैनन् है
लुकाउनु है
मुन्धुमका किताबहरु
भाषा र लिपिहरु
हाम्रा ग्रन्थ माहा-ग्रन्थहरु
फेरी जलाईदिन सक्छन्
फेरि लुटिदिन सक्छन्
के थाहा फेरी आउन सक्छन जासुसहरु
ओ मुजिक्ना
निग्रानि राखनु है
अरुणको किनार तिर
उभो हिँउघारि छ भनेर ढुक्क नहुनु है
उता मेचिपारि पनि नबिर्सनु
तल जङगे पिलरको झन भरै छैन
मुजिक्ना मलाई माफ गर्नु है
मेरो माटोलाई चहिएको बेला मेरो पसिना
म त एता ठुल् ठूला घरहरुको शहर
हङकङमा चौकिदार पो छु है
डलरसँग मेरो आत्मा पो साट्दै छु है
म त याक्थुङ लाजेलाई मेरो अनुहार देखाउन सक्दिन क्यारे
मुजिक्ना-- अफ्ठ्यारो नमान्नु है
बरु भन्नु
बन्दुक सस्तै पो छ है एता
त्यता कस्तो छ कोनि ।

Mar 29, 2008

सिमानाको नेपाली


विक्रम सुब्बा

उसले आफ्नै पार्टी चिन्तनजस्तो
खिया लागेको भोटे ताल्चा खोल्यो
आफ्नै गुटको मगजजस्तो
मक्किएको पुरानो सन्दुस उघार्‍यो
आफ्नै अव्यवस्थित सोचहरूजस्ता
घरेलु सामानहरू उल्टायो, पल्टायो
छाम्यो, हेर्‍यो, खोज्यो
तर, कतै भेटेन ।
सिरानी हालेको रामायणको चेपचापमा
नागरिकता र झै-झगडाका कागजातहरू
गुट्मुट्याएर राखेको पोकोमा
घरीघरी ऐनाझै हेर्ने गीता-ग्रन्थको खोलभित्र
दातृसंस्थाले गोष्ठीमा दिएको व्यागभित्र
ससुरालीबाट पाएको दराजको लकरभित्र
भ्रमणभत्ताले किनेको कोटको भित्री गोजीमा
कही पनि नभेटेपछि
ऊ लामो सुस्तायो
र भन्यो, कहिले हराउछ ..., कहिले भेटिन्छ...
यसपल्ट फेरि कसले कता घुसार्‍यो
बाजे-बराजुको पालादेखि
आफ्नो भन्दै आएको
जमिनको नक्सा र त्यसका सिमाना
यसपल्ट फेरि हराए
जुन चारकिल्लाभित्र
उसका घर, गोठहरू उभिएका छन्
त्यो जमिन अचेल कुन मुलुकभित्र पर्छ

Mar 28, 2008

चुम्मा,लुङ् -चुम्लुङ् -चुम्लोक

टंक वनेम
लिम्बू भाषामा चुम्मा,(भेला हुने, हुनु) र लुङ् (ढुङ्गा) संन्धि भएर कालान्तरमा चुम्मालुङ् नै चुम्लुङ भएको तत्थ्य लिम्बूवानका बिद्धान एबं इतिहासकारहरु स्वीकार गर्दछन् । हुन पनि सभ्यताको शुरुवातमा भस्मे फाँडेर नयाँ जग्गा जमिनको साँध राख्ने अबस्थामा कुनै चुम्लुङ् हिमहरु (सभा भवनहरु) थिएनन् । त्यस बेला त्यो समुहको (Dicision Maker) निर्यण गर्न सक्ने मान्छेकहाँ भेला भई बिभिन्न समस्याहरुको निस्कर्ष निकाल्थे । लिम्बूवानको पहाडी भिरालो जग्गामा बस्न अप्ठयारो भएको हुँदा कुनै सजिलो तोकिएको ढुङ्गामा बसेर परिआएका समस्याहरुबारे छलफल हुने चलन चलाए त्यसरी चुम्मालुङ् बाट चुम्लुङ भए जस्तै चुम्लुङ्बाट अपभ्रंश भई चुम्लोक जस्ता ठाउँ को नाम पनि रहन पुगेको छ । यो गाउँ मैवा खोला ढुङ्गेसाँघु वाड नं ८ (ताप्लेजुङ) अन्तर्गत पर्दछ ।
यो गाउँको पूर्बमा मैवा खोला पोक्लाम तेम्बे पश्चिममा माङ्जारा गाउँ उत्तरमा लालि पातल माङमाया खोलाको उद्धगम स्थल मेन्छ्यायेम डाँडा र दक्षिणमा पारी पट्टी सिम्ले गाउँ यति चार किल्ला भित्र रहेको सानो गाउँ को नाम नै चुम्लोक गाउँ हो । यो गाउँ को माँझमा माङ्लोःक् -फलेदो(ठूल,ठूला पात हुने रातो फूल फुल्ने, सिमीका जस्ता कोसा लाग्ने, भित्र फस्केइलो काठ हुने र बाहिर काँडैकाँडा हुने एक जातको रुख) रुखको छेउमा १५,२० जना मान्छेहरु बस्न सकिने एउटा ढुङ्गा छ । यहि ढुङ्गामा बसेर उसबेलाका पुर्खाहरु गाउँको मुख्य सुभा (सुब्बा) (Dicision Maker) को नेतृत्वमा गाउँलेहरु भेला भई गाउँमा परिआएका समस्याहरु बारे छलफल गर्ने भएको हुँदा उक्त गाउँको नाम पनि चुम्मालुङ् बाट चुम्लुङ् हुदै अपभ्रंश भई चुम्लोक रहन गएको कथन छ । मुन्धुम् अनुसार पोरोक्मीबा यम्फामीबाको पाला देखि नै याक्थुङबाहरु याक्थुङ् लाजेमा रहन्दै आएको हुनाले लिम्बूवानका गाउँ ठाउँहरुको नाम पनि परिवर्तन हुन नसकि आफनो अस्तीत्वको इतिहास बोकेर धर्मराइरहेका छन । ति शुद्ध याक्थुङ भाषामा नामाकरण भइ अपभ्रंश भएका केहि गाउँ ठाउँ खोला नाला पहाड र पर्बतका नामहरु निम्न अनुसार छन ।

