Aug 17, 2008

आगामी नेपाली साहित्य कतातिर ??

मोती चाम्लिड.अनेसास हंगकंग
राजनिति र साहित्यको धरातल उस्तै नभएपनि, यीनका प्रकृति अलग किसिमका हुन तापनि राजनिति मरयो भने साहित्य पनि मर्छ । किनभने यी दुइ फरक बिद्याहरु प्रवृत्तिमा एक अर्कासित प्रतिकात्मक छन् । दुवै विद्याको पृष्ठभूमि राज्य वा मानव संसार नै हो । दुइटैलाई समाजको जरुरत हुन्छ । दुवै बिधामा विमर्श, समालोचना, तथा विवेचनाको आवश्यक हुन्छ । समाज, वर्ग, जात, अभिजात भित्रको लाक्षणिक, कारुणिक, आक्रोश, असन्तोष, हर्षतथा उन्नती, समुन्नतीको सन्देश सम्प्रेषण गर्ने एकमुष्ट साधनको रुपमा साहित्यलाई अंगालेको पाइन्छ । जुनसुकै पदचिन्ह अंगालेपनि साहित्य चाहिं सभ्यताका परितोषक हुनतिरै अग्रसर हुन्छ । जसरी सामाजिक बिचलन, अस्थिर राजनितिको अन्त्य खातिर समाजलेअनुशासन खोजेको हुन्छ , त्यसैगरी समाजमा संक्रमणकाल, मानवीय उल्लंघन र करुणा क्षयीकरणमा साहित्यले आक्रोशसंगसंगै धैर्यता, र शालीनता पनि खोजेको हुन्छ । त्यसले गर्दा राजनिति र साहित्यले विवेकपूर्ण प्रगतिशील समाजको वढि नै अपेक्षा गरेको हुन्छ । यसको मतलव हो विवेकशील समाजमा मात्र साहित्य र राजनितिको कोपीला फक्रेर फूल्न सक्छ । मूर्खहरुको संसारमा न साहित्य फूल्न सक्छ न त राजनिति फक्रन नै सक्छ । दुवै बिधाका पृष्ठभूमि समाज भनिएपनि त्यो समाज भनेको प्रगति र सचेतनातर्फ उन्मुख समाज हो । समाज व्यभिचार, अचेततातर्फ अग्रसर भयो भने राजनिति मर्दै जान्छ, राजनिति मर्दै गएको समाजमा साहित्यिक प्रगतिको अपेक्षा गर्नु किमार्थ संभव छैन ।
सांचो अर्थमा भन्ने हो भने उन्नत र प्रगतिशील समाजको प्रतिनिधित्व गर्ने राजनितिलाई तदनुरुपको अभ्रि्रायमाथि वारिसेको काम साहित्यले मात्र गर्न सक्तछ । त्यसैले भनिएको छ, एक सफल साहित्यकार मात्र कुशल राजनितिज्ञ हुनसक्छ । नेपाली साहित्यको एकमुष्ट विवेचना गर्दा यतिवेला यसले संक्रमणकालीन लर्डाईमा नै गुजारा गरिरहेको छ भनी लेख्नु अन्यथा हुन सक्तैन । २४० वर्षो लामो यात्रालाई शाहवंशले आफनै धेरै कारण र जनयूद्ध तथा आम नागरीकहरुको आन्दोलनले समाप्त गरिरहेको अवस्थामा आगामी नेपाली राजनिति प्रणालीको ठोस आकार यस्तै हो भनी किटान हुन नसकिरहंदा नेपाली समाजको राजनिति बिचार पद्धतीको मूलप्रवाहवारे व्याख्या गर्न असक्षम छ साहित्य । धेरै बिचारधारा र परिभाषामा अल्झी रहेको अनिश्चित समयसारिणिवारे नेपाली साहित्यले पनि विल्कुल अनभिज्ञता प्रकट गर्न चाहेको अनुभूती भैरहेको छ । यसवेला नेपाली साहित्यको आकार प्रकार र यसले मारिरहेको फडकोलाई आफना आफनै तर्कमा प्रयोग र पारिभाषित गर्ने प्रयासहरु भैरहेका छन् । यतिवेला कोही लेख्छन् जातीय उन्मुक्तिको आन्दोलनमा साहित्य समर्पित छ भनेर, कोही लेख्छन् वर्गीय उन्मुक्तिको लागी साहित्य अग्रसर छ भनेर, कोही