Mar 21, 2012

याक्थुङ साम्लो प्रथम कार्यक्रमवारे

दिल पालुङवा लिम्वु “नेपाल कुश्शा”
२५फेव्रुअरी २०१२ मा हङकङमा पहिलो पटक याक्थुङ भाषामामात्र सञ्चालित तथा प्रस्तुती भएको कार्यक्रम याक्थुङ साम्लो प्रथम सम्पन्न भएको थियो । यो कार्यक्रम वास्तवमा हतारहतार रुपमा भएको थियो । विषेश गरेर नेपालवाट भिजिटको लागि जनवरी अन्तिमतिर याक्थुङ गायक धनवीर सांवा आउनुभएको थियो । उहा आएको अवसरमा यो कार्यक्रम गरिएको थियो । उहा आउनुनै कार्यक्रम वन्नु होईन । पहिले देखिनै साईवरपोर्ट टनलमा काम गर्ने हङकङका याक्थुङ कलाकार टिका माखिमले मलाई वारम्वार हङकङमा याक्थुङमय कार्यक्रम गरौं । तपाईहरुको संस्थाले गर्नुहोस । तपाईहरुको संस्थाले गराउनुहोस, चुम्लुङको कार्यक्रम पनि कहिल्यै याक्थुङमय भएन भन्नुहुन्थ्यो । यसपालीको चुम्लुङको स्वर्णिमसांझ २ पनि सोचेजस्तो भएन ।
टनलभित्र कामदार ओसारपसार गर्ने म्यानकार हुन्छ । त्यसमा आईरहेको वेला कमानधोज लावतीलाई कार्यक्रममा आईदिन भने । छेउमै वसेको टिकाजीले हाक्पारेमा साथ दिदा पनि भयोनी कमानधोजले भन्नुभयो । मलाई आश्चर्य लाग्यो र सोधे, होईन † तपाईलाई पनि हाक्पारे आउछ । टिकाले थपिहाले यो दुलो (टनल)भरी उहाको हाक्पारे र पालाम गुन्जिरहन्छ भन्नुभयो । टनल गुन्जाउने र नाच्न सिकिरहने टिका माखिमको वानी त थाहा थियो । अन्यथा नहोला – उहाको उपनाम त गीताङगेनै भन्छन् टनलमा । तर कमानधोजवारे संगसंगै काम नपरेर थाहा थिएन । हाक्पारे पालाममा अर्जुन पाहिमले तेह्रथुमको कार्यक्रम २६ तारिक भएकोमा नभ्याउने जानकारी गराएकोमा हामीलाई हाक्पारे पालाममा असलीको जोडी नभएकोमा चिन्ता थियो । सोही समस्यालाई विचार गरी कमानधोजलाई हाक्पारे पालाममा कलाकारको भुमिका निभाई दिन आग्रह गरे । उहा स्टेजमा कहिले पनि नगएकोले पहिले हिच्किचाउनु भयो । तर उहालाई टिकाजी र मैले ढाडस दिदै तपाइ सक्नुहुन्छ नडराउनुहोस भनेपछि उहा तयारी हुनुभो । त्यसपछि कलाकारको लिस्टमा उहा पनि पर्नुभो । त्यस्तै स्टेज सानो भएकोले धाननाचको लागि धाननाचमा माहिर काजीमान मास्वा र धाननाचकी मोडल सावित्रा ईङनमालाई भन्यौ । असली, सावित्रा तथा कमानधोज, काजीमानको जोडी धान नाचमा तय गरियो । कलाकारहरु सवै सक्षम थिए । त्यसैले रिहर्सलको त्यती जरुरत परेन । नाचगानको लागि धेरै टिम नभएकोले असली वहिनीको छोरा आयुसलाई धनवीरजी र स्वयं असली वहिनीले कम्पोज गराएर धनवीरजीको र्याप स्टायलको गीतमा पर्फेट वनाए ।नेपालवाट आएका कलाकारहरुले केही वाहेक सवैले नेपाली गीतनै गाए । पहिलो स्वर्णिमसांझ सन् २००५ को जस्तो प्रभाव पार्न सकेन । ललित आङवोहाङ पनि भन्दैहुनुहुन्थ्यो पहिलो जस्तो भएन । त्यस्तै टिका माखिम भन्नुहुन्थ्यो चासोक तङनाममा पनि नेपाली हिन्दी गीतहरुको हावी हुन्छ । हामीले हङकङमा वर्षमा एक दिन पनि याक्थुङमय कार्यक्रम गर्न सकेनौं । चुम्लुङले गरेको जति त ताप्लेजुङ, पानथर तेह्रथुम समाजले गर्दैछ । मैले गमे, हो, चुम्लुङ जतिको त यी संस्थाहरुले गर्दैछन् । तर मानिसहरुको चाहना लिम्वुमय कार्यक्रममा माग गर्दै नेपाली हिन्दी गीतमा नाच्नेहरु पनि हुन्छन । के उनीहरुलाई विचार नगर्ने त ? प्रतिप्रश्न गर्दा माखिमले भने सवैलाई जानकारी गराउदै आजको एक दिन चाही लिम्वुमय कार्यक्रम गरिने भनेर सवैलाई जानकारी गराउने । त्यसरी जानकारी गराईसकेपछि आउनेहरु त्यही सोचमा आउछन् । हाम्रो कार्यक्रमा एकजना ग्रैह्र लिम्वु आएर हामीलाई नेपाली हिन्दी ईङलीश गीत चाहियो भने उसकै कुरा मानेर १०० मा ९९ जनालाई विर्सेर उक्त काम हुने गर्छ । मलाई माखिमको तर्क सही लाग्यो । ठिकै छ, नेपालका याक्थुङ कलाकार धनवीर सावा हङकङ भिजिटमा आउदैहुनुहुन्छ । उहासंग सल्लाह गरेर मान्नुभो भने प्रयोगको रुपमा भएपनि कार्यक्रम गरौं । यही कुरा फस्र्याईलो स्वभावका वरधोज ओख्रावुलाई पनि भनियो –उहा हाम्रै टनलमा लोगो कुदाउने गर्नुहुन्थ्यो । उहाले पनि गरौं न त भन्नुभो । स्वीकृती आयो । सवैवाट याक्थुङ साम्लोको संरक्षण सम्वद्र्धन र विकासमा यस्ता याकथुङमय कार्यक्रम गर्नैपर्छ भन्दै कार्यक्रम जसरी भएपनि गर्ने सल्लाह भयो । नभन्दै धनवीरजी जनवरी २०१२ अन्त्यतिर आउनुभयो । उहा लिरामोको उपाध्यक्ष पनि भएकोले उहाको आगमनमा वैठक वसियो । वैठकमा याक्थुङमय कार्यक्रमको प्रस्ताव प्रस्तुत गरिएपछि याक्थुङ साम्लो गर्ने निर्णय गरियो । कार्यक्रम लिरामो सांस्कृतिक विभाग र याक्थुङ साक्थिमिवा सयङलाई गर्न जिम्मेवार दिईयो । यसको संयोजक डि.वी पालुङवालाई राखियो । लिरामोमा आवद्ध नभएका याक्थुङ कलाकारहरुको समुह याक्थुङ साक्थिमिवा सयङमा रहेका थिए । कार्यक्रममा उठेको रकम जेजती भएपनि नेपालवाट आएका कलाकार धनवीरजीलाई दिने निर्णय गरियो । घाटा भएमा लिरामोले जिम्मेवारी लिने निर्णय गरी अघि वढीएको थियो । जनवरी १८ तारिकमा गर्ने निर्णय वमोजिम याक एण्ड यतिमा गर्ने निर्णय गरिएतापनि हल नपाएर २५ तारिक गर्ने निर्णय गर्दै हल खोजियो । ईण्डिया क्लव, पाकिस्तानी क्लव पनि पाईएन । अन्त्यमा भर्खरै खोलिएको दोहोरी सांझ भनेर युनिभर्सल साईवर वाहिर टांसिएको पोस्टरको याद आएर त्यही पोस्टर पून गई हेरेर त्यहाको फोन हेरी सम्पर्क गर्दा नाथान रोडको पल्लो पट्टि रहेछ । यसो गएर हेरेको १०० जना जति अट्न सक्ने पाईएकोले त्यही कार्यक्रम गर्ने निर्णय गरियो । टिकट पोस्टर केही तयारी थिएन । किनकी हल पनि नपाईएको र धनवीर जीको भिषा पनि थप्नुपर्ने थियो । ईमिग्रेशनले भिषा दिदैनकी भन्ने आशंका उतिकै थियो । किनकी अहिले भिषा त्यती दिईरहेको छैन । अनी भिषाको प्रवन्ध मिलाएपछिमात्र टिकट पोस्टर वनाई अघि वढियो । यसको लागि चुम्लुङ अध्यक्ष कृष्ण लावतीले सहयोग गर्नुभयो । करिव २ हप्ताको समयमा साथीभाई सवैलाई सम्पर्क गरी हातहातमा टिकट पुरयाई कसैलाई त्यही आउने निमन्त्रणा गरियो । टिकट विक्री तथा सम्पर्कमा असली वनेम र स्वयं धनवीरजीले व्यापक पहल गर्नुभएको थियो । सम्पर्क गर्न सकेको जति सवैले राम्रो रेस्पोन्स गरेका थिए । १८ तारिकमा कार्यक्रम गर्ने निर्णयमा स्थानीय कलाकारहरुमा राजु आङदेम्वे, साक्थिम योङया(भूपेन), असली वनेम, टिका माखिम तय गरिएका थिए । उद्घोषणमा वरधोज ओख्रावु र गीता पालुङवालाई जिम्मेवारी दिईएको थियो ।