ताप्लेजुङ् -

पित्तोलुङ,हाङ्फाबुङ,थिङलाबु,थुङथाप,ओख्राबु,फुन्छेबुङ्,साङ्लुप्पा/साङलुम्बा,फङ्द्रा,येङघारा
लाकचुङ्बा,नुम्लोक,मिजेरे,याक्तेप्मा,साम्तोङ,पोक्लामा,हाङथाना (हात्ती खावा) हङबाप्माः,चल्ले,सिम्ले,माङजारा,इसेरा,मुछेरा,पाङ्मा,ताङसादेन,ताम्राङ,वादोक,बङथाक, तेन्धाप,चुम्लोक,लेक्वामा,लेत्च्वाप्मा,तेम्बे,तुम्बेगु,पिरिङ्गे,ओयाक्चुङ,साकफारा,खारते, तेत्लाबुङ,लुङ्सुम्बाङ,,सबुवा,चुङ्वा,खुःवा,मि-चिरिङ,आम्बोटे,फुगोङवा,,लिबाङ,पान्दोलुङ,चाँगा, किल्लिङ,नाल्बो,खर्बाताःक्तेन,नाक्लाङवा,साङमाङगो,साँबा,थल्लङ,खोक्लीङ,तुम्बाङखे, फछङ्मा,साम्याङखाम,फुङजेल्ला,हाङगाम,सोरीङ,वरक्मा,मा-स्रेङ,लिङथेप,आलजङगो, चङ्जीबुङ,लिङ्तेप,पापुङ,सिङ्सादेन,छोछोंन्देन्,ताङ्खु,मा-पाङ्फे (मा,माङखे), सापचङ्वा, तापेथोक,सेङवा,लुङथुङ,पिप्पुथाप (बिपुथाप),साम्सुप्ली (सुसुवादेन-मुन्धुम अनुसार) लेलेप, लिङखिम,आम्जीलोसा,हेल्लोक,मित्लुङ्, युक्खाबो/इखाबू,संसाबो/सङसङबो,सावादेन,फेम्फु,सुत्लुम्बुङ,खेदेन,फुरुम्बो, खेजेक्नाम/खेजेनिम,खेबाङ,परा,पेदा,मयाम,नाङखोल्याङ्,हाङ्देवा,मेदिबुङ,आजिबुङ,याङलिजुङ, टारिबुङ,हानदुरुङ,बुङ्कुलुङ,तेनेबुङ,थोक्पेकबुङ,आम्मेदेन,थुम्मेदेन,मादिबुङ, थेचम्बु,तेल्लोक,थुङरुम्बा,थुम्मा,पेदाङ,साप्लीखोक,बक्खिम,खेबाङ,मामाङखे,साखेजङ,दोरुम्बा, तिरिङगे,डुम्रिसे,चित्तोक,वारुम्देन,याङ्पाङ,तेम्बेवा,सिनामतेल्लोक, थर्पु,साम्याङ्खाम,मुकुबुङ,तिमतिम्बो,सापलाखु

१३ थुम-

इवा,हडा,खानाकपुङ,संम्दु,इसिबू,पाकतेन,लोवाफु,किलिङ,सुदाप,हाङ्सुरुङ,आजिरा, मुराहङ्,सेरजंङ,लाब्रि,सेगेङबा,खेसेरा,तुम्बायक,तुम्फुला,कप्याक,परजाङ, मियङलुङ,पोक्लाबुङ,थोक्लुङ्,फाक्च्वा,फुङ्सिङ्,फुङ्नाम, तःक्उमा,हमरजङ,सुङनाम,सोल्मा,अम्फुवा,साब्ला,पुरुन्देन,पुन्धुङ,सिकिदेम, वइफुङ,फम्बु,कामोरुङ,लिङदेन,मोरालुङ, ।

पाँचथर-

वासुम,लुङरुप्पा,हेङगाम्देन,प्राङबुङ,धिबोम्बा,यासोक,याङनाम,सारताप,नाम्सालिङ,ओयाम, तेनेबा,याम्बोङ,माक्लुङ,चोक्मागु,भाराप्पा,अम्लाबुङ,सुभाङ,पङवादेन,थक्लेम्बा,सिवा, यासक,सारदाप,फेदेन,फेजङ,केबुक,माङ्जाबुङ,आङ्बुङ,ओयम,लोवाफु,नाङगेन,येकतेन,थरपु, कुरुम्बाङ ।

