Jan 23, 2010

कोचिला र कोच राजवंशको संक्षिप्त इतिहास

प्रकाश यक्सो (लिम्बू)
आजभन्दा ठीक तीनवर्षअगाडि अर्थात २२ भदौ, २०६३ मा नेकपा माओवादीले नेपालको सुदूरपूर्वी लिम्बूवान-मोरङ थुमका तीन जिल्लाहरु (झापा, मोरङ र सुनसरी) लाई मिलाएर जातीय आधारमा कोचिला राज्यको प्रस्ताव अघि सारेको थियो । झापा जिल्लाको कलबलगुडीमा सम्पन्न भएको कोचिला राष्ट्रिय मुक्ति मोर्चाको तीनदिने राष्ट्रिय सम्मेलनमा माओवादीका देव गुरुङ र हितमान शाक्य आदि नेताहरुले यस्तो निर्णय गरेका थिए । त्यतिबेलासम्म माओवादीको संघीय झोलामा लिम्बूवान अटाउन सकेको थिएन । उसले लिम्बूवानको सम्पूर्ण अस्थित्वलाई किरातमा विलय गरिदिएको थियो । उसबेला माओवादीले कोचिलाको बारेमा पढेको र जानेको कुरा के रहेछ भने १५ औं शताब्दीमा विजयसिंह (विश्वसिंह) कोचले स्थापना गरेको कुच विहार राज्यमा कोशीसम्मको तराई क्षेत्रका तीन जिल्लाहरु अर्थात् झापा, मोरङ र सुनसरी परेका थिए । सुगौली सन्धिले मेचीलाई सीमाना निर्धारण गर्यो । विजयसिंहको कोच राज्य अंग्रेजहरुको साम्राज्य विस्तारको चपेटामा परेपछि विखण्डित भयो । यिनै आदि विषयलाई आधार मानेर माओवादीले कोचिला राज्यको प्रस्ताव ल्याएको रहेछ । जबकि त्यतिबेला लिम्बुवानको मोरङ थुममा साङलाइङ वंशको राजाहरुले राज्यशासन गर्दै थिए । इमानसिंह चेम्जोङले उल्लेख गरे अनुसार "वि. सं. १४२१ सालदेखि यो मोरङ तराईमा अर्कै साङलाइङ नाम भएका एकजना लिम्बू राजाले राज्य गर्दै थिए । उनको दरवार बाराताप्पा नै थियो । उनले आफ्नो देशको सीमाना पूर्वमा टिस्टा नदी, पश्चिममा कोशी नदी, उत्तरमा साँगुरीगढी र दक्षिणमा जलालगढ राखेका थिए ।" यिनै साङलाइङ वंशका लिम्बू 'राय' राजाहरु क्रमश पुङलाइङ लिम्बू (हिन्दूमत ग्रहण गरेपछि 'अमर राय' भएको), कीर्तिनारायण राय, अपनारायण राय, जारेनारायण राय, इङदिननारायण राय र विजयनारायण रायले जम्मा सात पुस्ता अर्थात् वि. सं. १४२१-१६६६ -सन् १३६४-१६०९) सालसम्म विजयपुर मोरङमा राज्यमा शासन गरेका थिए । त्यसपछि मकवानपुरका राजा लोहाङ सेनलाई विजयपुरको थपना राजा मानी फेदाप थुमका राजा मुरेहाङ खेबाङ लिम्बूको वंशले वि. सं. १६६६-१८२६ (सन् १६०९-१७६९) सम्म विजयपुर-मोरङमा राज्य शासन चलाएका थिए । वि. सं. १८२६-१८३१ (सन् १७६९-१७७४) सम्म हाङ बुद्धिकर्ण राय लिम्बू -मुरेहाङ खेबाङ राय लिम्बूवंशका पाचौं पुस्तका राजा) को राज्य शासन चलेको थियो । इतिहासकार बाबुराम आचार्यका अनुसार "श्री ५ पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने कार्य आरम्भ गर्नुभन्दा सैंतीस वर्षपहिले शुभ सेनका दुइ छोरामा विजयपुर पश्चिमपट्टी तलहट्टी र भाबरमा परेको पर्सासम्मका