Mar 20, 2010

गिरिजाप्रसाद कोइरालाको जीवन गाथा

तिलक पाठक
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८६ वर्षको उमेरमा शनिबार मण्डिखाटारस्थित छोरी सुजाताको निवासमा देहावसान भयो। नेपाली कांग्रेसका सभापति एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका कोइरालाको जीवन अन्तिम अवस्थासम्म सक्रिय रह्यो।जमानाका 'चेन स्मोकर' कोइरालालाई दिनको तीन बट्टासम्म चुरोट चाहिन्थ्यो। तीन वर्षअघि चिकित्सकको सल्लाहमा सिगार छाडे पनि धूमपानको लतले उनलाई गाँज्यो। फोक्सोमा भएको संक्रमण कहिल्यै नियन्त्रणमा आएन। १९८१ असार १८ गते बिहारको (टेढी) दीपनगरमा जन्मिएका कोइरालाले प्रारम्भिक शिक्षा विराटनगरबाट लिएका हुन्। बनारसबाट 'म्याटि्रकुलेसन', बेसेन्ट कलेज हुँदै बनारस हिन्दू विश्वविद्यालयमा अध्ययन गरेका उनी मनमोहन अधिकारीलगायतको संगतले कोइराला कम्युनिस्टतिर तानिए। दाजु बीपी कोइरालाले सम्झाएपछि उनमा कम्युनिस्टप्रति संशय बढयो। र, कांग्रेसको राजनीतिमा सक्रिय रूपमा लागे। विराटनगर फर्किएपछि कटन मिलमा काम थाले। र, त्यहीँबाट मजदुर आन्दोलन चलाए। आन्दोलन चलेको २१ दिनपछि पक्राउ परे। उनलाई पद्मशमशेरको काठमाडौ"स्थित विशालनगर दरबारमा राखियो। केही समयपछि छुटे। फेरि विराटनगरमै पक्राउ परे पनि जेलबाट भाग्न सफल भए। ००७ साले राणा शासनविरोधी जनक्रान्तिमा राजनीतिक कमिसार रहेका कोइराला प्रजातन्त्र बहाली भएपछि भने 'हाई प्रोफाइल'मा रहेनन्। केही समय शोखका रूपमा फोटोग्राफी गरे। त्यसैबेला परिवारको विरोध हुँदाहुँदै कलकत्ता पुगी सुषमा उपाध्यायसँग भागी विवाह गरे। कोइरालाकै घरमा डेरा गरेर बस्ने सुषमा त्यतिबेला विराटनगरस्थित नारी जागृति स्कुलमा पढाउँथिन्। २०१७ सालसम्म कोइराला मोरङ कांग्रेसको सभापति र केन्द्रीय समिति सदस्य भइसकेका थिए। शाही 'कु' सँगै पक्राउ परे। त्यसको ६ वर्षपछि भाइ तारिणीप्रसाद कोइराला, कांग्रेस महामन्त्री श्रीभद्र शर्मालगायत नेता 'शान्तिपूर्ण किसिमबाट बस्ने' कागजमा हस्ताक्षर गरेर छुटे। तर, उनी त्यता लागेनन्। एक वर्षपछि आमरण अनसन गरेर जेलबाहिर निस्के।सशस्त्र क्रान्तिबिना नेपालमा प्रजातन्त्र बहाली हुन नसक्ने बीपी र कांग्रेसको निष्कर्ष रह्यो। सशस्त्र क्रान्तिको कमान्डर थिए, गिरिजाप्रसाद कोइराला। सेना बनाउनेदेखि तिनलाई खुवाउने र हतियार बटुल्ने जिम्मा उनकै थियो। सेनालाई खुवाउने र हतियार बटुल्न सकस परेपछि जहाज अपहरणको योजना बनाएको कोइरालाले एक टेलिभिजन कार्यक्रममा स्विकारेका छन्। प्लेन अपहरण योजनामा बीपीको स्वीकृति लिएका थिए उनले। उनको योजनामा दुर्गा सुवेदी, वसन्त भट्टराई, चक्र वास्तोलालगायत युवाको साथ थियो। अपहरणबाट लुटिएको पैसा बीपी कोइराला बस्ने ठाउँमा दार्जिलिङ पुर्‍याए।