Nov 3, 2007

लिम्बूवान राज्यभित्र कथित किराँत राज्यको माग अविलम्ब बन्द गरियोस्


प्रकाश यक्सो लिम्बू

जहाँसम्म नेपालमा संघीय -स्वायत्त) ढाँचाको प्रश्न छ, त्यो इस्वीको छैठौं शताब्दी तिर दश लिम्बू सरदारहरुको लिम्बूवान विजय संगसँगै लिम्बूवानमा विकास भइसकेको देखिन्छ । लिम्बूवान राज्यको विजय पछि दश लिम्बूहरुले लिम्बूवानलाई दश भागमा विभक्त गरेर दश लिम्बूवानको थिति -संविधान) तयार पारी लिम्बूवानमा संघीय ढाँचामा राज्य शासन चलाएका थिए । पछि विजयपुरका राजा विजयनारायण राय लिम्बू -साङ्लाइङ् साक्वाददेन् लिम्बूको बंशज) को शासनकलमा दश लिम्बूवान राज्य -थुम) को केन्द्रीय राजधानी विजयपुर थियो । उसबेला सबै लिम्बूहरु सिंगो लिम्बूवानको सुरक्षाको खातिर दुष्मनको खिलाप एक जुट भएर लडाइमा जानुपथ्र्यो । यस विषयमा पहलमान सुब्बा यसरी भन्नुहुन्छ "लिम्बूले लिम्बुवानमा राजकाज चलाएको समयमा सबै लिम्बू सिपाही थिए । घरलौरी प्रथाको पल्टन थियो । आपतकालीन समयको सूचना नगराले दिन्थ्यो । लिम्बूनीहरुको कम्बरमा ख्रुमी र लिम्बूको कम्बरमा हरदम खुकुरी हुन्छ । देशको लागि हरदम लडाकु लिम्बूहरु तयार हुन्थे । लर्डाई गर्ने, नगर्ने, सन्धि गर्दाको रणनीतिहरु तुम्याहाङले फसेला लिन्थे । सामुहिक फसेला सबैको लागि अनिवार्य थियो ।" यसप्रकार प्रत्येक लिम्बूहरु लिम्बूवान देश रक्षाको निम्ति स्वयंसेवक सिपाहीको रुपमा ढाँल, तरवार, खुकुरी र धनु-काँड लिएर लडाइमा जानु अनिवार्य शर्त थियो । उसबेला लिम्बूवानको आफ्नै रीतिथिति, शासन, प्रशासनहरु थिए । जसलाई दश लिम्बुवान सत्र थुमको थितिको नियम -कानून्) भनिन्थ्यो । र, त्यस नियमलाई सारा लिम्बूवानवासीहरुले अनिवार्य रुपमा पालन गर्नुपर्ने हुन्थ्यो ।
हिजोआज नेपालमा जुन् संघीय व्यवस्थाको प्रश्न छ, त्यो बल्ल अहिले २१ औं शताब्दीमा नेपालले आवश्कता देख्तैछ । गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको क्रममा नेपालका कतिपय गणराज्यहरुलाई एकात्मक ढाँचाले एकिकरण गरेको भएता पनि लिम्बूवान राज्यसित भने संघात्मक -स्वायत्त) नीति अर्न्तर्गत सन्धि सम्झौता गरेका थिए । त्यसको ज्वलन्त उदाहरणको लागि सन् १७७४ -वि.सं.१८३१) मा लिम्बूवान र गोरखा-नेपालबीच भएको सन्धि सम्झौतालाई लिन सकिन्छ ।