जिल्ला मकवानपुरका ठकुराइमा, कोशीदेखि पूर्वपट्टी तिस्तासम्मको तलहट्टी विजयपुरका ठकुराइमा परेका थिए । पहाडपट्टी सिँधुलीका पौवागढीदेखि पूर्वपट्टी पूर्ववाहिनी सुनकोशीको दायाँ किनारपट्टकिो महाभारतको उत्तरपाखो अरुणकोशीसम्म नै चौदण्डीको ठकुराइमा सम्मिलित थियो । दूधकोशीदेखि अरुणकोकोशीसम्मको खम्बूहरुको बस्ती भएको माझकिराँत चौडण्डीको ठकुराइमा नै सम्मिलित थियो । अरणकोशीदेखि पूर्वपट्टी सिङ्गेलेला पहाडसम्म दश लिम्बूवान वस्ती र यी वस्तीदेखि दक्षिणपूर्वपट्टी माइखोलाहरुका उपत्यकामा इलामका लिम्बूहरुकै बस्ती रहेको थियो (श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृ. ४१४/१५) ।" १६ औं शताब्दी -सन् १५२३-१५४०) मा विश्वसिंहले 'कोच कामता अथवा कूच विहार राज्यमा राज्यशासन शूरु गरेका थिए । 'कोच कामता राज्य' स्थापना हुनुपूर्वको त्यस ठाउँको ऐतिहासिक पृष्ठभूमि के, कहाँ र कहिले थियो (भन्ने बारेमा पनि यहाँ थोरै चर्चा गर्दा अन्यथा नहोला । प्राचीन कामरुप -प्रयागज्योतिश) राज्य स्थापना हुनुभन्दा पहिले अर्थात र्इस्वीको पहिलो र दोस्रो शताब्दीतिर त्यस क्षेत्रमा किरातीहरुको बसोवास रहेको थियो । र, त्यस क्षेत्रलाई उसबेला किरहाडिया (Kirrhadia) भनिन्थ्यो भनी महाभारत, रामायण तथा ptolemy’s Geographia मा उल्लेख भएको पाइन्छ । र्इस्वीको ४ औं शताब्दीदेखि १२ औं शताब्दीसम्म आइपुग्दा प्राचीन कामरुप राज्यमा मुख्य तीन राजवंशहरु (Varman, Mlechchha / Pala Dynasty) ले राज्यशासन गरेका थिए । पला राजवंशको शेषपछि १३ औं शताब्दीतिर प्राचीन कामरुप राज्य दुर्इ भागमा -कामरुपको पश्चिम भागमा Kamata Kingdom र पूर्वी भागमा Ahom Kingdom_ विभाजन भएको देखिन्छ । त्यसपछि र्इस्वीको १३ औं शताब्दीदेखि लगभग १५ औं शताब्दीसम्म कामता राज्यमा खेन वंशले राज्यशासन गरे । सन् १४९८/९९ मा बंगालका सुल्तान Alauddin Hussain shah ले खेन वंशलाई हटार्इ कामता राज्यमा आफ्नो अधिकार जमाएका थिए ।तर पछि त्यहाँका स्थानीय कोच तथा मेच आदि गाउँले शासकहरुको अगाडि Alauddin Hussain shah को शासन त्यहाँ धेरै समयसम्म टिक्न सकेन । यसै समयकालखण्ड (सन् १५१५ ) मा नै कामता राज्यमा कोच राजवंशको शक्ति उदय भएको देखिन्छ । खास गरी यो विश्वसिंह को र कहाँका हुन् ? त्यहाँ (कोच कामता राज्यमा) उनको शक्ति कसरी उदय भयो ? भन्ने विषयमा पनि पाठकवर्गहरुमा जिज्ञासा हुनसक्छ । त्यसकारण त्यस विषयमा पनि यहाँ थोरै चर्चा गरिनेछ । प्राचीन कामरुप- कामता राज्यको स-साना गाउँहरुमा विभिन्न जातिका साना गाउँले मुखियाहरु (Chieftain) को राज्य शासन चलेको थियो । तिनै स-साना गाउँले प्रमुखहरु मध्ये चिक्नावारी -अहिले यो