इलाम-
लारुम्बा (माङ्सेबुङ),मिक्लाजङ,आङदाङ,चेम्फुजोङ,ब्रुङखिम,फुदुक,साङग्रुम्बा ।

सङखुवासभा-
चित्लाङ,मैयुम,फाबेन,मावादेन,लुङ्बाङ्ःयक,लुङ्धाकि (नुनढाकि),सजिक स्वाची/कोस्वा,

धनकुट्टा-
ताङखुवा,ओख्रे,मावरक पावरक,तेनुबा (तेनुपा),सोगुम,मादेन,साप्तेन,हाम्वेला,लोकतेन,पेगना (बेगना)

सीमापारी - (भारत)
खर्साङ,सिङ्ताम,चुङथुङ,कालिमबुङ (कालिम्पोङ),लिङचोम,माङ्गान,पाङथाङ,रुम्बुक,नाम्दोक, ।

केहि यक जोडिएका माङ्गेन्ना यक हरु-
फुङदाप्मा यक,सोनु कुम्बा यक,चेनचेनलुङ् यक,चाङसिङ यक,ताक्लुङदेन यक,काया यक, साङ्गुरी यक,चाङधुम्बो यक,लुम्बाङ यक,साङगाङ यक,चीकवा यक,कुर्ले यक,हस्तपु यक,पोःक्लाबुङ यक, फेदेन यक,आङदाङ यक,चाङसिङ यक,इधिङ यक ।

थुम्का,पहाड, र पर्बतहरु-
फक्ताङ्लुङ,चेन्जेनलुङ्,मेन्छ्यायेम,मिल्खु (मिल्कु) अथिनलुङ,सुमाथालुङ,लुम्बासुम्बा,तोक्मा थेगु,मुक्कुम्लुङ (पाथिभरा), खोकुङ, नेघुङ, ताउजुङ, सेवालुङ, कुस्सायक, कुम्मायक, फेयात्लुङमा,कङ्गङ्लुङमा, पुधाम्लुङ थेगु,शिरेगु कोक्मा,मुरिङला थेगु,फात्लेलुङ थेगु, मुजोःकलुङ् थेगु (मुन्धुम्मा बर्णित-सिद्धी स्थल-सृष्टि,) सेहो-नाम्लाङः,

अपभ्रंश भएका गाउँ ठाँउहरु ।

यर्थाथनाम अपभ्रंशनाम - जिल्ला ।

हाङ्पाङ हाम्पाङ - ताप्लेजुङ
पोक्लाम तेम्बे पोक्लामा तेम्बे - ताप्लेजुङ
वानेने हात्तीखावा (ढुङगेसाँघु) -ताप्लेजुङ
लेक्वामा लेकुवा - ताप्लेजुङ
वालुङसुम् (गोला) ओलाङ्चुङ गोला - ताप्लेजुङ
ढोक्पे गोला तोक्पे गोला - ताप्लेजुङ
म्हसिरिङ् माःश्रेङ् - ताप्लेजुङ
युःखाबो इखाबो - ताप्लेजुङ
फुङलेङ फुङलिङ - ताप्लेजुङ
चेङ,याः चाँगे - ताप्लेजुङ
निङजादेन निङग्रादेन - ताप्लेजुङ
सिनामभेत्लुङ सिनाम - ताप्लेजुङ
सेन्दाङ छिन्ताङ - ताप्लेजुङ
फाखोङमा फाकुम्बा- ताप्लेजुङ
सान्थावरक सान्थ्रान्क्रा- ताप्लेजुङ
तुम्ब्रिसे डुम्ब्रिसे - ताप्लेजुङ
वानेने ओलने - पाँचथर
नेम्बेङ् मेम्बेङ् - पाँचथर
फेदेन फिदिम - पाँचथर
याङवारक याङगरुप/याङरक - पाँचथर
याङसीङबुङ याङसीबुङ - पाँचथर
ताङगावा दाङवाम्पा - पाँचथर
लेजाङगु सिंहदेबि- पाँचथर
स्याबरुम्बा साङ्गरुम्बा - पाँचथर
खुवाबुङ ख्वापुक - पाँचथर
अम्लाबुङ नौमी डाँडा - पाँचथर
नाउरुङबा गजुरमुखि - पाँचथर
अम्लाबुङ नौमी डाँडा - पाँचथर
चेनताक्तु च्याङथापु - पाँचथर
सुदाप फेदाप तेहृथुम - १३ थुम
मियङलुङ म्याङ्लुङ - १३ थुम
खामनुनु खाम्लालुङ - १३ थुम
मुराहङ मोराङ - १३ थुम
हाङयाक्मा हाङगेपा (हागेपा) - १३ थुम
हाङ्को वाहाकु - १३ थुम
याःपोन याबोन - १३ थुम
सुदाप फेदाप तेहृथुम - १३ थुम
सानगढि साँघुरी - धनकुट्टा
लुङधाकी नुनढाकी - सङखुवासभा

