Dec 14, 2008

समाधिमा एक थुँगा फूल

गोविन्दराज भट्टराईँ
मंसिरको पहिलो दिन, खादबारीमा झलमल्ल घाम लाग्यो । अरुणपारिदेखिको चिसो सिरेटोले छुदाछुदै हामी पोखरी बजारमा भेला भएर बिस्तारै उकालियौं । धूलो बाटोमा कतै हिलो बाटोमा कतै गाडी पछि सर्न खोज्थ्यो तर नया उत्साहसाथ माथिमाथि चढ्दै गयौं । त्यहा डोजरले तछारेका कान्लाहरू मास्तिर बारीमा कोदो झपक्क छ, कत्रो ठूलो अम्बाको बोट फलिरहेको, भोगटेमा पनि फर्सि पाकेर तन्किरहेको, सुन्तला पहेंलिन मात्रै थालेका, टाँकी फुलेर सेतै, यो अर्को संसारमा धानबारी मुन्तिरको जङ्गलमा पैयु फुलिरहेको- कति रमाइलो आज , पैयुको रूखै गुलाबी . यस्तो बेलामा फुल्दोरहेछ नि ? बाटाका प्राचीन घरगोठहरू हेर्छु- कतिपय छाना खरका, चुलाको धूवाँले गारामाथि चढेर गरेका कलाकर्महरू, दैला र सिकुवा, एउटा राडी बिछयाएको खाट एकछिन बिसाउने हो कि , यी पुराना, शेक्सपियरका कटेजहरू थुप्रै अप्रदूषित बासघारीमाथि, कोदाबारीमुनि, भैंसीगोठ पर्तिर तरुलका लहरा बटारिएका- खन्ने बेला भयो कि ? धराप छ बाटो- ढुङ्गा उत्तानो परेर, तेर्छिएका, घोप्टिएका, गिटीभन्दा ठूला तिखे, दर्सिन, फोस्के । मोटर बुरुक्कै उचालिन्छ र भ्वाक्कै पछारिन्छ, कोल्टिन्छ, हल्लिन्छ, थतर्किन्छ, नाचेझैं पनि गर्छ, साघुरो च्यापबाट कतैकतै खेतको बीचबाट कताकतिका खोल्सेनी नाघ्दै । तलको माल्टा देखियो, हरियो । के त्यो ज्यू अब माल्टाको माल्टा हो - क्रिस्टोफर मार्लोलाई नै सोध्न मन थियो- कसरी तिमीले सङ्खुवासभाको माल्टा भूमध्यसागरमा पुर्‍यायौ, हे मार्लो , दिङ्ला, चन्दनपुर, मादी, धुपू नजर घुमाउदै हाम्रो जब्बर महिन्द्रा डाडाको टुप्पैमा पुग्यो । यता फर्केर हेर्दा लामो गालो खादबारी शिरमा राखेर धान पाकिरहेको, कतै उठाउदै । उता तल अरुणपारिको भोजपुर लमतन्न रहेको । अनेक तरेली डाडा आ-आफ्नै नाम लिएर सुतिरहेका । छयाङ्कुटी पुगेर बिसायौं । यो भेडेटारभन्दा उचाइमा हुनुपर्छ यो छयाङ् बेच्ने कुटी तर त्यस्तो केही थिएन । राकेभन्दा माथिको रक्से जतिको होला । माथि हरियै जङ्गलले ढाकेको लहरीखर्क, अर्को गालो दिदिङ् । कति सुन्दर, रसिलो र आकर्षक गाउ, यता लेलेको झल्को मेटाउने कत्रा खेती र बस्तीहरू । छयाङ्कुटीबाट छयाङ्गै देखिने मकालु शृङ्खला, हिउलाई छोएर चल्ने चिसो बतास । त्यहाबाट हाम्रो बाटो अब एक अगम्य प्रदेशतिर मोडियो । एक अध्यारो कालो जङ्गलभित्र पस्यो । उत्तिसघारी आयो, चाप र गुरास भरिए । यतिखेर चाप फुल्ने छैन, गुरास फुल्नेछैन, ती हरिया पातमा छन्, धेरै तल पैयु फुलेका पाटाहरू छुटिसके । यो प्राचीन जङ्गल, सृष्टिजतिकै पुरानो हुनुपर्छ । भित्रभित्र जमिन ढाकेर अलैंचीको बोट छपक्क हरियै नुहेका पात, भर्खर गोडिएर बसेका । बाटामुनि अलैंची, बाटामाथि अलैंची, अलैंची