Dec 20, 2007

खेवा लिम्बू र पंक्षी

राजकुमार दिक्पाल

किरात लिम्बूहरूमध्ये धनकुटा र तेह्रथुम जिल्लाका केही गाविसहरूमा छथरे लिम्बूहरू बसोबास गर्छन् । धनकुटा जिल्लाको हात्तीखर्क, मूर्तिढुङ्गा, अर्खौले जीतपुर, घोर्लिखर्क, तेलिया र ताङ्खुवा गाविस तथा तेह्रथुमको ओख्रे, पोखरी, फाक्चामारामा रहेका छन् । छथरे लिम्बूमा छवटा थर हुन्छन् र उनीहरूलाई खेवा लिम्बू पनि भनिन्छ । छथरे लिम्बूहरूमा तिगेला, तुम्बा, माङ्याक, मादेन, चोङबाङ तथा आङ्लाबाङ (आङ्खेवा) पर्छन् । उनीहरूलाई खेवा भन्नुको अर्थ खे भनेको लिम्बू भाषामा वन हो भने वा को अर्थ कुखुरा वा पक्षी हुन्छ । यी लिम्बूहरूको एउटा विशेषता के हो भने उनीहरू कुनै पनि पक्षीको मासु खाँदैनन् । पक्षी खाएमा आफूहरूलाई त्यसले पिरोल्ने वा अशुभ हुने सांस्कृतिक तथा धार्मिक विश्वास उनीहरूमा छ ।

ताक्लुङ यक
छथरे लिम्बूहरू आफ्नो पितृभूमिको सम्मान गर्दै तेह्रथुमको ओख्रे गाविसमा रहेको ताक्लुङ यक (गढी) लाई उनीहरू आफ्नो इतिहासको विरासत मान्ने गर्छन् । उक्त गढीको ऐतिहासिक पक्ष केलाउने हो भने सो गढी छैटौँ शताब्दीमा लिम्बूवान दस प्रान्तमा विभाजित हुँदा छथरे लिम्बूहरूले खडा गरेका हुन् । इडेन भ्यान्सिर्टार्टको पुस्तक गुर्खाज (१९०६) मा उनले उक्त ठाउँमा ताक्लुङ खजुमहाङ राजाले शासन गरी उनले चिमलिङ्ग गढी वनाएको उल्लेख छ । सोही कुरालाई किराँत विद्वान् इमानसिंह चेम्जोङले आफ्नो पुस्तक हिस्ट्री एण्ड कल्चर अफ किरात पिपल (१९६७) मा र्समर्थन गरेका छन् । तर ताक्लुङ गढीका सम्बन्धमा इतिहासकारहरू प्रेमबहादुर लिम्बू र भुपेन्द्रनाथ ढुङ्गेल तथा शिवकुमार श्रेष्ठले विमति प्रकट गरेका छन् । लिम्बू र ढुङ्गेलको संयुक्त इतिहासकृति सङ्क्षिप्त नेपाल इतिहास अनुसार उक्त पुस्तकमा लेखिएअनुसार उक्त गढीलाई ताक्लुङदेन यकि भनिएको छ र यसलाई राजधानी वनाएर खेबोहाङले शासन चलाएको उल्लेख गरिएको छ । तर उनीहरू सबैको भनाइप्रति असहमति जनाउँदै लिम्बूवानसम्बन्धी पछिल्लो इतिहासकृति लिम्बूवानको ऐतिहासिक अध्ययन (२०४२) मा इतिहासकार शिवकुमार श्रेष्ठले उक्त गढीमा रहेर इमिमुहाङले छथर इलाकाको शासन गरेका र उनी खेवा थरका लिम्बू थिए भनेका छन् । उनले ताक्लुङ यक वनाएर शासन चलाएको उक्त पुस्तकमा उल्लेख छ । वास्तवमा श्रेष्ठको भनाइ सत्यताको नजिक किन पनि छ भने सो गढीलाई अझै पनि यस क्षेत्रका छथरे लिम्बूहरू आफ्नो इतिहासको विरासत मान्छन् र वर्षोनि त्यहीँ पितृपूजा गर्ने गर्छन् । त्यहा २०१२ सालसम्म विभिन्न शिलालेखहरू रहेका थिए भन्ने कुरा मानव उत्पति र खेवा वंश (२०५५) पुस्तकमा उल्लेख छ तर ती सबै अहिले भूक्षयका कारण नष्ट भइसके भने त्यहाँका महत्वपूर्ण सामग्रीहरूसमेत लोप भएर गइसकेका उक्त पुस्तकमा उल्लेख छ । यद्यपि त्यहाँ छथरे लिम्बूहरूले पूजा गर्न भने छाडेका छैनन् । छथरे वंशावलीअनुसार छैटौँ शताब्दीमा यसै गढीमा रहेर छथरे प्रान्तको शासन गर्ने लिम्बू राजाका इमेबुङका दसौँ पिँढीका हाङजिलीहाङ्दुम्बाका चार भाइ छोरा आपसमा छुटि्टदा खेवा लिम्बूहरू चार थरमा विभाजित हुन पुगे । जेठा छोरा मुक्तिमहाङ खेवालाई तिगेला भन्न थालियो । यस्तै, माइलो लुम्दुमहाङलाई मङ्याक, साइँलो लेतुमहाङलाई आङ्लाबाङ र कान्छो चोङहिमलाई चोङबाङ भन्न थालियो र यी चार जना चार थरमा विभाजित हुन पुगे । तीमध्ये मङ्याक थरबाट अर्को दुइ थर निस्क्यो । उनका सन्तानमध्ये एकले मादेन र अर्कोले तुम्बा थर लेख्न थाले । त्यसपछि यी खेवा लिम्बूहरू छथरमा विभाजित हुन पुगेको खेवा वंशावलीमा उल्लेख छ ।