अपभ्रंश भएका डाँडाकाँडा पहाड पर्बत र नदी नालाहरु ।

यथार्थ नाम अपभ्रंश भएकानामहरु

फक्ताङ्लुङ् - कुम्भकर्ण
चम्जम्लुङ् (मा) (चोमोलुङमा) - सगरमाथा
मिल्खु मिल्के डाँडा
कङकङलुङमा - कञ्चनजंगा हिमऋङ्खला
फात्लेलुङ फालुट - पहाड
सिन्धोलुङ माःएबा - मैवा खोला
चाःएबा - जैवा खोला
एम्बिरी याङधाङवा - तमोर (तावामा)
यफत्लुङ काङवामा - काबेली खोला
केतक्कुम मेवा पुम्मा (मिक्वा) - मेवा खोला
माङःमए (माप्मे) वाहङ - माङमाया खोला
हेत्रेङ (हयात्लुङ) - वाधाम हिंगुवा छाँगा (१३ थुम)
फङ्फङ्देन वाधाम - फुङफुङे छाँगा (ताप्लेजुङ)
हिङ्मादेन वाहङ - हिउँदिया खोला
कुःया वाहङ - कोइया खोला
यसरी लिम्बु भाषामा नामाकरण गरिएका गाउँ ठाउँ पहाड पर्बत,खोला नालाका नामहरु दिन प्रति दिन अपभ्रंश भइ खस नेपाली भाषामा परिबर्तन हुनेक्रम जारी रहनु दुःखको कुरो हो । अपभ्रंश भएका पुराना नामहरुलाई पुःन यथार्थ नाम राख्न स्थानिय बुद्धिजीबिहरुले पहल गर्नु पर्ने देखिन्छ । जस्ले जङ्गल फाडयो, जस्ले अटाप्पे बनलाई मानब बस्ति योग्य बनायो, अथवा बाघ,भालु र जङ्गली जनवारहरुसंग ज्यानको बाजि थापेर आफनो पुर्रखाहरुले मानब बस्ती बसाइ गाउँ ठाउँको नाम पनि राखे,सम्म परेको टारलाइ तेल्लोक भने,भेला भई सभा गर्ने ढुङ्गालाइ चुम्मालुङ भने,भेला हुने गढि (किल्ला) लाई तुम्मायक (तुम्बायक) भने, अलि भिरालो भिरालो परेको जमीनलाइ चेङ्या-याबा (छडके-छडके) परेको गाउँ भने,सुङगुरको डुँड जस्तो परेको ठाउँलाई फाखोङमा नाम राखे, देबि देवता पुजित पोखरिमा पैसा फाल्ने चलनअनुसार पैसा फालिने पोखरीको नाम याङवारक राखियो ।
ठुलो खालको बाँस (हाङफाः) हुने ठाउँको नाम हाङफाःबुङ नाम रहृयो । पात टिपेर टपरा गाँस्ने वा कृषियुग मा खेति गर्दा घुम बनाउने पात -माका तेत्ला) हुने ठाउँको नाम तेत्लाबुङ राखियो । टिम्मुर हुने ठाउँको नाम मेदिबुङ रहृयो,पहाडी इलाकामा अलि समथल मैदानी भाग को नाम तेम्बे राखे, लेकाली टिम्बुर हुने ठाउँको नाम खानाकबुङ (खानाक्पा) राखे । यि यस्ता गाउँ ठाउँहरुको नाम शुद्ध याक्थुङ्बा भाषामा रहनु र आदिबासी याक्थुङबाहरुलाइ खाम्बोङ्बा लुङ्बोङ्बा तागेरानिङ्वाफु सा, भनि मुन्धुम्ले बर्णन गर्नु याक्थुङबाहरुको लागि गौरबको बिषय हो । यि यस्ता याक्थुङबा भाषामा नामाकरण भएका गाउँ ठाउँहरुलाइ यथावतै राखि अपभ्रंश भएका नामहरुलाइ पुन यथार्थ नाम राख्ने कामको थालनी भए मात्र अस्तीत्वको लडाइबाट बाँच्न मद्धत पुग्ने छ ।