लेख्छन् सांस्कृतिक उन्मुक्तिको र्समर्थनमा साहित्य समर्पित हुनुपर्दछ भनेर । सवैले अघि सारेका तर्कहरु गलत छन् भनी प्रमाणीत गर्ने तादम्यता पनि कसैसंग छैन । ती सवै सहि छन् र कुनैलाई गलत भन्न सकिने अवस्था छैन । कोही भन्दछन् जातीय उन्मुक्तिको धार पक्रेर जानुपर्दछ त कोही भन्दछन् वर्गीय उन्मुक्तिको धार पक्रेर जानु पर्दछ । तर पनि साहित्यमा निरपेक्षता अपनाउदा कुनै धारमा अनुवन्धित हुनै पर्ने जरुरत छैन । यस्तो किन हो भने साहित्यकार तथा पारखीहरुको विचार अनुकूल यसको गुणस्तर, प्रवृत्तिवारे उन्मुक्त तथ्य औल्याउन सक्ने र्समर्थवान कोही छैनन् । साहित्य निराकार छ भनी स्विकार गर्दा कुनै एउटा धारमा समाहित भएर जानु पर्दछ भन्ने मान्यता असफल हुन्छ । साहित्य भनेको समाजलाई परिस्कृत र परिमार्जनको ढोकातर्फडोरयाएर लाने अदृश्य सारथी हो ।
राजा महाराजाहरुको एकल गुनगानमा लादिएको वर्ुजुवा नेपाली साहित्यको अवसानसंगै प्रगतिशील साहित्यले विभिन्न क्षेत्र वर्ग र जातिहरुमा प्रवेश गर्दै गइरहेको अवस्था छ । यस्तो अवस्थामा निश्चय पनि एउटै बिचार र एउटै धारले मात्र नेपाली साहित्यलाई पूर्णता दिन सक्तैन । यदि सक्दछ भने त्यसका लागी र्सवमान्य व्याख्या विश्लेषण सहित साहित्यिक विचार पद्धतीको नेपाली समाजमा प्रस्तुत हुन सक्नु पर्दछ । मलाई लाग्दछ यो घडिमा यस्तो व्याख्या कसैवाट संभव छैन ।
साहित्यमा आफना आफना ठमयाईहरु हुनसक्छन् । जुनसुकै आलाप प्रलापमा कोरिए पनि साहित्यले आफनो प्रभाव कायम राख्छ, अस्तित्वको आयतन उत्पादन गरिछाडछ । यस्तोवेला आफना आफना तर्कभित्रको औचित्यमा मात्र साहित्य सहि देख्नु भ्रम सिवाय केहि हुन सक्तैन । तर पनि वुर्जुवा साहित्य वाहेकका प्रगतिशील साहित्यभित्र कालान्तरमा एउटा दर्शन कोरिन सक्छ भन्ने मान्यता छ र हुनुपर्दछ ।
डायस्पोराका लेखक, कवि तथा समग्रै साहित्यकारहरुका वेग्ला वेग्लै विचारधाराहरु छन् । यहां कोही कसैको एउटा बिचारधारा मात्र प्रधान मान्न मिल्दैन र यसो गर्न सकिदैन । समयको अन्तरालमा डायस्पोरामा कोरिएका साहित्य सशक्त वन्दै गएको छ, यसो हुनुमा परदेशीनुको पीडा र स्वदेशसंगको विछोड प्रमुख कारण हुन सक्छन् । वलशाली साहित्यको उत्पादनले अन्य धेरै कारणहरु पनि वोकेका हुन सक्छन् । जे जस्तो सुकै कारण र प्रेरणा किन नहोस, ती सवै अन्तराष्ट्रमा विजारोपण भएका साहित्यिक कर्म हुन् । वर्गीय र कर्म प्रधान संभावनाले डायसपोराका सवै साहित्यकारहरु एकजुट हुदै जानुपर्दछ भन्ने तर्कनाले आजभन्दा १९ वर्षअगाडि अन्तराष्ट्रिय नेपाली साहित्य समाज भनी एउटा सपना जन्मेको थियो । चाहे त्यो सपना अमेरीकामा जन्मेको किन नहोस, त्यो डायस्पोरीक चिन्तनमा एकताको सुत्रमा वाध्ने महान शुरुवात थियो । विश्वभर छरिएका साहित्यप्रेमी तथा साहित्य अनुरागीहरुलाई एकताका लागी