सन् १७७४ -सन्धि) पछिको लिम्बूवान र शाही 'कु'
सन् १७७४ पूर्वसम्म लिम्बूवान एउटा स्वतन्त्र र र्सार्वभौम राज्य थियो । तर पछि सन् १७७४ को लिम्बूवान र नेपालबीचको सन्धिले लिम्बूवानलाई नेपाल अर्न्तर्गत एक सह राज्य -प्रान्तीय सरकार) को रुपमा स्थापना गर्यो । जसमा लिम्बूवानलाई भूमि, किपट, अमाल, प्रशासन तथा दण्डकुण्ड र ठिङरोमुङरोको गर्ने अधिकारहरु दिइएको थियो । जुन अधिकारहरुलाई लिम्बूवानवासीले सन् १९६० सालसम्म उपभोग गर्दै आएका थिए । वि.सं. १८४० मा राजा रणबहादुर शाहले लिम्बूवानलाई दिएको लालमोहरले लिम्बूवान सरकारलाई हतियार तथा सेना राख्ने अधिकार समेत् दिएको पाइन्छ ।
वि.सं.२०१७ पौस १ गते श्री ५ महेद्रबाट नेपालको प्रजातान्त्रिक संसदीय व्यवस्थालाई विघटन गरी पौस २२ गते निर्दलीय निरंकुश पंचायती व्यवस्था लाद्न थाले तब लिम्बूवानको अधिकारहरु पनि खोस्न थालियो । लिम्बूवानका ती अधिकारहरुलाई राजा महेन्द्रले सैनिक बलबाट नभई षडयन्त्र पूर्वक खोस्दै लगे । पूर्खा -पृथ्वीनारायण शाह) ले लिम्बूवान संग खाएको नून-पानिको किरियालाई राजा महेन्द्रले बिनाशर्त उलंघन गरिदिए । त्यसैको प्रतिफल स्वरुप अहिले राजा महेन्द्रकै माइला छोरा ज्ञानेन्द्र र नाति पारसले शाहवंशीय राजकाजलाई भंग गर्न आँटेका छन् ।
लेखक तथा इतिहासकार शिवकुमार श्रेष्ठले उल्लेख गरेअनुसार "देशको अब हुने विकास कार्यमा समेत तिमीहरु अघि जस्तै सफल हुनेछौ भन्ने उमेद राखिबक्सी थितिरीति कायम राखिबक्सेका छौ ।" भन्ने वि.सं.२०१७।१२।१७।१ को लालमोहरमा श्री ५ महेन्द्रबाट उल्लेख भएकोले त्यस बेला लिम्बूवानका र्राई तथा सुब्बाहरुले पञ्चायतलाई सहर्षस्वागत गरे ।" तर लिम्बूवानमा पंचायती व्यवस्था खडा गर्दा लिम्बूवानवासीको रीतिथितिमा हस्तक्षेप हुने भएकोले उसबेला पनि लिम्बूवानवासीले पंचायती व्यवस्थाको ठूलो विरोध गरेकै थिए । ताकि केही सचेत लिम्बूवानवासीले लिम्बूवानको अस्थित्व रक्षाको खातिर पंचायत विरुद्घ संघर्षमा उत्रने तयारी गरिरहेकै बेला केही आत्म बेचुवा, जातिघाती र लिम्बूवानघाती लिम्बूहरु, गुलियोमा माउरी लटपटिए झैं उनीहरु राजा महेन्द्रको गुलियो लड्डुमा भूले । त्यसैकारण उसबेला लिम्बूवानमा क्रान्तिको ज्वाला निभ्यो । फलतः लिम्बूवानमा जबरजस्ती पंचायती व्यवस्था लादियो । भूइँदल र्राईले उल्लेख गरेअनुसार "निर्वाचित सरकारको पालामा पञ्चायत विरोधमा पल्लो किराँत लिम्बूवानमा निकै अप्रिय घट्नाहरु घट्ने संभावना देखापरिसकेको थियो तर स्वयं श्री ५ बाट उठाइबक्सेको प्रणालीको सहर्षस्वागत गरे ।"
यसप्रकार राजा महेन्द्रले नेपालमा निरंकुश पंचायती व्यवस्थाको शूरुवात त गरे तर त्यो जम्मा तीन दशक पनि नबित्दै सन् १९९० सालमा समाप्त भयो । हिजो शाहवंशीय पुर्खा पृथ्वीनारायण शाहले नुनपानीको कसम खाएर लिम्बूवानलाई दिएको अधिकारलाई उसैको बंशज राजा महेन्द्रले उलंघन गरेका हुनाले लिम्बूवानको इतिहासमा उनी कुनाम भएर मरे । उता दाजुकै बंशनाश गर्ने राजा ज्ञानेन्द्रको निरंकुश सरकारले जम्मा चारबर्षपनि नपुग्दै बि.सं. २०६३।०१।११ मा नेपाली जनतासामु घुँडा टेक्नु पर्यो ।


