Aug 5, 2011

याक्थुङ(लिम्वु) धर्म संस्कारको अवसानको खतरा र जोगाउनु पर्ने आवश्यकता

दिल पालुङवा लिम्वु
शुरुवात
वर्तमान घडिमा आईपुग्दा याक्थुङ धर्म संस्कारमा ठूलो संकट आईपरेको छ । अव यही रुपमा छोडिदिने हो भने निकट भविष्यमा यसको इतिहास मात्र पढ्न सकिन्छ । त्यो पनि विभिन्न मत सहितको अर्थात वेढंगको इतिहास । थालनी व्यवहार सम्मत उदाहरणवाट गरौं । हङकङमा एक महिनाको अन्तराल अर्थात जुनको महिनामा नेपालका प्राध्यापक तथा कियाचु हङकङका भूपु सल्लाहकार तिलक थाङदेनको मृत्युसंगै अन्य दुइृजना लिम्वुहरुको मृत्यु भयो । मृत्यु हुनु स्वभाविक हो तर त्यसपश्चात गरिने परम्परागत विधी विधान अर्थात संस्कारका कुराहरुमा समस्या आईदियो । फेदाङमा नभएको ठाउमा फेदाङमाको खोजी तिव्र भयो तर कहां पाउने । हुनत यो समस्या पहिलेदेखिनै खट्केको थियो । एकदुइजना भएका फेदाङमाहरु प्नि कामले गर्दा भ्याउदैनन् । फेरी भएकाहरुपनि कर्म गर्न मान्दैनन् । त्यस्तै कोही फेदाङमा क्रिश्चीयन पनि भैसकेका छन् । यसो भएपछि कस्ले कर्म चलाउने । अनि खोजिन्छ तुम्याहाङहरु, त्यो पनि कहां भेटने – तसर्थ फसाद हुन्छ । यसपाली यस्तै समस्या आयो । यद्धपी एकजना फेदाङमालाई थाङदेनकोमा र एकजना तुम्याहाङलाई अर्कोकोमा व्यवस्था भयो वढो दुख कष्टकोसाथ ।
अव प्रशन उठ्यो अव हङकङेली लिम्वुहरु कहिलेसम्म यस्तो समस्याहरुमा परिरहने । कस्ले सोच्ने यसवारे । चुम्लुङले पनि यसवारेमा काम गर्न सक्ने स्थिती छैन । त्यसै कुरामा चिन्तित भएर म स्वयं नेपाल गएको वेला नेपाल चुमलुङको अध्यक्ष अर्जुन नुगो लगायतसंग धार्मिक पक्ष वारे छलफल चलाएको थिए । त्यस्तै लिम्वुवान स्वायत्तकोवारेमा । दुवैकुरामा गर्दै जाऔं मात्र आयो । त्यस्तै आफ्नै गाउ ताप्लेजुङ सिम्ले पुगे । त्यहा पनि फेदाङमाको अभाव देखे । भएका मरे, मर्दैछन् ।नयां निस्कने होईनन् । लिम्वुवानमा त यस्तो विकरालसमस्या छ भने हङकङ लगायत विदेशमा यसको समस्या स्वत हुनेनै परयो । यसै सम्झेर हङकङमा केहीसाथीहरु भूपेन्द्र चेमजोङ, हस्त मास्वा आदि हामी मिलेर एउटा याक्थुङमौलिक धार्मिक संस्थाको थालनी गरिरहेका छौं । हुनत म र भूपेन्द्र लगायतका कति साथीहरु नास्तिक हौं । यद्धपी समस्या आफैमाथि आईपर्दा आफ्नो संस्कार संस्कृतिको लागि केही गर्नुपर्ने रहेछ भन्ने लागेर आई मूर्तरुप दिन लागिएको हो । हाम्रो तदर्थ समितीले यसले गति लिन सकेको छैन । भविष्यमा लेला, आशा गरौं । हामीलाई चिन्ता लागेको छ । हामीजस्ता धेरै दाजुभाई दिदीवहिनहिरुलाई आफ्नोपन हराएर जान लागेकोमा चिन्ता छ । तर यसको समाधान के हो त ? त्यसको जरो पहिल्याउन सकिएको छैन । यो समस्याले गर्दा कतिपयहरु सत्यहाङमा भएका छन् ।त्यसलाई सवैले स्वीकार्न सकेका छैनन् ।किनकी त्यसमा मौलिकता भएको पाईदैन भनिन्छ । यसरी मौलिकता खोज्नेहरुको पनि दिनप्रतिदिन उधोगति जादैछ । कोही सत्यहाङमा पन्थलाई अगाल्नेभए । कोही दुवैलाई त्यागेर क्रिश्चियन भएका छन्, हुदैछन् । यो क्रम वढ्दो छ । यो क्रम विदेशमा वढी छ भने स्वदेशमा पनि भैरहेको छ । यही क्रम वढेर जाने हो भने भविष्यमा याकथुङ धर्म संस्कार संस्कृति लोप भएर जानेछ । यो अकाट्य हो । अनी आफ्नो वारेमा सोच राख्नेहरु चिन्तित नहुने कुरै भएन । अव भएर मात्र हुदैन, लोप हुनवाट जोगाउनुपनि पर्दछ । यसको लागि समाजका सचेत वर्गहरुनै लाग्नुपर्ने हुन्छ ।
अव के गर्ने ?
