Oct 9, 2009

साथीका आँखामा चे ग्वेभारा

विनोदविक्रम केसी
करोडौँ मानिसका लागि चे ग्वेभारा क्रान्तिको प्रतीक हो । लाखौँका लागि ऊ क्राइस्ट नै हो । उसो त उसलाई सैतान ठान्नेहरू पनि कम छैनन् । नायक र खलनायकको बहस चेका सन्दर्भमा जति भएका छन्, त्यति सायदै इतिहासमा अरू कसैका सन्दर्भमा भएका छन् । तर, मेरा लागि चे केवल एक साथी हो, जसको तस्बिर नाइट क्लबमा उन्मत्त नाचिरहेकी तरुनीदेखि दर्शनशास्त्रको गम्भीर प्राध्यापकसम्मका छातीमा टाँसिएका छन्, त्यो मेरो साथी हो । यौटा मिथकको मित्र हुनुको गर्व र रोमाञ्च आजका मितिसम्म अनुभूत गरिहेको छु म । चेसँग मेरो पहिलो भेट सन् १९४२ मा भएको थियो । पछि १९४५ मा चेको परिवार मेरो गृहनगर कोर्दाबामा बसाइँ सर्‍यो । कोर्दाबामा हाम्रो पहिलो भेट पुलिसचौकीमा भएको थियो । हाइस्कुलको विद्यार्थी विद्रोहमा सहभागी भएका कारण म समातिएको थिएँ । चे मेरो भाइ तोमससँग मलाई भेट्न आएको थियो । १७ वर्षीय यस ठिटोको अनुहारमा आफ्नो उमेर नसुहाउँदो उदासी र गम्भीरता पोतिएका थिए । आँखा उधुमै चम्किला । तर, मान्छे अलि फोहोरी, फोहरीखालको । जम्माजम्मीमा, ऊ प्रभावशाली व्यक्तित्व भएको मान्छे थियो ।
र, हामी असाध्यै मिल्ने साथी बन्यौँ । तर, चे सहज र सामान्य साथी भने थिएन । जिद्दी थियो, असाध्यै जिद्दी थियो । आफ्नो विश्वास र अडानमा एकरौँ यताउति नहल्लिने । उसले ठान्यो पछि ठान्यो, ठान्यो । माक्र्सवाद उसका लागि प्रथम र अन्तिम सत्य थियो । म ऊभन्दा ६ वर्ष जेठो थिएँ, तर उसको शक्तिशाली चुम्बकीय व्यक्तित्वका अगाडि निरीह आलपिन सावित हुन्थेँ ।
म उसलाई भन्ने गर्थेँ, 'यार, बाँच्नका लागि सम्झौता पनि गर्नुपर्छ ।' सम्झौता भन्ने शब्द सुन्नेबित्तिकै भडि्कने गथ्र्याे ऊ । सम्झौता, दासता, कायरता, पुँजीवाद, साम्राज्यवाद...चेले आजीवन घृणा गरेका शब्द हुन् यी । हुन त म पनि क्रान्तिकारी थिएँ । चेले भन्दा कम्ती माक्र्सवाद पढेको थिइनँ मैले पनि । तर, चे अर्कै तत्त्वले बनेको मान्छे थियो ।
त्यो यात्रा जसले चेलाई चे बनायो
सन् १९५२ मा चे र म ल्याटिन अमेरिकाको भ्रमणमा निक्लने भयौँ । तिनताका अर्जेन्टिनामा हामी फुटबल र ट्यांगो नाच उत्कर्षमा पुगेको युगमा थियौँ । एक प्रकारले हेडोनिजम (भोग-विलासवाद) पनि उत्कर्षमै थियो । हाम्रो यो यात्राको उद्देश्य पनि साहसिक घुमफिर र रमाइलो नै थियो भन्न सकिन्छ । कम्तीमा मेरा निम्ति त यस्तै थियो । सत्य, यो यात्राले चेको सोच र व्यक्तित्वमा भयानक उलटफेर गराउला भन्ने मैले सोचेकै थिइनँ ।
त, मैले त्यतिबेला आठ सय डलरमा किनेको मोटरसाइकल ला पोदेरोसा चढेर निक्लियौँ हामी ल्याटिन अमेरिकाको सयर गर्न । यो मोटरसाइकल वास्तवमा ज्ञान र स्वतन्त्रताप्रतिको हाम्रो उत्सुकताको प्रतीक थियो ।
अर्जेन्टिनाबाट चिली पुग्नेबित्तिकै हामीसँग भएको पैसा सकियो । अब हामी 'उठ् जोगी फट्कार छाला, जहाँ जाला त्यहाँ खाला' भन्ने स्थितिमा पुगेका थियौँ । तर, मान्छेहरूलाई हात लिन सक्ने चेको जादुमय कौशलका कारण हामी जहाँजहाँ पुग्यौँ, त्यहाँत्यहाँ हामीले मानिसका आतिथ्य पायौँ ।
चिलीको लसएन्जेलस पुगेपछि भने ला पोदेरोसा हामीले मर्मतै गर्न नसक्ने गरी बिगि्रयो । यो मोटरसाइकल हाम्रो प्राण थियो भने पनि हुन्छ । अझ, ला पोदेरोसासँग मेरो यति भावनात्मक लगाब थियो कि यसलाई यौटा कुनामा यत्तिकै मिल्काएर हिँड्नु मेरा निम्ति असाध्यै पीडादायी थियो । तर, यात्रा त पूरा गर्नु नै थियो । त्यसैले डुंगा, घोडा, ट्रक, जे भेटिन्छ त्यसैमा सवार भएर हामीले अर्जेन्टिना, चिली, कोलम्बिया र भेनेजुएलाको यात्रा सम्पन्न गर्‍यौँ । ल्याटिन अमेरिकाको एकसरो भ्रमण गरिछाड्यौँ ।
