Apr 6, 2009

लिम्बूहरूले गाउने हाक्पारे साम्लो

किरात लिम्बूहरूले गाउने गीतहरू मध्ये हाक्पारे साम्लो पनि एउटा हो । यो अति नै लोकप्रिय पनि छ । यो गीत दोहोरी, सामुहिक या एकल पनि गाउन सकिन्छ । यो गीत सुखात्मक र दुःखात्मक अनुभूतिले सुरिलो भाका र लयात्मक स्वरले गाइएको हुनाले यसको थालनी गर्दा गाउने अनुमति श्रोताहरूबाट लिई र अन्त्यमा गीतमा नै विदा माग्ने गर्छन । यो गीत सदाकालीन हो र जहिले पनि गाउन सकिन्छ । यहि गीतको भाका शैलीमा मुन्धुम पनि वाचन गरिन्छ । तथा बोली चाली र सोधनी पनि यहि भाकामा गरिन्छ । यो हाक्पारे साम्लोको उत्पत्ति कहाँ र शुरूवात कसरी भयो भन्ने दुइ किम्बदन्तीहरू छन् । पहिलो किम्बदन्ती अनुसार उहिले उहिले जब गाउँ घरमा बाटाघाटा राम्ररी खनिएका थिएनन् । कतिपय जिल्लाहरूमा जानुपर्दा प्रायः बाटै बाटो भएर जानु पथ्र्यो । पूर्वाञ्चल तेह्रथुम जिल्ला अर्न्तगत एउटा हाक्पारे भन्ने गाउँ छ । यो ठाउँ तमोर (ताङ्वामा) नदीको गडतिर पर्छ । यसका वरिपरिका जिल्लाहरू धनकुटा, पाँचथर, ताप्लेजुङ पर्छ । पाँचथरका परदेशीहरू परदेश लाग्दा खोला किनारै किनार हुँदै त्यही ठाउँमा भेला हुन्थ्यो र वास वस्थे । यसरी जिल्ला जिल्लाका परदेशी लिम्बूहरू भेला भएर वस्दा एक अर्कामा बोलचाल शुरू भयो । हाँसो ठट्टा गर्दै दिनभरी हिर्डाईको थकाई मेटाउथे । बोलचाल र हाँसो ठट्टा गर्दै उनीहरू सुरिलो स्वरमा पालाम् गाउँदै दोहोरी सावाल जवाफ गर्दथे । यहि हाक्पारा ठाउँबाट नै जिल्ला जिल्लाका परदेशीहरू भेट भई गीत गाउन शुरू गरेकोले यो गीत हाक्पारे साम्लो भयो भनी बुढा पाकाहरू भन्छन् । तर हाम्रा किरात मुकसाववा र साम्बाहरू (झाक्री, धामी) हाक्पारा गाउँबाट यो गीतको नाम राखीएको भन्ने मतमा समर्थन गर्दैनन् । मुन्धुम अनुसार यो हाक्पारे साम्लो हो भनी कथा सहित प्रमाण गर्छन् । उहिले नै "येहाङ" भन्ने राजाको शासनकालमा यो गीत शुरू भएको हो भनिन्छ । दुइ राजा दाजु भाइ मध्ये जेठा राजा "सोदोङहाङको एक मात्र छोरी "इधुकहाङमा" परम सुन्दरी थिइन उनी बत्तीस लछिनले युक्त थिइन । तर उनको कलकलाउदो वैस ओकल्ने असामयिक निधन भयो तरूणी छोरीको असामयिक निधनले राजा सोदोङ्हाङ् शोक विव्हल भए । वियोगको ज्वाला खप्न नसकी मनलाई शीतल पार्न उ डाको छाडी धुरूधुरू रोएका प्रजाहरूले प्रत्यक्ष देखें । यो कुरा प्रजाहरू माझ फैलियो । राजा शोक मनाउदै कसैसित नबोली दरबारभित्र नै धेरै दिनसम्म चुपचाप बसी रहे । कालान्तरमा आएर राजा बोले । यो राजा बोलेको थाहा पाएपछि प्रजाहरू खुशी हुँदै आइन ग आनी हाङ पारे (आज हाम्रो राजा बोले) हाङ भनेको राजा र पारे भनेको बोल्नु हुन्छ लिम्बू भाषामा "हाङ" र "पारे" यो दुइ शब्द संयुक्त भएर उनै पुत्री शोकमा विव्हल भएका राजा बोलेको सम्झनामा नै गीत गाउँदा यसको नाम हाङ पारे भयो । पछि नेपाली भाषामा गीत गाउँदै आउँदा अपभ्रंश भई हाक्पारे भयो भनी मुकसाववा र साम्बाहरू किटान गर्छन् । हाक्पारे होस् या हाङपारे होस् यो गीतको आफ्नै मार्मिकता र प्रभाव छ । यसको भाकामा गाएका गीतहरू सुन्दा कसको मन पग्लिन्दैन र । माया पिरतिका शब्दहरू बुनेर, सुख दुःखका दोहोरी प्रश्न र उत्तरहरू हाक्पारे मुन्धुममा लयात्मक भाकामा सुन्दा अकवि पनि कवि बन्दछन् । तरूण र तरूणीहरू यहि "हाक्पारे" शैली शब्दहरू मार्फ एक अर्कामा प्रणय शूलहरू थाहै नपाई हृदयमा रोप्छन् । माया पिरतिका भावनाहरू मनभित्रबाट ओखल्ने सुख दुःखका साथै वियोग आशुको भेललाई सुकाउने यो हाक्पारे साम्लो लिम्बू र नेपाली दुवै भाषामा गाइन्छ । हाक्पारे साम्लोको एउटा सानो उदाहरण नेपालीमा यहाँ तल दिइएको छः-
ए-ए नबोले सम्म को हो न को हो ?
बोलेर पछि झन माया मोहो ?
नदेखेसम्म को हो न को हो
देखेर पछि लोभैमा लाग्ने यो
आँखा लोभी यो मनै पापी
आखाँले देख्यो भावीले लेख्यो ।
साझा लिम्बुवानबाट

No comments:

Post a Comment