Oct 28, 2008

तिहारको मुन्धुम्, विकृति र सच्चाइहरू

डीबी आङ्बुङ
नेपाल वैधानिक रुपमा त धर्मरिनपेक्ष राज्यको रुपमा घोषित छ । तर, व्यवहारमा त्यो लागू भएको छैन । यो लागू हुने दिन आउला भनेर विश्वास गर्न सकिने अवस्था पनि छैन, अहिले नै । राज्य सञ्चाकहरूमा त्यो मानसिकता देखिँदैन, अझैपनि । यसमा स्वयम् धर्म निरपेक्ष राज्यको पक्षधर हुनुपर्ने व्यक्ति र समुदायको पनि कमजोरी छैन, भन्न सकिन्न । ती कमी कमजोरीहरू महसुस गरी त्यसलाई सच्याएर लैजान सहयोग हुन्छ कि भनेर यो 'तिहार' चाडको बारेमा केही अभिमतहरू राख्न खोजिएको छ । दशैं केवल हिन्दूमात्रको चाड भनिए पनि तिहार त त्यस्तो होइन । यो प्रायः नेपालका सबै अदिवासी जनजातिहरूको पनि महान राष्ट्रिय चाड हो । त्यसैले, यसबारे हामी सबै अलिक बढी संवेदनशीन हुनुपर्दछ ।
१. तिहार चाड र शब्दको उत्पत्ति
यो 'तिहार' शब्दको शाब्दिक अर्थलाई औल्याउँदै जाँदा अवश्य पनि सबै जाति र सम्प्रदाय अनुसार केही फरक मतहरू पाइन्छन् नै । तैपनि, खास सत्य तथ्य कुरा त एउटै नै हुनु पर्ने हो, यस बारेमा । नेपालमा प्रचलित हिन्दू धार्मिक मतानुसार यमराजको जीत वा हार भन्ने प्रसङ्गबाट 'त्यो हार' (त्यो पराजय) हुँदै 'तिहार' शब्दको ब्युत्पत्ति भएको हो पनि भनिन्छ । तर, वास्तवमा त्यही यमराजको कथामा पनि यमराजको न त कतै जीत भएको हो या त हार नै । त्यहाँ हार र जीतको प्रसङ्ग नै पाइँदैन । यसकारण, यो तिहार 'त्यो हार' शब्दबाटै बनेको हो भनेर विश्वास गर्न सकिन्न ।नेपालकै आदिवासी किरात लिम्बू समुदायमा पाइने मतानुसार यो तिहार शब्दको उत्पत्ति 'त्यो हार' बाट नभएर 'तियाहा' भन्ने शब्दबाट भएको हो । यो 'तियाहा' शब्दको निर्माण र उत्पत्तिको तथ्यहरू पहिल्याउँदै जाँदा नेपालकै प्रथम र सबभन्दा लामो समयसम्म राज्य सञ्चालन गर्ने किरात कालको युगतिर पुग्नुपर्ने हुन्छ । किरात इतिहासकार स्वर्गीय इमानसिङ् चेम्जोङ्का अनुसार नेपालको हालको गण्डकी प्र्रदेशमा वालिहाङ ('हाङ्' को अर्थ किरात समुदायले बोल्ने प्रायः सबै भाषमा राजा, राजनेता वा प्रतापी व्यक्ति भन्ने हुन्छ) नाम गरेका राजनेता थिए । वाहिहाङ जनताको दुःख-सुखमा प्रत्यक्ष सहभागी हुने गर्दथे । उनी जनताप्रति बफादार, प्रतापी र दूरदर्शी भएकाले राज्यमा कुनै कष्ट थिएन । यसरी राजकाज गर्दै एवमरितले समय बित्ते जाँदा एक समय एकाएक राजनेता वालिहाङको मुहारमा उदशीनता र मलिनता छाउन थाल्यो । जनताहरू छक्क मात्र परेनन् कि आश्चार्य चकित नै हुन थाले । आफ्ना प्यारा राजनेतालाई विन्ति भाउ गर्दै जोड गरेर सोधेपछि रहस्योद्घाटन गर्दै राजनेताले भनेछन्- 'मेरो