सशस्त्र क्रान्तिकै बेला कोइरालकै पहलमा कांग्रेसले ओखलढुंगा कब्जा योजना बनायो। तर, ओखलढुङ्गा काण्डले ठूलो क्षति पुर्‍याएपछि कांग्रेसले सशस्त्र क्रान्तिको बाटो छाड्यो। मेलमिलाप नीति लिएर २०३३ पुसमा स्वदेश फर्कनुअघि बीपीले पटना विमानस्थलमा कोइरालालाई पार्टीको महामन्त्रीमा नियुक्त गरेको पत्र थमाए। 'म जेल पर्न सक्छु, मर्न पनि सक्छु। तेरो नियुक्ति पत्रबारे म नेपाल प्रवेश गरिसकेपछि मात्र अरूलाई जानकारी गराउनू,' दाजु बीपीले उनलाई भनेका रहेछन्।बीपी त्रिभुवन विमानस्थलमै पक्राउ परेपछि कोइरालाले सीमा आसपास कांग्रेसको संगठन विस्तार गरे। राजा र बीपीबीच जनमत संग्रह गर्ने र प्रवासमा रहेका कांग्रेस नेतालाई आम माफी दिने सहमति भएपछि स्वदेश फर्के। ०४२ को सत्याग्रह होस् वा ०४६ को जनआन्दोलनमा उनको नेतृत्वदायी भूमिका रह्यो। ०४६ फागुन ७ मा गणेशमान सिंहको घरमा भएको कांग्रेस सम्मेलनले जनआन्दोलन थाल्ने निर्णय गर्‍यो। प्रजातन्त्रको पुनर्बहालीपछि चैत २६ गते टुँडिखेलमा दिएको उनको भाषणको चौतर्फी आलोचना भयो। 'प्रजातन्त्रको लडाइँमा कसैको हार हुँदैन सबैको जित हुन्छ। त्यसैले आज सम्पूर्ण नागरिकको जित भएको छ। यो जित भनेको राजा र पञ्चहरूको पनि जित हो,' कोइरालाले यसो भन्नेबित्तिकै उनीमाथि ढुंगा, जुत्ता र चप्पल बर्सियो। त्यसपछि उनले भाषणै रोक्नुपर्‍यो। २०४८ सालको आम चुनावमा कृष्णप्रसाद भट्टराईको चुनावी पराजयपछि सत्ताको बागडोरको जिम्मा कोइरालाकै काँधमा पुग्यो। पार्टीको सुविधाजनक बहुमत हुँदाहुँदै ०५१ सालमा उनले प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरे। उनको कदमले सबैभन्दा ठूलो दलको हैसियतले एमाले सत्तामा पुग्यो। यद्यपि अल्पमतको सरकार भएका कारण नेपाली राजनीतिमा अस्थिरता सुरु भयो। त्यसपछि 'पञ्चायती नायक' लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई आलोपालो प्रधानमन्त्री बन्ने अवसर मिल्यो। त्यतिबेला कोइरालाले संसद्मा भाषण गरे, 'हिजो मैले यो जित भनेको पञ्चहरूको पनि हो भन्दा ढुंगा, इँटा र जुत्ता खाए"। आज तिनै पञ्चायतका प्रधानमन्त्री चन्द र थापा प्रधानमन्त्री भएका छन्। त्यो बेला सत्य बोल्दा तपाईंहरूले मलाई जुत्ता हान्नुभयो।' उनको भनाइ संसद्मा रहेका एमाले र तिनका नेताहरूप्रति लक्षित थियो। त्यतिबेलासम्म कोइरालाको छवि नै कम्युनिस्टविरोधी थियो। कुनै बेला उनले भनेका थिए, 'माले, मसाले र मण्डले एकै हुन्।' प्रधानमन्त्री भएका बेला एमालेले धेरैपटक सदन र सडक आन्दोलन गर्‍यो। माओवादी सशस्त्र युद्धमा आक्रोशको तारो पनि उनै थिए। किलो सेरा टुलगायत प्रहरी कारबाही