नै अलौंची, हरियै- यो चिचिलाको पातल जति भित्र पस्यो त्यति एउटा गहिरो अगम्य दहमा पसेजस्तो । ओसिलो जमिन छ, चिप्लो फुस्रो माटो, कतै पानी छिपछिपे, टयाक्टरका डोबले गरा पारेको, काला खोल्सा, फुत्त भालु निस्केर नाच्लाजस्तो- कसले रोप्यो होला यसरी दिनभरि हिड्दा नसकिने पातलभित्र अलैंची, इलाममा भन्दा धेरै । माथि पातलको छानोले छेकेर घाम देखिदैन, तल अलैंचीले ढाकेर भुइं देखिदैन । रबर्ट फस्टले द उड्स् आर लभ्ली डार्क एन्ड डिप भनेको जङ्गल यही थियो कि चिचिलाको पातल - रूखतिर हेर्छु ससाना त्रि्रामा भ्याङ्ले सुरुवाल भिरेझै, फेददेखि टुप्पैसम्म बोक्रो नदेखिने गरी झयाउले ढ्याप्पै टालिएका छन् खासाको हरियो भुत्ले कम्बल बेरेजस्तो । उभिएका कट्टुस होलान्, चाप, गुरास यस्तै होलान् । सोत्तर झोडी र अन्य बुटयान पनि उम्लिरहेकै छन् । खोल्सापारिबाट टिर्लिङ्टिर्लिङ घन्टी बजाउदै खच्चरको ताती, बोराभरि अलैंची बोकेर बजार झरेका एक सुरमा, एक गतिमा, यताबाट अर्को ताती भारी बोकेर गाउँ हिडेका- हामी एकछिन रोकिन्छौं । इन्द्रले आज यो अत्यन्तै कच्ची, जङ्गली मार्गमा यन्त्रलाई दाउदै छन्, अब छिट्टै यहाबाट यी सारा खच्चर गधा घोडा विस्थापित हुनेछन्, ढाकर तोक्मा सँगै जानेछन् । निकैबेरपछि जङ्गल सकियो र उदाङ्गो डाडो आइपुग्यो । सस्याना बुटयान र ऐंसेलु घारी, नागीजस्तो- धेरै टाढाबाट मकालुले नित्य हेरिरहेको । 'यहा एकछिन बिसाऔं सर', कुबेरले प्रस्ताव गरे । चिचिलाको डरलाग्दो पातल काटेर अर्कै उदात्त भूमिमा टेक्ता मन पनि अर्कै भएको थियो । चराको आवाज अर्कै, बतास अर्कै, झोडीभित्रका वनफूलको रङ्ग अर्कै, यो भञ्ज्याङमा बिसाएर दुवैतिरको अनन्त विस्तृति, कालिमा र अगम्य प्रकृतिलाई हेर्ने रहर उठ्यो । हामी सबै ओर्लियौं । नजिकमा तीन-चारवटा छाप्रा थिए । बाक्ला ज्याकेट लगाएका नरनारी देखिए, पछिपछि राता गाला गरेका केटाकेटी पनि थिए । छेउमा उभिएको एउटा प्रौढोन्मुखलाई कुबेरले सोधे- वीरबहादुर दाइ, त्यो घटना कहानेर भएको थियो - पातला दारी, घुर्मैला वस्त्रमा पचास पचपन्नको जीउ होला, वीरबहादुरले औंल्याए, 'ऊ त्यहानेरि ।' हामी कुनै नौला र विशेष हौं कि भन्ठानेर सायद दस-पन्ध्रजना त्यहा भेला भए । अर्को अधबैंसे हाम्रो नजिक आएर बुढिऔंलाले भुइं कोटयाउदै भन्यो- 'होइन काम्रेड यहानेरि पो त । यहीनेर रातै थियो रगत पोखिएको ।' म झसङ्ग भए । आज कस्तो रहस्यमय कुरा भइरहेछ , कसको रगत हो ? कसरी यो अनकण्टार प्रदेशको निर्जन बाटोमा पोखिएको । त्यो वक्ताले यसरी प्रस्तुत गर्‍यो मानौं त्यो चिल्लो, पटपटी फुटेको चिम्टे माटोमा अझै रगत टल्किरहेको छ ।
के कुरा हो त्यस्तो वीरबहादुर दाइ - मैले पनि जिज्ञासा राखें ।
एकजना बैनी मारिएको, माओवादी मिलिसिया ।
तिनी को थिइन् ?