Mar 26, 2008

लिम्बू भाषामा बन्देज

अर्जुनबाबु माबुहाङ
नेकपा (माओवादी) सत्तामा गए यता आफूले सम्हालेका सञ्चार मन्त्रालय अर्न्तर्गत निस्कने गोरखापत्रमा विभिन्न भाषाभाषीलाई साता- महिनामा एक-एकपटक भए पनि उनीहरूको भाषा-लिपिमा स्तम्भ दिदै आएको छ । तर यही पुस २९ गते उसैको भ्रातृ संगठन लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चाले सुनसरी जिल्लाका धरान नगरपालिका र नगरभित्रका हुलाक, दूरसञ्चार, विद्युत र खानेपानी कार्यालयमा कार्यालयको नाम लिम्बू भाषा र सिरिजंगा लिपिमा लेखेर झुन्ड्याइएका बोर्ड स्थानीय प्रशासनबाट माथिको आदेश भन्दै हटाइएको छ । आज ती कार्यालयका सम्बन्धित मन्त्रालय सरकारमा रहेका माओवादीकै मातहतमा छ । विसं १८२१ मा पृथ्वीनारायण शाह ललितपुरका राजा बनेपछि नेवारी लिपि र संवत्मा रोक लगाएका थिए । उनले कचहरीपिच्छे एक-एक पण्डित राखी शास्त्रबमोजिम अदालत चलाउन आदेश दिए । विसं १८४५ मा रणबहादुर शाहले पल्लो किरात लिम्बुवानको चैनपुर अम्बल -इलाकाबाट लिम्बू लिपि भाषाका प्रचारक सिरिजंगालाई देश निकाला गरे । राणाकालमा पनि खस -गोर्खा भाषा देखि बाहेकका भाषालाई जंगली भाषा भनिन्थ्यो । ऊ बेलाका कविद्वय कृष्णचन्द्र अर्याल र वैद्यनाथ जोशी -सेढार्इं) ज्यूहरूको कविताका केही अंश यसरी पाउन सकिन्छ "जबसम्म एक ही 'गोर्खा भाषा'को सर्वव्यापकता हुनसकेको छैन, किन्तु नेवार, भोटे, मगर, गुरुङ, लिम्बू, सुनुवार, दनुवार, थारू प्रवृत्तिका जंगली भाषाहरूले पनि आफ्ना जन्मस्थानलाई एकदम छोड्नसकेका छैनन् । जहासम्म एकमात्र गोर्खा भाषाले अरू सबै जंगली भाषालाई अर्धचन्द्र -गलहत्ती) लगाउन्न गोर्खा भाषाको उन्नति हुन्छ भन्नु र 'मुख्य भाषा कहिन योग्य छ' भन्नु केवल मनोलड्डुमात्र हो ।' विसं २०२२ सालमा रेडियो नेपालबाट प्रसारित भइरहेको नेवारी भाषाको समाचारमा रोक लगाइयो । विसं २०४७ मा खस भाषालाई मात्र राष्ट्रभाषा भनियो । विसं २०५१ हिउदे अधिवेशनमा संस्कृत भाषालाई अनिवार्य गराउनका लागि ७६ जना सांसदहरूमध्ये ४१ जना त पहाडेमूलका बाहुनमात्र थिए । विसं २०५६ जेठ १८ गते सर्वोच्च अदालतको फैसलाले काठमाडौं महानगरपालिकालाई नेवार भाषा र राजविराज नगरपालिकालाई मैथिल भाषामा स्थानीय प्रशासनिक कार्यालयहरूमा प्रयोग गर्न दिएन । राजा ज्ञानेन्द्रले लगाएको संकटकालमा पाचथरको राके भञ्ज्याङमा लिम्बूहरूलाई लिम्बू भाषामा टेलिफोनमा बात मार्न दिएन । लोकतन्त्र आएपश्चात अन्तरिम संविधानमा सबै भाषाले राष्ट्रभाषाको दर्जा पाउदा-पाउदै प्रधानमन्त्री हैसियतले गिरिजाप्रसाद कोइराला मन्त्री मातृका यादवलाई सपथ खुवाउदा मैथिली भाषा बोल्न हिचकिचाए । भाषिक विभेदका केही शृङखलाबद्ध घटना हुन् यी । अन्तरिम संविधानको भाग- १ को उपभाग- ५ मा नेपालमा बोल्ने सबै भाषालाई 'राष्ट्र' भाषा भनिएको र स्थानीय निकायमा सबै मातृभाषा प्रयोग गर्न पाउने भनिएको छ । तर लिम्बू भाषाको सिरिजंगा लिपिमा लेखिएको बोर्ड सरकारले टाङ्न दिएन । कुल जनसंख्याको १.५८ प्रतिशत लिम्बूमध्ये १.३७ प्रतिशत लिम्बू आफ्नो भाषा बोल्छन् । अन्तरिम संविधानमा संघीय शासनको व्यवस्था गरिएको छ । तर सरकारले संविधानसभा चुनाव अगावै संघीय शासनका पूर्वाधार निर्माण गर्न चाहेको छैन । सरकारले केका र कसका लागि संविधानसभा चुनाव गर्ने मिति तोकिरहेको छ - यो संविधान सरकारले नै मान्दैन भने कसले मान्छ - धोती-कुर्ता-सुरुवाल लगाएर मैथिल भाषामा भोट माग्न मिल्ने तर सरकारमा पुगेपछि मैथिली भाषा बोल्न हिचकिचाउने जस्ता अन्धजातीय अहंकारवाद रहिरहने हो भने संविधानसभा चुनाव कसरी हुन्छ - अरूका इतिहास, भाषा, संस्कृति, आस्था, भावना र योगदानलाई कदर, सम्बोधन र सम्मान गर्नसके मात्र मुलुकमा सांस्कृतिक सहअस्तित्व र सद्भाव रहिरहन सक्छ । लिम्बू भाषामा प्रशासनिक खाका तयार नै नगरी गरिने यस्ता कार्यले स्थायित्व र वैधानिकता पाउदैनन् । सबै लिम्बूले बुझने र मान्ने जस्ता प्रशासनिक शब्दावली र वाक्य निर्माण गर्न एउटा आधिकारिक निकाय चाहिन्छ । त्यस्तो निकाय लिम्बूहरूको साझा संस्था किरात याक्थुङ चुम्लुङ र सरकारबाट बनाउनुपर्ने हुन्छ । अहिले एफएम र रेडियो नेपालबाट लिम्बू भाषामा प्रसारित समाचार समाचारवाचकसंग सर्म्पर्कमा रहेका श्रोतादेखि बाहेक अरू लिम्बूले बुझन गाह्रो पर्छ । समाचारवाचकले समाचारहरू नेपालीबाट लिम्बू भाषामा उल्था गर्नुपर्ने भएकोले वाचकहरू आफूखुसी शब्द र वाक्य बनाउन बाध्य छन् । वाचन शैलीमा पनि मौलिकता भेटिनसकेको छैन । माओवादीले जातीय मुद्दाको एजेन्डा छाडेकोले नै जातीय र क्षेत्रीय समस्या अगाडि आएको निश्चित रूपमा हो । दरबारका राष्ट्रवादीभन्दा जातीय र क्षेत्रीयवादीका एजेन्डालाई प्रचण्ड र सरकारले पहिलो प्राथमिकता दिनसके चुनाव अवश्य पनि हुन्छ ।