लिम्बूवानको संघर्ष र लिम्बूवानप्रति प्रमुख राजनैतिक दलहरुको दृष्टिकोण
अहिले नेपालमा पूर्ण लोकतान्त्रिक तथा संघात्मक राज्य व्यवस्थाका लागि राज्यको पुनसंरचना, संविधानसभा, समावेसी तथा सत्ता साझेदारीका कुरा व्यापक रुपमा उठेका छन् । नेकपा माओवादी र सातदलले यी माथिका विषयहरुमा वि.सं.२०६३ साल, कात्तिक २२ मा विस्तृत सहमति, मंसिर ५ गतेका दिन शान्ति सम्झौता तथा २९ मङ्सिरमा अन्तरिम संविधानका लागि संयुक्त हस्ताक्षर गरिसकेका थिए । यसप्रकार अहिले आठ दल सहितको संयुक्त सहमतिमा राज्यको अन्तरिम संविधान तयार भई, २०६३ माग १ देखि देशव्यापी रुपमा अन्तरिम संविधान जारी भइसकेको छ । तर नेपालकै इतिहासमा एउटा विशिष्ट अस्तित्वमा रहेको लिम्बूवान राज्य, अझै पनि दलहरुको एजेण्डामा पर्न सकेको छैन । जुन लिम्बूवानवासीका लागि अत्यन्तै दुःख र दुर्भाग्यको विषय भएको छ । यसरी त्यहाँ एउटा गम्भिर अपराध तथा षडयन्त्र हुन आँटेको देखिन्छ ।
लिम्बूवानवासीले लिम्बूवान स्वायत्तताको खातिर संघर्ष गरेको पनि वर्षौं भइसकेको छ । आजभन्दा बीस बर्षअगाडि अर्थात सन् १९८६ देखिनै 'लिम्बूवान मुक्ति मोर्चा' ले लिम्बूवान स्वायत्तताको आवाजलाई बुलन्द गरिसकेको थियो । लिम्बूवान पछि खम्बूवान, तमूवान, मैथली, मगरात, कर्णाली तथा नेवार ल्याण्डहरुले पनि स्वायत्तताको आवाजलाई उर्ठाई रहेका थिए । यसैबेला नेकपा माओवादीले वि.सं.२०५२ साल, फाल्गुण १ गतेदेखि जनयुद्घ शुरु गर्यो । नेकपा माओवादीले पनि जातीय तथा क्षेत्रीय स्वायत्त राज्यको अवधारणालाई अघि सारेको हुनाले कतिपय जातीय तथा क्षेत्रीय मोर्चाहरु नेकपा माओवादीको जनयुद्घमा सजिलै हाम्फाल्न पुगे । यसप्रकार जनयुद्घले सफल्ता पाइरहेकै बेला लिम्बूवानमा पुगेपछि नेकपा माओवादीले एउटा ठूलो भूल गर्यो । त्यो के हो भने, नेपालकै इतिहासमा एउटा छुट्टै अस्थित्व -सह राज्यधिकार) मा रहेको 'लिम्बूवान राज्य' र त्यसको मागलाई नेकपा माओवादीले स्वीकार गर्न सकेन । उसले लिम्बूवान राज्यलाई खम्बूवानमा विलय गरेर सारमा किराँत राज्यको वकालत गर्यो र गर्दैछ । आज उसले आम लिम्बूवानवासीको चाहना र भवनालाई निर्मम्ता पूर्वक कुल्चेर लिम्बूवानका लागि भने अप्रजातान्त्रिक हैकमवाद लाद्न खोजेको देखिन्छ । यदि त्यसो होइन भने यहाँ किरात, तमूवान, मैथली, मगरात, कर्णाली, नेवा तथा कोचिला राख्न हुने लिम्बूवान राख्न किन नहुने - आज आम लिम्बूवानवासीको वास्तविक आवश्यकता र चाहनाहरु के के छन् र थियो भन्ने कुरालाई नेकपा माओवादीले बुझनै सकेन । हिजोआज अधिकाँश लिम्बूवानवासीले कथित किराँत राज्य होइन, लिम्बूवान राज्य नै हुनर्ुपर्छ भनेर बुलन्द आवाज उठाइरहेको अवस्थामा पनि नेकपा माओवादीलाई त्यो प्रस्ताव स्वीकार भइरहेको छैन, किन -
यसप्रकार नेकपा माओवादीको गम्भीर त्रूटी यहीनेर भयो, जुन उसको लिम्बूवानमा पुगेको जनयुद्घमा बिस्तारै ब्रेक लाग्न थाल्यो । यतिबेला लिम्बुवान राज्य भित्र नेकपा माओवादीको किराँत राज्यको प्रस्ताव ठाडै अस्वीकार भएको छ । अहिले अधिकाँश लिम्बूवानवासीले त्यसको खुलेरै विरोध र चुनौति दिन थालेका छन् । यसमा मुख्य गरेर लिम्बूवान मुक्ति मोर्चा, प्रजातान्त्रिक संघीय लिम्बूवान पार्टी, लिम्बूवान विकास परिषद, लिम्बूवान स्वायत्त सरोकार मञ्च, संघीय लिम्बूवान राज्य परिषद, किराँत याक्थुङ चुम्लुङ र लिम्बूवान राष्ट्रिय मञ्च आदि संघ-संगठनहरुबाट व्यापक विरोध, आन्दोलनहरु सृजना हुन थालेको छ । तर पनि केही आत्म बेचुवा, लिम्बूवानघाती तथा स्वार्थी लिम्बूहरु नै लिम्बूवान विरोधी शक्तिहरुको हतियार भएर लिम्बूवान विरुद्घ उभिएका छन् । हाल लिम्बूवानमा मुख्य विरोधी तत्वहरु अर्थात सातदल लगायत नेकपा माओवादीका नेता, कार्यकर्ता तथा त्यसका अरौटे भरौटे र धुपौरेहरु व्यापक रुपमा सलबलाउँन थालेका छन् । हिजोमात्र जनमुक्ति, खम्बूवान मुक्ति हुँनुपर्छ भनेर बकबकाउने गोपाल खम्बू, आजभोलि किराँत राज्य हुनुपर्छ भन्दै हिडेका छन् । लिम्बूवानको अस्थित्वलाई नष्ट गर्न खोज्ने गोपाल खम्बूले लिम्बूवानको हित र प्रगतिलाई कहिल्यै पनि सकरात्मक देख्न सकेनन् । साँचो अर्थमा भन्नुपर्दा गोपाल खम्बूले लिम्बूवान राज्यमाथि कथित किराँत राज्य थोपोर्न खज्नुनै उसको पहिलो जघन्य अपराध हो । सोझासिधा दुइ चार लिम्बूहरुलाई उरालेर लिम्बूवान आमालाई बलात्कार गर्न खोज्ने गोपाल खम्बूलाई अब लिम्बूवानवासी जनताले कदापि माफी दिने छैनन् ।