'सीमा भन्छ पार्टीको नाउले उसको नाउ’
ता थाहा छैन । तेरथुमको केटी हो ।' पर्तिर मुढाका फलैंचा थिए, त्यहा ढाकर बिसाउनेहरू थिए । हाम्रा वरिपरि ती पनि थपिए । दोकानबाट काम छोडेर अरू महिला र रातागाले नानीहरू पनि जम्मा भए । पच्चीसतीस पुग्यौँ ।
'कसरी त्यस्तो हुन गयो ?'
आर्मीहरू चिचिलाको पातलबाट यता आइरहेका थिए , माओवादीहरू कुवापानीतिरबाट । उनीहरूलाई आर्मी आउदै छ भन्ने पत्तो भएन । यहा दुवैको जम्काभेट हुनासाथ डयाम्मै गोली पड्कियो । अरू भागेर तल र माथि झोडिभित्र, वर र पर कहा पुग्यो पुग्यो । भेडाबाख्रा तर्छेर उफ्रे जस्तो भयो तर सीमा अघिअघि थियो, एकै गोलीमा डङ्ग्रङ्गै लड्यो । ढलेपछि परक्कै बटारिएर त्यो भित्तामा पुगेको थियो, फेरि गोली पड्कायो । निकैबेर छटपटिएर यो बाटो रक्ताम्मे भएपछि ऊ सोर्गे भयो । अरू जिज्ञासाहरू बाकी हुदै जीउ सिरिङ्ग भयो । यो डाडाको माथि, भञ्ज्याङ परेको ठाउमा तलदेखिको सिर्सिरे बतासले सबै बुटयान र सेउला हल्लाइरहेको थियो, बुकी फूल पनि थर्थरी कामिरहेको । अनि वीरबहादुर अघि लागे, हामी पछिपछि, केही पर पुगेर उनी एउटा थुम्किमा चढे, हामी पनि उक्लियौं । त्यहा पुगेपछि झन् चिसो बतासले वरिपरिका बुटयानहरू हल्लाउन थालेपछि एउटा स-सानो ढिस्कोतिर देखाउदै उनी बोले- 'हामी गाउलेले मिलेर उसलाई यहा गाडिराखेका छौं । यहींनेर केही बनाउने विचार छ ।' छेउमा गएर हेर्‍यौं- छ हात लामो समाधिस्थल चारवटा ढुङ्गाले छोपिएको थियो । ती पातला चेप्टे ढुङ्गामाथि हरियो लेउ बसेको थियो, बाकी फुस्रो लेउले ढाकिसकेको माटो र झारपात । अब त्यहा माटो खनेको, चिहान बनाएको कुनै निसाना थिएन, बुटयान र झारपातको बीचमा एक समाधिस्थल थियो ।
'सीमाको उमेर कति भएको थियो होला दाइ ?'