खेवा अर्थात् वनकुखुराको कथा
खेवा लिम्बूहरू कुनै पनि पंक्षीको मासु खाँदैनन् । उनीहरू पंक्षीको हत्या गर्न हुँदैन भन्ने मान्यता राख्छन् । उनीहरू पंक्षीलाई शुक्रताराका रूपमा सम्मान गर्छन् र शुक्रतारा झुल्केको समयमा कहिँ कतै हिँडे साइत पर्छ भन्ने विश्वास राख्छन् । यस सम्बन्धमा लिम्बू मुन्धुममा एउटा रोचक किम्वदन्ती उल्लेख पाइन्छ । सत्ययुगमा पोङ्गेनदिङ नामका एक बालक थिए । उनी नै खेवा लिम्बूका पूर्खा हुन् । उनी जीवनयापनका लागि शिकारीको रूपमा जङ्गलजङ्गल चाहार्थे । यसरी जङ्गल चाहार्नेक्रममा उनले एक दिन एउटा वनकुखुराको फुल बाटामा भेटे । त्यो फुललाई उनी अत्यन्तै माया गर्थे र त्यसलाई आफैँसित राखेर सुत्ने गर्थे । समय पुगेपछि त्यो फुलबाट एउटा चल्लाको जन्म भयो । कालान्तरमा त्यो एक भाले कुखुरा बन्यो । त्यस कुखुरालाई त्यो बालकले पालनपोषण गरी हूर्काएको हुनाले कुखुरा बालकप्रति आभारी थियो । एक दिन त्यस वनकुखुराले जवान भइसकेका त्यस मनुष्यलाई भन्यो, हे मनुष्य अब तिमीले आफ्नो सृष्टिलाई अगाडि बढाउनुपर्छ । त्यसका लागि तिमीले विवाह गर्नुपर्छ । तिम्रो विवाह गराएर मलाई लगाएको गुणको बदला तिर्नेछु । मनुष्य अक्क न बक्क भयो । उसले ठानेको थियो यो संसारमा केवल ऊ र त्यस वनकुखुरा मात्र रहेको छ । त्यसैले उसले सोध्यो, हे वनकुखुरा तिमीले यो के भनेको - मैले कसरी र कोसित विवाह गर्ने र सृष्टि चलाउने ? उसले आफ्नो विवाह सम्भव नभएको भन्दै वनकुखुराको प्रस्तावप्रति आर्श्चर्य व्यक्त गर्‍यो । त्यसपछि तिम्रो लागि म एउटा जीवनसाथी ल्याएरै छाड्छु भनी भाले उडेर बेपत्ता भयो । ती मनुष्यलाई भने कौतूहल भयो । केही दिनपछि त्यो वनकुखुरा एउटी सुन्दरी कन्यालाई लिएर आइपुग्यो । मनुष्य चकित भए । त्यसपछि वनकुखुराले ती सुन्दरीलाई औँल्याउँदै भन्यो, हे मनुष्य मैले तिम्रो लागि यिनै कन्या ल्याइदिएको छु, यिनीसँगै तिमी विवाह गर अनि आफ्नो सृष्टिलाई अगाडि बढाएर लैजाउ । यसपछि ती मनुष्य र कन्याबीच विवाह संस्कार सम्पन्न भयो । विवाहपछि वनकुखुराले बिदा माग्दै भन्यो, अब मैले तिम्रो गुनको बदला तिरेको ठानेको छु । अब म तिमीहरूबाट बिदा हुनुपर्छ । मलाई बिदा देऊ । तर यी लोग्नेस्वास्नी भने वनकुखुरालाई अत्यन्तै माया गर्थे । आफ्नै परिवारका सदस्य ठान्थे । त्यसैले उनीहरू वनकुखुराको आफूहरूबाट अलग्गिने कुराप्रति