यसरी तयारी गरेपछि कार्यक्रम उद्घाटन याक्थुङ वरिष्ठ गायक भगत सुव्वा र अर्का नेपाली संगीतकार दिनेस सुव्वाको वाहुलीवाट गरेर ऐतिहासिक वनाउने सोच रह्यो । तर समयभावको कारण भगत सुव्वा उपस्थित हुननसक्ने जानकारी आयो । कार्यक्रममा चुम्लुङ अध्यक्षलाई प्रमुख अथिती वनाइएको थियो । त्यस्तै अन्य अथितीहरुमा दिनेस सुव्वा, लिरामोको अध्यक्ष दिल पालुङवा, महासचिव अविचन्द्र ईङनाम थिए । कार्यक्रम उद्घाटनमा प्रमुख अतिथीको लिम्वुवान सम्वन्धीत आफ्नै कार्यक्रम र दिनेस सुव्वाको पनि अर्को कार्यक्रममा जानुपर्ने हुदां केही ढिलो भएकोले लिरामो अध्यक्ष दिल पालुङवा लिम्वुले व्यानर उद्घाटन र अविचन्द्र ईङनाम र जनजाति पत्रकार महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले दियो प्रज्वलन गरेर उद्घाटन गरेका थिए । साथै स्वागत मन्तव्य अविचन्द्र ईङनामले गरेका थिए ।
सांस्कृतिक कार्यक्रमलाई गीता पालुङवा “ईक्शा” र वरधोज (यात्रा)ले वेजोड ढंगले लिम्वु भाषामा सञ्चालन गरेका थिए । उनीहरुको ख्याली गर्दै गर्ने प्रस्तुतीले कार्यक्रमलाई व्यापक रौनकता प्रदान गरेको थियो ।
कार्यक्रमको शुरुवात यालाङवाट भएको थियो । यालाङको प्रस्तुती अति विशिष्टको रहयो । यसका कलाकारहरु असली वनेम, सावित्रा ईङनाम र काजीमान मास्वा , कमानधोज लावती थिए । टिका माखिम, राज कुमार आङदेम्वे, साक्थिम योङया (भूपेन) ले लिम्वुभाषाको गीत प्रस्तुत जमेरै गरेका थिए । एक मात्र नृत्य आयुश लिम्वुले आकर्षण ढंगमा प्रस्तुत गरेका थिए ।
कार्यक्रमको वीचमा हाक्पारे प्रस्तुत गरिएको थियो । हाक्पारेलाई याक्थुङ लाजेकोझैं जिवन्त वनाउन राडी विछ्याउने काम, तोङवा र अचार राख्ने काम प्रस्तुतीको समयमा गरिएको थियो । यसमा असली वनेम, नाम्लिङ ओख्रावु, रुवी लिम्वु र कमानधोज लावती, टिका माखिम थिए । हाक्पारेको प्रस्तुती साह्रै वेजोड रहेको थियो । कमानधोज र असलीको स्वरहरुले हललाई गुञ्जायमन वनाएको थियो । सवैवाट ओरिलोको आवाज आएकोले वातावरण रोमाञ्चक भएको थियो ।
धनवीर सावांले आधा दर्जन जती गीत गाएर सवैलाई मन्त्रमुग्ध वनाएका थिए । कतिपय नाच्न मिल्ने गीतहरुमा दर्शकहरु रमाउदै नाचेका पनि थिए । उनी आधुनिक याक्थुङ गीतका हस्ती रहेछन् । उनले याक्थुङ भाषामा पप, र्यापहरुको पनि प्रवेश गराएका रहेछन् । अव यस्ता गीतहरुमा नाच्न तथा रमाउन चाहनेहरुलाई लिम्वुगीतले पनि परिपूर्ती गर्ने कुरालाई नकार्न मिल्दैन । असली वनेम र धनवीर सावाले युगल गीत गाएर पनि दर्शकलाई नचाएका थिए । डिजेको भूमिका सुरेस पालुङवाले गरेका थिए । पर्फेट डिजे भएकोले साउण्ड सिस्टम सम्वन्धी समस्या देखा नपरेकोले सुनमा सुगन्ध भएजस्तो भयो ।
हल दर्शकहरुले खचाखच भरिएको थियो । अधिकांशले लिम्वु पहिरन दौरा सुरुवाल टोपी गाम्चा लगाएका थिए । महिलाहरुले गुन्यु चोली, शिरवन्दी लगायत गरगहना लगाएका थिए ।
कार्यक्रमको अन्त्यमा लिरामोको तर्फवाट सवै कलाकारहरु तथा डिजेलाई आआफ्नो प्रस्तुती विद्याको आधारमा प्रशंसापत्र प्रदान गरिएको थियो । प्रशंसा पत्र लिरामो अध्यक्ष दिल पालुङवा लिम्वु, महासचिव अविचन्द्र ईङनाम, जनजाती पत्रकार महासंघ अध्यक्ष भुपेन्द्र चेम्जोङको वाहुलीवाट प्रदान गरिएको थियो । उद्घाटन कार्यक्रम र प्रशंसा पत्र वितरण कार्यक्रम लिरामो केन्द्रीय कमीटी सदस्य र सोही कार्यक्रमको संयोजक डि.वी पालुङवाले गरेका थिए । उनको प्रस्तुती पनि सानदार रुपमा रहेको थियो ।
उपस्थित मध्येवाट कार्यक्रमको समिक्षा गर्दै माओवादी हङकङ कमीटी सचिव तथा न्यू होराईजनका कन्सल्टयाण्ट अधिवक्ता जे.वी. ओख्रावुले कार्यक्रम अति राम्रो, शतप्रतिशत सफल वताए । हङकङ एमालेका अध्यक्ष्ँ ओमराज सम्वाहाम्फेले पनि यो कार्यक्रमको खुलेरै प्रशंसा गरे । लिम्वुवान व्लकका टंक सम्वाहाम्फेले कार्यक्रम सटिक र सान्दर्भिक भएको विचार व्यक्त गरे । कार्यक्रम सोचेभन्दा राम्रो र नाम अनुसारकै याक्थुङमय भएको टिप्पणी गरे । जनजाती पत्रकार महासंघ अध्यक्ष भुपेृन्द्र चेम्जोङले कार्यक्रममा कुनै खोट नरहेको वताए । शुरुवातदेखि अन्त्यसम्म सवै राम्रो रहेको वताए । भयवादका प्रवर्तक देश सुव्वाले फोन गरेर वधाई दिदैं यो कार्यक्रमले लिम्वुवानको पहिचान र आन्दोलनलाई प्रभाव पार्ने वताए । यस्ता कार्यक्रमहरुलेनै याक्थुङवा हुनुको गर्व र आदिवासी भूमिपुत्रको पहिचान राख्दछ । कलाकार धनवीर सावाले शुरुमा हङकङ जस्तो ठाउमा कार्यक्रम सफल नहोला भन्ने लागेको थियो । तर ऐतिहासिक रुपमा सफल भएकोमा अति खुसी भएको कुरा व्यक्त गरे । अव नेपालमा पनि याक्थुङमय कार्यक्रम गर्ने आंट आएको वताए । अधिकांश सहभागीहरुले हाक्पारेको वेजोड प्रस्तुतीको खुलेरै प्रशंसा गरे । हाक्पारे विद्यामा असली वनेम र कामानधोजलाई लिरामोले सम्मान गरेकोमा वधाईको ओईरो पनि लाग्यो । टिका माखिम पनि आफ्नो चाहाना वमोजिमको कार्यक्रम याक्थुङमय रुपमा सफल भएकोमा प्रफुल्लित भए । उनले ढाडस दिदै याक्थुङमय कार्यक्रम गर्न सकिदोरहेछ भनेर आगामी दिनमा ठुलै हलमा गर्ने विचार व्यक्त गरे । सवै कलाकार तथा उद्घोषकहरुले पनि कार्यक्रम सन्तोषजनक रुपमा सम्पन्न भएको विचार व्यक्त गरे । आगामी दिनहरुमा सवै भएर कार्यक्रम गर्नुपर्ने ईच्छा व्यक्त गरे ।
यसरी कार्यक्रम हतार हतारमा गरिएको थियो । दर्शकहरु खचाखच भरिएको तथा प्रस्तुतीमा वेजोडपन आएकोले सवैवाट प्रशंसा पाईएको थियो । कसैले पनि कार्यक्रमको नेगेटिभ कुरा गरेको पाईएन । जे जसरी कार्यक्रम गरियो सही र सान्दर्भिक भएकोमा लिरामो पनि दंग परेको छ । हङकङमा एउटा ऐतिहासिक कार्यक्रम गर्न पाईएकोमा खुसी ल्ाँग्नु पनि सान्दर्भिकनै हो । सरोकारवालाहरुले यस्तै कार्यक्रमहरु दिदै गएमा याक्थुङ भाषा संस्कार संस्कृतिको विकास अवश्य हुने कुरालाई नकार्न मिल्दैन । सेवारो ।