मृत्युको दिन नजिक आइपुगिसकेको छ । म यही कार्त्तिक महिनाको कालरात्री औशीको रातसम्ममा मर्दैछु । म मेरा प्यारा जनतादेखि मृत्युवरण गर्न जानुपर्दा चिन्तित छु, दुःखी भएको छु ।' राजनेता वालिहाङको यस्तो कारुणिक कुरा सुनेपछि राजदरवार र देशभरि रुवाबासी नै चल्न थाल्यो । पुनः राजनेतालाई विन्ति चढाउँदै वहाँ बाँच्ने उपाय बताइदिन हुन आग्रह गर्दा नेताले सान्त्वना दिँदै भनेछन्- 'हुन त मलाई कालले लैजान्छ नै, तै पनि त्यस रात सबैले आ-आफ्नो घर घरमा दियो कलश राखी रातभरि उज्यालो बत्ती बालेर काललाई नलैजान विन्ति गर्दै, इश्वरसँग प्रार्थना गर्दै बस्यौं भने कतै मर्दिन कि ।' त्यपछि राजनेताले भने बमोजिम त्यो औशीको रातमा दियो कलश राखी बत्ती बालेर इश्वर (तागेरा निङवाभुमाङ्) सँग आफ्ना प्यारा राजनेतको दीर्घायुको कामना गरिबसे । दुःखी जनताको यो प्रार्थनाले स्वभावैले राजनेताको मनोवलमा उर्जा थप्यो । हुनसक्छ,र्इश्वरबाट पनि जनताको कमनालाई स्वीकार भयो र होला, राजआवासमा त्यसरात बितिसक्दा पनि राजाको मृत्यु भएन । अब क्रमशः राजनेताको मुहारमा मुस्कान छाउन थाल्यो । उनी शारीरिक र मानसिक दुबै रुपले स्वस्थ्य हुँदै गए । अनि त्यस राजआवास वरिपरि रहेका जनताले खुशीले एकैसाथ भने- 'तियाहा !' यसरी हर्षर खुशीमा भनिने यो 'तियाहा' भन्ने किरात शब्दको अर्थ 'जय' वा 'विजय' भन्ने हुन्छ । यसप्रकार, राजनेता वालिहाङ र जनताको जीत भयो मुत्यृसित । तसर्थ, यो कुनै अन्य समकक्षी व्यक्ति वा शत्रू विशेष्सित भएको जय नभएर स्वयम् मृत्युसँग भएको विजय हो । यसपश्चात्, राजनेता वालिहाङले निर्देशन दिए कि यसरी निको भइसक्दा पनि अझै विचरा जनताहरू कतै राजनेता के भयो भनेर विलौना गर्दै पीर-मर्कामा दियो कलश बालेर आ-आफ्नो देवताको पूजाआजा गरी सुताएर बसेका होलान् । त्यसैले, अब यहाँका सम्पूर्ण कार्यकर्ताहरू पूर्व-पश्चिम, उत्तर-दक्षिण सबैतिर राजनेता वालिहाङको मृत्यु नभई निको भएर स-कुसल रहेको खबर प्रत्येक कुना-काप्चामा पुर्‍याउन निर्देशन दिने सल्लाह भयो ।त्यही निर्देशन अनुसार सञ्चारकर्मीको रुपमा आम कार्यकर्ताहरू गाउँघर डुल्दै 'वालिहाङरन् तियाहा ! (वालिहाङको जय भयो)' भन्दै खबर पुर्‍याउँदै हिँडे । तिनीहरू आजका सञ्चारवाहक पत्रकारजस्तै थिए । यसरी किरात भाषामा 'जय होस्' वा 'जय भयो' भन्ने अर्थमा प्रयोग हुने 'तियाहा' शब्दनै खस नेपाली भाषाम अपभ्रंस हुँदै 'तिहा' र 'तिहार' भएको हो भन्ने भनाइ छ । अझै पनि कितात समुदायमा कुनै धार्मिक वा साँस्कृतिक अनुष्ठान गर्दा सामुहिक रुपमा 'तियाहा' भन्ने चलन छ ।
२. तिहारमा खेलिने देउसी-भैलोको अर्थः
