Feb 26, 2008

अवतार अवतरण


टंक वनेम

चोकेमा मायाको डोरो झुण्ड्याएर
निस्सीम आकासमा साहित्यको रङ पोत्दै
बाढीको आर्तनाद कुर्ले जस्तो
उराली रहने भावनाको साङलो मन
झङ .....झङ .....झङ .....
झङ .....झङ .....झङ .....
अमूर्त बिद्रोह
अस्विकार गदै
जून घाम र तारा बिनाको आकास
पाइतला नअँटेको बिरुद्धमा
एउटा युग पुरुष
फलाक्दै मुन्धुम्को सत्य वाचा
फिजाउँदै आयामका प्वाँखहरु
पल्टाउँदै
दस्तावेजका पन्नाहरु
जपेर चेतनाका मन्त्रहरु
खिपेर जीवनका अर्थहरु
भगाउँदै अध्यारो रातमा
उधुमसंग जागेका प्रेतात्माहरुलाई
धपाउदै-
चुक्मीबा र लादिपा शक्ति
उफ्रन्दै एउटा पहाडबाट
अर्को पहाड
तर्दै-
चेतनाका भङ्गालोहरु
उध्याँउदै
मान्छे हुनुको तरवार ।
हो-
जीवनको फूल ओइलिए पछि
अध्यारो रात ङर्ङराउँथ्यो
बाँच्नुको तमसुक च्यातेर
खस्थे उज्यालो छेक्ने पर्दा
अब उसो-
जून घाम बिनाको आकास हुने छैना
चेतना बिनाका टाउकाहरु
अस्तित्व बिनाका पाइतलाहरु
दृष्टिहिन आँखाहरु ।
बुद्धिको छेलो हानेर
चेतनाको पानसमा
हुर्रहुर्ति आगो बाल्दै
एउटा बिहानको उद्घोष पछि
उज्यालोको ढोकामा
ठिङ्ग उभि रहेछ
चुक्मीबाको अवतार अवतरण
बैरागी काइला ।

नोट - मिथक कथा अनुसार थेबा साम्माङ्बाट शक्ति पाएका चुक्मीबा र लादिपालाई पेवाकुम नेम्बाङहाङ अथार्त उड्ने नेम्बाङ हुन भनी वर्णन गरिएको छ । उनिहरु ढाल तरवार बोकेर वल्लो डाँडा देखि पल्लो डाँडा र खोला वारि पारि उड्ने गर्दथे ।

No comments:

Post a Comment