Aug 16, 2008

लिम्वुवानमाथि गोपाल खम्बूको गिद्दे दृष्टि

इन्द्र आङ्ब्बो (क. मौसम)
देशैभरिको सफलता र असफलताबारे पार्टी केन्द्रको बैठक र सम्बन्धित राज्यसमितिको समीक्षा नै नभई लिम्बुवान राज्य र मधेशअन्तर्गत मिथिला उपराज्यको चुनावी परिणामबारे आधारभूत पद्दतिविपरीत आफ्नै केन्द्रीय मुखपत्र जनादेश’को वैशाख १० गतेको लेखमार्फत माओवादीका केन्द्रीय सदस्य गोपाल खम्बूले आफ्नो सम्पूर्ण हैसियत र हविगतलाई अभिव्यक्त गर्नुभएको छ ।निश्चय नै लिम्बुवान क्षेत्रमा हाम्रो पार्टीको अनपेक्षित परिणाम आउनु दुःखद् घटना हो ।जसका आन्तरिक र बाह्य दुवै कारण छन् । पार्टी सम्झौतामा हस्ताक्षर गरी अन्तरिक संविधानको घोषणा गर्दा हाम्रा तर्फबाट केही कमजोरी भएको कुरा पाँचौ विस्तरि बैठकले संश्लेषण गरेको छ । अन्तरिम संविधानले आन्तरिक राष्ट्रियतालाई सम्बोधन गर्न सकेन भनेरै बाह्य रुपमा राष्ट्रियताको आन्दोलन सचेतता वा अचेततापूर्वक लिम्बुवान र मधेस, खासगरी मिथिलामा हुन पुगेको हो ।सो आन्दोलनलाई विस्तारवादी शक्तिले मधेसमा माओवादीविरुद्ध केन्द्रित गरी आन्दोलनकारी शक्ति र क्रान्तिकारी माओवादी शक्तिबीच दुष्मनी र भिडन्तमा परिणत गराउन सफल भयो । परिणामतः मधेस खासगरी मिथिलामा र्सवहारा आन्दोलन कमजोर हुनपुग्यो । लिम्बुवान राज्यभित्र पार्टी शक्तिको अनवरत संघर्षले आंशिक विजय तथा राम्रै समर्थन पाए पनि खासगरी चुनावी अभियानमा केन्द्रीय नेतृत्वको हस्तक्षेपको अभावका कारण अपेक्षित परिणाम हासिल गर्न सकिएन । यसका अलावा अन्य राज्य समितिको तुलनामा समानुपातिक उम्मेद्वारको संख्या तुलनात्मक हिसाबले निकै कम हुनु, चुनावमा विजयको वातावरण बनाउन नसक्नु, चुनाव चिन्ह, चुनावी प्रणालीबारे जनतालाई प्रशिक्षित गर्न नसक्नु, चुनावी संघर्षलाई ठीक ठाउँमा केन्द्रित गर्न नसक्नु, प्रतिबद्धताहरु आमजनतामा पुउन नसक्नु, बिरोधीले चलाएका भ्रम र अन्यौललाई चिर्न नसक्नु आदिले निर्वाचन परिणाममा प्रत्यक्ष असर पारेको छ ।
आफ्नो लेखमा गोपाल खम्बूले लिम्बुवान र मिथिलाको सत्ता प्रतिक्रान्तिकारीलाई बुझाएर गम्भीर अपराध गरेको दाबी गर्नु भएको छ ।संविधानसभाको निर्वाचन सत्ता कब्जा गर्ने र बुझाउँने लर्डाई होईन । नदीको सिमाना र निश्चित क्षेत्रको आधारमा हुने हार र जितको लडाइँ पनि होइन ।यो त जनादेशमुताविक संविधान लेख्ने प्रतिनिधिको चुनाव हो । सर्वहारावर्गको पार्टीको निम्ति संविधानसभा साध्य नभएर एउटा साधन मात्र हो । क्रान्तिको खासगरी राज्यसत्तामाथिको विजयका थुप्रै खुड्किला हामीले पार गर्न बाँकी भएकाले यो विजयमा नै सम्पूर्ण विजय र क्रान्तिको कार्यभार पूरा भएको ठान्नु राज्यसत्ताको प्रश्नलाई ठीक ढंगले बुझ्न नसक्नु हो । राज्यसत्तामाथिको विजय भनेको रुसमा सोभियतलाई, चीनमा आधारइलाकालाई, सत्ता प्राप्त भएजस्तो । नेपालमा जनपरिषदले पाएको सत्ताजस्तो हुनुपर्थ्यो अर्थात राज्यसत्ताको चौतर्फी अवयवमा सर्वहारा अधिनायकत्व हुनु जरुरी थियो । तसर्थ, सो सफलतालाई