इतिहास र बर्तमानले लिम्बूवान, खम्बूवान राज्यहरु खोज्दैछ
इतिहासतिर फर्केर हेर्दा लिम्बूवान र खम्बूवान राज्यहरु छुट्टाछुट्टै अस्थित्वमा रहेका थिए । त्यसैले आजको नेपालको लोकतान्त्रिक संघीय राज्यसंरचना -ढाँचा) मा लिम्बूवान र खम्बूवान छुट्टाछुट्टै अस्थित्वमा स्थापना हुनुपर्छ भन्ने हाम्रो दावी हो । यहाँ किराँत राज्यकै कुरा गर्ने हो भने किराँत राज्यवादीहरुले सबैभन्दा पहिले काठमाण्डौ उपत्याकालाई किराँत राज्यमा गाभ्नु आवश्यक छ । किनकि किराँत राजा यलम्बरहाङ्को बंशजले ३२ पुस्ता राज्य गरेको इलाका त काठमाण्डौ उपत्यकामा हो, लिम्बूवानमा होइन । त्यसैले म यहाँ किराँत स्वायत्ततावादी किराँत मित्रहरुलाई के सुझाव दिन चाहन्छु भने, तपाइहरुले किराँत राज्यकै दावी गर्नुहुन्छ भने काठमाण्डौ उपत्यका देखि पूर्व र अरुण-सप्तकोशी नदी देखि पश्चिमको भूभागलाई समात्नुहोस् । यद्यपि इतिहासले दूधकोशी नदीको पूर्व र टिष्टा नदीको पश्चिमको भूभागलाई लिम्बूवान राज्य भनेको छ । यदि काठमाण्डौं उपत्यकालाई किराँत राज्यमा गाभ्नु सक्नु भएन भने, त्यो किराँत राज्यको माग पनि औचित्यहीन भएर जानेछ । त्यसकारण बरु खम्बूवान राज्यको माग गर्नुहोस् । खम्बूवान राज्यको मागले खम्बू र खम्बूवानको इतिहास, पहिचान, सभ्यता र संकृतिको सुरक्षा एवं विकास गर्न सक्छ । यहाँ किराँत देशको परिकल्पनाकारहरुले लिम्बूवान र खम्बूवान क्षेत्रलाई मात्र हेरेर पुग्दैन, सम्पूर्ण नेपालको उत्तरी खण्ड र भारतवर्षो उत्तर-पूर्व क्षेत्रलाई किराँत देश भनेर दाबी गर्न सक्नुपर्छ । किनकि इतिहासले पनि अघि नेपालको सारा पहाडी भूखण्डलाई किराँत देश भनेर उल्लेख गरेको पाइन्छ ।
लिम्बूवानको ऐतिहासिक अध्ययनलाई हेर्ने हो भने प्राचीन लिम्बूवानलाई किराँत राज्य भनिन्दैनथ्यो । त्यसलाई उसबेला याक्थुङ् लाजे -याक्थुङ् ल्याण्ड) भनिन्थ्यो ।इसवी छैठौं शताब्दी यता याक्थुङ् ल्याण्डलाई 'लिम्बूवान' र त्यहाँको बासिन्दाहरुलाई 'लिम्बू' भन्न थालियो । तर आजका आधुनिक लिम्बूवानका बासिन्दाहरु भनेको लिम्बू मात्र होइनन्, लिम्बूवानको भूगोल -अरुण-सप्तकोशी नदी पूर्व, मेची नदी पश्चिम, उत्तर तिब्बत र दक्षिण भारत) भित्र बसोवास रहेका लिम्बू वा गैरलिम्बू अर्थात आदिवासी वा आप्रवासी सबै लिम्बूवानवासी हुन् । भारतमा बसेका नेपाली भारतीय नेपाली भए झैं लिम्बूवानमा बसेका आदिवासी-आप्रवासी गैरलिम्बूहरु पनि लिम्बूवानवासी नै हुन् । अबको लिम्बूवान राज्य भनेको सम्पूर्ण लिम्बूवानवासी जनताहरुको साझा घर एवं फूलबारी हो । अब लिम्बूवानमा बसोवास गर्ने सबै जातजातिहरुलाई लिम्बूवान राज्यको अधिकार, कर्तव्य तथा अवसरहरुमा समान मानिने छ । अर्को कुरा, लिम्बूवानमा बसेका जो लिम्बूहरु छन्, उसले मत लिम्बू होइन, किराँत हुँ, भन्छ भने पनि ऊ लिम्बूवान राज्यको किराँती हो ।
अहिले मुलुक दिगो प्रजातान्त्रिक अभ्यासमा अघि बढिरहेको छ । तर साथमा जातिवाद हावी पनि हृवात्तै बढेर गएको छ । यहाँ मुख्य गरेर जातिवादी तथा जातीय मोर्चाहरुले आफ्नो पुर्खौली थात्थलोमा बसोवास रहेका आदिवासी जनजातिहरुका लागि राज्यमा विशेषाधिकार हुनुपर्ने माग राखेका छन् । निश्चित रुपमा पनि आदिवासीहरुको पुर्खौली ऐतिहासिक स्थान, चिन्ह र नामहरु मेटाउनु हुदैन र उनीहरुको राज्य, सभ्यता र संस्कृतिको संरक्षण र विकासको लागि सरकारले विशेष ध्यान पुर्याउँनै पर्छ । तर हामीले अधिकारको प्रयोग गर्दा अन्य जाति तथा समुदायहरुको अधिकारमाथि किञ्चित् पनि आँच पुर्याउँनु हुँदैन । राज्यले राज्यमा प्रत्येक जाति, वर्ग र लिङ्गलाई समानुपातिक एवं समावेसीको आधारमा अधिकार र अवसर दिनु आवश्यक हुन्छ । अर्थात प्रत्येक जाति, वर्ग र लिङ्गको संरक्षण एवं विकास तथा राज्यको चौतर्फअधिकार, कर्तव्य र अवसरहरुमा साझेदारीको विकास हुनु अत्यन्तै जरुरी हुन्छ । तर यस विषयमा अझै व्यापक छलफल तथा बहस् हुनु जरुरी छ । त्यसैले यी यावत् विषयहरुमा हामी प्रष्ट नभइकन, मात्र उच्च जातिवादको कुराले भोलि मुलुकमा जातीय विद्रोह हुने सम्भावना देखिन्छ । त्यसैकारण मुलुकमा दिगो शान्ति, विकास र सुशासनकै लागि भएपनि यो जातिवाद, साम्प्रदायिकता, निरंकुशता, एकात्मकता, भ्रष्ट र दलाल आदि विषयहरु शक्त निर्मूल भएर जानु आवश्यक मात्र होइन, अपरिहार्य छ ।