देउसी वा देउसीरे भन्ने शब्दको शाब्दिक अर्थलाई केलाउँदा यो शब्द कुनै सुर, असुर वा देवासुर आदिबाट बनेको नभई अर्कै फरक र सार्थक अर्थ लाग्ने किरात शब्दबाटै बनेको देखिन्छ । किरत (लिम्बू) भाषामा त्रिकालदर्शी व्यक्तिलाई 'तेअङ्सि' भनिन्छ । तेअङ्सि भन्ने शब्दको अर्थ ज्ञानी अवतारी व्यक्ति भन्ने पनि हुन्छ । किरात मतमा वणिर्त राजनेता वालिहाङ त्रिकालदर्शी पनि थिए भनिन्छ । उनी भूत, वर्तमान र भविष्यबारे राम्ररी हेक्का राख्दथे, र त आफ्नो मृत्युबारे अग्रीम थाहा पाए । उनी सपना, विपनामा अतीत, वर्तमान र भविष्यबारे ज्ञान पाउँदथे, थाहा पाउँथे । यस्ता व्यक्तिई किरात लिम्बू समुदायमा 'तेअङ्सि' भनिन्छ । जस्तै किरात सिरिजङ्गा लिपिका पुनर्उत्थानकर्ता तेअङ्सि सिरिजङ्गा यसको ज्वलन्त उदाहरण हुन् । अतीतका कुराहरू समयसँगै व्यतीत हुँदैजाँदा कथाजस्तै हुदै जान्छन्, खास लिखित इतिहास नबनेसम्म । यस्तै इतिहासमा आज कथाजस्तै वर्णित वालिहाङको वर्णनमा आउने खबरदारीहरू 'तियहा हाम्रा राजनेताको जय भयो' भन्दै सञ्चार प्रवाह गर्दै हिँड्दा जनताले पहिलो पटक त्यति सजिलै विश्वास नगरेर उल्टै प्रश्न सोधियो होला- 'हैन तिमीहरूलाई यसरी कसले पठाएको -' जवाफमा उनीहरूले भनेँ- 'तेअङ्सिरे (महात्माले)' । ती महात्मा- तेअङ्सि तिनै राजनेता वालिहाङ थिए । यसरी 'तेअङ्सि'ले पठाएको भनी पटक-पटक स्पष्टीकरण दिँदै हिँड्दा भनिएको 'तेअङ्सिरे' भन्ने शब्दनै अपभ्रंस हुँदै कालान्तारमा देअङ्सिरे हुँदै 'देउसी वा देउसीरे' भएको हो भनेर गाउँघरका बूढापाकाहरू बताउँछन् । अझै पनि देउसी खेल्दा आफ्नो देउसी खेल्ने हक अधिकारको सफाया गर्न देउसी टोलीहरू भन्ने गर्छन्- 'ए हामी तेसै आएको होइन, यहीँको भूमिराजले खटाएको, वलिराजले पठाएको' भन्ने चलन छ ।त्यसैगरी, आज खेलिने यो भैलोको बारेमा खोज तलास गर्दा भने यसको चलन यहाँको आदिवासी जनजाति समुदायको किंम्वदन्तिमा कतै पाइँदैन । आज प्रचलित भैलोचाहिँ किरात संस्कृतिभन्दा अलिक बेमेल खालको महशुस हुन्छ । यो भैलोचाहिँ किरात समुदामा आफ्नै मुन्धुम् गाएर खेलिँदैन पनि । अहिले देउसी खेल्दा महिला पुरुष दुबै मिलेर खेलिन्छ भने भैलोचाहिँ महिलाने मात्रै, त्यसमा पनि औंशीको रातमा खेलिने चलन आदिवासी समसुदायमा छैन र कतै नक्कल गरिएको भए पनि यसको मुन्धुमी आधार पाइँदैन । यसैगरी, किरात मुन्धुम् र संस्कारमा कतै पनि भीख माग्ने र दान दक्षिणा दिने-लिने चलन छैन । बरु तेतिकै सहयोग मागिन्छ, केही चिजले साटिन्छ वा मूल्य नै तिरिन्छ । तर, त्यसलाई दान, दक्षिणाको रुपमा दिने-लिने चलन किरात संस्कार र संस्कृतिभित्र पर्दैपर्दैन । भैली खेल्नेहरू आउँछन् आँगनमा । त्यो पनि गुन्युँ चोलो मागन । त्यै पनि अँधेरी औशीको रातमा, त्यसमा पनि केवल महिलाहरू मात्रै । यो अलिक बेमेल छ कि ?