सुम्निमा र पारुहाङ् - ‍लोक कथा

इमानसिं चेम्जोङ
हिमालयको सृजनापछि भगवान्‍का अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्तृत, उच्च आफ्नै सुन्दर भए तापनि त्यसको उपयोग गर्ने तथा अन्य कुनै जीवात्मासँग त्यसको सम्बन्ध स्थापित गर्ने त्यहाँ कुनै व्यक्ति थिएन । तसर्थ भगवान्‍ले त्यस विपुल हिमपुञ्जमा बोखोपी नाम गरेको एकजना मानिसको सृष्टि गरे र साथै सन्तसुरुख नाम गरेकी उसकी स्त्रीको पनि । बोखोपी र सन्तसुरुखको दाम्पत्य जीवनका सिलसिलामा एउटी छोरीले जन्म पार्इ । उनको नाम रह्यो सुम्निमा । उ वृन्दावनमा बस्तथी । आफूलायक कुनै जीवन नभएको त्यस प्राय: एकान्त आफ्नै निर्जन स्थानमा सुम्निमा केवल पंक्षिहरूसँग हिंडडुल गर्दथी, तिनीहरू नै उसका साथीसंगी थिए । उ आफ्ना ती साथीहरूको भाषा बुझ्दथी, तिनीहरूसँग उ कुराकानी पनि गर्दथी । एकमात्र प्रकृतिको संसर्गमा हुर्केकी सुम्निमा सुस्तरी -सुस्तरी युवती भर्इ । तैपनि उ केवल चरा-चुरुङ्गीहरूसँग यो वन - त्यो वन तथा वनको एक छेउदेखि अर्को छेउसम्म घुम्न पाउँथी । त्यतिखेर स्वभावत: उसका मनमा कुनै एकजना पुरुषको सहज इच्छा जागृत हुन्थ्यो तर त्यहाँ कुनै पुरुष थिएन । यसै अभावमा भित्रभित्रै पिल्सिरहेकी सुम्निमाका दृष्टिमा एक दिन एकाएक एक जना पुरुष देखापर्‍यो । पुरुष आकाशबाट पृथ्वीमा आएर वन-जङ्गलतिर घुमिरहेको थियो । उ निकै ह्यष्टपुष्ट थियो, खुबै आकर्षक, खुबै लायक । उसको शरीरमात्र देख्नासाथ पनि सुम्निमा उ प्रति मोहित भर्इ । उ थियो पारुहाङ । पारुहाङ सुम्निमाका विषयमा केही पनि जान्दैनथ्यो । सुम्निमा आफूप्रति आकर्षित भएको कुरा त के विचराले उसलार्इ देखेकोसम्म पनि थिएन । तसर्थ सुम्निमालार्इ एकपल्ट आफ्नो अनुहारसम्म पनि नदेखाएर उ आफ्नो बाटो लाग्यो । सुम्निमाले उ सँग भेट्‍ने मन गरेकी थिर्इ तर भाग्यले उसको धोको पूरा हुने मौका दिएन । जे होस पारुहाङको दर्शनको कामना सुम्निमाको मनमा सदा बिझीरहने एक मधुर काँडाकै रूपमा रहिरह्यो । उसले जसरी भएपनि पारुहाङसँग सम्पर्क स्थापित गर्न चाही तर कुन उपायले उ सँग भेट हुने हो ? यो सुम्निमाका लागि एउटा समस्यै थियो । अन्त्यमा उसले आफ्ना साथीहरूसँग सल्लाह माँगी । चराहरूले भने "पारुहाङको घर आकाशमा छ । उ हावाबाट आउँछ र हावाबाटै माथि जान्छ ।" साथीहरूले सुम्निमालार्इ आशा देखाए "हावासँग कुरा गर्न सक्छौ भने उसैमाफत समाचार पठाउँदा पारुहाङ कहाँ पुग्छ ।" प्रकृति पुत्रीजस्ती सुम्निमा हावासँग पनि कुरा गर्न सक्तथी । साथीहरूले दिएको उपाय सुन्नुमात्र थियो उसले तत्काल अनुरोधपूर्वक हावालार्इ आफ्नो काममा लगाइहाली । हावाले तुरुन्तै पारुहाङकहाँ गएर उ सँग पृथ्वीका एउटी तरुनी-सुम्निमा उ सित विवाह गर्न चाहन्छे भन्ने खबर पुर्‍याइदियो । यो कुरा सुनेर पारुहाङ अत्यन्तै खुशी भयो र आफूलार्इ एउटी सुन्दरीको वर बनाइन पाइने हर्षमा हावा सँगसँगै पृथ्वीमा ओल्र्यो । पृथ्वीमा पुग्नासाथ उ सरासर सुम्निमा बसेको ओढारमा गयो । तर अफशोस, काम कुरो मिल्न सकेन । सुम्निमा जति सुन्दर थिर्इ, पारुहाङ उत्तिक्कै कुरूप थियो । केवल शरीरको गठन देखेर आकर्षित भएका सुम्निमाकालागि