Mar 16, 2012

चित्रबहादुरका विचित्र रुपहरु

छविसुब्बा सङ्बाङ्फे, लिलिमहाङ
संविधानसभाको म्याद जति सकिंदै जान्छ त्यति चित्रबहादुर के. सी.का हर्कतहरू बढ्दै जान्छ । उनका प्राय: सबै हर्कतका परिक्षणहरू अरुठाउँ नभएर लिम्बुवानमै हुने गर्दछ जहाँ उनको संगठन र कार्यकर्ताहरू छैनन् । उनको राजनीतिक प्रीष्ठभूमि पनि पूर्वमा होईन भोलिको भविष्य पनि यता होईन तर किन उपद्रोचाहि लिम्बुवानको प्रीष्ठभूमिमै गर्नुपर्ने? जतिबेला चित्रबहादुरले उपद्रो मच्चाउदै जान्छ त्यतिबेला संघीयता बिरोधी हिन्दुवादी कम्युनिष्ट मोदनाथ प्रस्रित संघीयताले देश विखण्डन हुन्छ भनि लेख छाप्ने गर्दछन । कांग्रेस र एमाले धार्मिक, सांस्क्रितिक र चारित्रिकरुपले संघीयता बिरोधी पार्टी भएता पनि अहिलेको राजनीतिक माहौल ऊनीहरूले भनेजस्तो नभएकोले ठूलो साहसकासाथ धैर्यधारण गरेर संघीयताको पक्षमा ओंठेभक्ति देखाइरहेका छन् । यी पार्टीका ठूला बाहुन नेताहरू संघीयताको पक्षमा किञ्चित नभएता पनि त्यहाँ भएका आदिवासी, जनजाति, मूलवासी, दलित र मधेसी मूलका नेता तथा कार्यकर्ताहरू संघीताको पक्षमा भएकाले गर्दा ती संघीयता चाहनेहरूलाई अडाइराख्न अहिलेनै संघीयताको बिरुद्दमा गैहाल्नु उचित समय नभएकोले धेरै मुस्किलले जवर्जस्त आत्मकुण्ठित भएर बसिरहेका छन् । कुनैबेला अनुकुल समय आएको खण्डमा सायद यी दुई परम्परागतरुपमा प्रतिगमनकारी चरित्र बोकेका पार्टीहरू संघीयता र गणतन्त्रको बिरुद्दमा एकैसाथ खुलेरै आउनेछन । संघीयता बिरोधी महौल निर्माण गर्नका लागि तत्काल उनीहरुलाई ज्यालादारी खेतलाको आवश्यक परिरहेको छ, त्यसको लागि उपयोगी पार्टी र मानिस जरुरी भएको हुनाले त्यसको आपूर्ति राष्ट्रिय जनमोर्चा र ज्यूछाडा गतिछाडा भाइमारा चित्रबहादुर के. सी.बाट गरिरहेका छन् । चित्रबहादुरको पार्स्वभूमि लिम्बुवान होईन प्यूठान हो तर किन उनको ध्यान "लिम्बुवान" छ? यसको तात्पर्य सोझै अनुमान गर्न सकिन्छ की उनी जडसुत्रवादी मान्यताको राजनीतिबाट माथिउठ्न नसकेको हुनाले अब उनको कार्यसैली ठूला प्रतिगमनकारी एकात्मकवादी पार्टीहरूको ज्यालामा कामगर्दै आफ्नो राजनीतिक जीवननिर्वाह गर्ने विवसतामा जेलिनु पुगेका छन् । संघीयताको राजनैतिक प्रणालीबाट आफ्नो पहिचानसहितको अधिकार स्रीजना गर्न आन्दोलनरत लिम्बुवानका विभिन्न राजनैतिक संगठन जनताहरू आन्दोलित भैरहेको क्षेत्रमा बाहुनहरूले नै उनलाई संघीयता विरोधी शंख फुक्न लगाइरहेका छन् भन्ने कुरा सोझै अनुमान लगाउन सकिन्छ । यस्तैगरी कांग्रेसका वरिष्ठ नेता क्षेत्रीको बच्चो शेरबहादुर देउवा पनि संघीयता विरोधी शंख बजाउन थाल्दै छन् । अब यी हिन्दुअतिवादी बाहुनहरू बिस्तारै क्रमश: राजतन्त्रको धून पनि बजाउन थाल्ने छन् । नेपालको अब हुँदैजाने बिकसित राजनीतिक परिवेशमा यस्ताखालका द्रीष्यहरू देखापर्दै जानेछन । संक्रमणकालीन नेपाली राजनीतिक दुनियामा सानादेखि ठूला नेताहरूलाई संघीयताको विरुद्द ज्यालादारीमा कामगर्ने प्रशस्त अफर आउनेछ । एकात्मकवादी, प्रतिगमनकारी, पुनरउत्थानवादी, हिन्दुअतिवादी बाहुनवादीहरूले संघीयता विरुद्द उपद्रो मच्चाउने काम गर्नका लागि मोटो र आकर्षक ज्यला दिएर सकेसम्म संघीय पक्षधर पार्टी र त्यसका नेता कार्यकर्ताहरूलाई अफर गर्नेछन । यो मामिलामा लिम्बुवान त झन अमेरीका/यूरोप जतिकै आकर्षक रोजगारीको औध्योगिक क्षेत्र बन्नसक्ने छ । त्यसबेला लिम्बुवान स्वायत्तता स्थापनाका लागि आन्दोलनरत कतिपय राजनैतिक संगठन र त्यसका नेता कार्यकर्ताहरू पनि प्रतिगमनकारीहरूको ज्याला लिएर संघीयता र लिम्बुवान स्वायत्तता तुहाउने खेलमा लाग्ने श्रव्य द्रीष्यहरू प्रशस्तै देख्न पाइने छ । अहिलेसम्म त प्यूठाने चित्रबहादुर डढेलधुरे शेरबहादुरमात्र संघीयता विरोधी कर्ताकोरुपमा देखिंदै छन भने त्यसबेला हामीले नै चिनेजानेका, हाम्रै छिमेकी र दाजुभाई चित्रबहदुर र शेरबहादुरहरू प्रशस्त पैदा हुनेछन त्यसबेलाको गम्भीर र जटील परिस्थितिलाइ मध्यनजरगर्दै सम्पूर्ण लिम्बुवान स्वायत्तता पक्षधर राजनीतिक पार्टी/संगठनहरू र लिम्बुवान चाहने लिम्बुवानवासी जनताहरू एकजुटभई आन्तरिक तथा बाह्य प्रतिगमनकारी लिम्बुवान विरोधी तत्वहरूलाई परास्त गर्नसक्ने शक्ति निर्माण गर्नु पर्दछ । यो परिप्रेक्षमा लिम्बुवानको राजनीतिक गन्तव्य पहिचानगरि लिम्बुवानी एकतालाई प्राण बनाउनसक्ने दुरदर्शी र इमान्दार नेताको ठूलो परिक्षणको घडी आएकोछ जसले सबै प्रकारका चित्रबहादुरका रुपहरूलाई समाप्त गर्न सकोस । जय लिम्बुवान !
(लेखक संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका प्रवक्ता हुन)

Mar 12, 2012

यो संविधानसभाबाट आउने नेपालको भावी संविधान कस्तो होला ?

