Jan 15, 2008

माकलुङ्ग - किराती लोककथा

धनहाङ्ग सुब्बा
पल्लो किरात लिम्बुवान क्षेत्र अर्न्तर्गत हात्तीखर्क भन्ने रमाइलो गाउँको वार्ड नम्बर एकमा उहिले नै एउटा पोखरी थियो । त्यो पोखरी टारबारीको माझमा थियो अनि यसको छेवैमा एउटा ठूलो माकलुङ्ग (लिम्बु भाषामा माक भनेको कालो र लुङ्ग भनेको ढुङ्गा बुझिन्छ) थियो । यही ढुङ्गाको नामकरणबाट त्यो गाउँको नाउँ माकलुङ्ग रहन गयो । त्यो पोखरीमा गाउँका मानिसहरुले विहान वेलुका पूजा आजा गर्थे, धुपद्वारा लाउथे । तर एक दिन त्यो पोखरी टारबाट पढ्किएर फुटेर बगेर गयो । गाउँलेहरुले फोहोर मैला गरेर हो वा देवदेवीको पूजा भाकल पूरा नभएर त्यसो भएको भन्छन् बुढा पाकाहरु । त्यो पोखरी फुटेर जान साथ माकलुङ्ग पनि टारबाट पल्टिएर सन्तेखोलाको भीरबाट झरेर ३ किलो मिटर तल ओखर खोलाको दोभानमा गई अडियो । त्यो माकलुङ्ग ९० सालको ठूलो भूइचालो आउन अघि १९४५ साल तिर झरेको हो भन्ने अनुश्रविक छ तर कुनै अभिलेख छैन । त्यो ढुङ्गाको रंग कालो र चिल्लो छ । ढुङ्गा सिंगो एउटै गोलो आकारमा छ । कँही जोडिएको टुक्रा, चोइटाहरु देखिदैनन् । यसको गोलाई प्रायः ३०० मिटर र जमिन देखि प्राय ५० मिटर अग्लो छ । जमिन मूनि पनि यति नै गाडिएको छ भन्ने जनश्रुति छ । यो सान्ने र हात्तीखर्काको सिमाना ओखरे खोलाको दोभानमा अडिएको छ । यहाँ ओखरेमा झरें पछि पनि माकलुङ्गलाई एक जना देवान (याक्खा) झाक्रीले पूजा पाठ, धुप दवार लाउथे रे तर अहिले त त्यो पनि हरायो । मात्र केटा केटीहरु माकलुङ्ग माथि उक्लेर खेल्ने ठाउँ भएको छ ।

No comments:

Post a Comment