याक्थुङ धर्म संस्कार संस्कृतिको विचलन पहिले देखि नै भएको पाईन्छ । तर समाजका अगुवाहरुले यसलाई जोगाएरनै ल्याएर आए । जव किपट प्रथा वि.सं. २०२१ सालदेखि हडप गरियो । अनी सुव्वाहरुको प्रशासन समाजमा भएन । त्यो भन्दा अघि लिम्वु राज्य र राजा हुदा राजाहरुले धर्म कर्म थामेर ल्याएका थिए । त्यसपछि सुव्वाहरुले ल्याए । सुव्वा प्रथा हटेपछि लिम्वु समाजमा केन्द्रीय सरकारले ठाउ लियो । केन्द्रीय सरकार हिन्दू धर्मावलम्वी भएकोले सवैलाई हिन्दूधर्म मान्न वाध्य गराईयो । लिम्वुभाषा वोल्नेहरुलाई खस नेपाली भाषा वोल्न वाध्य गराईयो । संस्कार संस्कृतिमा हिन्दूकृत वनाईयो । समाज याक्थुङवाट नचलेर सरकारको प्रतिनिधि तथा पार्टीवाट चलाईयो । तर्सथ याक्थुङ धर्म संस्कृतिमा हिन्दू प्रभाव परेको हो । जव केन्द्रीय सरकारले स्थानीय याक्थुङ समुदायमा शासन गर्न शुरु गरयो । तव देखि गाउका अगुवाहरुपनि केन्द्र सरकारको माताहतमा चल्नुपर्ने भयो । समाज तथा समुदायको कार्य गर्न मिलेन । फेरी जाति केन्द्रित भएमा केन्द्रसरकारले कारवाही गरिहाल्थ्यो । अनी संरक्षण नपाएपछि धराशयी वन्ने कुरा भैहाल्यो । कहिले क्रान्तिकारी, आमुल परिवर्तनकारीहरु भन्दै आएर पनि याक्थुङ धर्म संस्कारलाई तहसनहस वनाईदिएका छन् । याक्थुङ समाज यसरीनै गुज्रिदै आएको छ । समाज पनि हत्याहाङमा(परम्परावादी) र सत्यहाङमा(सुधारवादी) भनेर विभाजित भएको छ । सुधारवादीहरुले हिन्दूवाहुनहरुको जस्तो देखिने कतिपय संस्कारहरु ग्रहण गरेको र यही चाही मौलिक हो भने पछि परम्परावादी र उनीहरु विच पानी वारावारको स्थिती आएर समाजलाई स्पस्ट रुपमा दूइ धारमा वांडेको छ । सत्यहाङमा संगठित भएकोले उनीहरुले धार्मिक सिस्टम वनाएर सोही मुताविक अगाडि वढिरहेका छन् । तर हत्याहाङमाहरु संगठित छैनन् । पुरानै वावुआमाले गरिल्याएको देखासिकीमा काम गर्दैछन् । फेदाङमा पनि हराउदै जानु र त्यसको विकल्प ल्याउन नसक्नु यो पक्षको समस्या भएर आएको छ । यो पक्षहरु परम्परालाई तोड्न चाहदैनन् । उनीहरु क्रमश आफ्नै ढंगले समाज सुधार पनि गरिरहेका छन् । पहिले भन्दा अहिले धेरै समय सापेक्ष सुधारहरु भएका छन् । जस्तै जांडरक्सी खान छोडेका छन् । रितभात पनि खान छोडेका छन् । फजुल खर्चहरु कम गर्दैछन् । यद्धपी यो धारको स्थिती यस्तै परम्परागत रुपमा चल्दै गएमा धराशयीको सम्भावना चाडै आउदैछ । त्यसको लागि निम्न कार्य गरिहाल्नुपर्ने हुन्छ ।
धार्मिक संगठनको स्थापना