खासमा, वाहिहाङको मुन्धुम् अनुसार देउसी खेल्नेले गाउँगाउँमा गएर सृष्टि र सभ्यताको मुन्धुम्सँगै वालिहाङको मुन्धुम् सुनाउँदै साँस्कृतिक कार्यक्रमहरू गरेर सबै जनतालई सामाजिक, साँस्कृतिक र राजनीतिक रुपमा सचेत गराउने खालको कार्यक्रमहरू गर्नुपर्ने हो । एउटा गाउँ र अर्को गाउँ अथवा एउटा जाति र अर्को जातीय समुदायमाबीचमा सहयोग र सद्भावको विकास हुने कार्यक्रमहरू गर्नुपर्ने हो । त्यसै गर्थे पहिले पहिले गाउँघरमा र अहिले कही कतै यसको मर्म बुझ्नेले त्यसै गर्ने गर्छन् । तर धेरै जसो व्यक्ति, संस्था र समुदायबाट यसलाई त्यसरी लिन न गर्नको सट्टा केवल पैसा उठाउने र रमाइलो गर्ने पक्षमा मात्र विकसित हुँदै जानुले तिहारको भविष्य पनि खतरामा पर्दै गएको आभाष् हुन्छ । यी यस्ता चाडहरूलाई संस्थागत गर्न र समयानुसार सही सार्थक रुपमा मनाउँदै लैजानका लागि आदिवासी जनजातिको हकमा सम्बद्ध जातीय, धार्मिक र साँस्कृतिक संघ संस्थाहरूले विशेष ध्यान दिएर यसलाई सही मार्गमा डोर्याउँदै लाने कार्यक्र र नीतिहरू लिँदै लैजानु पर्दछ ।
३. तिहारमा देखिने विकृतिहरू
दशै शुद्ध हिन्दू मात्रको चाड हो । यसलाई अरु धर्म र जातिय समुदायले अशुद्ध पारिदिनु हुदैन । तर तिहारको सवालमा आज मिश्रति संस्कार, संस्कृति र दर्शनले आ-आफ्नै ठाउँ लिएको छ ।
जुवा तासको विकृतिः
तिहारको बेला घरदेखि गल्ली, सडक र चोकचोकमा जूवा तास खेल्ने चलन छ । यो चलन गाउँभन्दा पनि शहर बजारमा अझै बढी व्याप्त छ । यसरी तिहारमा जूवा-तास खेल्ने चलन आदिवासी किरात समुदायको संस्कार र चलनसँग सम्बद्ध भएको पाइँदैन । यो केवल हिन्दू संस्कृति अनुसारमात्र यम पञ्चकको रुपमा मानिन्छ र खेल्ने गरिन्छ । मनोरञ्जको रुपमा खेल्नु ठीकै भए पनि यसलाई संस्कृतिकै एउटा अङ्गको रुपमा मानेर लैजादाँ यसले अरु त के हिन्दू समुदायलाई पनि हित गर्दैन । साथै, यसको नकारात्मक असर अन्य आदिवासी समुदायमा पनि पर्न जान्छ । यो जूवा-तास आदिवासी समुदायले खैल्दै नखेलेर र खेल्नेले पनि यसलाई चाडै छोड्नु पर्दछ । अर्थात् यो जूवा-तास खेल्ने परम्परालाई सांस्कृतिक रुपमा मान्नु र वैधता दिनु राम्रो हुदैन ।

तिहारमा दान, दक्षिमा माग्ने र दिने लिने विकृति :