निष्कर्ष
आजभोलि अधिकाँश सचेत र्राई, लिम्बू तथा गैरकिराँती समेतले लिम्बूवान र खम्बूवानको साँस्कृतिक एवं ऐतिहासिक पृष्ठभूमिनै फरक फरक भएकोले यी राज्यहरुलाई नेपालको संघीय राज्यसंरचनामा अलग अलग स्वायत्त राज्यको रुपमा स्थपना गर्नुपर्ने अवधारणा अघि सारेका छन् । तर पनि नेपालका प्रमुख राजनैतिक दल एवं त्यसका नेता तथा कार्यकर्ताहरुले कथित किराँत राज्यको नाममा लिम्बूवान र खम्बूवान राज्य भित्र बेमौसमको राजनैतिक खेती लगाइरहेका छन्, जुन लिम्बूवानवासीका लागि पटक्कै नरुचेको गाँस झैं भएको छ । उनीहरुबाट यसप्रकारको दुष्कर्म लिम्बूवानमा अझै बढ्न गएमा कुनैपनि बेला लिम्बूवानमा खतराको घण्टी बज्ने प्राय निश्चित छ, र त्यसबाट उत्पन्न भयावहको स्थितिले लिम्बूवान विरोधी तत्वहरुलाई पुरै सफाचट गरी छाड्ने छ । अतः लिम्बूवान र खम्बूवान राज्यहरुलाई पुनःस्थापना गरेर उनीहरुको सुरक्षा, बिकास र शान्तिकै लागि भएपनि प्रमुख राजनैतिक दलहरुको अवधारणा अब नितान्त सकरात्मक हुनु जरुरी छ । आदिकालदेखि एउँटा विशिष्ट ऐतिहासिक पृष्ठभूमिमा उभिएको लिम्बूवान राज्यलाई लिम्बूवान नै भनिनु पर्छ र लिम्बूवान राज्यमाथि कथित किराँत राज्य थोपोर्ने कुचेष्टा अब आम पक्षबाट अविलम्ब बन्द गरिनु पर्छ ।