चलाएका कोइराला नै माओवादीको पहिलो नम्बर शत्रु थिए। एमालेले दासढुंगा दुर्घटना र माओवादीले दरबार हत्याकाण्डमाउनको नाम मुछेर राजनीतिक अभियानै चलाएका थिए। तिनै कोइराला जीवनको आखिरी खण्डमा एमाले र माओवादीका समेत साझा र प्रिय नेता बन्न पुगे। सशस्त्र हिंसामा रहेको माओवादीलाई राजनीतिक मूलधारमा ल्याउनेदेखि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारको नेतृत्वमा पुर्‍याउन उनकै भूमिका रह्यो।कोइराला मुलुकका सबै राजनीतिक दलका भरोसाका पात्र थिए। 'प्रजातन्त्र एकथरीका लागि मात्र होइन,' कोइराला भनिरहन्थे, 'एकथरीको मात्र ठान्नेहरूले तानाशाही शासन व्यवस्थाको प्रतिनिधित्व गर्छन्।' राजनीतिमा ६ दसकभन्दा बढी सक्रिय कोइरालामा 'भनेको कुरा गरेरै छाड्ने' स्वभाव थियो। राजा ज्ञानेन्द्रको सक्रिय शासनताका निरन्तर चर्काे आलोचना गर्ने र अडान नछाड्ने एक्लो नेता हुन्, कोइराला। भ्रष्टाचारको अभियोगमा सर्वाेच्च अदालतले प्रस्टीकरणको आदेश दिँदा उनले सार्वजनिक रूपमै भनिदिए, 'सुप्रिम कोर्ट निरीह र विवेकशून्य भएको छ। म एउटा सुझाव दिन चाहन्छु, सुप्रिम कोर्टलाई नारायणहिटी दरबारभित्र लगे हुन्छ। म अख्तियारमा बयान दिन जान्नँ बरू जेल जान्छु।' अदालतको फैसलालाई प्रायोजित भएको संज्ञा दिँदै उनले भने, 'मेरो मनोबल गिराउने चेष्टा हो भने यो भूल हो। राजाले त्यो दिवास्वप्न नदेखे हुन्छ।' मनमा लागेको कुरा नहिच्किचाइकन बोल्ने कोइरालाको विशेषता निरन्तरता, दौडाहा र अडान हुन्। ०६२/०६३ को जनआन्दोलनका कमान्डर कोइरालाले संसद् पुनर्स्थापनाको रोडम्यापमा सबैलाई हिँडाएर छाडे। लोकतन्त्रको पुनर्स्थापनासँगै कोइरालाले सरकार प्रमुखको जिम्मेवारी मात्र सम्हालेनन्, नेपाली राजनीतिको मियो बन्न सफल भए। अन्तरिम संविधान जारी गर्दै संविधानसभाको चुनाव गराए। त्यही संविधानसभामार्फत गणतन्त्र घोषणा गरेर राजतन्त्रको शान्तिपूर्ण अन्त्य गराएर मुलुकलाई नयाँ युगमा प्रवेश गराए। पछिल्लो समय शान्ति प्रक्रिया र संविधान निर्माणको लक्ष्य लिएर निरन्तर रूपमा लागिरहेका कोइरालालाई नेपाल सरकारले 'लोकतान्त्रिक आन्दोलनका शिखर पुरूष' को संज्ञा दिएको छ। सत्तामा रहँदा ज्यादै अलोकप्रिय कोइरालाको छवि सिंहदरबार र बालुवाटारबाट बाहिरिनेबित्तिकै उँचो हुन्थ्यो। कोइरालाले भन्दै आएको र रहस्य नखोलेको विषय चाहिँ दरबार हत्याकाण्डको 'ग्य्रान्ड डिजाइन' हो। यो अमूर्त प्रसंग कोइरालाले पटक पटक दोहोर्‍याए। समय आएपछि रहस्य खोल्ने दाबी पनि गरे। तर, उनको जीवनकालमा त्यो समय कहिल्यै आएन। कोइरालाले कहिल्यै पनि सम्झौतापरस्त राजनीति गरेनन्। माओवादीविरूद्ध सेना परिचालन गर्न नचाहने दरबारको नीतिसँग असहमति बढ्दै