छविसुब्बा सङ्बाङ्फे
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो पार्टीको अन्तर्वस्तु खुलस्त पारे की नयाँ संविधान बन्ने छाँटकाँट नभएकोले गर्दा २०४७को संविधानलाई राजतन्त्रको स्थानमा गणतन्त्र, राष्ट्रपति, संघीयता लगायतका प्रावधान (धारा) राखेर व्यूँताएर लानुपर्छ भनि इमान्दारसाथ सार्वजनिक गरे । कम्तिमा क्षेत्रिको बच्चाले यतिसम्म कांग्रेसको भित्री कुरा ओकलेकोमा उनलाई हिम्मतिलो मान्नैपर्छ । कप्टी, झेलि, षड्यन्त्रकारी बाहुनहरू त भित्र एउटा कुरा गर्छन् बाहिर अर्को कुरा गरेर छलछाममै सबै माहौल आफ्नो कब्जामा राखिराख्ने प्रयत्न गर्दछन । कांग्रेसको जस्तै एमालेको पनि भित्री कुरा त्यहि हो की ४७ सालकै संविधान व्यूँताएर हुनलागेको राज्यसंरचना तुहाउने । अब एमालेको त्यो कुरा ओकल्न पनि बाहुन अघिसर्ने छैनन् । उनीहरूले यात क्षेत्रि यात पार्टीमा भएका कुनै आदिवासी जनजातिको छोरालाई निर्देश गरेर त्यो कुरा बाहिर ल्याउने छन् । त्यसपछि बल्ल पालो आउँछ एनेकपा माओवादीको र उसले प्रयोग गर्ने मान्छे पनि सकेसम्म आदिवासी जनजातिनै हुनेछ यात दुई ठूला पार्टीबाट स्थिति सहज भैसकेको अवस्थामा प्रचण्ड आफैले नै हिम्मत गर्न सक्नेछन । नेपालमा अब देखापर्ने ठूला बाहुनवादी पार्टीहरूको अग्रगमनकारी राजनैतिक गति यसरी नै अगाडी बढ्ने कुरा पक्का भैसकेको छ । सत्ताधारी पार्टीका ठूला दलहरू चाँडै नै रा. प्र. पा. नेपालको मार्गचित्रमा समावेस भएर जाने दिन टाढा छैन् । त्यसकारण यी एमाले, कांग्रेस र माओवादी पार्टीका असली प्रवक्ता र राजनीतिक गुरु भनेका कमल थापा नै हुन भन्दा कुनै फरक पर्ने छैन् । चारवर्षको अवधिमा पनि नेपालको नयाँ संविधान जारी हुन नसक्नुको रहस्य के हो भने नेपालमा कहिल्यै पनि राजनैतिक, आर्थिक, धार्मिक, भाषिक, सांस्क्रितिक, लैंगिक लगायत जातीय वर्गीय अधिकारबाट वञ्चित रहेका समुदाय र हिन्दुकरणको प्रक्रियाद्वारा आफ्नो अधिकार खोसिएका वर्ग र समुदायहरूको अधिकार राज्य पुन:संरचना गरेर व्यबस्थापन गर्नुपर्ने सो गरेमा शासक बाहुनहरूको प्रतिनिधित्व र पहुँचमा ह्रास आउने, द्वूविधायुक्त मनोविज्ञानमा सत्ताधारी, प्रतिगमनकारी, पुनरऊत्थानवादी, प्रतिक्रियावादी लगायतका बाहुन नेत्रित्वका पार्टी र सामन्ती निरंकुश राजतन्त्रवादी शक्तिहरू उल्झिएको हुँदा उनीहरू आधुनिक राजनीतिक विज्ञानसम्मत लोकतान्त्रिक र प्रगतिशील नयाँ संविधान जारी गरेर यो मुलुकमा दिगोशान्ति र स्थायित्व कायम गराउन चाहँदैनन । अब यी तत्वहरूले संविधानसभालाई आफू र आफ्ना पार्टी कार्यकर्ताहरूको रोजगारी अभिव्रिद्दी गर्ने संस्थाकोरुपमा उपयोग गरेर यसको औचित्य समाप्त गर्नेछन । उनीहरूले अनुमान गरिसकेका छन् की संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ व्यबस्थामा हिन्दुअतिवादीहरूको वर्चश्व स्वत: घट्नेछ । किनभने विगतको संविधानसभाको चुनावमा मधेसी माहौल र नाराले एमाले, कांग्रेस र माओवादी पार्टी कोशी पश्चीमका सबै निर्वाचन क्षेत्रबाट बढारिएकाले भोलिहुने आम निर्वाचनमा पाहाडिया आदिवासी/मूलवासीहरूको सहानुभूति प्राप्त गर्न नसकेमा सबै राजनैतिक संयन्त्रमा उनीहरूको प्रतिनिधित्व र पहुँचमा स्वत: ह्रास आउनेछ जसको कारणले संविधानसभाको चुनावमा जसरी एमाले र कांग्रेसका ठूला भनाउँदा नेताहरू हारेका थिए त्यसरिनै भोलिको आम चुनावमा माओवादीका पनि ठूला नेताहरूले पराजय भोग्नुपर्ने सुनिश्चित छ । यिनै राजनीतिक विष्लेषणकासाथ चतुर खेलाडी बाहुनहरू एकैथलोमा जम्मा भएर नेपालका उत्पीडित जातिहरूको विरुद्दमा आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्नका लागि विकल्पकोरुपमा २०४७ सालको संविधान व्यूँताएर लाने निष्कर्षमा पुगेका हुन । नेपालको यो राजनीतिक परिवेशमा केही अन्तरराष्ट्रिय शक्तिराष्ट्रहरूले खेल्ने प्रशस्त मौका पाउनेछन । इराक र अफ्गानस्तानमा प्रयोग भएर फर्किएको पुराना अमेरिकी हतियारहरूले अबहुने नेपाली राजनीतिक द्वन्द्वको बजारमा भाउ पाउने अवस्था निर्माण हुनेछ । अधिकार पाउँदै नपाएका र वीचैमा अधिकार गुमाएर उत्पीडित बनेका नेपालका विभिन्न समुदायहरूको मोर्चा निर्माण भएर बाहुनवाद विरुद्दको ग्रिहयूद्दले मुलुक फेरी तहस नहस बन्नेछ । बाहुनवादी पार्टीमा रोजगार गर्नका लागि राजनीति गरिरहेका आदिवासी/जनजाति, मूलवासीहरू त्यसपछिमात्र आफ्नै समुदायले नेत्रित्व गरेको पार्टीमा प्रवेस गर्नेछन । यो लडाइले नेपालमा आमूल र यूगान्तकारी परिवर्तन ल्याउने छ र हिन्दुअतिवादी बाहुनवादका साथै निरंकुश राजतन्त्रको अवषेश समेत निमिट्यान्न हुनेगरी अन्त्य गर्नेछ ।
(लेखक संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका प्रवक्ता हुन्)

Feb 23, 2012

जातीय संघीयता विरुद्ध तीब्र विषवमन्

छवि सम्वाहाम्फे
हिजोआज ठूला पार्टी भनाउँदा बाहुनहरुको दैनिकीजस्तै भएको छ जातीय संघीयताको विरुद्धमा दिनमा एकपटक बोलेन भने उनीहरुलाई भातखाए जस्तै नहुने । आफ्नो ऐतिहासिक पृष्ठभूमि र पहिचानबाट संघीयता चाहने जाति र समुदायहरु बाहुनहरुको यो अत्यासलाग्दो वहकावदेखि तिनछक्क पर्दैगएका छन् । आखिर जातीय संघीयताको प्रस्ताव बाहुनको टाउकोमा किन यस्तो काउसो भएर पसेको होला? के जातीय संघीयताले बाहुनको पहिचान र भाषिक/साँस्कृतिक तथा धार्मिक सह-अस्तित्व नै समाप्त गर्छ? या राजनीतिमा उनीहरुको अभ्यास र पहुँचलाई निषेध गर्छ? के अब यूगौंदेखि उत्पीडनमा परेका जातजातिहरुलाईमात्र यो संघीयताले शासक बनाएर उत्पीडककोरुपमा दर्ज भएका बाहुनहरुलाई उत्पीडित बनाउने हो? कि के छ जातीय संघीयता बिरोधी बाहुनहरुको अन्तर्वस्तु? जातीय संघीयताले देश टुक्रन्छ भने त्यसको ज्वलन्त प्रमाण के छ? र नेपालका कुनचाहिं जाति देश टुत्र्mयाउने योजनाकासाथ संघीयताको दावी र माग गरिरहेको छ? जातीय संघीयताको मागमा देश टुत्र्mयाउने होकि आफु उत्पीडनबाट मुक्तहुने ईच्छा र आग्रह छ? के यसको हेक्का राखिएको छ? होईन भने कांग्रेस र एमाले लगायतका जातीय संघीयता बिरोधी भजनमण्डलीको औचित्य के हो? यदि जातीय संघीयता होईन भने किन राज्यको पुनःसंरचना गर्नुप¥यो? २०१९ सालमा राजा महेन्द्रले गरेको हालको नेपालकै संरचना ठीक हो भनेर किन भन्न नसकेका? बाहुनहरुको मनभित्र कुण्ठित रहेको चाहना वास्तवमा यही होईन? भूगोलकै आधारमा राज्य संरचना गर्नेभए त यो भन्दा वैज्ञानिक अरु के हुनसक्दछ? कुण्ठा, पीडा र उत्पीडनबाट नेपालका सबै जातजातिहरु मुक्त भएमा बाहुनहरुलाई के घाटा छ? के शाह र राणाहरुको जहानीया शासनको अन्त्यपश्चात शासन सत्तामा एकलौटी बाहुनतन्त्रीय हैकमवाद नै लोकतन्त्र हो? र उनीहरुको ईच्छामा आधारित राज्य संरचना नै राष्ट्रिय अखण्डताको विकल्प हो? नेपालको दक्षिण र पश्चिम सीमामा लाखौं हेक्टर जमीन भारतीयहरुबाट भैरहेको अतिक्रमणको बारेमा चुःसम्म बोल्न नसक्ने बाहुनहरुले आफ्नो ऐतिहासिक पूर्वशासकीय भूगोलमा स्वायत्तता माग गर्नेहरुले राज्य बिखण्डन गर्छन भनि आरोप लगाएर संघीयताको वर्खिलाप गर्दै हिंड्नु कुन राष्ट्रिय चिन्तन हो? बाहुनहरुले राष्ट्र प्रेम बोलिरहेका छन् कि बिदेशी प्रभुको ईच्छा ओकलिरहेका छन्?
यिनै सवाल र सन्दर्भहरु अहिलेको राजनीतिक माहौलमा चर्किरहेको अवस्था छ । अर्कोतिर जातीय संघीयतालाई कस्तो राजनीतिक अभ्यासबाट कार्यान्वयन गर्ने भन्ने मार्गचित्र तय भैनसकेकोले पनि हाल शासनसत्तामा रहेका बाहुनहरु आफ्नो राजनीतिक भविष्यबाट चिन्तित बन्दैगएका छन् । वास्तवमा जातीय संघीयता उत्पीडन अन्त्यको नाममा कुनै पनि जातिलाई कुनै जातिमाथि शासकीय हैकम लाद्ने नियतबाट तर्जुमा गरिने होईन । यसले आफ्नै ऐतिहासिक शासकीय भूगोलमाथि आफ्नो अधिकार गुमाएका जाति वा समुदायहरुलाई राजनीतिकरुपमा सशक्तिकरण गर्दै राजनीतिक मुलधारमा पहुँच र प्रतिनिधित्व गर्नसक्ने हैसियत विधि निर्माण गरी स्थापना गर्ने हो । यसो गर्नका लागि उपयोगि राजनीतिक प्रणाली वहुल राष्ट्रिय लोकतान्त्रिक संघीय समाजवाद नै हुनसक्दछ । यही प्रणालीलाई रटान दिएर शासनसत्तामा हालिमुहालि गरिरहेका बाहुनहरुले नेपालका उत्पीडित जातजातिहरुलाई सबैखालको उत्पीडनबाट मुक्त गर्नका लागि कस्तो खालको राजनीतिक मार्गचित्र बनाउनु पर्छ भन्ने सोच तयार गर्नुको सट्टा सरोकारवाला समुदायहरुले आफ्नो उत्पीडन अन्त्यका लागि जातीय संघीयता नै राज्य पुनःसंरचनाको उपयुक्त आधार हो भनि मार्गदर्शन गर्दा त्यसबाट देश विखण्डन हुने अनर्गल भय र किचोला सिर्जना गर्नु बाहुन लगायत कुनै पनि जातजातिका लागि हितानुकुल छैन । त्यसैले जातीय संघीयताको विपक्षमा बोल्ने बाहुनहरुले तत्काल आफ्नो धारणा परिवर्तन गरी उत्पीडित जनताले चाहेको राज्य पुनःसंरचना गर्ने बाटो अख्तियार गरेमा बाहुन लगायत सबैको राजनीतिक भविष्य सुनिश्चित हुनेछ नत्र केही भन्न सकिन्न ।
(लेखक संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका प्रवक्ता हुन्)

Feb 6, 2012

जातीय सङ्घीयताको विरुद्दमा ब्राह्मण समाजले आन्दोलन गर्ने?