यस यात्राले हामीलाई ल्याटिन अमेरिकाले भोगिरहेको पीडा, अन्याय, असमानता र गरिबीसित भलिभाँती परिचित गरायो । अमेरिकी आधिपत्यले निबुवा निचोरे जसरी शोषण गरेको थियो ल्याटिन अमेरिकालाई । यस यात्राले चेको अन्तरमा रहेको ज्वालामुखीलाई विस्फोट गराइदियो । अब चे शिरदेखि पाउसम्म तातो न तातो लाभा भएको थियो । म ठोकुवा गर्छु- यस यात्राले चेलाई चे बनाएको थियो ।
यस यात्रामा भइपरिआएका तितामिठा घटनाहरूको बयान गरिसाध्य छैन । चिलीको इस्टर द्वीपमा पुगेका थियौँ हामी । त्यहाँ महिलाको संख्या अत्यधिक थियो । एउटै मानिसका एघारवटासम्म पत्नी हुन्छन् रे भन्ने सुनेपछि हामी त्यता हानिएका थियौँ । अतिथिहरूको मानमनितो पनि गज्जबले गरे इस्टरवासीले । स्थानीय ठर्रा खुब खाइयो । एउटी उत्ताउली चेसित झुत्तिएर हैरान ! पछि त उसको श्रीमान्ले केही मानिस जम्मा गरेर हामीलाई घेरिहाल्यो । मेरी श्रीमतीलाई भाँड्न खोज्ने भनेर हामीसित पाखुरा सुर्किइहाल्यो । तैतै सबैजना मातेका थिए । जति सुर्रिए पनि हामीलाई कुटिहाल्न सक्ने स्थितिमा भने थिएनन् । मोरीले झन्डै मराएकी !
हामी जतिजति घुम्दै जान्थ्यौँ, त्यतित्यति हाम्रा मानिसमाथि गरिएका अन्यायले हाम्रा आँखा खोल्दै जान्थे । अमेरिकाले चिलीमा चलाएको यौटा टिन खानीमा पुगेका थियौँ हामी । यस खानीमा काम गर्ने अधिकांश मजदुर सिलिकोसिस भनिने रोगले ग्रस्त थिए । सिलिका भनिने बालुवामा पाइने कणयुक्त हावामा सास फेर्दा फोक्सोमा नराम्रो क्षति गर्ने रोग हो यो । लगभग मृत्युको मुखमा पुगेका मजदुरहरूलाई अमेरिकाले यसरी रात-दिन जोतेको देखेर चे रिसले बौलाहाजस्तै भएको थियो ।
यसै यात्राका क्रममा सान पाब्लो भन्ने ठाउँमा कुष्ठरोगीहरूको बस्तीमा काम गर्न पुगेका थियौँ हामी । यस बस्तीमा जानलाई यौटा विशाल नदी तर्नुपर्थ्यो । नदी तर्नै नसक्ने गरेर उर्लिएको थियो । नदीपारि केही कुष्ठरोगीहरू हामीलाई पर्खिरहेका थिए । डाक्टर अर्थात् हामी (तर, चे डाक्टर भइसकेको थिएन) आउँदै छौँ भन्ने खबर पाएर उनीहरू चौपट्टै खुसी भएका थिए किनभने कुष्ठरोगीहरूको बस्तीमा डाक्टरहरू प्रायः जाँदैनथे । त, हामी वारि, उनीहरू पारि ! रातको समय । 'म त तर्न सक्दिनँ, तँलाई मर्न मन लागेको छ भने तर्' भनेर म नदीको किनारमा लम्पसार परेँ । चे अघिपछि नसोची हेलियो पानीमा र पुग्यो पारि । किनारमा बसेका कुष्ठरोगीहरूले उसको यस्तरी स्वागत गरे, मानौँ ऊ उनीहरूको मसिहा थियो । मैले भने नदीमा पस्ने हिम्मत गर्न सकिनँ । डुंगा चढेर पार गरेँ ।
त्यस बस्तीका मानिसका उपचारमा हामी अहोरात्र खटियौँ । भोक-तिर्खा सबथोक बिर्सेको थियो चेले । 'अब तिमी पक्का फिल्यान्थ्रोपिस्ट (परोपकारी) भयौ,' म उसलाई भन्ने गर्थेँ । 'फिल्यान्थ्रोपि्रस्ट भनाउँदाहरू ढोंगी हुन् । म त क्रान्तिकारी हुँ,' ऊ हाँसेर भन्ने गर्थ्यो ।
हाम्रो यो यात्रा नौ महिनापछि भेनेजुएलाको राजधानी काराकासमा पुगेर टुंगियो । तर, त्यस यात्राको धङधङी र त्यस यात्रामा हामीले हासिल गरेकेा राजनीतिक चेतना र क्रान्तिकारी प्रखरता भने जिन्दगीभर रहिरह्यो । म कुष्ठरोगसम्बन्धी थप अनुसन्धान गर्न काराकासमै बसेँ भने चे डाक्टरी पूरा गर्न बुएनस आयर्स गयो ।