आव्हान गर्नु किमार्थ भूल हुन सक्तैन । विश्वका अनेक कुनाकाप्चामा प्रवासी जीवन बिताईरहेका नेपाली साहित्यकारहरु एकताको मालामा आवद्ध हौं भन्ने आग्रह सहितको महान सोंच जन्मनु नै अत्यन्तै ठूलो कुरा हो । अनेसासको यहिं मुख्य अवधारणालाई दर्जनौं दर्जन देशका प्रवासी नेपाली साहित्यकारहरुले स्वीकारेका छन् अनि नै अनेसास केन्द्र हुदै सयौं च्याप्टरहरुमा संगठित पनि छ ।
अवको नेपाली साहित्य कसरी अगाडि वढनु पर्दछ भन्ने गंभीर प्रश्न डायस्पोरामा उठाउन जरुरी छ । यो समस्त नेपाली भाषी साहित्यकारहरुको निम्ति जटिल प्रश्न पनि हो । साहित्यको चेप्टो र समामान्य अर्थ लगाउंदा मानवीय संवेदना, देशकाल परिस्थिति, थिचोमिचो, अपमान र अपहेलना, सांस्कृतिक आक्रमण जस्ता महत्वपूर्ण सामाजिक परिघटनाहरुलाई केलाएर निरुपण र निकास सहित उद्यृतार्थ समायोजन गरिएको अक्षरहरुको संगालो हो भन्न सकिन्छ । साहित्य अभिव्यक्त हुने फांटवारीहरु पत्रकारीता, कविता, कथा, निवन्ध, प्रबन्ध, नाटक, गीत गजल संगीत, चित्रकला, मूर्तिकला, उपन्यास, चलचित्र कथावस्तु, खेलकुद आदि हुन् । यी सवै फांटमा कलम चलाउने र कुची चलाउने, घन चलाउने, सुर ताल मिलाउनेहरुको भिन्दा भिन्दै धारहरु वन्दै गएको पाइन्छ । यी जेजस्ता जे सुकै भएतापनि जगतमा हुर्किरहेको सामाजिक संरचनाको व्याख्या विना साहित्य लेखनको शुरुवात हुन सक्तैन । यसो भएपछि साहित्यकारहरु समाजमा वढि नै जिम्मेवार छन् भन्न खोजिएको हो । नेपाली भाषी साहित्यकारहरुले यहिं सामाजिक जिम्मेवारीको मूल्य र मान्यता चुकाउनका खातिर पनि डायस्पोरामा एकतावद्ध हुनुपर्दछ भनी आव्हान गर्नु सान्दर्भिक देखिएको हो ।
नेपालको राजसंस्थाले लादेको जातिय, धार्मिक, सांस्कृतिक र वर्गीय विविधता तथा विभेदको अन्त्य खातिर लेखिने गरेको साहित्यले कायम गरेको उचाइं चरमचुलीमा नउठेको भए २४० वर्षलामो शाहवंशको अन्त्य यतिछिटो संभव थिएन । राजसंस्था र राजपरम्पराको अन्त्यसंगै अव नेपाली भूगोल, नेपाली मन, नेपाली परिवेश नित्यान्तै नौलो सामाजिक संरचनामा आएर अडिएको स्थिति छ । साचो अर्थमा भन्ने हो भने यतिवेला सारा नेपालीहरु दुविधाको दोवाटोमा उभ्नमा नै समय गुज्रिरहेको छ । सांस्कृतिक र राजनिति विविधताको कारणले नेपाली भूगोल धांजा परेको छ । हरेक मनहरुमा फाटो छन् । यो संक्रमणमा त नेपाली साहित्यकारहरुको भूमिका साह्रै गहण हुन्छ भनी आंकलन गरिएको छ । त्यसैले यो अवस्थामा एकता शव्द अति महंगो छ । साहित्य समाजको दर्पण मात्र होइन हामी यसलाई समाजको प्राण ठान्छौं । यसो भएपछि साहित्य लेखनमा यस्तोवेला, विवेकशील कलम चलाइनुपर्दछ भन्ने सामूहिक अवधारणा आउन जरुरी छ । सांस्कृतिक र राजनिति कारणले नेपाली समाजमा खनिएका खाडलहरुलाई साहित्यिक कर्मले धेरै हदसम्म पुर्न सकिन्छ भनेर किटानीका साथ भन्न र लेख्न सकिन्छ । यसमा धेरै हदसम्मको सत्यता पनि छ । नेपाली समाजमा राजसंस्था तथा राजकीय परम्पराको अन्त्यसंगै रंगवादी साहित्य गौण हुनुपर्ने हाम्रो ठम्याई छ । यसमानेमा केहि लेख्नुपर्दा वर्गीय उन्मुक्तिसंगै जातीय उन्मुक्ति संभव छ तर जातीय उन्मुक्तिले वर्गीय उन्मुक्तिको प्रतिनिधित्व गर्न सक्छ भन्नेमा हाम्रो शंका छ ।