छविसुब्बा सङ्बाङ्फे
नेपालको कुनै भूमिमा पनि आफ्नो इतिहास र पहिचान नखुलेका बाहुनहरू देशको सबै राजनीतिक तहमा सर्वशक्तिमान छन् । जतिबेला गोर्खामा द्रव्य शाहले मगरहरूको राज्यमाथि खुनी हमलागरी आफ्नो राज्य स्थापना गरे त्यतिबलैदेखि शाही राजदरवारमा बाहुनहरूको बलियो पकड बनिसकेको थियो । किनभने मगर राजा मानसिङ खड्कालाई परास्त गर्न चारजना बाहुनहरू गजानन भट्टराइ-१, गणेश पाण्डे-१, सर्वेश्वर खनाल-१, र धनन्जय अर्ज्याल-१ ले सड्यन्त्र गरेका थिए । ती बाहुनहरू त्यहि मगरात क्षत्रमा पहिलेदेखि बसोबास गर्दै आएका र मगर राजाहरूसँग नजिक रहि आफ्नो स्वार्थसिद्द गर्दै आएकाले त्यहाको सबै कुराहरु तिनिहरुलाइ राम्रैसँग थाहा थियो । लम्जुङ्मा नरहरी शाह र द्रव्य शाह दुई दाजुभाईले गुरुङको राज्य हत्याएपछि वर्णानुक्रमानुसार जेठोभाइ राजा हुने भएकोले नरहरी शाह राजा बनेपछि भाइ द्रव्य शाहले पनि अङ्स मागे । तर राजा नरहरी शाहले राजकुमार भई बस भनेपछि उनले चित्त बुझाउने कुरै भएन र राजा हुनको लागि चलखेल गर्न थालेको हुनाले दाजु नरहरीले लम्जुङ्बाट लखेटेका द्रव्य शाह गोर्खाको कुनै जङ्गलमा आएर गाई भैंसी पालेर बसेका थिए । तिनै गोठाले द्रव्य शाहलाई ती चारजना बाहुनहरूले सेना सङ्गठन गर्न सहयोग गरेर मगर राज्यमाथि हस्तक्षप गराएका हुन । राजतन्त्र रहिन्जेलसम्म तिनै बाहुनहरूको सन्तान दरसन्तान दरवारको विश्वासिलो सल्लाहकारकोरुपमा रहदै राजतन्त्र टिकाउन सड्यन्त्रमा सहभागि हुनेक्रम जारी थियो । राजतन्त्र अन्त्यपश्चात पनि तिनै गोर्खाका गजानन भट्टराइका सन्तान बाबुराम भट्टराई गणतान्त्रिक नेपालको प्रधानमन्त्री भएका छन् । राज्यसत्तामा रहेर राजकीय शक्तिको अभ्यास गर्ने बाहुनहरूको नीरन्तरता नेपालमा जस्तोसुकै राजनीतिक प्रणाली आएता पनि भङ्ग भएको छैन् र हुने सम्भावना पनि छैन् । त्यसकारण बाहुनलाई आफ्नो छुट्टै पहिचानको राज्यको जरुरी पर्दैन । उनीहरू सीमलिमा लागेको लहराजस्तै जरैविना पनि जताततै फैलिएर/झागिएर बस्नसक्ने विश्वकै सर्वस्रेस्ठ प्रजातिमा पर्दछन । आफ्नो इतिहास र पहिचानसहितको थातथलो किलो खुलेका विगतमा आफ्नो छुट्टै राजनितिक सह-अस्तित्व र विरासत भएका जातिहरू जो अहिले राजनैतिक्, आर्थिक्, सामाजिक, भासिक-सास्न्क्रितिक विभेद र उत्पीडनमा परेर अन्यायको सिकार भएका छन् तिनै जातिहरूलाई आफ्नो एतिहासिक प्रिस्ठभूमि र पहिचानको आधारमा स्वायात्त भूगोल चहिएको हो र त्यस्तो सम्रचनाविना उनीहरूको मुक्ति हुदैन भन्ने हो । यतिनै कुरा ब्राह्मण मित्रहरूले बुझिदिएमा नेपालको दिगोशान्ति, सम्रिद्दि, स्थायित्व बिकासमा ठूलो योगदान पुग्नेछ र यहाहरूको बुद्दिमतापूर्ण उदारताले संसार नै दङ्ग पर्नेछ । तसर्थ ब्रामण आन्दोलनको कुनै तुक छैन् । जय लिम्बुवान !