ख्याल ख्यालमै अहिले आएर तिहार चाड पनि दशैंभन्दा विकराल दशाको रुपमा विकसित हुँदैन । चाड मान्ने र देउसी खेल्ने निहुँमा वलिहाङको नाम जप्दै बलमिची चन्दा र दान-दक्षिणा असुल्ने गलत चलन हावी हुँदैछ । ययको उन्मूलनको लागि यतिमात्र पैसा दिने भनेर बरु दररेट तोकिन्छ तर कहिल्यै पनि यसको ऐतिहासिक तथ्यलाई खोतलेर हेर्ने अनि सही कुरा पत्ता लगाएर गलत कुराको जरै उखेल्ने प्रयत्न गरिन्न । यो हाम्रो पनि मानसिक विकृति र कुसंस्कृति हो । नेपालका आदिवासी किरात लिम्बू संस्कृति अनुसार त तिहारमा वा कुनै कुरामा पनि दान दक्षिणा माग्ने र दिनेलिने संस्कार नै छैन । यो पछि थोपरिएको विकृति हो । पहिले वालिहाङको सु-समाचार प्रवाह गर्ने खबरदारीहरूलाई माया, दया लागेर मानवीय सहयोगको भावनाले सही सु-समाचार ल्याएकोमा खुशी हुँदै एसो बाटो खर्च, केही चिजवीज वा खानेकुराहरू दिने वा खुवाई पठाउन क्रमको सुरुवात अवश्य पनि भयो नै होला । र, अझै पनि सही रुपले तिहारको अर्थ र देउसीको मर्मअनुसार देउसी खेल्नेले यसलाई त्यसरी नै बुझ्ने वा लिने गर्दछन् । गाउँघर वा शहर बजारतिर पनि कतै देउसी खेल्दा खाजापानी दिने चलन अझै पनि छँदैछ । तर, अब विस्तारै यो चलन लोप भएर खाजाको सट्टा पनि पैसै दिनुपर्ने चलन नआउला भन्न सकिन्न । त्यसरी खाजा दिनु भनेको पैसा दिनुभन्दा पनि ठूलो सम्मान दिनु र पाउनु हो । यो हुक्वा वा हातको सोवित् दिने चलन पनि हो । यो हुक्वा वा हातको सोवितसँगै खासमा माया, ममता सहयोग र सद्भाव पनि दिइएको हुन्छ । तर, आज यतिमात्र पैसाले हुँदैहुँदैन, यति त दिनैपर्छ कालो कात्तिकमा दिएको दानै हुन्छ भन्ने चलन गर्नु यो चाड र संस्कृतिको मर्मविपरीत र विरुद्धमा हुन्छ । यस्ता गलत पक्षहरूलाई सुधार्नको लागि अब हामीले कसैको करकाप् र भुभुलैयामा नपरी, नलागी आफ्नै संस्कार-संस्कृति र चाडपर्वहरूलाई पनि एक पटक गहिरो गरी हेरेर वा बुझेर यसको मुन्धुम् वा मर्मविपरीत विकसित गरिएको वा अर्काको संस्कृतिबाट भित्र्याइएका गलत प्रवृत्तिहरूलाई सच्याएर साँच्चिकै गौरव गर्न लायकको संस्कार-संस्कृतिहरूको अवलम्बन र विकास गर्दै लैजानु पर्दछ । तिहार र देउसीको सवालममा पहिले सञ्चारको साधन थिएन र कुनै समाचार पुर्‍याउन घरघर नै चाहार्नु पर्दथ्यो । आज संसार सञ्चारको कारणले सानो गाउँझै साँघुरिएको जमानामा त्यही अनुसार कतिपय परम्परागत संस्कारहरूलाई सच्याउँदै लानु अपरिहार्य भएको छ । यदि यसो गर्न सकिएन भने त्यो चाडले सामाजिक र साँस्कृतिक रुपमा कुनै खास अर्थ बोकेर समाजलाई सही दिशाबोध गर्न सक्दैन ।

४. तिहारमा गरिने पूजाआजाको प्रसङ्ग