त्यसैले मलाई लाग्छ आगामी समयसालमा डायस्पोराको नेपाली साहित्य एकतावद्ध साहित्य रहेमा यसले ठूलो काम गर्छ । साहित्य कर्मीहरु नै विभक्त र विभाजित मानसिकतामा रुमलीन पुग्यौं भने हाम्रो साहित्य अपुरो र अधुरो नै रहने मात्र होइन नेपाली भूगोलले पूर्णकार प्राप्त गर्नेमा पनि शंकै छ ।
अव यतातीर हंगकंगेली नेपाली साहित्यवारे चर्चा परिचर्चा चलाउनै नपर्ने गरी डायस्पोरामा अग्रणी मार्गतर्फ उन्मुख छ । आज विश्वभरीका साहित्यअनुरागीहरु हंगकंगेली साहित्यलाई चनाखो भएर नियालीरहेका छन् । अनेसास हंगकंग, श्रृसास हंकंग, हंगकंग नेपाली साहित्य प्रतिष्ठान आदि साहित्यिक संस्थाहरुमा आवद्ध भएर यहांका साहित्यकर्मिहरुले नेपाली साहित्यलाई नै अत्यन्तै ठूलो योगदान पुरयाएका छन् । साहित्यिक संघसंस्थाहरु जतिसुकै संख्यामा सथापना होस, त्यो प्रकृयाको गन्तव्य भनेको एकिकृत र केन्द्रियतातर्फ उन्मुख लक्ष्य नै हो । डायस्पोरामा हामी अनेसासलाई नै केन्द्र मान्दछौं । हामीले मात्र होइन संसारका सत्तरी भन्दा वढि राष्ट्रका च्याप्टरहरुले मान्दछन् । यसको अर्थ सवैले मान्नु पर्दछ भन्ने वाध्यात्मक सन्देश सम्प्रेषण गर्न खोजीएको चाहिं कदाचित होइन । इच्छाधिन र तर्कसंगत रोजाइको लागी अन्य संघसंस्थालाई ढोका खुल्ला छ । अन्य साहित्यिक संघ संस्थाहरुको पनि सम्मानजनक अस्तित्वमा वांच्ने अधिकार छदैछ । साहित्यिक संस्थाहरुको स्थापनाले समाजलाई घाटा लाग्दैन । यसले फाइदा नै गर्दछ । भट्टी पसलहरु खोलीनु भन्दा साहित्यिक संस्थाको संख्या थपिनु राम्रै हो । राजनिति विखण्डनको अभिष्ट पूरा गर्ने विभिन्न खाले राजनिति संघसंस्था खोलीनु भन्दा साहित्यिक संघसंस्था खोलीनु धेरै राम्रो हो । नशालु पदार्थको सेवनमा लिप्सिएका व्रि्रदो जमात वढनु भन्दा त साहित्यिक माहौल वढदै जानु कता हो कता राम्रो कुरो हो । साहित्यिक संघसंस्थाहरु थपिदा कसैले चित्त दुखाउनु हुदैन । यसमाथि शंका र उपशंका राख्नु पनि शोभनीय छैन । साहित्यिक संघसंस्थाहरुलाई इंगित गरेर हंगकंगको स्थानीय मूलधारका साप्ताहिक छापा पत्रिकाहरुमा नै अस्वस्थ प्रतिष्पर्धाको आशंका जताइएको छ । तर यसलाई मैले सिधा अर्थमा नलिएर साहित्यकर्मीहरुलाई सचेत रहनका निम्ति नसिहतको रुपमा आएको सन्देश भन्ठानेको छु र सकारात्मक नै सम्झेको छु । किनभने पत्रकारीता विनाको साहित्य संभव छैन, चाहे त्यो छापा पत्रिका होस या बिधुतिय । पत्रकारीता विना साहित्य संभव छ भन्नु चाहिं पानी विनाको माछा पालनको कल्पना गर्नु वरावरको गलफत्ती हो ।