Jan 2, 2012

लिम्बु जाति धर्म, भाषा, लिपि र किरात

रविन लिङदेन “आम्भु जेठा”
लिम्बु जाति सवैभन्दा पहिला के, को र कस्तो थियो ? त्यसपछि सभ्यता र संस्कृति कस्तो थियो ? सासन प्रणालि कस्तो थियो ? धर्म-कर्म कसरी मानिपुजि गर्दथे र अहिलेको यो अवस्थासम्म कसरि आइपुगे भन्ने वारेमा जान्न सबैमा वाञ्छनिय छ यद्यपी धेरै खोज अनुसन्धान अर्न्तगत इतिहासविदहरुको आ-आपनै इतिहास, वैज्ञानीक आधार र किरात मुन्धुममा धेरैकुराहरु पाइन्छ । नेपालको इतिहास र मुन्धुम अर्न्तगत लिम्बुजाति किरातजाति संग जोडिएको छ भने किरातजाति प्राचिन र अत्रि्रचिन सभ्यता र संस्कृतिसंग जोडिएको छ । यसरी पहिला किरात त्यसपछि याक्थुङबा लिम्बु भएको जाती धर्म, भाषा, लिपि र संस्कृतिले अत्यन्तै धनि छ । किरात याक्थुङबा लिम्बु नेपालमा प्राचिनकालमै आगमन भएको भन्ने प्रमाण प्राचिन ग्रन्थ, नेपाल उपत्याकामा किरातीहरुको ३२ पुस्ता राज्यकालमा विदेशी लेखकहरुले लेखेको यात्रा-संस्करण र इतिहासले पुष्टि गर्दछ । राइट र विभिन्न वंशावलिअनुसार नेपाल उपत्यकामा ‘राजा यलम्बर हाङ देखि अन्तिम राजा सम्म’ किरात राजाहरुले करिब १२ सय देखी १७ सय वर्षसम्म राज्य गरेको अनुमान गरिन्छ जुनर् इशापुर्व ९०० देखिर् इसं ३०० भित्र पर्दछ । यिनै प्रमाणको आधारमा हामि प्राचिनकालदेखिनै अस्तित्वमा रहेको नेपालको प्रमुख आदिवासी किरात याक्थुङबा लिम्बु हौ । त्यतिवेला किरात वा किराती मात्र भनिन्थो वा चिनिन्थयो, अहिलेको जस्तो लिम्बु, र्राई, तामाङ, गुरुङ, मगर, सुनुवार, नेवार, शेपा, थारु, कोच जस्ता नाम थिएन । किरातकालको अन्तिम राजा गस्ती पछि र्सूयवंशीय वा सोमवंशीय राजाको अवधिदेखि राजा पृथ्वीनारायण शाहाको पाला सम्म आइपुग्दा अअिलेको किरात लिम्बु र राइहरु हाल नेपालको पुर्वमा राज्य गदर्थे, जसलाइ नेपालको इतिहासमा पल्लो किरात माझ, किरात र वल्लो किरात भनेर चिनिन्थ्यो । यसैविचको अवधिमा किरातहरु राज्य गर्ने क्रममा क्षेत्रको आधारमा हाल नेपालको अरुण नदि पश्चिम राज्य खम्बुवान थियो भने अरुण नदि पुर्व टिस्टा नदि, पुर्व सिक्किम, आसाम र भुटान सम्म किरात लिम्बुवान राज्य थियो भनेर किराती लेखकहरुले लेखेका छन भने अरुण नदि पुर्व तथा उत्तर तिब्बत पानी ढलोट, दक्षिणमा जलालगड र हाल भारतको टिस्टा नदि हुदै सिक्किम, आसाम र वंगलादेश सम्म लिम्बुवान राज्य थियो भनेर दिल पालुङवा लिम्बुले लगायत अन्य लेखकहरुले लेखेका छन । त्यतिवेला किरात राजाहरुले आपनो दरवार यक -यकलाइनै गढी, गड, गुरी भनियो) निर्माण गरि राज्य गर्दथे । किरात खम्बुवान तर्फ मकवानपुर गढी, सिन्धुली गढी, हरिपुर गढी, चौदण्डी गढी लगायतका गढीहरु थिए भने लिम्बुवान तर्फ विजयपुरगढी हुदै तम्बर तापेथोक गढी, आठराइ पोमाजोङ गढी, फेदाप पोक्लाबुङ गढी, पानथर फेदेनगढी, छथर ताक्लुङ गढी, याङवरक हस्तपुरगढी, मेवथुम मिरिङ्देन गढी, मिक्लुक सानगढी, कोयाखोला थालागढी, फाकफोक आङदाङ गढी, यसमा दश लिम्बुहरुले राज्य गदर्थे । त्यसैगरि सिलिगढी, जलपाइ गढी, मैनागढी, धुपगढी, विन्नागढी, केमाक्छा गढी, सेर्फान गढी हुदै आसाम सम्म विचार गर्नु युक्तिसंगत नै हुन्छ भनेर गोपाल किरातीले लेखेका छन् । राजा पृथ्वीनारायण शाहाको नेपाल एकिरण अर्न्तगत लिम्बुवान राज्य टिस्टा नदि सम्म नेपालमा गाभिएको थियो भने टिस्टा नदि पुर्वका किरात कविला गणराज्यहरु तत्कालिन व्रिटिश साम्राज्य इष्ट इण्डिया कंपनिको हातमा रहन गयो र्।र् इसं १८१४-१६ को नेपाल र अंग्रेजबीचको सुगैली सन्धिपछि नेपालको सिमाना मेचि नदि कायम हुन गएकोले मेचि पुर्वका सम्पुर्ण क्षेत्र हालको भारत र भुटानमा गाभिन गयो । यसरि वर्तमान नेपालको ९ जिल्ला मात्र लिम्बुवान कायम रहेको छ । वसोवासको आधारमा संखुवासभा, ताप्लेजुङ, पान्थर, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम का वासिन्दा हौंभने भारतको गोर्खालेण्ड-दार्जिलिङ, सिक्किम, मेघालय, मनिपुर, आसाम र भुटान सम्मनै फैलिएर रहेका छौ । हाल आएर विभिन्न कारणले नेपालको विभिन्न भु-भागमा स्थाइ वा अस्थाइ वसोवास गर्न पुगेको छन् भने विदेशतिरपनि प्रसस्त मात्रमा वसोवास गरेको पाइन्छ ।
लिम्बु जाति वा लिम्बु शब्दको उत्पती कहिले र कहाँ बाट सुरु भयो भन्ने सर्न्दर्भमा “लिम्बु शब्द लि ± आबु -लि Ö धनु ± आबु Ö हान्नु)” किरात देश विभाजन हुनुभन्दा पहिला आठ राजाहरुले राज्य गर्दथे । अहिलेको लिम्बुहरु लिम्बु नभइ त्यतिबेला याक्थुङबा मात्र थियो । छैटैं सताब्दिमा मुनातेम्बे वा चीनको सुचुवान अथवा युनान प्रान्तको श्यानमकवान जाति ताइश्यानवंशीय किरातहरु पातकोइ पहाड हुदै आसाम मैदानमा आइपुगे । त्यहाँबाट दश नेता वा सरदारका साथ वर्तमान नेपालको पुर्वीपहाडमा प्रवेश भइ त्यहाँका आठ किरात राजाहरु संग एकआपसमा मिलेर वस्ने अनुमति लिइ वसे । रहदा वस्दा दश याकथुङ सरदारको साखा सन्तानहरु अतिधेरै बड्दैगयो । त्यस अवस्थामा आठ राजाहरुले दश याक्थुङबाहरुलाई राजनीतिक विद्रोहको संकागरी अत्यन्त दमनका उपायहरु लागुगरे । जमिनको तिरो बढाइदिए, निष्ठुर ऐन वनाए र दासको ब्यावहार गरि क्रुर सासन गरे । यस्तो अवस्थामा याक्थुङबाका सरदारहरु आम्बेपोजो – -फेदेन, फिदिम) मा चुम्लुङगरि अन्याय सहनुभन्दा व्रि्रोह गरि देशको अधिकार आफै लिने निर्णय गर्दै आठ राजाको विरुद्घ प्रत्येक योद्घाहरुले सर्ंर्घस गर्ने निश्चित गर्दै तीनवटा रातो ढुंगा, तीनवटा आँपको रुख रोपि देविथान बनाइ शुद्घ जल चर्ढाई शक्ति (मुक्साम) मागी युद्घ नजीति घर नर्फने कसम खादै युद्घ मैदानमा उत्रिए । आठ राजाहरुले राज व्रि्रोह गर्नेनिधो थाहा पाउनसाथ आठैराजाका भएभरका फौज भेलागरि फेदेन आम्बेपोजोमा आए । दुवै पक्षमा भीषण युद्घभयो, भयंकर काटमार चल्यो, अन्त्यमा धनुविद्या प्राप्त दशसरदारका फैजहरुले आठ राजाहरुलाई हराइछाडे र किरात देश दश याक्थुङबाको हातमा आयो । त्यसपश्चात