लेखक लिम्वूवान विकास परिषद हङकङ अध्यक्ष हुन्

चुम्लुङ घोषणाः नयाँ नेपालको कोशे ढुंगा

आनन्द श्रेष्ठ /लिम्वूवान ब्लग
लिम्बुवान स्वायत्त गणराज्यका लागि राज्यको राजधानी धरानमा ऐतिहासिक चुम्लुङ (सभा) सम्पन्न भएको छ। एकात्मक र केन्द्रीकृत २३८ वर्षदेखि विभेद, उत्पीडन र शोषणको लामो सिलसिलाको अन्त्य गरी लिम्बुवान स्वायत्त गणराज्य स्थापनार्थ राजनीतिक दललगायत लिम्बुवानका लागि संघर्षरत विभिन्न संस्था तथा राजनीतिक मोर्चाहरुले संयुक्त मोर्चा निर्माण गर्ने ऐतिहासिक निर्णय गरेको छ। लिम्बुवान राज्यप्रति चुम्लुङ (सभा)ले व्यक्त गरेको प्रतिबद्धताले वर्तमान राजनीतिक यथार्थलाई आत्मसात गरेको छ। अन्तरिम संविधानमा संघीय राज्यको स्थापना गरिने कुरा उल्लेख भएको पर्रि्रेक्ष्यमा विभिन्न जाति, भाषा र उत्पीडित क्षेत्रका आधारमा वैज्ञानिक ढङ्गबाट संघीय राज्य स्थापना गर्ने संकल्प सरकारले अवलम्बन गर्न सक्नु पर्दछ। त्यसको लागि प्रथम पहल चुम्लुङ (सभा)को निर्णयले गरेको छ। सरकारले आफै निर्णय गर्न नसकिरहेको अवस्थामा चुम्लुङको निर्माण सरकारका लागि मार्गचित्र बनेको छ। यो मार्गचित्रलाई सरकारले तत्काल कार्यान्वयन गर्न तदारुकता देखाउनु जरुरी छ। एकात्मक र केन्द्रीकृत राज्यको दम्भ अझै पनि सरकारमा देखिइरहेको अवस्थामा सरकारले एकैचोटी यस्तो निर्णयमा सहमति देखाउन नसक्ने प्रष्ट छ।तर सरकारले के बुझ्न आवश्यक छ भने ढिलो चाँडो उसले आज देशमा उठिरहेको राष्ट्रिय मुक्ति आन्दोलनको मागलाई स्वीकार गर्न कर लाग्छ। विकासक्रमको नियम नै यही हो। एकताका एकीकृत राज्यको आवश्यकता थियो तर आजको आवश्यकता भनेको राष्ट्र-राज्य नै हो। नेपालमा विद्यमान खस -क्षेत्री-बाहुन) बाहेक थुप्रै विकसित भइसकेका छन्। नेपालीत्वको विशाल भावनाभित्र ती राष्ट्रहरुलाई नसमेटिएमा देशमा राजनीतिक स्थायित्व र शान्ति स्थापना हुन सक्दैन। आजको नयाँ नेपाल निर्माण गर्ने समयमा सवैले हृदय विशाल बनाउनु पर्दछ।
चुम्लुङ (सभा) को निर्णय ऐतिहासिक यसर्थ पनि मान्न सकिन्छ कि यस निर्णयले नयाँ नेपाल निर्माणका लागि सम्पन्न हुन लागेको संविधानसभाको निर्वाचनलाई उपलब्धीपूर्ण बनाउने जमर्को गरेको छ। सयुक्त मोर्चाको निर्णय र घोषणामा सविधानसभाको लागि पूर्ण समानुपातिक निर्वाचन, लोकतान्त्रिक गणतन्त्रको घोषणा र अन्तरिम सविधानमा लिम्वुवानलगायत अन्य जातीय स्वायत्त राज्यको उल्लेख गरिनुपर्ने जुन मागहरु राखिएका छन्, त्यसले संविधानसभाबाट अपेक्षित परिणाम प्राप्त गर्न सघाउ पुर्‍याउने छ। नेपाली काग्रेसले अहिलेसम्म गणतन्त्र, संघीय, जातिय, राज्य र पूर्ण समानुपातिक निर्वाचन स्वीकार गर्न सकिरहेको छैन। जसले गर्दा संविधानसभा अन्यौलमा परिरहेको छ।
लिम्बुवान स्वायत्त गणराज्य सविधानसभा अगाडि नै अन्तरिम संविधानमा उल्लेख गर्नुपर्ने मागमा लिम्बुवान मुक्ति मोर्चा, लिम्बुवान स्वायत्त राज्य परिषद् लिम्बुवान स्वायत्त सरोकार मञ्च, माओवादीसम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोचा, नेकपा एमालेसम्बद्ध नेपाल लोकतान्त्रिक लिम्बु संघलगायत अन्य थुप्रै लिम्बुवान राज्य समर्थक संघसंस्थाहरुको ऐक्यवद्धता जनाउनुले अब राष्ट्रिय मुक्ति आन्दोलनले राजनीतिक वैधता प्राप्त गरेको प्रमाणित भएको छ। यसरी नै अन्य संघीय राज्यका लागि पनि ऐक्यबद्धता कायम हुँदै गएमा अवश्य नयाँ नेपाल निर्माणमा सघाउ पुग्न जानेछ। वास्तवमा ऐतिहासिक चुम्लुङ घोषणा नयाँ शिलान्यास नै हो।