माथिल्लो अध्यायहरुमा पनि उल्लेख गरिएको छ कि पहिले राजाहरुले, पछाडि सुव्वाहरुले तथा अगुवाहरुले याक्थुङ धर्म संस्कारको कार्य गर्दथे । तर अहिले समाजमा त्यो खालको स्थिती छैन । जातीय मिश्रणको वसोवास आदिले पनि यस्ता समस्याहरु निम्त्याईरहेको छ । कोही हिन्दू मान्ने वाहुन क्षेत्री वस्दछन् । कोही नेवार वस्दछन्, कोही वुद्धिस्ट वस्दछन् । यस्तो छासमिस वसाईमा आफ्नो धर्म संस्कार गर्न एक्लै समस्या आउदछ । उसको समुदायसंग सम्पर्क गर्न टाढा जानुपर्दछ । यसर्थ समाजमा यस्ता कार्य सञ्चालन गर्ने नहुदा यो धराशयी वन्ने कुरा भैगयो । यस्तै यस्तै समस्याहरुले गर्दा याक्थुङ परम्परावादीहरुले मौलिक धर्म संस्कार संस्कृतिको वचावटको लागि एक धार्मिक संस्था संगठन निर्माण गर्न नितान्त आवश्यकता छ । तव यो संस्थाले धार्मिक कार्यहरु गर्न सकोस । यसले फेदाङमा उतपादन गर्नेछ । त्यो नभएमा विकल्पहरु खोज्नेछ । धार्मिक सामाग्रीहरुको निर्माण तथा प्याटेन्ट र्राईटहरु आफ्नो हातमा राख्न सक्नेछ । समाजको पविर्तनसंगै समय र परिस्थिती अनुसार कार्य गरेर आफ्नो मौलिकता जोगाइरहनेछ ।यस संस्थाले वर्तमान केही समस्याहरुको पनि निदान गर्नेछ । ती समस्याहरुमा धर्मको नाम र संस्कार संस्कृतिमा सुधार पर्दछन् ।
धर्मको नाम
याक्थुङहरुको धर्मको नाम छैन । धर्मको महलमा लेख्नुपर्दा अलमल्ल परिन्छ । के लेख्ने, के नलेख्ने । छोराछोरीले सोच्छन् कोही क्रिश्चियन, कोही मुस्लिम, हामीचाही के हो ? यसको उत्तरमा हाम्रो छुट्टै हो । अं.. यूमा हो, कसैले किरात हो..अ. यस्तै यस्तै भन्यो । कुरो स्पस्ट हुदैन । म स्वयं यो समस्यावाट ग्रसित छु । कतिसमयसम्म छोरालाई आं...उं... गरेर भन्ने - पहिले युमा धर्म भन्ने चलन थियो । कसैले योत नाम होईन देवी मात्र हो भन्दछन् ।त्यसैले अर्जुन थक्लुङहरु याकथङुहरुको धर्मको नाम मुन्धुम हो भन्दछन, अर्जुन मावोहाङ(धरान) र सिक्किमका लिम्वुहरु युमा धर्म भन्दछन् । सत्यहाङमाहरु किरात भन्दछन् । दिल पालुङवाहरु येहाङ धर्म भन्दा उपयुक्त हुने तर्क राख्दछन् । यीनीहरुमा आ आफ्नै तर्क छन् । युमा र इस्टदेवी हुन । परम्परागत रुपमा मान्दै आएको हो । यी सर्वोच्च देवी भएकीले यीनको नाममा राखिएको हो । मुन्धुम भनेको हल्लिएर शक्ति उत्पन्न हुने शाव्दिक अर्थ लाग्दछ । यसको अर्थ सत्य भन्ने पनि लाग्दछ । त्यसैले यो नाम रहनुपर्दछ । किरात भनेको किरात समुदायहरुले मान्ने भएकोले किरात भनिएको हो । येहाङ भनेको याकथुङहरुको आदि पुरुष हुन् । उनले याक्थुङहरुमा सवभन्दा पहिले धर्म,कर्म संस्कार संस्कृतिको कुराहरु सिकाए । देउदेउतालाई पुजा गर्नै तरिका वनाएर समाजमा लागुगरे । हालसम्मको याकथुङ समाज, धर्म कर्म, संस्कार संस्कृति यीनै येहाङका देन हुन् । यसभित्र दर्शनै दर्शनको अथाहा सागर छ । युमा, मुन्धुम, किरातका दर्शनहरु यही येहाङ दर्शन हुन । त्यसैले विश्वमा यस्ता दर्शनदाताहरु वुद्ध, क्रार्इस्ट आदिको नामवाट चलेको धर्मको नामझै येहाङ हुन सक्ने येहाङवादीहरु वताउछन् । यीनै येहाङको दर्शनवाट क्रिश्चियन, वुद्धिष्ट, मुस्लिम, हिन्दूहरु सञ्चालित छन् । येहाङ सृष्टिकालिन भएकोले सवैले उनवाट केही न केही ग्रहण गरेका छन् । यर्सथ लिम्वु धर्मको नामहरुको पनि किटानी मौलिकपाराको हुनुपर्दछ । किरातमा याकथुङ मौलिकपन नभएको तर्क सवैको रहेको छ । मुन्धुम शास्त्रको अर्थमा व्यक्त्याएको पनि पाईन्छ । यी सवै कुराहरुलाई मध्यनजर लगाउनु सान्दर्भिक हुनेछ ।