आम्बेपोजोको देवस्थलमा आइ धान्यबाली चढाइ ठुलो सभा (चुम्लुङ) गरि लिआबु -धनुकाणले) जितेको देशको नाम लिम्बुवान राखेभने त्यसदेशको वासिन्दालाइ लिम्बु भने । यसरी लिम्बुवान र लिम्बु भयो भन्ने इतिहासकार इमानसिं चेम्जोङको छ । यस भनाइलाइ धेरै विद्घवानहरुले र्समर्थन गरेको पाइन्छ । यसको अलावा धेरै इतिहासकार वा लेखकहरुले पनि किरात लिम्बुवान र लिम्बु इतिहास लेखेको पाइन्छ । यहाँ कतिपय विद्घवानहरुले छेटौं या सातैं सताब्दीमा लिम्बुवान र लिम्बुको घटना भएको भनेका छन् भने कतिपय वंशावलिहरुमा वि सं १२०० वरिपरिको घटना हुनुपर्छ भनेर लेखेको पाइन्छ र लिङदेन वंशावलिमा पनि त्यहिनै उल्लेख छ । तर, विर्षु नहुने कुरा के हो भने किरातीहरु नेपाल उपत्यकामार् इशापुर्व ९०० देखिर् इसं ३०० भित्र करिब १२-१७ सय वर्षसम्म सासन गरेको र अन्तिम किरात राजा पछि लिच्छविकालीन अवधि हुदैं राजा पृथ्वीनारायण शाहा सम्म आइपुग्दा नेपालको पुर्वमा किरात राज्यमा किरातहरुले राज्य गरिरहेको अवस्था संग मेल खानगएको देखिदैन । डेनियल राइट, हायमिल्टन, जर्ज गग्रियर्सन, कर्कपायटि्रक जस्ता लेखकहरुलाई साँचि राख्दै गैर लिम्बु लेखकहरुले किरात र लिम्बु फरक हुन भन्ने मत किटानकासाथ अघि सारेका छन र उक्त मत संग मिल्न गएको जस्तो देखिन्छ । यसरी छैटौं या बाह्रौं सताब्दीमा मात्र किरात याक्थुङबा अथवा लिम्बुहरु नेपाल प्रवेश गर्नुमा प्राचिनकालदेखिनै अस्तित्वमा रहेको नेपालको प्रमुख आदिवसि किरात हौं भनेर भन्न नसकिने अवस्था देखा पर्न सक्छ । साच्चिकै किरात र लिम्बु फरक हो भने हामि लिम्बु जातिले किन किरात धर्म मान्ने, किरात याक्थुङ चुम्लुङ किन भन्ने, किन किरात येले तङवे मान्ने – लिम्बु धर्म र याक्थुङ चुम्लुङ मात्र भनेत भइहाल्योनि, आखिर इतिहासमा लिम्बुहरु बाटनै किरात धर्मको सुरुवात, संरक्षण, सर्ंवर्दन र विश्वब्यापि रुपमा प्रचार-प्रसार भएको पाइन्छ । तर्सथ, किरात राजा यलम्बर हाङको अन्तिम पुस्ता हुदै १० लिम्बु र १७ थुम (तथिमिति सहित) संग मेलखाने किरात इतिहासलाइ मात्र स्वीकार्न सकिन्छ । यस्तो इतिहासले मात्र लिम्बु इतिहास र वंशावलिको पुष्टि गर्न सक्छ । इतिहासकार प्रेम बहादुर माबोहाङ, कमल तिगेला र भवनी बराल लगायतका इतिहासकारहरुले भने यलम्बर हाङको अन्तिम पुस्ताका सन्तानहरुनै हाल नेपालको आदिवासी जनजातीहरु हुन भनि जोड दिन खोजिएको देखिन्छ ।
वि.सं. १८३१ अघि लिम्बु शब्द कहिं उल्लेख नभएको मत अघि सारिएको पनि भेटिन्छ भने डा. नारायणप्रसाद संग्रौलाले लिम्बु जाति वि.सं. ५५ मा श्यानमकवानी नेपालको पल्लो किरातमा रहेको कुरा लेखेका छन । राजा रणबहादुर शाहाले वि.सं. १८४७ मा ताप्लेजुङ क्षेत्रका आतहाङ लिम्बुलाइ दिएको किपट थमैती एक रुक्कापत्रमा “…मकवानी राजाले दियाको जमीन तेरा पुषरले पायाको …४ किल्ला भित्रको जग्गा तलाई थामिवक्स्यौ लिम्बुवान गैरहलाइ लागेको दस्तुर अमालीलाई दाखिल गरी आफ्ना जिमीन जानी भोग्य गर” भनि दिएको लालमोहर अनुसार पहिलादेखिनै लिम्बुवान र लिम्बु भएको स्पस्ट हुन्छ । त्यसैगरी पल्लो किरातमा किपट थमौतीको रुपमा १० लिम्बुलाई दिएको विभिन्न लालमोहरमा १० लिम्बु १७ थुम भनि स्पष्ट उल्लेख भएको हुदाँ वि.सं. १८३१ भन्दा अघिनै १० लिम्बु र १७ थुम थियो भन्ने बुझिन्छ । राजा पृथ्वीनारायण शाहाको एकिकरण पछि लिम्बुहरुलाइ सुब्बा पद र खम्बुहरुलाई र्राई पद भिराइएको इतिहास साँचि छ । २०४० वर्षवरिपरिमा, लिम्बुहरुमा भिराइएको पदलाइ अस्वीकार गर्दै लिम्बुनै रहेको पाइन्छ । यसरीनै याक्थुङबा वा लिम्बुहरुले आपनो भाषा, लिपि, सभ्यता र संस्कृति जोगाएरै राखेको पाइन्छ । तर, लिम्बु हरुको किरात धर्म, भाषा, लिपि, संस्कृति सभ्यता र राजनीतिको अपहरण राजा पृथ्वीनारायण शाहाको सासन काल बाट सुरु भएको थियो, त्यो भन्दा अघि स्वतन्त्र र आप\mनै प्रकारको थियो । यसरी सबै अपहरण भए पश्चात पछिल्लो समयमा भाषा र लिपिको उत्थान तथा प्रचार-प्रसार श्रीजंङ्गा थेवे वाट भइरहेको वेला आजको जस्तो आम संचार थिएन, एक भेट एक प्रचार मात्र हुन्थ्यो । यसरी एक भेट एक प्रचार गर्दै हिड्ने क्रममा वि.सं. १८५५ मा उनको हत्या गर्नकोलागी सड्यन्त्र पुर्वक सिक्किमका भोटेहरु प्रयोग भएको अनुमान लगाउन सकिन्छ । त्यसपछि अर्को एकजना युगपुरुष, महागुरु फाल्गुनन्द लिङदेनको जन्म वि.सं. १९४२ मा भयो र उहाँले धरै ठाउमा माङहिम निर्माण गरि किरात धर्म, भाषा, लिपि, संस्कृति र सभ्यता आफ्नो चेला-भुलाको साथमा प्रचार-प्रसार गर्ने क्रममा वि.सं. १९९५ मा देशद्रोहीको अभियोगमा ततकालिन श्री ५ को सरकार बाट पक्राउ पर्नु भएको थियो । यसरि किरात भाषामा वन्देज गर्दै नेपाली खस भाषाको प्रयोग गर्न थालियो । वि.सं. १९५८ बाट सुरु गरिएको गोर्खापत्र र वि.सं २००७ मा रेडियो नेपालको स्थापना पछि खस भाषालाइ नेपाली भाषाको संज्ञा दिदै प्रसारण गरि अन्य भाषालाइ दबाइयो । वि.सं २००७ साल पछि विद्यालयहरुको स्थापना जताततै हुन थाल्यो तर नेपाली भाषा बाहेक अन्य भाषाहरुको पठनपाठन हुनदिइएन र खस नेपाली भाषाको एकाधिकार बड्दै गयो । वि.सं २००७ सालदेखि वि.सं २०१७ सम्म लिम्बु वा अन्य भाषाको दमन अत्याधिक रुपमा भयो । वि.सं २०१७ सालपछि राष्ट्रिय एकताको नारा दिएर पञ्चायति व्यवस्था लागुगरि आर्य-खस भाषाको एकाधिकारलाइ सुदृढ र लिम्बु वा अन्य भाषाको उन्मुलननै गर्ने कोषिस भयो । निरंकुस पञ्चायतको अन्त्य संगसगैं वर्तमान किरात धर्मगुरु आत्मनन्द लिङदेन द्धारा वि.सं. २०५० सालमा इलाम, माङसेबुङमा किरात धर्मको केन्द्रीय माङहिम र २०५१ सालमा पाठशाला -निसाम हिम) निर्माण गर्नु भएको छ । यसरी किरात धर्म, भाषा, लिपि, संस्कृति र सभ्यताको वढो कठिन अवस्थाबाट यहाँसम्म आइपुगेको छ । यसरी समय-समयमा लिम्बुवान क्षेत्रमा महापुरुषहरु जन्मनुले किरात धर्म, भाषा, लिपि, संस्कृति र सभ्यताको जर्गेना भएको छ ।