अन्तिम सफलता र असफलतालाई अन्तिम असफलताको रुपमा प्रस्तुत गरिनु गम्भीर भुल हो । जातीय आधारमा राज्यको प्रस्ताव र जातीय मोर्चा निर्माण गर्नेबित्तिकै विजय भइहाल्छ भनेर सोच्नु पनि मनोगत हुनेछ । गोपाल खम्बूले भन्नुभए झैं मानौ एकछिनका लागि लिम्बुवानलाई किरातबाट छुट्याएर अन्तरपार्टी संघर्षलाई प्रमुख बनाएकै कारणले लिम्बुवानको नेतृत्व चुनावी मैदानमा पराजित भयो रे, तर नेवाः राज्य एकै ठाउमा हुँदाहुँदै अन्तरपार्टी संघर्ष पनि सहायक भएको नेवाः मोर्चाको लामो समयदेखि नेतृत्व गर्दै आउनुभएका स्थानीय पुराना नेता पवनमान श्रेष्ठले किन यथास्थितिवादी पार्टी प्रतिनिधिसँग पराजित हुनुपर्यो त ? तामाङ मोर्चाका अध्यक्ष हितबहादुर तामाङले प्रतिगामी चरित्रका नेतासँग किन हार खानुपर्यो ? छुट्टीने बित्तिकै हारिन्छ भन्ने तर्क सही भए कोचिला बन्नेबित्तिकै पूर्णसिह राजवंशीले देशकै प्रभावशाली मन्त्री कृष्णप्रसाद सिटौलालाई लज्जास्पद ढंगले कसरी हराउन सक्नुभयो ? यी सबै प्रश्नको जवाफ साम्प्रदायिक सोच भएका आदरणीय नेताज्यूसँग नै होला उहाँको लेखमा ऐतिहासिक लिम्बुवान भूमि र लिम्बुवानवासी आम जनसमुदायलाई विस्तारवादी अखडा र विस्तारवादको पृष्ठपोषकको रुपमा औंल्याईएको छ । एउटा परीक्षामा असफलताकै कारणको यस्तो संश्लेषणले केवल निम्न पुँजीवादी अधैर्यतालाई मात्र अभिव्यक्त गर्दछ । हिजो युध्दका थुप्रै मार्चमा पराजित हुँदा पनि जनमुक्ति सेनामाथि सत्ता ज्ञानेन्द्रलाई बुझाएको र विस्तारवादको पृष्ठपोषण गरेको अरोप लागेन । ऐतिहासिक लिम्बुवान भूमि, जसले वर्गसंघर्षमा सात सय जना भन्दा बढीको रगत बगायो र हरेक मोर्चामा श्रेष्ठता हासिल गर्दै आयो, आज यसलाई विस्तारवाद र प्रतिक्रान्तिकारीको अखडा र पृष्ठपोषकको रुपमा व्याख्या गरिनु क्रान्ति प्रतिको गम्भीर अपराध हो ।निश्चित रुपमा पार्ट भित्रको लामो बहस र छलफल पश्चात् लिम्बुवान स्वायत्तताको प्रश्नमा पार्टीको पाँचौ विस्तारित बैठकले निर्णय गरेको छ ।आदरणीय नेता गोपाल खम्बूले लिम्बुवानको बहस गर्ने र सहयोग गर्नेहरुलाई सामन्ती जर्नेलहरुका पृष्ठपोषकदेखि लारुम्बा र संघीय लिम्बुवानको उक्साहटकोसम्म आरोप लगाउँदै आउनुभएको छ ।विचारधारात्मक आन्दोलनपूर्व बृहद किरात राज्यको नाममा उहाँको निरन्तर लिम्बुवानमाथिको हस्तक्षेप र लिम्बुवानमा पार्टीको अपेक्षाकृत परिणाम नआउँदा लेखिएको गर्वले खुच्चिङ मानेर लेखले उहाको लिम्बुवान राज्य पार्टीशक्ति, लिम्बुवानवासी जनसमुदाय र ऐतिहासिक लिम्बुवान भूमिप्रतिको पूर्वाग्रही गिद्देदृष्टि र आफ्नै हैसियत एवं नियतलाई अभिव्यक्त गरेको छ । तर, लिम्बुवानको पार्टीशक्ति पार्टीको ऐतिहासिक विजयलाई आफ्नो वर्गको विजय र लिम्बुवानमा अपेक्षाकृत सफलता हासिल नहुनुलाई गम्भीर आत्मसमीक्षा गर्दै जनताको हातमा सत्ता नआएसम्म क्रान्तिका हरेक मोर्चामा परीक्षा दिइरहने तथा अविचलित रुपमा सर्वहारावर्गको रातो झण्डा उठाइरहने प्रतिवद्धता व्यक्त गर्दछ ।

No comments:

Post a Comment