ठाउँ आसामको गोलपारा जिल्लामा पर्दछ) भन्ने एक सानो गाउँमा हरिदास मेच "हरिया मण्डल" (दम्बाम्बु मेचका छोरा) को नाम प्रसिद्ध थियो । उनका जिरा र हिरा -मुखिया कोच हाजोका छोरीहरु) नामका दुर्इ श्रीमतिहरु थिए । जिराका छोरा चन्दन र मदन र हिराका छोरा शिशु र विशु थिए । यिनै चार दाजुभाइ मध्येका सबैभन्दा कान्छा छोरा विशु अथवा विश्वसिंह हुन् । प्राचीन कामरुप- कामता राज्यमा कोच राजवंशको शक्ति उदय भएपछि त्यहाँका प्रथम कोच राजा चन्दन भएका थिए । भाइ मदन लडाइमा मारिए । शिशुले आफ्नै स्वइच्छाले राजगद्दी त्यागे । अर्थात कान्छा भाइ विश्वसिंहलाई राजगद्दी सुम्पे । त्यसपछि (सन् १५२३-१५४०) सम्म कोच कामता अथवा "कुच विहार" राज्यमा राजा विश्वसिंह राजसिंहसनमा बसी राज्यशासन गरे । शिशुसिंह "राइकुट" भई अथवा पुर्खौली कमाण्डरको दर्जा लिई बैकुण्ठपुर (हाल जल्पाइगुरी-पश्चिम बंगाल) मा गई बसे । यही कुच विहार राज्यमा कोच राजवंशले जम्मा २४ पुस्ता (सन् १५१५-१९४९) सम्म राज्यशासन गरेका थिए । ती कोच राजाहरुको नाम यसप्रकार छ- महाराजा चन्दन, विश्वसिंह, नर नारायण, लक्ष्मि नारायण, वीर नारायण, प्रन नारायाण, मदन नारायण, बासुदेव नारायाण, महेन्द्र नारायाण, रुप नारायण, उपेन्द्र नारायण, देवेन्द्र नारायण, धाइजेन्द्र नारायण (१३ औं र १७ औं राजा) , राजेन्द्र नारायण, धरेन्द्र नारायण, विजेन्द्र नारायण, हरेन्द्र नारायण, शिवेन्द्र नारायण, नरेन्द्र नारायण, न्रीपेन्द्र नारायण, राजराजेन्द्र नारायण, जितेन्द्र नारायण र जगददिपेन्द्र नारायण आदि । राजा विश्वसिंहको छोरा राजा नरनारायणको समयकाल (सन् १५४०-१५८४) मा कोच कामता राज्य (कुच विहार) को सीमा विस्तार भएको भन्ने दावी उनीहरुको भए तापनि त्यो धेरै समयसम्म रहन सकेन । उसबेलाको कोच कामता तथा कुच विहार राज्यको ऐतिहासिक सीमाक्षेत्रलाई हेर्दा टिष्टा नदीको पूर्व, आसाम-कामरुपको पश्चिम, भुटान दक्षिण र बंगलादेश उत्तरको भू-भागहरु नै मुख्य रुपमा देखिन्छ । तर यो राज्यको यी सीमा क्षेत्रहरुको ऐतिहासिक निरन्तरता भने कायम रहेको देखिन्दैन । र, अहिले भारतमा जुन ग्रेटर कोच कामता राज्यको नाममा जुन जुन क्षेत्रहरुलाई हेरेर दावी गरिएको छ ती क्षेत्रहरु पहिल्यै अरुकै राज्यधिकार भित्र परेका क्षेत्रहरु हुन् । यहाँ एउँटा पत्याउँनै नसकिने कुरा नेकपा माओवादी र पूर्णसिंह राजवंशीले पढेको र जानेको इतिहास १५ औं शताब्दीमा विजयसिंहको राज्यकालमा पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लाहरु समेत अर्थात कोशीसम्म कुच विहार राज्य विस्तार भएको थियो भन्ने रहेको छ । तर यो उनीहरुको भनाइ र बुझाइमा कुनै सत्यता छैन । यो त उनीहरुको अतिरञ्जित र कपोकल्पित कुरा मात्र हो जुन माथि उल्लेख भएको आधार प्रमाणहरुबाट प्रष्ट हुन्छ ।