Dec 29, 2011

विश्वको लोकप्रिय प्रचलन जाति र भाषाको आधारमा राज्यको नाम

विश्वास दीप तिगेला
नेपालमा अहिले राज्य पूर्नसंरचना सम्बन्धमा ब्यापक बहस र छलफल चलिरहेको छ । जनताबाट निर्वाचित संविधान सभाका सभासदहरु रहेको राज्य पूर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले १४ राज्य बनाउनु पर्ने प्रस्ताव गरेको छ । कर्णाली, नारायणी, सुनकोशि, खप्तड, जडान, लिम्बुवान, किरात, शेर्पा, ताम्सालिङ, तमुवान, मगरात, नेवा, थरुहट–अवध–लुम्बिनी, मिथिला–भोजपुरा–मधेश प्रस्तावित राज्यहरुको नाम पहिचान र सामथ्र्यको आधारमा ७ वटा जातिगत, ६ भूगोलगत र १ वटा संस्कृतिगत रहेका छन् यद्यपी केहीले जाति, भाषाको आधारमा र कसैले भूगोलको आधारमा मात्र नामाकरण गर्नु हुदैन भन्ने विरोधाभाषपूर्ण आवाजहरु सुनिएका छन् । त्यसैले यस सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई पनि हेर्नु सान्दार्भिक हुन्छ ।
विश्वको सर्व शक्तिमान राष्ट्र संयुक्त राज्य अमेरिकाको ४९ वटा राज्य मध्ये २८ वटा राज्यहरु जाति, भाषा लगायत आदीवासी जातिहरुको इतिहासबाट नामाकरण गरिएको छ । ती राज्यहरु: १. आल्वामा, २. आलस्का, ३. एरिजोना, ४. आकानसास, ५. कनेक्टीकुट, ६. डिलावार, ७. हवाई, ८. इधि, ९. इलिनोइस, १०. इण्डियना, ११. लोवा, १२. कान्सास, १३. केन्टुकी, १४. म्यासच्युट्स, १५. मेसिगन, १६. मिन्निसोटा, १७. मिसिसिपी, १८. मिसोरी, १९. नेव्रास्का, २०. डाकोडा, २१. ओहायो, २२. ओकलाहोमा, २३. टेनिसिसी, २४. टेक्सास, २५. युटाह, २६. वीन्कन्सीन, २७. न्यू मेक्सिको, २८. वाओमिङ हुन । यसरी अमेरिका भौतिक रुपबाट मात्र नभई भावानात्मक रुपबाट पनि विशाल र शक्तिशालि देखिन्छ ।
विश्व कै ठूलो प्रजातान्त्रिक मुलुक भारतमा पनि हेर्ने हो भने अधिकांश राज्य, शहर, जिल्ला र महत्वपूर्ण ठाँउहरुको नाम भाषा, जाति र इतिहासको आधारमा रहेको पाइन्छ । तमिल जातिहरुको तमिलनाडू, कर्णडा भाषीहरुको कर्णाटक, मराठी भाषीहरुको महाराष्ट्र, गुजराती भाषीहरुका गुजरात, पंजावी भाषीहरुका पंजाब, नागा जातिहरुको नागाल्याण्ड, बंगला जातिहरुको पश्चिम बंगला, काश्मीरी जातिहरुको काश्मीर रहेका छन् । बृटिसको पालामा परिवर्तन गरिएको मद्रास, बम्बई भनिने शहरको नामलाई बृटिसको फिर्ति पछि पहिलाकै नाम चेन्नइ, मुम्बई कायम गरिएको छ ।
नेपाल संग धेरै कुरामा समानता रहेको र पछिल्लो समयमा विकास र प्रगतिमा लम्किन्दै गरेको इथियोपियामा ११ राज्य मध्ये जातिय पहिचानको आधारमा आरोमी जाति तथा भाषिहरुको बाहुल्य रहेको क्षेत्र ओरोमिया राज्य, आम्हारिक भाषिहरुको आम्हारा राज्य, सोमाली जातिहरुको सोमाली राज्य, टिग्रिग्ना जातिहरुको टिग्रेई राज्य, आफार जातिहरुको बाहूल्य रहेको क्षेत्र आफार राज्य र हरारी जाति भाषिहरुको बाहुल्य रहेको इलाका हरारी राज्य गरि ६ वटा राज्यहरु छन्, भूगोलको आधारमा २ वटा र मिश्रित आधारमा २ वटा राज्य रहेका छन् ।
जाति, भाषाको नामबाटै सिंगो देशको नाम समेत रहेको पाइन्छ । सर्व जातिहरुको सर्विया, अल्वेनियाली जातिहरुको आल्वेनिया, कुर्द जातिहरुको कुर्दिस्तान, मंगोल जातिहरुको मंगोलिया, फेन्च भाषीहरुको फान्स, स्पेनिस भाषीहरुको स्पेन, आईरिसहरुको आयरल्याण्ड, मले जातिहरुको मलेशिया, ताजिक जातिहरुको ताजिकिस्तान, उज्वेक जातिहरुको उज्वेकिस्तान, बंगला भाषीहरुको बंगलादेश आदी रहेका छन् । यहा याद गर्नुपर्ने कुरा के हो भने धेरै देशको नाम भाषा, जातिको नामबाट रहेको छ भने कतिपय चाहि देश कायम भएपछि भाषाको नाम रहन गएको छ । जस्तैः नेपाल, देश भएकोले पछिबाट खस भाषालाई नेपाली भाषा भन्न शुरु भयो ।
सयुक्त अधिराज्य (वेलायत) भित्र ४ वटा पूर्ण स्वायत्त राज्यहरु रहेका छन् । इङलिस भाषा बोल्नेको इङल्याण्ड, स्कटिस भाषा बोल्नेहरुको स्कटल्याण्ड जसको आफ्नै संसद र मुद्रा समेत रहेको छ, आइरिस भाषीहरुको नोर्दन आयरल्याण्ड, वेल्स भाषीहरुको वेल्स राज्य रहेको छ ।
अमेरिकाको प्रसिद्ध पर्यटकीय शहर काङकुङ, बेलिजका आदीवासी बेलु जातिबाट वेलमुम्पान, रसियाको चेचेन जातिहरुको चेचेन्या, केन्याको साम्बुरु जातिहरुको नामबाट साम्बुरु जिल्ला, फिजीको लाउन भाषिहरुको बाहूल्य रहेको प्रोभिन्सलाई लाउ प्रोभिन्स आदी रहेकोले पनि जाति, भाषाको नामबाट देशको नाम, राज्यको नाम राख्ने प्रचलन विश्वभर नै लोकप्रिय रहेको पाइन्छ ।
विश्वमा जम्मा २६ वटा मुलुकहरुले संघिय राज्य प्रणाली अपनाएका छन् । क्षेत्रफलको हिसाबले कुनै मुलुक नेपाल भन्दा धेरै सानो पनि रहेका छन् । प्रथम संघीय मुलुक संयुक्त राज्य अमेरिका सन् १७८७, स्विट्जरल्याण्ड सन् १८४८, अर्जेन्टिना सन् १८५३, मेक्सिको सन् १८५७, क्यानडा सन् १८६७, ब्राजिल सन् १८९१, अष्ट्रेलिया सन् १९००, अष्ट्रिया सन् १९२०, रुस सन् १९३६, जर्मनी सन् १९३९, भारत सन् १९४७, बेल्जियम सन् १९९३, नाइजेरिया सन् १९६३, बोस्नीया र हर्जगोभिना, कोमोरोस्, इथियोपिया, इराक, मलेशिया, माइक्रोनेशिया, पाकिस्तान, सेन्ट किट्स र नेभिस्, स्पेन, दक्षिण अफ्रिका, सयुक्त अरब इमिरेट्स, भनेजुएला र नेपाल रहेका छन् । यी संघीय मुलुकहरुको अध्ययन गरेर नंव संघीय नेपालले धेरै कुरा सिक्नु पर्दछ । नेपाल जस्तो बहू धर्म, जाति, भाषा, संस्कार संस्कृति, भएका मुलुकहरुमा धेरै अघि संघीय प्रणालीमा गए र अहिले समुन्नत भई सकेका छन् त्यसैले अबको नयाँ सविधान र पूर्नसंरचनाबाट सबैलाई अधिकार प्राप्तहोस तब कसैले पनि अधिकारको लागि आन्दोलन गर्नेछैन र त्यो समय विकास र प्रगतिमा खर्च हुनेछ ।
झण्डै ५ दशक भन्दा बढि एकात्मक शासन प्रणाली अनुभव गरिसकेको नेपालमा अहिले संघीय प्रणालीको चाहना हुनु, आवश्यकता महशुस हुनु आफैमा अर्थपूर्ण छ । एकात्मक प्रणालीको उपभोग पछि अहिले संघात्मक प्रणालीको चाहाना हुनु स्वभाविक हो र कालन्तरमा संघात्मक पछि अर्को प्रणालीको चाहाना र आवश्यकता महशुस हुन सक्दछ । यो विकास र परिवर्तनको नियमित प्रकृया हो । भविश्यमा मुलुक छुट्टाउने सिमाना विनाको देश निर्माण हुनसक्दछ तर अहिलेको परिपेक्ष्यमा सबैमा सघियताको चाहना हुन सबैभन्दा सुन्दरपक्ष मानिएको छ ।
शासक र शाशित जाति रहेको नेपालमा समानता र सन्तुलित सहिष्णुताको अवस्थामा ल्याउन वर्तमान परिप्रेक्ष्यमा जातिय अग्राधिकार, जातिय, भाषिक तथा सांस्कृतिक आधारबाट राज्यको नामाकरण गर्नु आवश्यक ठानिएको हो । यदि राज्यको पूर्न संरचना सामर्थ्यको आधारमा मात्र गर्ने हो भने प्रथमत नेपाल देश आफै चल्न सामर्थ्य छ या छैन भन्ने प्रश्न आउने गर्दछ ? निश्चय नै देश आफै चल्न सकेको छैन त्यसैले यहा भित्र ब्यवस्था गर्न लागिएका राज्यहरु सामर्थ्यको आधारमा मात्र हुनुपर्छ भन्नु आफैमा विरोधाभाषपूर्ण कुरा हुन् ।
राज्यको पूर्नसंरचना उच्च जातिको हालीमुहाली कायम राख्ने तरिकाले गर्ने वा सबै जाति, धर्म, सम्प्रदायलाई समानता हुने तरिकाले गर्ने भन्ने अहिलेको मुख्य मुद्धा हो । संविधान निर्माणको एक जटिल अंश राज्यको पूर्नसंरचना र क्षेत्र निर्धारणमा हामी अरुबेला भन्दा माथि उठेर धैर्यताका साथ साझा, निष्पक्ष, समावेशि र समृद्ध नेपालको खातिर काम गर्दैछौ भन्ने आत्मा विश्वास लिनु पर्दछ । आफूले चाहेको सबै कुरा हुनैपर्छ भन्ने माग गर्दा अरुलाई केकस्तो असर पर्छ त्यो कुरालाई पनि ध्यान दिनुपर्ने हुन्छ । एकात्मक चरित्रको प्रणालीले हामीलाई दास बनाएको अवस्था भएकोले शुरुशुरुमा संघियता पद्धति असजिलो हुनसक्ला तर बहू जाति, भाषा, धर्म, संस्कार संस्कृति भएको मुलक नेपाल जस्तो विश्वका अनेकौ मुलुकहरुमा सफल र लोकप्रिय साबित संघीय प्रणालीले निश्चय नै कल्याण गर्छ भन्ने विश्वास राख्नु पर्दछ । संसार स्वतः परिवर्तनशिल छ आजको प्रणाली भोलि परिवर्तन र परिमार्जन हुनुपर्दछ । त्यसैले डराउनु पर्ने, आत्तिनुपर्ने अवस्था कसैलाई पनि छैन । आपसमा मनमुटाव नल्याउने, अस्वीकार्य नहुने निष्पक्ष संविधान नै उत्कृष्ट सविधान हुन सक्दछ । निष्पक्ष संविधान भएमा कसैले अधिकारको लागि, समानताको लागि लड्ने समय विकासको लागि सदुपयोग हुनेछ ।
हिजोको ५ विकास क्षेत्र र १४ अंचलहरु तिनै भूगोल र सामथ्र्यको आधारमा थियो र त्यो सबैभन्दा असफल र बेकम्मा सावित भएको कुरा छर्लङ्ग छ । पुनः त्यस्तै भूगोल र सामथ्र्ययको आधारमा मात्र राज्यको परिकल्पना गर्नु पश्चगमन हो । त्यसैले विकासको कार्य, प्रसासकीय कार्य चुस्त र दुरुस्त प्रभावकारी ढङ्गबाट संचालन गर्न, समुदायलाई समावेशि बनाउन, समानताको आधारमा कार्य संचालन गर्नको लागि कर्तब्य तथा जिम्मेवारी बोध हुने प्रकारले राज्यको संरचना र नामाकरण गर्नु पर्दछ । संमग्रमा राज्य पूर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले राज्यको नामको बारे ल्याएको खाका उपयुक्त देखिन्छ । प्रस्तावित राज्यहरुको सिमाक्षेत्रमा केही थपघट तथा सुधार गरेमा पूर्ण हुने देखिन्छ । त्यसैले समितिलाई धन्यवाद दिन कन्जुसियाई पनि नगरौ ।
जाति, भाषा, संस्कृति र भूगोलको आधारमा राज्यको नाम राख्दैमा जातिय अन्तर विरोध हुन्छ भन्ने होइन किन कि राजनैतिक चेतनाको हिसाबले हामी नेपाली अगाडि छौ र जातिय अन्तर विरोध हुदैहुदैन भन्ने पनि होइन तर जातिय राज्य नदिदा हुने द्धन्द्ध भन्दा दिएपछि हुने द्धन्द्ध सहिष्णु र सामान्य हुनेछ । हिजो देखि आज सम्म रहेको आक्रोस जस्तो हुनेछैन । त्यसैले यो समय भनेको केही गुमाएरै भएपनि हिम्मत गरेर समृद्ध र साझा नेपाल बनाउन अघि बढ्नु पर्ने बेला हो । एकात्मक प्रणाली बर्षौबर्ष अनुभव गर्‍यौ, त्यसैले अब आउनुहोस संमृद्ध नेपालको लागि आज अग्राधिकार सहितको संघीय नेपाल निर्माणमा सहभागि बनौ ।
विश्वास दीप तिगेला, biswasdip@ymail.com, १९ नोभेम्बर २०११, ब्रुनाई

स्रोतः
१. http://americanindiansource.com/indianed/statesnames.html (Access 27 Nov 11)
२. http://www.native-languages.org/state-names.htm (Access 27 Nov 11)
३. संङ्घीय राज्यको नयाँ संरचना– विवेक सिर्जनशील प्रकाशन प्रा. लि.
४. संङ्घीय मासिक बर्ष ६ र ७ पूर्णाङ्क ७, २०६७, बालकृष्ण माबुहाँङ
५. https://www.cia.gov (Access 28 Nov 11)
६. नेपाल साप्ताहिक, बर्ष १२, अंक १८, पेज २५, भिमार्जुन आचार्य
७. नागरिक दैनिक बर्ष ३, अंक २२६, पेज ६, कनकमणि दीक्षित
८. कान्तिपुर दैनिक बर्ष १९, अंक २९३, पेज ७, बीरेन्द्र देउजा/खेमराज नेपाल
८. कान्तिपुर दैनिक बर्ष १९, अंक २९४, पेज ७, प्रकाश दाहाल
More info: http://nayasamachar.com/?p=12754