संस्कार संस्कृतिमा सुधार
याक्थुङ संस्कार संस्कृतिमा केही सुधारको खांचो पर्दछ । कतिपय संस्कार संस्कृतिहरु समयको वहावसंगै पविर्तित हुने गर्दछन् । कतिपयलाई समयानुसार परिमार्जन गर्नुपर्ने हुन्छ । जस्तै रितभातको कुरा अहिलेको घडिमा सान्दर्भिक छैन । तर तत्कालिन लागु गरिएको समयमा समय सापेक्ष थियो । छोरीचेलीलाई दूख दिने ज्वाईंलाई ठेगानमा ल्याउन र छोरीचेलीलाई उक्त रितभातवाट लिईएको सुन तथा रकम छोरीलाई भैपरिआएको परिस्थितीमा दिईन्थ्यो । त्यसले याक्थुङ समाजमा छोरी चेलीलाई दुख दिने क्रम, वहुविवाह गर्ने क्रममा सुधार भएको थियो । तर यसलाई आजकल नलिएर छोरी चेलीलाई सहयोग गर्ने चलन चल्न थालेको छ । त्यस्तै विहा वर्खीमा फजुल खर्च गर्ने चलन छ । वढी पुजापाठ गर्ने चलन छ । जांडसक्सीको वढी प्रयोग छ भने कतिपय राम्रो र शिस्टाचारका कुराहरु प्रचलनवाट हट्दै गएका छन् । घर परिवारमा सिकाईने सस्कार, समाजमा सिकाईने सस्कार, राष्ट र राज्यका लागि सिकाईने सस्कारहरु प्रयोगमा छैनन् । युमाको थान हुनुपर्ने ठाउमा र्साईवावा र जीसस आदिका फोटोहरु छन् । मुन्धुमको ठाउमा संस्कृत, नेपाली भाषा त वाईवल रामायण, गीता, भगवत पुराण छन् । उनीहरुको सम्मान आफ्नो ठाउमा छ । तर आफ्नो आफ्नै मौलिकता हुदाहुदै त्यो पनि संसारकै उत्कृस्ट मुन्धुम हुंदाहुदै पनि हामी अलमल्ल परेर वाटो विराईरहेका छौं । भेषभुषामा, लवाईखवाईमा पनि सुधार गर्नुपर्ने हुन्छ । पुजापाठका सामानहरुपनि सुधारेर निर्माण गर्नुपर्ने हुन्छ । जस्तो शहरवजारको विल्डिङ घरहरुमा वांसको तङवा गाडिदैनन् । त्यस्तै थाल ठटाएर कतिपय कार्यहरु गर्न पनि समस्या भैरहेका छन् । फेदाङमाको उत्पादन, मैखिकलाई लिखितमा ढाल्नु पर्ने मुन्धुमहरु, यी मुन्धुमहरुमा थोरवहुत फरकता पनि पाईन्छ । त्यो पनि मिलाउनुपर्ने देखिन्छ । यस्ता धेरै कुराहरु छन् हामीले गर्नुपर्ने । तसर्थ यो कार्य धार्मिक संगठनले मात्र गर्नसक्नेछ ।
अन्त्यमा
यी माथिका कुराहरुलाई मध्यजर गर्दा याक्थुङ धर्मसंस्कारमा धेरै विचलन आएको छ । यसलाई समयमानै निराकरण गर्नुपर्ने हुन्छ । त्यसको लागि अरु कसैले आएर गर्नेवाला छैन । सवैलाई चिन्ता पनि लागदैन । एक शोक एक भोगका मान्छेहरु पनि समाजमा हुन्छन् । उनीहरु जे परे पर्छ उही र्टछ भन्ने गर्दछन् । त्यसैले यस विषयप्रति चिन्तित, सम्वेदनशिल अस्तितववादीहरुनै लाग्नु पर्ने हुन्छ । यसमा भौतिकवादीहरु पनि कदापी लाग्दैनन् । यसर्थ तत्कालै याक्थुङ धर्म संस्कार संस्कृतिको अस्तित्व वजावटको लागि कार्य गरिहाल्नुपर्ने देखिन्छ । यसको लागि लिम्वुवान लगायत विदेशमा रहने सवै याकथुङ लिम्वुहरु लागि परौं । सेवारो ।

No comments:

Post a Comment