Mar 18, 2009

क्लियोपेट्रा सत्ताकी रानी

क्लियोपेट्रा वास्तवमा सात टोलेमी रानीहरूको साझा नाम हो । बारम्बार उल्लेख भइरहने क्लियोपेट्रा सातौं हुन् जसले मिश्रमा ई.पू. ५१-३० सम्म शासन गरेकी थिइन् । आफ्ना पिता फराह टोलेमी बाह्रौंको मृत्युपछि अठार वर्षीया क्लियोपेट्रा र १२ वर्षीय उनको भाइ टोलेमी तेह्रौं मिश्रका रानी र राजा भए । आर्थिक कठिनाइ, भोकमरी, नाइल नदीको संहारकारी बाढी तथा राजनीतिक द्वन्द्वका कारण यी दिदीभाइको संयुक्त शासनका प्रारम्भिक तीन वर्ष अत्यन्त कष्टकर थिए । त्यसको लगत्तै उनका भाइले उनलाई राजगद्दीबाट निष्कासित गरे । जुलियस सिजरबाट पराजित पम्पेई उनको पिताको मृत्युपछि उनको अभिभावकका रूपमा नियुक्त थिए । सिजरलाई खुसी गराउने उद्देश्यले टोलेमीले पम्पेईको हत्या गराए । तर, सिजर यस हत्याबाट टोलेमीसँग भयंकर रिसाए । राजनीतिक शत्रु नै भए पनि पम्पेई सिजरका बहिनीज्वाइँ थिए । चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भनेझैं टोलेमी तेह्रौंले अकालमा ज्यान गुमाए । सिजरले उनलाई नाइल नदीमा डुबाएर हत्या गरे । उनले मिश्रको राजगद्दीमा क्लिायोपेट्रालाई पुनः बसाए ।ई.पू.४७ मा क्लियोपेट्राले एक छोरो जन्माइन् । उनले सिजरलाई बच्चाको बाउका रूपमा दाबी गरिन् । तर, सिजरले उक्त बच्चालाई आफ्नो उत्तराधिकारी बनाउन अस्वीकार गरे । ई.पू. ४६ मा क्लियोपेट्रा एक वर्षीय दुधेबालक बोकेर रोम गइन् । तर, ई.पू.४४ मा ब्रुटस र क्यासिएसले नेतृत्व गरेको गुटले जुलियस सिजरको हत्या गर्‍यो । सिजरको हत्यापछि मिश्र र्फकेर उनले आफ्नो भाइ/पति टोलेमी चौधौंको विष सेवन गराएर हत्या गराइन् । र, आफ्नो छोरो सिजरियनलाई सह-शासक बनाइन् । मार्क एन्टोनी र अक्टाभिएन सिजर (जुलियस सिजरको धर्मपुत्र) मिलेर ब्रुटसलाई पराजित गरे र पूर्वसम्झौतामुताविक मार्क एन्टोनीले रोमन साम्राज्यको पूर्वी हिस्सा र अक्टाभिएन सिजरले पश्चिमी हिस्सा हात पारे ।मार्क एन्टोनीसँग राजनीतिक सम्बन्धका साथै व्यक्तिगत सम्बन्ध पनि रहन गयो क्लियोपेट्राको । ई.पू. ४० मा क्लियोपेट्रा र एन्टोनीका जुम्ल्याहा छोराछोरी जन्मे । पछि ३७ ई.पूमा एन्टोनीले मिश्री संस्कृतिअनुसार क्लियोपेट्रासँग विवाह गरे । अक्टाभिएन सिजरकी बहिनीसित उनको पहिले नै विवाह भइसकेको थियो । ई.पू.३४ मा एन्टोनीले पूर्वी रोमन साम्राज्यका केही भू-भाग क्लियोपेट्रा तथा उनका सन्तानलाई बाँडिदिए । सम्पूर्ण रोमन साम्राज्यको सम्राट् बन्ने सपना देखिरहेको अक्टाभिएन सिजरले यस कदमलाई एन्टोनी र क्लियोपेट्राको विरोधमा जनमत तयार गर्ने अवसरका रूपमा प्रयोग गरे । ई.पू. ३३ मा अक्टाभिएन एन्टोनीलाई पराजित गर्न सफल भए । तर, मिश्रमा जति प्रयास गरे पनि अक्टाभिएनले क्लियोपेट्रा र एन्टोनीलाई भेट्टाउन सकेनन् । ई.पू. ३० मा चरम निराश र क्लियोपेट्राको मृत्युको झूटो खबरले आहत एन्टोनीले आत्महत्या गरे । त्यसको केही दिनपछि क्लियोपेट्राले पनि आत्महत्या गरिन् । मिश्री जनताले फराह (राजा) बनाएका उनका छोरा सिजरियनलाई अक्टाभिएनले बन्दी बनाएर मृत्युदण्ड दिए । र, आफूलाई मिश्रको सम्राट् घोषणा गरे । सत्ता र सौन्दर्यको कुरा आउनासाथ क्लियोपेट्राको सन्दर्भ निकाल्ने गरिन्छ । क्लियोपेट्रा रानी हुँदा उनले शक्तिको प्रयोग/दुरुपयोग मात्र गरिनन्, रोमजस्तो शक्तिशाली साम्राज्यबाट मिश्रलाई स्वतन्त्र राष्ट्रका रूपमा २० वर्षजति बचाएर राखिन् । सिजर र एन्टोनीसँगको उनको सम्बन्ध केवल व्यक्तिगत थिएन, राजनीतिक पनि थियो । मिश्रको स्वतन्त्रताका लागि सायद क्लियोपेट्राले चर्को व्यक्तिगत मूल्य चुकाएकी थिइन् ।
एजेन्सीबाट

No comments:

Post a Comment