असी बर्षीय लाहरे मुन्धुम खोज्दै

राजशे राई /लिम्वूवान व्लगस्पोट
'' सन् १९५९ सालमा निबन्ध संग्रह हसिमा प्रकाशित गरेका थिएँ, त्यसपछि साहित्यवाट गुप्तबास लिए सरह भएं, कलम छोडेर बन्दुक लिएपछि कस्तो भाते निन्द्राले आधाकाम भइन्जेल सुतिएछ, निद्राबाट ब्यूँझिदा संगैको साथीहरु कहाँ पुगेछन् कहाँ, म पनि ब्यूँझिएर किराँती लोककथा र मुन्धुम खोज्दैछु।” लामो समय लाहुरमा बसेर फर्किएपछि मुन्धुम खोज्दै गरेका ८० वर्षीय धनाहाङ सुब्बाले आफ्नो कहानी सुनाउँदै भने। दार्जिलिङमा जन्मिएका यि लाहुरेले धेरै दशक अघिदेखि कलम चलाएका हुन्। प्रसिद्ध साहित्यकारहरु इन्द्रबहादुर राई, राधिका राय, लैनसिंह वाङदेल, काँशीबहादुर श्रेष्ठका सहकार्मी लेखक हुन् यिनी। यी साहित्यकारहरुले जस्तै परिस्कृत साहित्य लेख्थे त्यो ताका यी लाहुरेले पनि। ब्रिटिस सेनामा भर्ती भएपछि उनको लेखनीलाई असर गर्‍यो। ब्रिटिस सेनामा लेप्टेनेन सेना भएर पेन्सन पकाएर आए पनि लामो समय ब्रिटिसकै जागिरे भए।लाहुर र लाहुरेको जिवन सम्बन्धित कथा संग्रह सलामत जलान प्रकाशन गरेपछि यतिबेला लिम्वु संस्कृतिसँग सम्वन्धित लोक कथा र लिम्बु मुन्धुम खोजिरहेकाछन्। पूर्वको तेह्रथुम, संखुवासभा, इलाम, धनकुटा, ताप्लेजुङ जिल्लाहरु घुमेर उनले ६० जति लिम्वु संस्कृतिसँग सम्वन्धित लोककथा खोजीसकेकाछन् । दार्जिलिङ्ग स्थायी बसाई भए पनि यि लाहुरे यतिखेर धनकुटा बसेर लिम्बु सँस्कृतिको खोजी गरिरहेकाछन्। सबै लाहुरे पेन्सनपछि भोक विलासमा डुब्छन् तर त्यसो गर्न मेरो मनले मानेन, सास छउन्जेल लेखिरहन्छु उनी भन्छन्। त्यसो त यतिखेरका दार्जिलिङका चर्चित साहित्यकारहरु डा. जीवन नामदुङ, हरेन आले, मनप्रसाद सुब्बाहरु उनका साहित्यकाका विद्यार्थी थिए। दार्जिलिङका ‘दियालो’ भएका यी लाहुरे ८० वर्षको उमेरमा १६ वर्षको जोश बोकेर लिम्बु संस्कृति खोज्दै पहाडका गोठ र लिम्बु यावा फेदाङमाहरुको ओठ चहारी रहेकाछन्। लाहुरे भएर जीवनको उर्व समय विताएको उनलाई कहिलेकाँही पश्चताप लागेर आउँछ। यो जीवन बन्दुक बोकेर धेरै विताइयो, फेरी अर्को जिवन पाएँ, जिवनभर लेख्थे विगतलाई सम्झिएर उनी भन्छन्। जीबनप्रति यति ठूलो मोह भएका यी लाहुरे रातदिन सँस्कृति र मुन्धुमको खोजी गर्छन् उनलाई सुत्ने फुर्सद छैन। धेरै लाहुरेका घरमा महंगा रक्सी र सामान सजिएका पाइन्छन् तर उनको घर पुस्तकालय जस्तै छ। उनको एउटा गुनासो छ- लाहुरे भएर पैसा कमाइयो तर त्यो पैसाले आत्मा सन्तुष्टि दिएन, यो मर्न आएको जिन्दगीमा बाँच्ने काम गरेर जानु पर्ने रहेछ। लिम्बु हाक्पारे गीतहरु पनि धेरै खोजीसकेका छन् उनले। यी लाहुरेलाई लाहुरेप्रति एउटा गुनासो छ, हाम्रा लाहुरेहरु ५० रुपैयाको किताव किन्दैनन् बरु त्यसको साटो ५ सयको वियर खान दिन्छ। लाहुरेहरु पनि सृजनात्मक काममा लाग्नु पर्ने उनको तर्क छ।

Nov 2, 2007

सत्यहाङमा धर्मका धर्मगुरु फाल्गुनन्द

लिम्वुवानका समाजिक तथा संस्कृतिक संस्थाहरु

१.किरात याक्थुङ चुम्लुङ नेपाल
अध्यक्ष - अर्जुन नुगो


२.किरात धर्म तथा साहित्य उत्थान संघ
अध्यक्ष - डकेन्द्र सिंह थेगीम

३.किरात याक्थुङ माङगेना चुम्लुङ
अध्यक्ष - शशी चेम्जोङ्ग

४.विश्व याक्थुङ मुन्धुम समाज
अध्यक्ष - अर्जुन मावोहाङ्ग

५.लिम्वू विद्यार्थी मञ्च
अध्यक्ष - नविन वनेम

६.लिम्वू पत्रकार संघ
अध्यक्ष - अइन्द्र सुन्दर नेम्वाङ्ग

७.याक्थुङ कलकार संघ
महासचिव - विमल थेवे

८.किपट संरक्षण मञ्च
अध्यक्ष - मच्छिन्द्रवेघा

लिम्वूवानका राजनैतिक पार्टीहरु

१.लिम्वूवान विकास परिषद हङकङ - " लिम्वूवान मुक्ति मोर्चा "
--------अध्यक्ष

----प्रकाश यक्सो
-------------------------------------------------------------------------------------------------------------
२. लिम्वुवान राष्ट्रिय मोर्चा हङकङ
-------अध्यक्ष

------दिल पालुङवा
------------------------------------------------------------------------------------------------------------
३. लिम्वूवान स्वायत सरोकार मञ्च
-------अध्यक्ष

जय कुमार केरुङ्ग
------------------------------------------------------------------------------------------------------------
४. लिम्वूवान मुक्ति मोर्चा
--------अध्यक्ष