मानव समाज र सभ्यताको विकासक्रममा आइपरेका कैयौं समस्याहरूको सामना गर्दै आउँदा जानी नजानी विभिन्न मूल्य-मान्यता र संस्कार-संस्कृतिहरूको सिर्जना र विकास हुँदै आएको हुनुपर्छ । यी कुराहरूले मानव समाजलाई सदैव सजक र सचेत गराइरहन्छ- वर्तमान र आउने भविष्यप्रति पनि यदि त्यो सही छ भने । यदि त्यो गलत छ भने त पछिको त के कुरा वर्तमानमै पनि त्यो संस्कारसँगै बाँच्न र अस्तित्व कायम गर्न गाह्रो भइदिन्छ । झण्डै यो तिहार पनि त्यस्तै हुन लाग्दैछ हाम्रो कजजोरी र गलत प्रवृत्तिको राज्यसत्ताको कारणले गर्दा ।यहाँ फेरि, यो तिहारमा गरिने पूजाआजा र मानिने पुजिने वस्तुहरूको बारेमा एउटा दृष्टिकोणबाट विश्लेषण गर्ने कासिस गरौं । यसरी हेर्दा यो तिहार चाडमा केही सही कुरासँगै अनगिन्ती गलत कुराहरू पनि हावीहुँदै आएको पाउँद्छौं । यदि सम्वेदनशील भएको आफ्नै संस्कार-संस्कृतिको कोणबाट हेर्ने हो भने थुप्रै बेमेल र असमान संस्कारहरू विकसित गरिएको पाइन्छ । वहिहाङको मुन्धुम् अनुसार तिहारमा काग, कुकुर, गाई, गोरु र भाइलाई देवता मानेर पूजा गर्ने प्रसङ्ग कतै पाइँदैन । यो तिहारमा आजसम्म विद्यमान काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र केवल चेलीले मात्रै भाइ-दाइको पुजा गर्नुपर्ने एक पक्षीय पक्षपाती चलन किरात मुन्धुम्को मर्म र संस्कार संस्कृतिभित्र पर्दैन । यो पछि हिन्दू संस्कारबाट भित्र्याई कोचिएका वा जोडिएका कुराहरू हुन् । तिहारको प्रमुख तथ्य मुन्धुम् राजनेता वालिहाङको प्रसङ्गमा कतै पनि चेलीले माइतिलाई फूलमाला, टीका आदि लगाइदिएर पूजा गरिदिएको प्रसङ्ग छैन । वलिहाङको मुन्धुम् अनुसार तिहारको सुरुदेखि औंशीको रातसम्म पहिलेका ती प्रतापी कुसल राजनेता वलिहाङको सम्झना र अबका राजनेताहरू प्नि तिनै वलिहाङजस्तै जनताको लागि मरिमेट्ने असल शासक होऊन्; उनीहरूलाई कुनै विघ्न बाधा, अड्चनहरू आइ नलागोस् र देशमा शान्ति सुब्यवस्थाले छाइरहोस् भनेर आफ्नो इष्टखदेव देवीसँग दियो कलशबाली विहान बेलुकी सेवा प्रार्थना गर्नु सान्दर्भिक हुन्छ । मुन्धुम् अनुसार प्रकृतिमा पाइने जति पनि फूलहरूको बेग्लै अर्थ, उपादेयता र पहिचान छ । किरात समाजमा आफ्नै चेलीको हातबाट उनिएको फूलमाला माइतिलाई लगाइदिने चलन धार्मिक-सांस्कृतिक रुपमा पाप र अशुभ हुन्छ भन्ने मान्यता र मुन्धुम् छ । अझै पनि किरात लिम्बू समुदायमा चेली माइतिबीचमा फूलले एकापसमा कुने हालतमा पनि हानाहान गर्नुहुँदैन भन्ने मान्यता छ र त्यसो गरिँदैन पनि । किरात संस्कार, संस्कृति र मूल्य-मान्यतानुसार फूलको प्रयोग त केवल विहेमा मात्रै व्यौलीले व्यौलालाई उनिएको फूलको माला गलामा लगाइदिन सक्छ । किरात समुदायमा जुनसुकै फूलहरू तरुनी-तन्देरीबीचमा पनि आदान-प्रदान गरिँदैन । विभिन्न किसिमका फूलहरूमध्ये शुभ र मानिस जातिका फूलहरू मात्र आदान-प्रदान