र्समर्थन गर्न सक्दैनथे । अझ वनकुखुराले आफूले गर्नुपर्ने कर्म गरेकोले आफू जानैपर्ने बताउँदै भन्यो यदि मलाई देख्नु वा भेट्नु छ भने भोलि बिहानको मिर्मिरेमा आकाशको पूर्वतर्फ हेर्नु मलाई त्यहीँ पाउनेछौ, तिमीहरूले मेरो सिर र पुच्छर देख्नेछौ । आफ्ना परिवारको सदस्य सरहको त्यो वनकुखुरो आफूहरूबाट विछोडिएपछि विहृवल वनेका सम्पतीले भोलि बिहानै पूर्वतर्फ आकाशमा मिर्मिरे उज्यालो हुनासाथ हेरे । त्यो वनकुखुरा त शुक्रतारा पो भएछ । त्यसपछि दम्पतीले भने, सेवारो (नमस्कार), तिमी वनकुखुराको रूपमा आएका माङ (भगवान्) पो रहेछौँ । हाम्रो कल्याण गर प्रभु । त्यसपछि उनीहरूले आफूबाट जन्मने सन्तानको वंश खेवा (वनकुखुरा) राख्ने निर्णय गरे । यसरी वनकुखुराले जुराएको यी दम्पतीबाट दुइ छोराको जन्म भयो । उनीहरूमध्ये जेठो छोरोचाहिँ बाबुआमाको अर्ति-उपदेश मान्ने गर्थ्यो भने कान्छो छोरो चाहिँ बाबुआमाले भनेको मान्दैनथ्यो । आमाबाबुले भनेको शिकार गर्दा कुनै पनि पक्षीको प्राण लिनु हुँदैन भन्ने अर्ति-उपदेश विपरीत ऊ जङ्गलजङ्गलमा घुमी पक्षीहरूको बध गर्ने गर्थ्यो । कहीँ कतै जाँदा पनि शुक्रतारा झुल्केको समय उपयुक्त साइत हो भन्ने आमाबाबुको भनाइलाई पनि ऊ लत्याउने गर्थ्यो । एक दिन ऊ कुनै साइतविना जङ्गलमा शिकार गर्न गयो । वनकुखुराको शिकार गर्नका लागि बेलुकाको साइतमा घर छाड्ने बेलामा आमाबाबुलाई भन्यो, यदि म भोलि बिहान भाले बास्दाबास्दै आइँन भने म मरेको ठान्नुहोला । धनुकाँड लिएर हिँडेको ऊ रातभर शिकारको खोजीमा भौँतारिँदा भौँतारिँदै बिहान शुक्रतारा पनि झुल्किसकेको थियो । त्यसैबेला उसले एउटा वनकुखुरा देख्यो र तत्काल धनुकाँड प्रहार गर्‍यो तर उसको निशाना असफल भयो । बरु त्यो वनकुखुराले भन्यो, मलाई मार्न खोजेर तिमीले ठूलो गल्ती गर्‍यौ । मैले तिम्रो सृष्टिका लागि काम गरेको थिएँ । यसो भनिसकेपछि वनकुखुरा तत्काल त्यहाँबाट अल्पियो । वनकुखुराको शिकार गर्न गएको त्यो व्यक्तिको पनि तत्काल मृत्यु हुनपुग्यो । यसरी आफ्नो सृष्टि चलाइदिएका कारण खेवाहरू वनकुखुराको मात्र होइन सम्पूर्ण पंक्षी जगतको सम्मान गर्छन् र पंक्षीको शिकार गर्ने मात्र होइन, उनीहरू पंक्षीको मासु खाँदैनन् पनि । यसले गर्दा खेवाहरूले आफ्नो सांस्कृतिक आस्थाका कारण पंक्षीहरूको संरक्षण पनि गर्दै आएका छन् ।

No comments:

Post a Comment