**
सन् १९५९ मा क्युबामा क्रान्ति सफल भएपछि चेले मलाई क्युबा बोलायो । क्युबा वास्तवमा मेरो सपनाको देश थियो । क्युबा यस्तो देश थियो, जहाँ मानिस वैज्ञानिक या कलात्मक दृष्टिले आफूलाई उन्नत बनाउन लागि परेका थिए । उता, सिंगो विश्व भने भोग/उपभोगबाहेक केही सोच्नै नसक्ने भएको थियो ।
क्युबामा मैले सान्टिएगो स्कुल अफ मेडिसिन स्थापना गरेँ । लामो समयसम्म मैले यसमा काम गरेँ । हाल म क्युबामा रिटायर्ड जीवन बिताइरहेको छु ।
**
चे ग्वेभारा स्वभावैले साहसी मान्छे थियो । ऊ कहिल्यै कसैसामु झुकेन । 'म कसैका अगाडि घुँडा टेक्ने मान्छे होइन । तिमीहरू केवल यौटा मान्छेलाई मारिरहेका छौ । म भनेकेा विचार हुँ,' बोलिभियामा हत्या गरिनुअघि उसले यसो भनेको थियो रे । उसले सत्य बोलेको थियो, बिल्कुल सत्य । मैले सुनेअनुसार सिआइए समर्थित बोलिभियाली राष्ट्रपति रेने बारिएन्तोसले चेलाई मार्ने आदेश दिए पनि उसलाई गोली ठोकेर मार्न बोलिभियाली सैनिकले हिम्मत गर्न सकेनन् । अन्तमा एक जँड्याहा अफिसरलाई पैसाको लालच देखाएर चेलाई गोली ठोक्न लगाइएको थियो रे ।
उसको हत्या भएको दिन म दुई कारणले रोएँ । पहिलो- यौटा सबभन्दा नजिकको, सबभन्दा आत्मीय मित्रको वियोगका कारण । दोस्रो- १९५२ को यात्रा थाल्नुअघि 'तपाईंहरूका छोरालाई सकुशल फिर्ता ल्याउनेछु' भनेर चेका बा-आमालाई गरेको प्रतीज्ञा पूरा गर्न नसकेका कारण ।
क्यास्ट्रोसँग खटपट परेका कारण उसले क्युबा छोडेको हो भन्ने एकथरीको भनाइलाई म स्वीकार गर्दिनँ । चे यति विशाल थियो कि ऊ न डाक्टरी पेसामा अटाउँथ्यो, न अर्जेन्टिनामा, न क्युबामा । ऊ सारा संसारमा क्रान्ति गर्न हिँडेको थियो ।
म चेका दुई गुणबाट कायल थिएँ । उसको इमानदारी र नकारात्मक चिजलाई सकारात्मकमा रूपान्तरण गर्न सक्ने क्षमता । आजको युवापुस्ताले उसलाई किन अनुसरण गर्नुपर्छ भने ऊ आफूले सही र उचित ठानेको चिजका पक्षमा आजीवन लडेको थियो र त्यसैका लागि मरेको थियो । समयसँगै धेरैभन्दा धेरै राष्ट्रहरू भ्रष्टहरूबाट शासित हुँदै जाँदा चेको क्रान्तिकारी व्यक्तित्व झन्झन् विशाल र महान् हुँदै गयो । ऊ कुनै भगवान् होइन । यस्तो मानिस थियो हो ऊ, जो आफूले गरेको काममा आफ्नो भएभरको क्षमता ओइराउँथ्यो र जसको यो प्रवृत्ति सदा अनुकरणीय छ ।

No comments:

Post a Comment