यो अस्वस्थ र स्वस्थको प्रश्नमा चाहिं मेरो केहि दुहाई छन् । सवाई कहेर दुहाई दिनु वाहेक मसंग अर्को विकल्प पनि रहेन । तथ्य के हो भने साहित्यिक कर्म भनेको दिने काम मात्र हो, समाजलाई मुफतमा दिइरहने दाता चाहिं साहित्यकर्मी मात्र हुन् । साहित्यकर्मिहरुको भागयमा लिने काम सुन्य हो भने दिने काम निरन्तर । दिने सवालमा प्रतिष्पर्धा हुदैन । तर लिने सवालमा लुछाचुडि हुने कुरामा दुइमत छैन । साहित्यकर्मीको भाग्यमा लिने कर्म नै शून्य भएपछि त्यो लुछाचुंडि र अस्वस्थ प्रतिपर्धाको प्रश्नै रहेन । त्यसैले विना कारणको शंकाले लंका जलाइरहनु पर्ने आवश्यकता छैन ।
मलाई अलि वढि नै लागेको खुलदुली चाहिं मेरो नेतृत्वमा अनेसास हंगकंग पुनर्गठन भएपछि मात्र साहित्यक संस्थाहरु यति भए, उति भए, यस्ता भए, धेरै भए भन्ने असन्तुष्टिहरु वग्रेल्ती पढन पाइयो । यस्तो विन्दुमा पुगेर हाम्रा सोंचहरु किन ठक्कर खाए होलान् भन्ने लागीरहन्छ । म हंगकंग नछिर्दै यी सवै साहित्यिक संघसंस्थाहरु त अस्तित्वमा थिए । विगतमा पशन तमूजीको नेतृत्वमा रहेको अनेसास हंगकंग चयाप्टर नै आजको च्याप्टर हो । मैले नेतृतव सम्हालेपछि यो नयां र छुट्टै संस्थाको रुपमा उदय भएको हुदै होइन । विगतमा केहि सुसुप्त थियो भन्ने तर्कमा केहि हदसम्म सत्यता होला, केवल यसले आज केहि पूर्णता पाएको भन्ने मात्र नौलो कुरा हुनसक्छ । हाम्रो तर्फवाट अनेसास हंगकंगलाई अझ ससक्त र समावेशी संगठनमा रुपान्तर गर्ने काम मात्र भएको छ । मेरो हकमा मैले सवाइ कहदा विगतमा हामी अरवको मरुभूमिमा अनेसासमा अनुवन्धित भएर काम गर्दा संगठित थियौं आज हंगकंगको पेचिलो शहरमा संगठित भएका छौं, फरक यति मात्र हो ।
विगतमा हंकंगमा अनेसास केन्द्रका आजीवन सदस्य दुइ जना हुनुहुन्थ्यो, वहांहरु क्रमश वर्तमान अनेसास केन्द्रिय सचिव पशन तमूज्यू र नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वर्तमान अनेसास हंगकग च्याप्टर महासचिव टंक सम्वाहामफेज्यू । मैले हंगकंग प्रवेश गरेपछि हंकंगवाट एक थपिएर तीन आजीवन सदस्य भएका छौं । हामीले केन्द्र निर्माणमा समेत निरन्तर सहभागीता जनाएका छौं । केन्द्रको निर्वाचनमा निरन्तर सहभागी वन्दै आएका छौं ।
हाम्रो दृष्टिकोणमा नेपाली भाषी साहित्यकार सवैलाई समान अभिवादन र अभिनन्दन अर्पण गर्नु पर्दछ भन्ने मान्यता वोकेका छौं, जसले जे जस्तो धारको प्रतिनिधित्व गरेर साहित्य लेखेपनि सवैलाई एउटै दिलले स्वागत र सम्मान दिने प्रतिवद्धता दोहोरयाउन चाहन्छौं । नेपाली साहित्यको समुन्नतीको लागी सवै साहित्यप्रेमी मित्रहरुलाई निरन्तर सिर्जनामा लागीरहनका लागी प्रेरणा मिलिरहोस । अर्को अंकमा फेरि भेटौंला । धन्यवाद ।
९ जुलाइ २००८
हेन्नेसि रोड वानचाई

No comments:

Post a Comment