Mar 13, 2010

काइँलाका तगारा

विमल भौकाजी
कैयन् वर्षको अन्तरालपछि कवि वैरागी काइँलाले एउटा कविता लेखे, 'शरणार्थी विचार र मालीगाउँमा चितुवा' । अत्यन्त प्रतीकात्मक तवरले लेखिएको उक्त कविता शारदामा छापेका थिए । नागरिक जो अनागरिक बनेर शरणार्थीको रूपमा बाँचेको छ । तथापि ऊ देशको आदिवासी हो- उसलाई देशमा कथित उँचो जातिविशेषले थिचोमिचो गरेर राखेको छ र ऊ निरन्तर लखेटिइरहेको छ, भौंतारिइरहेको छ देशभित्रै ऊ र मारिने क्रम-उपक्रममा अन्ततः मारिएको छ । उही बेला मालीगाउँमा बाटो भुलेर प्रवेश गरेको एक चितुवालाई गोली हानेर ढालिएको थियो । कवितामा वैरागी काइँला त्यही चितुवामा आफ्नो उपस्थिति खोज्छन्-
......गौरवगाथा लुटिएर श्रीहीन
हामी प्रकृतिका सन्तति, घरबारविहीन
विस्थापित शरणार्थी चिन्तन
यो चितुवाको तन
यो आदिवासी मन.......
जातिगत दृष्टिले किरातहरूलाई 'चितुवा'को रूपमा हेरिने परम्परालाई बडो रोमाञ्चकारी ढङ्गले वैरागी काइँला कवितामा प्रस्तुत भएका छन् । आफूलाई चितुवाको प्रतीकमा देश खोज्दै हिँडेको शरणार्थी मानेका छन् । र यतिखेर एउटा रमाइलो संयोग बनेको छ- मालीगाउँमा मृत्यु भोगेको भनिएको चितुवा मरेको रहेनछ । आफूलाई चितुवा भनाउने उनै वैरागी काइँला नेपाल प्रज्ञा-प्रतिष्ठानमा कुलपति बनेका छन् । त्यसो त उनले भनेका छन्- म यति ठूलो भारी बोक्न सक्तिन होला । यो उनको विनम्रता पनि हुनसक्छ वा उमेरको कारणले यथार्थता प्रकट गरिएको पनि हुनसक्छ । सत्ताको लुछाचुँडी, भागबन्डा, भनसुन, चाकडी-चाप्लुसीको विसङ्गतपूर्ण परिवेशमा उनको यो भनाइ आश्चर्यजनक लाग्न सक्छ ।
प्राज्ञविहीन प्रज्ञा-प्रतिष्ठानले वैरागी काइँलाजस्ता व्यक्तित्वको संरक्षण प्राप्त गरेको छ । तर उनका सामु ठूलठूला चुनौतीहरू तगाराका रूपमा खडा छन् । पार्टीको भागबन्डामा प्राज्ञहरू चयन भएका छन्,
तिनको तालमेल मिलाएर अघि बढ्नुछ, उनलाई । विषयहरूलाई प्राज्ञ कमिटीबाट 'पास' गराउन कत्तिको समर्थ हुन्छन् उनी ?
उनी आजको स्थितिमा विवादमुक्त साहित्यिक व्यक्ति हुन् । जनआन्दोलनताकाका सर्वाधिक उँचो साहित्यिक आन्दोलनकारी पनि हुन् । यस दृष्टिकोणले नयाँ बनेको प्राज्ञ कमिटीमा सबै सदस्यहरूले उनलाई सघाउन आवश्यक छ । यसका लागि उनले प्रज्ञा-प्रतिष्ठानमा विगतका प्राज्ञहरूले झैं आफूखुसी काम गर्ने छैनन् भन्नेमा सबैलाई विश्वास दिलाउनुपर्छ ।
भत्केकोलाई सपार्नु कठिन कार्य हो । प्रज्ञा-प्रतिष्ठान भौतिक संरचनाको दृष्टिले एउटा सिङ्गो आवरणमा देखिए पनि भित्री रूपले क्षतविक्षत भइसकेको संस्था हो । प्रशासनिक क्षेत्रमा समेत त्यसको असर देखिन्छ । केही अघि सार्वजनिक भएको तथ्याङ्कले करोडौं रुपैयाँ विनामतलब दुरुपयोग भएको देखाएको थियो । कर्मचारीतन्त्र बलियो भइसकेको ठाउँ हो, प्रज्ञा-प्रतिष्ठान । त्यो आर्थिक हिनामिनाको क्षतिपूर्ति कसरी गर्न सक्ला, यो कमिटीले ?
नवनियुक्त प्राज्ञहरू राजनीतिक भागबन्डाका अंश हुन् । कर्मचारीहरू पनि राजनीतिक चेतनाबाट विमुख छैनन् । कर्मचारी र प्राज्ञहरूबीच कत्तिको आपसी समझदारी रहने हो ? राजा महेन्द्रले खडा गरेको प्रज्ञा-प्रतिष्ठानमा उनकै सालिक फोडिएको कटु यथार्थबीच कर्मचारीहरूसँग आ-आफ्नै राजनीतिक पार्टीका झण्डाहरू फहराउने अधिकार सुरक्षित छ, यो लोकतन्त्रको समय हो । कलम बन्द, घेराउ र हडताल त्यहाँ पनि लागू नहुने कुनै ग्यारेन्टी छैन । पुलिस प्रशासनको शक्तिको कुनै अर्थ छैन । समय यस्तो छ, जोकसैले समूहगत रूपमा प्राज्ञहरूलाई कुनै विशेष निहुँ बनाई मूलगेटबाटै प्रवेश निषेध गराउन सक्छ । त्यस्तोमा पाइला अड्कलेर चाल्नसक्ने विवेक यो कमिटीको आदर्श बन्न सक्ला ?
वैरागी काइँला र उनका सहयात्रीहरूले प्रज्ञालाई साँच्चैको प्रज्ञा-प्रतिष्ठान बनाउन आफैंले दह्रो खुट्टा टेकुन् ।
इकान्तिपुरबाट

No comments:

Post a Comment