Jul 11, 2009

स्वाइनफ्लुबाट बच्न

भाइरसको बनावट सुँगुरमा पाइने इनफ्लुएन्जाको भाइरसको जिनसँग मिल्दोजुल्दो भएकाले यो रोगलाई स्वाइनफ्लु नाम दिइएको थियो । स्वाइनफ्लुको भाइरस मानिस र पक्षीमा पाइने इनफ्लुएन्जा भाइरसको जिनसँग पनि मिल्दोजुल्दो देखिएकाले यसलाई आधिकारिक रूपमा 'इनफ्लुएन्जा-ए. एच-वान, वान-एन-वान' भनिएको छ ।
प्राणघातक रोग स्वाइनफ्लुका बिरामीमा देखिएका मुख्य लक्षणहरूमा ज्वरो आउनु, खोकी लाग्नु, नाकबाट पानी बग्नु, घाँटी दुख्नु, टाउको तथा जीउ दुख्नु हुन् । यी लक्षण साधारणतः हरेक इनफ्लुएन्जाको भाइरस संक्रमित व्यक्तिमा देखिन्छ । र, पनि स्वाइनफ्लु संक्रमित २५ देखि ३० प्रतिशतमा वान्ता तथा पखालाका लक्षण देखिएका छन् । यी लक्षण देखिए तापनि इनफ्लुएन्जा-ए. एच-वान एन-वानको निदान भने प्रयोगशालामा हुने पिसिआरले गर्न सक्छ । तसर्थ, यी लक्षण देखिएमा तुरुन्तै अस्पतालमा सम्पर्क गरी रोगको निदान गर्न लगाए थप जटिलताबाट बच्न सकिन्छ ।
इनफ्लुएन्जा-ए एच-वान एन-वानको निदान भएपछि रोगको प्रकृति हेरी उपचार गर्न सकिन्छ । रोगको प्रकृति साधारण भए घरमै बसी डाक्टरको सम्पर्कमा अथवा कुनै व्यक्तिको हेरचाहमा आराम गर्न सकिन्छ । घरमा नै बसी उपचार गर्नुपरेमा निम्न कुरामा ध्यान दिनुपर्छ
- बिरामीलाई सकेसम्म छुट्टै कोठामा राख्ने
- बिरामीले प्रयोग गर्ने सामान अरूले सकेसम्म प्रयोग नगर्ने, गर्नै परे 'डिसइन्फेक्सन' गरेर मात्र गर्ने
- नजिकको व्यक्तिको सुरक्षाका लागि खोक्दा वा हाछ्युँ गर्दा नाक-मुख रुमालले छोपेर गर्ने र त्यसपछि सफा पानी र साबुनले धुने
- स्वाइनफ्लु जीवाणु लक्षण देखिएको एक दिनअगाडि र लक्षण सुरु भएको सात दिनसम्म सर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउने, विशेषतः गर्भवती र बालबालिका टाढा हुने
- संक्रमित व्यक्ति सार्वजनिक ठाउँमा जानुपर्ने भए सर्जिकल मास्क लगाएर मात्र जाने
- संक्रमित व्यक्ति श्वासप्रश्वासको दीर्घरोगी भए, चिनी रोगी वा मुटु रोगी भए वा गर्भवती भए चिकित्सकसँग सम्पर्कमा रहिरहने
- प्रशस्त मात्रामा पोसिलो झोल पदार्थको सेवन गर्ने
- धेरै आराम गर्ने ।
यति गर्दागर्दै पनि श्वासप्रश्वासमा समस्या देखापरेमा वा छाती दुखेमा, ओठको रंग परिवर्तन भई खैरो वा कालो हुँदै गएमा, प्रशस्त मात्रामा झोल पदार्थको सेवन गर्न नसकेमा, तारन्तार वान्ता भइरहेमा, बिरामीको अवस्था गम्भीर हुँदै गएमा तुरुन्तै चिकित्सककहाँ वा अस्पतालमा जानुपर्छ ।
यसको उपचारमा एन्टी इनफ्लुएन्जामा दिइने औषधि नै प्रयोग गरिन्छ । तीमध्ये केहीले यस रोगविरुद्ध काम गर्न सक्ने भए तापनि तिनको पूर्ण प्रभावकारिता भने प्रमाणित भइसकेको छैन । तथापि यी औषधिको प्रयोगले लक्षणको कडापनलाई कम गरी रोगको अवधिलाई भने कम गरेको देखिन्छ । यसरी अरु जोखिमलाई कम गरी मृत्युदरलाई नियन्त्रण गर्न सकिन्छ । बिरामीको सम्पर्कमा आइराख्ने वा हेरचाह गर्नेमा यी औषधिको प्रयोग प्रभावकारी देखिएको छ, संक्रमणबाट बच्ने सम्भावना ७० देखि ९० प्रतिशत पाइएको छ । यसबाहेक यो रोगबाट बच्न खोप पनि युद्धस्तरमा विकास गर्न थालिएको छ, जुन खोप सेप्टेम्बरसम्ममा उपलब्ध हुने बताइन्छ ।
यी औषधि उपलब्ध भए तापनि यसमाथि गरिब जनताको सहज पहुँच नहुने भएकाले रोगबाट बच्नु नै उत्तम उपाय हो । यसका लागि गर्नैपर्ने काम हुन् - स्वाइनफ्लुसम्बन्धी आधिकारिक खबरप्रति सधैं सचेत रहने । प्रकोप भएको वेला सकेसम्म सार्वजनिक ठाउँमा नजाने, जानै परेमा मास्क लगाए मात्रै जाने । बिरामीभन्दा कम्तीमा ६ फिट टाढा बसेर कुरा गर्ने । जीवाणु नाक र मुखबाट सजिलै सर्ने भएकाले हातलाई सकेसम्म नाक, मुख र आँखामा लगिनराख्ने ।
नेपालमा पाँचजना संक्रमित भेटिइसकेको वेला आमजनता आफंै यो प्राणघातक रोगबारे बेसी सजग हुनुपर्छ । यो रोगबाट फैलाएको मनोवैज्ञानिक सन्त्रासबाट जनमानसलाई मुक्ति दिलाउन सरकारले पनि विशेष पहल गर्नुपर्छ । यस्ता कुरालाई आत्मसात् गर्दै सरकार प्रभावकारी ढंगले अगाडि बढेमा स्वाइनफ्लुको महामारीबाट बच्न सकिन्छ ।

No comments:

Post a Comment