लिम्बुवान-मोरङ थुमका आदिम मानव जाति -Original or oboriginal tribe_ भनेको खाम्बोङ्बा, लुङ्बोङ्बा याक्थुङ्बा (अहिलेका लिम्बू) हुन् । मोरङ थुम लिम्बुवान राज्यको अभिन्न र आदिम भूमि हो । इतिहासकार इमानसिंह चेम्जोङले मुङमारोङ राजाको नामबाट त्यस इलाकाको नाम मावरोङ राखिएको र पछि त्यही मावरोङ शब्दको अपभ्रंश आधुनिक मोरङ हुन गएको हो भनी उल्लेख गरेका छन् । इतिसकालदेखि नै कसैको राज्यधिकारको सीमाक्षेत्रभित्र परेको भूमिमा अरु कुनै जाति वा शक्ति आएर बलपूर्वक कुनै एक कालखण्डसम्म हडेपेको भन्ने अर्थमा पुनः त्यो राज्य मेरै हो भनी दावी गर्न सकिन्दैन र त्यसो गर्न पनि मिल्दैन । उदाहरणको लागि ब्रीटिश सरकारले सन् १६१२-१९४७ सालसम्म पुरै भारत (हिन्दूस्तान र पाकिस्तान) मा साम्राज्य फैलाएर राज्यशासन गरेको थियो । तर के ती ठाउँहरु अब फेरी उसले मेरै हो भनी दावी गर्न सक्छ ? सक्दैन, किनकि भारत भारतीय आदिवासीहरुको आदिम थलो हो, ब्रीटिशको होइन । त्यसैकारण सन् १९४७ सालसम्म आइपुग्दा भारतीय स्वतन्त्र आन्दोलनको हुरीले ब्रीटिशलाई भारतबाट लखेट्न सफल भएको हो । प्राचीन कामतापुरको इतिहास हेर्दा कोच राजवंशीको आदिम थातथलो भनेको कूच विहार तथा आसाम-कामरुप क्षेत्रहरु नै मुख्य देखिन्छ । तर अहिले चाहिँ यो जातिहरु आप्रवासीको रुपमा अन्यत्र ठाउँहरुमा पनि बसाइँ सरेर बसेका छन् जुन कुरा कोच कमतापुरको इतिहासमा यसरी उल्लेख गरिएको छ- The kamatapur is the ancient name of the Koch-dynasty which includes the present divided Kamatapur kingdom which includes the entire North-Bengal of the west Bengal, most of the parts of present Assam. Koch Rajbongshi is an ancient tribe originally from the ancient Koch Kingdom. The homelands of this ancient tribe include West Bengal, Assam, Arunachal Pradesh, Meghalaya and various North Eastern parts of India. Because of migration this community can be found in various parts of India in other parts of the world-(History of acient kamarup). राजा विश्वसिंहको छोरा राजा नरनारायणको सन् १५८४ मा मृत्युभएपछि कोच कमता राज्य दुर्इ छुट्टाछुट्टै भागमा अर्थात western portion मा 'कुच विहार' र Eeastern portion मा 'कोच हाजो' राज्यमा विभाजन भएको थियो । कोच कामता (कोच विहार) मा नरनारायण, लक्ष्मिनारायण आदि राजा भएका थिए भने कोच हाजो (कामरुप) मा रघुदेव -नरनारायणको भाई चिल्लाराइको छोरा) राजा थिए । विश्वसिँहका छैटौं पुस्ताका राजा प्रन नारायणको