पारुहाङको च्याप्टो, कालो र ससाना आँखाहरूले रूप बिगारेको अनुहार एक किसिमको धोखा साबित भयो । पारुहाङलार्इ देखेर सुम्निमाका ह्यदयमा प्रेमको बदला सहसा भय उत्पन्न भयो । विचरी उसका सामुमा उभिनसम्म पनि सकिन र भागेर गर्इ । अर्कातिर उस्तै पारुहाङलार्इ पनि नराम्रो चोट पर्‍यो । विवाहको सुखद लालचमा आकाशबाट ओर्लिने भएको विचरो फुस्सामा पर्ने देखियो । उसलार्इ एकातिर घोर लज्जाको अनुभव भयो भने अर्कोतिर उसको पौरुषत्वप्रति यो एक प्रकारको साह्रै ठूलो अपमान पनि थियो । अपमानित पारुहाङले हावालार्इ भन्यो "तिमीले गर्दा सुम्निमासँग विवाह गर्न भनेर म पृथ्वीसम्म आएँ, सुम्निमा भने मेरो अगाडिसम्म पनि पर्दिन ! कस्तो सरमलाग्दो कुरो हो ! तर म पनि आफूले सकेको नगरी त कहाँ छाड्‍छु र !" यति भनेर आहत - अपमानित पारुहाङले गएर सुम्निमा बस्ने जङ्गलको प्राय: जम्मै पानी सुकाइदियो । तरल पदार्थका नाममा केवल एउटा कर्कलाको पातमा विशेष प्रकारले अलिकतिमात्र शेष राखेर उ आकाशमा उडेर गयो । पिउने पानी नपाएपछि जङ्गलका सबै प्राणीहरू तिर्खाले सताइन थाले । सुम्निमा पनि हर्हर भर्इ । उसले यताउतिका सारा खोल्सा-खोल्सीहरूमा गएर आफ्नो प्यास मेट्‍न खोजी तर कतै एक थोपा पनि पानी थिएन । उसले आफ्ना साथीहरू न्याउली, कुथुकर लाहाँचे, चाँचर, भ्याकुरो, चिबे, जुरेली, ढुक्कुर, हलेसो, च्याखुरा, प्यूरा आदिलार्इ पानी खोज्न पठार्इ । लाहाँचेले रूखको टोड्‍कामा अलिकता पानी भेट्टायो तर आफै तिर्खाले हर्हर भैरहेको त्यस विचरोले त्यति पानी आफ्नै तिर्खा मेट्‍न खाइदियो । चिबेले कर्कलाको पातमा अलिकति पानी भेट्टायो । उसले चाहिँ इमानदारी साथ त्यो पानी सुम्निमालार्इ ल्याइदियो । तिर्खाले साह्रै आतुर भैरहेकी सुम्निमाले पानी भेट्टाउनसाथ आँखा चिम्लेर पिइहाली । सुम्निमा विचरी त्यो पानी पिएको महिना दिनपछि नै थला परी । यस बिमारीले एउटा अनौठो कुरा हुनगयो । सुम्निमा के कारणले बिरामी भैछ भनेर चुइयाँ, बगेरो, लाटोकोसेराहरूले जोखाना हेर्दा कर्कलाको पातको पानी खास पानी नभर्इ पारुहाङले टुना गरी छोडेको एक प्रकारको ओखती पो रहेछ र यसैको प्रभावले गर्दा पो विचरी बिरामी भएकी रहिछ भन्ने पत्ता लाग्यो । अब के गरे सन्चो हुन्छ ? भनेर सोच्दा सुम्निमाका साथीहरूले भने "स्वयं पारुहाङलार्इ झीकाएर उसैले
औषधिउपचार गरेमात्र सन्चो हुन सक्तछ ।" साथीहरूको सल्लाहअनुसार विचरी सुम्निमालार्इ फेरि एकपल्ट हावालार्इ बोलाएर पारुहाङलार्इ झीकाउन करै लाग्यो । सुम्निमाको सौन्दर्यले आकर्षित तथा उसको व्यवहारले अपमानित पारुहाङ पनि यही दाउ पर्खेर बसेको थियो । हावाव्दारा समाचार पाउनासाथ उ पृथ्वीमा ओर्लिहाल्यो । साथै उसले जडी-बुटीको उपचारव्दारा सुम्निमालार्इ निको पनि पारिदियो । गुन लाएकाले सुम्निमाले पारुहाङलार्इ आफ्नू पति मानी । सुम्निमाले एकैचोटी पाँचवटा छोराछोरी जन्मार्इ । बच्चाहरू पनि अनौठै भए ( जेठो बाघ, माहिलो मानिस (हेन्कम्बु), साहिंलो भालु, काहिंलो चितुवा र कान्छो कुकुर । आकाशनिवासी पारुहाङ आकाशमै फर्किसकेको थियो, सुम्निमा पनि अब एक्लै थिइन । उ आफ्ना पाँच भाइ छोराहरूका साथ आनन्दपूर्वक बसी ।