गरिन्छ । त्यसमा पनि तरुनी-तन्देरीले सुनाखरी फूल (अम्लारी फुङ) माया प्रेमको प्रतीकको रुपमा दिने लिने गर्दछन् । त्यसैगरी शुभ कार्य र अशुभ कार्यमा दिनेलिने र प्रयोग गर्ने फूलहरू बेग्ला बेग्लै हुन्छन् । त्यसमा पनि तिहारमा प्रयोग गर्ने बावरी फूल (अन्दङ्फुङ) त मुन्धुम् अनुसार मान्छेले लगाउन नहुने पशु वा बाघको प्रतीक फूल हो । सिल्लरी फूल (सेक्मुरिफुङ्) समग्रमा मानिसको प्रतीका फूल हो । यसैगरी सयपत्री फूल (थोप्पारा फुङ्) तरुण युवा युवतीको फूल हो ।
यसबारेमा मुन्धुम्ले भन्छ-

'मिनुआङ् फुङ्बे, सेक्मिुरिफुङ् ग
मेन्छाम्मे फुङ्लो, नाम्याप्मि फुङ्लो
मिनुआङ् फुङ्बे अन्दङ्ले फुङ् ग
थक्सारे फुङ्लो, केसामी फुङ्लो
मिनुआङ् फुङ्बे थोप्पारा फुङ् ग
नालिए फुङ्लो, मेन्छिन्ले फुङ्लो
मिनुआङ् फुङ्बे, मिक्चिरि फुङ् ग
खेमा ए फुङ्लो, यङ्सङ् ए फुङ्लो
ए मिक्कि ए सेगुम्लो, कुभुङ् ए सेगुम्लो..... ।।'

यसरी प्रकृतिमा पाइने प्रायः सबै फूलहरूको आफ्नै महत्व, पहिचान र उपादेयता मुन्धुम्मा वर्णन भएको पाइन्छ । तिहारमा ओखर-पाङ्ग्रा फुटाएर, तेलको घेरो लगाउँदै दाइभाइको वरिपरि घुम्दै फन्को मारेर विभिन्न रङ्गहरूको टीका र आफ्नो संस्कारसँग मेल नखाने फूलको माला लगाइदिनुभन्दा अन्य विकल्प बारे सोच्नु आवश्यक छ । तिहारमा चेली-माइतिको बीचमा केही अनुष्ठानहरू नगरी नसकिने वा नहुने अवस्था भएमा सोही दिन पारेर किरात लिम्बूहरूले हकमा प्रत्येक छ महिनामा चेली-माइति दुबै पक्षले गरिने शीर उठाउनी (माङ्गेन्ना) सेवा अनुष्ठान कार्य गर्न सकिन्छ । यो माङ्गेन्ना गर्ने आफ्नै शैली र मुन्धुम् हुन्छ । यसमा चेलीको माङ्गेन्ना गर्दा माइति र माइतिको माङ्गेन्ना गर्दा चेलीको उपस्थिति अनिवार्य मानिन्छ । यसमा एक अर्काको पूजाभन्दा पनि मुन्धुम् अनुसार दियो-कलश र मुन्धुम् विधिले एकअर्काको शीर उठाइदिने कार्य गरिन्छ । जीवनयात्रा र संघर्षका मोडहरूमा रहँदा कही कतै शीर ढल्छ, ढल्नसक्छ । शीर ढलेको मान्छेले कुनै प्रगति गर्न सक्दैन । यसको लागि त्यो ढलेको शीर वा तेतिकै पनि कहिलै मेरो चेली वा माइतिको शीर नढलोस् भनेर गरिने अनुष्ठान शीर उठाउनी (माङ्गेन्ना) सेवा के भाइ टीकाभन्दा कम महत्वको विषय हो र ?

1 comment:

  1. This blog is very nice.
    The content is really interesting.

    You are invited in our social networking site of Nepal and Nepali news Goreto.co.cc where you can share your story with others.

    Your news and post will really be shared with other Nepalese all over the world.
    Goreto.co.cc

    ReplyDelete