समयकालमा अर्थात सन् १६६१ मा बंगालका मुघाल फोर्स (औरङ्गजेव) ले कोच विहारमाथि आक्रमण गरेपछि कोच विहार राज्यको स्वतन्त्रताको सर्बोच्च अधिकार समाप्त भएको देखिन्छ । सन् १७७२-१७७३ मा भुटानले कोच विहारमाथि आक्रमण गर्यो । त्यसपछि ०५ अप्रिल १७७३ मा कोच विहारबाट भुटानिज फौंजहरुलाई हटाउने र उप्रान्त कोच विहार भारतीय ब्रीटिश शासन अन्तर्गत रहने भन्ने शर्तमा कोच विहार राज्यका (पन्ध्रौं पुस्ता ) का राजा धरेन्द्र नारायण र ब्रीटिश र्इष्टइन्डिया कम्पनिबीच एक सन्धि-सम्झौता भयो । त्यसपछि कोच विहार ब्रीटिश र्इष्टइण्डिया कम्पनि अन्तर्गतको एउटा राजकीय राज्यको रुपमा सीमित हुन पुग्यो । २८ अगष्ट १९४९ मा भएको गभर्नर-जेनेरल अफ र्इण्डिया र कोच विहारबीचको सन्धिले 'कोच विहार' पूर्णरुपमा भारत सरकार (Govt. of India) को अधीनस्थ रहन पुग्यो । अहिले यो 'कूच विहार' पश्चिम बंगालको एक जिल्लाको रुपमा मात्र सीमित रहेको छ । यसरी हेर्दा के देखिन्छ भने कोच राज्य र कोच शासकहरु एक समयकालखण्डसम्म मात्र अर्थात १६ औं शताब्दीमा झुल्किएर करीव १८ औं शताब्दीमै अस्ताएको देखिन्छ । जबकि लिम्बुवान-मोरङ राज्यमा लिम्बूहरुले सृष्टिको उत्पतिकालदेखि शासन गरेको र हालसम्म पनि त्यसको अस्थित्व (ऐतिहासिक र वैधानिक दस्तावेजहरु) प्रष्ट र जीवितै रहेको छ । त्यसकारण कोच राजवंशीको आदिम थातथलो भारतको टिष्टा नदी पूर्वको कूच विहार र त्यही कुच विहारसंगै जोडिएको आसामको पश्चिम भाग भएको हुँदा उनीहरु त्यही गएर आफ्नो जातिनामको राज्य खोज्न सक्छन् तर लिम्बुवानमा सक्दैनन् । खोज्न मिल्दैन र पाइन्दैन पनि । त्यसैगरी हाल लिम्बुवान-मोरङमा बसोवास रहेका धिमाल, मेच आदि जातिहरु बोडो-कछारी कम्युनिटिभित्रका जातिहरु हुन् । बोडो-कछारीहरुको आदिम थलो भनेको भारत-ब्राहमपुत्र भ्याली अन्तर्गतको आसाम, तिर्पुरा, उत्तर बंगाल र बंगलादेशको केही भागहरु मुख्य देखिन आउछ । खैर त्यहाँ पनि उनीहरु अर्थात बोडोहरु बोड-तिब्बतबाट र कछारीहरु कसारबाट आएका हुन् भनिएको छ जुन यसप्रकार छ- Bodo-Kachari is a generic term applied to a number of ethnic groups predominatly in Assam speaking Tibeto-Burman languages or claiming a common mythical ancestry. They were first classified by S. Endle as the Kacharis. Here Bodo is derived from Bod which is Tibet and Kachari is derived from kassar meaning the foothills of the Himalayas. They are considered to have reached the Brahmaputra valley via Tibet and settled in the foothills of the eastern Himalayan range which includes the whole of Assam, Tripura, North Bengal and part of Bangaladesh. That the Bodo-Kacharis were early colonizers of the river valleys is taken from the fact that most of the rivers in the Brahmaputra valley today carry Tibeto-Burman names--- Dibang, Dihang, Dikhou, Dihing etc.