Dec 22, 2007

सहिष्णुताको माला गाँस्ने चाड उभौली

डीबी आङबुङ
उभौली चाड नेपालका आदिवासी/ जनजातिहरू मध्ये किरात लिम्बू, राई, याक्खा र सुनुवारले मनाउने विशेष पर्व हो । यो चाड प्रत्येक वर्ष वैशाख पूणिर्माको दिन पर्छ । यस चाडलाई समग्रमा उँभौली भनिए पनि प्रत्येक जातिले आ-आफ्नै तरिकाले सम्बोधन गर्छन् । लिम्बू जातिले 'याक्वा' राईहरूले 'साकेला उँभौली, सुनुवार -कोञीच/ कोइँच) हरूले 'सालिवाजत्ना' वा 'मूली ष्याँदर' र याक्खाहरूले 'तेन्ताम्मा' नामले यस उँभौली चाडलाई पुकार्छन् । किरातहरूले वर्षरिको समय अवधिलाई विशेषतः उँभौली र उँधौली गरी दुइ भागमा विभाजन गर्छन् । यसमा उँभौली चाड वैशाख पूणिर्मामा पर्छ र उँधौली चाड मङ्सिर पूणिर्मामा । उँभौलीको अर्थ उँभो जाने याम हो भने उँधौली उँधो जाने यामको रूपमा मानिन्छ । किरातहरू उँभौलीको समयमा गर्मीयाम सुरु भई सम्पूर्ण चराचुरुङ्गी, पशुपन्छी, माछा र कीरा-फट्याङ्ग्राहरू उँभो लेकतिर जाने विश्वास गर्छन् । यो उँभौली याम आरु फुलेको समयबाट प्रारम्भ हुने विश्वास छ । यही याममा नयाँ बीउबिजन छरपोख गर्दा नयाँ पलाएका पालुवासँगै छरिएका बीउहरू पनि वातावरण अनुकूल भई सप्रिँदै जाने विश्वास गरिन्छ । आफूलाई 'किरात' भन्ने लिम्बू, राई, याक्खा, र सुनुवार आदि जातिहरूले यो उँभौली चाडमा भूमिपूजा र पुखाको सम्झना गर्छन् । यसक्रममा लिम्बूहरूले परा पूर्वकालदेखि गरिआएको कुनै उच्च डाँडापाखामा भेला भई विशेष पूजाआजा गर्छन् । यसरी गरिने अनुष्ठानमा भूमि, हावा, पानी, आगो र जीव तथा वनस्पतिको पूजा गर्ने गरिन्छ । यसका साथै लिम्बूहरूले आङ्खनो इष्टदेव तागेरा निङ्वाभुमाङ तथा युमा र थेबा साम्माङको पूजा गर्छन् । त्यसैगरी मानवजातिलाई अन्नको पहिचान गर्न र खेती गर्न सिकाउने पूर्खाहरू खाम्जिरी खाम्बोङ्बा, मुर्गुइ थल्लङ्हाङ, याभुङ्ग्रेक याभुङ्ग्रेक्मा, मादेनहाङ लुङ्गुमहाङ, नुगोहाङ र हायुहाङको पूजाअर्चना गर्छन् । यसरी नै लिम्बूहरूले पुज्ने अन्य देवीदेवताहरूमा मिसेक्पा -आगोको देवता) ताम्भुङ्ना -वनको देवता), तक्सङ्बा -लेकको देवता) मुदेनहाङ्मा -उत्तरको देवता), तेन्छामा -दक्षिणको देवता), खञ्जमा -उत्तर-दक्षिण डुलिहिड्ने देवता) वजमा -गुरु देवता) र वरक्मा -पानीको देवता) को पनि पूजाअर्चना गर्छन् । यो याक्वा चाडको अवसरमा गरिने पूजा आ-आङ्खनै घरमा एकल र गाउँवासी सबै मिलेर कुनै डाँडापाखामा सामूहिक रूपमा पनि गरिन्छ । यो अनुष्ठान गर्दा लिम्बूहरूको फेदाङ्मा -देवारी) ले सृष्टिको वर्णन मानवजातिले खेतीपाती गर्न सुरु गरेको मुन्धुम वाचन गर्ने गर्छन् । यस अवसरमा लिम्बूहरूले धान खेतीसँग सम्बद्ध नृत्य धाननाच र घर निर्माणसँग सम्बद्ध नृत्य च्याबु्रङ नाच नाच्ने गर्छन् । त्यस्तै खडेरी र वर्षासँग सम्बद्ध खेल छेलो पनि हान्ने गरिन्छ । किरात र्राईहरूले साकेला उँभौली मनाउँदा आफू बसोबास गरेको ठाउँ अनुसार परम्परागत भेषमा नाक्छोङ वा होमेहरूद्वारा चुला पुजेर मुन्धुम अनुसार पूजाअर्चना गर्ने गर्छन् । राईहरू वैशाख पूणिर्माको दिनदेखि साकेला नृत्य ढोल, झ्याम्टा, सिर्लिङ, मिरिमा आदि लिई हर्षोल्लाससाथ सबै उमेरका मानिसहरू एकसाथ वृत्ताकारमा