जाँदा २०५८ असारको होलेरी काण्डपछि कोइराला राजीनामा दिन बाध्य भए। त्यसपछि सुरू भएको द्वन्द्व असोज १८ पछि चुलियो। र, माघ १९ को कदमपछि पूर्णरूपमा विद्रोही भए। संविधानसभा, गणतन्त्र, संघीय प्रणालीलगायत राज्यको पुनर्संरचना गर्न माओवादीले अघि सारेको अग्रगामी एजेन्डालाई राजनीतिक नेतृत्व दिने काम गरे। पाँचपटक प्रधानमन्त्री भएका कोइराला आठ वर्षभन्दा बढी समय प्रधानमन्त्री भए। कोइराला ०५३ देखि लगातार तीनपटक कांग्रेसको सभापति बने। धमिजा प्रकरणदेखि लाउडा काण्डसम्म विपक्षी दल एमालेले उनको राजीनामा माग्यो। तर, कुनै खालको दबाबमा परेर उनले पद छाडेनन्।कोइरालाका कमजोरीले पार्टी समेत विभाजन भयो। पार्टीभित्रका आलोचकसँग उनले सन्तुलित सम्बन्ध राख्न सकेनन्। गणेशमान सिंहसँगको टकराव होस् वा कृष्णप्रसाद भट्टराई वा शेरबहादुर देउवासँग द्वन्द्व यसकै नमुना हुन्। यद्यपि, आफ्नै कार्यकालमा उनले पार्टीलाई एकीकृत बनाए। पछिल्लो समय कोइरालाको राजनीतिक रटान थियो, सहमति, सहकार्य र एकता। 'राजनीतिक स्थायित्वका लागि शान्ति र संविधान निर्माणपछि पनि कम्तीमा दस वर्षसम्म राष्ट्रिय सहमतिको राजनीति गर्नुपर्छ,' उनी भनिरहन्थे। तर, दलहरूबीच राष्ट्रिय सहमति गराएर शान्ति प्रक्रियाको तार्किक निष्कर्ष र संविधानसभामार्फत जनताको संविधान बनाउने उनको सपना अधुरै रह्यो। आशा गरौँ, शान्ति र संविधानको जिम्मेवारी समयमै पूरा गरेर प्रमुख राजनीतिक दलहरूले कोइरालाको सपना साकार पार्नेछन्।
(१९८१ असार १८- २०६६ ७ गते)
कोइरालाको कार्यकाल
२०४८ जेठ १५ - २०५१ मंसीर १३
२०५५ वैशाख २ - २०५६ जेठ १६
२०५६ चैत ८ - २०५८ साउन १०
२०६३ वैशाख १२ - २०६५ साउन ३१
बीपीको आँखामा जीपी कोइराला
• १९४७ मार्चको कुरा हो। जनवरी २५ मा नेपाली राष्ट्रिय कांग्रेस बन्छ र मार्चमा आन्दोलन सुरु हुन्छ। त्यो आन्दोलन गिरिजाको नेतृत्वमा भएको थियो। मजदुरहरुको कुनै अधिकार थिएन। मिल मालिकले जे मन लाग्यो, गर्थ्यो। गिरिजाहरु त्यस मिलमा कारिन्दाको काम गर्थे। गिरिजा, तारणी, मनमोहन अधिकारी, युवराज, यिनीहरु सबै त्यस मिलका कर्मचारी थिए। 'त्यो नेपालको भूमिमा खुला रुपले निर्धक्क भएर सरकारको अवज्ञा गरेको पहिलो आन्दोलन थियो।
• गिरिजाकी दुलही सुषमा आगो लागेर मरेकी थिइन्। त्यस काण्डको वेदनालाई गिरिजा ध्यानै नदिएर यो सारा कुरा मिलाएर वार्तामा लागिरहेको थियो। र, गिरिजाको महत्व त्यस बखतमा देखिएको थियो। गणेशमानजीले भन्नुभयो, गिरिजा यत्रो कुशल वार्ताकार हो भन्ने मलाई थाहा थिएन, राजनीतिक रुपमा त्यति परिपक्व छ भन्ने लागेको थिएन। (विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्तवाट)

No comments:

Post a Comment