---where di- means water in Tibeto-Burman (Bodo- kchari in India). सन् १८८१ को भारतको जनगणना अनुसार कछारीहरुलाई १८ समूह ( Bodo, Dimasa, Lalung, Madani, Mech, Rabha, Saraniya, Hojai, Garo, Rajbanshi or koch, Chutiya, Moran, Hajong, Tipra, Mahaliya, Dhimal, Solaimiya and Phulgaria (Singh, 1994:431) मा वर्गीकरण गरेको पाइन्छ । हड्सन, डाल्टोन, बान्ड्डयोपाध्याय र एण्डल आदि विद्वानहरुले पनि धिमाल, कछारी, राभ, बडो र मेचहरु एउटै जाति समूहका हुन भनी उल्लेख गरेका छन् । कुनैपनि जातिले आफ्नो आदिमथलो बाहेकका अन्य स्थानमा गएर राज्यको दावी गर्न कदापि सकिन्न र पाइन्न । र, अहिलेसम्म काँही पनि त्यसरी राज्य मागेर पाएको देखिएको छैन । माओवादी निकटका कतिपय लिम्बू जनहरुको बुझाइ के रहेछ भने ०२ डिसेम्बर १८१५ मा ब्रीटिशको इष्ट इन्डिया सरकार र नेपालबीच भएको सुगौली सन्धिले कोचहरुको ९९ प्रतिशत भू-भाग भारतमा गाभेको र बाँकी एक प्रतिशत भू-भाग चाहिँ अझै नेपालमै रहेको भन्ने गरेका छन् । तर माथि उल्लेख भएको ऐतिहासिक आधरप्रमाणहरुले के देखाउछ भने सन् १६६१ मा कोच विहार राज्यको स्वतन्त्र अस्थित्व नै समाप्त भएको छ । र, ०५ अप्रिल १७७३ मा ब्रीटिश-भारत सरकार र कोच राजाबीच भएको सन्धि भएपछि कोच विहार राज्य ब्रीटिश-भारतको एक अधिकार विहीन राज्यको रुपमा मात्र सीमित रहन पुग्यो । त्यसपछि फेरी २८ अगष्ट १९४९ मा भएको सन्धिले कूच विहार राज्यको राजा र राजकीय अस्थित्व समाप्त गरिदियो । त्यसकारण यो माथिको ऐतिहासिक आधारप्रमाणहरुले के देखाउछ भने नेपाल र इष्ट इन्डिया कम्पनिबीच भएको सुगोली सन्धिले कोचको होइन नेपालको ठूलो -एक तिहाई) भू-भाग भारतमा गाभेको छ । त्यसरी नेपालको भू-भाग भारतमा गाभिन जाँदा लिम्बुवान राज्यको पनि पूर्वमा टिष्टा र दक्षिणमा (लिम्बुवानको तत्कालीन सीमाना) टक्सोगञ्ज-जलालगढसम्मको लिम्बुवानको भू-भाग भारतमा पर्न गएको छ । यता लिम्बुवानको मोरङमा कहिल्यै पनि कोचको राज्यको अस्थित्व थिएन । भनेपछि कसरी चाहिँ सुगौली सन्धिले कोचको ९९ प्रतिशत भू-भाग भारत गाभ्यो - जुन सुगौली सन्धिको विषयमा यसरी पनि उल्लेख भएको पाइन्छ-Under the treaty, about one-third of Nepalese territory was lost, including Sikkim (whose Chogyals supported Britain in the Anglo-Nepalese war); territory to west of Kali River like Kumaon and