'सोरसत्र' एउटा उत्तर आयो ।
तर वीरबहादुर बोले 'होइन, उन्नाइस किनभने हाम्रो पाटीले अठार नपुगी बिहे गर्नु दिदैन । सीमाको बिहे भइसकेको थियो । उनको पेटमा गर्भ थियो ।' त्यसबेला मैले सजनलाई सम्झें- गर्भवती मृगिणी मृतावस्थामा, उनी विलियम स्टयाफोर्डको यो कविताले एकपल्ट अति द्रविभूत थिए । आज गर्भिणी सीमाको समाधिमाथि ढुङ्गाको चेपबाट उन्युको बोट पलाइरहेको थियो अनि एउटा ऐंसेलुको बोट आकाश ताकेर उभिएको थियो । त्यो रोपिएको हो कि? यो वनफूलमा पनि स-साना जुनकीरीजत्रा सेता टीका लाग्छन् । त्यो समाधिमा एक थुगा चढाउन मन थियो तर त्यो फुल्न बाकी थियो अनि हामी फर्कियौं । यद्यपि यो मन फर्किएन । चिहानमाथिको हरियो ऐंसेलुलाई फर्केर हेरें, मलाई एमिली डिकिन्सनको सम्झना भयो, उनको ह्वेन आई एम डेड, माई डियरेस्टको-
म मरेपछि हे प्रियतम
मेरा नाममा उदासी गीत नगाउनू
शिरमा नरोप्नू कुनै गुलाफ
छायादार साइप्रेस पनि नरोप्नू
ममाथिको हरियो घास
वर्षा र शीतले हरियै रहोस्
मनलागे तिमी सम्झी रहू
मनलागे तिमी बिर्सिरहू
म कुनै छाया देख्ने छैन
वर्षाको अनुभूति हुनेछैन
दुःखमा गाउने कुनै कोइलीको स्वर
मैले कदापि सुन्नेछैन
अनि कहिल्यै नउदाउने र नअस्ताउने
सन्ध्यामा सपना देख्तै
म सम्झी रहुला
म बिर्सिरहुला ।
यताको दिदिङ, परको बङ्सिनाम, माथिको गोरुजुरे- डाडाको टुप्पालाई मकालुदेखिको बतासले उडाउन खोज्यो । यतिखेर तल मत्सेपोखरीको कालो जङ्गलमा स-साना रातापाण्डा उफ्री रहेका होलान् । गर्भिणी सीमाको नानी ? कति भयानक कल्पना भनौं कि दिवास्वप्न , बाटामा दाउराका भारी बोक्ने आमाहरू थिए, पर्तिर झुपडीको डिलमा क्याराम हानिरहेका छोराहरू थिए । मनमा एउटा जिज्ञासा उठ्यो, 'कहिलेको घटना हो यो दाइ ?' 'पुग्यो, तीन-चार वर्षको पुग्यो । त्यो बच्चा जन्मिन पाएको भए यो यत्तिकै अग्लो भइसक्ने थियो ।' उनले चिहानको डिलमा उभिएर त्यो ऐंसेलुको बोटमाथि हातले इसारा गरे- उनले त्यो बोट जत्रो भनेको हो कि आफ्ना हातले अड्कलेको उचाइ जत्रो भन्न सकिनँ तर मैले त्यो ऐंसेलुमा एउटा स-सानो, गालामा रगत भरिएको बालक देखें, सीमाका फेरमा समातेर त्यो बन्दुक खेल्दै थियो । अनि म बोलेँ-
सपना बनाइदिनेहरू कहा पुगे
तिमी चिसो माटोमा छयौ
सपना भत्काइदिनेहरू पनि
कहा पुगे
तिमी चिसो माटोमा छयौ
टाढा उभिएकी भए ऊ
टुकुटुकु हिडिरहेको देख्नेथ्यौ
चढाइरहेछु आज तिम्रो समाधिमा
यो एक थुँगा फूल ।
एउटा अन्तिम जिज्ञासा थियो- 'अनि त्यो गर्भस्थ शिशु पनि त्यही दफनाइयो -' तर वातावरण गम्भीर भयो, अनि हामी यो भेटलाई अन्त्य गर्दै ढिस्को ओर्लेर बाटामा पुग्यौं । आजका सूर्य पनि अस्ताचल पर्वतमा ओर्लिसकेका थिए । हामीलाई फर्किन ढिला भइसकेको थियो ।
कान्तिपुरबाट

No comments:

Post a Comment