बूढा सुब्बा - लोक कथा

शिव कुमार श्रेष्ठ
बूढा सुब्बा ठूलो सिकारी थए र उनले हाने ती जहिले पनि ताकेको ठीक ठाउँमा लाग्दथ्यो । गौरी भन्ने उनकी बहिनी थिइन् र उनी सधै सिकारमा बूढा सुब्बा सँग हिड्थीन् । एकपल्ट वराहक्षेत्रको कोकामा बूढा सुब्बाले एउटा मृगलार्इ देखे र त्यसलार्इ लख्‍ट्‍दै गए । वहिनी गौरी पनि बूढा सुब्बाको पछिपछि लागिन् । अन्तमा बूढा सुब्बाले विजयपुर, (धरान, सुनसरी) मा आइपुग्दा नजिकबाट त्यो मृगलार्इ तीरले हाने तर मृगलार्इ त्यो तीर लागेन । यसरी आफुले हानको तीर मृगलार्इ नलागेको देखेर आश्चर्य माने । उनले ध्यानदृष्टिले विचार गर्दा के थाहा पाए भने त्यस बेला कलियुग सुरु भइसकेको हुनाले मृगलार्इ तीरले नलागेको रहेछ । त्यस बेला बूढा सुब्बाले हानेको तीर मृगलार्इ नलागेर बूढा सुब्बाले आफू पृथ्वीबाट अल्पिने विचार गरे र विजयपुरमा नै आफ्ना मटेङ्‍ग्रा र गुलेली राखेर उनी अल्पिए । बहिनी गौरी पनि दाजुलार्इ पछ्‍याउँदै आउँदै थिइन् र विजयपुरमा उनले बूढा सुब्बालार्इ कहीं पनि देखिनन् तर एक ठाउँमा उनले बूढा सुब्बाको मटेङग्रा र गुलेली देखिन् । उनले ध्यान दृष्टिले विचार गर्दा के थाहा पाइन् भने त्यहाँ नै बूढा सुब्बा अल्पिएका रहेछन् । त्यसपछि उनी पनि त्यहाँ नै अल्पिइन् । यसरी गौरी अल्पिएको ठाउँ आजसम्म पनि विजयपुरमा बूढा सुब्बाको नजिक छँदैछ

' सार ' गीति एल्बमको बारेमा


अशोक राई

तिमीलाई संझी रात बित्यो आसै आसमा अल्झीएर
झनै दुख्यो छाती मेरो चोट त्यसै बल्झीएर

सगैं हास्ने मन थियो बिवसताले टाढी गयो
हात मेरो समाएर फेरी कीन छाडी गयौ
तिमीलाई पर्खी दिन बित्यो यादै यादमा कल्पीएर
झनै दुख्यो छाती मेरो आसै आसमा अल्झीएर

कबि तथा गीतकार टंक संम्बाहाम्फेको रचना र सुमधुर स्वरका धनी गायक कृष्ण भक्त राईको स्वरमा दशवटा गीतहरुको संगालो 'सार' लाई सुन्ने मौका पाएँ । एउटा गीतमा बरिष्ठ संगीतकार दिनेस सुब्बाले संगीत दिनु भएको छ भने बाँकी गीतहरुमा गायक स्वयमको संगीत रहेको छ । शब्दहरुले प्रेमको मीठास बोकेका छन् भने छातीभित्रका दर्दहरु पनि पोखेका छन् । गीतमा दुख र बियोगका शब्दहरुले नै मीठास दिने गर्दछ । सम्बाहाम्फेका गीतहरु पनि प्राय प्रेम बियोगमा आधारित छन् । मेलोडीका हिसाबले सबै गीतहरु सुमधुर छन् । टंक सम्बाहाम्फेको यो दोश्रो गीति सौगात हो । वहाँले यस अघि नै 'मनोभाव' गिती एलबम रेकर्ड गराइसक्नु भएको छ ।

ब्यर्थै किन चढाएछु देउरालीमा फूल
माया गरि तिमीसँग गरेँ एउटा भूल

खासगरि साहित्यकारहरुका बीचमा कवि भनेर चिनिनु हुने संम्बाहाम्फे राम्रा गीतकार पनि हुन् भन्ने कुराको प्रमाण यो पछिल्लो गिती सौगातले दिएको छ । "गीत लेख्नु आफैमा गीतकार हुनु हैन जब त्यसलाई स्वर र संगीत जस्ता अन्य दुइ महत्वपूर्ण सृजनाले सजाईन्छ तब मात्र त्यो खास गीत बन्छ र एउटा गीतकार पूर्ण गीतकार हुन्छ अन्यथा गीतहरु केवल डायरीका पानामा चेप्टीएका चेप्टीएकै हुन्छ ।" भन्नुहुने मीठा गीतका गीतकार संम्बाहाम्फे सृजनामा लाग्ने कुरालाई एउटा बेग्लै नशा भन्न रुचाउनु हुन्छ ।
गीतहरु स्थापित गायक र स्थापित गीतकारकै सुन्नु पर्छ भन्ने मान्यताले गर्दा धेरै र्सजकहरुको मन दुख्ने गर्छ । त्यसकालागि सर्जक लाई पर्ने आर्थिक भारले पनि निकै पीडित बनाउँछ । एउटा र्सजकले आफ्नो सृजना बेचेर सायदै ब्यबसाय गर्ने सोच बनाउँला । उस्को लागि त आफ्ना सृजनाहरु ज्यादा भन्दा ज्यादा श्रोता या पाठककहाँ पुगुन भन्ने कुरा नै ठूलो हो ।
आफ्ना मीठा शब्दहरुलाई सुगम संगीतका माध्यमबाट श्रोताहरुमा पुर्याउने जमर्को एउटा महत्वपूर्ण कार्य हुदै हो भने वहाँले नेत्रहीन तर बहु प्रतिभाशाली र सुमधुर स्वरका धनी गायक कृष्णभक्त राईलाई श्रोताहरुबीच ल्याउनेकाम अझ महान कार्य हो । वहाँको गीत सृजना शक्ती अझ बढेर जावोस् । म अन्तमा 'सार' गिती एलबमको सफलताको हार्दिक सुभेच्छा प्रकट गर्दछु ।

डाडामाथि बादलुले घामै छेक्यो की
सताइरहन्छ संझनाले माया बस्यो की