Garhwal (present India state of Uttarakhand); some territories to the west of the Sutlej River like Kangra (present day of himachal Pradesh; and much of the Terai Region. Until the Sugauli Sandhi (Treaty) was signed, the territory of Nepal also included Darjeeling and Tista to the east, Nainital to the south-west and Kumaun, Garwal and Bashahar to the west. However, today these areas are a part of India (Sugauli Treaty).अहिलेको तितो यथार्त के हो भने नेपालका प्रमुख राजनैतिक दलहरु लिम्बुवानको साँचो र जिउँदो इतिहासलाई पनि स्वीकार गर्न मानेका छैनन् । पूर्वी नेपालको अरुण-सप्तकोशी नदी पूर्वको सम्पूर्ण ९ जिल्लाहरु (झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, इलाम, पाँचथर, ताप्लेजुङ र संखुवासभा) लिम्बुवानको ऐतिहासिक भू-क्षेत्र हो भन्ने कुरा इतिहासमा प्रष्टै उल्लेख भए तापनि झापा, मोरङ, सुनसरी र संखुवासभा जिल्लाहरुलाई छोडेर बाँकी रहेको पहाडि पाँच जिल्लाहरुलाई मात्र लिम्बुवान अन्तर्गत राख्ने षड्यन्त्र गर्दैछन् । र, तराइका उपर्युक्त तीन जिल्लाहरुलाई मिलाएर कथित विराट, कोचिला र लिम्बुवानको ऐतिहासिक चैनपुर थुम (संखुवासभा) लाई चाहिँ किरातमा विलय गरी आफ्नो स्वार्थ अनुकूलको सानो प्रकारको मात्र लिम्बुवान राखिदिने जस्ता लिम्बुवानघाती षड्यन्त्र तथा झुटो प्रचार गरिरहेका छन् तर त्यसको कुनै प्रयाप्त आधार र औचित्य नै छैन । साँचो र जिउँदो ऐतिहासिक आधार भएको लिम्बुवान राज्यलाई नस्वीकार्ने नभएकोलाई चाहिँ स्वीकार गर्ने यो कस्तो लोकतन्त्र उनीहरुको - खासमा नेपालका प्रमुख दलहरुको नेतृत्व वर्गसँग जरा गाडेर बसेको सामन्ती आन्तरिक स्वार्थको कारण यस्तो हुन गएको हो । यही कारण लिम्बुवानमाथि उनीहरुको सामन्ती सोच र स्वार्थ हट्न सकेको छैन । दलहरुको यस्तो प्रकारको सोच र व्यावहार रहेसम्म साँचो लोकतन्त्रको कल्पनासम्म गर्न सकिन्न । त्यसकारण अहिले हाम्रो मुख्य जोड केमा रहेका छ भने लिम्बुवानले उसको ऐतिहासिक पृष्टभूमि (नामांकन र सिमांकन) मा उभिनु पाउनुपर्छ । त्यसलाई नामेट गरेर बनाइएको अपाङ्ग लिम्बुवान राज्य तथा सन्धि सम्झौतालाई कदापि स्वीकार्न सकिन्न । त्यहाँ एउटै लिम्बुवान नामको राज्य बन्नसक्छ तर जातैपिच्छेको जातीय नयाँ नाम राज्यहरु कदापि बन्न सक्दैनन् र बन्न मिल्दैन पनि । त्यसकारण सारमा यो संघीय नेपाल अन्तर्गत एक क्षेत्रीय वा प्रान्तीय राज्य नै हुनेछ जहाँ आदिवासी लिम्बू जातिका साथै अन्य सबै जातजातिहरु अट्न र रम्न सक्नेछन् ।
केन्द्रीय सदस्य, (लिम्बुवान मुक्ति मोर्चा, नेपाल)
१५ जनवरी २०१०

No comments:

Post a Comment