गीत गाउँदै नाच्ने गर्छन् । उक्त साकेला नृत्यको थालनी नाक्छोङद्वारा कटुसको स्याउला गाडी गरिन्छ भने विभिन्न नृत्यका भावहरू सिलिमाङ्पा तथा सिलिमाङ्माको निर्देशनअनुसार वृत्ताकारमा ढोल-झ्याम्टाको तालमा प्रस्तुत गरिन्छ । किरात राईहरूले सुम्निमा र पारुहाङलाई आङ्खना आराध्य आदिपूर्खा तथा धरती र आकाशको प्रतीकका रूपमा पनि मान्छन् । त्यसैले साकेला थानमा स्थापना गरिएका एकजोडी शिलाहरू -सेतो र कालो) लाई सुम्निमा र पारुहाङको प्रतिरूप मानिन्छ । यस चाडमा नाचिने सिलीहरू मानव जीवनको विभिन्न पक्ष तथा प्रकृति र पशुपन्छीसँगको सम्बन्धलाई प्रतिविम्बित गर्ने खालका ठाउँ र थर हेरी धेरै प्रकारका हुन्छन् । यो चाडमा विशेषतः पूर्खाले खोरिया फाडेको, खनजोत गरेको, बीउबिजन छरपोख गरेको तथा प्रकृति र पूर्खालाई मानसम्मान गरेका सङ्केतहरू अनुकरण गरेको पाइन्छ ।किरात सुनुवारहरूले यो उँभौली पूजालाई 'मूली ष्याँदर' वा 'सालिवा' भनेर मान्छन् । सुनुवार जातिको सबैभन्दा ठूलो चाड नै यो उँभौली 'मूली ष्याँदर' हो । सुनुवार संस्कृतिअनुसार जन्ममूली, रत्नमूली, दुमामूली -सृष्टिकर्ता, पालनकर्ता, संहारकर्ता) देखि लिएर जून, घाम, तारा, आकाश, पाताल, हावा, पानीजस्ता प्रकृति पूजादेखि संसारका सबै देवीदेवताको पूजा गरिन्छ । यो पूजा मूलतः कृषि बालीनाली सप्रियोस् र पशुपन्छी पालन राम्रो होस् भनेर गरिन्छ । अन्नबाली सप्रियोस् भन्नका लागि 'सुरोम' पानी समयमै परोस् भन्नका लागि 'सिमेभूमे' रोगव्याधिबाट बच्नका लागि 'संसारी माई' पशुपालन सप्रोस् भन्नका लागि 'सिदाबाजे' र शान्तिका लागि 'गोसाडे' को पूजा गर्ने गरिन्छ । यही अवसरमा सुनुवारहरूले पनि आङ्खनो मौलिक पोसाक र बाजागाजासाथ रोचक नृत्य गर्ने गर्छन् । विशेषगरी नेपालको पूर्वी भाग संखुवासभामा बसोबास गर्ने किरात याक्खाहरूले पनि यो उँभौली चाडलाई उत्तिकै महत्त्वसाथ मान्छन् । याक्खाहरू यस चाडलाई 'तेन्ताम्मा' भनी सम्बोधन गर्छन् । यो तेन्ताम्मा पूजा सम्पूर्ण गाउँवासी मिली एकसाथ गर्ने गर्छन् । यो पूजालाई भूमिपूजा पनि भन्ने चलन छ । यसमा विशेषतः आ-आफ्नो पूर्खाले पहिलोपल्ट टेकेको भूमि र उनीहरूले पहिलोपल्ट पिएको पानीको मूल -मूलपानी) को पूजा गरिन्छ । याक्खाहरूले पनि यो उँभौली चाडमा मौलिक बाजा च्याब्रुङ र झ्याम्टासाथ आङ्खनै पोसाकमा सजिएर महिला-पुरुष एकसाथ च्याबु्रङ र धाननाच नाच्ने गर्छन् । आदिवासी/जनजाति लिम्बू, राई, याक्खा र सुनुवारहरूको मात्र नभएर अन्य जनजातिहरूको चाड पनि यही याममा पर्छ । यही याममा धिमालहरू 'सिरिजात' पर्व भूमिपूजाको रूपमा मनाउँछन् । यसरी नै थारुहरूको 'सिरुवा पावैन' गुरुङहरूको 'तोते', तामाङहरूको 'छेचु' शेर्पाहरूको 'दुम्जी' तथा 'न्युग्ने' र मगरहरूको 'घाटुनृत्य' नाच्ने समय पनि यही याममा पर्छ । हिन्दू तथा बौद्धमार्गीले मान्ने पर्व चण्डीपूणिर्मा पनि यही वैशाख पूर्णिमा मै पर्नुले यो चाड नेपालीलाई धार्मिक र सांस्कृतिक सहिष्णुताको मालामा गाँस्ने पर्वको रूपमा विकास हुनसके हामीले चाहेको स्थायी शान्ति र दिगो विकास हुनुमा सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।

No comments:

Post a Comment