-----वीर नेम्वाङ्ग


५.लिम्वूवान राष्ट्रिय संयोजन समिति
अध्यक्ष - हरि चोङ्गवाङ्ग



६. संघीय लिम्वूवान राज्य परिषद
अध्यक्ष - सञ् जुहाङ्ग पालुङवा



७. लिम्वूवान सद्भाव मञ्च
अध्यक्ष - सेर वहादुर इङनाम



८. पल्लो किरात लिम्वुवान राष्ट्रिय मञ्च
अध्यक्ष - डम्वर लावती



९.लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चा
अध्यक्ष - श्री जवेगु



१०. नेपाल लोकतान्त्रिक लिम्वू मञ्च
अध्यक्ष - तिल कुमार मेन्याङवो



११. लिम्वुवान युवा संघ
अध्यक्ष - राम मादेन

Nov 1, 2007

लिम्वूवान लिम्वूहरुको जोडदार माग

नेपालको इतिहासमा लिम्वूवान अस्तित्वमा रहेको पाइन्छ । यो देश दश लिम्वूवान सत्र थुमको आधारमा सन्चालित थियो । दश लिम्वूवान भनेको अहिले परीकल्पना गर्न खोजिएको संघात्मक प्रणाली जस्तै संघीय प्रणाली हो । दशमा सात उपसंघ थपेर सत्रथुम वनाइएको हो । यसको प्रमुख केन्द्र सुरुमा पानथर हालको फिदीममा रहेको थियो । लिम्वूवान छैटौ देखि दशौं शताद्वि सम्म उवाहाङ,मावोहाङ,सिरीजंगहाङहरुले एक छत्र शासन गरेको पाइन्छ । त्यस्तै पन्ध्रौ सताद्वि देखि मोरङ राज्य शक्तिशाली राज्यहरुले पुन सम्पूर्ण लिम्वूवानलाई थुमीय आधारमा शासन गरेको देखिन्छ । त्यस वेलाका राजा साङलाईन थिए । उनले हिन्दु मत ग्रहण गरेको हुनाले विजय नारायण र्राई भए । र्राई भनेको तात्कालीन समयको राजाहरुले प्रयोग गर्ने समानार्थी शब्द थियो । त्यस्तै पुन सेन वंशी हुदै वि .सं.१८२५ मा वुद्घकिर्ण खेवाहाङ विजयपुरका लिम्वू राजा थिए । तत्पाश्चात संघीय लिम्वूवान राज्यहरुको केन्द्र विजयपुर बन्यो । वि.सं.१८३०तिर लिम्वूवानमा सत्र पटक गोर्खाका सेनाहरुले आक्रमण गरेका थिए तर लिम्वूवानका सेनाहरुले विफल तुल्याइ दिए । गोर्खाका सेनापति रघु रानालाई लिम्वूवानका वीर योद्घा काङसेरे लिम्वूले काटेर मारेका थिए । त्यस वेला सेनापति मात्र नभएर सम्पूर्ण सेनालाई समेत सोतर वनाएका थिए लिम्वूवानका सेनाहरुले । यस्तो अवस्था देखेर गोर्खाका राजाले लिम्वूवानलाई आफ्नो वनाउन भाईको रुपमा सम्झौता गरी स्वायत राज्य सन्चालन गर्न पाउने व्यवस्था गरीएको थियो । त्यस पछि पनि लिम्वूहरुले लिम्वूवानमा आफ्नो शासन कायमै राखे । वि.सं.१८३१ भन्दा अगाडी छुट्टै राज्य थियो तर वि.स.१८३१ वाट गोर्खा राज्यको सह राज्यको रुपमा रहन पुग्यो । यो क्रम वि.सं.२०२१ साल सम्म रह्यो । वि.स.ं२०२१मा राजा महेन्द्रवाट कथित भूमिसुधारको नाममा लिम्वूवान किपटको कुरा गरे । उक्त कुराको घोर विरोध गर्दा लिम्वूवानका नेताहरु जेलनेल परे । तर लिम्वूवानको आवाज निरन्तर रहि रह्यो । त्यसवेला किपट खारेजीको हवला दिए पनि वि.सं.१९३१ को लालमोहर खारेजी भएको थिएन । उक्त लालमोहर अझै पनि खारेजी भएको पाइएको छैन । त्यसैले लिम्वूवान कानुन वमोजिम अझै पनि अस्तित्वमा रहेको देखिन्छ । वि.सं. २०६२ / ६३ को जनआन्दोलन भाग २ ले नेपालमा जातिय स्वायत राज्य पुन स्थापना गर्न वाटो खुलेको छ । तर्सथ लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि झण्डै एक दर्जन लिम्वू राजनैतिक पार्टीहरु सक्रिय रुपमा लागि परेकाछन् । लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि राज्यवाट एक पटक वार्तामा वोलाए पनि त्यो वार्ता सफल भएन । तत्पाश्चात वार्ताको लागि राज्यले वेवस्ता गर्दै आएको छ । तर्सथ लिम्वूहरुले लिम्वूवान क्षेत्रमा आम हडताल साथै चक्का समेत गर्दै आएका छन् । उक्त हडतालको समयमा सरकारको क्रुर प्रहरीहरुले एक जना लिम्वू योद्घाको हत्या समेत गरी सकेको छन् । यदि वार्ता द्वारा लिम्वूवानको समस्या सुल्झाइएन भने भोलि त्यसले विकारल रुप लिएर ठुलो जन व्रि्रोह हुन सक्छ । सरकारले तुरुन्तै लिम्वूवान पुन स्थापनाको लागि ध्यान केन्द्रित गर्नु जरुरी छ । लिम्वूहरु जातिय अस्तित्व भाषा संस्कृतिको संरक्षण र देशको हरेक तह र ताप्कामा पहुच पहिचान र सहभागीता चाहान्छन् । त्यसैले सम्पूर्ण लिम्वूहरु लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि सरकार समक्ष जोडदार माग गर्दछ । र यो व्लग साइटको मुख्य उदेश्य पनि लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि व्यापक जन र्समर्थन जुटाउनु साथै भाषा संस्कृतिको सेवा साथै समचारमूलक कुराहरु सम्प्रेषण गर्नु रहेको छ ।